हिन्दी भारतमै पनि सबैले बुझ्ने, बोल्ने र स्वीकारेको भाषा होइन । एक अर्ब बढी जनसंख्याको आधाभन्दा कम (४४ करोड) ले मात्र हिन्दी बोल्छन् ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
मङ्सिर १२- धार्मिक, भाषिक र भौगोलिक रूपमा विभाजित भारतलाई ब्याट र बल एक तुल्याउने ठान्दै कतिपयले भन्छन्- क्रिकेट हाम्रो धर्म हो भने सचिन तेन्दुलकर भगवान । २० वर्षे अन्तर्राष्ट्रिय खेलजीवनमा सबैभन्दा बढी ३० हजार रन बटुलेका सचिन अहिले भारतमा आफैं एउटा भकुन्डोजस्तो भएका छन्, जसलाई फरक ध्रुवका राजनीतिज्ञहरूले आक्रमण र प्रशंसाको विषय बनाएका छन् । खेल पिच बाहिरको जीवनमा मिलनसार र मृदुभाषी सचिन विवादमा मुछिएकोमा कतिपय भारतीय अचम्मित छन् ।
मुम्बई राजधानी भएको र मराठी मुख्य भाषा बोल्ने भारतीय राज्य महाराष्ट्रको विधानसभामा गत महिना एकजना विधायकले हिन्दीमा सपथ लिन खोजे । मराठी मुद्दामा टेकेर पहिलोपटक चुनिएको नयाँ पार्टी महाराष्ट्र नवनिर्माण सेना (मनसे) का विधायकलाई त्यो मनपरेन । त्यसैले हिन्दीमा सपथ लिँदै गरेका अबु आजमीलाई तिनले तत्कालै, विधानसभामै, थप्पड हान्दै लछारपछार गरे । मनसेको भनाइ छ- महाराष्ट्र मराठीहरूको हो, यसको राजधानी मुम्बई महाराष्ट्रवासीहरूको हो । यहाँ उत्तर भारतीयहरू आएर काम गर्न पाउँदैनन् र तिनको भाषा हिन्दी यहाँ प्रयोग गर्न पाइँदैन ।
मनसे राज ठाकरेको पार्टी हो । राजचाहिँ महाराष्ट्रकै अर्को पार्टी शिव सेना (शिसे) का प्रमुख बाल ठाकरेका भतिजा हुन् । काका र उनका छोरा उद्धवसँग कुरा नमिलेपछि तीन वर्षअघि राजले ‘भूमिपुत्र’ या ‘मराठी मानुस’को नारामा नयाँ पार्टी खोलेका थिए । त्यसयता ठाकरे परिवारका दुई पार्टीहरू मनसे र शिसेबीच मराठी मुद्दालाई चर्कोसँग उठाउन दौड छ । त्यही दौड अबु आजमी प्रकरण हुँदै सचिनसम्म पुगेको हो ।
दुई सय ८८ सिटको महाराष्ट्र विधानसभाको अघिल्लो महिनाको चुनावी नजिताले राज्यमा पुनः भारतीय कंग्रेस-राष्ट्रवादी कंग्रेसको गठबन्धनलाई सत्तामा राख्यो । शिव सेना र भारतीय जनता पार्टीको ‘हिन्दुत्व’ गठबन्धन विपक्षमै सीमित भयो । शिव सेनाको भोट मनसेले काटेको आरोप लाग्यो । शिसेले ४४ र मनसेले १३ सिट जिते । उत्तर भारतको समाजवादी पार्टीले चार सिट जित्यो, जसमध्ये एक विजेतका भए हिन्दी/उर्दू भाषी मुस्लिम अबु आजमी ।
मनसेका विधायकले आजमीलाई लछारपछार गरेपछि भारतभरिबाट दुई खाले प्रतिक्रिया आए । हिन्दीभाषीहरूले त्यसलाई नराम्रो भन्दै निन्दा गरे, अन्य भाषीहरूले ‘त्यसरी कुट्नैचाहिँ हुन्नथ्यो, तर राज्यको भाषा नजान्नेले जिम्मेवारी पनि लिनु हुँदैन’ भन्ने टिप्पणी गरे । त्यहीँ विवाद चलिरहँदा मुम्बईका वासिन्दा र मराठी सचिन तेन्दुलकर आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनको २० औं वर्षगाँठ मनाइरहेका थिए । एउटा कार्यक्रममा एकजना पत्रकारले त्यो विवादबारे सोध्दा सचिनले भने- ‘मुम्बई भारतको हो । म महाराष्ट्रको हुँ र त्यसमा निकै गर्व गर्छु । तर म सबैभन्दा पहिला भारतीय हुँ ।’ सचिन भारतीय राष्ट्रिय टोलीका लागि खेल्छन्, भारतभरि बेचिने सामग्रीका विज्ञापनमा देखापर्छन् र भारतभरि उनका प्रशंसक छन् । सचिनको वक्तव्यलाई बाँकी भारतले स्वागत गर्यो । तर शिव सेनाका प्रमुख ८२ वर्षे बाल ठाकरेले पार्टीको मुखपत्र ‘सामना’मा आलोचना गरे । ‘त्यस्तो टिप्पणी गरेर तिमी मराठी मनोभावनाबाट रन आउट भएका छौ’, ठाकरेले लेखे- ‘ध्यान राख, तिमीले छक्का या चौका हान्दा तिम्रो प्रशंसा हुन्छ । तर मराठी मानुसको न्यायसंगत अधिकारका विरुद्ध ब्याटिङ गर्न आफ्नो जिब्रो प्रयोग नगर ।’
भारतमा भाषा र क्षेत्रीयतामा आधारित यो नौलो विवाद होइन । स्वतन्त्र हुनु केही वर्ष अघिदेखि हिन्दीभाषीहरूले आफ्नो प्रभुत्व फैलाउन खोजेका हुन्, जसलाई भारतका अन्य भाषीहरू ‘हिन्दी विस्तारवाद’ भन्छन् । हिन्दी भारतमै पनि सबैले बुझ्ने, बोल्ने र स्वीकारेको भाषा होइन । एक अर्ब बढी जनसंख्याको आधाभन्दा कम (४४ करोड) ले मात्र हिन्दी बोल्छन् । सन् २००१ को जनगणनाअनुसार साढे चार करोडले गुजराती बोल्छन् भने सात करोडले मराठी, साढे तीन करोडले कन्नाडा, छ करोडले तमिल, सात करोडले तेलेगु, तीन करोडले मलयालायम बोल्छन् । त्यो जनगणनाअनुसार भारतमा २६ लाखले नेपाली बोल्छन् । भारतमा २९ वटा भाषा १० लाखभन्दा बढी मानिसले बोल्छन् । त्यस्तै कम्तीमा दस हजारले बोल्ने १ सय २२ भाषा छन् ।
‘हिन्दी विस्तारवाद’ विरुद्ध अहिले तमिलनाडु भनिने उतिबेलाको मद्रास राज्यमा १९३८, १९४८, १९५२ र १९६५ आन्दोलन भएका थिए । तिनै आन्दोलनका कारण संविधान बन्दा १९५० मा हिन्दीलाई राष्ट्रिय भाषा बनाउने हिन्दीभाषीहरूको योजना सफल भएन । अंग्रेजी र सम्बन्धित राज्यको भाषा (जस्तै तमिलनाडुमा तमिल, आन्ध्रमा तेलगु, गुजरातमा गुजराती र महाराष्ट्रमा मराठी) लाई कार्यालयमा प्रयोग गर्ने सहमति भयो । तर भारतीय संविधानको अर्को एउटा बुँदामा हिन्दीलाई फैलाउनु राज्यको कर्तव्य हुनेछ भनिएको छ ।
दुई महिनाअघि जम्मुतवी रेलवे स्टेसनमा हिन्दीमा मैले यस्तो लेखेको देखेँ- ‘अरूको भाषाको सम्मान गर्नु एउटा कुरा, तर आफ्नैलाई होच्याउनेगरी अरूको भाषा प्रयोग गर्नु देशविरुद्ध हो ।’ त्यहाँ हिन्दीको प्रयोग गर्न र त्यसलाई फैलाउन अनुरोध गरिएको थियो, जबकि जम्मु र कश्मिरका कार्यालयीय भाषा उर्दू, कश्मिरी र डोग्रा हुन् ।
भाषामा बोल्नेको संस्कृति, परिचय र इतिहास हुन्छ । मातृभाषामा बोल्न र लेख्न पाउनु अधिकार हो । नयाँ भाषा जान्नु आफू बलियो हुनु हो । नौलो ठाउँमा त्यहाँको भाषा बुझे यात्रा सहज बन्छ । ‘तपाइर्ंहरू हाम्रो भाषा सिक्नुहुन्न’, विराटनगरका एक नेपालीले केही साताअघि भने- ‘हामीले सिकेका छौं, नेपाली ।’ उनको मातृभाषा मैथिली हो । मलाई लाग्यो, मातृभाषै नेपाली हुनेले भारतमा हिन्दीभाषीहरूले जस्तो ‘हाम्रो भाषा जहींतहीं बुझिन्छ’ भन्दै गमक्क पर्न भएन । अङ्ग्रेजीबाहेक कम्तीमा अर्को एक नेपाली भाषा जान्नुपर्छ । त्यसले जनस्तरको सम्बन्ध थप गाढा तुल्याउँछ र यस्तो विभाजनको बेला हामीलाई नजिक्याउँछ ।
नयाँ सिक्नुजत्तिकै महत्वपूर्ण हो- आफ्नो भाषाको संरक्षण । विश्वकै सम्पर्क भाषा बनेको र जसले पनि सिक्न चाहने अंग्रेजीलाई त विश्वभरि फैलाउन बेलायतले बि्रटिस काउन्सिलमार्फत प्रयास गरिराख्छ । त्यसैले हिन्दीलाई फैलाएर आफ्नो प्रभाव विस्तार गर्न कुनै हिन्दीभाषी भारतीयले चाहन्छ भने के नौलो भयो ? कमजोरी त त्यो चाहना पुर्याउने गैरहिन्दी भाषीको हुन्छ, जसले आफ्नो भाषा मारेर हिन्दी अँगाल्छ । भारतको माथिल्लो संसदकी सदस्य तथा तमिल राजनीतिज्ञ कानीमोजीले हालै एउटा टीभी कार्यक्रममा भनिन्- ‘भाषा मार्नु भनेको त्यो बोल्नेहरूको संस्कृति र इतिहास मार्नु हो ।’
यो लेख पहिलो पल्ट आजको कान्तपुर दैनिकमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथीको तस्बिरमा क्लिक गरे हुन्छ ।
You must be logged in to post a comment.