“त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ,” उनले भनिन् ।
त्यो सुन्दा म साह्रै ढुक्क भएको थिएँ । त्यसअघि थुप्रैबाट मैले निराशाजनक जवाफ पाएको थिएँ । तैपनि झिनो अाशा राखेर मैले उनलाई सोधेको थिएँ, “वास पाइन्छ तपाईकहाँ ?”
हालैको एक सप्ताहन्त म जापानले बनाइदिएको बन्दिलो साँघुरी राजमार्गमा केही समय दौडिएर दिन ढल्किनै लाग्दा मास्तिर उक्लिएको थिएँ । दिन घमाइलो र सुख्खा थियो । म बहकिएको थिएँ । रात यतै कतै डाँडामै बिताउने मेरो योजना थियो । बिहानै उठेर सूर्योदय हेर्ने अनि मानिसले कसरी दिन थाल्छन् त्यो अवलोकन गर्ने मेरो रहर थियो, योजना थियो । यो डाँडो चढ्नुअघि मैले अर्को पाखो उक्लिन खोजेको थिएँ तर त्यताजान तर्नुपर्ने रोसी खोलामा पक्की पुल थिएन । म खोला किनारमा उभीएर गम खादै थिए, बाबुछोरा जस्ता लाग्ने दुईजना एउटा अल्छे राँगो घिच्याउँदै जघाँर तरे । त्यो दृश्यलाई मैले भिडियोमा खिचेँ तर होन्डामाथि बसेर आफै खोलो तर्ने हिम्मत गरिन ।
डाँडामा होटल पक्कै छैनन्, वास पो पाइएला नपाइएला । घुमाउरो उकालो चढ्दा बाटोमा भेटिएका केहीसँग मैले त्यो संशय बाँडेको थिएँ । सबैले मलाई अाश्वस्त पारेका थिए, पाइनेमा । भनेका थिए, यहाँभन्दा माथि झन् ठूलो गाउँ छ । वास व्यवस्था सजिलै हुनेछ । एउटा बस्तीमा महिला र केटीहरू मकैबारीमा काम गरिरहेका थिए । उनीहरू अघिल्लो रात ढलेका मकैका बोटबाट घोगा निकाल्दै थिए । मैले विनाकाम र घुम्न अाएको भन्दा उनीहरूले पत्याएनन् । बरु एउटीले म आफन्तकहाँ या ससुराली आएको हुनसक्ने अड्कल काटिन् । उनीहरूले मलाई अल्लिमाथि हाइस्कुल भएको अावादीमा जान सल्लाह दिए ।
त्यही सुझावमान्दै म यो माथिल्लो बस्तीमा उक्लेको थिएँ । वास पाइने जवाफ दिँदा ती महिला दोस्रो अन्तिम थाल माझ्दै थिइन् । काम निप्ट्याउँदै गर्दा उनले मलाई त्यो भेगका अरू थुप्रैले जस्तै खै गरेकी थिइन् । त्यतिन्जेलसम्ममा मैले ती सबै चासो स्वाभाविक हुन् भन्ने निष्कर्ष निकालिसकेको थिएँ ।
कहाँबाट अाउनुभएको ? एक्लै ? के कामले ?
पहिला दुई प्रश्नमा मेरा जवाफले कुनै प्रतिप्रश्न जन्माएनन् । सुन्नेहरू सन्तुष्ट भइहाल्थे । तर अन्तिम प्रश्नले मलाई अाच्छुअाच्छु पारेको थियो ।
“हेर्नु यो गाउँमा छिरेयता मैले चार जनालाई भनिसकेको छु,” मैले हल्का भूमिका बाँधेर थाल पखाल्दैगरेकी महिलालाई भने, “तपाईलाई पनि त्यही भन्छु । म कुनै काम विशेषले अाएको हैन । न म यो वा नजिकैको कुनै गाउँमा अाफन्तकहाँ नै अाएको हुँ । सिर्फ घुम्न अाएको हुँ ।”
“यहाँ यो घरमा चाँहि कसरी अाइपुग्नु भयो ?” उनले सोधिन् ।
“त्याँ पर पसलछेउ भेटिएका दुई जना केटाहरूले यो घरमा [छेवैको स्कुलमा पढाउने] एकजना सर बस्नुहुन्छ भने,” मैले बेलिविस्तार लगाएँ, “मास्टर बस्ने घरमा कसो वास नपाइएला भनेर अाएको ।”
कच्ची सडक छेवैको त्यो पसल सामुन्नेबाट मकैबारी छिरेको गोरेटोमा ढोड सम्याउँदै म यहाँ यो घरमा आइपुगेको थिएँ । यो घरसँगै अर्को घर जोडिएको थियो जो नयाँ र बन्दै थियो । एकजना अधबैंशे पुरूष झ्यालको खापामा ठोकठाक गर्दै थिए । उनले र मैले मुस्कान साट्यौं ।
मैले उनलाई त्यसरी बेलिविस्तार लाउनुको कारण थियो । केही मिनेटअघि मात्र एउटी महिला मसँग झर्केकी थिईन् । ‘किन आएको?’ भन्ने उनको प्रश्नमा मैले ‘घुम्न’ भनेको थिएँ । यो मान्छेले मलाई विश्वास गरेन या ढाँट्यो भन्ने उनमा परेको मैले ठानें । अर्कीले ‘आफन्तकहाँ आउनु भएको होला, तेस्स्स्सै घुम्न त पक्कै आउनुभएन’ भन्दै मलाई अविश्वास गरेर बाटो लागेकी थिईन् । भोलिपल्ट बिहान म आधा घण्टा जति उकालो चढेर फेरि तल फर्किदै थिएँ। बाटोमा एकजना अधबैँसे पुरुष भेटिए । उनले मुसुमुसाउदै, मसँग आँखा जुधाँउँदै, नरम स्वरमा शिष्ट ढंगले सोधेका थिए, “नाप्न आउनु भएको?”
मैले पनि मुसुमुसु हाँस्दै उनकै आँखामा हेरेर भनेको थिएँ, “हैन हैन। नाप्नु पर्ने के छ र?”
“ए, मैले त बाटो नाप्न आउनु भएको होला भन्ने ठानेँ,” उनले भने । फेरि सोधे, “टावरका लागि आउनु भएको?”
“हैन हैन।” मैले फेरि भने, “कुन टावरको कुरा गर्नु भएको?”
मलाई थाहा थियो, उनी कुन टावरको कुरा गर्दै थिए तर पत्रकारितामा मैले सिकेको थिएँ उत्तर थाहा भए पनि प्रश्न गर्न नछोड्नु किनकि जवाफ सर्वथा अनपेक्षित आउन पनि सक्छ ।
“त्यै मोबाइल टावर,” स्कुलसँगैको दूरसञ्चार टावर इङ्गितगर्दै उनले भनेका थिए । त्यो टावर नेपाल टेलिकमले हालसालै ठड्याएको तर पूर्ण संचालनमा आइसकेको रहेनछ । त्यसैले ती गाउँलेले बाहिरियाको अपेक्षा गरेका थिए ।
“हैन हैन,” मैले भनेँ, “म यहाँ घुम्न आएको। कुनै काम छैन ।”
उनले मलाई हेरे। उनले आफ्ना आँखा मिलिक्क मेरा जुत्तामा पुर्याए र फेरि मुस्काए । मैले उनको अनुहार पढेँ । उनले मलाई पत्याएनन् ।
त, म वासको अपेक्षामा ती महिलाको जवाफ कुरिरहेको थिएँ । साँझ झमक्कै हुन अब २० मिनेटजति बाँकी हुँदो हो । उनले सबै भाँडा पखालिन् । आँगनको डिलमुनि एउटा भैँसी र दुइटा पाडापाडी थिए । एउटा अर्को बस्तु अटाउने ठाउँ थियो त्याँ । एकछिनको मौनतापछि मैले सोधेँ , “पाइन्छ वास?”
उनले फेरि मलाई मेरो कपालदेखि जुत्तासम्म नियालिन् र भनिन्, “त्यै सरको अोछ्यानमा सुत्नेभए पाइन्छ । आज हुनुहुन्न उहाँ । आफ्नै घर जानुभएको छ।”
मैले लामो सास तानेँ । आँगनछेउ उभिएर अस्ताउँदो सूर्यका किरण ठोक्किएका पूर्वतिरका रङ्गीन बादलतिर मेरो ध्यान केन्द्रित गरेँ । आँगन खासै साँघुरो वा उति फराकिलो थिएन । त्यसको किनारको डेढ हातजति ठाउँ डिलमुनि बाँधिएका बस्तुलाई घाँस हाल्न छुट्याइएको थियो। एउटा ठुलो मोटो बङ्गुर मुलढोकामा टाउको घुसारेर केही खाँदै थियो, घरकी अर्की महिलाको हातबाट । उनी घरमुली रहिछन्, बेलुका थाहा पाएँ ।
हेर्दा हेर्दै अध्यारोले छोपिहाल्यो । एकजना पुरुष आएर दलानमा टुसुक्क बसे । उनको जँघेलोको एउटा खुट्टो घुँडासम्म बेरिएको थियो । सुरूवालको अर्को खुट्टो हिलो र माटोले लतपतिएको थियो। उनी थाकेका देखिन्थे । उनी घरमुली पुरुष रहेछन् । उनी बारी जोतेर अाएका रहेछन् । मैले वास पाएकोमा उनीसँग कृतज्ञता प्रकट गरेँ । गफ गर्दागर्दै साढे १७ सय मिटर उचाईको त्यो डाँडोमा हल्का चिसो सिरेटो लाग्यो ।
भित्र घरकी कान्छी छोरी खाना पकाउने सुरसारमा थिइन्। पाहुना आएकोले के पकाउने भन्ने निर्क्यौल भैसकेको थिएन जसको चाल मैले पाइहालेँ।
“तपाईंहरू जे खानुहुन्छ म त्यै खान्छु,” मैले भने ।
“हामी त ढिंडो खान्छौं,” घरमुली महिलाले भनिन् । ” मकैको।”
“मलाई साह्रै मिठो लाग्छ,” मैले भनेँ ।
यो लेख फोटोहरूपछि निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂

दिदीचैंकी एउटी दुई बर्षकी छोरी थिइन जो म भित्र छिरेको लगभग दुई मिनेट भित्रै मेरो काखमा लुटपुटिन आइसकेकी थिइन् ।
कान्छीले हालसालै १२ पास गरेकी रहिछन् । अघि मलाई वास दिने उनकी दिदी रहिछन् । दुवै केटीहरूका एकजना भाइ रहेछन जो त्यो रात मसँगै नजिकैको खाटमा सुते। दिदीचाहिँकी एउटी दुई बर्षकी छोरी थिइन जो म भित्र छिरेको लगभग दुई मिनेट भित्रै मेरो काखमा लुटपुटिन आइसकेकी थिइन् । निडर र मिजासी बच्ची । हँसिली । बेलाबेला उनी निस्फिक्री भुईँमा लडिबुडी गर्थिन् बाजे, बजै अनि सानिमा, अामा, मामा र एकजना अपरिचित पाहुनाको अगाडी । कहिले एउटा सानो पाठोलाई टाँगमुनि राखेर घोडा चढेको अभिनय गर्थिन्। धेरै जसो समय उनले मामाको काखमा बसेर मामाको डेढ इन्च ठुलो स्क्रीन भएको सानो नोकिया फोनमा राखिएको कुनै एउटा नेपाली टीभी शृंखला हेरेरै विताइन् । उनका बा मेलम्चीतिर बस्दा रहेछन् ।
हामी चुलो नजिकै बसेका थियौं । चुलो मुलढोकाबाट खासै टाढा थिएन । ढोकाबाट छिर्ने वित्तकै जस्तो अाउने थाममा म अढेस लागेको थिएँ । मुली महिला मेरो सामुन्ने थिइन् । उनी डोकाबाट फर्सीको मुन्टा र बोडी निकालेर केलाउदै थिइन् । कुराकानी चलिरहेको थियो ।
जनजातिहरूको घरमा प्राय: उनीहरूकै मातृभाषा बोलिन्छ जो अपसोच म बुझ्दिँन । यस्तो अवस्थामा मलाई बक्ताहरूको अनुहार हेर्दै कुरा सुन्न खुबै मन पर्छ । कतिपय नेपाली भाषाहरू नबुझेपनि हाउभाउले केही ठम्याउन सकेजस्तो हुन्छ । त्यस्तो अवस्था रोमाञ्चक लाग्छ । मैले अाफु जन्मेहुर्केकै ठाउँमा सुनुवार वा तामाङ वा घुम्न जादाँ गुरूङ अनि मगरहरूका बस्तीमा अाफूलाई त्यस्तो अवस्थामा पाएको छु । तर अाज यो साँझ यो मगर परिवारका सदस्यहरूले एकअापसमा बोल्दा मगर भाषा प्रयोग गरेका थिएनन् जुन मलाई अनौठो लागेको थियो । म मगर परिवारको भान्सामा मात्रै थिइन, मगर बस्तीमा थिएँ । “हामीलाई मगर भाषा बोल्न अाउँदैन,” घरमुली पुरूषले भने ।
उनले मलाई यो गाउँको नाम रजवास कसरी रहन गयो बताए । कुनै जमानामा शिकार गर्न अाएका एक राजा साँझ परेपछि यही ठाउँमा वास बसेका रहेछन् । अनि यसको नाउँ रजवास भइहाल्यो । कथा सुन्दै गर्दा म पनि गमम्क परें, राजा वास बसेको गाउँमा वास पाएकोमा । त्यो पनि निकै मिहिनेत गरेर ।
पोहोरको भुकम्पले मगर परिवारको यो घर चर्काएको थियो । अझै देखिन्छन् केही घर्साहरू । परिवार थुप्रै महिना घर बाहिरै गोठमा बस्यो । हल्का मर्मत गरेर यहाँ सरेकाले चिन्ता हटेको छैन । माटोको घर हो, काठहरू नगलुन् भनेर भान्सामा अागो नै बाल्नेगरेको घरमुली पुरूषले बताए । पुननिर्माणकालागि सरकारी सहयोग ब्याङ्क खातामा अाउनै लागेको छ जो दसैं अगाडी नै अाउने अास मुली पुरूषले प्रकट गरे । भुकम्पपछि धारामा पानी अाउन छाडेकाले अल्लि दुख्ख भएको छ । टाढा माथिबाट पाइपमा ल्याएको पानी अचेल बिहान बेलुका मात्रै धारामा छोडिन्छ । भैँसी एकसाँझे भएको छ । तैपनि चारपाँच लिटर दुध दिइहाल्छ जसलाई हरेक बिहान बस्तीकै सानो संकलन केन्द्रमा लगेर बेचिन्छ । यो दसैंमा घरको मोटो बङ्गुर काट्ने योजना छ । मुली पुरूष र मुली महिलाबीच च्वाँचेको तौलबारे केही मतभिन्नता भयो तर एकैछिनको छलफलपछि त्यो घरपालुवा लगभग एक सय ४० किलो भएको पारिवारिक सहमति भयो ।
“रक्सी खानुहुन्छ ?” मुली पुरूषले सोधे ।
“कैलेएएएएकाँही,” मैले भने ।
“तपाईँ के जात?” उनले सोधे ।
“बाहुन,” मैले भनेँ ।
त्यतिन्जेलसम्ममा उनले अाफूअगाडी एउटा स्टिलको गिलास राखिसकेका थिए र अब कुनैपनि क्षण अर्को गिलास मतिर अाउँदै गरेको छनक मैले पाएँ । उनीछेउ मिनिरल वाटरको एउटा बोलत थियो जसमा पानी जस्तै देखिने पेय थियो ।
“अलिकति चाख्नुहुन्छ यो ?” उनले सोधे ।
मैले अहिले चाँहि नखाने जवाफ दिएपछि उनले मुस्काउँदै भने, “मैले थालेँ है त ।” उनले गिलासलाई अोठसम्म पुर्याएर एक घुट्को निले । त्यसपछि मतिर हेरे । सौर्यबत्तिको उज्यालोमा उनको अनुहार थप चहिकिलो भयो ।
मकैको ढिँडो, फर्सीको मुन्टा र सिलामको अचार साच्चै स्वादिलो थियो । कान्छीले मेरालागि भनि पस्केका दुई मध्ये एउटा डल्लो मैले कराइमै फर्काइदिँदा उनी रिसाउलिन् कि भन्ने चिन्ता मलाई नलागेको होइन । धन्न रिसाइनछिन् । मैले मागेपछि उनले अचार थपिदिइन् ।
भैचालोको डेढ बर्षयता पानीको समस्या कडै परेको रहेछ भन्ने मैले सुत्ने अोछ्यानमा पुग्दा थाहा पाएँ । बिहान सामान्यभन्दा चाँडै बिउँझेँ । पूर्व फर्केको घरको अाँगनबाट केही क्षणमै सूर्यको पहिलो किरण देखिदै थियो । सूर्योदयसँगै चिया पनि अायो । “दूध त तपाईहरूले काठमान्डूमै खाइहाल्नुहुन्छ,” फिका चियातिर संकेत गर्दै मुली पुरूषले भने ।
अब हिड्नेबेला भयो । मैले पैसा तिर्न चाहेँ । वासको अनि खानाको । तर अँह घरमुली पुरूषले पैसा लिन मानेनन् ।
“साँझको पाहुनासँग के पैसा लिनु,” चोत्रबहादुर चितौरे मगरले मुसमुसाउदै भने, “कुनै कुनै पाहुना लच्छिनका हुन्छन् ।”

कच्ची सडक छेवैको त्यो पसल सामुन्नेबाट मकैबारी छिरेको गोरेटोमा ढोड सम्याउँदै म यहाँ यो घरमा आइपुगेको थिएँ ।

म रोसी खोला किनारमा उभीएर गम खादै थिए, बाबुछोरा जस्ता लाग्ने दुईजना एउटा अल्छे राँगो घिच्याउँदै जघाँर तरे ।
यो लेख तपाईले वेबसाईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुहुन्छ भने बाकससँगैका बटन थिच्नुहोला सहजताकालागि । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । धन्यवाद ।
जति बेला पनि पढे र महसुस गरि रहुजस्तो लाग्यो।
LikeLike
धन्यवाद ।
LikeLiked by 1 person
Sadhain Jasto padna ramailo lagne lekh
LikeLike
धन्यवाद ।
LikeLike
Hello sir!
It is truly mesmerising reading your journal esp today, and every time you post them. Today… it’s beaauty~full. ..it’s natural…
There IS peace and warmth despite the situations the people are going through.
And, you manage always to bring out the BEAUTY of them, not forgetting to add a tinge of hope whatever unfair situations you are describing in. I truly admire your writing style and your sincerity while presenting the stories to us.
I eagerly look forward to read more of your wonderful diaries ahead.
And,
Happy Dashain Dinesh sir! May Durga Mata bless you with peace, prosperity and good health.
Warm wishes,
Madina Rai
LikeLike
Thank you Madinaji for your kind words. Very encouraging and inspiring. Happy Dashain to you too.
LikeLike
very nice story….gajaab lagyo…
LikeLike
Thanks.
LikeLike
After reading your post, I felt like I went there by myself. Great piece of writing. Keep it up. Looking forward to read more of these.
LikeLiked by 1 person
Thanks.
LikeLike
सरल तर चाखलाग्दो आफ्नै कथा जस्तो
LikeLike
धन्यवाद ।
LikeLike