नैतिक शिक्षा: झुटो आश्वासन पुरा हुदैन । पुरा नहुदा यस्तै हुन्छ । के शिविरबाट हटेका अयोग्य गुरिल्लाले अब माओवादीलाई समर्थन गर्लान्, राजनीतिबाट टाढिएर रोजगारी गर्लान् या माओवादी विरोधी राजनीतिमा सक्रिय होलान् ?
जनक नेपाल र दुर्गालाल केसी
दहवन (रोल्पा): बिदाइ गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाइदिएको माला शिविर छाड्नु परेका अयोग्य लडाकुले फालिदिए । दाहालले हात अघि बढाउँदासमेत कतिपयले त हात मिलाएनन् । घर फर्किन लागेका लडाकुको बिदाइ कार्यक्रममा सोमबार (हिजो, ८ फेब्रुअरी) विदेशी पाहुनासँगै दाहाल पनि दहवन आएका थिए । स्वागतमा न उत्साह देखियो न त भाषणमा ताली । बरु उनीहरू असन्तुष्ट देखिन्थे बाहिरिनुपर्दा । अस्थायी शिविरबाट बाहिरिएका उनीहरूलाई घर फर्केपछि पनि पार्टीले खटाएको काम गर्नुपर्ने उर्दीसहित कार्यक्षेत्र तोकेर पठाइएकामा उनीहरू झन् रुस्ट देखिन्थे । ‘घर फर्केपछि कुन पार्टीमा काम गर्ने हाम्रो खुसीको कुरा हो,’ दाङको चैलाही-९, नारायणपुरका सरद वलीले भने ।
माओवादी सैन्य कमान्डरहरूले बिदाइ गर्नुअघि प्रशिक्षण दिँदै एक महिनाभित्र पार्टीका काममा फर्किन निर्देशन दिएका थिए । उनीहरूलाई वाईसीएल लगायतका पार्टीका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्न भनिएको छ । ‘एक महिनापछि दिइएको जिम्मेवारीमा फर्किनुहोला,’ ती नेताका भनाइ उद्धृत गर्दै रुकुमकी एक लडाकुले भनिन्, ‘नफर्किए खोज्दै आउँछौं ।’ घर गाउँको नक्सा र फोन नम्बरसमेत टिपेर राखेको उनले बताइन् ।
प्यूठानका दिलीप घर्ती मगरले युद्धमा लगाएका युवालाई पुनःस्थापनमा बेवास्ता गरिए जेसुकै हुनसक्ने चेतावनी दिए ।
पाँचौ डिभिजनभित्र भने दाहालको भव्य स्वागत गरियो । माओवादी सेनाले उनलाई सलामी दिएको थियो । त्यहाँ उनलाई विगतमा झैं ‘कमरेड’ सम्बोधन गरिएन, ‘सर’ भनियो । सलामीपछि पत्रकारहरूलाई बाहिर पठाएर अध्यक्ष दाहाल लगायतका माओवादी नेताहरूले शिविरको निरीक्षण गरे । उनले त्यहाँ डिभिजन कमान्डर कालीबहादुर खाम ‘विविध’ सहितका सैन्य कमान्डरहरूलाई भेटेर गोप्य बैठक गरे । रामहरि श्रेष्ठको हत्याका आरोपित विविध औपचारिक कार्यक्रममा भने देखिएनन् ।
राष्ट्रसंघीय सुरक्षापरिषद सदस्य राष्ट्रहरूका राजदूत, माओवादीका अध्यक्ष दाहाल र अनमिन प्रमुख करिन लनग्रेनको उपस्थितिमा अयोग्य लडाकुहरूलाई सोमबार दहवनबाट बिदाइ गरिएको हो । बहिर्गमनमा परेका लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सघाएर लडाकुहरूले आफू योग्य रहेको पुष्टि गरेको बताए ।
पाँचौं डिभिजनबाट अनमिनले अयोग्य ठहर्याएका २ सय ६८ जनालाई सोमबार बिदा गरिएको छ । ४ सय ५० अयोग्य ठहरिएकामध्ये अरू पहिल्यै घर फर्किसकेको डिभिजनले बताएको छ । योसँगै माघ ३ गते चितवनबाट सुरु माओवादी अयोग्य लडाकुहरूको बहिर्गमन पूरा भएको छ । माओवादीले सशस्त्र संघर्षको पहिलो आक्रमण दहवनछेउकै होलेरी प्रहरीमा गरेका थिए ।
एक महिनायता सातवटा शिविरका २ हजार ३ सय ९४ अयोग्य लडाकु बाहिरिइसकेका छन् । अनमिनले २ हजार ९ सय ७३ लाई नाबालिग र एक हजार ३५ जनालाई युद्धविरामपछि भर्ना भएको भन्दै अयोग्य ठहर्याएको हो । माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले शरीरमा गोली र छर्रा लिएका लडाकुलाई समेत बिदाइ गर्नुपर्दा दुःख लागेको बताए ।
राष्ट्रसंघीय महासचिवका प्रतिनिधि करिन लनग्रेनले अयोग्य लडाकुहरू माओवादी सेनाको चेन अफ कमान्डमा नहुने बताइन् । ‘सशस्त्र संघर्ष तपाईंहरूका लागि अब विगत हो,’ उनले भनिन्, ‘आफ्नो परिवारमा फर्केर शिक्षा र व्यावसायिक तालिम लिनसक्नुहुन्छ ।’
राष्ट्रसंघीय सुरक्षापरिषद राष्ट्रका तर्फबाट बेलायती राजदूत एन्डुय्रु हलले अयोग्य लडाकु हटाउन राजी भएर माओवादीले अन्तर्राष्ट्रिय कानुन पालनाको प्रतिबद्धता पूरा गरेको बताए । घर फर्किन लागेका अयोग्य लडाकुलाई निराश नहुन आग्रह गर्दै उनले भने, ‘यो तपाईंको जीवनको नयाँ सुरुवात हो ।’ अझै १९ हजार ६ सय माओवादी लडाकुको भविष्य निर्धारण गर्न बाँकी रहेको उल्लेख गर्दै एन्ड्यु्रले भने, ‘लडाकुको पुनःस्थापन, व्यवस्थापन र समायोजन हेर्न हामी आतुर छौं । त्यसपछि मात्र नेपाली समाजको नयाँ पाटो सुरु हुनेछ ।’
माओवादीको पछिल्लो भूमिकाले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले तीव्रता पाएको अध्यक्ष दाहालले दाबी गरे । ‘माओवादीकै कारण शान्ति प्रक्रिया र संविधानको काम अघि बढेको छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान बने फाइदा माओवादीलाई पुग्ने ठानेर रोक्न खोज्नेहरू पनि छन् । त्यसैले जुनसुकै त्याग गर्न तयार हुनुपर्छ ।’
दाहाल निजी हेलिकप्टरबाट बिहान दहवन पुगेका थिए । उनीसँगै माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन, समायोजन तथा सुरक्षा प्रमुख वर्षमान पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल पनि थिए । राजदूतहरू र राष्ट्रसंघीय अधिकारीहरू अनमिनको हेलिकप्टरबाट आएका थिए ।
You must be logged in to post a comment.