आजैको कान्तिपुरबाट: उपेन्द्र यादव उवाच
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।
मुस्ताङ् चढ्ने, कर्मचारी सरुवा नगर्ने, सरकारी खर्चबाट आफूलाई बधाई विज्ञापन रोक्ने निर्देशनसँगै सबैभन्दा महत्वपूर्ण, शान्ति प्रकृया टुङ्ग्याउन एकलव्य भएर लाग्ने प्रधानमन्त्री बाबुराम भट्टराईका भनाई र केही हदसम्म कामले थुप्रै जनतामाझ उनलाई प्रिय बनाएका छन् । सर्वसाधारणले चिया पसलदेखि इन्टरनेटसम्ममा व्यक्तगरेका सकारात्मक र आशापूर्ण अभिव्यक्तलाई मापक मान्ने हो भने कुनै पनि व्यक्ति प्रधानमन्त्री चुनिंदा जनतामा त्यतिधेरै खुशी र उत्साह ल्याएको यो विरलै हुने घट्ना हो ।
२०१५ मा बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री हुँदा, ०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री नियुक्त हुँदा र ०६५ मा पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिदा पनि जनतामा लगभग यस्तै खाले आशा र उत्साह सिर्जना भएका थिए । सामान्यतः राजनीतिज्ञहरुलाई शंकाले हेर्ने र घृणा गर्ने कतिपय जनताले नै अहिलेका प्रधानमन्त्री भट्टराईलाई त्यस्ता शब्द प्रयोग गरिरहेका छन् जो सामान्य अवस्थामा प्रेमी या प्रेमिकाका लागि साँचिन्छन् । जस्तै- हृदयका राजा, आशाका केन्द्र, मेरा आइडल ।