आखिर एप्पलले गुगललाई पछारेरै छाड्यो । ठुला कम्पनीहरुको विश्वव्यापी ख्याती (ब्रान्डको पहिचान) मापन गर्ने एउटा संस्था मिलवार्ड ब्राउनले यसै साता सार्वजनिक गरेको एक सर्वे अनुसार इन्टरनेट सर्च इन्जिन गुगललाई पछार्दै कम्प्युटर र आइफोन निर्माता एप्पल नम्बर एक स्थानमा पुगेको छ । वितेका चार बर्षयता त्यो राजकीय स्थानमा गुगल थियो । ब्राउनका अनुसार एप्पलको ब्रान्ड (नाम) को मूल्य एक खर्व ५३ अर्ब डलर (१० हजार सात सय १० अर्ब नेपाली रुपैया) छ । यो मूल्य गत बर्षको भन्दा ८४ प्रतिशत बढी हो । अर्कोतिर, पोहोरको भन्दा र्दुइ प्रतिशत घटेर गुगलको ब्रान्ड मूल्य एक खर्ब ११ अर्ब डलर पुगेको छ ।
विश्वभरी चिनिएका दुई कम्पनीहरुको नेपालमा उपस्थिती नहुने कुरै भएन । यसपाली ‘हेल्लो शुक्रबार’ले दुई कम्पनीका उत्पादनहरु प्रयोग गर्ने कान्तिपुरका दुई सम्वादाताहरुमार्फत एप्पल र गुगलबारे जानकारी दिने प्रयास गरेको छ । वितेको एक बर्षयता एप्पलको सबैभन्दा चलेको उत्पादन आइफोन प्रयोग गरिरहेका आशिष लुइटेल ब्राउनको सर्वे नतिजाबाट प्रसन्न छन् । दुई बर्षसम्म आईफोन चलाएर त्यो हराएपछि गुगलको सफ्टवेटरबाट चल्ने एन्ड्रोइड फोन प्रयोग गर्न थालेका दिनेश वाग्ले चाहिँ नतिजाबाट छक्कै नपरेपनि प्रतिस्पर्धा थप सघन बन्ने ठान्छन् । प्रस्तुत छ गुगल र एप्पलबारे दुइ पत्रकारबिचको संवाद:
आशिष –(एप्पल नम्बर एक हुन्छ, आफूलाई बधाई एसएमएसको ओइरो । विरामी भएका स्टिभ जब्सलाई पो पठाउनु पर्ने– स्वास्थ्यलाभको कामना गर्दै
)
हेल्लो, फोनबाटै कुरा थालौं । पहिलोपटक २००७ मा स्किृनमा औला नचाउदै चलाउन मिल्ने फिजिकल कीबोर्ड विहीन फोन ल्याएर रेडर्क राखेको एप्पलले त्यसयता हरेक बर्षजस्तो नयाँ मोडलका फोन सार्वजनिक गरिरहेको छ । पछिल्लोपटक उसले आइफोन–४ ल्याएको छ । मैले त्यो आउनु अवागै आएको थ्रीजीएस भन्ने मोडल चलाउन थालेको थिए ।
दिनेश– (के त्यो गुगल गरेर थाहा पाएको हो ? सर्च इन्जिनको पावर
)
तर खोजी इन्जिनबारे पछि कुरा गरौंला । अहिलेलाई फोनमै । गुगलले डिसेम्बर २००९ मा नेक्सस एस नामको फोन ल्याएको थियो । जुलाई २०१० मा त्यसलाई रोकेको गुगलले लगत्तै डिसेम्बरमा नेक्सस वान फोनको घोषणा गर्यो । गुगल आफैले चाहि हार्डवेयर (फोन सेट) बनाउदैन । उसको पहिलो सेट सामसुङ् र पछिल्लो एचटीसीले बनाएका हुन् । गुगलले मुख्यत फोन सञ्चालन गर्ने सफ्टवेयर (एन्ड्रोइड) बनाउछ र सेट निर्माता कम्पनीहरुलाई निशुल्क उपलब्ध गराउछ । अहिले म एचटीसीको वाइल्डफायर मोडल चलाउछु ।
आशिष – (हैन हो, एसएमएस आयो । सर्च पनि गर्नुपला एकैछिनमा मेरो यो सुन्दर फोनमै । एप्पल आफ्ना उत्पादनहरुको सौन्दर्य र प्रयोगमा सहजताका लागि ख्यातीप्राप्त छ । आइपोड या आइफोनहरुलाई कतिपयले ‘व्युटी मेसिन’ पनि भन्छन् । यसका म्याकन्टोस र म्याकबुक (दुबैलाई छोटोमा म्याक भनिन्छ) डेक्सटप र ल्यापटप कम्प्युटरहरको बनोट पनि कम्ती सुन्दर हुदैन ।)
एप्पललले मुख्यत दुईवटा सञ्चालक सफ्टवेयर (अपरेटिङ सिस्टम) हरु बनाउछ । म्याकका लागि म्याक ओएस र आइफोन, आइपोड टच र आइप्याडका लागि आइओस । म्याकका हार्डवेयर उत्पादनहरुलाई लोकप्रिय बनाउने नै सफटवेयर हुन् । यिनै सफ्टवेयरका कारण आइफोनले विश्वव्यापी लोकप्रियता पायो ।
दिनेश– (गुगलको सर्च इन्जिनको मुख्य पेजलाई पनि धेरैले सुन्दरै नभनेपनि सरलभनि प्रशंसा गर्छन् । तर फोनहरुमा त्यही ख्याती खासै छैन किनकी यसका हार्डवेयर, माथिनै उल्लेख भो, विभिन्न कम्पनीले बनाउछन् ।)
मोवाईल सफ्टवेयरमा गुगल ढिला आयो तर यो कम छैन । एन्ड्रोइड ओपनसोर्स र निशुल्क पाइने सफ्टवेयर हो जसलाई मोवाइल सेट निर्माता कम्पनीहरुले आफ्नो उत्पादनअनुकुल बदल्न पनि सक्छन् । निशुल्क र एकभन्दा बढी हार्डवेयर कम्पनीले प्रयोग गर्ने भएकाले एन्ड्रोइडको बजार बढ्दो छ । अक्टोबर २००८ मा सार्वजनिक भएयता मोवाइल सफ्टवेयर बजारमा एन्ड्रोइडले राज गरिरहेको छ, जवकी आइओएस,व्ल्याकबेरी प्रयोग हुने सफ्टवेयर र नोकिया फोनहरु सञ्चालन गर्ने सिम्बियको बजार निकै तल छ । तर सिम्बियनले लोकप्रियता गुमाउदै गएपछि अर्को बर्षदेखि नोकियाले माइक्रोसफ्टवको विन्डोज मोवाइल प्रयोग गर्ने भएको छ ।
आशिष –(सुन्दर कुरा के सस्तो होस् ? एप्पलको बजार भाग एन्ड्रोइडको भन्दा कम हुनुमा आइफोनहरुको महगो मुल्य पनि जिम्मेवार छ । एन्ड्रोइड फोनहरु महँगादेखि सस्तासम्म छन् नि । तर आइफोनहरु अमेरिकी बजारमा मोवाईल कम्पनीहरुले अनुदानमा दुई बर्षे सम्झौतासहित बेचेपनि अन्र्तराष्ट्रिय बजारमा चाहि एकैपटक तिर्नुपर्ने हुदा महगा पर्छन्, जो धेरैले चाहेर पनि धान्न सक्दैनन् ।)
अब कुरा संगीतको । जसरी माइकल ज्याक्सनले संगीतको परिभाषै बदलिदिए, त्यसैगरी एप्पलले पहिला आइपोड र त्यसपछि आइफोनमार्फत पानि संगीत सुन्ने तरिकामा क्रान्ति ल्यायो । २००१ मा आइपोड आउदा त्यसले सोनीको वाकमेनमा चक्का हालेर संगीत सुन्ने विश्वलाई चकित पारेका थियो– त्यति सानो भाडोमा हजारौं गीत अट्ने र तिनलाई सजिलै ‘क्लिक ह्विल’ चलाएर सुन्न मिल्ने । आइपोडको त्यही सुविधा आइफोनमा हालेको छ– एप्पलले । उसले आइट्युन्स सफ्टवेयर पनि बनाएको छ जसबाट कम्प्युटर/इन्टरनेटमार्फत गीत किन्न र आइपोड/आइफोनमा भर्न सकिन्छ ।
दिनेश– (सस्ता आइफोन पनि आउदैछन् ! एन्ड्रोइडको बढ्दो बजारलाई देख्न नसकेर एप्पलले पनि उसलाई पछ्याउदै भारत जस्ता नवोदित बजार कब्जा गर्न केही सुविधा हटाएर तथा स्किृन सानो पारेर आइफोन ल्याउदैछ । र, आइफोनकै हाराहारी पर्ने महगा एन्ड्रोइड सेटहरु पनि छन् ।)
संगीतमा एन्ड्रोइड फोनहरु कम छैनन् । ठ्याक्कै आइपोडै जस्तो छैन (त्यो हुनपनि परेको छैन) तर यिनको म्युजिक सिस्टम पनि चलाउन सजिलो छ । आइफोन,आइपोडहरुमा जस्तो एन्ड्रोइड फोनहरुलाई आइट्युन्सको बन्धन पनि छैन । इमेल, इन्टरनेटबाट सोझै डाउनलोड गरेर या ब्लुटुथ मार्फत फोनमा हालिएका गीतलाई सहजै बजाउन सकिन्छ । अनि डाटा केबुलमार्फत कम्प्युटरमा रहेका गीत ,भिडियोलाई पनि फोनमा सार्न सकिन्छ ।
आशिष –(पछ्याउदै रे ? एप्पलको आइप्याड आएपछि त्यसको नक्कल गर्दै खुलेका एन्ड्रोइड ट्यावहरुलाई चाहि के भन्ने नि ? गए फेब्रुअरीमा काठमान्डुमा भएको क्यान इन्फोटेक प्रविधि मेलामा पाच प्रकारका एन्ड्रोइड ट्याव थिए । ती सबै आइप्याडकै क्लोनहरु होइनन र ? )
कुरा गरौं एप्सहरुको । आइफोनलाई ‘आइफोन’ बनाउन अर्थात विश्वव्यापीरुपमा लोकप्रिय पार्न एप्स भनिने ससाना प्रोग्रामहरुको ठूलो हात छ । यी प्रोग्राम फोनमा इन्स्टल गरेपछि तिनले प्रस्तुत गर्ने सुविधा उपयोग गर्न सकिन्छ । फेसबुक, सीएनएन लगायतका जतिपनि लोकप्रिय वेबसाईट/इन्टरनेट सेवाहरुले आइफोन/आइप्याडलाई लक्षित गर्दै एप्स बनाएका छन् । यी सबै एप्सहरु एप्पलले सञ्चालन गरेको एप स्टोरमार्फत फोनमा डाउनलोड गर्न सकिन्छ ।
दिनेश– (त्यो ट्याव स्यावको कुरा अलि पछि गरौंला । आइप्याडकै आइडिया पनि एप्पलको आफ्नै मात्र होइन यद्यपी उसले न्युटन लगायतका उत्पादनमार्फत त्यसमा सन् ९० को दशक र त्यो भन्दा अघिदेखि प्रयास चाहि गरेकै हो । सन् २००० को शुरुतिर माइक्रोसफ्टले पनि ल्यापटपभन्दा सानो तर फोनभन्दा ठूलो ‘ट्वाब्लेट पीसी’ बनाएको थियो तर त्यो चलेन । हो, एप्पल भाग्यमानी ठहरियो, उसको सुधारिएको उत्पादनले बजार पिट्यो । अब त्यो बजार उसकै पोल्टामै मात्रा जान दिन त भएन ! त्यसैले गुगलसंगको सफट्वेयर मिलेमतोमा सामसुङ् लगायतका कम्पनीहरु उत्रिए प्रतिस्पर्धामा । उनीहरुले छोटै समयमा थुप्रै मोडलका ट्यावहरु बनाएर काठमान्डुजस्ता साना बजारमा समेत उपलब्ध गराएका छन् । प्रतिस्पर्धामा ब्ल्याकबेरी र पाल्म पनि सामेल हुदैछन् ।)
एप्सहरुको सवालमा एन्ड्रोइडको सम्भावना झन् तेज छ । अहिले एप्पलको स्टोरमा तीन लाख भन्दा बढी एप्स छन्, एन्ड्रोइडको मार्केट भनिने स्टोरमा चाहि दुईलाख भन्दा बढी । तर एउटा प्रक्षेपण अुनसार आगामी बर्षको अन्त्यसममा एप्सको संख्इामा गुगलले एप्पलललाई पछार्ने आकलन गरिएको छ । एन्ड्रोइडको बढ्दो बजार भागका कारण एप्स बनाउने सबै कम्पनीहरुका लागि मूख्यत दुबै मन्च (एप्पल र गुगल) उत्तिकै महत्वपूर्ण भएका छन् । खै, मेरो फोनको ट्विटर एप्समा नोटिफिकेसन आयो, चेक गर्छु, अनि गफियौला ।
आशिष– (कसले मेन्सन गरेछ ? कि डीएम (डाइरेक्ट मेसेज) परेछ ? न्यूटन असफल भएपनि एप्पलले मिहिनेत गर्न छाडेन । सत्य के हो भने आइप्याडले पनि आफ्नो क्षेत्रमा क्रान्ति नै ल्यायो । अहिले विशेषगरी इन्टरनेटले गर्दा प्रिन्ट ग्राहक गुमाउदै गएका अमेरिकी अखवार र म्यागेजिनहरुका लागि आइप्याड बरदान जस्तै भएको ठानिदै छ । गएसाता मात्रै अमेरिकाका तीन ठूला म्यागेजिन प्रकाशकहरु कन्डी नास्ट (‘न्यूयोर्कर’को प्रकाशक), टाइम वार्नर (‘टाइम’को प्रकाशक) र हस्र्ट (‘इस्क्वायर’को प्रकाशक) आफ्ना म्यागेजिन आइप्याड मार्फत बेच्न एप्पलसँग वार्ता गरिरहेको सार्वजनिक भएको छ यद्यपी ‘लाइफ’ लगायतका कतिपय ख्यातिप्राप्त म्यागेजिनका आइप्याड संस्करण आउन थालेको थुप्रै भइसकेको छ ।)
अप्रिल २०११ मा एप्पलले पहिलोपटक सार्वजनिक गरेको आइप्याडको दोस्रो संस्करण पनि आइसकेको छ । लामो व्याट्रि क्षमता भएको र ड्वेल कोर ए फाइभ प्रोसेसरबाट चल्ने यो सुन्दर मेसिनमा फिल्म हेर्न, पत्रिका पढ्न र आइफोन,आइपोडले गर्न सक्ने सबैजसो कुरा गर्न सकिन्छ । सिर्फ फोनमात्र गर्न मिल्दैन ।
दिनेश– (डीएम रैछ, कसैले मलाई स्काइपमा कुरा गर्न बोलाउदैछ । यो छिटै सिध्याउनु पर्यो।) तर एन्ड्रोइड सञ्चालित ट्याबहरुमा सिम कार्ड हालेर फोनै पनि गर्न मिल्छ । नेपालमै कतिपयले ट्याब चलाइरहेका छन् (उदाहरणका लागि कान्तिपुरकै सम्पादक जसले ग्यालेक्सी ट्याव प्रयोग गर्छन् ।) अमेरिकी बजार आइप्याडले पिटेपनि त्यो नपुगेका बजारहरुमा विशेषगरी सामसुङ्को बर्चश्व छ ।
अब म सर्चतिर पनि जाउँ कि ? एप्पलको छैन भनेर कुरै नगर्ने ? यसमा त गुगलको पुरै बर्चश्व छ– खोजीकै पर्यायबाची भएको छ, यो । इन्टरनेटमा हुने कुल खोजी बजारको ६० प्रतिशत उसको कब्जामा छ । एप्पलको सुन्य ।
गुगलको मुख्य आम्दानीको स्रोत पनि खोजी र एड वर्ड भनिने शाब्दिक विज्ञापन हो । त्यस्तो विज्ञापनले गुगललाई गत बर्ष थुप्रै अर्ब डलर आम्दानी गरायो ।
आशिष – (अब सिध्याउने, हामी दुबै कम्पनीका ग्राहक हौं, दुबै प्रयोग गर्नुपर्छ । प्रतिस्पर्धा उनीहरुबीचको हो , जसले ग्राहकलाई नै फाइदा पुर्याउला।)
एप्पलको पनि मुख्य आम्दानी पहिले कम्प्युटरबाटै हुन्थ्यो । तर आइपोड, आइफोन आएपनि यिनले खुबै नाफा दिलाए । त्यसैले खुशी हुदै एप्पल कम्प्युटरले आफ्नो संस्थाको नामबाटै कम्प्युटर शब्द झिकेर एप्पल इन्क बनायो ।
दिनेश– (कुरो सही हो । त्यसैले म एप्पलसँग हुदैन नभएको जीमेलको प्रशंग झिक्दीन ।)
आशिष – म पनि एप स्टोरमै मात्र पाइने (निशुल्क कल सेवा) भाइवरको कुरा गर्दिन
दिनेश– भाइवर अर्को हप्तादेखि आउदैछ एन्ड्रोइड मार्केटमा
यो लेख हिजोको कान्तिपुरको युवा परिशिष्ट ‘हेल्लो शुक्रबार’मा पहिलोपटक प्रकाशित भएको हो । यो छलफलमा तपाई पनि सामेल हुन चाहनुहुन्छ भने शनिवार २ बजेदेखि ३ बजेसम्म facebook.com/youthkantipur र twitter.com/helloshukrabar मा भेटौ ।
You must be logged in to post a comment.