Category Archives: नेपाल-भारत सम्बन्ध

माओवादी-भारत सम्बन्ध: पहिले विस्तारवाद, अहिले अवसरवाद

Bistarbad..Absarbad

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

प्रधानमन्त्रीका रूपमा माओवादी नेता बाबुराम भट्टराई भारतको औपचारिक भ्रमणमा रहेको यो अवस्थामा नेपालमा विपक्षी कांग्रेसका नेताहरू हात बाँधेर मुस्काइरहेका छन् । उनीहरूको त्यो मुस्कुराइ झन्डै १५ वर्षअघिको एउटा सानो जस्तो लाग्ने घटना र त्यसपछिका भयङ्करजस्ता लाग्ने थुप्रै अन्य घटनामा अडिएको छ । २०५२ माघ २९ गते झ्याम्म दाह्री पालेका एकजना ‘रिसाहा अधबैंसे’ ले त्यतिबेलाका कांग्रेसी प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ४० वटा माग प्रस्तुत गर्दै ती फागुन ५ गतेसम्म पूरा नभए ‘सशक्त संघर्षको बाटोमा’ हिँड्ने चेतावनी दिएका थिए । ती माग पूरा हुने नहुने टुङ्गो नलाग्दै र आफैंले तोकेको समयसीमाको बेवास्ता गर्दै ती व्यक्ति फागुन एकमै भूमिगत भए कमरेड लालध्वजका रूपमा तत्कालीन राज्यसत्ताविरुद्ध त्यही दिन सुरु भएको सशस्त्र युद्धमा सामेल हुन । ती लालध्वज, धेरैलाई थाहा छ, यिनै भट्टराई हुन् जसले (र, उनको पार्टी माओवादीले) १५ वर्षपछि भारतसँग सम्बन्धित सुरुका नौ मागलाई पूरै बिर्सन खोजेको जबरजस्त अभिनय गरिरहेका छन् । ४० मध्ये कतिपय माग ०६२/०६३ को जनआन्दोलनले पूरा गरायो तर त्यो सूचीमा रहेका नम्बर एकदेखि नौसम्मका माग अहिले पनि पूरा भएका छैनन् । पूरा गराउने कुर्सीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नौ महिना बसिसेका छन् भने लाजध्वज त्यो कुर्सीमा बसेको आठौं हप्ता भएको छ ।

यो लेखको बाँकी भाग यहाँ छ ।

दिल्लीबाट काठमान्डु

दिल्लीबाट काठमान्डु

ठुलो पार्न क्लिके हुन्छ / कान्तिपुर- २०६७ माघ २९, शनिबार

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’

बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने केही साथीहरूको टिप्पणीले म हल्का चकित भएँ ।

दिल्ली न्युयोर्क या टोकियो होइन । दिल्ली त्यो देशको राजधानी सहर हो, जहाँ स्वाभिमान गुमाएर अत्यन्त थोरै आम्दानीका लागि दसौं हज्जार नेपालीहरू रातदिन खट्छन् । त्यहाँ बस्दा र भारत घुम्दा मैले एउटा नेपाली भेटिन, जो त्यहाँ भएकोमा खुसी या गौरवान्वित होस् । भारतमा नेपालीहरू जहींतहीं छन् । जम्मुदेखि कन्याकुमारीसम्म । मुम्बईदेखि शिलाङसम्म । लखनऊदेखि हैदरावादसम्म । ती सबै ठाउँमा मैले ढावा र पसलहरूमा काम गरिरहेका नेपाली देखेँ । त्यो दर्शनीय थिएन । त्यहाँ उनीहरूले दुःख साटिरहेको मैले सुनेँ । त्यो श्रवणीय थिएन । उदीतनारायण र मनिषा कोइरालाबाहेक भारतमा उल्लेख्य प्रगति गर्ने कोही नेपाली छन् भनेर खोज्ने मेरा सबै प्रयासहरू दिल्लीमा मम बेच्ने या ह्विस्कीको ससानो कारोबार गर्ने व्यक्तिहरूमा पुगेर सकिए । मैले के थाहा पाएँ भने नेपालीहरू कुनै सफलता हासिल गर्न भारत जाँदैनन् । जिन्दगीलाई जसोतसो निरन्तरता दिन उनीहरू त्यता हानिन्छन् । भारत हाम्रालागि ‘मौकाको भूमि’ होइन, दुःखपूर्ण वास्तविकताबाट अस्थायी रूपमा उम्किने ठाउँ हो ।

मातृभूमिसँगको प्रेम र घृणाको सम्बन्ध पनि गज्जबकै छ ! यहाँ बस्न नसकिने, यो बिना पनि टिक्न नसकिने । समस्याहरूबाट भाग्न केही समय देशबाहिर रहन सकिएला, तर धेरै समय बस्न सकिँदैन । अध्ययन या केही वर्ष काम गर्न विदेशिए पनि मानिसहरू त्यहीं मर्न चाहँदैनन् । कुनै एउटा विन्दुमा पुगेपछि घर फर्किने चाहना यति बलियो हुन्छ, त्यसले मानिसहरूलाई पूरै थिच्छ । अनि तुलनात्मक सुविधा पनि असुविधापूर्ण लाग्न थाल्छ ।

मानिसहरू खुसी आफन्तसँग बाँड्न चाहन्छन् । विदेशमा जतिसुकै राम्रा साथी बनाए पनि उनीहरूले आफ्ना उत्तेजनाहरू विदेशीहरूसँग त्यति सहजै साझेदारी गर्न सक्दैनन्, जति स्वदेशी साथी, आफन्त र छिमेकीसँग सक्छन् । उनीहरू विदेशमा गरेको प्रगति विदेशीलाई भन्दा बढी स्वदेशकै आफ्नालाई देखाउन चाहन्छन् । ‘गोर्खेलाई जापानमा लाखौं कमाए पनि छिमेकीलाई घरमा बोलाएर रंगिन टीभी नदेखाएसम्म प्रगति गरेको छु भन्ने लाग्दैन’, कुनै जमानामा एकजना अग्रज पत्रकार मित्रले भनेका थिए ।

त्यसमा सत्यता किन छ भने विकसित समाजमा एउटा नेपालीले जतिसुकै कमाए त्यो उपलब्धिलाई नेपालमा जति महत्त्वसाथ त्यो समाजमा लिइँदैन । त्यहाँ त्यति प्रगति गर्ने कति हुन्छन् कति । यो कुरा नेपालीमै मात्र लागू हुने पनि होइन । केही राष्ट्रियताका लागि त्यो उल्टो हुन्छ । मैले थुप्रै पश्चिमाहरूलाई देखेको छु, जसले नेपाल या भारतजस्ता तेस्रो विश्वका समाजमा बाँकी जीवन बिताउने निर्णय गरेका छन् । किनकि उनीहरूलाई यी समाजमा लगभग ‘राजकीय सम्मान’ मिल्छ । सबैले महत्त्व दिन्छन् । उनीहरूले आफ्नो देशमा त्यस्तो सम्मान र महत्त्व पाउँदैनन्, किनकि ती समाजमा उनीहरूजस्ता थुप्रै हुन्छन् ।

मातृभूमिमा फर्किने अर्को महत्त्वपूर्ण कारण समाजमा केही योगदान दिन्छु भन्ने दृढता पनि हो । ज्ञान या पैसा कमाएर केही मानिस जन्मभूमिमा ‘केही गर्ने’ उद्देश्यले फर्किन्छन् ।

मेरो सन्दर्भ हल्का फरक छ । समाज सेवा गर्ने र आफ्नो पेसाको गुणस्तर बढाउने मेरो बलियो चाहना छ, तर म पढ्न या जागिर खोज्न नेपाल बाहिर गएको थिइन । र म मेरो खुसी/उपलब्धि परिवारसँग साझेदारी गर्न आएको फर्केको पनि होइन । खासमा मेरी जीवनसाथी दिल्लीमै छिन्, अन्य विषयबाहेक इकोनोमेटि्रक्स पढ्दै । दिल्लीमा रहँदा म नेपालकै कम्पनी- यो पत्रिका र यसको अंग्रेजीभाषी सहप्रकाशन-का लागि पूर्णकालीन पत्रकार भएर काम गरेको थिएँ, जो अहिले पनि जारी छ । नेपालमा आधारित कम्पनीका लागि देशबाहिर गएर काम गर्ने नेपालीको संख्या निकै थोरै छ । त्यस्तो हुनुमा हाम्रो बिगि्रएको आर्थिक अवस्था जिम्मेवार छ ।

अनेकौं कारणले हामी भारतप्रति रिस पोख्छौं । तर समस्या हामीसँगै छ । गरिब र विभाजित भएपछि विदेशीले नहेपे के गर्छन् ?

भारत जान नपाए दसौं हज्जार नेपाली डाँडामा के गरेर बस्थे होलान् ? सीमा बन्द भयो भने के होला ? नसोधिकनै उसको सीमा छिर्न दिएर भारतले हामीलाई गुन लगाएको हो ? त्यसो पनि नभनौं, किनकि भारतले सीमा खुला राख्नु पछाडि उसका आफ्नै बाध्यता र रणनीतिक स्वार्थ छन् ।

भारत संवैधानिक रूपमा धर्मनिरपेक्ष राष्ट्र हो । मलाई त्यस्तो लाग्दैन । भारत धर्मनिरपेक्ष देश हुनै सक्दैन, किनकि त्यो एउटा देशमात्र होइन । त्यो आफैंमा एउटा महादेश हो । अझ भनौं एउटा सभ्यता हो । त्यो सभ्यता जो चिनियाँ, पश्चिमा र मुस्लिमभन्दा फरक छ । भारत हिन्दु सम्भता हो । विश्वकै दोस्रो ठूलो मुस्लिम जनसंख्या भइकन पनि आफैंबाट छुट्टएिको मुस्लिम पाकिस्तानसँग दुईपटक लड्ने, अर्को मुस्लिम बंगलादेशसँगको  सिमानालाई तार बेरेर बन्द गर्ने भारतले नेपालसँगको सिमानालाई चाहिँ खुलै राखिराख्न चाहनु पछाडिको उद्देश्य बुझ्न कसैले पनि सभ्यताहरूको संघर्षबारे किताब लेखेका अमेरिकी राजनीतिशात्री स्याम्युअल हन्टिङ्टन भइहरनु पर्दैन । जवाहरलाल नेहरुले कुनै जमानामा भारतको उत्तर सिमाना हिमालय हुन् भनेका थिए । भारतका हिन्दु कट्टरपन्थीहरू अझै पनि नेपाल उनीहरूको कल्पनाको ‘भारतवर्ष’भित्रै पर्छ भन्ठान्छन् । नेपालको बहुमत समाज हिन्दु होउन्जेल भारतको टाउको नदुख्ने मेरो बुझाइ छ । नास्तिक माओवादी उसलाई चाहिएन । ‘चिनियाँ प्रभाव बढ्यो’ या नेपाल ‘भारत विरोधी गतिविधिको केन्द्र बन्दैछ’ भनी उताबाट आउने दाबीहरू दिल्लीका हस्तक्ष्ाेपकारीहरूका सतही बहानामात्रै हुन् । सभ्यताको फरकले गर्दा भारतसँग जति नजिक चीनसँग नेपाल कहिल्यै हुन सक्दैन भन्ने बुझेर पनि उनीहरू त्यस्तो हल्ला फैलाउँछन् । हो, नेपालका केही मुस्लिमहरूसँग भारतको समस्या छ र उनीहरूलाई भारतले आफ्नो जासुसी संयन्त्रमार्फत सोझै नियालिरहेको छ ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

मेघालयका “घरज्वाइँ’हरु

family

कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं । Continue reading

खटपटमा छन् गोर्खा र प्रवासी

khatpat Gorkha ra prabashi

सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् ।

गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य र अन्जु पन्तका गीतहरू घन्केको र सजिएर हिँडेका युवतीहरूले ‘अहिले त्यस्तो केही छैन’ भनेको सुन्दा यी दिन सिलाङमा अवस्था पूरै सामान्य रहेको भान पर्छ । तर १९८६/८७ मा आफ्नो जातिका थुप्रैलाई राज्यबाट खेदाइएको देखेका प्रौढहरूचाहिँ सीडी पसलमा ठूलो स्वरमा गुन्जिरहेको ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ को स्थितिमा भएको महसुस गरिरहेछन् ।

कोइलाखानीबाट केही नेपाली मजदुरहरू भागे पनि आफूहरू यसपालि खेदिनु नपरेको र सरकारबाट तुरुन्त सहयोग पाएको उल्लेख गर्ने गोर्खाहरूले समग्रमा चाहिँ मेघालयमा हीनताबोधको जिन्दगी जिइरहेको बताए । सिलाङ र आसपासका गाउँवासी थुप्रै गोर्खाहरूले आफूले सहेका अन्यायबारे खुलस्त भएर बोल्न सजिलो होस् भनेर पत्रिकामा नाम प्रकाशित नगर्न अनुरोध गरे । ‘हामी आफ्ना लागि माग राख्न सक्ने अवस्थामै छैनौं,’ सिलाङको कुनै एउटा कार्यालयका कर्मचारीले भने, ‘त्यसो गरे तारो बनिन्छ । बाटोमा हिँड्दा खासीले एक लात हान्यो भने हामीले उसको खुट्टाको धूलो पुछेर ‘हजुरलाई त दुखेन ?’ भन्दै हिँड्नुपर्ने अवस्था छ ।’

‘मलाई यति धेरै बोल्न मन छ,’ एकजना कर्मचारीले दाहिने मुठ्ठी देखाउँदै र दायाँबायाँ हेर्दै अचानक दबेको स्वरमा भने, ‘तर यी म बाँधिएको छु । यो फुकाउन मैले सिलाङ छाड्नै पर्छ ।’

परिचयसहित कान्तिपुरसँग कुरा गर्नेहरूले चाहिँ त्यति बेहाल नभएको भन्दै बरु गोर्खाकै कतिपय कमजोरी औंल्याए । मेघालय राज्यको सिर्जना नै कुनै जाति विशेषका लागि, उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि भएकाले यहाँ उनीहरूका स्वार्थले प्राथमिकता पाउनु नौलो नभएको यी गोर्खाहरूले तर्क गरे । ‘उनीहरू पनि आफ्नो पहिचान गुम्ला, बाहिरियाको जनसंख्या बढ्दा र आफूहरू अल्पमतमा परिएला भनेर चिन्तित छन्,’ राज्यको उच्च सरकारी सेवाबाट निवृत्त डम्बरबहादुर गुरुङले मेघालयका खासी, गारो र जयन्तियाजस्ता समुदायलाई इंगित गर्दै भने, ‘भारतको संविधानले नै छैटौं अनुसूचीको व्यवस्था गरेर आदिवासी (ट्राइवल) हरूलाई बढी अधिकार र सुविधा दिएको छ ।’

khatpat ma gorkha ra prabashi

नेपाली भाषीहरू, मेघालयमा बस्ने बंगाली, बिहारी र मारवाडी समुदायजस्तै, गैरआदिवासी (ननट्राइवल) समूहमा पर्छन् जसले सिलाङ सहरका निश्चित भागमा मात्र जग्गा किन्न पाउँछन् । व्यापार गर्न उनीहरूले राज्यबाट अनुमति लिनुपर्छ । सरकारी जागिरमा आदिवासीलाई ९० प्रतिशत छुट्टयाइएको छ । बाँकीमा पनि आदिवासीले प्रतिस्पर्धा गर्न सक्छन् । Continue reading

यहीँ जिउँदै जलाए बुवालाई

they burned my father alive here

बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने ।

त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल मान्छे आई जिउँदै जलाएर मारेका थिए । गोठमा शर्माकी पत्नी, उनीहरूका १५ (नारायण), १२ (जीवन) र १० (तुलसी) वर्षका छोराहरू र छोरी पनि थिए । दुई बजेतिर अचानक एक हूल आएर गोठमा आगो लगाइदिएपछि शर्मा स्तब्ध भएका थिए ।

‘हतारहतार बच्चाहरू र बुवालाई बाहिर निकालेँ,’ उनले भने, ‘हात जोडेर माफी माग्दै थिएँ, केही नगर्न भन्दै थिएँ, एउटाले खासी भाषामा ‘मार्दे’ भनिहाल्यो । अर्कोले यतिलामो (उनले फैलाइएको दाहिने हातको कुममा देब्रे हत्केलो लगे) खुकुरी निकाल्यो । अनि म यस्तरी (उनले दुवै हात उचालेर पछाडितिर फाले) जम्प हान्दै भागेँ केटाकेटीतिर । उनीहरूलाई लगेर त्यहाँ (५० मिटरजति टाढाको खोल्सोमा) लुकेँ ।’ भाग्न नसकेका वृद्ध लोकनाथलाई पेट्रोल खन्याएर, खुकुरीले हानेर मारेको शर्माले बताए ।

they burned my father alive here2

घटनामा ४ गाई मरे, जसलाई जलेको गोठैअगाडि गाडिएको छ । कान्तिपुरले भेट्दा बुवाको काजक्रिया सकेका शर्मा गोठबाट हिँडेर आधा घन्टा टाढाको एउटा नेपालीभाषी स्कुलमा थिए जहाँ उनको ठूलो छोरा पढ्छन् । ‘बच्चाका किताब, कपडा जले,’ उनले भने, ‘छोरालाई पढाउनु त परिहाल्यो, सरहरूले केही सहयोग गरिदिनुहुन्छ कि भनेर आएको ।’ असम राज्यसँगको विवादित सिमाना लाम्पीका गोर्खालाई वैशाख ३१ मा हटाउन जाने आदिवासी खासीमध्ये चारलाई असाम सीमा रक्षाबलले गोली हानी मारेपछि मेघालयका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीलाई आक्रमण गर्ने क्रममा खासीहरूले बास्तोलालाई मारेका हुन् ।

जयन्तिया हिल्स जिल्लाका कोइलाखानीका केही नेपाली मजदुरको पनि हत्या भएको त्यहाँका सक्रिय नेपालीहरूले बताएका छन्, जसलाई मेघालय सरकारले अस्वीकार गरेको छ । मारिएका भनिएकाको परिचय सार्वजनिक भएको छैन तर नेपालीहरूले केही शव लुकाइएको आरोप लगाएका छन् ।

‘हामीले अनुसन्धान गरिरहेका छौं,’ मेघालयका मुख्यमन्त्री मुकुल सामाले बुधबार सिलाङमा कान्तिपुरसँग भने, ‘यो हल्लाको पछि लाग्ने समय होइन । अनुसन्धान रिपोर्ट आएपछि सबै तथ्य थाहा हुन्छ ।’

नेपालबाट कोइलाखानीमा काम गर्न आउने कामदारको दर्ता र बिमा नहुने गरेकाले तिनीहरूको पहिचान पत्तै लागे पनि क्षतिपूर्ति दिलाउन कठिन हुने नेपाली संगठनका कार्यकर्ताहरूले बताए । बास्तोलाका परिवारलाई मेघालय सरकारले लाम्पीमा मर्ने खासीहरूलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिइने मुख्यमन्त्री साङमाले बताए ।

घटना भएको दुई सातामा पनि सिलाङबाट गोर्खा समुदायका कुनै व्यक्ति आफ्नो अवस्था बुझ्न नआइदिँदा दुःख लागेको शर्माले बताए । सिलाङका कतिपय सक्रिय गोर्खाले त्यता जाँदा खासीहरूको तारो बनिने हुँदा डर लागेको उल्लेख गरे । नेपाली नागरिकता नभएको, बुवासहित आफ्नो जन्म पनि मेघालयमै भएको तर राज्यमा आफ्नो नाममा जग्गा नभएको शर्माले बताए । उनी अरू थुप्रै नेपालीभाषीले झैं खासीहरूको जग्गा भाडामा लिएर बस्ने गरेका छन् । भाडा भन्नुमात्र हो, वर्षमा त्यो दुई सयदेखि पाँच सयको हाराहारीमा हुन्छ तर खास काम त्यहाँ बसेर त्यो जग्गाको स्याहार सुसार गर्ने नै हो । त्यो रात बास्तोला गोठमा जल्दा उनकी पत्नी, अर्का छोरा र बुहारी त्यहाँबाट एक घन्टा उकालो हिँडेर पुगिने ठाउँमा बनेको सानो घरमा थिए ।

‘हामीलाई १९८६, ८७ को गन्डागोलमा पनि केही गरेनन्,’ शर्माले भने, ‘तर यसपालि अचानक, केही नभनी आएर त्यस्तो गरे ।’

उनकी पत्नी नजिकैको प्लाई कारखानामा ज्यामी गर्थिन्, उनी गाईको स्याहार गर्थे । अहिले शर्मा जलेको गोठमुनि उही मालिकको कुखुरा फार्ममा बसेका छन् । मालिकले उनलाई केही समय त्यहीं बस्न भनेको छ । गोठसँगै जोडेर उनी काठको एउटा सानो घर बनाउँदै थिए ‘तख्ता भएको,’ जसको ‘ढोकामात्र हाल्न बाँकी थियो,’ उनले बताए ।

‘इष्टमित्र र ठूला मान्छे आएको बेला मज्जाले बस्न मिल्ने ठाउँ पनि बनाएको थिएँ,’ शर्माले भने, ‘अब त्यो कुखुरा गोठमा मैले पाहुना कसरी राख्नु ?’

कोइलाखानीको जिन्दगानी

koila-khani-jindagani-page-1-1

ठुलो पार्न क्लिक गर्नुस्

 

दिनेश वाग्ले

 

लाड्रम्पाई (मेघालय)- श्यामप्रसाद पोखरेललाई बलको आवश्यकता दिनहुँ पर्छ । दुई सय फिट गहिरो इनारको फेदबाट धरापझैं लाग्ने गरी अड्याइएका काठका चिप्ला खुडकलामा टेक्दै थुन्सेभरी कोइला बोक्नु उनको दैनिकी हो । दुई साताअघि ज्यान खतरामा पर्दा उनलाई थप बल चाहिएको थियो । पूर्वोत्तर भारतको बंगलादेशी सीमानजिक कोइलाखानीमा काम गर्ने उनीजस्ता नेपालीलाई मेघालय राज्यका आदिवासी खासीले धमाधम कुट्न -र केहीलाई मार्न) थालेका थिए । क्वारी या झुल भनिने इनारबाट तीन किलोमिटर टाढाको व्यावसायिक केन्द्र लाड्रम्पाई खासीहरूले बन्द गराउूदा त्यहाूका केही नेपाली ‘बाहिर ताल्चा लगाएर कोठाभित्रै’ लुकेका थिए । थुप्रै क्वारीका कैयौं नेपाली रातारात भागेर असम पुगे भने नभागेका पोखरेल खान्की किन्न बजार जान सकेनन् । ‘त्यो दिन मैले कुलदेउता सम्झें,’ सिन्धुलीे खोलागाउँ ८, रातमाटेका ६० वर्षे पोखरेलले कान्तिपुरसँग भने, ‘स्वास्नी, छोराछोरी सम्झेँ । देउतासँग बल मागेँ ।’

कोइलाखानीका नेपाली र मेघालयमा बस्ने गोर्खाहरू यी दिनमा आफूहरूलाई यसपालि देउतैले सहयोग गरेको ठान्छन् । ‘धन्न एटिसिक्स दोहोरिएन,’ असममा जन्मेका, झापाको सानो केर्खास्थित घरमा आफ्ना स्कुले बच्चा राखेका र लाड्रम्पाईमा खुद्रा पसल गर्ने दिवाकर पौडेलले भने । सन् १९८६/८७ मा पूर्वोत्तर भारतमा ‘विदेशी भगाऊ’ आन्दोलन हुँदा यहाँका हजारौं नेपाली मजदुर खेदिइएका र अन्य भागका गोर्खा विस्थापित भएका थिए । ‘त्यतिबेला पुलिस आफैंले नेपाली छान्दै ट्रकमा खाँद्दै पठाएका थिए,’ पौडेलले भने, ‘हामी पनि ट्रकमै गुवाहटी पुग्यौं । सातापछि फर्कियौं ।’

यसपालि असमसूगको सिमानामा रहेको विवादित गाउँ लाम्पीमा बस्ने गोर्खाहरूलाई आक्रमण गर्न गएका खासीमध्ये चारजनालाई असम सीमारक्षा बलले गोली हानी हत्या गरेपछि त्यसको रिस खासीले मेघालयका विभिन्न भागमा छरिएका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीमाथि पोख्न थाले । वैशाख ३१ गते लाम्पी काण्ड भयो र त्यसको विरोधमा जेठ ३ मा खासी विद्यार्थी संगठनहरूले मेघालय बन्द गरे । यहाँ पार्टीहरूभन्दा पनि शक्तिशाली मानिने र गैरसरकारी संस्था (एनजीओ) भनी चिनिने खासी विद्यार्थी युनियन (केएसयू) लगायत केही आन्दोलित विद्यार्थी संगठनले कुनैकुनै ठाउँका गोर्खा र नेपालीलाई मेघालय छाडन चेतावनी पनि दिए ।

आन्तरिक राजनीति

अघिल्लो महिना मेघालयको सत्ता समीकरणमा फेरबदल हुँदा सरकार परिवर्तन भयो । खासी समुदायका डीडी लापाङ मुख्यमन्त्रीबाट हटाइए । उनको सट्टामा कंग्रेस पार्टीकै तर गारो समुदायका मुकुल सङ्मा आए । त्यसो हुनुमा छिमेकी असमका प्रभावशाली मन्त्री तथा कंग्रेसका नेता हिमन्त विश्व शर्माको हात रहेको मेघालयका पत्रिकाहरूले लेखेका छन् । हिमन्त तिनै व्यक्ति हुन् जो युरेनियम भएको लाम्पीलाई आफ्नो प्रभावअन्तर्गत असममै राख्न चाहन्छन् । उनैले लाम्पीलाई असमको राजधानी गुवाहटीसम्म जोड्ने बाटो खन्न बजेट छुट्टयाई त्यसको उद्घाटन गरे । उनले लाम्पीमै गएर गोर्खालाई जति चाहियो त्यति सहयोगको प्रस्ताव गरेका छन्, भन्नेबित्तिकै हेल्थ पोस्ट खोलिदिएका छन् । लाम्पीमा नेपालीलाई उक्साउने हिमन्तले आफूलाई नेतृत्वच्यूत गराएको रिस मेघालयका लापाङलाई हुनु स्वाभाविकै भयो । लापाङको सहभागिताको प्रमाण कसैले देखाएको छैन तर वैशाख ३१ गते नियोजित ढंगमा हजारभन्दा बढी अन्य गाउँका खासी नेपाली कुट्न लाम्पी पुग्नुलाई कतिपयले सुनियोजित ठानेका छन् ।  ‘आफू सरकारबाट हटेपछि राज्यको सुरक्षा व्यवस्था बिगि्रएको देखाउन त्यो काण्ड रचिएको थियो,’ सिलाङको सार्वजनिक जीवनमा सक्रिय एक गोर्खा नेताले कान्तिपुरसँग भने, ‘भयो पनि त्यस्तै । नयाँ मुख्यमन्त्रीमाथि शान्ति सुरक्षा कायम गराउन र असमबाट आफ्नो गाउँ फिर्ता लिन नसकेको आरोप लाग्यो ।’

आन्तरिक राजनीतिक खेलमा नेपाली समुदायलाई उपयोग गरिएको चाल पाएपछि सङ्मा सरकारले नेपालीलाई दुःख दिनेविरुद्ध तत्कालै कारबाही थाल्यो, जुन १९८६/८७ मा हुन सकेको थिएन । नेपालका मिडियाले व्यापक रूपमा घटनाबारे प्रकाशन/प्रसारण गरे जसले सोझै मेघालय सरकारलाई दबाब दियो । १९८६/८७ ताका नेपालमा अहिलेजस्तो मिडिया थिएनन् । अहिले सिलाङ, लाड्रम्पाईजस्ता बजारमा ‘कान्तिपुर’, ‘इमेज’ जस्ता टीभी च्यालनहरू आउँछन् । ‘सिलाङ टाइम्स’ जस्ता प्रभावशाली पत्रिकाले पनि यसपालि जातीय मामिलामा सकेसम्म निष्पक्ष समाचार लेख्दै सरकारलाई दबाब दिएको सिलाङका गोर्खा बताउँछन् । ‘पुलिस र गाउँका मुखिया (गाउँबुढा)ले हामीलाई बोलाएर, नडराउन र नफर्किन अनुरोध गरे,’ आठ वर्षदेखि लाड्रम्पाईमा नेपाली पत्रिकासमेत बेच्ने पसल चलाइरहेका टोपलाल भण्डारीले भने, ‘उनीहरूले चाहिएको सुरक्षा दिने वाचा गरे ।’ नभन्दै मेघालयले पहिलोपटक लाड्रम्पाईमा प्रहरीको एउटा टोली पठायो जो अहिले पनि यहीँ छ ।

photos-koilakhani-jindagani-1

मेघालय छाड्न सूचना दिने ‘गाउँबाहिरका खासीहरू’सँग कोइलाखानीका मालिक र लाड्रम्पाईमा नेपालीलाई घर भाडामा दिने साहु पनि सहमत भएनन् । खानी मालिक र घरभेटीले पनि नेपालीभाषीलाई नभाग्न, लुकेर बस्न र बजारमा ननिस्कन सुझाव दिए । ‘आन्दोलनकारीको भनाइ छ, नेपाली आएर काम खोसिदिए,’ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रम्पाई नगर समितिका अध्यक्षसमेत रहेका भण्डारीले भने, ‘तर हामीले भनेका छौं, त्यो गुनासो कोइलाखानीका मालिकसँग गर ।’

यहाँका कोइलाखानी लगभग नेपालीले नै चलाएका छन् । औपचारिक तथ्यांक छैन तर जयन्तिया हिल्सलगायत क्षेत्रका कोइलाखानीमा डेढदेखि दुई लाखसम्म नेपाली रहेको अनुमान छ । जुनै कोइलाखानीमा गए पनि नेपालीभाषामा गफ, गीत, गाली र गुनासा सुन्न सकिन्छ । उनीहरू इनारनजिकैका खाली जमिनमा कोइला मालिकको अनुमतिमा छाप्रा बनाएर बसेका छन् । कतिपय ३० वर्षदेखि नेपालै नगई बसिरहेछन् । कतिपयचाहिँ सिजनमा आउने, पैसा कमाउने र नेपाल फर्किने गर्छन् । नेपालीमध्ये ९० प्रतिशत इनारबाट कोइला बोक्ने, सुरुङमा पसेर कोइला खन्ने (काट्ने) काम गर्छन् । केही टाठाबाठा नेपालीचाहिँ सरदार (ठेकेदार) बनेका छन् । कोही साना बजारहरूमा पसल गर्छन् ।

koila-khani-jindagani-why-nepali-fled-1

किन फर्किए नेपाली ?

बितेका दुई सातामा मेघालय छाड्नेमा गोर्खा नभई मुख्यतः जयन्तिया हिल्स जिल्ला (जसको मुख्य बजार हो लाड्रम्पाई) का कोइलाखानीका नेपाली थिए । त्यहाँ केही खासीले केही नेपालीलाई कुटे, केहीका हातखुट्टा भाँचे जसबारेको हल्ला खानीहरूमा डढेलोझैं फैलियो । हल्लामा बढाईचढाई पनि भयो, जसले मानिसहरूमा चाहिनेभन्दा बढी अन्योल र त्रास सिर्जना गरायो । ‘राति त्यसलाई कुटे, बिहान उसलाई मारे भन्छन्, अनि के के न गर्नु भयो,’ पोखरेलले भने, ‘कोही लुक्न क्वारीभित्र छिरे, कोही कुम्लो बोकेर भागे । त्यस्तोमा कसरी बस्नु ?’ उनले जेठ ५ को दिन भातै खाएनन् । सिन्धुलीबाट परिवारले क्वारीका मजदुरका लागि मेस चलाउने भान्सेको मोबाइलमा फोन गरेर पोखरेललाई तत्कालै घर फर्किन भने । ‘त्यो दिन त हिँडिहालुँ जस्तो लागेको थियो,’ उनले भने, ‘फेरि रातिहुँदो कहाँ जाने ? अहिले फेरि सञ्चो भएको छ । अब दसैंमा जान्छु ।’ यसपालि लाम्पी गोली काण्डसँग जोडिएकाले नेपालीहरू फर्किएको घटनाले व्यापक चर्चा पायो । तर यहाँ महिनैपिच्छे सानातिना घटना भइरहने र हप्तैपिच्छेजस्तो खानीमा पुरिएर, झगडा गरेर एक-दुई जना मान्छे मरिरहने लाड्रम्पाईमा लामो समयदेखि बसिरहेका बासिन्दाहरू बताउँछन् । ‘कहिलेकाहीं त एउटा कोइलाखानी मालिकले आफ्नो प्रतिस्पर्धीको कारोबार कम गराउन पनि त्यहाँका कामदारलाई दुःख दिन्छ, मेघालयबाट निकाल्दिन खोज्छ,’ लाड्रम्पाईबाट ८५ किलोमिटर परको सिलाङमा आधारित भारतीय गोर्खा परिसंघका अध्यक्ष बीबी छेत्रीले भने । यो विवादमा नेपालीभाषी छेत्रीले सबैभन्दा ठूलो स्वरमा नेपालीको पक्षमा आवाज उठाए जसलाई सिलाङकै कतिपय नेपाली र नेपालीभाषीले ‘ओ हो, यो त कडै भयो’ भनी टिप्पणी गरे । उनले सिलाङनजिकैको गोठमा जिउँदै जलाएर मारिएका लोकनाथ बाँस्तोलाको परिवारलाई पनि मेघालय सरकारले लाम्पीमा मारिने खासीका परिवारलाई जत्तिकै क्षतिपूर्ति दिनुपर्ने माग राज्यसमक्ष गरेका छन् ।

मेघालयका नेपालीभाषी जे भोगिरहेछन्

Kantipur lampi assam story

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

लाम्पी (असम)- पूर्वात्तर भारतका दुई राज्य असम र मेघालयको सीमास्थित यो विवादास्पद गाउँ अचेल युद्धमोर्चाजस्तो देखिन्छ जहाँ दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेस्र्याएर उभिएका छन् ।

गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपालीभाषी गोर्खाहरू आफ्नापट्टकिा सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने अर्कोपट्टकिालाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् । गोर्खाहरू असम प्रहरीप्रति कृतज्ञ छन् भने खासीहरू मेघालय प्रहरीप्रति । खासी बाहुल्य क्षेत्रमा प्रहरी उपस्थितिबाट पनि आश्वस्त हुन नसकेका गोर्खाहरू राति हातमा लाठी, कम्मरमा खुकुरी र काखीमुनि गुलेली बोकेर सामूहिक गस्ती गर्छन् ।

‘गोर्खा हौं हामी, डराउँदैनौं,’ लाम्पीनिवासी चक्रबहादुर छेत्रीले कान्तिपुरसँग झर्रो नेपालीमा भने, ‘जन्मेपछि मान्छे नमरेको हामीले देखेका छैनौं । मर्नु त छँदैछ त्यसैले अन्याय किन सहने ?’

‘युद्धमोर्चा’ जस्तो गाउँमा बसेका छेत्री खासमा एकजना लडाकु सरदारजस्तै छन्, जसले बितेका तीन दशकदेखि आफ्नो जातिको नेतृत्व गरिरहेका छन् । उनी लाम्पीका मुखिया हुन् जसलाई औपचारिक रूपमा ‘गाउँबुढा’ भनिन्छ र स्थानीयहरूले ‘गाम्बुरा’ भनी बोलाउँछन् । गाउँमा सरकारको सबैभन्दा तल्लो तहको तर अधिकारसम्पन्न प्रतिनिधि हो गाउँबुढा, जसले स्थानीय समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने, सत्ताबाट गाउँमा आएको अनुदान अनुगमन गर्ने र गाउँलेहरूको व्यवस्थापन गर्ने जिम्मा पाउँछ ।

‘हाम्रो स्वार्थ मिलेको छ,’ गाउँबुढाले लाम्पीका नेपालीलाई संकेत गर्दै भने, ‘मलाई खेतमा काम नगरी डुलिखान मनपर्ने, यिनीहरूलाई आफ्ना कुरा राज्यसम्म लगिदिने सक्रिय मान्छे चाहिने । म यिनीहरूको सहारा, यिनीहरू मेरा सहारा ।’

lampi assam kantipur storyसक्रियताका कारण छेत्री खासी समुदायमा राजनीतिक गर्नेहरूको तारो बनेका थिए । मे १४ मा लाम्पी बाहिरका करिब एक हजार खासी खासमा छेत्रीलाई नै सिध्याउन गाउँको बीचमा रहेका छाप्राहरूमा बस्ने सानो शुक्रबारे हाटमा पुगेका थिए । हाटमा रहेका केही नेपालीलाई कुट्दै नेपाली बस्तीतिर बढ्दा उनीहरू असम सीमा रक्षाबल -सशस्त्र) को क्याम्प पुगे । उनीहरूले क्याम्पतिर पनि गुलेली तन्काउँदै मट्याङ्ग्रा हान्न थाले । झोक्किएका पुलिसले गोलीले त्यसको जवाफ दिए, चार जना खासी चौरमै ढले । दुई शव उनीहरूले आफंैसँग लिएर गए, बाँकी दुईलाई सीमा प्रहरीनजिकै रहेको असमकै जनपद प्रहरीले नियन्त्रणमा लियो । Continue reading

गच्छदारको भारत यात्रा

gachhedar india trip kantipur 18mar

ठूलो पार्न क्लिक गरे हुन्छ

दिनेश वाग्ले

थुप्रैपटक मन्त्री बनेका, तीनवटा पार्टीको उच्चस्तरीय अनुभव सँगालेका र सत्ता समीकरणको पछिल्लो खेलमा सही गोटी चालेकाले देशको उपप्रधानमन्त्री बनेका विजयकुमार गच्छदारका निम्ति गत साताको भारत भ्रमण ‘पहिलो’ थियो । ‘पहिलो कुन अर्थमा भने यसअघि उहाँ कहिल्यै पनि राजनीतिक मिसन लिएर दिल्ली आउनुभएको थिएन’, उनीसँगै आएका एक सहयोगीले गतसाता भने । ‘यसअघि कि त त्यो मन्त्रालयको काममा औपचारिक भ्रमण हुन्थ्यो या निजी ।’ यसपालीको भ्रमण पनि लगभग निजी नै थियो, तर भारतीय विदेश मन्त्रालयको निम्तामा । दिल्ली बसाइँको र यहाँका मन्त्री तथा सरकारी पदाधिकारीहरूसँगको भेटको प्रबन्धन उसैले गरेको थियो । भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार, विदेशमन्त्री, अर्थमन्त्री तथा मन्त्रिपरिषदमा नरहेका सत्तारुढ र विपक्षी थुप्रै नेताहरूलाई पनि गच्छदारले भेटे । कतिलाई उनले ती नेताका घरैमा गएर भेटे, मुलायम सिंह यादव लगायतका केही उनी बसेको होटल ताजमा आए । गैरसरकारी भेटहरू निम्त्याउनेले मिलाएको थिएन (गच्छदारसँगै आएका अर्का सहयोगीले फोन गरेर समय लिइदिएका थिए), तर भारतीय निम्तो र गच्छदारको भ्रमणको प्रयोजन खासमा त्यही थियो- दिल्लीमा जतिसक्दो धेरै प्रमुख नेताहरूलाई भेट्ने र आफ्ना कुरा राख्ने । Continue reading

राष्ट्रपतीय भ्रमणका अनौपचारिक कुरा

Presidential trip. Informal observation. kantipur page 7

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

नेपालका राष्ट्रपति रामबरण यादवले गए साता भारतको (पहिलो विदेश) राजकीय भ्रमण गरे । भारतमा रहदाँ उनले थुप्रै नेताहरुलाई भेटे । तर दिल्लीमा सबै कुरा नेपालले चाहेजस्तो भएन । भ्रमणमा आउने नेपाली सरकारी टोली प्रायः अलमलमा परेको महसुस गर्न सकिन्छ किनभने सदस्यहरू प्रायः नयाँ या अनुभवहीन हुन्छन् । भ्रमण सकिनु एक दिनअघिसम्म पनि नेपाली टोलीका उच्च सदस्यलाई भ्रमणका उपलब्धिबारे थाहा नभएजस्तो लाग्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा के कुरा भयो होला ? मैले राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मालाई सोधे । सुरुमा त तिनले मलाई यसरी पन्छाउन खोजे मानौं मैले ‘तपाईले कति कर छल्नुभएको छ ?’ भनी सोधेको हुँ । एकैछिनमा तिनले अर्को जवाफ दिए, जसले मलाई थप अचम्मित पार्‍यो- ‘भारतीय अखबारहरूमा हेर्नुस् न । सबै तिनमै आएको छ नि !’

दिनेश वाग्ले
द वाग्ले नोट्स

राष्ट्रपति रामवरण यादव गत साता नयाँदिल्लीमा रहँदाको एउटा क्षणले नेपाल-भारत सम्बन्धको वास्तविकता झल्काउँथ्यो । दोस्रो तथा सबैभन्दा महत्त्वपूर्ण दिन ताज प्यालेस होटलमा राष्ट्रपति सत्तारूढ गठबन्धन तथा कंग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई पर्खिरहेका थिए । सोनियाको सुरक्षा गर्ने भारतीय विशेष सुरक्षा दस्ताका प्रहरीहरूले होटल गेटदेखि बैठक हलसम्म खानतलासी गरिरहेका थिए । दस्ताले सोनिया आउनै लागेको जानकारी दिएपछि राष्ट्रपति यादव र उनको परिवार हलमा आए । त्यहाँ उनीहरूले लगभग ११ मिनेट सोनियालाई पर्खिए । एक राजनीतिक दलकी नेता राष्ट्रप्रमुखलाई भेट्न उनी बसेकै ठाउँमा जानु चल्तीको कूटनीतिक नियम (प्रोटोकल) हो ।

‘तर, राष्ट्रप्रमुखलाई त्यति धेरै पर्खाउनु कूटनीतिक शिष्टाचार होइन,’ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले भने, ‘अब यहाँ सोनियाले भेट्नु नै ठूलो ठानिएको बेला त्यसको के कुरा गर्नु ।’ भारतमा सबैभन्दा सुरक्षा खतरा भएको ठानिने सोनिया घरबाट निस्कँदा सडक खाली नगराई तर ट्राफिक बत्तीहरू केही क्षण बेकामे (पिलिक पिलिक) तुल्याउँदै भारतीय उपराष्ट्रपतिलाई झैं ‘क्लियर प्यासेज’ मार्फत हुइँक्याइन्छ । प्रधानमन्त्री र राष्ट्रपति निस्कँदाचाहिँ रुटलाई भीआईपी दर्जा दिँदै खाली तुल्याइन्छ । सोनियाको जनपथस्थित घरबाट ताज आउन लगभग १२ मिनेट लाग्छ । त्यसरी हेर्दा सुरक्षा दस्ताले सोनिया घरमै छँदा राष्ट्रपति यादवलाई उनको सुइटबाट ओरालेर बैठक हलमा ल्याएको बुझ्न सकिन्छ ।

सोनिया आएपछि राष्ट्रपतिले उनीसमक्ष आफ्ना छोरा, छोरी र अर्की नातेदारलाई चिनाए र ‘यिनीहरू फोटो खिच्न चाहन्छन्’ भन्दै उनीहरूलाई सोनिया र आफ्नो कुर्सीपछाडि आउन संकेत गरे । त्यसैबीच राष्ट्रपतिका छोरा चन्द्रमोहनले सोनियालाई अंग्रेजीमा भन्न भ्याए, ‘तपाईंले (भारतमा) जे गरिरहनुभएको छ त्यसको हामी निकै सराहना गर्छौं ।’ तस्बिर खिचेपछि राष्ट्रपतिको परिवार बाहिरियो र मन्त्री शरदसिंह भण्डारीसहितका सरकारी प्रतिनिधिहरू नेपाली झन्डातिरको सोफामा बसे । राष्ट्रपतिका एक्ला नेपाली ‘सेरेमोनियल’ सुरक्षाकर्मी गेटनजिकै उभिएका थिए, जसले पनि नेपालको वास्तविक सुरक्षा अवस्थाको संकेत दिएको भान भयो ।

‘अमेरिकी राष्ट्रपतिहरू आउँदा भारतीय पक्षको हालत त्यस्तै भा’को थियो,’ माथिको वर्णन मबाट सुनेपछि बिल क्लिन्टन र जर्ज डब्लु बुसको भारत भ्रमण सम्झिदै एकजना भारतीय पत्रकारले भने, ‘कूटनीतिक अवसरहरू पनि शक्ति प्रदर्शन गर्ने मौका बन्छन् ।’ दस वर्षअघि क्लिन्टन र चार वर्षअघि बुस आउँदा कार्यक्रम र परिस्थितिको पूर्ण निणन्त्रण अमेरिकी सुरक्षाकर्मीहरूले लिएका थिए जसप्रति भारतीय पक्षले गुनासो गर्नुपरेको रिपोर्ट पत्रिकामा आएका थिए । Continue reading

विहार अब त्यस्तो छैन

bihar_testo_chaina_31jan_kantipur

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

गए साता काठमान्डूमा भारतीय राजदूतले त्यही गरे जो उनले गर्नुपर्ने हो- आथितेय मुलुकको आन्तरिक मामिलामा अनावश्यक चासो दिनुको साटो आफ्नो देशको प्रवद्र्धन गर्ने । ‘केही मानिस नेपालको विहारीकरण हुने कुरा गर्छन्,’ २६ जनवरीका दिन भारतीय गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा राकेश सुदले भनेछन्– ‘तर बिहारलाई हेर्नुहोस, आर्थिक बृद्धि ११ प्रतिशत नाघेको छ ।’ भारतसँगको बढ्दो व्यापार घाटामा नेपाललाई दोष लगाउदै राजदूतले उत्पादनै नगरे बजार काम नलाग्ने तर्क गरे ।

उनको विश्लेषण सही हुन सक्छ । तर ‘विहारी-शैलीको गणतन्त्र चाहिदैन’ भन्दै कराउने पुष्पकमल दाहाल र उनको माओवादी ग्याङ्ले त्यसलाई कसरी लिए होलान् ?

माओवादी मात्र के कुरा ? दक्षिण एसियामा धेरैले बिहार भन्नासाथ कानून नभएको, गरिव र अविकशित बुझ्छन् । नेपालको कुरै छाडौं जहाँ ‘विहारी’ले घृणा जनाउछ, भारतमै पनि विहार (री) शब्दले बेइज्जती र खसाउने अर्थ दिएको मैले देखेको छु । वितेको बर्षमा मैले भारतमा थुप्रै बिहारीहरु भेट्टाए जसमध्ये केही अपवाद बाहेकले आफूलाई विहारी भनि चिनाउन हिच्किचाए । उनीहरु खराव या कम क्षमतावान थिएनन् । केही त प्रखर, मित्रवत र सूसूचित थिए । समश्या खासमा विहाराको छविसँग थियो जो त्यहा सन् २००४ सम्म शासन गर्ने राजनीतिज्ञहरुले बनाएका थिए । त्यसयता विहारमा नितिष कुमार मुख्य मन्त्री भएका छन् र खियालागेको त्यो छवि विस्तारै सुधारिदै छ ।

सुदले गौरवसाथ उल्लेख गरेको ११ प्रतिशतको बृद्धीलाई भारतमै राम्रोसँग सूसूचित आर्थिक स्तम्भकारहरुले शंकाले हेरेका छन् तर एउटा कुरा पक्का हो विहारले प्रगती गरिरहेको छ । ‘मैले महसुस गरेको सबैभन्दा ठूलो परिवर्तन सुरक्षामा आएको सुधार हो,’ कतिपयले भनेको मैले सुनेको छु । इकोनोमिक टाइम्समा हालै प्रकाशित एउटा टिप्पणीले विहारमा अपहरणका संख्या घटेको उल्लेख गर्दै अपहरणकारी र जवरजस्ती पैसा असुल्नेहरुको डर अचेल हराएको उल्लेख गरेको छ । वितेका चार बर्षमा जम्मा ३ सय १७ अपहरणका घट्ना दर्ता भए जवकी त्यो भन्दा अघिका चार बर्षमा एक हजार तीन सय ९३ वटा भएका थिए ।

द्रुत न्यायिक प्रकृयाले २००६ देखि सेप्टेम्बर २००९ सम्ममा ३८ हजार ८ सय २४ ले सजाय पाएका छन् जसमा मोहम्मद शहाबुद्धिन लगायतका राजनीतिक सम्पर्क भएका डन र उनीहरुका सहयोगी पनि छन् । राष्ट्रिय जनता दलका पूर्व सासद सहाबुद्धिनले कुनै जमानामा आफूलाई पक्रन राज्यका प्रहरी प्रमुखलाई टिभीबाटै चुनौती दिएका थिए । अचेल विहारी सडकहरुमा बन्दुकधारी डनले हैन प्रहरीले पेट्रोल गर्छन् । के त्यो अग्रगमनको महान फड्को होइन, विशेष गरी हाम्रो दृष्टिकोणबाट ? दाहाल र उनका डनहरुले अर्कोपटक ‘विहारी-शैलीको गणतन्त्र’ बारे टिप्पणी गर्दा विहारको पछिल्लो अवस्थाबारे सूचना लिन नविर्सिउन् भन्ने मेरो चाहना हो । सरकारको नेतृत्व गर्दा सेनापतिलाई हटाउन खोज्नु बाहेक माओवादीले कुनै राजमार्गको उद्घाटन सम्म गरे ? नेपालमा माओवादी खुला राजनीतिमा आएका गत चार बर्षमा विहारमा ६ हजार ८ सय किलोमिटर सडक र १६ सय पुल/कल्भर्ट बने ।

माओवादीले नेपालमा गुन्डागर्दी राजनीतिलाई निरन्तरता दिने हो भने एकदिन मानिसहरुले ‘नेपाली-शैलीको क्रान्ति चाहिदैन’ भन्न थाल्नेछन् । त्यो दिन नेपालीहरुले आफैस“ग लजाउनु पर्ने छ । भारतमा बस्ने गरिव नेपालीहरुका लागि माओवादीहरुले अहिल्यै समश्या सिर्जना गराइदिएका छन् । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतीयहरुलाई भन्नु ठिक हो तर कुनै पनि मुलुकको झन्डाको सार्वजनिकरुपमा अपमान गर्नु अन्र्तराष्ट्रिय सम्बन्धमा सुहाउदो कुरा होइन । त्यो शुद्ध मुर्खता हो । माओवादीहरुलाई देशको राष्ट्रिय झन्डाको महत्व थाहा नहुन सक्छ तर विश्वभरीका होसभएका मानिसहरुका लागि त्यो राष्ट्रिय संकेतले गम्भीर महत्व राख्छ । माओवादीहरुले भारतीय झन्डाको, त्यो पनि भारतीय गणतन्त्र दिवसका दिन, बेइज्जत गरिदिदा थुप्रै भारतीयहरु रिसाएका छन् । माओवादीको त्यो कामको बदला लिनेजस्तो घट्नामा सीमामा कतिपय नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले दुःखदिएका रिपोर्टहरु आउन थालिसकेका छन् ।

बिहारको पुनर्जागरणमा भारतीय केन्द्रिय सरकारले उपलब्ध गराएको पैसाले महत्वपूर्ण भूमिका खेलेको छ तर यसको सफलताको कथाले के भन्छ भने नेपाली राजनीतिक नेतृत्वले साना भन्दा साना कुरामा सडक तताउन छाडेर विकाशनिर्माणमा ध्यान केन्द्रित गर्ने हो भने नेपाललाई पनि प्रगति गर्ने केही बर्ष मात्र लाग्ने छ, केही दशक होइन । पैसाको त समश्यै हैन । हाम्रो समश्या त के भने हाम्रँ राजनीतिक नेताहरु इगोपूर्ण सडक संघर्षमा सधै व्यस्त भइरहन्छन् जवकी आर्थिक विकाशको मुद्धा पछाडी ठेलिन्छ । उनीहरुका लागि एउटा सिपाईलाई जागिरबाट निकाल्नु सडक बनाउनु भन्दा ठूलो कुरा हुन्छ । अनि सुदहरुले दाह्री मुसार्दै खुच्चिङ् नगरे कसले गर्छन् ?

भारतीय सोच
अघिल्लो साता जयपुर साहित्य महोत्सवमा भागलिन राजस्थानी राजधानी पुगेको थिए । रमाइलो थियो । कितावहरु कमै देखिए किनकी त्यो पुस्तक महोत्सव थिएन । लेखकहरुले कितावकैमात्र कुरा गरेनन्, कितावले सम्बोधन गर्ने मुद्धाहरुको छलफल गरे । कतिपय सत्र सिधै सहित्यसँग सम्बन्धित थिएनन तर छलफलकर्ताहरु लेखक भएपछि ‘अप्ठेरो छिमेकमा’ जस्ता सत्र पनि साहित्यक बने ।

हिन्दू दैनिकका भारतीय पत्रकार सिद्धार्थ बरदराजनले मध्यस्थता गरेको उल्लेखित सत्रमा सहभागीहरुले दक्षिण एसियाली समश्याबारे विश्लेषण गरे । नेपालको प्रतिनिधित्व थिएन तर छफलमा उम्दा निस्केकी पाकिस्तानी मानव अधिकार कार्यकर्ता आश्मा जाहागिरले नेपालको प्रशंग उल्लेख गरिन् । अर्का सहभागी श्याम शरणले अप्ठेरोमान्दै हास्नुपर्ने गरी जहाँगिरले भनिन्- ‘२००६ को जनआन्दोलन-२ मा तानाशाही राजालाई समर्थन गरिरहेको भारतले तवमात्र ठाउँ बदल्यो जव (उसले सडकमा स्थिती अर्को भएको देख्यो ।)’ नेपालमा शाही शासन हुदाताका भारतका विदेश सचिव र त्यसअघि नेपालका लागि राजदूत शरणले भारतका सबै निर्णयहरु सही नहुने स्पष्टोक्ति दिए ।

भारतीयहरुको समश्या के भने उनीहरु यो क्षेत्रका सबै समश्याका लागि छिमेकीलाई दोष दिन्छन् र त्यसमा आफ्नो योगदान तथा आफ्नै देशभित्र मणीपुर र आसामदेखि काश्मिर र तेलङ्गनासम्मका समश्या भुसुक्कै विर्सिन्छन् । थुप्रै अरु भारतीय झैं त्यो सत्रमा शरण र सिद्धार्थ यसरी प्रस्तुत भए मानौ भारतभन्दा शान्त मुलुक संसारमै कही छैन र पाकिस्तन, नेपाल, श्रीलंका र बंगालदेशमै मात्र कल्पनै गर्न नसकिने समश्या छन् । भारतबाहेकका सहभागीको कुरा सुन्दा लाग्यो, भारतप्रति उसका छिमेकीहरुको गुनासो प्राय उस्तै छ ।

यो लेख पहिलो पल्ट आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

यो लेखको पहिलो अ‌ङ्श अङ्ग्रेजीमा: Nepali Maoists and Bihari Republic

अर्को लिङ्क: Jaipur Literature Festival 2010