Facebook आन्दोलन

(यो लेखमा उल्लेखित तथा अन्य रुचिपूर्ण नेपाली फेसबुक समूहरुको सूची र ठेगाना यहाँ छ- http://wp.me/pjyem-Dw)

facebook movement kantipur Hello Friday 05Mar10
ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

‘सक्छौ भने नयाँ सम्बिधान बनाऊ, हैन भने नाटक नदेखाऊ।’

विशेषतः सभासदहरुप्रति र सामान्यतः राजनीतिक नेतृत्वप्रति लक्षित त्यो बोलीसँग जुनै नेपालीले पनि ‘त्यै त’ भन्दै सहमतिमा टाउको हल्लाउछ। सामाजिक सञ्जाल साईट (साससा) फेसबुकमा त्यसलाई ५ सय १६ जनाले समर्थन गरेका छन्। उनीहरुले संविधान लेख्न साटो स्वार्थी बनेको राजनीतिक नेतृत्वप्रति आक्रोष पोखेका छन्।

वितेका केही बर्षहरुमा इन्टरनेटका नेपाली प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ जो इमेल या सस्तोमा विदेश फोन गर्नमा मात्र सीमित छैन। वेब २.० भनिने ब्लग, फेसुबक र ट्वीट्टर जस्ता सघन अर्न्तक्रियात्मक साईटहरुमा बढ्दो नेपाली सहभागीतासँगै त्यहाँ नेपालीहरुका अनेकौ भावना र चाहना अभिव्यक्त हुन थालेका छन्। साच्चै, त्यस्तो अभिव्यक्तीका लागि सार्वजनिक मन्च नेपालीहरुलाई इतिहासमै कहिल्यै मिलेको थिएन। इन्टरनेटले विश्वलाई खुम्च्याउनुका साथै पहाडको फेदीमा बस्ने नेपालीलाई समतलको किनारमा बस्ने नेपालीसँग जोडाएको छ। इन्टरनेट नहुँदो हो त तिनले जिन्दगीमै कहिल्यै भेट्ने थिएनन्। आज ती फेसबकुमा एउटै अभियानमा सामेल छन् या फरक लक्ष्यका लागि विवाद गरिरहेका छन्।

सामान्यत इन्टरनेट र विशेषत साससाले दिएका मन्चमार्फत आज नेपालीहरुले (अमेरिकी, इरानी या अन्यको कुरा अहिले नगरौं) कुनै पनि विषयको समर्थन या विरोध गर्दै आन्दोलन छेड्ने र विचारहरुको तीब्र आदान प्रदान गरिरहेका छन्। ‘नेताहरुको गिदी चेन्ज (बदल्नु) गर्नु पर्छ, झन्डा होइन,’ फेसबुकमा खुलेको एउटा समुहको नाम त्यस्तो छ। ‘समश्या हाम्रो झन्डामा होइन,’ एकजना लेख्छन्( ‘(त्यसलाई बदल्न चाहने) नेताहरुमा छ।’ ६,०३७ जनाले त्यो समुहसँग ऐक्यवद्धता जनाएका छन्। त्यस्तै अर्को समूह नेपालको नयाँलाई नाई भनौं (से नो टू न्यू नेपाल फ्ल्याग)मा २१, ६२५ सदश्य छन्। यो समूह एउटा अर्को वेबसाईटमा प्रकाशित लेख र कुनै एक व्यक्तिले प्रस्ताव गरेको झन्डाको चित्रमा आधारित खुलेको हो। गएको डेढ बर्षमा फेसबुकमा नेपालीहरुको प्रतिनिधित्व बढेको छ, कतिसम्मभने केही महिना अघि धेरै इन्टरनेट प्रयोगकर्ता भएको भारतमा भन्दा बढी फेसबुक घनत्व नेपालमा थियो। पाच महिनाअघि फेसबुकले आफ्नो सेवा नेपाली भाषामा पनि उपलब्ध गराउन थाल्यो।

इन्टरनेट र लोकतन्त्रको सम्बन्ध हालैका बर्षहरुमा खुबै छलफलको विषय बनेको छ। केन्द्रिय नियन्त्रण नभएको, सूचनाको फैलावट तलबाट माथितिर हुने भएको र सिद्धान्ततः जो कसैको पनि सहज पहुँच तथा सहमागिता हुने भएकाले इन्टरनेटले समाजहरुलाई लोकतान्त्रिक तथा पारदर्शी तुल्याइरहेको छ। झन् इन्रटनेटको अर्न्तक्रियात्मक अवतार (वेब २.० भनिने साससा) को आगमनपछि त्यसलाई सामाजिक परिचालनका माध्यमकारुपमा प्रयोग गरिनु अर्न्तराष्ट्रिय लहर भएको छ।

जुन २००९ को इरानी चुनावताका सरकारले प्रेसमा नियन्त्रण मात्रै गरेन विपक्षीमुखी साससाहरुलाई पनि इरानभित्र छेक्यो। एक रिपोर्टका अनुसार चुनावी नतिाजाको विरोधमा जनता तेहरानका सडकमा उत्रिए, तर आवाजहरु वासिङ्टन, लन्डन र टोरन्टोमा पनि गुन्जिए। त्यहाँबाट दशौं हज्जारले साससामार्फत विरोध जनाए। ट्वीट्टर रातारात आन्दोलनको एक बलियो हतियार बन्यो। मुलधारका मिडियाले ल्याउन नसकेका सूचना सर्वसाधारणले खतरा मोलेर ट्वीटे। कतिपसम्म भने इरानमा दिउसो हुदा अमेरिकामा राती भएको मौकामा र्साइट मर्मत गर्न केही घन्टा बन्द गर्ने कार्यक्रमलाई अमेरिकी विदेश मन्त्रालयले हस्तक्षेप गरेर पर सारियो। आन्दोनलका ट्वीट मर्मतको अवधीमा नरोकिउन् भन्ने चाहना मन्त्रालयको थियो। गतबर्ष फेब्रुअरीमा भारतको मंगलोरमा हिन्दू कट्टरपन्थी श्रीराम सेनेका कार्यकर्ताले पवमा गएका युवतीलाई कुटेको विरोधमा भारतभरीका युवतीहरुले सेनेका प्रमुख प्रमोद मुथालिकलाई आफ्ना अन्डरवेयर (कट्टू आदी) पठाउने अभियान फेसबुकबाट चलाए। उनीहरुको त्यो अभियानले तत्कालै भारतभरीका पत्रिका र टीभीको साथ पायो।

गत साता धुलिखेलस्थित काठमाडौं विश्विद्यालयको गेटैमा लोलाहान्ने युवकको प्रतिबाद गर्दा उक्त फटाहाबाट लौराले पटिएकी एउटी युवतीले फेसबुकमा गएर रिस पोखिन्। उनले त्यहाँ ‘हिरो बनौं, लोलालाई नकारौं’ (अंग्रेजी) नामको एउटा समुह खोलिन्, आफूले कुटाई खानुपरेको घट्नाको सविस्तार बर्णन गरिन् र साथीहरुलाई लोलाहान्नेविरुद्ध उभिन आग्रह गरिन्। तिनको अभियानप्रति पहिलो दिनमै सयजनाले सदश्य बनेर ऐक्यवद्धता जनाए।

यस्ता इ-आन्दोलनहरु पूर्णतः अनलाईन हुन्छन् या इन्टरनेटमा शुरुहुन्छन् र तिनका सहभागीले भाइरल’ भनिने एकैछिनमा तीब्रगतीमा छरिइने इमेलमार्फत सूचना आदानप्रदान गर्छन्, कुनै केन्द्रिय नेतृत्व या कडाइपूर्ण ‘चेन अफ कमान्ड’ विनै तत्कालै र सामुहिकहरुमा कार्यक्रम आयोजना गर्छन्। एक अध्ययनका अनुसार साससा मुख्यत तन्नेरी इन्टरनेट प्रयोगकर्ताको मैदान हो। १८(२४ उमेर समुह अनलाईन राजनीतिक गतिविधीप्रति कमरुचि राख्नेमा पर्छ तर राजनीतिक छलफलका लागि साससा प्रयोग गर्नेमा अन्य कुनै पनि उमेर समुहभन्दा बढी सक्रिय हुन्छ। सो अध्ययनका अनुसार ३४ प्रतिशत तन्नेरीले साससाको राजनीति प्रयोग गर्छन् भने त्यतिनैले इन्टरनेटमा राजनीतिक सामाग्री प्रकाशन गर्छन्।

त्यो अध्ययन मुख्यत अमेरिकी प्रयोगकर्तामाझ गरिएको भएपनि एउटा कुरा पक्का हो शहरी नेपाली तन्नेरीहरुमा राजनीतिक तथा सामाजिक चेतना सिर्जना गर्न हालैका बर्षहरुमा इन्टरनेटले अति महत्वपूर्ण भूमिका खेलेको छ। बर्ग, सदन, सडक, राजनीतिक, आर्थिक जस्ता हरेक शब्दसँग ‘संघर्ष’ पनि जोडिने र आन्दोलन चाडपर्व भन्दा बढी ‘मनाइने’ संस्कृती भइसकेको मुलुकमा पनि इन्टरनेटले नेपाली तन्नेरीहरुलाई त्यस्तो मन्च दिएको छ जो कुनै पनि दल या समुहले दिन सकेका छैनन्। तन्नेरीहरुले भित्तेलखनको साटो ‘वाल टू वाल’ र ‘कमेन्ट’मा क्लिक गर्न र नारा दोहोर्‍याउनुको साटो ‘रिट्वीट’ र ‘ह्यास ट्याग’ रुचाउन थालेपछि त्यो बदलावले अबका केही बर्षमा नेपाली राजनीति र सामाजिक आन्दोलनको स्वरुपमा देख्न सकिने बदलाव ल्याउने पक्का छ।

अहिल्यै चाहि फेसबुकमै फर्किऔं जहा अन्य थुप्रै उपयोगी, रमाइला र विनोदपूर्ण समुहहरु छन् जसमा नेपालीहरुले आफूलाई व्यक्त गरेका छन्। केही समुहरुको नाम यस्ता छन्( ‘बत्ति आयो बत्ति आयो फुस्सा’, ‘भाग भाग स्वयम्भू यातायात आयो’, ‘खैरेका भाडा माझ्नु भन्दा त नेपाल नै ठिक’, ‘तेरो बाउको विर्ता होइन नेपाल सबैको साझा फुलबारी हो’, ‘मलाई प्रचन्ड भन्दा पृथ्वीनाराण शाह मनपर्छ’, ‘आज घरपरिवार सम्झेर निकै रुन मन लागेको छ’, ‘नेपालमा जातीय संघीय गणराज्य चाहिदैन’, ‘मसँग पनि क्षमता छ…तर मलाई अवसरको ठुलो खाचो छ’।

अन्तिम समुहका सर्जक भन्छन्( ‘अहिलेको बेरोजगारी समश्या, महगीले सबैलाई पिडित बनाएको छ, हामीसँग धेरै आइडियाहरु छन् तर कहा उपयोग गर्ने? पढाइको सर्टिफिकेट हातमा छ तर जागिर छैन। हाम्रो ज्ञान र सीपको प्रयोग कहा गर्ने? विदेश जाने मन कसर्लाइ होला र? देशमा समश्यै समश्या छ। अवस्था सम्भि्कए आशु झर्छ। कहिले होला हामीले पनि काम पाउने?’

(यो लेखमा उल्लेखित तथा अन्य रुचिपूर्ण नेपाली फेसबुक समूहरुको सूची र ठेगाना यहाँ छ- http://wp.me/pjyem-Dw)