
म परिचय दिँदै थिएँ, मेरो हत्केलो झन् कस्दै माननीय रिचर्ड ग्राहम चिच्याइहाले – “आयो गोर्खाली !” अनि बताउन थाले, थुप्रै वर्षअघि अन्नपूर्ण क्षेत्रमा गरेको पदयात्राबारे।
यी ब्रिटिश सांसद वेस्टमिन्स्टर फाउन्डेसनका अध्यक्ष हुन्। गए साँझ बेलायती संसद भवनको माथिल्लो तल्लामा रहेको सभामुखको निवासमा आयोजित फाउन्डेसनको वार्षिक जमघटमा उनीसँग भेट भयो। त्यहाँ नेपाल पुगेका ग्राहम मात्रै थिएनन्। रोरी स्टेवार्ट पनि थिए। सत्तारुढ कन्सरभेटिभ पार्टीको नेता र प्रधानमन्त्री बन्ने स्पर्धामा सहभागि भएर हालै बेलायती राजनीति तताएका मन्त्री स्टेवार्टले त थुप्रै वर्ष अघि अफगानिस्तान, पाकिस्तान हुँदै नेपालका थुप्रै गाउँ डुलेका थिए जो उनले आफ्नो पुस्तक ‘द प्लेसेस् इन् विटविन’मा पनि उल्लेख गरेका छन्।
यसअघि मैले लन्डनदेखि एडिनब्रासम्मका केही भट्टी (पव)हरूमा बिल्कुलै अपरचितहरूसँग गफ गर्ने क्रममा त्यस्ता थुप्रैलाई भेटेको छु जसले कुनै न कुनै विन्दुमा नेपालसँगको सम्बन्ध, चाहे त्यो त्यान्द्रो नै किन नहोस, साँचेर राखेका थिए। यसपाली संसदका हलमा पनि ती फेलापरे। हुन त वर्षेनी ५०/६० हजार ब्रिटिश नेपाल जाने भएकोले ती मध्ये केहीलाई भेट्नु खासै नौलो नहोला। तै पनि रमाइलो लाग्दो रहेछ।

फाउन्डेसनको जमघटमा अर्का एकजना व्यक्ति पनि भेटिए, श्रीलंकाली मन्त्री तथा सत्तारुढ दलका उपसचेतक अजिथ पेरेरा। उनीसँगचाहिँ बेलाबेला दुई ठुला छिमेकी मुलुकहरूको चेपुवामा पर्ने श्रीलंका र नेपालका साझा समस्याबारे छलफल भयो । भारत र चीनसँगको श्रीलंकाली सम्बन्धबारे केही चर्चा गर्दै पेरेराले ‘नेपाललेचाहिँ यसो यसो गर्दा हुन्छ है’ भन्दै केही बुदाँ सल्लाह दिन पनि भ्याइहाले । उनका केही सुझाव मन परे, अरूसँग सहमत हुन सकिएन ।

You must be logged in to post a comment.