दिनेश वाग्ले
यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ ।
नयाँदिल्ली- अभिषेक अधिकारी आफूलाई कम्ती भाग्यमानी ठान्दैनन् । अफगानिस्तानमा अघिल्लो साता जल्दै गरेको हेलिकप्टरबाट उम्किएका उनी केही दिन दिल्लीको एपोलो अस्पतालमा बिताएपछि लगभग ठीक भएका छन् । पासपोर्ट हेलिकप्टरसँगै जलेकाले उडेर नेपाल फर्किन दिल्ली विमानस्थलमा केही समस्या होला । तर यो क्षण उनको चित्त सहयात्री साथीको मृत्युले बढी दुखाएको छ ।
अढाई महिनाअघि दुबईका लागि काठमाडौं छाड्दा उडानमा सम्भवतः सबैभन्दा खुसी व्यक्ति थिए विष्णु मल्ल । खासै भरपर्दो जागिर नभएका यी तन्नेरीले लामो समयदेखि कल्पेको डलरमा तलब पाइने काम पाउनै आँटेका थिए । दुबईबाट लगत्तै अफगानिस्तान गइहाल्नुपर्नेमा आबुधावीमा दुई महिना बस्दा उनी केही चिन्तित भएका थिए तर हरेस खाएका थिएनन् । दुबईमा रहँदा भविष्यका योजनाबारे अभिषेकसँग खुबै कुरा गरेका विष्णुले अफगानिस्तानसम्मको उडानमा ‘अब काम पाइयो, राम्रोसँग गर्नुपर्छ’ भन्दै सुखद जीवनको कल्पना गरेका थिए ।
जीवन जो धेरै टिकेन । अफगानिस्तान ओर्लेको तेस्रो दिन साउन ४ मा दक्षिणी सहर कान्दाहारबाट उडेको हेलिकप्टर ‘केही मिनेट’ मै दुर्घटना हुँदा विष्णु बाँचेनन् । सैन्य शिविरबाट निस्केको हेलिकप्टरका यात्रीले एकाएक ड्वाङ्ग आवाज सुनेका थिए । ‘लगत्तै दोस्रोपटक ड्वाङ्ग गर्यो, हेलिकप्टर ढुलमुल गर्न थाल्यो,’ अभिषेकले सम्भिmए, ‘लौ तालिवानले हान्यो भनियो ।’
सैन्य शिविर सञ्चालक नेटो गठबन्धन नेतृत्वको अन्तर्राष्ट्रिय सुरक्षा सहायता बलले त्यही दिन विज्ञप्ति जारी गर्दै दुर्घटनाको कारण थाहा नभएको तर हेलिकप्टरलाई विद्रोहीले चाहिँ नझारेको प्रस्ट्याएको थियो । सहायता बलले उड्नेबित्तिकै दुर्घटना भएको बताएको छ भने अभिषेक उडेको लगभग १० मिनेटपछि एयरपोर्टबाट टाढा भएको बताउँछन् । विष्णुसहित चार नेपाली तथा अन्य १२ गैरसैनिक यात्रुको मृत्यु भयो । अभिषेक, अर्का नेपाली रमेश जीसी तथा चालक दलका तीन जना बाँचे ।
‘खै, मेरो भाग्य दह्रो रैछ,’ अस्पताल शय्यामा अभिषेकले भने, ‘सिटबेल्ट सेफ्टी ज्याकेटमाथि नै बाधेको थिएँ । सजिलै फुस्कियो ।’ हेलिकप्टर जमिनमा ठोक्किउन्जेल अभिषेकले बेल्ट खोल्न र साथीहरूलाई त्यसो गर्न भनिसकेका थिए । हेलिकप्टर पूरै ढल्किएको हुँदा अरू यात्रु सिटबेल्टमै झुन्डिएका थिए । त्यतिबेला विष्णुले कराएको उनले सुने । ‘म उसको बेल्ट खोल्दै थिएँ, आगोले मेरो दाहिने काँध र कपाल भेट्टाइहाल्यो,’ अभिषेकले भने । रुसमा बनेको र रुसी पाइलट/कोपाइलटले चलाएको एमआई-फाइभ हेलिकप्टर जमिनमा ढल्किदा खुलेको पछिल्लो गेटबाट उनी उफ्रिए । ‘विष्णु र अरूले बचाऊ भन्दै कराइरहेको म सुनिरहेको थिएँ,’ अभिषेकले भने, ‘आफू बचेको पत्याउनै सकेको छैन । उनीहरूलाई बचाउन नसकेकामा एकदम दुःख लागेको छ ।’
हेलिकप्टरबाट उम्कनेबित्तिकै नजिकैको सडकमा एउटा गाडी फेला परेको, त्यसले सुरुमा आफूहरूलाई आतंककारी ठान्दै चढाउन नमानेको, पछि ‘हेल्प अस’ -हामीलाई सहयोग गर) भनेर निकै अनुरोध गरेपछि नजिकैको अस्पतालसम्म पुर्याइदिएको अभिषेकले बताए ।
काठमाडौंबाट सँगै गएका अरूलाई अभिषेकले खासै चिनेका थिएनन् तर दुबई बसाइमा विष्णुसँग मित्रता गहिरिएको थियो । ‘सिनियर (२८/२९ वर्षका) भएकाले सधैं सहयोग गर्न तत्पर,’ उनले विष्णुबारे भने, ‘त्यो काम पाउन उनले निकै पर्खेका थिए । राम्ररी काम गर्ने, पैसा कमाउने र नेपाल फर्केर राम्ररी बस्ने कुरा गर्थे ।’
किन नगरून् ? तनहुँको फिर्पिmरेमा विष्णुले आफ्नी दुलहीलाई विवाहको १३ दिनमै छाडेका थिए । अभिषेकका अनुसार बिहेअघि विष्णु प्रेमिकासँग भागेका थिए । पोखरामा उनका दिदीहरूले चिना हेराएर साइत जुरेपछि विवाह भएको विष्णुले अभिषेकलाई बताएका थिए । केहीअघि उनले अढाई वर्ष दुबईमै बिताएका थिए तर चित्त नबुझेकाले उनी फर्किए । विष्णुका दाजु कान्दाहारमै काम गर्छन् ।
त्यो दुर्भाग्यशाली उडानमा विष्णु र अभिषेक एउटै लहरमा बसेका थिए । बाँच्ने अर्का रमेशलाई खासै चोट लागेन र अहिले उनी उतै छन् । एउटा सैन्य अस्पतालका चिकित्सकले दिल्ली सिफारिस गरेपछि अभिषेकलाई चार्टर्ड विमानमा ल्याइएको थियो । उपचारखर्च काम लगाउने कम्पनीले नै बेहोरेको अभिषेकका दाइ चित्रले बताए । उनको खुइलिएको पाखुरो एपोलोमा तिघ्राको मासु काटेर टालिएको थियो ।
अभिषेक अफगानिस्तान ख्यालख्यालमै गएका थिए । विष्णु या अन्य थुप्रै बेरोजगार या अर्धरोजगार युवाजस्तो जागिरको समस्या थिएन उनलाई । पोखरामा दाजुको रेस्टुराँ छ जहाँ दर्जनौं काम गर्छन् । त्यही आमाबाबुसँग बस्ने, प्लस टु नसिध्याएका र पाँच दाइ, पाँच दिदीका कान्छा भाइ उनी लामो कपाल पाल्दै, महँगो कोरियाली बाइक चढदै र साँझ रेस्टुराँको रिसेप्सनमा नबसेको बेला साथीहरूसँग रुमल्लिँदै ‘बेपर्वाह’ जिन्दगी जिइरहेका थिए ।
‘अफगान जागिरबारे नातेदारबाट सुनें अनि दलालसँग सम्पर्क भयो,’ उनले भने, ‘पैसा पनि राम्रो, काम पनि सजिलो ।’ अफगानिस्तान पुगेपछि अभिषेकले सम्झौतामा हस्ताक्षर गरे, प्रतिमहिना ६५० डलर तलब, दुई सय डलर बोनस । ‘वर्षमा चालीस दिन तलबी बिदा,’ उनले थपे ।
अफगानिस्तानमा अहिले थुप्रै खतरा छन् तर बेरोजगारीले छटपटिएका धेरै नेपालीलाई अनन्त द्वन्द्वको त्यो भूमिमा जान रोकिएका छैनन् । थोरै भाग्यमानीले सीधै राष्ट्रसंघीय जागिर पाए पनि अभिषेक र विष्णुजस्ता धेरैचाहिँ राष्ट्रसंघ, नेटो या त्यस्तै अन्य एजेन्सीका लागि काम गर्ने बहुराष्ट्रिय ठेकेदारका ‘सहायक कर्मचारी’ भएर जाने हुन् । एजेन्टलाई तीन लाखसम्म तिरेपछि उनीहरूलाई दिल्ली या दुबई हूँदै अफगानिस्तान पुर्याइन्छ । अभिषेक र हेलिकप्टर दुर्घटनामा परेका अन्यलाई सुपि्रम ग्रुप कम्पनीले काम दिएको थियो । उसको वेबसाइटका अनुसार सुपि्रमले ‘सेना तथा बहुराष्ट्रिय (सैन्य) बलहरूलाई खाना उपलब्ध गराउँछ ।’ उनीहरूलाई अफगानिस्तानमा अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधार रहेको कान्दाहारनजिकैको अर्को शिविरमा लैजान लागिएको थियो ।
‘के काम कसरी गर्ने सबै सिकाएको थियो, युनिर्फम दिएको थियो,’ अफगानिस्तानका सुरुका दुई दिनबारे अभिषेकले भने, ‘खासै अप्ठेरो काम थिएन । रमाइलै भाको थियो ।’
उसो त राम्रो अर्थतन्त्रका कारण अफगानिस्तानले नेपालीलाई काम दिएको होइन । केही वर्षमा अमेरिकी आक्रमणयता युद्ध चर्केको छ र अन्तर्राष्ट्रिय संस्था बाक्लिएका छन् । तिनलाई चाहिने सुरक्षा गार्ड र सोसरहको तहका अन्य जिम्मा पूरा गर्न नेपालीहरूले मौका पाएका हुन् । ठ्याक्कै कति नेपाली त्यहाँ छन्, कसैलाई थाहा छैन तर केही अनुमानमा १० हजार छन् । अब त्यो संख्या झन् बढ्ने छ किनकि अफगानिस्तानको कुनै एउटा राष्ट्रसंघीय मिसन कार्यालयमा काम गर्ने एकजना नेपालीले भने, ‘राष्ट्रसंघले आफ्ना कार्यालय अफगानिस्तानभरि स्थापना गर्दैछ ।’
त्यसरी जानेमा एकजना अभिषेक आफैं पनि हुनसक्छन् किनकि उनको सम्झौता अझै खतम भएको छैन । ‘म नेपाल जान्छु,’ शुक्रबार एपोलोबाट डिस्चार्ज भएका तन्नेरीले भने । त्यसपछि ? उनी बोलेनन् । ओठमा गहकिलो मुस्कान फैलियो ।