त्यो वेलुकी म खान मार्केटको फकिर-चन्द एन्ड सन्सबाट वाकिेङ् द हिमालयज च्यापेर निस्केको थिएँ । झोलामा द अोसन अफ चर्न थियो र थिए द टु-इयर माउन्टेन, हाफ लायन अनि कोर्मा खीर एन्ड किस्मत । अलि ठूलो पसलमा गएपछि अाफ्नो छनोटका किताव मात्रै किनेर पुग्छ र? त्यही दिन त्यो पसलमा टुपुल्किएको ग्यारिसन्ड माइन्ड्स् लगायतका अरू केही मगाइएका पुस्तक पनि थिए मसँग । सानोतिनो व्यंग्य नै मान्नुपर्छ खातको सबैभन्दा माथि अघि साँझ नेहरू प्लेसमा किनेको पेपरह्वाईटको कालो खोल थियो । अर्थात झोला गह्रौं थियो । पसिना तर्तरी चुहिने त्यो गर्मीमा लगभग दुइसय मिटर पर्तिरको भूमिगत शहरी रेल स्टेशनसम्म पनि हिड्ने मेरो इच्छा थिएन । अाखिर मेट्रो रेलले पनि मलाई मेरो गन्तव्यसम्म पुर्याउदैनथ्यो क्यारे ।
[यो लेखको अघिल्लो भाग अर्थात गुनासो संस्करण यहाँ छ “उबरमान्डू” ]

यो लेख बाकसपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद🙂
पाँच बर्षअघि म दिल्लीको अस्थायी बासिन्दा हुँदा त्यस्तो अवस्थामा मैले सडकमा निस्केर हात हल्लाउदै टेम्पु रोक्नुपर्थ्यो । नभए ट्याक्सी खोज्नु पर्थ्यो । अटोमा तातो हावा खादै सात किलोमिटर कुद्न मलाई मन भएन । ट्याक्सी खोज्ने जाँगर पनि लागेन । फेरि वेपत्ताको महंगो ट्याक्सी किन चढ्थ्यें? दिल्ली अोर्लेको पहिलो दिनै मुस्किलले चार किलोमिटर यात्रा गर्दा ट्याक्सीलाई अाठसय रूपैयाँ तिरेकै थिएँ । उसको मिटरमा मलाई विश्वास थिएन तर के झगडा गरिरहनु त्यो गर्मीमा ।
त्यसैले मैले खल्तीबाट मोवाइल फोन निकालें जसमा भोडाफोनको फोरजी सेवा उपलब्ध थियो । फोनमा मैले उबर एप्प खोलें । अनि ‘देखि’मा खान मार्केट र ‘सम्म’मा अाइटीसी मौर्य लेखें । छिनमै मैले जानकारी पाएँ, स्विफ्ट डिजायर चलाउने अरविन्द म भन्दा तीन मिनेट टाढा छन् । हेर्दाहेर्दै उनी एकै मिनेट टाढा भए । जरूरी त थिएन तर उनले मलाई फोन गरे । मैले अाफू उभिएकै विन्दु उल्लेख गरें । केही बेरमै उनको गाडी सडकको अर्कोपट्टी मेरै सामुन्ने उभियो ।
त्यसरी ११ अगस्टको राती नौ बज्नै लाग्दा म अरविन्दको डिजायरमा छिरेको थिएँ ।
“अनि बिहा चैं कहिले गरेको?” कुराकानीको बीचतिर मैले बाबु रामलाई सोधें ।
“दुइ साल भयो,” २७ बर्षे बाबुले भने । राम उनको थर हो ।
“केटी कहाँकी?”
“गाजियाबादकै हो ।”
“छरछिमेकमै पट्याईयो क्या हो?”
“हैन,” उनले पुलुक्क म तिर हेरे । अाधा मुस्काए र सडकतिर हेरेर भने, “हाम्रोमा त्यसरी पट्याउने सट्याउने हुदैन । बिहा नै गरेको हो । एरेन्ज्ड ।” उनले फेरि म तिर हेरे ।
“होर? लभसभ थिएन?”
“अहँ थिएन,” बाबुले मलाई बुझाए, “एक त लभ गर्ने टाइम थिएन । दोस्रो कुरा, हाम्रो इलाका जुन छ उता यो सिस्टम छैन ।”
“कुन सिस्टम?”
“जसका बारेमा तपाई भन्दै हुनुहुन्छ । लभ सिस्टम ।”
“अाम्मामामामा । किन ?”
“‘यस्तो गर्यो’ भनेर कुटेर लघार्छन् हाम्रोतिर । घरमा छिर्नै दिदैनन् । मुजफ्फरनगर हो नि मेरो घर ।”
हामी दुबै हास्यौं ।

बाबुसँग मेरो भेट एक अपरान्ह लाजपतनगरको मध्य बजारमा भएको थियो । एउटा पसलमा किनमेल गरेपछि त्यहींबाट मैले उबर बोलाएको थिएँ । केही मिनेटमा बाबु वागनअारमा टुपुल्किएका थिए । उनी मलाई मौर्य लादैथिए ।
दिल्लीबाट डेढसय किलोमिटर जति टाढाको र उत्तर प्रदेशमा पर्ने मुजफ्फरनगरका बाबुले उबर चलाउन थालेको तीन चार महिना मात्रै भयो । यसअघि उनी होर्डिङ बोर्डमा विज्ञापन लेख्थे । त्यो काम “ज्यादा कठिन” र पैसा पनि अहिले पाइरहेको १७ हजार भन्दा बढी थिएन । धेरै खट्नुपर्ने र धेरै थाकिने । तर अहिले दैनिक १२/१४ घन्टा उबर चलाउने काम “अारामको छ। चैनको छ ।” दिनभरी र प्राय अवेरसम्मै गाडी चलाएर दिल्लीबाट २५ किलोमिटर टाढाको गाजियावादस्थित डेरामा पुग्दा कहिलेकाही त मध्यरात हुन्छ ।
अाफ्नै गाडी किन्ने हैसियत भइसकेको छैन बाबुको । यो डिजायर दिल्ली नजिकैको गुडगाव शहरमा बस्ने सरदारजीको हो । हाँक्न चाँही उनले अघिल्लो काममै सिकेका थिए ।
“अघिल्लो मालिकलाई के थाहा, बाबुले अाफ्नो गाडीमा सिक्छ अनि अाफूलाई लात हानेर अर्कैको गाडी चलाउन जान्छ, हैन ?” मैले भने ।
साह्रै घत परेछ उनलाई, स्टेरिङबाट दुबै हात हटाएर फैलाउदै अनि हल्का कपाल मिलाउदै बाबु मस्त हाँसे, म तिर हेर्दै । त्यो तीनचार सेकेन्डमै अचानक दायाँतिरबाट अाएको रिक्सा झन्डै बाबुको साहुको गाडीमा धस्रिएन ।
“त्यस्तो हैन,” हाँसो अाधाउधी रोकिएपछि उनले प्रष्टिकरण दिए, “काम गर्न मन लागेन अनि छोडिदिएको ।”
एक हप्ते दिल्ली बसाईमा मैले लगभग १५ जना उबर चालकहरू र एक जना अोला चालकसँग कुरा गरे । अभिलेखकालागि उल्लेख गर्छु: अोला/उबरबारे पहिल्यै जानकार भएपनि पैसा तिर्न भारतीय व्याङ्कको कार्ड चाहिन्छ होला भनेर प्रयोग नगरेको मलाई नगदै पनि तिर्न सकिन्छ भन्दै एप्प फोनमा झार्न पहिलोपटक उक्साएका थिए, कमलदेव भट्टराईले । उनी बी-१९, जंगपुराको त्यही तेस्रो तल्लामा बसेर काठमान्डू पोष्ट र कान्तिपुर का लागि पत्रकारिता गर्छन् जहाँबाट अाठ बर्षअघि म त्यही काम गर्थ्यें (नेपाली र अंग्रेजी लेख)। धेरैपछि मेहरा काकालाई देख्दा म खुशी भएँ । एक साँझ पुरानो दिल्लीको जामा मस्जिद नजिकैको करिम्समा एक-एक प्लेट विरयानी बजाएपछि कमल र म चाँदनी चोकतिर लम्किदै गर्दा मैले अोला एप्प फोनमा झारेर त्यसमा अाफूलाई दर्ता गराएको थिएँ । त्यहाँको व्यस्तबाटोमा ट्याक्सी चढेर सडकमा लामो समय नफस्ने निर्यण गरेपछि हामी मेट्रोमा कन्नट प्लेससम्मसँगै अाएका थियौं । त्यहाँबाट म जमीनमा निस्केर अोला क्याबमा छिरेको थिएँ, पहिलोपटक । तर त्यो नै मेरो अन्तिम अोला-यात्रा भयो । लगत्तै म उबरमा सरेँ । भारतीयहरूले खोलेको ट्याक्सी बोलाउने एप्प अोला भारतमा उबरको प्रतिस्पर्धी हो । धेरैले उबरभन्दा अोला बढी प्रयोग गर्छन् भारतमा ।
त, म भन्दै थिएँ मैले थुप्रै उबर चालकहरूकसँग कुरा गरेँ । ती मध्ये धेरैजसोले हालसालै मात्र उबर चलाउन थालेका थिए । भारतमा उबर अाएको बल्ल तीन बर्ष पुग्दैछ । अस्ति यही टुक्रो लेख्नु पर्यो भनेर कम्युटर काखमा राखेर घोरिइरहेको थिएँ, फोन बज्यो । हेरेको, उबर भारतमा अाएको अाज तीन वर्ष पुग्यो है भन्दै इमेल अाएको रैछ । २०१० देखि एप्प मार्फत अस्तित्वमा अाएको उबरले विश्वका थुप्रै शहरमा झैं दिल्लीमा पनि ट्याक्सी बजारलाई धक्का पुर्याएको छ ।
मैले यात्रा गरेका उबर गाडीका केही चालकहरू केही अघिसम्म मिटरवाला ट्याक्सी चलाउथे । तर ग्राहक पाउन छाडेपछि उनीहरू उबरतिर सरेका थिए । उनीहरूका गाडीमा मिटर त अझै थिए तर ती चल्दैनथिए । मिटर खोल्नै पर्दैन थियो किनकि तिनको जरूरी नै थिएन । म जस्ता धेरैजसो ग्राहकले “अोइ ट्याक्सी” भन्दै हात हल्लाउदै बोलाएर “मौर्य जाने हो?” भन्न छाडेका छन् अचेल । ट्याक्सी वा नीजि कारहरू एप्पबाट चुपचाप बोलाइन्छन् । त्यसैले “मिटरमा जाने हो?” भनि सोधिराख्नु परेन । मिटरमा जान नमाने भाडा मोलतोल गर्नु परेन । लाजपतबाट मौर्य जान चालकको तस्बिर सहित नाम, कति नम्बरको कुन गाडी कतिबेला अाउछ, अनुमानित कति समयमा गन्तव्यमा पुगिन्छ र त्यसबापत पैसा लगभग कति लाग्छ एप्पले तत्कालै भन्दिहाल्छ ।
नियमित ट्याक्सीवालाहरू उबरमा बसाई सरेपछि मिटरमा हैन एप्पमा बाँधिएका छन् । त्यहाँ भित्रबाट अमेरिकी लवजमा च्याठ्ठिने गुगल पथप्रदर्शकको स्वरले जता जा भन्यो गाडी त्यतै मोड्ने रोबोटमा परिणत भएका छन्, चालकहरू ।
“हो त,” मेरो एउटा प्रश्नमा बाबुले हाँस्दै भने, “गुगल माताले जे जे भन्छिन् हामीले त्यही त्यही गर्नुपर्छ । कहिलेकाहीं यिनले हामीलाई घुमाएको घुमायै गरिदिन्छिन् । हामीलाई थाहा हुन्छ त्यो छोटो घुम्तीबाट गाडी मोड्न सकिन्छ तर यिनले माने पोे ।”

गुगल नक्सा र बाटो पहिल्याउने प्रणाली प्रयोगमा अाएको धेरै भइसक्यो । दिल्ली जस्ता ठूला, धेरै प्रयोगकर्ता भएका र गुगल अाफैले पनि ज्यादा ध्यान दिएका शहरमा यी सेवा झन् सुदृढ हुँदा छन् । सात/अाठ बर्षअघि दिल्लीमा अाफै गाडी चलाएर सडकमा निस्कनुपर्दा म गुगल नक्सा र पथप्रदर्शककै सहारा लिन्थ्यें । (त्यस्तै एक क्षणलाई मित्र सुबोध गौतमले नागरिक मा बर्णन गरेका थिए २०१० मा ।) तर त्यतिबेला उबर र अोला अस्तित्वमा थिएनन् । तिनले विश्वका थुप्रै मानिसहरूले गर्ने शहरी यात्रामा क्रान्तिकारी परिवर्तन ल्याइदिएका थिएनन् । त्यसैले मलाई यसपालीको दिल्ली यात्रामा उबर गर्दा वा भनौं उबर्दा (हो, उबर नाम अब कृया बनिसकेको छ) विश्वमा भइरहेको परिवर्तनमा भाग लिनपाए जस्तो महशुस भयो । काठमान्डूमा यति सामान्य कुराको अनुभव र सुविधा लिन नपाउँदाको गुनासो मैले पर्याप्त गरिसकेकै छु यहाँ।
त, बाबु र म लाजपतबाट जंगपुरा छुदै छ लेनको लाला लाजपत राय मार्ग छिर्नुपर्ने थियो । तर गुगल पथ प्रदर्शकले उनलाई सोझै छिर्न दिएन । “यताबाट कता लैजादैछ?” गुगल नक्सामा देखिएको चलायमान जीपीएस थोप्लो र गुगल स्वर निर्देशन सुनेपछि उनले अाफैसँग प्रश्न गरे । पथ प्रदर्शन एप्प खुलेको नहुँदो हो त उनी फुत्तै लाला लाजपत मार्गमा पसिसकेका हुनेथिए । स्टेरिङ पाङ्रो मैले समाएको भए म पनि त्यसै गर्थ्यें । तर उनले त्यसो गर्न पाएनन् अहिले । गुगलले हामीलाई “टर्न राईट टुवार्डस् विरवल रोड” भनेर साघुँरो बाटो हुँदै पुलमुनीबाट छिराईदियो लाला लाजपतको अर्कोपट्टी । तब मात्र हामी लाला लाजपतमा प्रवेश गर्यौं ।
“उताबाट सोझै निक्लेको भए दुइ मिनेटमै अाइन्थ्यो,” छ लेनको बाटोमा छिरेपछि गाडी तीब्रगतीमा हुइक्याउँदै बाबुले भने । “गुगलले त्यो बाटो देख्दैदेखेन । अहिलेसम्म त कहाँ पुगिसकिन्थ्यो । पुरै घुमाईदियो । यसले सबैलाई घुमाईदिन्छ ।”
खासै धेरै नपढेका तर व्यवसायिक चालकहरूको प्रविधीसँगको यो बाक्लो सहकार्यलाई नजिकबाट नियाल्दा म खुबै रोमान्चित भएको थिएँ । यो सबै कार्यमा कति धेरै प्रविधीको संयोजन थियो । गाडीको कुरा नगरौं । छोएर चल्ने मोवाइल फोन । फोेर जी इन्टरनेट । उबर एप्प । गुगल नक्सा । गुगल पथ प्रदर्शक । जीपीएस प्रणाली । अनि अोलामा त फोनको फोरजी इन्टरनेटलाई टिथरिङको माध्यबाट फालिएको वाइफाई संकेत समेत, जसलाई यात्रुले प्रयोग गर्न पाउने। यी सबैकुराको सहज संयोजनमै मात्र उनीहरूको दैनिक रोजगारी भरपर्छ भन्ने म जति सोच्थे त्यति मलाई त्यो सबै प्रकृया थप रूचिपूर्ण लाग्थ्यो ।
चालकहरूले कहिलेकाँही अाफै छोटोबाटो नलाने होइनन् तर सकेसम्म त्यसो नगर्न प्रोत्साहन गरिन्छ, यात्रुलाई सुरक्षानुभुति गराउन । उबर यात्रामा सबैभन्दा महत्वपूर्ण पक्ष नै फाेन हो । बाबुको कारको हावाछेक्ने सिसामा भित्रपट्टी अड्काएर झुन्ड्याइएको यो सामसुङ जेवान फोेन बाबुले ५ हजार ८ सयमा किनेका हुन् । गाडीमा चालक छिरेपछि ननिस्किउन्जेल फोरजी या कम्तीमा थ्रीजी चल्नै पर्छ– गुगल नक्सा र न्याभिगेसन चल्नका लागि । अनि उबर एप्प नखोले त ग्राहकै अाउदैनन् । “बिना नेट गाडी कसरी चलाउने,” उनले भने, “मिल्दैमिल्दैन किनकी ड्यटी नै अाउदैन । ड्युटी नअाए के चलाउने ।” ड्युटी अर्थात म जस्ता ग्राहक । उबर एप्प विना न मैले उनलाई फेला पार्थ्यें न उनले मलाई । केही चालकले डाटाको शुल्क उबरले तिर्ने बताए भने केहीले अाफै । सात दिनमा तीन सय रूपैयाँको डाटा सकिने पनि बाबुले बताए ।
नौ कक्षासम्म पढेका बाबुले सानैमा बा अामा गुमाउनु परेकाले तथा अार्थिक अवस्था राम्रो नभएकाले ज्यादा पढ्न नपाएको बताए । अहिले उनी परिवारमा अाम्दानीको एक्लो स्रोत हुन् । हरेक बेलुकी उनी दिल्लीबाट २५ किमी टाढा छ गाजियाबादस्थित डेरामा पुग्छन्, बस्न ।
तर डेरामा पुग्नुअघि उनी दिनमा १०/११ वटा ड्युटी गर्ने दौडमा सामेल हुन्छन । त्यो पुरा गरेमा कम्पनी अर्थात उबरबाट थप अंक वा प्रोत्साहन पाइन्छ । अाज यो साँझ म उनको नवौं ग्राहक रैछु । “अबको १५ मिनेट भित्र दशौं ग्राहक भेट्टाएँ भने मैले इन्सेन्टिभ पाउछु,” उनले भने । “तर अबको १५ मिनेटमा मैले के पाउँला र ग्राहक । तपाईंलाई झारिसक्दा ५ मिनेट पनि बाँकी रहने छैन् ।”
“मैले गर्नसक्ने केही छ ?”
अनि उनले मलाई तरिका सिकाए ।
“मैले तपाईलाई झारेपछि मेरो उबर फेरि बुक गरिदिनुस्,” उनले भने ।
“तर म यात्रा गर्न सक्दिन नि,” मैले उनलाई सचेत तुल्याएँ ।
“ठिकै छ, पर्दैन गर्नु” उनले भने, “बुक मात्रै गरिदिनुस् । अनि फेरि रद्द गरिदिनुस् ।”
त्यसो गर्दा उबरले मैलाई जरीवाना गराउन सक्थ्यो अर्को यात्राको भाडामा जरीवाना सहितको रकम तिराएर । तर मैले उनको चाहना पुरा गरिदिने बिचार गरें । होटलमा अाएपछि उनले मेरो यात्रा सकिएको जानकारी दिन ‘इन्ड ट्रिप’ यात्रा समाप्त लेखिएको बटन छोए । मैले उनलाई पैसा दिएँ । अनि उवर एप्प खोलेर अर्को यात्राको लागि ट्याक्सी बोलाउन थालें । तर एप्पले मेलाई उनले ट्याक्सी बोलाउन दिएन । मलाई एप्पले नजिकै कतै अडिएर रहेको अर्को उबर ट्याक्सीलाई भिडाइदियो ।
“रद्द गर्नुस्, रद्द गर्नुस्,” उनले हतारिंदै भने ।
मैले तत्कालै रद्द गरें ।
दोस्रो प्रयासमा पनि एप्ले मलाई अर्कै ट्याक्सी भिडायो । बाबुको ट्याक्सी मलाई पठाएन । म उसको ट्याक्सी भित्रै थिए तर एप्पले मलाई त्यो अोगट्न दिएन ।
त्यसपछि उनी म प्रति अनुग्रहित हुदै “लौ भैहाल्यो” भन्दै बिदा भए ।

मलाई खान मार्केटबाट मौर्य पुर्याउने २२ बर्षे अरविन्दले उबर्न थालेको छ महिना भयो । त्यसअघि कसैको नीजि प्रयोजनकालागि गाडी चलाउथे उनी । त्यसमा पैसा कम, काम पनि कम । साहु मन्दिर या तरकारी किन्न जाँदा मात्र उनले गाडी चलाउनु पर्ने । उबरमा काम बढी, पैसा पनि बढी । थकाइ पनि ज्यादै नै । “राति घर पुग्ने वित्तिकै बेहोस भएर सुतिन्छ,” उनले भने “एकदम निद्रा अाउँछ ।” उत्तर प्रदेशको इटावा जिल्लाका उनी दक्षिणी दिल्लीको संगमविहारमा अाफ्नी नवविवाहिता दुलही र दाजु-भाउजूसँग बस्छन् । अहिले उनी अघिल्लो कामको तुलनामा पाँच हजार बढी अर्थात १५ हजार रूपैयाँ कमाउछन् ।
कुराकानीबाट थाहा पाएँ, मालिकको गाडी चलाउने उबर चालकले मासिक १५ देखि १७ हजार रूपैयाँ र अाफ्नै गाडी हुनेले ५० हजारसम्म कमाउछन् । गाडीले गर्ने कारोबारको २५ प्रतिशत रकम उबरले बिचौलिया शुल्कस्वरूप खान्छ । त्यसैले त उबर एउटैमात्र गाडी नभएरै पनि संसारकै सबैभन्दा ठूलो ट्याक्सी कम्पनी भएको छ अाज ।
एक विहान मलाई मौर्यबाट चाणक्यपुरीको पञ्चशील मार्गस्थित एउटा कार्यालय भवनसम्म लैजाने प्रदीपले अाफूले गर्दैगरेको अौषधी बेच्ने कामबाट भन्दा उबरबाट धेरै अाम्दानी हुने देखेपछि छ महिना गाडी चलाउन थालेका थिए । उनले अाफ्नै गाडी सुजुकी मारूतिको स्विफ्ट डिजायर किनेका छन्, मासिक किस्तामा । अघिल्लो काममा महिनाको २० हजार कमाउने उनी अहिले ४०/५० हजार भन्दा बढी बनाउछन् । गाडीलाई लाग्ने सबै खर्च कटाएर ३५ हजारसम्म बच्ने उनले बताए ।
“पढेको भए फार्मेसीमा प्रगति हुनेरै’छ तर सेल्समा बसेर केही उन्नती नहुने रै’छ,” प्रदीपले भने ।
“कि अाफै लगानी गरेर व्यापार खोल्नपर्ने रै’छ,” उनले थपे, ”मेरो छिमेकीले एक बर्षको अवधीमै दोस्रो गाडी किने । कारोबार यस्तै चल्योभने त मैले पनि भ्याइदिन्छु अर्को गाडी ।” उनले गाडीलाई बिना उबर पनि चलाउन मिटर राखेका छन् तर अब मिटरवाला ट्याक्सी कसैले चढ्न मान्दैनन् । या भनौ ग्राहक नै पाइन छोडेको छ । त्यसैले धेरैजसो समय उबरमै एप्पमै अाफु झुन्डीने उनले बताए ।
अरविन्दले यी छ महिनामा अनेकथरी मान्छे भेटेका छन्, यात्रुकारूपमा अाफ्नो ट्याक्सीमा । कतिपयको बानी व्यहोराले उनलाई वाक्कै पार्छ । “म अलिकति ढिला पुगेंभने रिसाउछन्,” उनले भने, “अनि उनिहरूचैं गाडीमा छिरिसकेपछि फेरि अर्को पसल अगाडी पुगेर त्यहीँ अलमलिन्छन् मानौकी मेरो त समयै हैन । मैले चैं पर्खिएर बस्नुपर्ने । मलाई पनि त ढिला हुन्छ । कहिले खाना खान ढिला हुन्छ । कहिले अर्को यात्रु उठाउन ढिला हुन्छ ।” उबर बोलाउने यात्रु गलत ठाउँमा उभिएका बखत सडक नियम अादिले गर्दा ठ्याक्कै त्यही बिन्दुमा पुग्न नसक्दा यात्रुसँग असमझदारी उत्पन्न हुने उनले बताए ।

मैले चढेका धेरैजसो उबर गाडीका चालकहरू दिल्ली या उत्तर प्रदेश बिहारका थिए । सबैभन्दा टाढाका थिए पश्चिम बंगालको नदिया जिल्लाका राजु । उनी पनि दिल्लीमै जन्मेहुर्केका हुन् तर हालसालै परिवार नदिया सरेको छ । त्यसैले अढाई करोडको यो शहरमा उनी एक्ला छन् । उनको निश्चित ठेगाना छैन यो शहरमा । स्विफ्ट डिजायर नै उनको घर हो ।
“नाइटमा ड्युटी गर्छु, रेस्टुरेन्टमा खाना खान्छु, गाडी मै सुत्छु“ मलाई मौर्यबाट विमानस्थलसम्म पुर्याइदिएका राजुले भने, “मर्निंङ्मा शौचालयमा नुहाउछु ।”
“कहाँको शौचालय?”
“गोर्मेन्टको छन् नि, ठाउँठाउँमा,” उनले सरकारी अर्थदिने अंग्रेजी शब्दको अलि फरक उच्चारण गर्दै भने ।
“गए राती कहाँ बस्नु भयो?” मैले सोधें ।
“चाणक्यपुरी, नेहरू पार्कमा । गाडी त्यतै कतै पार्क गर्ने । पछाडीको सिटमा सुत्ने ।”
एकछिन पछि उनले थपे, “एक्लै छु त्यसैले कोठाको जरूरी नै छैन ।”
गए डिसेम्बरमा दुइ लाख रूपैयाँ तिरेर मासिक १० हजार ७ सयको किस्ताबन्दीमा साढे पाच लाख पर्ने डिजायर किनेका उनले महिनामा ५० हजार सम्मको कारोबार गर्छन् । सबै खर्च कटाएर २५ हजारसम्म बच्छ ।
“बचत गर्नुहुन्छ त्यो पैसा?” मैले सोधें ।
“हैन । बीवी बच्चा गाउँमा छन् । छोरी फस्ट क्लासमा पढ्छे केन्द्रीय विद्यालयमा । खर्च भइहाल्छ ।”
तपाईले कति पढ्नुभएको छ?
“मैले त छ कक्षासम्म मात्रै पढे । १० सम्म पढेको भएपनि गोर्मेन्ट जव (सरकारी जागिर) गरिरहेको हुन्थे यतिबेला । तर के गर्नु सानोमा पढाईलेखाइ गरिएन ।”
“किन?”
“केही अप्ठेराहरू थिए ।”
“अब छोरीलाई त खुबै पढाउने होला?”
“धेरै नै पढाउछु । जैलेसम्म बाँच्छु त्यैलेसम्म पढाको पढाइ गर्छु । मैले पो अहिले गाडी चलाएको छु । अब बच्चालाई पनि यहीँ काम गराउलाँ त म?”
इन्दिरा गान्धी विमानस्थलको टर्मिनल ३ पुग्न लगभग तीन सय मिटर बाँकी थियो होला । राजुले डिजायरको गति अचानक कम गरे । पुरै रोके । अगाडी ढल्कीए । र, लम्किएको देब्रेहातले ग्लभ बाकसबाट एउटा फोटो निकाले ।
“यी मेरा बच्चाहरू हुन्,” त्यो फोटो मलाई देखाउदै राजुले भने, “डेढ बर्षको छोरा र पाँच बर्षकी छोरी ।”
You must be logged in to post a comment.