दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ ।
प्रधानमन्त्रीका रूपमा माओवादी नेता बाबुराम भट्टराई भारतको औपचारिक भ्रमणमा रहेको यो अवस्थामा नेपालमा विपक्षी कांग्रेसका नेताहरू हात बाँधेर मुस्काइरहेका छन् । उनीहरूको त्यो मुस्कुराइ झन्डै १५ वर्षअघिको एउटा सानो जस्तो लाग्ने घटना र त्यसपछिका भयङ्करजस्ता लाग्ने थुप्रै अन्य घटनामा अडिएको छ । २०५२ माघ २९ गते झ्याम्म दाह्री पालेका एकजना ‘रिसाहा अधबैंसे’ ले त्यतिबेलाका कांग्रेसी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० वटा माग प्रस्तुत गर्दै ती फागुन ५ गतेसम्म पूरा नभए ‘सशक्त संघर्षको बाटोमा’ हिँड्ने चेतावनी दिएका थिए । ती माग पूरा हुने नहुने टुङ्गो नलाग्दै र आफैंले तोकेको समयसीमाको बेवास्ता गर्दै ती व्यक्ति फागुन एकमै भूमिगत भए कमरेड लालध्वजका रूपमा तत्कालीन राज्यसत्ताविरुद्ध त्यही दिन सुरु भएको सशस्त्र युद्धमा सामेल हुन । ती लालध्वज, धेरैलाई थाहा छ, यिनै भट्टराई हुन् जसले (र, उनको पार्टी माओवादीले) १५ वर्षपछि भारतसँग सम्बन्धित सुरुका नौ मागलाई पूरै बिर्सन खोजेको जबरजस्त अभिनय गरिरहेका छन् । ४० मध्ये कतिपय माग ०६२/०६३ को जनआन्दोलनले पूरा गरायो तर त्यो सूचीमा रहेका नम्बर एकदेखि नौसम्मका माग अहिले पनि पूरा भएका छैनन् । पूरा गराउने कुर्सीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नौ महिना बसिसेका छन् भने लाजध्वज त्यो कुर्सीमा बसेको आठौं हप्ता भएको छ ।