
विवाह त्यस्तो सम्बन्ध रै’छ जसले समुद्र पारिकालाई वारिका डाँडामा र वारि पहाडकालाई समुद्रपारि किनारमा पुर्याउदो रै’छ । नेपाल र फिलिपिन्सका दुई प्रेम जोडीहरूको कथा ।
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)
लेखेको कुरा हो त्यो । शर्ली अल्फन्सोले नीरज जोशीसँग बिहे गर्ने योजनै बनाएकी थिइनन् । खासमा कुनै पनि विदेशीसँग जिन्दगी बिताउने उनले कल्पना गरेकी थिइनन् । ‘तर आफै चकित भएँ,’ २६ वर्षे फिलिपिनाले अघिल्लो साता काठमान्डुको वसन्तपुरस्थित एउटा क्याफेमा भनिन् । ‘ऊसँग प्रेममा परेँ । हाम्रो भाग्यमै एकअर्कासँग बिहे गर्न लेखेको रै’छ ।’
मह र कागती मिसिएको तातो पानीको ग्लास लिएका नीरज छेवैमा बसेर मुस्कुराइरहेका थिए ।
राजधानीको इन्द्रजात्रा देखाउन नीरजले शर्लीलाई बीपी राजमार्गका घुम्तीहरू हुँदै डुलाउँदै काठमान्डु ल्याएका थिए । त्यो सडक बनाउने जापानी कम्पनीमा कार्यरत इन्जिनियर नीरजसँगै नेपालथोकमै बस्छिन् शर्ली । सिन्धुलीको त्यो पहाडी बस्तीमा, शर्लीले भनिन्, बर्गर र ममजस्तो ‘द्रुतखान्की र रात्रि जीवन’ नहुँदा जीवन यदाकदा पट्यारलाग्दो हुन्छ तर ‘नीरजसँग रहन मन पर्ने भएकाले जेसुकै (चुनौती) पनि सामना गर्न तयार’ उनलाई दु:खहरू खासै दु:खपूर्ण लाग्दैनन् ।
‘मेरा दाजुहरू र आमा खुबै चिन्तित हुनुहुन्थ्यो,’ शर्लीले झन्डै दुई वर्षअघिका ती दिन सम्झिइन् जब उनले एउटा नेपाली केटासँग आफ्नो प्रेम परेको र उसैसँग बिहे गर्न लागेको कुरा परिवारलाई सुनाएकी थिइन् । उनका बाबु छैनन् ।
‘उहाँहरूले उसलाई मेरो हेरचाह गर्न भन्नुभयो,’ नेपालकी बुहारी शर्लीले भनिन्– ‘उहाँहरूले उसलाई विश्वास गर्नुभयो ।’
हरेक सम्बन्धहरू त्यस्तै विश्वास र आपसी समझदारीमा अडिएका हुन्छन् । तर फरक संस्कृति, धर्म, भाषा, भूगोल र चालचनल भएका एकअर्काबाट समुद्रले छुट्याउने गरी टाढाका दुई मुलुकका दुई मुटुहरूको मिलनमा ती सबै कुरा कुनै न कुनै रूपमा चुनौती बनेर उभिन्छन् । मुख्यत तगालो (र अङ्ग्रेजी) बोल्ने क्रिस्चियन (क्याथोलिक) धर्मावलम्बीहरूको बाहुल्य भएको र चारैतिर समुद्रले घेरिएको थुप्रै टापुहरूको संग्रहात्मक मुलुक फिलिपिन्ससँग नेपाली बोल्ने हिन्दु धर्मावलम्बीहरूको बाहुल्य भएको समुद्र छुदै नछुने पहाडी मुलुक नेपालका समानता निकै कम छन् । प्रेमलाई भाषा, धर्म र भूगोलको विभाजनले छेक्दैन भन्ने सबैले सुनेको र पुरानो कुरा हो तर त्यसलाई व्यवहारमा उतार्दा आइपर्ने चुनौती भुक्तभोगीहरूले मात्रै महसुस गर्छन् ।
त्यस्तै भुक्तभोगीमध्येका एक हुन् सुदर्शन खड्का जो फिलिपिन्सका ज्वाइँ बनेर बितेका ३२ वर्षदेखि रोजगार र व्यवसाय गरेर बसिरहेका छन् । लिलियन त उनीसँग प्रेममा परिहालिन्, बिहे गर्न राजी भइहालिन् तर सुदर्शनलाई चुनौती बन्यो आफ्नी त्यतिबेलाकी प्रेमिकाका परिवारका सदस्यहरूको शंकालु मन जित्न । ‘उनीहरू सबैलाई डर थियो,’ केही साता अघि मनिलाको माकाटीस्थित एउटा बहुतले घरमा रहेको कार्यालयमा कुरा गर्दै सुदर्शनले पुराना दिन सम्झिए ।
एमबीए पढ्न त्यहाँ गएका काठमान्डुका सुदर्शनले एउटा पर्यटन कम्पनीमा पार्ट टाइम काम गर्नेक्रममा लिलियनलाई भेट्टाएका थिए । ‘एकअर्कालाई हामीले मन परायौं,’ उनले भने– ‘तर परिवारलाई म प्रति शंका भयो । नेपालको केटो, एमबीए पनि सिध्याएको छैन, हिन्दु । उनीहरूलाई राम्रो लागेको चाहिँ केटो अङ्ग्रेजी बोल्छ, महत्त्वकांक्षी छ । पछि पढाइ र व्यवसायमा मैले पाएको सफलता र मेरो व्यवहारले उनीतिरका सबैको विश्वास जितेँ ।’
काठमान्डुको क्याथोलिक स्कुल सेन्ट जेभियर्समा पढेका भए पनि सुदर्शनले धर्म बदलेका थिएनन् र अहिलेसम्म उनी हिन्दु नै हुन् । ‘हामीले एकलाई अर्कोको धर्ममा ल्याउने सोचेनौं,’ उनले भने– ‘जे छौं, त्यही रूपमा एकअर्कालाई स्विकार्यौं ।’ सुदर्शन र लिलियनका हुर्किसकेका दुई छोरा र एक छोरी छन् । फिलिपिन्समै बस्ने उनीहरूलाई यो या त्यो धर्म र संस्कृतिमा लाग्न आमा र बाबु दुवैले प्रोत्साहन नगरेको र त्यो उनीहरूकै जिम्मामा छाडिदिएको सुदर्शनले बताए । ‘भगवान्मा विश्वास गर,’ आफूले छोराछोरीलाई भनेको सुदर्शनले कान्तिपुरलाई बताए– ‘आमाको गर्छौं या बाबुको तिम्रो जिम्मा ।’
अहिले मध्य २० को ठूलो छोरालाई थुप्रै वर्षअघि केही पैसा दिएर एउटा पुस्तक पसलमा छाडिदिँदा उसले कार्टुनका किताबहरूबाहेक ‘टिचिङ्स अफ बुद्ध’ (बुद्धका उपदेशहरू) पनि किन्दा सुदर्शनलाई विछट्टैको सन्तोष मिलेको थियो । नेपाल आउँदा उनी मन्दिर जान्छन् र ‘म मन्दिर जाँदैछु, तिमी पनि जाने हो’ भनी छोराछोरीलाई सोध्दा ‘जाने’ जवाफ आउँदा पनि उनी सन्तुष्ट हुन्छन् । ‘त्यस्तै म क्रिस्चियन प्रार्थना (मास) मा पनि गइदिन्छु,’ सुदर्शनले भने । उनले छोराहरूलाई नेपाली संस्कृतिसँग परिचय गराउन संगीतका सहारा पनि लिएका रहेछन् भन्ने उनका तीन छोराछोरीले ‘वारि जमुना’ को धुन गुनगुनाएबाट प्रस्ट भयो ।
नेपालबाट टाढिएका यी तीन दशकमा आफूले धर्मबाहेक र नेपाली नागरिकता पनि त्याग्न नसकेको सुदर्शनले बताए । ‘विदेशमा पढेपछि नेपाल त्यागेको मैले चाहेर होइन,’ उनले प्रस्ट पारे– ‘नेपाल प्रत्येक वर्ष गएको छु । सुरुका वर्षहरूमा अवसरहरू राम्रो देखिन । पसल, रेस्टुरेन्ट खोलेर बसे हो तर मेरो पढाइ एमबीएलाई सुहाउने अवसर भेट्टाइन । अहिले त नेपालमा कत्रो परिवर्तन आएको छ । जाबो एमबीए पढ्न देश छाड्नुपर्ने अवस्था छैन ।’
छैन तर पनि अनेकौ चुनौतीले शैक्षिक क्षेत्रलाई तहननहस तुल्याउँदा बर्सेनि थुप्रै नेपाली विद्यार्थी पढ्नकै लागि विदेशिन्छन् र स्वदेशमा अवसर मिल्दा नीरजझैं फर्किन्छन् पनि । फिलिपिनो राजधानी मनिला नजिकैको बस्ती पाम्पाङ्गामा पढ्दै कार्यरत कम्पनीमा कार्यावधि सकिएपछि र शर्लीमा प्यारी पत्नी पाएपछि नीरज नेपाल फर्केर बनेपा–बर्दिबास सडक बनाउने जापानी कम्पनी हाजामामा काम थालेका हुन् । पाम्पाङ्गामा एउटा बिहे गरेका उनीहरूले काठमान्डु आएर गए दसंैमा अर्को बिहे गरेका थिए जो, शर्लीले भनिन्, १५ मिनेटमा सकियो ।
हालैका वर्षहरूमा फिलिपिन्स गएर डाक्टरी या अन्य विषय पढ्ने नेपाली विद्यार्थीको संख्या बढेको छ । त्यस्तै झन्डै एक सयको हाराहारीमा फिलिपिनोहरू नेपालका विभिन्न भागमा आईएनजीओहरूमा कार्यरत छन् । परिवारप्रतिको उनीहरूको प्रतिबद्धताका फिलिपिनो महिलाहरूलाई उत्कृष्ट पत्नीकारूपमा पनि वर्णन गरिन्छ । सुदर्शन र नीरजबाहेक अरू केही नेपाली पुरुषले पनि फिलिपिनाहरूसँग वैवाहिक जीवन
बिताइरहेका छन् ।
नेपाल र फिलिपिन्स ‘९५ प्रतिशत फरक’ रहेको ठान्ने शर्लीलाई नेपाली जीवन शैलीमा समाहित हुन सजिलो भएन । ‘सुरुमा एकदम गाह्रो भयो,’ नेपाली सिक्दै गरेकी शर्लीले अङ्ग्रेजी गरिएको कुराकानीमा भनिन्– ‘धेरै मसला भएको पिरो खान्की । सहरमा भीडभाड उत्तिकै । ट्याक्सी चढ्दा रुन मन लाग्यो, कति खतरनाक ढंगमा चलाएको !’ दुई देशबीचको ‘पाँच प्रतिशत’ समानताचाहिँ अनुहारमा हुनुपर्छ । मानिसहरूले उनीसँग गफ गर्दा नेपालीमै थाल्छन्, नेपाली केटी होली भन्ठानेर । नीरजको परिवारले आफूलाई निकै माया गर्ने गरेको र उनकी हजुरआमा आफ्नी सबैभन्दा ठूली भाषा शिक्षिका भएको शर्लीले बताइन् ।
भाषाको समस्याले कहिलेकाहीँ कुरा नबुझ्दा तनाव हुने बताउने शर्लीलाई हजुरआमादेखि नातिसम्म एउटै घरमा बस्ने नेपाली चलन निकै मन परेको छ । कहिलेकाहीँ उनलाई ‘म कहाँ छु, यो बिरानो संसारमा’ भन्ने पनि नलाग्ने होइन । त्यस्तै, फिलिपिन्समा एक्लै बस्ने आमाको चिन्ता नलाग्ने पनि होइन । तर उनी उतै हुँदा पनि आमा अर्को सहरमा थिइन्, अहिले फोनमा बेलाबेला कुरा भइरहन्छ । ‘मेरो परिवार– नीरज र उनका बाबुआमा साथमा होउन्जेल मलाई नेपाल बिरानो लाग्ने छैन,’ शर्लीले भनिन् ।
सिन्धुली पुग्दा सुरुमा ‘प्रदूषणविहीन सुन्दर र शान्त पहाडी भाग’ बाट खुसी भएकी शर्लीले त्यहाँ रेस्टुरेन्टहरू र रात्रि जीवन नहुँदा अलि अप्ठेरो मानेकी थिइन् । तर अहिले एक जना नेपाली नर्स साथीसँग छेउछाउका गाउँ घुम्दा र श्रीमान्कै अफिसमा आंशिक समय काम गरेर समय बितेको उनले बताइन् ।
फिलिपिनो नागरिकता कायमै राखेकी र एकवर्षे भिसामा रहेकी शर्ली र उनका पति नीरजले बाँकी जिन्दगी नेपालमै बिताउने या अन्त, निर्णय गरिसकेका छैनन् । हेर्दै/गर्दै जाउँ, जे पर्छ त्यहीअनुसार गर्ने उनीहरूको योजना छ ।
उता, नेपालमा दोहोरो नागरिकताको प्रावधान भए छोराछोरीले पनि ‘नेपालको नागरिकता लेलान्’ भनी आशा गर्ने सुदर्शनले चाहिँ काठमान्डुको आफ्नो पुख्र्यौली सम्पत्तिले पनि आफूलाई यतिका वर्षसम्म देशसँग जोडिराखेको बताए । ‘छोराछोरीले जेसुकै गरुन्, उनीहरूको खुसी,’ यतिका वर्षसम्म पूरै बुझे पनि बोलाइमा तलागो भाषामा पूर्णता हासिल गर्न नसकेका सुदर्शनले नेपालीमा भने, ‘तर म बाँचुन्जेल नेपालसँगको सम्बन्ध तोड्दिनँ ।’
You must be logged in to post a comment.