यहाँ पप कर्न पाइदैन

alternative film culture in nepal. bowling for columbine

सिनेमाहलहरुमा हत्तपत्त नचल्ने “बाउलिंङ फर कोलम्बाइन” (तस्बिरमा) जस्ता विदेशी फिल्महरु हेर्न सानो स्तरका प्रदर्शनीको आयोजना गर्ने चलन बढ्दो छ काठमान्डूमा ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

शहर फैलिदै र विश्व समाजसँग बढी खुल्दै गर्दा काठमाडौंमा एउटा त्यस्तो संस्कृतीको विकाश भइरहेको छ जस अर्न्तगत मानिसहरु साप्ताहिक जसो एक ठाउमा भेला भएर मूलधारका सिनेमाहलहरुमा कहिल्यै नलाग्ने फिल्महरु रस लिएर हेर्छन्, तिनले उठाएका विषयबस्तुमा छलफल गर्छन् र यस्तै नेपाली सिर्जना हेर्न पाए हुन्थ्यो भनि मौन कामना गर्छन् । संख्या धेरै छैन तर गुणस्तरीय फिल्म हेर्ने चाहना उत्कट छ त्यस्ता दर्शकको । उनीहरुका लागि प्रदर्शनीको नियमित आयोजना गर्नेहरुले वितेका बर्षरुमा दर्शक संख्या बढेको छ भन्दा सन्तोष मान्छन् । ‘दर्शकहरुको एउटा त्यस्तो प्रतिबद्ध समुह बनेको छ जो फिल्म हेर्न नियमित आउछ,’ मार्टिन चौतारीका अनुसन्धाता भास्कर गौत्तम भन्छन्- ‘बढीजसो युवापुस्ताका र फिल्म निर्माणमा रुचि भएकाहरु हुन्छन् ।’

मार्टिन चौतारी सञ्चार र अन्य सामाजिक विषयबारेको अनुसन्धान गर्ने संस्था हो जसले नियमितरुपमा अनेकौ विषयमा छलफलको आयोजना गर्नुका साथै फिल्महरुको पर््रदर्शनी गर्छ । पाँच बर्षअगाडी वैकल्पिक फिल्म तथा बृत्तचित्रहरु देखाउन थालिएको हो र अन्य छलफलहरुको तुलनामा फिल्म प्रदर्शनीमा सहभागि संख्या बढी हुने चौतारीको अनुभव छ । बर्षौ अगाडी फिल्मका सौखिन भास्करसहितका सात आठजना तन्नेरीहरुको एउटा समुहले ‘काठमाडौं फिल्म आर्काइभ’का नाममा गोदावरी अलुम्नाई एसोसिएसनसँग मिलेर महिनामा एकपटक तीन चारवटा फिल्म प्रदर्शन गर्दथ्यो । आर्काइभकै सक्रिय सदश्य सम्झना उप्रेती रौनियारले सहायक निर्देशककारुपमा चारवटा फिल्ममा काम गरिसकेकी छिन् । ‘व्यापकरुपमा परिभाषित राम्रा सिनेमा’ देखाउने ती प्रदर्शनीहरुको उदेश्य ‘राम्रो फिल्म हेर्ने स्वादको सिर्जना गर्नु थियो,’ भास्करले भने । घाटा भएपछि प्रदर्शनी स्थगित भयो र त्यही समुहले रुसी सास्कृतिक केन्द्रबाट निशुल्क हल पाएपछि महिनामा दुइवटा रुसी र एउटा अर्को फिल्म देखाउने सहमतीमा देखाउने काम थालियो । त्यसैको ‘बाइप्रोडक्ट’कारुपमा चौतारीका प्रदर्शनी (प्रत्येक अर्को विहीवार) ले निरन्तरता पाएको भास्करको भनाई छ ।

यस्ता प्रदर्शनी स्थलहरु राजधानीका पुस्तकालय सरह हुन् । बजारमा हत्तपत्ति नपाइने कितावहरु खोज्दै पाठकहरु त्यहा पुगेजस्तै नेपालमा हलहरुमा चल्ने कुनै सम्भावना नभएका विदेशी फिल्मको स्वाद चाख्न दर्शकहरु यस्ता प्रदर्शनीमा पुग्छन् । त्यस्ता दर्शकमध्ये धेरैजसो विषयबस्तुबारे समानखाले सोचाई भएकाहरु हुनेगर्छन् जसकालागि प्रदर्शनी भेटघाट गर्ने र मनमा उब्जेका कुराबारे छलफल गर्ने बाहाना पनि हुन्छन् । फिल्म हेरेपछि उनीहरु त्यससग सम्बन्धित विषयबारे छलफल गर्छन्, कमी कमजोरी पहिल्याउछन् र तातो चिसो पिएर घरतिर लाग्छन् ।

‘गम्भीर रुपमा फिल्म हेरेर विभिन्न कोणबाट छलफल वातावरण सबैभन्दा बढी मन पर्छ,’ एकजना नियमित दर्शकले भने- ‘कसैले क्यामेरा, कसैले पटकथा, कसैले संगीत पक्षमा टिप्पणी गर्छन् । त्यस्तो ‘प्याकेज’ले मलाई सबैभन्दा बढी तानेको छ ।’

छलफलको लम्बाई र त्यसमा हुने गहनता फिल्मका विषय र अन्य कुरामा भर्रपर्छन् । नेपाली अवस्थासँग निकै मिल्ने विषयबस्तुमा दर्शकहरु जमेर तातो बहष गर्छन् भने फिल्मका तर्फाट कोही उपस्थित छ भने प्रश्नहरु बढी बषिर्न थाल्छन् ।

सबै प्रदर्शनीहरुमा छलफल हुदैनन्, फिल्ममात्र देखाइन्छन् । एलियास फ्रासेसले बर्षौदेखि नेपालीहरुमा फ्रान्सेली संस्कृतीको प्रवर्द्धन गर्ने उद्देश्यले फ्रेन्च फिल्महरु देखाउदै आएको छ । कुनैबेला सिनेमाप्रति रुचिराख्ने तन्नेरीको समुहले एलियासमा प्रत्येक सोमबार वैकल्पिक धारका सिनेमा ल्याएर हेर्ने गर्दथ्यो । सोही समुहका दुइजना छिरिङ् रितार र नविन सुब्बा फिल्म निर्माणमा अहिलेका हस्ती भएका छन् । पछि एलियास आफैले ‘सिने क्लव’ नामको उक्त प्रदर्शनीमा दर्शकले फिल्म हेर्छन् मात्रै, छलफल गर्दैनन् । तर यहा दर्शक संख्या निराशाजनक हुदैगएको एलियास फ्रासेसका उपनिर्देशक प्रविनविक्रम राणाले महशुस गरेका छन् ।

सन् २००६ मा एउटा प्रदर्शनीमा औषतमा ९/१० जना भन्दा बढी दर्शक नमिलेको उल्लेख गर्दै प्रविनले दर्शक तान्ने प्रयास थालिने जानकारी दिए । ‘शायद फिल्म हेर्ने अरु ठाउ भएर होला,’ उनले भने- ‘हाम्रो छनौट सन्तोषजनक नभएर हो कि भन्ने पनि सोचिरहेका छौं ।’ प्रत्येक विहीवार दुइबजे देखाइने फिल्म हेर्ने धेरैजसो फ्रेन्च सिकारु हुन्छन् । आलियासले सक्कली प्रतिहरुमात्रै देखाउने भएकाले भनेको फिल्म उपलब्ध गराउन कठिन हुने र कुनै फिल्म ढिला मात्र काठमाडौं आउने भएकाले कतिपय अवस्थामा दर्शकले चाहे अनुसारका सिर्जना देखाउन नसकिएको उनले बताए । उनले दर्शक बढाउने उपायबारे विचार गरिरहेको उल्लेख गरे । बरु सशुल्कै भएपनि लन्चको व्यवस्था गर्ने हो कि ?

फ्रान्सेली केन्द्रमै ‘सिने डिने’ नाम दिएर दुइ बर्षअगाडी थालिएको महिनामा एकपटकको सप्ताहन्त प्रदर्शनीमा सशुल्क डिनर समावेश छ र यसमा सधै सिटहरु भरिपूर्ण हुन्छन् । ‘यो डिनरको विशेष मेनु तयार गरेका छौं,’ प्रविनले भने- ‘शायद सप्ताहन्तमा फिल्म हेन र डिनर पनि गर्ने प्रवधानले दर्शकलाई आकषिर्त गरेको हुनुपर्छ ।’

बैकल्पिक धारका फिल्महरुमा नेपाली दर्शक आकषिर्त गर्ने श्रेय हिमाल एसोसिएसनलाई भन्दा बढी कसलाई जाला ? दक्षिण एसियाली र पर्वतीय विषयबस्तुमा कामाठाडौं अर्न्तराष्ट्रिय फिल्म महोत्सवहरु गर्ने हिमालले जम्मा गरेको आर्काइभबाट छानिएका सिनेमा यदाकदा पाटन ढोकास्थित यलमाया केन्द्रमा प्रदर्शन गरिन्छन् । ती बाहेक अन्य ख्यातिप्राप्त बृत्तचित्र पनि सशुल्क देखाइन्छन् । केही समययता प्रदर्शनीले निरन्तरता नपाएपनि आफूसँग भएको इमेल लिस्टका कारण देखाउन मनलागेको बेला सम्भावित दर्शकलाई सजिलै सूचना पुर्याउने जानकारी एसोसिएसनले दियो ।

यस्ता प्रदर्शनीमा फिल्महरु सकेसम्म सक्कली र देखाउन अनुमति लिइएका डीभीडी घुमाउदै प्रोजेक्टरमार्फ देखाइन्छ । किन्न नसकिने तर नहेरी नहुने अवस्थाको सिर्जना भएमा नक्कली डिभिडीबाटै काम चलाइन्छ । आखिर काठमाडौंको एउटा अध्यारो कोठामा १०/२० जना जम्मा भएर एक पटक हेर्दैमा कसको के पो बिग्रन्छ ? सम्बन्धित निर्माताले थाहै पाउदैनन, पाएपनि प्रदर्शनीको आयोजना गर्ने समुह या संस्थाहरु ठूला र व्यवसायिक प्रदर्शक नभएकाले ठूलै रकम कमाउइने सम्भावना पनि हुदैन । प्रदर्शकहरुले फिल्महरु व्यक्तिगत सम्बन्धमार्फ मिलेका डीभीडीमा दर्शक सिफारिसका आधारमा चयन गर्छन् । जस्तो, चौतारीमा देखाइने कतिपय फिल्महरु विदेशबाट आएका चिनेजानेका मानिसले ल्याएका डीभीडी या अन्य स्वरुपमा हुने भास्करले बताए । ‘त्यस्तै कतिपयले आफूसग भएका संग्रहहरु चन्दा दिने गरेका छन्,’ उनले भने- ‘दिपेन्द्र गौचनले आफूसग भएको पुरै र छिरिंग रितारले भीएचएफ फिल्महरु चन्दा दिएका छन् ।’ चौतारीले हालसम्म एकसय ५० जति सिनेमा संग्रह गरेको छ ।

फिल्म हेरेको शुल्क लिने/नलिने कुरा प्रदर्शनीकर्ता अनुसार फरक पर्छ । काठमान्डू फिल्म सोर्साईटी र फिल्म साउथ एसिया (यलमाया प्रदर्शनी) ले न्यूनतम शुल्क लिन्छन् । ‘हामी पूर्णरुपमा आफैमा निर्भर छौं,’ काठमान्डू फिल्म सोर्साईटीका अध्यक्ष राजेश गोंग्जुले भने- ‘विदेशी सहयोग लिएर फिल्म देखाउने होइन ।’ सोसाइटीले मानिसहरुलाई ‘सिनेमाबारे शिक्षित तुल्याउने’ उद्धेश्यले महिनामा एकपटक नेपाल पर्यटन बोर्डका हलमा गर्ने प्रदर्शनीमा अफ्रिका, दक्षिण अमेरिका लगायत दक्षिणी गोलार्द्धका फिल्महरु देखाइन्छ । प्रदर्शनीपछि सम्बन्धित विषय र फिल्ममा छलफल हुन्छ । सोसाइटीका प्रदर्शनीमा धेरैजसो दर्शक काठमाडौंमा बस्ने विदेशी भएपनि एक बर्षता नेपालीको संख्या बढेको राजेशले बताए । ‘मेरो प्राथमिकता नेपालीहरुलाई देखाउनु हो,’ उनले भने- ‘म आफै फिल्म निर्माता हुँ र स्थानीय मानिसलाई गुणस्तरीयताबारे जानकारी दिन सके त्यसको प्रभाव नेपाली फिल्म निर्माणमा पर्नसक्छ भन्ने मेरो विश्वास छ ।’

डिसेम्बर २३ को कान्तिपुर कोशेलीमा प्रकाशित ।