रोल्पा हुदै टुरिष्ट ब्रिगेड

foreign tourists after visiting and seeing maoist revolution in rolpa

माओवादी जनयुद्ध हेर्न रोल्पा पुगेका साम्राज्यवादविराधी विदेशीहरुले त्यहा सडक खन्न श्रमदान गरेतस्बिर- दिनेश

दिनेश वाग्ले

आफूलाई एउटै मात्र नामबाट चिनाउन चाहने २६ वर्षो ज्यासन क्यानाडामा इतिहासका विद्यार्थी हुन् जसको मनमा पुँजीवादप्रति गहिरो अनास्था छ । त्यसैले उनी नेपालमा आएर माओवादी कम्युनिस्टले छेडेको ‘पुँजीवाद र सामन्तवाद’ विरुद्ध युद्धबारे जान्न उत्सुक थिए । ‘यहाँ लडाइँ ठूलो हुँदै जाँदा हाम्रो प्रेसमा पनि देखा पर्न थाल्यो,’ क्यानाडेली तन्नेरीले भने- ‘रिपोर्टहरूले लडाइँलाई सकारात्मक/नकारात्मक दुवै रूपमा प्रस्तुत गर्थे । महिला मुक्ति भएको र प्रजातान्त्रिक जनसरकार स्थापना भएका विवरणसँगै लडाइँ आतंकवाद भएको भन्ने समाचार पनि छापिन्थे । त्यसैले म के हो यो भन्ने प्रत्यक्ष बुझ्न आएको ।’

ज्यासनजस्तै आफ्नो मुलुकका पुँजीवादी संस्थापनविरुद्ध गहिरो असन्तुष्टि बोकेका १२ बहुराष्ट्रिय विद्यार्थी तथा अभियन्ता हालै रोल्पामा तीन साता बिताएर काठमाडौं फर्केका छन् । उनीहरू साम्राज्यवादविरुद्धको अन्तर्रष्ट्रिय अभियान (वर्ल्ड पिपुल्स रेसिस्टेन्स मुभमेन्ट) को संयोजनमा तेस्रो अन्तर्रष्ट्रिय रोड बिल्डिङ ब्रिगेडको सदस्यका रूपमा रोल्पा पुगेका हुन् । उनीहरूले माओवादी नियन्त्रित ‘मगरात जनसरकार’ का क्रियाकलाप निरीक्षण गर्नुका साथै निर्माणाधीन सहिद सडक बनाउन श्रम खर्चेका थिए । नाम देख्दा केके न जस्तो लागे पनि ब्रिगेडका कुनै पनि सदस्यले हतियार बोकेका हुँदैनन्, उनीहरू जनयुद्धप्रति रुचि राख्ने विदेशी हुन् र पर्यटकका रूपमा नेपाल आउँछन् । अघिल्लो नोभेम्बरमा केही व्यक्ति आएका थिए भने दोस्रो टोली अप्रिलमा काठमाडौं उत्रेको थियो । तर उनीहरू आन्दोलनका कारण रोल्पा पुग्न सकेनन् ।

‘नेपालमा जे भइरहेको छ, रुचिपूर्ण छ,’ ज्यासनले भने- ‘मानिसहरू समाज बदल्न उठेका छन् । परिवर्तनप्रति उनीहरू उत्साहित पाएँ । जहाँसम्म मैले देखें- आन्दोलनलाई आतंकवाद भन्ने कुरामा म सहमत हुन सक्दिनँ ।’ अब उनले देखेका सकारात्मक परिवर्तनबारे वर्णन गर्न थाले । जस्तो, जातविभेद निर्मूल भएको पाएको र महिलाले सम्बन्धविच्छेद गर्नसक्ने स्वतन्त्रता पाएको । घर नफर्किसकेका छ जना शनिबार आफ्नो अनुभव सुनाउन पत्रकारहरूसामु उपस्थित भएका थिए र एक संवाददाताले उनीहरू जनयुद्धमा सामेल भएको भान पर्ने खालको प्रश्न गर्दा सबै विदेशीले तत्कालै आफूलाई माओवादी आन्दोलनबाट अलग्याए । ‘हामी जनयुद्धमा सामेल भएको होइन,’ आफूलाई ‘संयुक्त राज्य आतंक’ नामको मुलुकका नागरिकका रूपमा परिचय गराउने अमेरिकी अभियन्ता पिटर ग्य्रान्टले भने- ‘हामी आन्दोलनप्रति ऐक्यबद्धता मात्रै जनाउँछौं ।’ जर्मनीमा निर्माण व्यवसाय गर्ने उनले अहिलेको विश्वका मुख्य समस्या अमेरिकाको साम्राज्यवादी र फाँसीवादी नीति भएको उल्लेख गर्दै हालै भारतले माओवादी नेताहरू किरण र गौरवलाई छाड्दा निकै खुसी लागेको बताए । ‘हामी यहाँ ऐक्यबद्धता जनाउन पर्यटकका हैसियतमा आएका हौं,’ पिटरले भने- ‘ठान्नुस् हामी [हालैका दिनमा] रोल्पा जाने पहिलो ट्रेकिङ समूह हौं ।’

foreign tourists after visiting and seeing maoist revolution in rolpa

भाषा समस्याले रोल्पावासीसँग चाहेजति अन्तरक्रिया गर्न नसकेको बताउने विदेशीहरूले सोही बेला त्यहाँ पुगेका एक फ्रेन्च पत्रकारका दोभासेमार्फ स्वतन्त्र अनुवादमार्फ कुरा गर्न पाएको उल्लेख गरे । माओवादी आन्दोलनबारे प्रत्यक्ष अनुभव लिन आएको बताउने बेलायतका अन्तर्रष्ट्रिय सम्बन्ध विषयका विद्यार्थी रड्डी मक्केले रोल्पामा गरिबी भए पनि माग्ने नदेख्दा खुसी लागेको बताए । ‘बरु काठमाडौंमा माग्ने छन्,’ उनले भने । नमिलाएको छोटो कपाल पालेका, खिरिलो ज्यान भएका अग्ला दाह्रीवालले चस्मा लगाएका छन् र हात हेर्दा लाग्छ उनले रोल्पामा निकै सडक खनेका छन् । ‘होइन, यो घाउ [शुक्रबार] काठामाडौंमा भएको हो,’ दाहिन हातको कान्छी औंलाका तीनटा चोट देखाउँदै उनले भने- ‘यहाँ के विरोध प्रदर्शन भइरहेको रहेछ, त्यसमा परियो, लडियो ।’ तर अमेरिकी पिटरको चिउँडैको ठूलो घाउचाहिँ आन्दोलन या सडक खन्दा केहीबाट नभएको उनले बताए । पिटर र ज्यासनका हातका नङमा अडकिएको फोहोर देख्दा उनीहरूले माटोचाहिँ प्रसस्तै खेलाएको निष्कर्षमा पुग्न सकिन्थ्यो ।

मरिससमा जन्मेका तर बेलायतमा बस्ने रोसन शर्माले पुँजीवादले कतै काम नगर्ने उल्लेख गर्दै रोल्पावासीको उत्साह देख्दा खुसी लागेको बताए । ‘उनीहरू हामीसँग ठट्टा गरिरहेका थिए,’ तन्नेरीले भने- ‘नयाँ समाजको सुरुवात भएको छ जो निकै राम्रो हो । मानिसहरूको सोच्ने तरिका बदलिएको छ । सामन्तवादले दक्षिण एसियालाई नै जकडेको छ जसलाई उखेल्नै पर्छ ।’

एघार जनाको समूहमा तीन जना महिला थिए जसमध्ये जर्मनीकी कर्नेलिया काठमाडौंमै छिन् -क्रिसमस उपहार किन्नु आफ्नो अहिलेको प्राथमिकता भएको उनले बताइन्) । बितेका दुइ वर्षेखि नेपालबारेका घटनाको अध्ययन गरिरहेको बताउने २६ वर्षो विद्यार्थी (उनले पनि अर्को नाम बताउन चाहिनन्) ले आफूलाई महिला मुक्तिबारे विशेष चासो भएको बताइन् । ‘स्थिति साँच्चै सुध्रेको रहेछ,’ गाजलु मोटीले भनिन्- ‘माओवादी सेनामा महिला-पुरुष बराबरी हैसियतमा रहेछन् ।’ तर तत्कालै उनका अमेरिकी पुरुष सहयात्रीले भने- ‘महिलाहरू हाम्रो जस्तो कानुनी अधिकार दिएको देशमा समेत अझै शोषित, पीडित छन् । मुख्य कुरा कानुनी अधिकारभन्दा पनि पुरुषको उनीहरूप्रतिको दृष्टिकोणमा बदलाव आउनुपर्छ ।