Category Archives: दिल्ली जीवन

दिल्लीबाट काठमान्डु

दिल्लीबाट काठमान्डु

ठुलो पार्न क्लिके हुन्छ / कान्तिपुर- २०६७ माघ २९, शनिबार

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’

बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने केही साथीहरूको टिप्पणीले म हल्का चकित भएँ ।

दिल्ली न्युयोर्क या टोकियो होइन । दिल्ली त्यो देशको राजधानी सहर हो, जहाँ स्वाभिमान गुमाएर अत्यन्त थोरै आम्दानीका लागि दसौं हज्जार नेपालीहरू रातदिन खट्छन् । त्यहाँ बस्दा र भारत घुम्दा मैले एउटा नेपाली भेटिन, जो त्यहाँ भएकोमा खुसी या गौरवान्वित होस् । भारतमा नेपालीहरू जहींतहीं छन् । जम्मुदेखि कन्याकुमारीसम्म । मुम्बईदेखि शिलाङसम्म । लखनऊदेखि हैदरावादसम्म । ती सबै ठाउँमा मैले ढावा र पसलहरूमा काम गरिरहेका नेपाली देखेँ । त्यो दर्शनीय थिएन । त्यहाँ उनीहरूले दुःख साटिरहेको मैले सुनेँ । त्यो श्रवणीय थिएन । उदीतनारायण र मनिषा कोइरालाबाहेक भारतमा उल्लेख्य प्रगति गर्ने कोही नेपाली छन् भनेर खोज्ने मेरा सबै प्रयासहरू दिल्लीमा मम बेच्ने या ह्विस्कीको ससानो कारोबार गर्ने व्यक्तिहरूमा पुगेर सकिए । मैले के थाहा पाएँ भने नेपालीहरू कुनै सफलता हासिल गर्न भारत जाँदैनन् । जिन्दगीलाई जसोतसो निरन्तरता दिन उनीहरू त्यता हानिन्छन् । भारत हाम्रालागि ‘मौकाको भूमि’ होइन, दुःखपूर्ण वास्तविकताबाट अस्थायी रूपमा उम्किने ठाउँ हो ।

मातृभूमिसँगको प्रेम र घृणाको सम्बन्ध पनि गज्जबकै छ ! यहाँ बस्न नसकिने, यो बिना पनि टिक्न नसकिने । समस्याहरूबाट भाग्न केही समय देशबाहिर रहन सकिएला, तर धेरै समय बस्न सकिँदैन । अध्ययन या केही वर्ष काम गर्न विदेशिए पनि मानिसहरू त्यहीं मर्न चाहँदैनन् । कुनै एउटा विन्दुमा पुगेपछि घर फर्किने चाहना यति बलियो हुन्छ, त्यसले मानिसहरूलाई पूरै थिच्छ । अनि तुलनात्मक सुविधा पनि असुविधापूर्ण लाग्न थाल्छ ।

मानिसहरू खुसी आफन्तसँग बाँड्न चाहन्छन् । विदेशमा जतिसुकै राम्रा साथी बनाए पनि उनीहरूले आफ्ना उत्तेजनाहरू विदेशीहरूसँग त्यति सहजै साझेदारी गर्न सक्दैनन्, जति स्वदेशी साथी, आफन्त र छिमेकीसँग सक्छन् । उनीहरू विदेशमा गरेको प्रगति विदेशीलाई भन्दा बढी स्वदेशकै आफ्नालाई देखाउन चाहन्छन् । ‘गोर्खेलाई जापानमा लाखौं कमाए पनि छिमेकीलाई घरमा बोलाएर रंगिन टीभी नदेखाएसम्म प्रगति गरेको छु भन्ने लाग्दैन’, कुनै जमानामा एकजना अग्रज पत्रकार मित्रले भनेका थिए ।

त्यसमा सत्यता किन छ भने विकसित समाजमा एउटा नेपालीले जतिसुकै कमाए त्यो उपलब्धिलाई नेपालमा जति महत्त्वसाथ त्यो समाजमा लिइँदैन । त्यहाँ त्यति प्रगति गर्ने कति हुन्छन् कति । यो कुरा नेपालीमै मात्र लागू हुने पनि होइन । केही राष्ट्रियताका लागि त्यो उल्टो हुन्छ । मैले थुप्रै पश्चिमाहरूलाई देखेको छु, जसले नेपाल या भारतजस्ता तेस्रो विश्वका समाजमा बाँकी जीवन बिताउने निर्णय गरेका छन् । किनकि उनीहरूलाई यी समाजमा लगभग ‘राजकीय सम्मान’ मिल्छ । सबैले महत्त्व दिन्छन् । उनीहरूले आफ्नो देशमा त्यस्तो सम्मान र महत्त्व पाउँदैनन्, किनकि ती समाजमा उनीहरूजस्ता थुप्रै हुन्छन् ।

मातृभूमिमा फर्किने अर्को महत्त्वपूर्ण कारण समाजमा केही योगदान दिन्छु भन्ने दृढता पनि हो । ज्ञान या पैसा कमाएर केही मानिस जन्मभूमिमा ‘केही गर्ने’ उद्देश्यले फर्किन्छन् ।

मेरो सन्दर्भ हल्का फरक छ । समाज सेवा गर्ने र आफ्नो पेसाको गुणस्तर बढाउने मेरो बलियो चाहना छ, तर म पढ्न या जागिर खोज्न नेपाल बाहिर गएको थिइन । र म मेरो खुसी/उपलब्धि परिवारसँग साझेदारी गर्न आएको फर्केको पनि होइन । खासमा मेरी जीवनसाथी दिल्लीमै छिन्, अन्य विषयबाहेक इकोनोमेटि्रक्स पढ्दै । दिल्लीमा रहँदा म नेपालकै कम्पनी- यो पत्रिका र यसको अंग्रेजीभाषी सहप्रकाशन-का लागि पूर्णकालीन पत्रकार भएर काम गरेको थिएँ, जो अहिले पनि जारी छ । नेपालमा आधारित कम्पनीका लागि देशबाहिर गएर काम गर्ने नेपालीको संख्या निकै थोरै छ । त्यस्तो हुनुमा हाम्रो बिगि्रएको आर्थिक अवस्था जिम्मेवार छ ।

अनेकौं कारणले हामी भारतप्रति रिस पोख्छौं । तर समस्या हामीसँगै छ । गरिब र विभाजित भएपछि विदेशीले नहेपे के गर्छन् ?

भारत जान नपाए दसौं हज्जार नेपाली डाँडामा के गरेर बस्थे होलान् ? सीमा बन्द भयो भने के होला ? नसोधिकनै उसको सीमा छिर्न दिएर भारतले हामीलाई गुन लगाएको हो ? त्यसो पनि नभनौं, किनकि भारतले सीमा खुला राख्नु पछाडि उसका आफ्नै बाध्यता र रणनीतिक स्वार्थ छन् ।

भारत संवैधानिक रूपमा धर्मनिरपेक्ष राष्ट्र हो । मलाई त्यस्तो लाग्दैन । भारत धर्मनिरपेक्ष देश हुनै सक्दैन, किनकि त्यो एउटा देशमात्र होइन । त्यो आफैंमा एउटा महादेश हो । अझ भनौं एउटा सभ्यता हो । त्यो सभ्यता जो चिनियाँ, पश्चिमा र मुस्लिमभन्दा फरक छ । भारत हिन्दु सम्भता हो । विश्वकै दोस्रो ठूलो मुस्लिम जनसंख्या भइकन पनि आफैंबाट छुट्टएिको मुस्लिम पाकिस्तानसँग दुईपटक लड्ने, अर्को मुस्लिम बंगलादेशसँगको  सिमानालाई तार बेरेर बन्द गर्ने भारतले नेपालसँगको सिमानालाई चाहिँ खुलै राखिराख्न चाहनु पछाडिको उद्देश्य बुझ्न कसैले पनि सभ्यताहरूको संघर्ष’bout किताब लेखेका अमेरिकी राजनीतिशात्री स्याम्युअल हन्टिङ्टन भइहरनु पर्दैन । जवाहरलाल नेहरुले कुनै जमानामा भारतको उत्तर सिमाना हिमालय हुन् भनेका थिए । भारतका हिन्दु कट्टरपन्थीहरू अझै पनि नेपाल उनीहरूको कल्पनाको ‘भारतवर्ष’भित्रै पर्छ भन्ठान्छन् । नेपालको बहुमत समाज हिन्दु होउन्जेल भारतको टाउको नदुख्ने मेरो बुझाइ छ । नास्तिक माओवादी उसलाई चाहिएन । ‘चिनियाँ प्रभाव बढ्यो’ या नेपाल ‘भारत विरोधी गतिविधिको केन्द्र बन्दैछ’ भनी उताबाट आउने दाबीहरू दिल्लीका हस्तक्ष्ाेपकारीहरूका सतही बहानामात्रै हुन् । सभ्यताको फरकले गर्दा भारतसँग जति नजिक चीनसँग नेपाल कहिल्यै हुन सक्दैन भन्ने बुझेर पनि उनीहरू त्यस्तो हल्ला फैलाउँछन् । हो, नेपालका केही मुस्लिमहरूसँग भारतको समस्या छ र उनीहरूलाई भारतले आफ्नो जासुसी संयन्त्रमार्फत सोझै नियालिरहेको छ ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

Advertisements

पीडितगन्ज, पहाडगन्ज

piditganj paharganj

ठूलो पार्न यसमा क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

हिन्दीमा कुरा गर्छ पहाडगन्जले
बोल्छ उर्दू, पञ्जावी र नेपाली पनि
अंग्रेजी त राम्रैसँग बुझ्छ
जापानी र जर्मनको ज्ञान राख्छ भने
फ्रेन्च र इटालियनमा दखल छैन भन्न मिल्दैन
नत्र कसरी चलाउँछ रेष्टुराँ र होटलहरू
लज, क्याफे र साइबरक्याफेहरू
खुद्रा पसल र क्युरियो पसलहरू

दिल्ली आउनुभएको छ भने तपाईँ पहाडगन्ज नपुगेको पत्याउँदै नसकिने कुरा हो । नेपालीको कुरै छाडौ‌, भारतीय राजधानी आउने कुन विदेशी त्यहाँ पुगेको हुँदैन ? यता नआएका नेपालीलाई पहाडगन्ज चिनाउन कतिपयले ठमेलको सहयोग लिन्छन् । काठमाडौंको त्यो पर्यटकीय जमघटस्थलको दिल्लीस्थित समकक्षी हो, पहाडगन्ज । तुलनात्मक रूपमा कम पैसा लिएर घुम्न निस्कने ‘बजेट टुरिष्ट’हरूलाई ठमेलले जस्तै अनेकौं अन्तर्राष्ट्रिय खाना र सस्ता कोठाको प्रस्ताव गर्छ, पहाडगन्जले । फरक यत्ति हो, ठमेलमा १० हजार भारतीय काम गर्दैनन्, पहाडगन्जमा झन्डै १० हजार नेपाली काम गर्छन् । लगभग ७ सय होटल छन् यहाँ जसमध्ये- यो त्यति गौरवपूर्ण कुरा होइन, तैपनि- १० वटाजति नेपालीले सञ्चालन गरेका छन् । सञ्चालन भन्नाले मालिकै भएर चलाएको । भान्से, वेटर, रिसेप्सनिस्ट, भाडा माझ्ने र चौकिदार भएर पहाडगन्जका होटल चलाउने नेपालीको संख्या त अघि उल्लेख भइहाल्यो । पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीमा बन्दिपुरको अटोवाला

बन्दिपुरको अटोलाला

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘तपाईं जानुस् एकचोटि’ उनले आफ्नो गाउँ बन्दिपुर, तनहुँको प्रशंसामा भने- ‘जिन्दगीमा भुल्नुहुन्न ।’

२० वर्ष भयो उनले त्यो गाउँ (‘वार्ड नं ६’) छाडेको । तर पर्यटकीय बस्तीको प्रबर्द्धन गर्न उनी दिल्लीमा पनि छाड्दैनन् । यो होमबहादुर थापामगरको कथा हो जो थुप्रै गरबि नेपाली र आप्रवासी कामदारहरूको जस्तो संघर्षले भरिएको छ । फरक यत्ति हो, धेरै त्यस्ता अभागी निराशाले आजित भएर संघर्षको यात्रालाई बीचैमा छाड्छन् र गरबीमा डुब्छन् । होमबहादुरले त्यसो कहिल्यै गरेनन् । त्यसैले आज उनी दिल्लीमा सगौरव तीनपाङ्ग्रे टेम्पो (अटोरिक्सा) चलाउँछन् जसलाई यहाँको लोकपि्रय लवजमा अटो भनिन्छ । त्यो अटो जो अबका केही महिनामा पूर्णतः होमबहादुरकै स् वामित्वमा आउनेछ । अहिले किस्तामा तिर्ने पैसा त्यसपछि नाफाका रूपमा दिल्लीस्थित सानो तर उनको आफ्नै घरको बाकसमा जानेछ । २० वर्षअघि बन्दिपुरबाट भागेर भारतीय राजधानी आउँदा होमबहादुर यो दिनको कल्पना मात्र गर्न सक्थे ।

भारतीय सेनाबाट बीचैमा निस् केका बाबुले रक्सीको सुरमा कुटपिट गर्न थालेपछि सहननसकेकी उनकी आमा नजिकैको जंगलमा झुन्डिएर मरनि् । उनी १२ वर्षका थिए । दुई दाजुहरू बिहे गरेलगत्तै छुट्टएपछि, उनी र कान्छा भाइ बाबुसँगै रहे । ‘घरको ढिकी जातोदेखि सबै काम मेरो काधमा आयो,’ उनले सम्भिए, ‘स्कुल पढ्दा पनि मलाई धेरै परेसानी भयो ।’ दाउरा बेचेर उनले जसोतसो ८ क्लास पास गरें तर त्योभन्दा माथि उनले कुनै भविष्य देखेनन् ।

दिल्लीबाट बिदामा फर्किएका एकजना साथिको उक्साहटमा उनी सन् १९८९ मा भारत भागे । यहाँ आएर उनले लोकप्रिय लवजमा कोठी भनिने अपार्टमेन्टमा घरेलु कामदारको जिम्मा सम्हाले- मासिक अढाई सय रुपैयाँमा । उनी १७ वर्षका थिए । ‘बच्चाहरूको स् याहारदेखि टट्टी पनि सफा गरियो,’ उनले सम्भिए । मालिकले एक सय रुपैयाँ तलब नबढाइदिँदा उनले त्यो काम छाडे र नजिकैको अर्को राज्य हरियाणाको इँटा भट्टीमा चार सय रुपैयाँमा काम थाले ।

हो त्यहीँ एकदिन होमबहादुरलाई कसैले नेपाली स्वरमा बोलायो । लामो नाक हुने बाहुनहरूलाई नेपालीका रूपमा भारतमा चिन्न गाह्रो पर्छ तर, होमबहादुरका अनुसार, गुरुङ, मगरहरूलाई झ्वास्सै चिनिन्छ । ‘नेपाली भनेपछि यस्तो लाग्छ कि परदेशमा हेर्नुस् एउटै कोखबाट निस् केका दाजुभाइभन्दा पनि प्यारो,’ उनले भने- ‘आफ्नै दुस्राथरीजस्तो लाग्दोरहेछ ।’

हरियाणाको कुनै एउटा गाउँमा दूध दुहुने, गोबर सोहोर्ने ती गोठाला पनि कामबाट आजित भएका थिए । एसएसली उत्तीर्ण ती युवक र भट्टीको कामबाट असन्तुष्ट होमबहादुरले योजना बनाए जसले उनीहरूलाई दुःखपूर्ण यात्रामार्फत मुम्बई पुर्‍यायो । त्योभन्दा अघि दिल्ली रेलल्वे स्टेसनमा उनीहरू बडो चलाखीपूर्ण ढंगमा लुटिए ।

‘गाउँको मान्छे सहरमा आउँदा अल्मलिएछौं,’ उनले भने, ‘सायद चाँदनी चोकतिर पुगेछौं क्यारे । ’ हिँड्दै गर्दा उनीहरूले एक अर्का नेपाली भाषी भेट्टाए जसले आफू पनि मुम्बई जान लागेको बताए । लगत्तै उनीहरूले अर्का नेपालीभाषी भेटे जसले आफू आसामबाट आएर घरेलु कामदार बनेको तर पैसा नमिलेपछि केही सामान बोकेर हिँडेको बताउँदै एउटा पोको देखाए । ती व्यक्तिले पोकोमा तीन लाखसम्मको सुन र पैसा भएको र त्यो सबै चारजनाले बाँडेर खानुपर्ने विचार राखे । भोकाएको हुनाले तत्कालै आफूलाई पैसा चाहिएको ती व्यक्तिले बताएपछि र भेटिएको पहिलो मान्छेले त्यसमा जोड दिएपछि होमबहादुरले १४ सय रुपैयाँ दिए । अनि ती दुवै नयाँ व्यक्ति खाने र पिसाब फेर्ने बाहनामा छुट्टिए । केही बेरमा होमबहादुर र उनका गोठाला साथीलाई शंका लाग्यो । ‘दिल्लीमा ठग, मुम्बईमा गुन्डा हुन्छ भन्ने सुनेका थियौं,’ उनले सम्झिए- ‘पोको खोलेर हेर्‍यौं । अखबारै अखबार पो छ । लालचले त्यस्तो गर्‍यो । कति महिना लगाएर कमाएको पैसा एकछिनमा गयो ।’

पुराना ती कुरा सम्झिदा उनी हाँसे । मलाई पनि लाग्यो कुनै ठट्टा सुनिरहेको छु । खासमा त्यो दिन दुई जनासँग बाँकी रहेको थियो- १३ सय रुपैयाँ ।

रेलको साधारण डिब्बामा उभिने ठाउँ भएन । ‘सिट खोजियो तर जनरल डिब्बामा कताबाट पाउनु,’ उनले भने- ‘नेपालीले कहिल्यै ट्रेन देखेको भए पो थाहा हुनु ।’ कसोकसो उनीहरू दुई डिब्बा जोडिने ठाउँमा भुइँमै बसे रातभर । बिहान गन्ध कताबाट आउँछ भन्दा आफ्नै जीउबाट । नजिकैको शौचालयबाट आउने छिट्टा उनीहरूको जीउभरी परेछ । ‘धेरै कपडा थिएन,’ उनले भने- ‘तिनैलाई धुँदै सुकाएर लगाइयो ।’

डिब्बा चहार्दै उनीहरू कसोकसो वातानुकूलितमा पुगे र खाली सिटमा झ्याप्पै बसे । टिकट परीक्षक (टीटी) ले गालामा थप्पड मारेपछि मात्र उनीहरूले चाल पाए बिनाटिकट बस्न नहुने कुरा । मुम्बई ओर्लना साथ उनीहरूले सय रुपैयाँ जति सर्टको कलरमा लुकाएका थिए ।

मुम्बई, उनीहरूको सपनाको सहर । कत्ति रहर थियो त्यहाँ जाने । ‘सागर देख्नको बहुत सोख थियो,’ होमबहादुरले भने- ‘फिल्ममा हिरो हिरोइन सागरमा नाचेको देखेको । भर्खरको केटा मान्छे, रहर थियो हेर्ने । ’ टाउको निकै दुखेको थियो तर समुद्र किनारमा डुल्दै र सहर खोतल्दै गर्दा समय बितेको पत्तै भएन । रमाइलो धेरैबेर टिकेन । साँझपख सडकमा हिँड्दै गर्दा एउटा ट्याक्सी अचानक रोकियो र दुईजना निस्के । तिनीहरूले होमबहादुर र उनका साथीलाई समातेर भित्र जाके । ”साले नेपाली लोग कहा से आते हो, तुम लोग स्मलगिङ् कर्ता है इधर’ भन्दै ड्याम का ड्याम पिट्न थाले,’ उनले भने, ‘त्यतिखेर हामीलाई हिन्दी पनि राम्रोसँग बोल्न नआउने । उनीहरूले पुलिसको सीआईडी हौं भनेपछि हामीले पनि ‘तलासी लेओ, गल्ती भए जेल हाल’ भन्यौं । ट्याक्सी ड्राइभरले चाहिँ ‘यी गरबि रहेछन्, छाडिदेओ’ भन्थ्यो, तर तिनले सुनेनन् । मेरो सानो रेडियो, घडी र दुई सय लगे । ट्याक्सी हिँडिरहेको थियो, हामीलाई नाङ्गै बनाइदिए नि । कट्टु पनि फुकाले ।’ धन्न, ट्याक्सीबाट उनीहरूलाई निकालिँदा कलरमा लुकाएको पैसा अझै थियो ।

भोकाएका र त्रसित उनीहरूले नजिकैको एउटा पसलमा बडापाउ खाएपछि सहरमा टिक्न नसकिने निष्कर्ष निकाले । बिनाटिकट दिल्ली फर्किने सोचले उनीहरू रेल्वेस्टेसन पुगे जहाँ अर्का एक नेपालीभाषी भेटिए । अब उनीहरू कुनै पनि नेपाली-सँग कुरा गर्न तर्सिसकेका थिए । तर संसार नराम्रा मान्छेहरूले भरएिको छैन । ती व्यक्ति सहयोगी निस्किए । तिनले दुवैलाई एउटा निर्माणाधीन भवनमा चौकीदारीको जागिर दिलाए । त्यसअघि उनले ‘यतातिर कान्छीहरू पाइन्छ गाउँले हो’ भन्दै रेडलाइट क्षेत्रतिर लगेका थिए जसले होमबहादुरहरूमा शंका उब्जाएको थियो ।

केही समयपछि होमबहादुरले कपडा रंगाउने एउटा कम्पनीमा काम पाए जहाँ उनले खुबै प्रगति गरे । पैसा पनि जम्मा गरे साढे नौ हजार । त्यसमा केही थपेर मुम्बईमा थोरै जग्गा किन्ने उनको योजना थियो । तर सबै योजना कहाँ सफल हुन्छन् ? उनैले जागिर लगाइदिएको एकजना नेपालीले त्यही कारखानामा काम गर्ने एउटी भारतीय युवतीलाई भगाएर उनको कोठामा ल्यायो । दुवैको प्रेम भरपर्दो रहेको पक्का भएपछि होमबहादुर उनीहरूलाई पुर्‍याउने रेल्वे स्टेसन गए । कोठामा अर्को एकजना परिचित भारतीय थियो । स्टेसनबाट फर्किदा त्यो भारतीय गायब, पैसा पनि गायब । अर्को बज्रपात, बेलुका युवतीका परिवारजन आएर होमबहादुरलाई धम्की दिए । प्रहरीले पनि छापा मार्‍यो । जागिर पनि छाड्नुपर्‍यो । विरक्त होमबहादुर फेरी एकपटक केही गरिछाड्ने दृढता लिएर दिल्ली आए । ‘कुछ न कुछ सिक्छु, केही गरेर देखाएर मात्रै गाउँ फर्किन्छु भन्ने जिद थियो, तमन्ना थियो,’ उनले भने- ‘या कुछ भी सम्झिनुस् ।’

सन् १९९५ मा दिल्ली फर्केपछि उनले गाडी चलाउन थाले जो उनले मुम्बईमै सिकेका थिए । प्रत्येक महिना पाँच सय रुपैयाँ जम्मा गरेर उनले दुई बर्षमा पश्चिमी दिल्लीमा किस्ताबन्दीमा थोरै जग्गा किने । अर्को वर्ष उनले त्यहाँ सानो झुपडी बनाए र घर गए । १७ मा भागेको केटो २६ को हुँदा फर्कियो । ‘जे जस्तो भए पनि आफ्नो नेपाल भनेपछि, सुनौलीबाट छिर्नेबित्तिकै यस् तो लाग्यो कि म दुस्रा दुनियामा छिर्दै छु,’ होमबहादुरले सम्झिए, ‘आफ्नो घरमा छिर्दै छु । आफ्नोपन क्या आफ्नोपन । नरकबाट स्वर्गमा जाँदै छु जस्तो लाग्ने । तर फेरी पनि के गर्ने, पेट छ, काम गर्नैपर्‍यो ।’

उता बाबुलाई भारतीय सेनाले पेन्सन दिन थालेछ । तर होमबहादुरको योजना गाउँ बस्ने थिएन । उनले बिहा गरे ‘साट्ट सुट्ट मागेर’ र आनन्दले खान पुग्ने जमिन बन्दिपुरमै छाडी श्रीमतीलाई लिएर फर्किए दिल्ली । त्यतिन्जेलसम्म उनलाई अरूका लागि काम गर्ने सिलसिलाबाट दिक्क लागिसकेको थियो ।

‘मलाई नोकरीबाट खुबै तङ् आयो,’ एउटा कामबाट अर्कोमा उफ्रिदाका सास् ती सम्झिदै उनले भने- ‘सानो कुरामा निकालिदिन्थ्ये मालिकहरूले । खुबै गाली गर्थै । नोकरी भन्ने चिज अरूको गुलामी रहेछ भन्ने लाग्थ्यो । नेपालीलाई पनि बुरी नजरियाले हेर्ने । कति वचन लगाउने । ‘तेरे नेपालमे केही नहीँ, खाने कुरा नही मिल्ता’ भन्थे ।’

गाली गलौज त अहिले पनि हुन्छ भारतका सहरहरूमा मजदुरी गर्ने होमबहादुरजस्ता नेपालीहरूलाई । हेपाइ त नेपालका ठूलै भनाउँदा नेताहरूले पनि अनुभव गर्नुपर्छ दिल्लीमा आशीर्वाद लिन आउँदा । तर न होमबहादुरहरू मजदुरीका लागि यहाँ आउन छाड्छन् न नेताहरू । दिल्ली फर्केपछि होमबहादुरले अरूको काम गर्ने दैनिकीलाई निरन्तरता दिए ।

तर तीन वर्षअघि होमबहादुर प्रगतिको अर्को खुड्किलो उक्ले । उनले प्रतिमहिना आठ हजारको किस्ताबन्दीमा एउटा अटो किने जो यो वर्षको अन्त्यसम्ममा चुक्ता हुनेछ । मूल्य सवा लाख थियो तर दलालमार्फत लिएकाले बढी तिनुपर्‍यो । त्यसमा उनलाई गुनासो छैन । सरदर १५ वर्ष टिक्ने आफ्नो अटो ‘आफ्नै मर्जीमा’ चलाउनु उनका लागि ‘नोकरीभन्दा कताकता राम्रो’ छ । अटोले अहिले औसत मासिक १५ हजारसम्म कमाउँछ । उनी ‘घरको ब्यालेन्स हेरेर’ कहिलेकाहीँ ‘बिहान ६ देखि राति दुई बजेसम्म’ पनि काम गर्छन् कहिले मजाले परिवारसँग बिदा मनाउँछन् ।

नौ वर्षअघि बाबुको मृत्यु भएपछि होमबहादुरले भाइ र बुहारीलाई पनि दिल्ली ल्याएका थिए । बिजुली वायरङि् को काम गर्ने भाई र उनीहरूका दुई साना छोराछोरीका अभिभावक भएका छन् होमबहादुरका बूढाबूढी । कुनै कुराको कमी छ भने एउटा सन्तानको छ जसका लागि उनीहरू भगवान्सँग प्रार्थना गररिहेका छन् । अन्तर्वार्ताको एकदिन पछि मैले होमबहादुरलाई उनको घरैनजिक भेट्टाउँदा उनी एकजोर परेवा किन्न र एकजना नेपाली धामीको स्वागत गर्न तयार थिए । ‘डाक्टरले हुन्छ तेरो बच्चा भन्छ तर फेरि किन हुँदैन भनेर धामी झाँक्री गर्न आँटेको,’ उनले भने- ‘ मलाई त केही छैन तर आइमाईको इच्छा पूरा गर्नैपर्‍यो ।’

डेढ करोड मान्छे बस्ने दिल्लीमा लगभग ६० हजार एकै रंगका ( हरियो र पहेंलो मिश्रण) अटो छन् जो तुलनात्मकरूपमा वातावरण मैत्री सीएनजी (ग्यास) बाट चल्छन् । भीड हुने बस चढ्न नसक्ने र कार नहुने मध्यम तथा निम्न मध्यम वर्गका लागि अटो सबैभन्दा महत्त्वपूर्ण साधन हुन् । अटो चलाउनेहरू मुख्यतः छिमेकी राज्यहरू यूपी, विहार र अन्य उत्तर भारतीय गाउँहरूबाट आउँछन् । होमबहादुरलाई फेला पार्ने क्रममा पाँच नेपाली अटोवाला मेरो सम्पर्कमा आए । सहरका कुनाकुना’bout जानकारी हुने र तिनै सडकमा थुप्रैपटक दौडिने भए पनि अटोवालाका लागि प्रत्येक दिन नयाँ हुन्छ । ‘दिनमा छत्तीसथरीका मान्छे भेटिन्छन्, छत्तीस तरहका बात हुन्छन् हेर्नुस्,’ होमबहादुरले भने- ‘त्यसमा सबै नराम्रो पनि होइन । कतिले चाहिँ अटोमा बस्नेबित्तिकै ‘कहाँ को ?’ भन्छन् । कहिले सिक्किमको, कहिले हिमाञ्चल र दार्जिलिङ्को भनिदिन्छु । नेपाली भन्दा अलि अर्कै किसिमले हेर्छ । सिक्किमबाट आएको भन्दा ‘डेनीको जान्ते हो ?’ भन्छन् । ‘उसको घर नजिकै मेरो घर हो’ भनिदिन्छु ।’

हल्का कपाल र जुँगासहित चिउडे दाह्री राखेका होमबहादुर क्याप लगाउँछन् जसको अर्थ छ । मुस्लिम इलाकामा पुग्दा उनलाई मान्छेले दाह्री देखेर ‘भाइजान’ भन्छन्, सरदार बस्तीमा स्नेहसाथ ‘पाजी’ भनी बोलाउँछन् । फेसन र बोलीमा जतिसुकै सतर्कता अपनाए पनि कहिलेकाहीँ तीता घटना भइहाल्छन् । अन्तर्वार्ताको चार दिनअघि उनलाई हल्का मातेको एउटा प्रहरीले ‘तु साले नेपाली इधर क्या कर्ता है’ भन्दै मुख छाड्यो । केही बेर गाली सहेका होमबहादुरले पनि आइलाग्नेमाथि जाइलाग्ने तवरमा मुख छाडेपछि ऊ हच्कियो ।

आफ्नो ठाउँ होइन यो, होमबहादुरलाई थाहा छ । दुई दशक भारतमा बिताएपछि अब उनलाई लगभग पुगेको छ यहाँको बसाइ । किस् ता चुक्ता गरेपछि एकाध वर्ष पैसा कमाउने र बन्दिपुर फर्किने उनको योजना छ । ‘दुनियाँ देखियो,’ उनले भने- ‘तर आफ्नो देश, मातृभूमि भनेको मातभूमि हुँदो रहेछ । आउँदो पीढीले परदेसिनु नपरोस् भन्ने चाहन्छु । जति दुःख गरे पनि उतै गर्नु ।’

आफ्नो जन्मभूमि, आफ्नो बन्दिपुर । एकचोटि पुग्नेले त जिन्दगी भुल्दैन, त्यही जन्मेकोले बिर्सने कुरै भएन ।

यो लेख पहिलो पल्ट आजको कान्तिपुर परिशिष्ट कोशेलीमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गरौ‌‌‌ ।

सान्दर्भिक लिङ्क

१. A Tale of Two Drivers: Delhi Autowallah and Shillong Cabbie

गाडी चम्काउने ठिटो

कार चम्काउने ठिटो
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए, त्यतिखेर पनि उल्टी भयो ।’

त्यो १५ वर्ष अघिको कुरा । जिन्दगीका थुप्रै मध्येको संयोग हो, पहिलो यात्रामा उल्टी गरेर गाडी फोहोर गर्ने कमलबहादुर खड्काको अहिले पेसा भा’छ- गाडी सफा गर्ने । फरक यत्ति हो, उल्टी नेपालमा बसमा भएको थियो, सफा उनी दिल्लीमा भारतीयहरूका साना गाडी (कार) गर्छन् । मान्छे र गाडीको सम्बन्ध पनि अजीवकै छ ।

सन् १८८५ मा ‘मोटरवागेन’ बनाउँदा कार्ल बेन्जले त्यो मानिसहरूले चढ्ने ठानेका थिए । उनी सही थिए । आधुनिक गाडीका आविष्कारक मानिने ती जर्मनले १८८८ देखि १८९३ सम्ममा करिब २५ बेन्ज गाडी बेचे । त्यही वर्ष उनले सामान्य जनताले किन्न सक्ने गाडीको मोडल ल्याए । त्यसयता विश्वका अर्बौंले गाडी चढेका छन् र बेन्जजस्ता भाग्यमानी तथा प्रतिभाशाली केहीले चाहिँ आफूलाई गाडीका ब्रान्डका रूपमा स्थापित गरेका छन् । बेन्जले अर्का जर्मन इन्जिनियर गोट्टेलिव ड्याम्लरसँग सहकार्य गरेकैले हामीले ‘ड्याम्लर-बेन्ज’ गाडी देखेका हौं । जर्मनीकै विल्हेल्म माइबाखको थर प्रयोग गर्ने गाडी अहिले संसारकै महँगो मध्येकोमा पर्छ । अमेरिकी हेनरी फोर्डले १९०३ मा स्थापना गरेको फोर्ड कम्पनी विश्वको चौथो ठूलो मोटर निर्माता हो । जापानका किइचिरो टोयोडाले आफ्नो थरको ‘डी’लाई ‘टी’मा बदलेसँगै अगस्ट १९३७ मा कम्पनीको नाम टोयोटा राखे ।

विश्वकै ठूलो मोटर कम्पनी टोयोटाका महँगा कार किन्न नसके पनि हामीमध्ये धेरैले कम्तीमा १० रुपैयाँ तिरेर नेपालभरि छ्यासछ्यासी चल्ने ‘टोयोटा ह्यास’ माइक्रोबस पक्कै चढेका छौं । टोयोटाकै पूर्वकर्मचारी सोइचिरो होन्डाले, हामीलाई थाहै छ, आफ्नो थरलाई विश्वभरि बाइक र कारको ब्रान्डका रूपमा चिनाएका छन् । १९०९ मा जापानकै सानो गाउँ हामामात्सुमा ‘सुजुकी लुम कम्पनी’ खोलेका थिए, मिसियो सुजुकीले । काठमाडौंमा गुड्ने प्रत्येकजसो ट्याक्सीमा देखिने ‘मारुती सुजुकी’को सुजुकी तिनै जापानीको थर हो । सुजुकीले ८० को दशकयता भारतमा बनाएका गाडी ‘मारुती-सुजुकी’बाट चिनिन्छन् ।

सुजुकीले भारतमा कार बनाउन थालेको २५ औं वर्ष हालै पुग्दा यहाँका सडकमा क्रान्तिकारी परिवर्तन आएको विश्वले महसुस गरेको छ । २००८ मा भारतमा राष्ट्रिय र विदेशी बहुराष्ट्रिय कम्पनीहरूले २३ लाख गाडी उत्पादन गरेर यसलाई विश्वको नवौं ठूलो गाडी उद्योगको हैसियत दिलाए । भारतीय सहरहरूमध्ये दिल्लीमा सबैभन्दा बढी गाडी छन् । बढ्दो जनसंख्या र तिनको सुध्रँदो आर्थिक अवस्थाले कारको संख्या बढाएको हो । घरमा ठाउँ नहुँदा गाडी सकेसम्म अगाडिको या नजिकैको सडकछेउ राखिन्छन् । काठमाडौंमा बाइकचोरको विगविगीजस्तै छ, दिल्लीमा कारचोरको । त्यसैले दिनभरि गुडेर हिलाम्ये/धुलाम्ये भएका गाडी राति सुरक्षा गर्ने र बिहानै सफा गर्ने जिम्मा देशमा रोजगारी नपाएर विदेशिएका कमलजस्ता गरिब नेपालीको ।

बिहीबार राति १० बजे दिल्लीको जंगपुरामा यो लेख्दै गर्दा बाहिरको सडकमा २५ वर्षे कमलको ‘चौकिदारी ड्युटी’ सुरु भा’छ । त्यसबापत उनले महिनामा २२ सय भारु पाउँछन् । बिहान पाँच बजेतिर उनी मोहल्लाका २२ वटा गाडी सफा गर्छन्, जसबाट अर्को २५ सय कमाउँछन् । एउटा टालोले माटो/धूलो झारेपछि अर्कोले उनी गाडीको जीउ र सिसा पुस्छन् । सातामा एकपटक जस्तो भित्रका म्याट सफा गर्नुपर्छ । १० बजे काम सिध्याएर आधा घन्टा हिँडेपछि उनी कोठामा पुग्छन्, जहाँ आफ्नोजस्तै कामबाट फर्केका चारजना कञ्चनपुरेलाई भेट्छन् । ‘त्यतिबेला सबैभन्दा रमाइलो’ उनले भने- ‘कसैले आटा बुन्नी, कसैले सब्जी बनाउने, कसैले रोटी । साथीहरूसँग हाँसोमजा हुन्छ, खाना बनाउँदा ।’

‘हाँसोमजा’ गर्नमात्र महिनामा १४ सय पर्ने कोठामा पाँचजना बसिएको होइन । ‘एक्लै बस्दा भाडै तिर्न सकिन्न, मेन त’ कमलले भने- ‘पैसा नबच्ने भयो ।’ घरमा के पठाउनु ? महेन्द्र बस्तीमा उनकी पत्नी, उनीहरूको तीन वर्षे छोरो, बाबु/आमा, सात र दुई कक्षाका भाइ र एक बहिनी छन् । दुई दिदी र एक बहिनीको बिहा भयो । दाजु भारतकै ‘सुरततिर यस्तै नोकरी गर्छन् ।’

वनबासाबाट बस चढेर पहिलोपटक दिल्ली उत्रँदा उनी १९ वर्षका थिए (त्यसपाली पनि उल्टी भा’थ्यो) । त्यतिबेला दाजुले चौकिदारी गर्ने जंगपुराकै ए ब्लकको एउटा कोठी (घर) मा कमलले लगभग तीन सालजति खानासाना बनाइदिने, सफाइ गरिदिने गरे । त्यही कोठीमा काम गर्दा उनले पहिलोपटक सानो गाडी (स्यान्ट्रो) चढेका थिए । (‘चक्कर चल्यो, तर उल्टी भएन’, उनले भने- ठूलोमा जस्तो धेरै धक्का नदिने ।’) ‘त्यहाँ तनखा नबढाउने’ भएपछि उनले नजिकैको ब्लकमा चौकिदारी थाले । सराइको आसपासमै उनले बिहा गरे । कतिन्जेल यो काम गर्ने हो, उनलाई पत्तो छैन ।

स्टेरिङ त सफा गर्दामात्र छुने हो, चलाउन आउँदैन । तर आफूले धुने गाडीहरूको नाम र लगभग मूल्य कमललाई थाहा छ- ‘स्कार्पियो’ (१० लाख), ‘होन्डा सीटी’ (६/७ लाख), ‘इस्टिम’, ‘अल्टो’, ‘एटहन्ड्रेड’ र ‘वागनर’ । ‘हाम्रो लागि सबै राम्रो’ गाडीहरू ’boutको एक प्रश्नमा कमलले आधा हाँसो फ्याँक्दै र मलाई हेर्दै भने । उल्लेख गर्न दबाब दिएपछि दुई वर्षअघि १५ सयमा किनेको सेकेन्ड ह्यान्ड ‘एटलास’ साइकलका मालिकले भने- ‘स्कार्पियो होला । अलि ठूलो, अलि बलियो ।’ केही अघि कञ्चनपुरकै ड्राइभर साथीले होन्डा सीटी ल्याउँदा उनी त्यसमा छिरेर केहीबेर घुमेका थिए । त्यो अनुभवलाई उनले ‘आनन्द’, ‘धक्का नआउने’ र ‘एसिभ’काले चिसो’ जस्ता शब्दबाट वर्णन गरे । भाग्यमा रै’छ भने कमल एकदिन आफ्नै गाडी पनि चढ्लान, तर तत्काललाई उनको प्राथमिकता अर्कै छ । ‘जमिन किनौला भन्ने विचार छ’, लजालु, कम र छोटा वाक्य बोल्ने तथा निकै कम हाँस्ने कमलले भने- ‘गाउँतिर ।’

यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ छ

सम्बन्धित लि‌ङ्क

१. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

दिल्लीको मौसम र प्रेसवाला

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख पहिलो पटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।] प्रेस वाला भागको विस्तृत स‌स्करण काठमान्डू पोष्टमा प्रकाशित छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ ।

सुन्नुहोस् मौसमसम्बन्धी समाचार- दुई हजार २५ सय मिटर अग्ला पूर्वी नेपाली पहाडमा जन्मेहुर्केको र साढे १३ सय मिटरमा अवस्थित काठमाडौंमा बढे-पढेको मलाई समुद्री सतहबाट २ सय ३९ मिटरमात्रै अग्लो दिल्लीको गर्मीले आश्चर्यचकित हुनेगरी चेताउनु खासै नौलो कुरो नहुन सक्छ । तर यहाँ चकितपनाले सीमा नाघ्नै लागेको भान हुन्छ । शुक्रबार दिल्लीको तापक्रम अधिकतम ४०/न्यूनतम २८ छ भने, म मेरो आइफोनमा आखाँ ठूला पार्दै हेर्छु, काठमाडौंको २७/१३ छ । दिल्लीको न्यूनतमभन्दा पनि काठमाडौंको अधिकतम कम भएको तथ्य यो चर्को गर्मीमा पिल्सिएको बेला हत्तपत्त पत्याउनै गाह्रो पर्दोरहेछ । सोमबार यहाँ ४४ डिग्री पुग्ने अपेक्षा गरिएको छ भने काठमाडौंमा २९ । पढ्नेक्रम जारी राख्नुहोस्

स्लमडग नेपाली

slumdog_nepali_koseli_march14

ठूलो पार्न क्लिक गरे हुन्छ

स्लमडग मिलिनायरको हविगतमा दिल्लीका झुपडबस् तीमा बस् ने नेपालीको कथा-व्यथा पनि कम्ती दुःखदायी छैन ।

‘धेरै वर्स्ट छ,’ ‘खराब’ अर्थ दिने अंग्रेजी शब्द प्रयोग गर्दै हिन्दी लवजमा सुरज रानाले भने, ‘मैले सोचेको यो झुकी टुटोस, यहाँबाट फटाफट निस् कम । यहीँ खाने, यहीँ बस्ने, त कहिल्यै अगाडि बढ्दैन ।’

सोच्ने क्षमता विकास भएदेखि सुरजले मनमा त्यस्तो कुरा खेलाउन थालेका हुन् । अहिले उनी १५ वर्षका भए । दिल्लीको यही झुप्रेबस्तीमा उनी जन्मिए, यहीँ हुर्किए, यहीँ खेले, यहीँबाट स्कुल गए र यसपालि १० औं कक्षाको परीक्षा दिँदैछन् । ठ्याक्कै उनी जन्मेकै झुप्रो चाहिँ १० वर्ष अघि नष्ट गरएिको थियो । औद्योगिक क्षेत्र ओख्लाको फेज-२ अन्तर्गतको त्यो ठाउँमा अहिले एउटा बहुतल्ले अफिस भवन छ । त्यसैको कम्पाउन्डसँग जोडिएको खँदिलो, नाला तथा फोहोर व्यवस्थापन नभएको र मुख्यत झ्याल विहीन सयौं साना झुप्रा छन् । तिनैमध्येको एउटामा सुरज आफ्ना दुई दिदी र बाबुआमासँग बस्छन् ।

व्यापकरूपमा ‘स्लम’ भनिने यी झुप्रेबस्ती खासमा भारतीय गरबिीका प्रतीक हुन् । कतिपय भारतीयले ‘झुग्गी झोपडी’ भन्ने यी बस्तीमा मुख्यतः गाउँबाट कामको खोजीमा सहर पुगेका मानिस बस्छन् जो न्यून तलबमा निम्नस्तरको काम गर्छन् । (‘झुग्गी’ लाई प्राय सुरजले जस्तो ‘झुकी’ पनि उच्चारण गरिन्छ ।) भारतमा एसियाको सबैभन्दा ठूलो स्लम छ जहाँ झन्डै १० लाख मानिस बस्छन् । धारावी नामको मुम्बईको त्यो स्लममा यसपालि ओस्कार जितेको फिल्म ‘स्लमडग मिलेनियर’ को छायाङ्कन गरएिको थियो जसले स्लमको जिन्दगीलाई यसअघि कहिल्यै नमिलेको प्रचार र ‘ख्याति’ दिलायो । मुम्बईमै अरू थुप्रै स् लम छन् जहाँ अरू लाखौं बस्छन् । -विश्वकै सबैभन्दा ठूलो स्लम किबेरा चाहिँ केन्याको नाइरोबीमा छ । त्यहाँ २२ लाख मानिस बस्छन् ।) झन्डै डेढ करोड जनसंख्या भएको दिल्लीमा छरएिका स्लमहरूमा ३० देखि ३२ लाखसम्म मानिसहरू बस् ने तथ्याङ्क छ । गाउँको गरबिीबाट पिल्सिएर भारतमा रोजगारीका लागि आउने कतिपय नेपाली यिनै स्लममा बस्छन् । तीनैमध्येका एक हुन् सुरजका बाबु दिलबहादुर राहुँ जो बितेका २२ वर्षदेखि ‘जनता-जीवन क्याम्प’ भनिने यो स्लममा बसिरहेका छन् ।
‘अब उही भनौ न,’ ४१ वर्षे दिलबहादुरले आफू कसरी झुग्गीमा आइपुगे भनी बताए- ‘मेरो त आफ्नो समस्या थियो तर कुल मिलाएर हेर्ने हो भने रोजीको समस्याले आइयो ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीको बहादुर नेपाली

Delhi Chowkidar. Koseli

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन शुरुहुन्छ, १७ बर्ष भयो उनले रातीको ड्युटी गर्न थालेको । त्यसैले सपना उनी दिउसो देख्छन् जो लाखौ अन्य नेपालीकै झै पुरा हुनसकेको छैन । ‘एउटा सानो झुप्रो बनाउन पाए पुग्यो,’ हालैको एक रात ड्युटीमा रहेका विष्णुले भने– ‘बस् ।’

बामदेव नेपालका पनाती, मधुसुदनका नाती घनश्याम नेपालका छोरा, पाल्पामा जन्मेर दश बर्षमा नवलपरासी बसाई सरेका ४५ बर्षे विष्णुप्रसाद नेपालको त्यो गौरवशाली परिचय नेपाली सीमामै सीमित छ । दक्षिणी दिल्लीको जंगपुरा एक्स्टेन्सनस्थित ब्लक बीमा उनलाई त्यो नामले कसैले चिन्दैन । ‘बादुऊऊर्र !’ कुनै फुच्चे चिच्याउछ– ‘इधर आना ।’ विष्णुप्रसाद नेपाल त्यता दौडिन्छन् । एकैछिनमा अर्को बृद्ध अल्छे पारामा कराउछ जो लगभग ‘बादअअअर !’ जस्तै सुनिन्छ । ‘हाँ बौजी’ भन्दै विष्णुप्रसाद नेपाल ‘बाबु जी’भएतिर खुरर्र दौडिन्छन् ।

θθθ
आत्मसम्मान अलिकति पनि नभएको र श्रमको एक चौथाई पनि मूल्य नदिने यो काममा लाखौ अरु नेपाली जस्तै विष्णु पनि सोखले टिकेका होइनन् । स्वदेशमा बेरोजगारीले निसास्सिएका नेपालीका लागि भारत एउटा दलदल हो जहाँ कठिन र तल्लो स्तरको कामबाट मिल्ने थोरै नगदले उनीहरुलाई बषौं अड्काई राख्छ । त्यसैले लाखौ नेपाली गाउ नै खाली बनाएर भारतीय शहरमा श्रम गर्न आएका छन् । भरिया, निर्माण ज्यामी, ढावा-रेष्टुरेन्टमा पकाउने तथा भाडा माझ्ने बाहेक ज्यानमा बल हुनेका लागि चौकीदारी सबैभन्दा रुचाइएको पेशा बनेको छ । एउटा अध्ययन अनुसार दिल्लीमा मात्र २० हजार नेपाली चौकीदार छन् जसमध्ये अधिकाँश सुदुर पश्चिमी जिल्ला बाजुराका छन् । हालैको एक आइतबार दक्षिणी दिल्लीको एउटा पार्कमा बाजुराको बाह्रबिस गाउका युवा चौकीदारीबाट मिलेको विदाको उपयोग गर्दै भेटघाटमा व्यस्त थिए । ‘हामी सबै एउटै वडाका,’ एकजनाले भने– ‘त्यो पनि सबै छैनौ अहिले । गाउका सबै जम्मा भए यहाँ अटाइदैन ।’

‘एउटा घरका पाच जनासम्म आएका छन्,’ एकजनाले भने ।

‘मेरो घरका सात जना,’ २८ बर्षे भिमबहादुर सार्कीले भने– ‘तीन भाई, एक आमा, एक बुबा, एक बहुरानी र एक छोरा ।’

सन्डे छुट्टीको दिन । त्यसैले धेरै नेपाली पार्कमा भेलाभएर बैठक गर्छन् जसलाई सोसाईटी मिटिङ् भनिन्छ । कतिपयले बचाएको पैसा त्यही सोसाईटीमा जम्मा गर्छन्, कतिले त्यहीबाट ऋण लिन्छन् । कतिका लागि सन्डे दिउसै टन्न पिउने दिन पनि हो त्यसैले कोही फिट्टु अवस्थामा भेट्टाइन्छन् ।

‘हामी डन्डा बजाएर बसेको लेखेर के हुन्छ ?’ रातो आखा भएका एकजना तन्नेरीले लर्वराएको स्वरमा भने– ‘हाम्रो बेइज्जत मात्र हुन्छ । काम पाए उतै बसिन्थ्यो । पेटको लागि आउनु पर्ने ।’

θθθ

चौकीदारहरुको मुख्य काम ब्लक या कोलोनी भनिने टोलको सुरक्षा गर्नु हो । टोलका घरमालिक जम्मा भएर समिती (सोसाइटि) बनाउछन् र प्रत्येक घरबाट मासिक निश्चित पैसा उठाएर आवश्यक संख्यामा राती, दिउसो या दुबैका लागि चौकिदार भर्ना गर्छन् । रातीको ड्युटी नौ बजे शुरुहुन्छ र १२ घन्टापछि सकिन्छ । केही चौकीदार विहानीपख टोलका गाडी पुछ्न र धुन थाल्छन् जसबापत उनीहरुले प्रतिगाडी मासिक डेढ सय पाउछन् (बाइकको एकसय) । विष्णुप्रसाद नेपालको ब्लकका दिउसो बाजुराका अर्का तन्नेरी ड्युटी गर्छन् । त्यो ब्लकको सोसाइटीका सचिव हुन् एचआर मेहरा जसप्रति विष्णु आफ्नो हाजिरी लगायतका विषयमा प्रत्यक्ष उत्तरदायी हुन्छन् ।

‘नम्बर एक सुरक्षा,’ मेहराले चौकीदार राख्नुको प्रयोजन बताए– ‘कोही पनि यहाँ छिरेर सामान चोर्नु हुदैन । ब्लक भित्रका सबै गाडीको ख्याल गर्नुपर्छ । पार्कमा कसैलाई जथाभावी गर्न दिनु हुदैन । ब्लकका बासिन्दाले निश्चिन्त सुत्न पाउनु पर्छ ।’

रातका चौकीदार एउटा मोटो लड्डी र सिठ्ठीबाट सुसज्जित हुन्छन् । टोलको राउन्ड गर्दा अर्थात वरीपरी घुम्दा ती दुबै बजाउनु पर्छ– सीठ्ठी फुकेर, लठ्ठी ठटाएर । राती साढे ११ तिर सिठ्ठीको ‘पिरिरिर्र’ र लठ्ठीको ‘ट्याडाङ् ट्याडाङ्’को संयुक्त आवाज पहिलोपटक सुन्नेलाई आपतकालीन अवस्था सिर्जना भएको हो कि भन्ने भान पर्न सक्छ ।

‘लठ्ठी ठटाउनुको अर्थ उसको हाजिरी हो,’ मेहराले भने– ‘त्यो आवाजले ‘चौकीदारले ड्युटी थाल्यो, अब आनन्दले निदाए हुन्छ’ भन्ने सन्देश दिन्छ ।’

प्रत्येक दुई घन्टा जस्तोमा विष्णु राउन्डमा निस्कन्छन्– सबैकुरा ठिकठाक रहेको निश्चित गर्न । लठ्ठीको भुइतिरको भाग फलामबाट मोरिएको हुदा आवज झन् तिब्र आउछ जो चारतल्ला माथि पनि प्रष्ट सुनिन्छ । त्यो आवाज, विष्णुको बुझाईमा, विरालाको घन्टी जस्तै हो जसबाट घरमालिकले चौकीदार निदाएको छैन भन्ने निश्चित गर्छन् । ‘लठ्ठी नखड्खडायो भने ‘त“ राती सुतिस्’ भनेर तङ् गरिहाल्ने,’ विष्णुले भने– ‘म पनि जसले तंङ् गर्छ, राती त्यसको दलानको फरस (सीमेन्टीको भुईँ) फुटाइदिन्थे लठ्ठीले हानेर । भोलीपल्टदेखि केही भन्दैन थिए ।’

रातको एक बज्नै लाग्दा बी–३० को कार बाहिरबाट आएको छ । त्यसलाई पार्क गर्न सहयोग गरेपछि विष्णु दोस्रो राउन्डमा निस्केका छन् । बी–३५ को घर मालिकको छोरो पार्कको एउटा कुनोमा चुरोट खाइरेको छ । ‘रातभरी सुत्दैनन् यिनीहरु,’ विष्णुले भने– ‘विहानपख यिनीहरुको निद्रा मिठो हुन्छ ।’

θθθ

होचो कदका गहुगोरा विष्णु कम्मरमाथि बाधेको छोटो मैलो पाइन्ट, स्वेटरमाथि कसैले दिएको ज्याकेट, माकल टोपी, मफलर र स्पोर्टस् जुत्तामा ड्युटी गर्छन् । फैलिएका पोराभएको नाक, ठाडा कान, र हल्का चाउरी पर्दैगरेका गाला भएका विष्णु सामान्यत हसिला देखिन्छन् । बढी नै फाटिएका जस्ता लाग्दो औला भएका उनका हात दर्फरिएका र जाडोले फुटेका जस्ता छन् । दाईने हातको माझी औलो र देब्रेको कान्छी पुरै घाइते छन् र पट्टीमा बेरिएका छन् ।

‘अस्ति आगोले पोल्यो,’ उनले आधा मुस्काउदै र लजाएको पारामा भने– ‘हावा चलिरहेको थियो चिसो । राउन्ड लगाएर आगो बालेर बसिरहेको थिए । दाउरा पल्टेर पाइन्ट जल्न थालेछ । तातो हुदै आयो । खुट्टै पोल्न थालेपछि निभाउन खोज्न हात पोल्यो ।’

बी ब्लकका तीन मध्ये सबैभन्दा ठूलो पार्कको एउटा गेटको छेऊ उनी प्रत्येक रात साढे १२ बजेतिर ठन्डीसँग जुध्न थोरै दाउरा जम्मा पारेर आगो बाल्छन् । निद्रा न हो, १७ बर्ष पछि पनि राती आउन छाडेको छैन । शुरुमा जागा रहन ठुलै कसरत गर्नुपरेको थियो । टोलका बुढालाई राती निद्रा नलाग्ने, नयाँ ‘बादुर’ले ड्युटी गरेको छ-छैन चेकै मात्र गरेर बस्ने । ‘आँखामा खुर्सानी लगाएर जागा बसे हजुर,’ उनले ती दिन सम्झिए– ‘बुढाहरुले छिनछिनमा चेक गर्ने । लठ्ठी उठाइदिने, जुत्ता टिपिदिने । शुरुका दुइ-तीन बर्ष खुब तङ् गरे । आजकल आराम छ, केही गर्दैनन् ।’

‘किन ?’

‘सबैलाई जितियो नि अब त,’ उनले भने– ‘मनले जितियो । अचेल चेक गर्दैनन् । सुतेकै भेट्टाएपनि प्राय केही गर्दैनन् ।’

एक दिन बी–७ मा आएको पाहुनाले गाडीमा सात लाख छाडेर सुत्न गएछन् । गाडी चाहर्दा विष्णुले भेट्टाए । उनले बोलाएर सचेत तुल्याएपछि पुरस्कार पाए तीन हजार । ‘त्यति पैसा कमाउन मलाई जुग लाग्छ,’ उनले भने– ‘म भाग्न सक्थ्ये । तर मैले इमान बेचिन । उनीहरुको विश्वास जितेको छु ।’

यो टोलमा ड्युटी थालेको अवधीको मापन विष्णु मरेका बुढाको सङ्ख्याबाट गर्छन् । ‘म आइकन ४५ बुढा मरे यो कोलोनीमा,’ उनले भने– ‘ती मध्ये केही तंग गर्ने पनि थिए । केही राम्रा पनि थिए ।’

एकरात एउटा बुढाले विष्णु निदाएको बेला उनको जुत्ता र लठ्ठी उठाएर लगेछ । भोलिपल्ट विष्णुलाई बोलाएर जुत्ता थमाउदै हपारेछ– ‘हराम जादे, तूँ सोता हे ना ? ए हे सबुत ।’

लौ, कुरा गर्दागर्दै तीन राउन्ड मार्नै लाग्दा अहिले रातको साढे दुई बजेको छ । बी–३६ को सरदारलाई उठाईदिनुपर्ने बेला भएको छ । ११ बर्ष भयो विष्णुले यी सरदारलाई मूल ढोकाको घन्टी बजाएर उठाउन थालेको । सवा तीन बजे गुरुद्धारा जान निस्कन्छन् । सरदारले जतिसुकै धर्म गरेपनि विष्णुको मन जित्न सकेका छैनन् । ‘कन्चुसको राजा छ,’ विष्णुले भने– ‘जुन दिन घन्टी बजाएन, सुतिस् भन्छ ।’ उनले चारपाँच पटक घन्टी थिचे र तेस्रो राउन्डलाई निरन्तरता दिए ।

मध्य राततिर जति उराठ लाग्छ विष्णुलाई विहान हुदै आएपछि ड्युटीमा त्यति नै रमाइलो लाग्छ । ‘मान्छे उठ्छन्, पार्क तिर आउछन्, रमाइलो हुन्छ,’ उनले भने र सुनसानमा यताउति डुलिरहेको नजिकैको कुकुरलाई ‘तु इधर आ, हराम गधे’ भन्दै बोलाएर सुम्सुम्याए । ‘पहिले राती रेडियो बजाउथे, साइकलमा राउन्ड लगाउथे,’ उनले भने– ‘अचेल त्यो पनि मन लाग्दैन । साइकल पनि पुरानो भयो ।’ तीन बर्ष पुरानो र झन्डै एक किलोको लड्ठी पनि खिइदै गएको छ । ‘पहिलो म भन्दा अग्लो थियो,’ उनले आफ्नो काध सम्म आउने लौरो सुम्सुम्याउदै भने– ‘यी, अहिले छोटो भयो ।’

लौरो छोटो मात्र छैन चाहिएको बेला बेकामे नै हुन्छ । छ बर्ष पहिले एक रात राउन्डमा जादा बी–२४ अगाडी उनलाई नजिकैको भोगल बजारका केही गुन्डाले चक्कु देखाए । ‘मेरो पासमा खुकुरी थियो तर कसरी हान्न सक्थे र?’ उनले भने– ‘भागें । बालबाल बचें ।’

θθθ

यत्रो साल लठ्ठी बजार्दा विष्णुलाई थकाई नलागेको होइन । तर कुरा उही सपनामै गएर टुङ्गिन्छ जो पुरा भएको छैन । ‘सरकारी नोकरी भएको भए पेन्सन हुन्थ्यो, यसमा हुदैन,’ उनले भने– ‘तागत रहेसम्म गर्ने हजुर । सिद्धेपछि छाड्ने ।’ यहा सम्मकी बर्षमा एक महिना विदा लिएर घर जादा उनको तलव काटिन्छ । पाच-छ साल अझै ड्युटी गर्न सकिन्छ भन्ने उनलाई लागेको छ । मुस्किलले प्रति महिना तीन हजार भारुको कमाई भएका विष्णुको योजना अनुसार घर बनाउने पैसा जम्मा गर्न अब पाच बर्ष चौकीदारी गर्नुपर्नेछ । ‘दिल्लीको कमाईले’ नवलपरासीको कुमारबस्तिमा छ कठ्ठा १५ धुर खेत पनि किनेका विष्णुको परिवार पत्नी, छोरी (१४ बर्ष) र छोरा त्यही छन् । छोरी सरकारी र छोरा (५ बर्ष) बोर्डिङ् स्कुलमा पढ्छन् । सबै पैसा उनले घरपरिवारकै लागि जोगाएका र खर्चेका छन् । आफ्नो मनोरन्जनका लागि गरेको भनेको महिनाको ३० रुपैया हो जो मोवाईल फोनमा कल ब्याक रिङ्टोन सेट गर्न लाग्छ । उनको नम्बरमा डायल गर्दा ‘सम्झनाले भैरछु टोलाउने-पापीनीलाई के भनी बोलाउने-दमौलीमा पूल-पिरती लाउनाले भयो साह्रै भूल’ लोकगीत बज्छ । उनका साथीहरु त्यो गीत सुन्न उनको नम्बर डायल गर्छन् ।

θθθ

छोराछोरीको प्रसंग आउदा विष्णु आफ्नै बाल्यकाल सम्झिन्छन् । विष्णुका तीन दाजूभाई । उनी जेठा । कान्छोको सानैमा मृत्यु भयो । माइला अहिले पन्जावतिर छन् । विष्णु १० बर्षको हुदा लडेर खुट्टो भाचिएको थियो । गाउमा उनलाई अप्ठेरो होला भनेर विष्णुका पन्डित÷पुरेत बाबु पाल्पा छाडेर सपरिवार नवलपरासी बसाई सरेका थिए । त्यहा तीन विघा जग्गा किनेका थिए जो बाढीले कटान गर्दै लगेपछि छ बर्षअघि पुरै सकियो ।

‘पढ्ने बेलामा बुद्धि आएन,’ उनले भने– ‘घुमेर हिड्ने, बद्मासी गर्ने । अहिले दुख पाइयो ।’

एकदिन घरमा ‘ठाक्क ठुक्क परेपछि’ विष्णु २० बर्षमा पन्जाव हानिएका थिए । पाँच बर्षसम्म फर्केनन् । भाइ लिन गएपछि दुबै दिल्ली आए । यहाँ दुइ बर्ष बसेपछि दुबै घर फर्के । घरमा केही समय बसेपछि उनी फेरी दिल्ली आए र अहिले चौकीदारी गर्ने ठाउमा काम थाले ।

त्यति सम्झिएपछि उनले ‘क्लक १००’ ब्रान्डको चुरोट सल्काए । एकरुपैया पर्ने चुरो उनले दिनको (जसमा रात पनि पर्छ) चारवटा खान्छन् । विहान नौ बजे ड्युटी सकिएपछि ११ बजेसम्म सुत्ने विष्णु त्यसपछि आफू बस्ने घरमा सरसफाई र खाना पकाउन सघाउछन् । त्यतिबेलै हो उनले नवभारत टाइम्स, हिन्दुस्तान या पन्जाव केसरी जस्ता हिन्दी दैनिक किनेर बाकी विश्वसँग सम्बन्ध स्थापित गर्ने । ‘पन्जाव केसरीले नेपालको घट्ना पनि दिन्छ, त्यसैले त्यो मन पर्छ,’ उनले भने । तीन बजे फेरी सुत्छन्, सात बजेसम्म । नौबजेको ड्युटी भएपनि उनी आठैबजे पुग्छन् । चक्र दिनहुँ त्यसैगरी घुमिरहेको छ ।

सम्बन्धित लि‌ङ‍क
1. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

दरियागन्जको किताबी हाट

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌‌स्करण यहाँ छ

‘हरेक आइतबार (पुरानो दिल्लीमा) सधैं हुने भीड छिचोल्दै, खिया लागेको सानो फलामे डन्डी घुसारेर अर्को  मान्छेको कान सफा गरिरहेका मान्छेहरू हुँदै, नुनिलो पानीले भरिएको हरियो बोतलहरूमा थुनिएका साना माछा बेच्ने मान्छेहरूलाई छेउ पार्दै, सस्तो जुत्ता बजार र सस्तो सर्ट बजार हुँदै जाँदा तपाईं दरियागन्जको महान् सेकेन्डह्यान्ड पुस्तक बजारमा आइपुग्नुहुनेछ ।

‘यो बजार’boutमा तपाईले सुनेको हुनुपर्छ, महोदय, किनकि यो संसारका आश्चर्यहरूमध्येको एक हो । दसौं हजार फोहोरी, च्यातिएका र कुहिएका हरेक विषयका किताब- प्रविधि, औषधि, यौन आनन्द, दर्शन, शिक्षा र विदेशी मुलुकहरू- दिल्ली गेटदेखि लालकिल्लाअगाडिको बजारसम्मको फुटपाथमा थाकका थाक राखिएका हुन्छन् । कुनै किताब कति पुराना हुन्छन् भने तपाईले छुँदा ती टुट्छन्, कुनैमा कीरा डुलिरहेका हुन्छन्, कुनैचाहिँ बाढी या आगलागी भएको ठाउँबाट उद्धार गरिएका जस्ता लाग्छन् । फुटपाथ किनारका प्रायः पसलका बन्द हुन्छन् तर रेस्टुरेन्टहरू खुलेकै हुन्छन् र त्यहाँबाट आउने खान्कीको बासना कुहिएका किताबबाट आउने गन्धसँग मिसिन्छ ।’ पढ्नेक्रम जारी राख्नुहोस्

दिल्लीको मेट्रोमा सरर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌स्करण यहाँ छ

Metro rail of new delhi

यसै महिनाको सुरुतिर मैले नयाँदिल्लीको मेट्रो रेल चढ्नु पछाडि दुई कारण थिए । पहिलो, द्वारकाबाट सेन्ट्रल सेक्रेटेरियट पुग्न सबैभन्दा सजिलो यातायात माध्यम त्यही थियो । मेट्रोको अन्तिम स्टेसन सेक्रेटेरियटबाट म बसमा जंगपुरा एक्स्टेन्सनको फल्याटमा पुग्न सक्थेँ । दोस्रो, संसारकै उत्कृष्ट मध्येको एक सहरी यातायात प्रणाली भनि व्यापक रूपमा वर्णन गरिएको प्रख्यात मेट्रो हेर्न चाहन्थेँ म । शंकै छैन, दिल्लीको गज्जवको रेल प्रणाली भारतीय राजधानीका शीर्ष पर्यटकीय गतव्य मध्येको एक भएको छ । बेला-बेला अाइफोनमा इन्टरनेट ब्राउज गर्दै ३० किलोमिटर जतिको दूरी यात्रा गर्दा मैले सुविधासम्पन्न टे्रन डिब्बाभित्रको जीवन्त वातावरणको मात्रै मजा लिइन, तीन तले घरको उचाइबाट सहरको अवलोकन पनि गरेँ । अग्ला र मोटा खम्बामा अडिएको रेल ट्रयाक सडक माथिबाट जान्छ । तल सडकमा ठाउँ र गतिका लागि तँछाड-मछाड गर्ने गाडीहरू तिनका चालक र यात्रुलाई थकाई लागुन्जेल रातो बत्तीमा अड्किन्छन् । माथि वातानुकूलित डिब्बाका यात्रुलाई ट्राफिक जामसँग मतलवै भएन । पढ्नेक्रम जारी राख्नुहोस्