
मैले अाफू घुम्न अाएको भन्दा सुन्नेले पत्याउन सजिलो थिएन । त्यो अनकन्टार गाउँमा काम नपरी वा कतैबाट सरूवामा नपरी किन पुग्ने । कुरा ठिकै हो । धेरै ठाउँमा त्यसरी नपत्याइएको स्थिति मैले सामना गरेको छु । तै पनि म “हो, घुम्नै अाएको हुँ” भन्न छाड्दिन । एकछिनपछि मान्छेहरू पत्याएजस्तो गर्न थाल्छन् । अनि मलाई वेवास्ता गर्दै उनीहरू अाफ्नै तालमा गफिन थाल्छन् ।
होअोअो… त्यो क्षण । उनीहरूको बीचमै रहेर पनि उनीहरूले मलाई ध्यान नदिएको त्यो क्षण म उनीहरूका अनुहार हेर्दै ध्यानपुर्वक उनीहरूका गफ सुन्न र मनमनै कुराकानीको लवज अठ्याउन रूचाउछु ।
तर अाजको यो साँझ साहुनी अामै (माथि तस्वीरमा नातीनीका जुम्रा हेर्दै) ले मलाई वेवास्ता गर्न छाडेकी रहिन छिन् । म त्यो हुटेलका बेन्चीमा जम्मा भएर बात मारिरहेका पुरूषहरूको गफ सुनिरहेको बेला उनले मेरो अनुहारमा हेर्दै अनि मलाई छक्क पार्दै भनिनन्- “मैले चिने तपैलाईं ! तपै पत्रकार बनेर अाउनुभएको थियो हैन ?” त्यसो भन्दा उनी अाखिभौं उचाल्दै मुस्काईरहेकी थिइन् । सौर्य बत्तीको मधुरो प्रकाशमा उनले मलाई घोरिएर हेरीरहेकी थिइन् ।
म लगभग पक्राउ परेको अवस्थामा पुगेको थिएँ । त्यो किन भने मैले उनीसँगको अलि अघिको कुराकानीमा अाफ्नो परिचय दिएको थिइन ।
“यत्तिकैअैअैअै,” मैले तिनै साहुनीलाई “बस्ने ठाउँ छ?” भनि सोध्दा उनले गरेको एउटा प्रश्नलाई टार्ने प्रयासमा भनेको थिएँ, “घुम्न अाएको ।”
अब मलाई थाहा भयो यो गाँउँमा खासै धेरै घुमन्तेहरू अाउदैनन् । साहुनीको तीक्ष्ण सम्झनालाई मैले चुनौती दिनु जरूरी थिएन ।
“हो हो”, मैले पनि स्वत: उब्जेको मुस्कानसँगै भने, “ठिक भन्नु भयो । म छ वर्षअघि यहाँ अाएको थिएँ ।”
“यहाँ” अर्थात चन्दनपुर । केही साता अघि म फेरि त्यो गाउँ पुगें । पहिलोपटक २००८ मा काठमान्डूको केन्द्रबाट त्यो सानो गाउँ पुग्न म र मेरा सहयात्री सुरज कुँवरलाई सात घन्टाजति लागेको थियो । त्यसमा केही विश्राम सामेल थिए । यात्रा कष्टपूर्ण पनि थियो । निरन्तरको झरीले झन चुनौतीपूर्ण तुल्याएको थियो । यसपाली एक शुक्रबार म तीन घण्टाभन्दा कममा त्यहा पुगें । पहिलाको जस्तो सास्ती भोग्नु परेन । हुनलाई ललितपुरको यो सानो गाउँ त्यति टाढा होइन । सडकदूरी मुस्किलले ५५ किलोमीटर मात्रै हो रत्नपार्कबाट । तर त्यहाँ पुग्न नाघ्नुपर्ने डाँडाहरू गन्ने हो भने चाहिं चन्दनपुर दुर्गम लाग्छ । यसपालीको यात्रा सहज बनाएको थियो सुधारिएको सडकले । उतिबेला बाटो कच्ची थियो । अहिले बाटो पक्की भएको छ । साँघुरो छ, मुस्किलले एक लेनको, तर पनि पक्की भएकाले यात्रा गर्न कति सजिलो भएको छ भने फेरि अर्को महिना त्यहाँ जाउँ जस्तो लागेको छ ।



यसपाली मैले गाउँमा लगभग त्यही गरें जो हामीले उतिबेला गरेका थियौं । कतिपय तिनै मानिस भेट्टाएँ, त्यही गोरेटो हिडेर गाउँको एक फेरो लगाएँ, त्यही होटलमा बसें र त्यही पहिले सुतेसँगैको अोछ्यानमा सुतें । एउटा सानो गाउँ न हो खासै के बदलिन्छ र छ बर्षैमा ।
(नयाँ अनुहारहरू देख्दा मैले अड्कलें होटल साहुनीकी छोरीले विहे गरिछिन्, छोराले बुहारी भित्य्राएछन् । मकैमा लागेको रोग हराएछ । गाउलेहरूमा तरकारी खेतीप्रतिको रूची झन बढेछ । होटलसँगैको पानी घट्ट सडक पक्की तुल्याउनेक्रममा विस्थापित भएछ । सुरज र मैले त्यो घट्टामा पिसेको पिठोको रोटी खाएका थियौं । पिठो कुट्ने जीतबहादुर श्रेष्ठ अचेल विरामी छन् रे । यात्राबाट फर्केर मैले लेखेको एउटा लेख धेरै गाउलेहरूले पढेको र त्यसबारे कुरा गरेको साहुनी अनि भेटिएका अरू केहीले पनि खुसीहुदै सम्झिए । उतिबेला घरैछेउको बारीमा बन्दा स्याहारीरहेकी र हाम्रो क्यामेराकालागि एक बुटो मकैको बोटसँगै उभिइदिएकी स्वास्थ्य स्वयंसेवीका दिदीलाई पनि उनकै घरमा भेटें । यसपाली उनका पतिसँग पनि भेट भयो । दुबैले चिया बनाएर पोलेको मकै खुवाए । उनीहरूको नजिकैको अर्को एउटा घरका पुराना भैसीलाई नयाँले विस्थापित गरेछन् । पुरानाका कानमा विमा गरिएको चिन्ह देख्दा त्यसलाई नौलो मान्दै मैले फोटो खिचेको थिएँ अघिल्लो यात्रामा ।)
यस्तो परिवेशमा सबैभन्दा प्रभाव मलाई सडकले नै पार्छ । पक्किको कुरै छाडौं कच्चीले मानिसहरूमा ल्याउने खुसीले मलाई सबैभन्दा सन्तुष्ट तुल्याउछ । ती कालीकोटे पसले दाजु भरतबहादुर शाहीलाई सम्झिन्छु जसले २००७ मा कर्णाली राजमार्गमा जुम्लाबाट उफ्रिदैथचारिदै पुगेको मलाई भनेका थिए, “जव हाम्रो घरदैलोमा गाडी गुड्यो, तव हाम्रो चावी खुल्यो ।” वितेको दशकमा नेपाल राज्य र नेपाली जनताले सडक निर्माणमा ठुलै फड्को मारेका छन् । तर काम पुरा हुनबाट निकै टाढा छ । रेखा त कोरिएका छन् तर ती ग्रामिण या जिल्ला सडकहरू पक्की हुनसकेका छैनन् । त्यसले गर्दा मानिसहरूले दु:ख त झेलिरहनु नै परेको छ । पिच हुदाँ तीन घन्टामा पुगिने ठाउँ कच्चिबाटोमा जिउ नै थिलथिलो हुनेगरी उफ्रिदै चार गुणाबढी भाडा तिरेर सात घन्टाबढी समय लगाएर पुग्नुपर्ने बाध्यता कायमै छ । त्यो पनि हिउदमा मात्र । बर्खामा उही पैदल, थाप्लोमा उही भारी । कर्णाली राजमार्गकै कुरा गरौं न, अहिलेसम्म त्यो पक्की नहुँदा जनताले वास्तविक फाइदा लिन सकेका छैनन् । टोलटोफमा पुर्याइएका कच्चीहरू पक्की गर्नुपर्छ भन्ने हैन तर गाविसहरू जोड्ने सडकहरू पक्की गर्ने राष्टिय अभियान त तत्कालै थाल्नुपर्छ जस्तो लाग्छ ।
NOTE: It was in 2008 when I first visited Chandanpur, a rural hamlet in Lalitpur. If you consider the road distance between central Kathmandu and this village, this doesn’t look that far. It’s just 55 kilometers away from Ranta Park. But if you consider the number of hills and blind corners that you have to cross to reach this village, there’s no denying that this feels like somewhere in midwest Nepal. (Read: The Motorcycle Diary) Also: Walking Around a Nepali Village र, नेपालीमा: मोटरसाईकल डायरी
You must be logged in to post a comment.