मनिलाका डाक्टर, एआईटीका इन्जिनियर

manila ka doctors
मनिलाका डाक्टर

दिनेश वाग्ले

जे खानुहुन्छ, तपाई त्यसैले चनिनिहुन्छ । विशेषगरी हुर्किदा खाएको खानाले (अपवादबाहेक) जिन्दगीभर तपाईलाई छाड्दैन । अझ भनौं, तपाईले छोड्नु हुन्न । दालभातकै कुरा गरौं, सानैदेखि त्यो खाएको हो भने पिज्जा, बर्गर, पास्ता, सुसीले तपाईलाई दुई/चार दिन आनन्द देलान् तर पाचौ दिनदेखि तपाईलाई कतिबेला दालभात खाउँ जस्तो लाग्छ । विशेषगरी विदेशमा ।

‘एक दिन पिज्जा खाए अघाइन्छ,’ स्नेहा राजवंशीले भनिन्– ‘भात दिनदिनै खाए अघाइदैन ।’

१९ बर्षे स्नेहा नौ महिना अघि नेपाल छाडेर फिलिपिन्सको मनिला आएकी थिइन्– डेन्टिस्ट्री (दन्त विज्ञान) पढ्न । ‘कात्तिक २९ गते,’ उनले सुनाईन्– ‘नेपाल छाडेको, घरपरिवार छाडेको । फ्लाईट (उडान) नम्बर समेत याद छ । आरए ४११ ।’

स्नेहा ती दशौ हज्जार नेपाली विद्यार्थी मध्धेकी हुन् जो स्वदेशमा स्तरीय र सस्तो शिक्षा (सहजै) उपलब्ध नहुदा विदेशिन बाध्य छन् । भारतमा भए जसोतसो खान्की नेपालकै जस्तो मिल्ला (तैपनि स्वाद नेपाली भए पो) तर फिलिपिन्स जस्तो गाई/सुगुर/कुखुरा अत्यधिक खाने, भात अलिकति खाने, तरकारी झन् थोरै खाने र दाल खादै नखाने ठाउँमा लामो समय टिक्नै गाह्रो हुन्छ ।

खानामै समश्या हुनथालेपछि ती विद्यार्थीले कसरी पढुन् ? त्यसैले हुनुपर्छ स्नेहा पढ्ने मनिलास्थित इमिल्यियो अगुईनाल्डो मेडिकल कलेजले आफ्नो होस्टेलमा बसेर पढ्ने ४० जना नेपाली विद्यार्थीहरुकै लागि भनेर नेपालबाट एकजना भान्से झिकाएको छ । यी मध्ये अघिकाँश त्यहा मेडिसिन (चिकित्साशास्त्र) पढ्छन् । नेपालमा स्तरीय कलेजमा हत्तपत्त सिटै नपाईने, पाइहाले ३५ लाख सम्मको शुल्क एकैचोटी तिर्नुपर्ने हुदा अविभावकहरु निरुत्साहित हुन्छन् । इमिल्यियो जस्ता कलेजहरुले चाहि महिनैपिच्छे शुल्क तिर्दा हुने व्यवस्था गरिदिन्छन् जसले अविभावकहरुलाई कमाउदै छोराछोरी पढाउन सजिलो पार्छ ।

विदेशमा पढाईको गुणस्तरमा पनि केही सकारात्मक परिवर्तन हुने विद्यार्थीहरु बताउछन् । ‘कोर्स अफ स्टडी यहा फरक,’ २००९ डिसेम्बरदेखि मनिला आएर मेडिसिन पढिरहेकी २० बर्षे निर्मला भट्टराईले भनिन्– ‘उता (नेपालमा) रटाउने, यता बुझाउन खोज्छन्, विद्यार्थीले मिहिनेत गरेर आफै बुझ्न सक्नुपर्छ ।’ फिलिपिन्सलाई स्पेनिसहरुले छाडेपछि अमेरिकीहरुले शासन गरेका थिए । त्यसैले फिलिपिनो समाजमा धेरै अमेरिकी प्रभाव पाइन्छ । शिक्षामा पनि । अमेरिकामा ६ बर्ष पढेर २००९ डिसेम्बरमा मनिला आएका २६ बर्षे उत्सव पोखरेलको बुझाई पनि त्यही छ । ‘अमेरिका र यहाँको पढाउने सिस्टम उस्तै लाग्यो,’ उनले भने ।

आर्थिक दृष्टिले विश्वकै गरिवतम्मध्येको नेपालभन्दा निकै सम्पन्न मुलुक हो फिलिपिन्स (एसियाको १२ औं र विश्वको ३२ औं ठूलो अर्थतन्त्र) जसले हालैका बर्षहरुमा सडक र शहरी पूर्वाधारमा प्रगति गरिरहेको छ । चौडा सडक, दुई आकासे रेल लाईनहरु, थुप्रै अग्ला भवनहरु र तुलनात्मकरुपमा शान्तिपूर्ण (अर्थात, हडतालविहीन) जीवनशैली भएकाले यो समुद्रीतटीय शहरलाई १४ सय मिटरमा अडिएको काठमान्डूसँग तुलनै गर्न मिल्दैन । सोझै उडान नभएकाले काठमान्डूबाट झन्डै तीन घन्टामा व्याङ्कक र त्यहाबाट अर्को तीन घन्टामा मनिला पुग्न सकिन्छ । पढाई नेपालको भन्दा सस्तो भएपनि बसाई/खुवाई (कस्ट अफ लिभिङ्) मनिलामा महगोँ छ । केही नेपाली विद्यार्थीहरु मनिला बाहेकका अन्य फिलिपिनो शहरहरुमा पनि पढ्ने गरेको वितेका तीस बर्षदेखि मनिलामा बसिरहेका एकजना नेपाली सुदर्शन खड्काले बताए । गैह्र आवासीय नेपाली संघको फिलिपिन्स शाखाका अध्यक्ष उनले फिलिपिन्समा पाचसय सम्म नेपालीहरु बसेको हुनसक्ने उनले बताए । नेपालीहरुका लागि अन एराईभल (आएपछि) र २१ दिनसम्म निशुल्क भिसा पाईने भएकाले फिलिपिन्स जान उदाहरणका लागि भियतनाम जस्ता मुलुकमा जान जस्तो अप्ठेरो छैन । तर त्यहाको समाजमा घुलमिल हुन त केही अप्ठेरो भइहाल्छ ।

‘शुरुमा एडजस्ट हुन गाह्रो भयो,’ निर्मला र उत्सवसँगै डिसेम्बर २००९ मा मेडिसिन पढ्न आएका २१ बर्षे रमेश लामिछानेले भने– ‘विदेश, नयाँ मान्छे ।’

‘त्यतिबेला नेपालमा जाडो थियो, यहा“ गर्मी,’ निर्मलाले भनिन् ।

‘अनुहार हाम्रो पनि कतिपय फिलिपिनोको जस्तै हुन्छ,’ स्नेहाले भनिन्– ‘त्यसैले उनीहरु तगालो बोल्न खोज्छन् । तर हामी के बुझ्नु ? अनि विदेशी रहेछ भनेर थाहा पाउछन् ।’ मनिलाका फराकिला सडकले शुरुशुरुमा उनलाई कोटेश्वर–सूर्यविनायक ६–लेन सडकको सम्झना गराएको थियो रे ।

‘भर्खरै आएको बेला हामी होस्टलमा रातभरी नसुती गफ गरेर बस्थ्यौं, निद्रा कसैलाई नलाग्ने, सबैजना नयाँ थियौ‍‍‍,’ निर्मलाले भनिन् । शुरुका ती दिनमा आफू घरपरिवार सम्झेर रोएको २१ बर्षे स्वस्तिका अधिकारीले बताइन् । ‘किन आइछु जस्तो लागेको थियो,’ उनले भनिन्– ‘तर अहिले त्यस्तो हुदैन ।’ उनीहरुले फोन र मुख्यत इन्टरनेटमा कुराकानी गर्न मिल्ने सफ्टवेयर स्काईपमार्फत नेपालका घरपरिवार आफन्तसँग नियमित (मुख्यत शनिवार) सम्पर्क भइरहने बताए ।

ait ka engineers
एआईटीका ईन्जिनियर

घुलमिल हुन क्याथोलिक (क्रिश्चियन) फिलिपिन्सभन्दा तीन घन्टा वरको र नेपालमै जन्मेका बुद्धप्रति आस्था राख्ने बौद्धमार्गी थाइल्यान्डमा पनि कहाँ सजिलो छ र ? तर त्यो अप्ठेरोले व्याङ्कक नजिकैको रिङ्सित शहरमा अवस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) मा गएर पढ्न नेपाली विद्यार्थीहरुलाई रोकेको छैन । नेपालमा कतिपय विद्यार्थीहरुका लागि ‘सपनाको गन्तव्य’ जस्तै भएपनि थाइल्यान्डमै चाहि कमैलाई थाहा छ, एआईटीकाबारे ।

थम्मसत विश्वविद्यालयसँगै जोडिएको एआईटी हालैका बर्षहरुमा आर्थिक संकटबाट गुज्रिरहेको छ । १९६० मा खुलेको यो संस्थालाई एक्लै चलाउन नसकेपछि थाइल्यान्डले अन्य मुलुकको संयुक्त प्रयास अन्र्तगतको संस्था बनाउने क्रममा नेपालबाट पनि सहयोग चाहेको छ । नेपालले ठ्याक्कै आर्थिक सहयोगै देला नदेला र एआएटीसम्बन्धी एउटा अन्तर्राष्ट्रिय चार्टरमा अन्य १३ मलुकझै हस्ताक्षर गरेर त्यसलाई अन्य पाँच मुलुकझै अनुमोदन चाहि (मन्त्रिपरिषदबाट) भएको छ (संसदबाट हुन बाँकी रहेको थाइल्यान्डस्थित नेपाली दुतावासका उपराजदूत डोरनाथ अर्यालले जानकारी दिए )।

आगामी महिना नेपालबाट ४० जना विद्यार्थी एआईटी जादैछन् जसले त्यहाको नेपाली विद्यार्थी संख्यालाई झन्डै एकसय ३० पुरर्यायाउने छ । यहाँ पढ्ने कतिपय विद्यार्थी एसियाली विकाश व्याङ्क, विश्व व्याङ्क जस्ता संस्थाहरुले उपलब्ध गराउने छात्रबृत्तीमा आउछन् र मुख्यत प्रविधिमा स्नातकोत्तर गर्छन् । ‘अस्ट्रेलिया, अमेरिका महगो, यहाँ सस्तो र घरबाट नजिक,’ कम्प्युटर साईन्समा स्नातकोत्तरका विद्यार्थी २५ बर्षे बसन्तराज वन्तले भने । खासमा वन्तका काका पनि यही पढेका थिए, दिदी यहीँ लैङ्गीकतामा विद्यावारिधी गर्दैछिन् । ‘नेपालमा आएआईटीको महत्व र सम्मान छ,’ उनले भने– ‘अन्तरार्ष्ट्रियरुपमा कम भएपनि ।’

व्याङ्ककभन्दा ४० किलोमिटर टाढाको यो संस्थामा पढ्दा थाइल्यान्डको झन्डै पश्चिमा मुलुकबराबरको विकास (व्याङ्कक सहरमा) र तेस्रो विश्वको झल्को (व्याङ्ककबाहिर) सरोबरी अनुभव गर्न सकिने विद्यार्थीहरु बताउछन् । उनीहरुलाई भाषाका मुख्य समश्या हुन्छ किनकी धेरै थाईहरु अङ्ग्रेजी बोल्दैनन् । ‘मुख्य सहर हेर्दा विदेशै आएजस्तो हुन्छ,’ कम्प्युटर साइन्स स्नातकोत्तरका २७ बर्षे विद्यार्थी रविन्द्र आचार्यले भने । रात्री जिवन, जमिन मुनी र आकासे ट्रेन, भव्य भवनहरु र किनमेल केन्द्रहरु । ‘क्यानडा, अमेरिका जानेले देख्ने कुरा,’ उनले भने– ‘दुर्गम ठाउँ त नेपालै जस्तो लाग्छ ।’ सार्वजनिक यातायातलाई (काठमान्डूको भन्दा निकै) राम्रो ठान्ने फुड इन्जिनियरिङ् एन्ड बायो टेक्नोलोजीकी स्नतकोत्तर विद्यार्थी ३४ बर्षे ज्योत्सना श्रेष्ठले भनिन्– ‘(गाडीमा) एकदमै भिड हुदा पनि असुरक्षित महसुस हुदैन ।’

थाइल्यान्डमा एकातिर सामान्यत राजालाई बडो सम्मान दिइन्छ, अर्कोतिर उनका विरुद्ध बोल्नेलाई कडा सजायको व्यवस्था छ । राजा फालेका नेपाली विद्यार्थीहरु आफ्ना थाई समकक्षीसँग त्यसबारेमा कुरा के कुरा गर्लान् ? ‘हाम्रो कक्षामा राजासँग असन्तुष्ट दुई जना भेट्टाएको छु,’ आईसीटीमा स्नातकोत्तरका विद्यार्थी २६ बर्षे एकेन्द्र लम्सालले भने– ‘सन्तुष्ट पनि थुप्रै छन् ।’ तर थाईहरु सामान्यत राजनीति र राजाबारे कुरा गर्न खासै उत्साहित नहुने नेपाली विद्यार्थीको अनुभव छ ।

थुप्रै थाईहरुले नेपाल चिन्ने बुद्धको जन्मथलोकारुपमा मात्रै हो । धर्मप्रति अलि बढी रुचि भएकाहरु जीवनमा एकपटक लुम्बीनी पुग्नपाए हुन्थ्यो भन्ने आशा गर्छन् । बाकी चाहि नेपालबाट आएको मान्छेलाई ‘ए नेपाल!’ भनि प्रतिक्रिया दिन्छन् । सूचना प्रविधिमा स्नातकोत्तरका २५ बर्षे विद्यार्थी प्रविणकुमार महर्जनले भने– ‘कोही कोही लुम्बिनी पुगेको भेटेको छु, नगएकाहरु पनि जाने रहर छ भन्छन् ।’

एआइटीमा पढ्ने केही विद्यार्थी अहिल्यै सरकारी कार्यालयहरुमा कार्यरत छन् भने अरु चाहि पढाई सकेपछि नेपालमै गएर केही गर्ने योजना राख्छन् । एआईटीमा कम्प्युटर साईन्स पढेर केही समय नेपाल बसेर केही साता अघि त्यहीँ क्याम्पसमै एउटा अस्थाई आयोजनामा काम गर्न थाईल्यान्ड फर्केका २७ बर्षे अनन्तराज लामिछाने नेपालमा अहिले अवस्था उति उत्साहजनक नभएपनि स्वदेशै फर्केर केही काम गर्ने योजना रहेको बताए । ‘सडकमा हिडेका मान्छेमा बडो निराशा देखेँ,’ नेपाल बस्दाको अनुभव उनले सुनाए– ‘दुई बर्ष यता बसेपछि म नेपाल गएको थिए । मानिसहरु विन्दास नै नदेखिने । जुनै बेला पनि टेन्सनमा भएजस्तो, फ्रस्टेटेड जस्तो । तर पनि मलाई यो (केही महिने आयोजना) सिध्याएर नेपालमै गएर केही गरौं जस्तो लागिरहेको छ । र त्यो सम्भव हुने देखिरहेको छु ।’ एआईटीमा आएर पढ्दा र केही समय बाहिर काम गर्दा मिल्ने अन्र्तराष्ट्रिय अनुभवले नेपालमा स्थापित हुन सजिलो हुने उनको बुझाई छ ।

थाई शैक्षिक संस्थाको क्यान्टिनमा भएको छलफलमा अन्र्तराष्ट्रियरुपमा प्रख्यात थाई खानाको प्रशंग नआउने कुरै भएन । पिरो तोमयाम सुपमा कतिपयले नेपाली स्वाद पनि पाउन सक्छन् यद्यपी यहा पनि मनिलामा जस्तै मासु बढी नै खाइन्छ– गाई, सुगुर र कुखुरा । ‘(थाईहरु) गुलियो बढी खान्छन्,’ फुड इन्जिनियरिङ् एन्ड बायो प्रोसेसिङ्मा स्नातकोत्तर गरिरहेका ३६ बर्षे एकिन्द्रप्रसाद तिमिल्सिनाले भने– ‘मासुमा पनि चिनि हाल्छन् ।’ (नेपालको एउटा सरकारी कार्यलयमा कार्यरत र खाद्य इन्जिनियरिङ्का विद्यार्थीले त्यसो भनेपछि नपत्याउने कुरै भएन ।) तर भान्से नै राख्नुपर्ने गरी चाहि नेपाली विद्यार्थीहरुलाई थाईल्यान्डमा नेपालको खाना मिस हुदैन ।

मनिलाको इमिलियो कलेजले चाहि नेपाली विद्यार्थीका लागि शुरुमा एकजना फिलिपिनो भान्से पनि राखेको थियो । उसले खाना त नेपाली बनायो तर स्वाद नेपाली दिन सकेन । ‘काउली हामी भुटेर पकाउछौ नि,’ स्नेहाले भनिन्– ‘उनीहरुले झ्यान्ट्याङ्ग झोल हालिदिने ।’

‘हामीलाई चिल्लो, अमिलो, पिरो सबै मिल्नुपर्छ,’ २४ बर्षे उत्सव पोखरेलले भने– ‘त्यो उसले मिलाउनै नसक्ने ।’

माथि नै भनियो नि, उत्सवले हुर्कदा खाएको चिल्लो पिरोले न उनलाई अहिले सम्म छाडेको छ न उनले नै छाडेका छन् !

wagle.com.np

>>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । (पीडीएफ) पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।

This slideshow requires JavaScript.