एउटा साइकले ठिटो

Saurab Dahal World Cyclist
सौरभ दाहाल । विश्व साइकल यात्री । भारतको नयाँ दिल्लीमा । ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘बुझ्नुभो दाइ’, उनले फोनमा भने- ‘नेपाली दूतावासले मलाई सहयोग गरेन भनेर मैले ‘हिन्दुस्तान टाइम्स’लाई इन्टभ्र्यु दिएँ ।’

‘दूतावासले बडो ठीक गरेछ’, मैले भनेँ- ‘तिमीजस्तो घुमन्तेलाई सिङ्गापुर जान दूतावासले किन प्लेन टिकट किनिदिनुपर्ने ?’

‘हैन, एकरात पनि राखेन मलाई’, उनले भने ।

‘एकरात पनि राख्न हुँदैन तिमीलाई’, मैले भनेँ- ‘तिमी आफ्नै रहरले साइकल चढेर विश्वयात्रामा निस्केको । फेरि तिमीले नै भन्यौ, तिमीलाई थुप्रैले चन्दा दिएका छन् । बस्न होटलमा आफ्नै पैसा खर्चेर ।’

‘नेपालीलाई सहयोग नगर्ने दूतावासको के काम ?’ उनले भने ।

‘दिल्लीका बस्तीमा रातभरि लड्ठी ठट्टाउँदै र सिठ्ठी बजाउँदै मजदुरी गर्ने गरिब नेपालीलाई सहयोग गर्नसकेको छैन नेपाल सरकारले’, मैले भनेँ- ‘त्यसैले तिमीलाई दूतावासले सहयोग नगरेकोमा मेरो कुनै सहानुभूति छैन ।’

‘तर म त विश्वभरि सन्देश फैलाउन हिँडेको’, उनले भने ।

आठ वर्षअघि साइकल यात्रा थाल्दा सौरभ दाहाल १४ वर्षका थिए । कोटेश्वर, काठमाडौंको स्कुल जाँदा ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा देखेपछि’ विरक्तिएका उनले त्यस्ता बच्चाले स्कुल जानुपर्ने सन्देश दिन साइकलबाट विश्व भ्रमण गर्ने निधो गरे । नौ कक्षाको पढाइ स्कुलमै छाडेर उनले एउटा साइकल समाते र नेपालका विभिन्न जिल्लाको यात्रा थाले । उनले आफ्नो यात्रालाई थप उद्देश्यमूलक तुल्याउन त्यसमा केही बिकाउ सन्देश पनि जोडेका छन्- वातावरण बचाउँ र विश्व शान्ति । नेपाल र भारतसहित २१ देश घुमिसकेका सौरभले मान्छेलाई कसरी प्रभाव पार्नुपर्छ सिकेका छन् । ‘म पत्रिकालाई इन्टभ्र्यु दिँदा खारिइसकेको छु’, उनले मेरा प्रतिकूल प्रश्नहरूमा भने । मैले सोधेको थिएँ- नौ कक्षा पास नगरी स्कुल छाडेको डुलुवाले बच्चालाई स्कुल पठाउनुपर्‍यो भन्नु हास्यास्पद होइन ? पसिना बगाएर काम गर्नु र समाजमा योगदान दिनुको साटो पैसा माग्दै विदेशमा हिँड्दा नेपालका ‘बाटोमा ग्लु सुँघ्दै माग्ने बच्चा’को हित कसरी हुन्छ ? स्कुल जाँदैमा शिक्षा पाइन्छ भन्नु गलत भएको सौरभले बताए । ‘नेपालको शिक्षा प्रणाली गलत छ, धनीले मात्र पढ्न सक्छन्’, उनले भने- ‘यात्रामा मैले स्कुलमा पाउनेभन्दा बढी कुरा सिकेको छु ।’ उनले बितेका केही वर्षमा आफूले जम्मा गरेको सात लाख पैसा नेपालका मध्य र सुदूर पश्चिमका स्कुललाई चन्दा दिएको दाबी गरे । ‘त्यसैले म डुलेको मात्र छैन, सहयोग पनि गरिरहेको छु’, उनले भने ।

kantipur article on saurab dahal
ठुलो पार्न क्लिके हुन्छ

बितेका सात महिनादेखि भारतमा घुमिरहेका सौरभले केही महिनाअघि मलाई सामाजिक सञ्जाल वेबसाइट फेसबुकमा फेला पारेर जोडेका थिए । त्यसयता मैले यदाकदा उनका ताजा विवरण पछ्याइरहेको थिएँ । उनले गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदी र बलिउड अभिनेता सञ्जय दत्तलाई भेटेका तस्वीर साइटमा फ्यालेका थिए । अत्यन्त खराब अंग्रेजी र प्रस्ट नेपालीमा लेखिएका उनका केही टिपोटले उनका यात्राबारे रूचिपूर्ण जानकारी दिइरहेका थिए । अंग्रेजी बोल्न नआए पनि उनले आफ्नो यात्राबारे जानकारी दिने सरकार तथा पुगेका ठाउँका अधिकारीका पत्र र आफ्नोबारे पत्रिकामा आएका समाचारका कटिङ बोकेका छन्, जो पढेपछि मानिसहरू उनलाई सहयोग गर्न तत्पर हुन्छन् । ती रिपोर्ट हेरेपछि अरू-अरू पत्रिकाले थप समाचार लेख्ने सिललिला बढ्दै जान्छ ।

(खुलासा- सौरभ कान्तिपुरका ‘ब्रान्डदूत’ हुन् । उनको साइकल भाँचिएको खबर आएपछि दुई वर्षअघि कान्तिपुर पब्लिकेसन्सले नयाँ साइकल किनिदिएको थियो । दिल्लीमा सौरभ दुई रात मेरो डेरामा बसे । आफू कार्यरत पत्रिकाका ब्रान्ड एम्ब्यासडर भएकाले होइन, बरु उनको यात्रा अनुभव ढुक्कैले सुन्ने र उनलाई पनि बासको सहयोग मिलोस् भन्ने उद्देश्यले मैले उनलाई आफूसँग राखेको थिएँ । दोस्रो रातको खान्की उनी आफैंले किने ।)

मसँग बस्दा उनले भिडियो साझेदारी साइट युट्युव खोतल्दै आफूजस्तै अर्का नेपाली साइकल यात्री फुर्तेम्बा शेर्पाका भिडियोहरू हेरे । फुर्तेम्बा अहिले दक्षिण अमेरिकामा डुल्दै छन् र जहाँ गयो त्यहीं केही छिन उभिएर भिडियो खिच्ने गरेका छन् । आफूभन्दा धेरै मुलुक पुगेका फुर्तेम्बासँग फेसबुक र याहुमेलमार्फत यात्रा अनुभव साट्ने गरेको सौरभले बताए । ‘उसले मलाई म नगएको देशबारे सल्लाह दिन्छ, म पनि ऊ नगएको देशबारे उसलाई जानकारी दिन्छु’, उनले भने । सौरभले पनि केहीयता भिडियो खिच्न थालेका छन् ।

एक सय ५० देश घुमेर सगरमाथासमेत चढिसकेका प्रथम साइकल यात्री पुस्कर शाहको प्रसंग नआउने कुरै भएन ।

सौरभले शाहको नक्कल गर्दै यात्रा थालेको भन्ने मेरो आरोप नकारे । ‘होइन’, उनले भने- ‘मैले साँच्चै संसारभरि सन्देश फैलाउन यात्रा थालेको ।’

कारण जे होस्, तर यो उमेरमा सौरभका लागि साइकल यात्रा संसार नियाल्ने, नयाँ साथी बनाउने मेलो भएको छ । (फेसबुकमा उनले प्रायः युवतीसँगका तस्वीर राखेका छन् र सबैलाई उनी गर्लफ्रेन्ड भन्छन् । युवतीहरूको नम्बरले उनको सानो नोकिया मोबाइल फोन भरिएको छ ।) ‘मेरो पनि जिन्दगी छ’, उनले भने- ‘सधै पाइडल चलाएर कहाँ हुन्छ ? समय मिलाएर राम्रो होटलमा पनि बस्छु, बियर पिउँछु, रमाइलो गर्छु ।’

दुई दिन सौरभसँग बसेपछि मलाई लाग्यो (जो मैले उनलाई भनेँ) उनको यात्राबारे रोमाञ्चका कुरामात्र थाहा पाए भने अरू थुप्रै युवाले भोलि साइकल उठाएर विश्वयात्रामा निस्कन बेर लाउँदैनन् । बेरोजगारका लागि यो समय काट्ने र पैसा पनि कमाउने आकर्षक पेसा पो बन्न सक्छ ! ‘सबै सक्दैनन्’, उनले भने- ‘साइकल चलाउनु बाहेक कुरा गर्न पनि जान्नुपर्छ ।’ र कुरा गर्न अंग्रेजी जान्नैपर्छ भन्ने छैन ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

Read the English version here.

4 thoughts on “एउटा साइकले ठिटो

  1. तपाँईले राम्रो गर्नु भो । बास्तबमा त्यो केटालाई घर फर्काउन जरुरी देखिन्छ । यस सम्बन्धमा तपाईको टिप्पणी राम्रो छ ।

    दुई दिन सौरभसँग बसेपछि मलाई लाग्यो (जो मैले उनलाई भनेँ) उनको यात्राबारे रोमाञ्चका कुरामात्र थाहा पाए भने अरू थुप्रै युवाले भोलि साइकल उठाएर विश्वयात्रामा निस्कन बेर लाउँदैनन् । बेरोजगारका लागि यो समय काट्ने र पैसा पनि कमाउने आकर्षक पेसा पो बन्न सक्छ ! ‘सबै सक्दैनन्’, उनले भने- ‘साइकल चलाउनु बाहेक कुरा गर्न पनि जान्नुपर्छ ।’ र कुरा गर्न अंग्रेजी जान्नैपर्छ भन्ने छैन ।

    Like

  2. तपाईहरूको टिप्पणी सइकिण छ। मेरो बिचारमा पुष्कर शाहले जसरी सन्देश बोकेर हिडेँ म पनी चाडै सात महादेशका सात जनासाथीसँग….

    Like

  3. तेरीमा टोक्ने, साइकल चढेर नामै नभएको देसको नाम राख्ने तँ? सगरमाथा, लुम्बिनी, हिमालय, प्राकृतिक छटा ले भरिएको देसको नाम अब तँ मोरो ले साइकल चढेर परिक्रमा गरेरराख्ने भईस खुब । आफ्नो मस्ती को लागि भिस्सा पाउने राम्रो अवसर को मौका हानेर अनि आफ्नो मज्जा को लागि घुमेर साइकल को टुप्पो मा जाबो एउटा झन्डा राखेर तैले राखिस नेपाल को नाम, तलाई नकचरो।
    तलाई कसले जिउ जिउ गरेर नेपाल को नाम राख्न लाइ साइकल मा घुम भनेको छ हँ? मुला, नेपाल को नामै नभएर दुनिया ले हात जोडेर उसलाई गुहार गरेको झैँ कुरा गर्छ तेरीमा भातमारा।
    अनि फेरी तेस्ता को अन्तरबार्ता गर्ने, तेस्ता को पुछा गर्ने कस्तो पत्मुर्खा छन् हँ यो दुनिया मा।
    मा पुस्कर शाह को तारिफ गर्छु, उसले आफ्नो साहसिक यात्रा को मज्जा लिए, अलि हम्बल पनि वाए, कुरा सुन्न पनि मजै भो ।
    ल, अब त तेस्पछि हग्ने पादने जो पनि साइकल यात्रा बिस्वो को। किन रे भन्दा नेपाल को नाम बिस्वो मा राख्न रे। तेरीमा ……… के गर्ने सबै सब्दहरु येहाँ अलि उपयुक्त नहोला, तर ति तोर्पे हरुलाई त जानेको थिए सब्द प्रयोग गर्न।
    होइन बिदेसी हरु ले गरेको देखेको छु, तर उनीहरु त आफ्नो मज्जा को लागि गरेको भंचन आनन्द ले। हाम्रा किच्चक हरु लाइ चाइ संसारै जितेको जस्तो किन भान हुने हँ? तेरीमा लैजाने। राखिस नेपाल को नाम तैं जस्ता चाक धुन नजान्ने ले।

    ~ तिर्शूलबाबा

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s