दरवारमा पूर्व राजाको पत्रकार सम्मेलनका दृश्य

दिनेश वाग्ले/सुरज कुँवर

[पूर्व राजा ज्ञानेन्द्रको प्रेश वक्तव्य]

काठमाडौं- संविधान सभाले आफू नेतृत्वको राजसंस्थालाई विघटन गर्ने र आफूलाई नागरिक तुल्याउने निर्णयबारे पहिलो सार्वजनिक प्रतिक्रिया पूर्व राजा ज्ञानेन्द्र शाहले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् ।

दक्षिणपट्टीबाट देखिने नारायणहिटी दरवारको मुख्य भवनको भुइतल्लामा रहेको कास्की बैठकहलमा शाह लगभभग निर्धारित समयमै अर्थात दुइ मिनेट ढिला पाच बजेर ३२ मिनेटमा पुगेका थिए ।

शाह हलमा पुग्नु आधा घन्टा अगावै पत्रकारहरु त्यहा उपस्थित थिए । नेपालमा आयोजना गरिएको सम्भवत सबैभन्दा ठूलो पत्रकार सम्मेलनमा लगभग साढे तीनसय तीनसय सम्वादाता, टीभी म्यामेराकर्मी, फोटोपत्रकार तथा प्राविधिक उपस्थित थिए ।

कास्की हलमा सार्वजनिक कार्यक्रमहरु भएको यो पहिलो पटक होइन । राजतन्त्र रहदा पूर्व राजाले त्यही भवनमा प्रधानमन्त्री लगायतका पदवाहकहरुलाई सपथ गराउथे भने विदेशी राजदूतहरुको ओहोदाको प्रमाणपत्र ग्रहण गर्दथे । ‘तर यतिधेरै संख्यामा पत्रकार देखेका पहिलोपटक हो,’ कार्यक्रमको व्यवस्थापनमा खटिएका सिभिल पोशाकका एकजना सुरक्षकर्मीले भने ।

कास्की हलको ठ्याक्कै माथि सिंहासन छ । माथ्लो तल्लामा उक्लिने ठूलो भर्यांगको फेद भन्दा केही मिटर अगाडी रातो कपडाले मोरिएको एउटा पिर्कामाथि राखिएको रंगीन कुर्सीमा बसेर शाहले विज्ञप्ति पढेका थिए । त्यो मुख्य कुर्सी पछाडी गोलाकाररुपमा अन्य केही कुर्सी राखिएका थिए । भर्याङ्को दुइ तिर दुइ खुट्टामा उभिएर एकअर्कालाई फैलिएका हातले आक्रमण गर्न खोजिरहेका दुइ वटा बाघहरुका सजावट-मुर्ती थिए । शाह बसेको कुर्सी दाया-बाया भित्तामा ठूला गमला थिए जसमा कम्तिमा चार थरी फुलहरु फुलिरहेका थिए । हलका भित्ताहरुमा कुनै पनि योजना नगरिकन टासिएजस्तो लाग्ने ठूला कदका केही पूर्व राजाहरुका पूर्णकदका चित्र थिए । मुख्य गेटबाट छिर्नासाथ देब्रेपट्टी क्रमशः प्रतापसंह शाह, पृथ्वीनाराण शाह, महेन्द्र शाह र ज्ञानेन्द्र शाहका चित्र थिए । दायाँपट्टी भित्तामा रणबहादुर र गिर्वाणयुद्धका चित्र थिए । हलमा हरियो रंगको एउटा ठूलो गलैचा र छिर्ने बाटोमा सानो रातो कार्पेट विछ्याइएको थियो ।

शाह हलमा प्रवेश गर्नासाथ क्यामेराहरुबाट अनगिन्ती फ्ल्यास निस्केका थिए जसले सिलिङ्मा झुन्डेका झर्झाउदा तथा भित्तामा अड्याइएका मैनवत्ति आकारका बत्तिहरुले दिएको प्रकाशलाई छायामा पारेको थियो । मुस्काउदै र दुइ हात जोडी नमस्ते गर्दै हलमा छिरेका शाह लगत्तै कुर्सीमा बसेका थिए । उनले बस्नेवित्तिकै भाषण पढ्न चाहेका थिए तर निरन्तरको क्यामेरा फ्ल्यासले उनलाई पढ्न अवरोध पुर्याएको जस्तो लाग्थ्यो । केहीबेरसम्म क्यामेराको फ्ल्यासको सामना गरेपछि शाहले हल्का खैरो रंगको सिसा भएको चस्मा लगाएर भाषण पढ्न थालेका थिए । तर फेरीपनि अनगिन्ति फ्ल्यासले प्रकाशको नियमिततामा व्यवधान पुर्याउदा उनलाई पढ्न थाल्न असजिलो भएको महसुस गर्न सकिन्थ्यो । त्यसबीच शाहले मुस्काउदै फोटोग्राफरहरुलाई हात फैलाएर तस्बिर खिच्न बन्द गर्न संकेत गरेका थिए । केही समयपछि फ्ल्यासमा कमी आयो, शाहले चस्मा पुन लगाए र भाषण पढ्न थाले ।


शाहले बेलाबेला आफै अगाडीको भीडतिर हेर्दै नेपालीमा लेखिएको भाषण प्रस्टसँग पढेका थिए । भाषणको लिखित प्रति र अंग्रेजी अनुवाद सम्वादाताहरुलाई पछि बाडीएको थियो । भाषणको शीर्षक ‘पूर्व श्री ५ महाराजाधिरा ज्ञानेन्द्र वीर विक्रम शाहदेवको प्रेश वक्तव्य’ छ ।

पत्रकार सम्मेलन निकै अव्यवस्थित र केही हदसम्म अमर्यादित पनि थियो । हलमा क्षमताभन्दा बढी पत्रकारहरुको उपस्थिती भएकाले सबैलाई कुर्सीीुगेको थिएन । धेरैले उभिने ठाउ पनि पाएनन् । शाहले बोलिरहदाको राम्रो दृष्टि पाउन नसकेका केही रुष्ट फोटोपत्रकारले छेक्नेलाई निरन्तर ठूलोस्वरमा अपशब्द प्रयोग गर्दै गाली गरिरहेका थिए । शाहले बोलिरहदा कम्तिमा एकपटक उनको आवाजै नसुनिनेगरी माइकमा समश्या उत्पन्न भएको थियो ।

राजतन्त्र रहदा राष्ट्रिय पोशाक लगाएर अदवकासाथ बस्नुपर्ने त्यही हलमा बुधबार सम्वादताहरुले पूर्ण र केही सर्न्दर्भमा आवश्यकताभन्दा बढी स्वतन्त्रता उपयोग गरेका थिए । उनीहरु कुर्सीमा उभिएका थिए, कोही अग्लो बालुवाले भरिएको फोहोर राख्ने मुढामा उभिएका थिए । एउटा त्यस्तै मुढा ढल्दा त्यहाको बालुवा पोएकिो थियो । यो हलमा पहिले कार्यक्रम केही फोटोपत्रकारलाई मात्र प्रवेश अनुमति दिइन्थ्यो । ‘केही सामान छुन पाइदैनथियो,’ एकजना फोटोग्राफरले भने- ‘सुरक्षाकर्मीले ‘छिस्, छिस’ इसारा गर्दै हटाउथे । कुर्सीमा बस्न पाइदैनथियो । एउटा किनारामा उभिएर फोटो र भिडियो खिच्नुपर्दथ्यो ।’

लिखित भाषण सक्ने वित्तिकै शाह कुर्सीबाट उठेका थिए । केही सम्वादाताले प्रश्न गर्न खोजेका थिए जसलाई शाहले स्विकार्न चाहेनन् । भीडभाडमाझ मुस्काउदै शाह सुरक्षाकर्मीको साघुरो घेरामा रहेर फर्किदै गर्दा कम्तिमा एकजना पत्रकारले उनीसँग हात मिलाउन भ्याएका थिए । त्यसपछि शाह निरन्तरको फ्ल्यास, सम्वादाताहरुको होहल्ला र सुरक्षाकर्मीको घेरमाझ नमस्ते गर्दै र मुस्काउदै हलबाट बाहिरिए ।

कम्तिमा तीनवटा नेपाली नीजि टीभी र एउटा विदेशी टीभी र केही नेपाली एफएमले शाहको सम्बोधन र त्यस अघि-पछिका विवरण हलबाट प्रत्यक्ष प्रसारण गरेका थिए । माओवादी नियन्त्रणमा रहेको सञ्चार मन्त्रालय अर्न्तगतको सरकारी टीभीले भने त्यसको प्रत्यक्ष प्रसारण गरेको थिएन ।

शाह हलबाट निस्किदा बाहिर पानी परिररहेका थियो जसले छाता नभएका सम्वादाताहरुलाई निस्कनबाट रोकेको थियो । हलभित्रै रहदा केही पत्रकारले उत्तेजित हुदै शाह बसेको कुर्सीमा बस्दै तस्बिर खिचाएका थिए । भिडमा कम्तिमा एउटा कुर्सी भाचिएको थियो । धेरैजसो पत्रकारले बाहिर चौरका तोप अगाडी पनि तस्बिर खिचाएका थिए । पूर्व राजाकै केही सुरक्षाकर्मीले आफ्ना मोवाइलबाट हलको पृष्ठभूमीमा एकअर्काको तस्बिर खिचेका थिए ।

कास्की हलमा शाहले प्रेश विज्ञप्ति पढ्दै गर्दा तथा त्यस अघि र पछि दरबारका दक्षिण र पश्चिम गेटमा र्सवसाधारणको भिड जम्मा भएको थियो । भीडले यदाकदा राजतन्त्रविरोधी नारा लगाउदै होहल्ला गरिरहेको थियो ।

शाहले विज्ञप्ति पढ्नु डेढ घन्टा अघि पश्चिमी गेटमा उपस्थित र कान्तिपुरले कुरा गरेका केही र्सवसाधारणले मुलुक शान्तिपूर्वक गणतन्त्रमा प्रवेश गरेकोमा खुशी प्रकट गरे । उनीहरुले सरकारले पूर्व राजा शाहलाई बस्न नागार्जुनमा दरवार उपलब्ध गराएकोमा रोष पनि प्रकट गरे ।

‘पूर्व राजालाई दरवारको व्यवस्था गरेछ सरकारले हामीलाई पनि केही गर्दैलाकि भनेर आएको,’ अर्घाखाचीको दुर्गम गोफुगा गाउका ३० बर्षो टोपनारायण पौडेलले भने । उनी उस्तै उमेरका आफ्ना गाउलेहरु हर्रिप्रसाद पौडेल र कमलप्रसाद पौडेलसँग त्यहा पुगेका थिए । ‘गरिवीले परिवार पाल्न नसकेपछि सकेसम्म स्वदेशमै नभए विदेशमा’ रोजगार गर्ने उद्देश्यले काठमाडौ आएको पौडेल बन्धुहरुले बताए । तीनैजनाले साउदी अरवजान अर्न्तवार्ता दिइसकेको तर तलव अति कम भएकाले चित्त नबुझेको बताए । उनीहरुसँग गरिवी निवारण कोषले निकालेको ‘गरिवी निवारण कोष, एक चिनारी’ शीर्षकको पुस्तिका थियो । ‘हिड्दैगर्दा यसको अफिस देख्यौ,’ टोपनारायणले भने- ‘केही सहयोग पाइहालिन्छ कि गाउमा काम थाल्न भनेर त्यहा छिरेका थियौं । यही पाईयो ।’

उनीहरुले पूर्व राजा दरवारबाट हट्नु राम्रो भएको उल्लेख गर्दै देशलाई उन्नती तिरलैजान ‘भ्रष्टाचारीलाई फासी दिइने कानून बनाउनुपर्ने’ विचार प्रकट गरे ।

शाहको भाषण पछि दक्षिणी गेटमा जम्मा भएको भीड मुसलधारे पानीका कारण तितरवितर भयो । बर्षा रोकिएपछि भीड पश्चिमी गेटमा जम्मा भएको थियो जहाँबाट शाह साझ साढे आठबजे निस्केका थिए ।

पश्चिमी गेटमा राजतन्त्रवादी र गणतन्त्रवादीहरुका दुइ समुह थिए । पूर्वराजावादीले गेटसँगै टासिएर ‘राजा हटाउने विदेशी दलाल’लाई धारेहात लगाएर सरापेका थिए भने गेट अगाडीको मुख्य सडकसँगै उभिएका गणतन्त्रवादीले ‘छिटो निस्क ज्ञानेन्द्र’ नारा लगाएका थिए । राजतन्त्रवादी भीड सानो थियो जसमा धेरैजसो बृद्ध तथा आक्रोशित महिलाहरु थिए । गणतन्त्रवादी भीड अलि ठूलो थियो जसमा जोशिला तन्नेरीहरु थिए ।

प्रहरीले दुबै भीडलाई त्यहाबाट हटाउन खोजेका थिए । ‘राजावादीहरुलाई गेटमा राख्ने हामीलाई चाहि हटाउने-‘ गणतन्त्रवादीहरुले प्रहरीलाई भने । ‘हामी ज्ञानेन्द्रलाई रोक्न आएको होइन, जान दिन्छौं,’ एकजना गणतन्त्रवादीले भने- ‘सके एकदुइ लात हानौला ।’

राजतन्त्रवादीले त्यस्तै रोस गणतन्त्रवादीहरुप्रति प्रकट गरेका थिए । ‘त्यस्तो हल्ला गर्ने फटाहाहरुलाई चाहि नहटाउने, हामीलाई चाहि हटाउन खोज्ने-‘ पूर्वराजावादी बृद्धले प्रहरीलाई भनिन् । ‘उहाँले (गणतन्त्र) स्विकार गर्नुभयो तर हामीलाई स्विकार छैन,’ आफूलाई राष्ट्रवादी बताउने ५२ बर्षो कृष्णप्रसाद शाहीले ज्ञानेन्द्र शाहको भाषणबारे भने- ‘उनीहरुले भन्दैमा छाड्नु हुदैन ।’

‘ती हिन्दू अतिवादी र विदेशी पैसामा चलेका मान्छे हुन्,’ गणतन्त्रवादी २० बर्षो कृष्ण बास्तोलाले राजावादीबारे भने- ‘देश गणतन्त्र भएकोमा मलाई खुशी लागेको छ । ज्ञानेन्द्र र्सवसाधारण जनता भएर बसुन्, केही छैन । राम्रोकाम गरेर राष्ट्रपती नै भएपनि केही छैन ।’