
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
‘तपाईं जानुस् एकचोटि’ उनले आफ्नो गाउँ बन्दिपुर, तनहुँको प्रशंसामा भने- ‘जिन्दगीमा भुल्नुहुन्न ।’
२० वर्ष भयो उनले त्यो गाउँ (‘वार्ड नं ६’) छाडेको । तर पर्यटकीय बस्तीको प्रबर्द्धन गर्न उनी दिल्लीमा पनि छाड्दैनन् । यो होमबहादुर थापामगरको कथा हो जो थुप्रै गरबि नेपाली र आप्रवासी कामदारहरूको जस्तो संघर्षले भरिएको छ । फरक यत्ति हो, धेरै त्यस्ता अभागी निराशाले आजित भएर संघर्षको यात्रालाई बीचैमा छाड्छन् र गरबीमा डुब्छन् । होमबहादुरले त्यसो कहिल्यै गरेनन् । त्यसैले आज उनी दिल्लीमा सगौरव तीनपाङ्ग्रे टेम्पो (अटोरिक्सा) चलाउँछन् जसलाई यहाँको लोकपि्रय लवजमा अटो भनिन्छ । त्यो अटो जो अबका केही महिनामा पूर्णतः होमबहादुरकै स् वामित्वमा आउनेछ । अहिले किस्तामा तिर्ने पैसा त्यसपछि नाफाका रूपमा दिल्लीस्थित सानो तर उनको आफ्नै घरको बाकसमा जानेछ । २० वर्षअघि बन्दिपुरबाट भागेर भारतीय राजधानी आउँदा होमबहादुर यो दिनको कल्पना मात्र गर्न सक्थे ।
भारतीय सेनाबाट बीचैमा निस् केका बाबुले रक्सीको सुरमा कुटपिट गर्न थालेपछि सहननसकेकी उनकी आमा नजिकैको जंगलमा झुन्डिएर मरनि् । उनी १२ वर्षका थिए । दुई दाजुहरू बिहे गरेलगत्तै छुट्टएपछि, उनी र कान्छा भाइ बाबुसँगै रहे । ‘घरको ढिकी जातोदेखि सबै काम मेरो काधमा आयो,’ उनले सम्भिए, ‘स्कुल पढ्दा पनि मलाई धेरै परेसानी भयो ।’ दाउरा बेचेर उनले जसोतसो ८ क्लास पास गरें तर त्योभन्दा माथि उनले कुनै भविष्य देखेनन् ।
दिल्लीबाट बिदामा फर्किएका एकजना साथिको उक्साहटमा उनी सन् १९८९ मा भारत भागे । यहाँ आएर उनले लोकप्रिय लवजमा कोठी भनिने अपार्टमेन्टमा घरेलु कामदारको जिम्मा सम्हाले- मासिक अढाई सय रुपैयाँमा । उनी १७ वर्षका थिए । ‘बच्चाहरूको स् याहारदेखि टट्टी पनि सफा गरियो,’ उनले सम्भिए । मालिकले एक सय रुपैयाँ तलब नबढाइदिँदा उनले त्यो काम छाडे र नजिकैको अर्को राज्य हरियाणाको इँटा भट्टीमा चार सय रुपैयाँमा काम थाले ।
हो त्यहीँ एकदिन होमबहादुरलाई कसैले नेपाली स्वरमा बोलायो । लामो नाक हुने बाहुनहरूलाई नेपालीका रूपमा भारतमा चिन्न गाह्रो पर्छ तर, होमबहादुरका अनुसार, गुरुङ, मगरहरूलाई झ्वास्सै चिनिन्छ । ‘नेपाली भनेपछि यस्तो लाग्छ कि परदेशमा हेर्नुस् एउटै कोखबाट निस् केका दाजुभाइभन्दा पनि प्यारो,’ उनले भने- ‘आफ्नै दुस्राथरीजस्तो लाग्दोरहेछ ।’
हरियाणाको कुनै एउटा गाउँमा दूध दुहुने, गोबर सोहोर्ने ती गोठाला पनि कामबाट आजित भएका थिए । एसएसली उत्तीर्ण ती युवक र भट्टीको कामबाट असन्तुष्ट होमबहादुरले योजना बनाए जसले उनीहरूलाई दुःखपूर्ण यात्रामार्फत मुम्बई पुर्यायो । त्योभन्दा अघि दिल्ली रेलल्वे स्टेसनमा उनीहरू बडो चलाखीपूर्ण ढंगमा लुटिए ।
‘गाउँको मान्छे सहरमा आउँदा अल्मलिएछौं,’ उनले भने, ‘सायद चाँदनी चोकतिर पुगेछौं क्यारे । ’ हिँड्दै गर्दा उनीहरूले एक अर्का नेपाली भाषी भेट्टाए जसले आफू पनि मुम्बई जान लागेको बताए । लगत्तै उनीहरूले अर्का नेपालीभाषी भेटे जसले आफू आसामबाट आएर घरेलु कामदार बनेको तर पैसा नमिलेपछि केही सामान बोकेर हिँडेको बताउँदै एउटा पोको देखाए । ती व्यक्तिले पोकोमा तीन लाखसम्मको सुन र पैसा भएको र त्यो सबै चारजनाले बाँडेर खानुपर्ने विचार राखे । भोकाएको हुनाले तत्कालै आफूलाई पैसा चाहिएको ती व्यक्तिले बताएपछि र भेटिएको पहिलो मान्छेले त्यसमा जोड दिएपछि होमबहादुरले १४ सय रुपैयाँ दिए । अनि ती दुवै नयाँ व्यक्ति खाने र पिसाब फेर्ने बाहनामा छुट्टिए । केही बेरमा होमबहादुर र उनका गोठाला साथीलाई शंका लाग्यो । ‘दिल्लीमा ठग, मुम्बईमा गुन्डा हुन्छ भन्ने सुनेका थियौं,’ उनले सम्झिए- ‘पोको खोलेर हेर्यौं । अखबारै अखबार पो छ । लालचले त्यस्तो गर्यो । कति महिना लगाएर कमाएको पैसा एकछिनमा गयो ।’
पुराना ती कुरा सम्झिदा उनी हाँसे । मलाई पनि लाग्यो कुनै ठट्टा सुनिरहेको छु । खासमा त्यो दिन दुई जनासँग बाँकी रहेको थियो- १३ सय रुपैयाँ ।
रेलको साधारण डिब्बामा उभिने ठाउँ भएन । ‘सिट खोजियो तर जनरल डिब्बामा कताबाट पाउनु,’ उनले भने- ‘नेपालीले कहिल्यै ट्रेन देखेको भए पो थाहा हुनु ।’ कसोकसो उनीहरू दुई डिब्बा जोडिने ठाउँमा भुइँमै बसे रातभर । बिहान गन्ध कताबाट आउँछ भन्दा आफ्नै जीउबाट । नजिकैको शौचालयबाट आउने छिट्टा उनीहरूको जीउभरी परेछ । ‘धेरै कपडा थिएन,’ उनले भने- ‘तिनैलाई धुँदै सुकाएर लगाइयो ।’
डिब्बा चहार्दै उनीहरू कसोकसो वातानुकूलितमा पुगे र खाली सिटमा झ्याप्पै बसे । टिकट परीक्षक (टीटी) ले गालामा थप्पड मारेपछि मात्र उनीहरूले चाल पाए बिनाटिकट बस्न नहुने कुरा । मुम्बई ओर्लना साथ उनीहरूले सय रुपैयाँ जति सर्टको कलरमा लुकाएका थिए ।
मुम्बई, उनीहरूको सपनाको सहर । कत्ति रहर थियो त्यहाँ जाने । ‘सागर देख्नको बहुत सोख थियो,’ होमबहादुरले भने- ‘फिल्ममा हिरो हिरोइन सागरमा नाचेको देखेको । भर्खरको केटा मान्छे, रहर थियो हेर्ने । ’ टाउको निकै दुखेको थियो तर समुद्र किनारमा डुल्दै र सहर खोतल्दै गर्दा समय बितेको पत्तै भएन । रमाइलो धेरैबेर टिकेन । साँझपख सडकमा हिँड्दै गर्दा एउटा ट्याक्सी अचानक रोकियो र दुईजना निस्के । तिनीहरूले होमबहादुर र उनका साथीलाई समातेर भित्र जाके । ”साले नेपाली लोग कहा से आते हो, तुम लोग स्मलगिङ् कर्ता है इधर’ भन्दै ड्याम का ड्याम पिट्न थाले,’ उनले भने, ‘त्यतिखेर हामीलाई हिन्दी पनि राम्रोसँग बोल्न नआउने । उनीहरूले पुलिसको सीआईडी हौं भनेपछि हामीले पनि ‘तलासी लेओ, गल्ती भए जेल हाल’ भन्यौं । ट्याक्सी ड्राइभरले चाहिँ ‘यी गरबि रहेछन्, छाडिदेओ’ भन्थ्यो, तर तिनले सुनेनन् । मेरो सानो रेडियो, घडी र दुई सय लगे । ट्याक्सी हिँडिरहेको थियो, हामीलाई नाङ्गै बनाइदिए नि । कट्टु पनि फुकाले ।’ धन्न, ट्याक्सीबाट उनीहरूलाई निकालिँदा कलरमा लुकाएको पैसा अझै थियो ।
भोकाएका र त्रसित उनीहरूले नजिकैको एउटा पसलमा बडापाउ खाएपछि सहरमा टिक्न नसकिने निष्कर्ष निकाले । बिनाटिकट दिल्ली फर्किने सोचले उनीहरू रेल्वेस्टेसन पुगे जहाँ अर्का एक नेपालीभाषी भेटिए । अब उनीहरू कुनै पनि नेपाली-सँग कुरा गर्न तर्सिसकेका थिए । तर संसार नराम्रा मान्छेहरूले भरएिको छैन । ती व्यक्ति सहयोगी निस्किए । तिनले दुवैलाई एउटा निर्माणाधीन भवनमा चौकीदारीको जागिर दिलाए । त्यसअघि उनले ‘यतातिर कान्छीहरू पाइन्छ गाउँले हो’ भन्दै रेडलाइट क्षेत्रतिर लगेका थिए जसले होमबहादुरहरूमा शंका उब्जाएको थियो ।
केही समयपछि होमबहादुरले कपडा रंगाउने एउटा कम्पनीमा काम पाए जहाँ उनले खुबै प्रगति गरे । पैसा पनि जम्मा गरे साढे नौ हजार । त्यसमा केही थपेर मुम्बईमा थोरै जग्गा किन्ने उनको योजना थियो । तर सबै योजना कहाँ सफल हुन्छन् ? उनैले जागिर लगाइदिएको एकजना नेपालीले त्यही कारखानामा काम गर्ने एउटी भारतीय युवतीलाई भगाएर उनको कोठामा ल्यायो । दुवैको प्रेम भरपर्दो रहेको पक्का भएपछि होमबहादुर उनीहरूलाई पुर्याउने रेल्वे स्टेसन गए । कोठामा अर्को एकजना परिचित भारतीय थियो । स्टेसनबाट फर्किदा त्यो भारतीय गायब, पैसा पनि गायब । अर्को बज्रपात, बेलुका युवतीका परिवारजन आएर होमबहादुरलाई धम्की दिए । प्रहरीले पनि छापा मार्यो । जागिर पनि छाड्नुपर्यो । विरक्त होमबहादुर फेरी एकपटक केही गरिछाड्ने दृढता लिएर दिल्ली आए । ‘कुछ न कुछ सिक्छु, केही गरेर देखाएर मात्रै गाउँ फर्किन्छु भन्ने जिद थियो, तमन्ना थियो,’ उनले भने- ‘या कुछ भी सम्झिनुस् ।’
सन् १९९५ मा दिल्ली फर्केपछि उनले गाडी चलाउन थाले जो उनले मुम्बईमै सिकेका थिए । प्रत्येक महिना पाँच सय रुपैयाँ जम्मा गरेर उनले दुई बर्षमा पश्चिमी दिल्लीमा किस्ताबन्दीमा थोरै जग्गा किने । अर्को वर्ष उनले त्यहाँ सानो झुपडी बनाए र घर गए । १७ मा भागेको केटो २६ को हुँदा फर्कियो । ‘जे जस्तो भए पनि आफ्नो नेपाल भनेपछि, सुनौलीबाट छिर्नेबित्तिकै यस् तो लाग्यो कि म दुस्रा दुनियामा छिर्दै छु,’ होमबहादुरले सम्झिए, ‘आफ्नो घरमा छिर्दै छु । आफ्नोपन क्या आफ्नोपन । नरकबाट स्वर्गमा जाँदै छु जस्तो लाग्ने । तर फेरी पनि के गर्ने, पेट छ, काम गर्नैपर्यो ।’
उता बाबुलाई भारतीय सेनाले पेन्सन दिन थालेछ । तर होमबहादुरको योजना गाउँ बस्ने थिएन । उनले बिहा गरे ‘साट्ट सुट्ट मागेर’ र आनन्दले खान पुग्ने जमिन बन्दिपुरमै छाडी श्रीमतीलाई लिएर फर्किए दिल्ली । त्यतिन्जेलसम्म उनलाई अरूका लागि काम गर्ने सिलसिलाबाट दिक्क लागिसकेको थियो ।
‘मलाई नोकरीबाट खुबै तङ् आयो,’ एउटा कामबाट अर्कोमा उफ्रिदाका सास् ती सम्झिदै उनले भने- ‘सानो कुरामा निकालिदिन्थ्ये मालिकहरूले । खुबै गाली गर्थै । नोकरी भन्ने चिज अरूको गुलामी रहेछ भन्ने लाग्थ्यो । नेपालीलाई पनि बुरी नजरियाले हेर्ने । कति वचन लगाउने । ‘तेरे नेपालमे केही नहीँ, खाने कुरा नही मिल्ता’ भन्थे ।’
गाली गलौज त अहिले पनि हुन्छ भारतका सहरहरूमा मजदुरी गर्ने होमबहादुरजस्ता नेपालीहरूलाई । हेपाइ त नेपालका ठूलै भनाउँदा नेताहरूले पनि अनुभव गर्नुपर्छ दिल्लीमा आशीर्वाद लिन आउँदा । तर न होमबहादुरहरू मजदुरीका लागि यहाँ आउन छाड्छन् न नेताहरू । दिल्ली फर्केपछि होमबहादुरले अरूको काम गर्ने दैनिकीलाई निरन्तरता दिए ।
तर तीन वर्षअघि होमबहादुर प्रगतिको अर्को खुड्किलो उक्ले । उनले प्रतिमहिना आठ हजारको किस्ताबन्दीमा एउटा अटो किने जो यो वर्षको अन्त्यसम्ममा चुक्ता हुनेछ । मूल्य सवा लाख थियो तर दलालमार्फत लिएकाले बढी तिनुपर्यो । त्यसमा उनलाई गुनासो छैन । सरदर १५ वर्ष टिक्ने आफ्नो अटो ‘आफ्नै मर्जीमा’ चलाउनु उनका लागि ‘नोकरीभन्दा कताकता राम्रो’ छ । अटोले अहिले औसत मासिक १५ हजारसम्म कमाउँछ । उनी ‘घरको ब्यालेन्स हेरेर’ कहिलेकाहीँ ‘बिहान ६ देखि राति दुई बजेसम्म’ पनि काम गर्छन् कहिले मजाले परिवारसँग बिदा मनाउँछन् ।
नौ वर्षअघि बाबुको मृत्यु भएपछि होमबहादुरले भाइ र बुहारीलाई पनि दिल्ली ल्याएका थिए । बिजुली वायरङि् को काम गर्ने भाई र उनीहरूका दुई साना छोराछोरीका अभिभावक भएका छन् होमबहादुरका बूढाबूढी । कुनै कुराको कमी छ भने एउटा सन्तानको छ जसका लागि उनीहरू भगवान्सँग प्रार्थना गररिहेका छन् । अन्तर्वार्ताको एकदिन पछि मैले होमबहादुरलाई उनको घरैनजिक भेट्टाउँदा उनी एकजोर परेवा किन्न र एकजना नेपाली धामीको स्वागत गर्न तयार थिए । ‘डाक्टरले हुन्छ तेरो बच्चा भन्छ तर फेरि किन हुँदैन भनेर धामी झाँक्री गर्न आँटेको,’ उनले भने- ‘ मलाई त केही छैन तर आइमाईको इच्छा पूरा गर्नैपर्यो ।’
डेढ करोड मान्छे बस्ने दिल्लीमा लगभग ६० हजार एकै रंगका ( हरियो र पहेंलो मिश्रण) अटो छन् जो तुलनात्मकरूपमा वातावरण मैत्री सीएनजी (ग्यास) बाट चल्छन् । भीड हुने बस चढ्न नसक्ने र कार नहुने मध्यम तथा निम्न मध्यम वर्गका लागि अटो सबैभन्दा महत्त्वपूर्ण साधन हुन् । अटो चलाउनेहरू मुख्यतः छिमेकी राज्यहरू यूपी, विहार र अन्य उत्तर भारतीय गाउँहरूबाट आउँछन् । होमबहादुरलाई फेला पार्ने क्रममा पाँच नेपाली अटोवाला मेरो सम्पर्कमा आए । सहरका कुनाकुनाबारे जानकारी हुने र तिनै सडकमा थुप्रैपटक दौडिने भए पनि अटोवालाका लागि प्रत्येक दिन नयाँ हुन्छ । ‘दिनमा छत्तीसथरीका मान्छे भेटिन्छन्, छत्तीस तरहका बात हुन्छन् हेर्नुस्,’ होमबहादुरले भने- ‘त्यसमा सबै नराम्रो पनि होइन । कतिले चाहिँ अटोमा बस्नेबित्तिकै ‘कहाँ को ?’ भन्छन् । कहिले सिक्किमको, कहिले हिमाञ्चल र दार्जिलिङ्को भनिदिन्छु । नेपाली भन्दा अलि अर्कै किसिमले हेर्छ । सिक्किमबाट आएको भन्दा ‘डेनीको जान्ते हो ?’ भन्छन् । ‘उसको घर नजिकै मेरो घर हो’ भनिदिन्छु ।’
हल्का कपाल र जुँगासहित चिउडे दाह्री राखेका होमबहादुर क्याप लगाउँछन् जसको अर्थ छ । मुस्लिम इलाकामा पुग्दा उनलाई मान्छेले दाह्री देखेर ‘भाइजान’ भन्छन्, सरदार बस्तीमा स्नेहसाथ ‘पाजी’ भनी बोलाउँछन् । फेसन र बोलीमा जतिसुकै सतर्कता अपनाए पनि कहिलेकाहीँ तीता घटना भइहाल्छन् । अन्तर्वार्ताको चार दिनअघि उनलाई हल्का मातेको एउटा प्रहरीले ‘तु साले नेपाली इधर क्या कर्ता है’ भन्दै मुख छाड्यो । केही बेर गाली सहेका होमबहादुरले पनि आइलाग्नेमाथि जाइलाग्ने तवरमा मुख छाडेपछि ऊ हच्कियो ।
आफ्नो ठाउँ होइन यो, होमबहादुरलाई थाहा छ । दुई दशक भारतमा बिताएपछि अब उनलाई लगभग पुगेको छ यहाँको बसाइ । किस् ता चुक्ता गरेपछि एकाध वर्ष पैसा कमाउने र बन्दिपुर फर्किने उनको योजना छ । ‘दुनियाँ देखियो,’ उनले भने- ‘तर आफ्नो देश, मातृभूमि भनेको मातभूमि हुँदो रहेछ । आउँदो पीढीले परदेसिनु नपरोस् भन्ने चाहन्छु । जति दुःख गरे पनि उतै गर्नु ।’
आफ्नो जन्मभूमि, आफ्नो बन्दिपुर । एकचोटि पुग्नेले त जिन्दगी भुल्दैन, त्यही जन्मेकोले बिर्सने कुरै भएन ।
यो लेख पहिलो पल्ट आजको कान्तिपुर परिशिष्ट कोशेलीमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गरौ ।
सान्दर्भिक लिङ्क
१. A Tale of Two Drivers: Delhi Autowallah and Shillong Cabbie
You must be logged in to post a comment.