किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?

kina hunchha jhagada 1
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ : पहिलो पृष्ठ र बाँकी १८ ‌पृष्ठ

शान्ति प्रक्रिया टुंग्याउने तरिकामाथि झगडा गरिरहेका देशका दुई ठूला पार्टी माओवादी र कांग्रेसले गत साता आफ्ना आन्तरिक झगडा पनि राजधानीका सडकमा छताछुल्ल पारे । पुष्पकमल दाहाल र बाबुराम भट्टराईको ‘गठबन्धन’ ले आफूहरूलाई छेउ लगाएको भन्दै रिसाएको मोहन वैद्य र सीपी गजुरेल समूहले बुधबार छुट्टै भेला गरेर ‘समानान्तर माओवादी’ बनाउने छनक दियो ।

उता, आफ्ना समर्थकहरूको बाहुल्य रहेका भ्रातृ संस्थाहरूका निर्वाचित कार्यसमितिहरू सुशील कोइराला शिविरले मंगलबार भंग गरिदिएपछि रिसले चुर भएको शेरबहादुर देउवा समूहले तीतो सार्वजनिक प्रतिक्रिया दिएर कांग्रेस अझै ‘दुइटा’ रहेको सन्देश दियो । नेपाली राजनीतिलाई झगडियाहरूले छायामा पारेको यो पहिलो अवसर होइन तर विश्लेषकहरूका अनुसार आन्तरिक पार्टी र अन्तरपार्टी झगडाले नेपाली समाजको अग्रगमनलाई यसभन्दा दरिलोसँग यसअघि कहिल्यै रोकेका थिएनन् ।

‘जनतालाई प्रत्यक्ष असर पार्ने कुरालाई देशले सम्बोधन गर्न पाएको छैन,’ राजनीतिक घटनाक्रमलाई नजिकबाट नियाल्ने समाजशास्त्री प्रा. डिल्लीराम दाहालले कान्तिपुरसँग भने, ‘अनि हामीले तरुण दलमा कसको पकड हुने भन्नेदेखि सिक्किमीकरणको काल्पनिक त्रास’bout निरन्तर सुन्नुपरिरहेको छ । मूल्यवृद्धि र खाद्यान्न अभावले पिल्सिएका जनतालाई त्यसको के चासो ?’

कांग्रेसभित्रको ताजा झगडाले राष्ट्रिय मुद्दाको समाधानमा प्रत्यक्ष असर पारेको छैन । संविधानसभा चुनावपछि त्यो पार्टीको शक्ति क्षयीकरण र कद घटेकाले त्यसो भएकामा शंका छैन । तर कांग्रेसभित्रको निरन्तर विवादले जनतामा समग्र बहुदलीय पद्धतिप्रति वितृष्णा फैलाउन घुमाउरो योगदान दिएको छ, जो लोकतन्त्रमा अडिग विश्वास राख्ने त्यो पार्टीकै लागि दीर्घकालीन घाटा हो । अनि त्यही चुनावमार्फत कद र शक्ति दुवै बढाएको माओवादीभित्रको सैद्धान्तिक आवरणमा जारी व्यक्तिगत विवादको प्रत्यक्ष बन्धक बनेको छ, शान्ति प्रक्रिया ।

झगडियाहरू ! के नेपाल झगडियाहरूको समाज हो ? विश्वले ‘बहादुर तर शान्तिपूर्ण’ भनी वर्णन गर्ने नेपाली जनता के साँच्चै शान्तिपि्रय छन् ? रौतहटको पतौरा गाउँमा आँपको रूखलाई लिएर बुधबार दुई छिमेकी महिलाबीच झगडा हुँदा ६५ वर्षे पुरणीदेवी ठहरै भइन् । के त्यो गरिबीको चरम नतिजा हो या नेपाली समाज कता जाँदैछ भन्ने कुराको संकेत ? आखिर गरिबी नै त हो झगडाको सबभन्दा ठूलो बीउ । झगडिया समाजका कारण राजनीति झगडाले भरिएको हो या झगडिया नेताहरूले समाजमा झन् धेरै झगडा थप्दैछन् ? समाजशास्त्रीहरू समाजलाई हैन नेतालाई दोष दिन्छन् ।

‘समाजलाई किन दोष ?’ त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख ओम गुरुङ भन्छन्, ‘समाज त जसोतसो यथावत् चलिरहेको छ, विकृतिचाहिँ सबै नेताले ल्याए ।’ राजनीतिकर्मीहरूमा बलिदानको भावना नहुँदा र उनीहरूले आफ्ना व्यक्तिगत स्वार्थ त्याग्न नसक्दा राजनीति झगडाले पूर्ण भएको गुरुङको बुझाइ छ । राजनीति ‘कुनै नियम नचाहिने पेसा’ बनेकाले थुप्रै नेताहरू रोजगारीका अन्य कुनै विकल्प नहुँदा पूर्णकालीन रूपमा त्यो पेसामा लागेकाले त्यहाँ टिकिराख्न झगडा बल्भिmने गरेको अर्का एक समाजशास्त्रीको बुझाइ छ ।

थुप्रै पटक प्रधानमन्त्री बनिसकेका तर बितेका केही वर्षमा लगातार पार्टी र संसदीय दलका चुनावहरूमा पराजय भोगेर अस्वीकृत बनिसकेका शेरबहादुर देउवाको न कलेजमा पढाउने क्षमता छ, न बिरामी जाँच्ने खुबी छ, न पुल बनाएर देशको विकास निर्माणमा योगदान दिने विशेषज्ञता छ । त्यसैले उनी राजनीतिबाट सेवानिवृत्त हुन सकेका छैनन्, जसले नयाँ पुस्तालाई नेतृत्वमा पुग्न त रोकेकै छ साथै समग्र राजनीतिलाई प्रदूषित पार्ने झगडा बढाउने ‘नेता’ पनि दिलाएकै छ । देउवा त प्रतिनिधि पात्र मात्र हुन्, यस्तो प्रवृत्ति राजनीतिमा छ्यासछ्यास्ती भेटिन्छ ।

त्यही कुरा लागू हुन्छ मोहन वैद्यमा पनि । २०४३ सालमा ‘सेक्टर कान्ड’ नामको एउटा असफल विद्रोह गरेपछि तत्कालीन मशाल पार्टीको महामन्त्रीबाट हट्न बाध्य वैद्य आफैंले त्यतिबेलाका उदाउँदा नेता पुष्पकमल दाहाललाई महामन्त्रीमा प्रस्ताव गरेका थिए । सेक्टर कान्डको निर्णयमा वैद्यलाई साथ दिएका भनिएका सीपी गजुरेल र देव गुरुङहरू पोलिटब्युरोबाट घटुवामा परेर केन्द्रीय सदस्यमा झरे । त्यसरी नझरेको भए सेक्टर कान्डको निर्णयमा सहभागी नभएकाले घटुवामा नपरेका दाहालको सट्टा आफू महामन्त्री हुन्थे भन्ने सोच गजुरेल र सायद गुरुङले पनि त्यतिबेलैदेखि राखेको कम्युनिस्ट आन्दोलनलाई नजिकबाट नियाल्नेहरू ठान्छन् ।

झन्डै अढाई दशकपछि पनि दाहालसँगको त्यो व्यक्तिगत कटुता गजुरेल र गुरुङले पालिरहेको देखिन्छ । अनि आफैंले महामन्त्री बनाएका आफ्ना चेला दाहालले केही वर्षयता ठूला निर्णय गर्दा पनि आफूलाई सोध्नै छाडेपछि वृद्ध वैद्य पनि क्रुद्ध बनेका हुन् ।

‘पार्टीमा प्रचण्डभन्दा वरिष्ठ हामीलाई निर्णयमा सहभागी नगराएको, किनारामा राखेर अमुक साक्षीमात्र तुल्याइएको भन्ने मोहन वैद्यको इगोमा प्रचण्डका कदमले’ घाउ पारेको राजनीतिक विश्लेषक तथा मानवशास्त्री होमराज दाहालको बुझाइ छ ।

वैद्य इन्जिनियरिङ, डाक्टरी या प्राध्यापनजस्ता पेसाबाट राजनीतिमा आएका हुन्थे भने राजनीतिमा एउटा निश्चित अवधिमा निश्चित योगदान दिएपछि त्यहाँबाट निवृत्त हुन्थे र आफ्नै पेसामा फर्किएर देश निर्माणमा सक्रिय हुन्थे । तर त्यो क्षमता नहुँदा वैद्य पनि पार्टीमै शक्तिको कहिल्यै नसकिने खेलमा सामेल भएका छन्, जसले झगडा बढाउनमात्र भूमिका खेलिरहेको छ ।

त्यस्तै अवस्था छ, कांग्रेसमा देउवाको । गिरिजाप्रसाद कोइरालालाई नै चुनौती दिएका थिए देउवाले उनीविरुद्ध सभापतिमा उठेर । त्यतिबेला सुशील कोइराला र रामचन्द्र पौडेलको देउवाको जस्तो स्वतन्त्र र प्रभावी अस्तित्व थिएन, उनीहरू दुवै गिरिजाप्रसादका कमजोर सहयोगी मानिन्थे । गिरिजाप्रसादको अवसानपछि पार्टी मैले नै हाँक्ने हो भन्ने विश्वास देउवामा थियो, जो व्यवहारमा उनैलाई अचम्म लाग्ने गरी परिणत हुन सकेन ।

‘गिरिजाप्रसादसँग ६०-४० को सम्झौता गरेर पार्टी एकीकरण गरेका हुन् देउवाले,’ मानवशास्त्री एवं पूर्वसांसद दाहालले भने, ‘सुशील सर्वगुण सम्पन्न भएकाले कार्यकर्ताले भोट हालेर सभापति जिताएका होइनन् । देउवा आफैंमा एउटा शक्तिकेन्द्र भएकाले कार्यकर्ताले उनलाई कमजोर पार्न चाहे र सुशीलजस्ता सीधा र गाईप्राणीलाई सभापति बनाए । चुनाव जित्नु एउटा कुरा, शासन गर्नु अर्को । दार्शनिक ढंगमा सुशीलले नेतृत्व गर्न सक्नु होला तर पार्टी चलाउन चाहिने क्षमता, कुटिलता र नेतृत्व शैली उहाँमा छैन ।’ त्यस्तो अवस्थामा झिनो मतले पराजित र देशैभरि सञ्जाल भएका देउवाले सुशीलको आधिकारिकता र क्षमतामा चुनौती दिइरहनु नौलो कुरा नभएको दाहालले बताए ।

नेपाली समाज आफैंमा झगडिया नभएको बरु लज्जालु भएको समाजशास्त्री बालकृष्ण माबुहाङ ठान्छन् । तर राजनीतिकर्मीहरूले ‘लज्जा महसुस गर्न छाडेपछि’ झगडाले प्रोत्साहन पाएको राजनीतिक विश्लेषक प्राध्यापक विदुर पौडेल मान्छन् । ‘राजनीतिज्ञहरूमा लाज भनेको पटक्कै देखिएन,’ उनले भने ।

पक्ष र विपक्षमा बाँडिने लोकतान्त्रिक बहुदलीय र बहुलवादी समाजमा मतभेतहरू नहुने कुरै भएन । ती मतभेदको व्यवस्थित सम्बोधन र प्रबन्धन हुन नसक्दा राजनीतिक छलफल र असहमतिहरू व्यक्तिगत झगडा र इखको ‘जुँगे लडाइँ’ मा परिणत हुन्छन् । नेपालमा अहिले भएको त्यही हो । ‘सिद्धान्तमा झगडा हुँदै र ती झगडालाई रचनात्मक कामले व्यवधान गर्दै देश अघि बढ्ने हो,’ पौडेलले भने, ‘तर यहाँ झगडै झगडामात्र भयो । तिनलाई व्यवधान पुर्‍याउने रचनात्मक कामै भएनन् ।’ पौडेलका अनुसार संविधानसभा चुनावताका पार्टीहरूको झगडा (प्रतिस्पर्धा) लाई शान्ति प्रक्रिया र संविधान लेखनको रचनात्मक कामले भंग गर्न सक्नु पथ्र्यो । राम्रो काम गर्ने प्रतिस्पर्धाको झगडाभन्दा पनि प्रगतिलाई अड्काउने झगडा पार्टीहरूभित्र र पार्टीहरूबीच भएको पौडेलको बुझाइ छ ।

तर फेरि नेताहरूले नै ‘देशका लागि परे ज्यानै दिन तयार छु’ भनेको हामीले सुनेका छैनौं र ? तिनले ज्यान कहिले दिन्छन् ? त्यस्तो सोध्दा तिनीहरू ‘मरुन्’ नै भन्न खोजिएको हैन तर देशका समस्या समाधानमा उनीहरूले व्यक्तिगत रूपमा कसरी र कतिबेला योगदान दिन्छन् भन्ने जान्न चाहनु जनताको अधिकार  हो । मञ्चमा उभिएर भाषण गर्दा ‘त्याग गर्न तयार छु’ भन्नु जति आकर्षक हुन्छ, त्यति नै अप्ठ्यारो परेका बेला त्याग गरेर देखाउन हुन्छ । त्यसैले झगडिया नेताहरू आफू मर्कामा पर्दा र अलिकति झुक्नुपर्दा प्रतिस्पर्धीले सैद्धान्तिक विचलनको बाटो लिएको, आफ्नो बाटो सही भएको दाबी गर्न गालीगलौजमा उत्रिन्छन् ।

‘संक्रमणकालीन यो समयमा एउटा नेताले पद या शक्ति पाउँदा त्यो नपाउने नेता या समूहले त्यसलाई सहज स्वीकार्न सक्दैन,’ मानवशास्त्री दाहालले कान्तिपुरसँग भने, ‘अनि त्यो हरुवा पक्षले विजेता गलत किसिमले शक्तिमा गएको, कुरा त मेरा नै सही छन् भन्न थाल्छ ।’

बाबुराम भट्टराई प्रधानमन्त्री भएलगत्तै निवर्तमान प्रधानमन्त्री झलनाथ खनालले ‘यो सरकारले शान्ति प्रक्रिया पूरा गर्न नसक्ने’ अभिव्यक्ति दिए, जसमा कतिपयले खनालको झगडिया र आरिसे प्रवृत्ति झल्केको पाए । पराजित पक्षले विजेता पक्षबाट न्यूनतम सम्मानको अपेक्षा गर्नु एउटा कुरा तर त्यसैमा हलो अड्काएर विजेतालाई कामै गर्न नदिनु अर्को । होमराज दाहालका अनुसार नेपाली राजनीतिमा जित्ने र हार्नेबीच उति ठूलो भेद हुन नसक्दा (देउवा-कोइराला उदाहरण) पनि त्यस्तो अवस्था सिर्जना भएको हो ।

सैद्धान्तिक आवरण दिइए पनि माओवादीभित्रको जारी झगडा त्यो पार्टीभित्रको प्रभुत्व कायम गर्ने संघर्ष हो भन्ने बझ्न राजनीतिप्रति गहिरो चासो भइरहनु पर्दैन । नेपाली राजनीतिमा जारी झगडाहरू मुख्यतः तीन विषयमा केन्दि्रत छन्, जसको सिद्धान्तसँग गोरु बेचेको साइनोसम्म रहेको देखिँदैन । होमराज दाहालका अनुसार ‘आफ्नो को, पराइ को’ भन्ने पहिलो विषय हो, जसअन्तर्गत नेताहरू पार्टी या सरकारमा सकेसम्म आफ्ना समर्थकहरूको बाहुल्य स्थापना गर्न र विपक्षीको पत्तासाफ गर्न लागि पर्छन् । झगडामा आर्थिक पक्षले पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ, जो दाहालका अनुसार विकासोन्मुक मुलुकको एउटा विशेषतै हो । आफ्ना समर्थकहरूलाई सकेसम्म पैसा कमाउन दिने, त्यही कमाइबाट आफूले पनि कमिसन लिने र आफ्नो गुटको हितमा संगठन सञ्चालन गर्ने । ‘पद र प्रतिष्ठा झगडाको सबैभन्दा ठूलो बीउ हो,’ दाहालले भने, ‘पराजितहरू छायामा पर्छन्, विजेताले जितबाट प्रतिष्ठा पाउँछ । आफन्त र समर्थकलाई सकेसम्मका प्रभावशाली स्थानमा मनोनीत गरेरै लैजाने उनको मुख्य उद्देश्य बन्छ ।’

अन्तरकलह मानवीय स्वभाव हो, जो नेताहरूमै मात्र चाहिँ सीमित हुँदैन । एकजना व्यक्तिमै पनि थुप्रैखाले अन्तर्द्वन्द्व आउने र त्यसले उसलाई अनेकौं ढंगले असर गर्ने बताउने मनोवैज्ञानिकहरू दुई वा त्योभन्दा बढी व्यक्तिहरूको अन्तरकलहलाई स्वाभाविक मान्छन् । ‘मनमुटाव, द्वन्द्व नहुने कुरै आउँदैन,’ वरिष्ठ मनोचिकित्सक तथा पूर्वसहसचिव निराकारमान श्रेष्ठले भने, ‘हरेक परिवार र घरको आफ्नै चेन अफ कमान्ड हुन्छ । परिवारको इज्जत र घरको स्वार्थका लागि जसरी व्यक्तिगत स्वार्थ त्यागेर सदस्यहरू मिलेर बस्छन्, पार्टीहरूमा पनि तिनका सिद्धान्त, प्राथमिकता र विधिविधानले तिनका सदस्यहरूलाई साँधेका हुन्छन् । घरको समस्यालाई बाहिर नजान घरमूलीले प्रयास गरेजस्तै पार्टीमा पनि नेतृत्वमा रहेकाले कार्यकर्तालाई विश्वासमा लिन सक्नुपर्छ । आफ्ना कुरा’bout कार्यकर्तालाई मनाउन सक्नुपर्छ ।’

कतिपय विश्लेषकहरू नेपाली राजनीतिमा अहिले त्यस्तै (पहिला आफ्नै कार्यकर्तालाई मनाउन सक्ने र पछि पूरै देशको नेतृत्व गर्ने) क्षमताको नेताको कमी देख्छन् । लोकतान्त्रिक ढंगले चुनिएका सुशील कोइराला या एमालेका झलनाथ खनालजस्ता नेताहरूले पनि नेतृत्व क्षमता र कार्यकुशलतामार्फत आफूलाई सर्वस्वीकार्य र सर्वस्थापित तुल्याउन सकेका छै्न् । अर्कोतिर केही वर्षअघि भूमिमाथिको राजनीतिमा फर्किंदा जनतामा ठूलो आशाको किरण (यसको अर्को अर्थ नलागोस्) छरेका माओवादीका पुष्पकमल दाहालले पनि बितेका पाँच वर्षमा जनअपेक्षा पूरा गर्न नसकेर लोकप्रियता गुमाएका छन् । त्यसैले नेपाली राजनीतिक ‘एकले अर्कोलाई स्वीकार्न नसकेका’ औसत क्षमताका मानिसहरूको नियन्त्रणमा छ, जो साना समस्याको बुद्धिमत्तापूर्ण समाधान खोज्न दिमाग लगाउनुको साटो गालीगलौज र झगडाको निम्नस्तरमा ओर्लिन्छन् । झगडियाहरू !

facebook.com/dwagle

why do politicians quarrel page 2 of 2
ठूलो पार्न क्लिके हुन्छ


Advertisements

4 thoughts on “किन हुन्छ झगडा नेपालका पार्टीहरूमा ?

  1. साह्रै राम्रो लाग्यो यो लेख समाचार,नेता को झगडा पद्,पर्तिस्ठा र पैसा का लागि नै हो । यो रोग हटाउन आउने सम्बिधान मा नै यो कुरा अनिबार्य राख्न लगाउनुपर्छ ।- कार्यपालिका,बेवस्थापिका वा कुनै सरकारी तथा सार्वजानिक पद वा निउक्ती र पार्टिगत राजनीति मा समेत एकै बय्क्ती बढी मा दुइ कार्यकाल वा १० बर्ष भन्दा बढी हुन बस्न पाइने छैन ।

    Like

  2. जो अघुवा , उही बाटो हगुवा , ठुलो कुर्सि मा बस्ने ठुलै नेता हरु ले गर्दा नै हो , हाम्रो देश मा शान्ति सुरक्छा खल्बलिएको , जता पायो त्यतई ताना तान ,घोचा घोच , खै हेरम डाक्टर साब ले क हि गर्छ कि , भासन र बिचार त खत्राई गर्छा .

    Like

  3. एकले अर्को को नेत्त्रित्वमा बस्न नस्क्ने हाम्रा देशका नेता हरु उनी हरु आफुनै नेत्त्रित्व गर्न तम्सिन्छन, अरुले गरेको हेर्न देख्न नस्क्ने यिनी हरुले खोइ के गर्लान्र यो देश् मा , हामि जनता हरुले के आशा राख्ने यिनी हरु वाट, आफ्नो एउटा पार्टी त राम्रो सँग सम्हाल्न सकेका छैनन् भ्ने के यो देश् राम्ररी चलाउलन हामिलाईत सङ्कानै लाग्छ, यिनीहरुको यस्तै गतिबिधीले नै त नेपाली हरु बिदेश पलायन हुन परेका छन्, नत्र हामी नेपाली केमानै कम छौ र अनी हाम्रो देश् केमा नै कम छ,

    Like

  4. The way our political parties are managed and organized could be critical factor behind these feuds. It is easy for leaders to break parties, divide karyakartas and voters. As long as they have money they can buy votes in each layer of elections in the party. Key is satisfying karyakartsa. As long as they are satisfied; to hell with voters. These problems can be minimized if parties are more democratic and transparent. If inter party elections are more democratic and transparent, more democratic leaders we will have. We may not expect these from Maobadis but we should expect from Congress.

    Like

Please post your thoughts. (कृपया तपाईंलाई लागेको लेख्नुस् ।)

Please log in using one of these methods to post your comment:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )