कानको सफाई

[This post details my recent encounter with an ear cleaner in Koteshor, Kathmandu which reminded me of an incident that involved an ear cleaner in Old Delhi a few years ago.]

ear cleaner 20151127_141222झन्डै पाँच वर्षअघि पुरानो दिल्लीको जामा मस्जिदका सिंढीमा बसेर भव्य लाल किला हेरिरहँदा मैले एउटा अनपेक्षित दृश्य देखेको थिएँ । एउटा अपरिचित ठिटोले मसँगै त्यहाँ पुगेका मेरा एकजना साथीको दाईने कान तान्न खोजिरहेको थियो । केटोको हातमा सियो जस्तो लाग्ने बस्तु थियो । तर्सिएकै त नभनौं तर अचम्मित मेरा मित्र अाफ्नो कान र अाफैलाई पनि जोगाउन प्रयासरत थिए । मलाई एक मन त लाग्यो हन के हुदैछ यहाँ । त्यही अन्योलको क्षण केटोले मेरा साथिलाई भन्यो- “अापके कान बहुत गन्धा है भैया । मै साफ करूँगा ।”

कान सफा गर्ने उसको पेसा रैछ । (त्यो दिनको घट्नानाबारे मैले यहाँ लेखेको छु ।)

केही साताअघि कोटेश्वरबाट दक्षिणपूर्व लम्किदैगर्दा मैले अर्को अनपेक्षित तर चाखलाग्लो दृश्य देखें जसले मलाई जामा मस्जिदको त्यो घट्नाना झलझली सम्झायो । ट्राफिक कार्यलय अगाडी अरनिको राजमार्गको पैदलपथमा टुसुक्क बसेका एकजना व्यक्ति मुन्टो बंग्याएर दाह्रा किटिरहेका थिए । अर्का व्यक्ति निहुरिएर उनको कान खोतलीरहेका थिए । त्यहाँ के भइरहेको थियो भनि खुट्याउन मलाई कत्तिपनि सोच्न परेन । केहीबेर त्यहीँ उभिएर घट्नाना नियाँलें ।

ear cleaner 20151127_141130

दाहिने कान खोतलिदै गर्दा ती दाजुको हातमा रहेको फोन बज्यो । शायद महत्वपूर्ण कल थियो त्यो त्यसैले उनले कुरा गर्न चाहे फोनलाई देव्रेकानमा टासेर । उनले त्यसो गरिरहदाको त्यो क्षण कान सफा गर्ने दाजु फुर्सदिला बने । त्यही मौका छोपेर मैले उनीसँग केही बात मारे । शुरूमा त मलाई उनको बोलीको लवज सुन्दा जुम्ला या मुगुतिरका हुन् कि जस्तो लाग्यो तर हैन रहेछ ।

ear cleaner 20151127_141053

उनका एकजना सहयोगी पनि थिए । शायद उनीहरू व्यापारिक साझेदार थिए । तर कारोवार इत्यादिको नियन्त्रण या भनौ नेतृत्वमा चाहिँ उनी नै भएको दुबैजनाको हाउभाउबाट बुझ्न सकिन्थ्यो । अर्का व्यक्तिचाहिँ अनेकौथरिका जडिबुटीलाई अन्नपूर्ण पोष्ट दैनिकको पहिलो पन्नामाथि फिजाएर त्योसँगै टुक्रुक्क बसिरहेका थिए । बेच्नलाई । तर उनको त्यो बसाई धेरै टिकेन । नगर प्रहरी अाइहाले । उनले ती सबै सामानलाई पोको पारेर नजिकै पन्सिनु पर्यो । “लगे त केही थिएन,” कान सफा गर्नेले भने- “झर्यापझुरूप फुटाईदिन्छन् ।”

ear cleaner 20151127_141536नगर प्रहरी अाइपुग्नु केही सेकेन्ड अगाडी कान सफाईमा केही व्यवधान पुगेकाे थियो । मलाई लाग्यो ला अब कान सफा गर्ने कामलाई बिचैमा छाडेर उनी भाग्नु पर्ने पो हो कि । त्यसो चाहिँ भएन । त्यसपछिको एक मिनेटमै उनले काम सिध्याए । त्यतिबेला एकजना दिदी खुवै रूचि दिएर त्यो सबै हेर्दै थिइन् । कान सफा गर्ने दाजुले “सफा गर्ने हो?” भनि सोधे । दिदी हिच्किचाइन् । होइन पनि भन्न सकिनन् अनि सिधै हो लौ सफा गर्दे पनि भन्न सकिनन् । दिदी दोधारे भाको भान पाएर कान सफा गर्ने दाइले दिदीको कान समाउन खोज्दै “धेरै फोहोर रछ । जम्मै निकाल्दिन्छु । अानन्द हुन्छ तपाईलाई” भने । कान सफा गर्ने दाजुले अाफ्नो कानै तानेर हेर्न अाटेपछि चैं दिदीले मुन्टो हल्का पन्साईन् हास्दै । अनि तत्कालै देब्रे हातले देब्रे अाफ्नो कान सुम्सुम्याउन थालिन्, मानौ ‘कान त यही छ है’ भन्ने पक्का गर्न । कान सफा गर्ने दाइले गरेको विज्ञापन सुन्दा दिदीले एक मनले “लौ न त” भनिसकेकी थिइन जस्तो मैले ठानेें । तर कसोकसो उनले अलि लजाए जस्तो वा भनौ अप्ठेरो मानेजस्तो गरेर उनले “हैन हैन, पर्दैन” भनिन् । अनि उनी बाटो लागिन् ।