Category Archives: प्रबिधी

स्टिभ जब्स

steve jobs by walter isaacson on ipad

वाल्टर आइज्याक्सनको किताव स्टिभ जब्सको आवरण आइप्याडमा

dinesh wagle steve jobs pose

दिनेश वाग्ले

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)

समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । तर त्यो रात विताउनुपर्ने बस्तिमा ओर्लदैगर्दा त्यो पनि हराएको थियो ।

मध्य पश्चिम नेपालका डाडाहरुमा पैदल हिड्दा इन्टरनेटबाट अलग्गिएको चार दिन भएको थियो । पाचौ दिनमा रुकुमकोटबाट जीप चढेर सदरमुकाम पुग्नासाथ मैले झोलाबाट आइप्याड निकालेर ट्विट्टर एप खोलेको थिए । फुलब्राइट छात्रबृत्तीमा नेपालमा आएका एकजना अमेरिकी काइल नाइटको एउटा ट्विटले मेरो ध्यान तत्कालै आकर्षित गर्‍यो र, त्यो पढ्दै गर्दा, मनमा चिसो पस्यो । Continue reading

गुगल @ १३

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

विश्वका सबैभन्दा गरिबमध्येकै सही तर इन्टरनेटले हालैका वर्षहरूमा नेपालका हामी जनताको जीवनमा पारेको गहिरो (र, मुख्यतः सकारात्मक) असरको बखान गर्नु यो लेखको उद्देश्य होइन । इन्टरनेटमा विश्वविद्यालय खोजेर अमेरिका जाने तन्नेरीदेखि कतारमा काम गर्ने आफ्नो छोरासँग झापाको कुनै साइबर क्याफेबाट स्काइपमा कुरा गर्ने हजुरआमासम्मले इन्टरनेटबाट फाइदा लिएका छन् । केही वर्षयता धेरै नेपाली प्रयोगकर्ताका लागि इन्टरनेट भनेकै सामाजिक सञ्जाल साइट फेसबुक भएको छ । तर त्यसले विश्वका (र, नेपालका) इन्टरनेट प्रयोगकर्तामाझ गुगलको महत्त्व घटाएको छैन । यो अझै पनि विश्वका करोडौं र नेपालका लाखौं ब्राउजरका लागि इन्टरनेटमा छिर्ने ढोका भएकै छ । त्यसैले थुप्रै आकलनहरूअनुसार गुगल सबैभन्दा धेरै मान्छेले प्रयोग गर्ने साइटहरूको विश्वसूचीमा नम्बर एक र नेपालमा केही सूचीमा पहिलो (र, अन्यमा लगातार दोस्रो र तेस्रो) स्थानमा छ ।

अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा विद्यावारिधिका दुई विद्यार्थीहरू ल्यारी पेज र सेर्गेई ब्रिनले १९९७ मा एउटा अनुसन्धान आयोजनाका रूपमा थालेको र गुगल डट कम दर्ता गरेर सेप्टेम्बर १९९८ बाट सेवा थालेको खोजी इन्जिन गए साता १३ औं वर्ष (अर्थात् किशोरावस्था, अङ्ग्रेजीमा टीनएज) मा छिर्‍यो । सेवा सुरु भएको केही वर्षमै कम्पनीले आफ्ना दुई संस्थापक र अन्य सेयर मालिकहरूलाई अर्बपति बनाउनुबाहेक इन्टरनेटसँगको मानिसहरूको सम्बन्धलाई व्यापक रूपमा बदलिदियो । त्यसैले गुगल नामबाट क्रिया बनेको छ, अचेल धेरैले ‘इन्टरनेटमा खोज न’ भन्नुको साटो ‘गुगल न’ या ‘गुगल गर न’ भन्न थालेका छन् । Continue reading

मेरो इन्टरनेटसँगको भेट

my internet experience, by Dinesh Wagle
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं । Continue reading

फुटबल फेसबुकको भित्तोमा

facebook football_hello_friday

हेल्लो शुक्रबार: ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले तीन गोल ठोकेपछि खेल पूरै एकपक्षीय बनेकाले अरुचि जाग्दै थियो । रोमान्च थप्न अफ्रिकी टोलीले गोल फर्काउनैपर्छ भन्ने चाहना थियो । ड्रोग्बाले पनि एक हानिहाले । अनि ब्राजिलको परम्परागत समर्थक मैले टाइप गरेँ ट्विट्टरमा-GOOOOOOAAAAAAALLLLLLLL!!!!’ (इन्टरनेटमा ठूला रोमन अक्षरले चिच्याएको बुझाउँछ ।) त्यो ‘चिच्याहट’ तत्कालै ट्विट्टर र त्यसमार्फत फेसबुकका भँगालाहरूमा बग्दै सिद्धान्ततः लाखौं मानिसहरूका कम्प्युटर स्क्रृनमा देखापर्‍यो ।

फुटबल इतिहासमा हरेक विश्वकप कोशेढुङ्गा हुन्छ । करोडौं दर्शक उच्चाल्ने प्रदर्शन गर्ने खेलाडीहरूले एकअर्कालाई छक्याउँदै गोल गरेको या पेनाल्टी नछिराएको दृश्यबारे मानिसहरूले वर्षौं कुरा गर्छन् । यसपालीको विश्वकपचाहिँ ती सबै कुराबाहेक भुभुजेलाबाट चिनिने हो कि फेसबुक/ट्विट्टरबाट, म निश्चित भइसकेको छैन । भुभुजेला बजाउने दर्शकले पूरै रंगशालालाई एउटा ठूलो घार बनाइदिएका छन्, मानौं ती रिसाएका मौरी हुन् । उनीहरूको त्यो भुनभुनाहटले संसारभरिका थुप्रै दर्शकलाई दिक्क पारेको छ भने कतिपयले ‘त्यो अफ्रिकी फुटबल उत्साहको परम्परा’ भन्दै समर्थन गरेका छन् । रंगशालामा भुभुजेला प्रतिबन्ध गर्न फिफालाई अनुरोध गर्दै प्रतियोगिताको तेस्रो दिन मैले ट्विटेपछि बेलायतको योर्कमा बसेर वातावरण तथा राजनीतिमा पीएचडी भर्खरै सिध्याएका ललितपुरका महेश पौड्याल (twitter.com/mpoudyal)ले ट्विटे- ‘ओहो, मलाई भुभुजेला खुब मनपर्छ । खेल हेर्दा पृष्ठभूमिमा त्यो रमाइलो भुनभुनाहट ।’

football the facebook wall Kantipur

कान्तिपुर विचार पृष्ठ: ठुलो पार्न क्लिके हुन्छ

धन्यवाद ट्विट्टर र फेसबुकजस्ता सामाजिक सञ्जाल साइट (साससा) हरूलाई जसले संसारलाई खुम्च्याएर यति सानो पारिदिएका छन्, मानौं योर्क, दिल्ली र काठमाडौंका वासिन्दा एउटै कोठामा गफिँदै विश्वकप हेरिरहेका छन् । तिनले एकै समयमा एउटै बल (एडिडास कम्पनीले बनाएको ‘जाबुलानी’), एउटै खेलाडी (मानौं मेस्सी) र एउटै आवाज (भुभुजेला) देखिरहेका/सुनिरहेका हुन्छन् । तिनका प्रतिक्रियाहरू एउटै ठाउँ (ट्विट्टर र फेसबुकका भँगालो) मा आइरहेका हुन्छन् ।

‘नेपालेइडियट’ (twitter.com/nepaleeidiot) उपनामका नेपाली युवक भारतको कुनै सहरमा काम गर्छन्, विश्वकपका हरेकजसो म्याच हेर्छन् र तत्क्षण लागेको कुरा ट्विट्छन् । ‘नेपालबाट टाढा आफ्नो कोठामा एक्लै (फुटबल हेर्दा लागेका कुरा साझेदारी गर्न पाएकोमा) ट्विट्टरलाई धन्यवाद’, उनले एकदिन ट्विटे ।

वेब २.० भनिने अन्तरक्रियात्मक इन्टरनेटको जमानामा भएको यो पहिलो विश्वकप हो । १९९० को दशकको अन्त्यतिर चित्रसहितको इन्टरनेट ब्राउजिङ आए पनि २००० सम्म काठमाडौंमा त्यो केही अफिस या साइबर क्याफेमै सीमित भयो । २००२ को विश्वकपबारे नेपालीहरूले इमेलमा आफ्ना भावना साटे । २००६ मा फेसबुक अमेरिकामै सीमित थियो- कलेजमा । ट्विट्टर सुरु भएकै थिएन । धेरैजसो नेपाली तन्नेरी माइस्पेस र हाइफाइभमा हुन्थ्ये, तर अहिलेजस्तो विश्वव्यापी चाप साससाहरूमा थिएन ।

अहिले सबैजसो साससाले फुटबल केन्दि्रत पृष्ठ बनाएका छन्, प्रशंसकहरूलाई आफूमा बाँधिराख्न । ट्विट्टरको चित्ताकर्षक विश्वकप पेजमा खेल हुँदै गर्दा दर्शकले तत्क्षण गरेका ट्विटहरू त्यहाँ सलल बग्छन् । ट्विटहरूको त्यो बहावमा खेलप्रति संसारको प्रतिक्रिया झल्किन्छ । Continue reading

Facebook आन्दोलन

(यो लेखमा उल्लेखित तथा अन्य रुचिपूर्ण नेपाली फेसबुक समूहरुको सूची र ठेगाना यहाँ छ- http://wp.me/pjyem-Dw)

facebook movement kantipur Hello Friday 05Mar10

ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

‘सक्छौ भने नयाँ सम्बिधान बनाऊ, हैन भने नाटक नदेखाऊ।’

विशेषतः सभासदहरुप्रति र सामान्यतः राजनीतिक नेतृत्वप्रति लक्षित त्यो बोलीसँग जुनै नेपालीले पनि ‘त्यै त’ भन्दै सहमतिमा टाउको हल्लाउछ। सामाजिक सञ्जाल साईट (साससा) फेसबुकमा त्यसलाई ५ सय १६ जनाले समर्थन गरेका छन्। उनीहरुले संविधान लेख्न साटो स्वार्थी बनेको राजनीतिक नेतृत्वप्रति आक्रोष पोखेका छन्।

वितेका केही बर्षहरुमा इन्टरनेटका नेपाली प्रयोगकर्ताहरुको संख्या ह्वात्तै बढेको छ जो इमेल या सस्तोमा विदेश फोन गर्नमा मात्र सीमित छैन। वेब २.० भनिने ब्लग, फेसुबक र ट्वीट्टर जस्ता सघन अर्न्तक्रियात्मक साईटहरुमा बढ्दो नेपाली सहभागीतासँगै त्यहाँ नेपालीहरुका अनेकौ भावना र चाहना अभिव्यक्त हुन थालेका छन्। साच्चै, त्यस्तो अभिव्यक्तीका लागि सार्वजनिक मन्च नेपालीहरुलाई इतिहासमै कहिल्यै मिलेको थिएन। इन्टरनेटले विश्वलाई खुम्च्याउनुका साथै पहाडको फेदीमा बस्ने नेपालीलाई समतलको किनारमा बस्ने नेपालीसँग जोडाएको छ। इन्टरनेट नहुँदो हो त तिनले जिन्दगीमै कहिल्यै भेट्ने थिएनन्। आज ती फेसबकुमा एउटै अभियानमा सामेल छन् या फरक लक्ष्यका लागि विवाद गरिरहेका छन्। Continue reading

आयो गुगल बज्

google buzz hello friday kantipur 26 feb

ठुलो पार्न क्लिक गरे हुन्छ ।

दिनेश वाग्ले

माइस्पेस, फेसबुक या ट्वीट्टर जस्ता सामाजिक सञ्जालका सदश्य बन्न सबैभन्दा पहिला तिनमा आफ्नो इमेल ठेगाना दर्ता गराउनुपर्छ जो ती वेबसाईट प्रयोग गर्ने सबैलाई थाहा भएकै कुरा हो। ‘गुगल बज्’ले चाहि सामाजिक सञ्जाललाई नै इन्बक्स भित्र ल्याईदियो। कम्तिमा जीमेल प्रयोगकर्ताहरुका लागि। फेब्रुअरी नौ यता जीमेल प्रयोग गर्नेहरुले पहिलो साइन(इनमा गुगल बजबारे सूचना देखे जसलाई स्विकार्नेवित्तिकै फेसबुक र ट्वीट्टरमा मिलिरहेका र थप सुविधा सहितको सामाजिक सञ्जाल साईट तिनीहरुको इन्बक्समै आयो।

एउटा उपयोगी व्यक्तिले अचानक घरैभित्रै आएर हेल्लो भन्दा तपाई जति चकित, उत्तेजित र केही रिसाएको जस्तो बनेजस्तै भए गुगल बज्को आगमनबाट जीमेल प्रयोग कर्ताहरु। चकित किनकी त्यसबारे गुगलले त्यसअघि खासै केही कुरै गरेको थिएन । उत्तेजित किनकी कुनै झन्झटविनै निकै सुविधाहरु भएको सेवा इन्बक्समै हाजिर थियो। अनि रिसाएको चाहि किन भने उपयोगी नै सही तर कुनै बाहिरिया मान्छे थाहै नदिइ अचानक घरभित्र छिर्दा उसले तपाईलाई अन्तरंग अवस्थामा फेला पार्छ। अर्को शब्दमा भन्दा तपाईको गोपनीयतामा केही आँच पुग्छ। उदाहरणका लागि, घरमा कोही हाफ पाइन्ट लगाएर बसेको हुन्छ, कोही झगडा गर्दै हुन्छ, कोही गोप्य छलफल गर्दैहुन्छ। Continue reading

आईपोड, आईफोन, आईप्याड

ipod iphone ipad dinesh wagle hello friday

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

डरलाग्दोसँग दुब्लाएका स्टिभ जब्स स्टेजमा आउने छन्, कुनै जादुगरले झै तिनले एउटा विजुली यन्त्र सार्वजनिक गर्नेछन्–शायद काखीमुनीबाट निकालेर– जसलाई विश्वले शुरुमा शंकालु मनले र अलि पछि खुला दिलले स्वागत गर्नेछ । २४ जनवरी १९८४ मा म्याकिन्टोस कम्प्युटर कसरी सार्वजनिक भएको थियो देखिएन तर २३ अक्टोबर २००१ मा लगभग त्यस्तै शैलीमा आइपोड संसारसामू आएको थियो । अनि महिनौको खासखुस र अनुमान पछि ९ जनवरी २००७ मा तिनै स्टिभ जब्सले आईफोन पनि त्यसैगरी हामीलाई देखाएका थिए । फोनको ‘सम्पर्क सूची’लाई स्कृनमा औला सुरर्र सार्दै तलमाथी झार्दा  तिनले आईपोडको फुच्चे संस्करण न्यानोलाई त जिन्सको खुद्रे गोजी (चेन्ज पकेट) बाट निकालेर देखाउदा आफ्नै जिन्सको गोजी छाम्न मनलागेको थियो । त्यसैले अघिल्लो बुधबार (२७ जनवरी) लस एन्जलसमा विहानको दश बज्दा विश्वका थुप्रै ‘एप्पल हौस्याहाहरु’ जस्तै म पनि दिल्लीमा राती साढे एघारबजे त्यही दृश्यको पर्खाईमा थिए ।

एउटा स्ट्रिमिङ् र अरु केही ब्लग साईटमा घट्नालाई प्रत्यक्ष  हेरेपछि ‘अहो, यो आईप्याड रहेछ’ भनि ट्वीट्न आटेको थिए, मेरो सूचीमा रहेका बुटवलको @tajim र काठमान्डूको @yowlanku ले भ्याइसकेछन्– ‘आई प्याड!’ भनि ट्वि(चि)च्याउन । केटाहरु कतिबेला स्टिभले नाम फुत्काउलान् र ट्वीटौला भनेर स्क्रिनमा आँखा गाडेर बसेका रहेछन् । अब ह्वा“, हजारौ किलोमिटर पर स्टिभ आइप्याड चलाउछन्, यता मान्छेहरु आँखा च्यात्दै र उत्तेजित हुदै चिच्याउछन्, ट्वीट्छन्, बजारमा आउनासाथ नकिनी छाड्दिन भन्ने बाचा गर्छन् । हुन पछि योलंकूले ट्विटरमा लेखेकै छन्– ‘स्टिभ बुढोलाई मोज छ, मज्जाले सोफामा बसेर आइप्याड चलाको छ, दुनिया त्यसैमा मख्ख । :D’

एप्पलका सर्वाधिक विख्यात र लोकप्रिय तीन उत्पादन मध्ये दुई (आईपोड र आईफोन)को लगावपूर्ण प्रयोगकर्ता भएकाले र उधोलाग्दो अमेरिकी प्रकाशन उद्योगलाई उचाल्ने हैसियतको सम्भावना राख्ने भनि चर्चा गरिएकाले त्यो उत्पादनबारेको चासो शान्त पार्न मैले निद्रा विगारेको थिए । त्यसको नाम आइट्याब्लेट या आइस्लेट या त्यस्तै आइ–केही हुने कतिको अनुमान थियो । त्यो हेर्दै गर्दा मैले आइपोड छोएको पहिलो दिन सम्झेको थिए ।

हजारौ गीतहरु, भीडियो, अडियोबुक भएको र हत्केलामा अट्ने आइपोड पहिलोपटक चलाउदा“ मलाई संसार मुठ्ठीमा पारेजस्तो भएको थियो । एउटा एल्बमबाट अर्कोमा उफ्रिदा आइपोडको हार्ड डिस्क विस्तारै गडर गडर गरेझै चलेका हत्केलोले स्पष्ट महसुस गर्न सक्छ । ‘त्यो चलाईले आइपोडलाई नीर्जिव हैन सजीव मेशिन तुल्याउछ,’ प्रशंसकहरुले इन्टरनेटमा लेखेका छन्– ‘त्यो हार्डडिस्क हैन, आइपोडको मुटु धड्कीएको हो ।’

मुटु होस या कलेजो, एउटा कुरा पक्का हो, आइपोडको आगमनपछि गीतहरु मानिसको त्यति नजिक, मुटुमै, पुगेका छन् जति उनीहरु इतिहासमा कहिल्यै पुगेका थिएनन् । गोजीमा २० हजार गीत बोकेर हिड्ने कल्पना आइपोड आउनु अघिसम्म एप्पल बाहेक कसले गथ्र्यो ? विश्वका करोडौ मानिसहरुको गीत सुन्ने र किन्ने र साझेदारी गर्ने बानीमा आइपोडले, ढाटेको होइन, क्रान्तिकारी बदलाव ल्याएको छ ।

लगभग त्यस्तै बदलाव आइफोनले विश्व मोवाईल फोन उद्योगमा ल्याएको छ । आइपोडसहितको यो सेटबाट औलाले छोएरै नम्बर डायल गर्न सकिने, कम्प्युटर स्क्रिनमै जस्तो वेब साईट हेर्न मिल्ने र एसएमएस आउदा जस्तो इमेल आएको पनि आवाजबाट थाहा पाइने सुविधा भएको आइफोनलाई प्रशंसकहरु फोनमात्रै भन्दैनन् । त्यसलाई उनीहरु एउटी सुन्दरी युवतीसँग तुलना गर्छन् । हरेक मोवाईल फोनमा त्यो फोहोरी किबोर्ड हुन्छ जसमा झिझोलाग्नेगरी अक्षर र अंक एकैठाममा खादिइन्छन् । तर आइफोन ? चौडा शरिर र सफा (अनुहार) स्क्रिन जसमा प्रयोगकर्ताका औलाहरु चिप्लिन्छन् ।

नोकिया या सामसुङ्का सेटहरु किनेजस्तो किन्न पाइदैन आइफोन । एप्पलले मोवाईल सेवा प्रदायकहरुसँग मिलेर सेट बेच्छ । नेपालमा उसले कुनै पनि मोवाईल कम्पनीसँग त्यस्तो मिलेमतो गरेको छैन । त्यसैले नेपालमा सद्दे आइफोन चलाउन पाइदैन । तर त्यसमा सानो जालसाजी (जसलाई आइफोनका प्रशंसकहरु ‘जेलब्रेक’ भन्छन्) गर्यो भने चलाउन त पाइन्छ तर एप्पलले बेलाबेलामा ल्याइरहने नयाँ सफ्टवेयर त्यसमा हाल्न मुस्किल पर्छ । जेलब्रेक आइफोनहरु नेपालमा कतिपयले चलाएको देखिन्छ ।

भारतमा एप्पलले दुई प्रदायकहरु एअरटेल र भोडाफोनसँग मित्रतागरेको छ र गत बर्ष दिल्ली आउनासाथ मैले एअरटेलमार्फत आइफोन किनेको थिए । सबैकुरा बाहेक यसमा रहेको गुगल म्याप्स अचले दिल्लीका सडक सञ्जालमा एक ठाउबाट अर्कोठाउ पुग्न बरदान सावित भएको छ । नक्सा खोल्नासाथ आफू ठ्याक्कै कुन ठाउमा छु भन्ने जानकारी प्लिक प्लिक गर्ने हरियो थोप्लोले दिन्छ जसका कारण अबको मोडमा दाया लाग्ने या बाया थाहा हुन्छ । हुन पनि आइफोन सेटकै कारणले मात्र भन्दा पनि यसमा हुने गुगल म्याप लगायतका अनगिन्ति एप्स भनिने सफ्टवेयर हरुले बढी प्रिय भएको हो ।

अब तिनै ‘एप्स’हरु लगभग १० इन्चको स्क्रिनमा चलाउन मिल्ने छ, आइप्याडमा जसले यो नयाँ मेशिनलाई झन सम्भावनायुक्त तुल्याएको छ । ल्यापटप भन्दा सानो र हल्का तथा बजारमा उपलब्ध कुनै पनि चलाख फोन भन्दा ठूलो र शक्तिशाली आइप्याड खासमा फोन सेवा नभएको ठूलो आइफोन जस्तै हो । एकाघ महिनामै उपलब्ध हुने आइप्याडमा वाइफाई या थ्रीजी सम्पर्कबाट इमेल, वेब साईट, भिडियो हेर्न मिल्छ, अखवार, म्यागेजिन र पुस्तकहरु झारेर जस्ताको तस्तै पढ्न मिल्छ । उत्तर अमेरिका र पश्चिमी युरोप र अन्य केही विकशित मुलुकमा बाहेक आइप्याडले आइफोन या आइपोडको जस्तो तहल्का मच्चाइ नहाल्ला किनकी हाम्रो संसारमा पत्रिकाहरुलाई इन्टरनेटले त्यस्तो संकेटमा पारेको छैन जति पश्चिममा छ । उता चाहि धेरै मान्छेले इन्टरनेटमै समाचार पढिदिनाले छापाको व्यापार घटिरहेको छ । त्यसैले पत्रिकाहरु आफ्नो वेब साईटको सामाग्रीलाई कसरी बेच्ने भनि गम खाइरहेको बेला आइप्याड एउटा माध्यम भएर आएको छ । कागजी साटो तुलनात्मकरुपमा सस्तो इबुक किनेर किन्डल जस्ता भाडामा पढ्नेहरुको संख्या पनि पश्चिममा बढीरहेको छ । त्यसैले मानिसहरुले आइप्याडलाई अम्याजन.कमको किन्डलजस्तै किताव पढ्ने भाडाकारुपमा पनि व्यापकरुपमा प्रयोग गर्न सक्छन् ।

अब यसले उत्पात सफलता भयो र मेशिन अझ पातलियो भने हलिउड फिल्म

‘माइनोरिटी रिपोर्ट’मा स्टिभन स्पिलबर्गले देखाएजस्तो एउटा एक्स रे जस्तो पातोमा ‘युएसए टुडे’ पत्रिकाका समाचारहरु फुत्त फुत्त वेतारे आएको कुरो कोरा कल्पना मात्र होइन भन्ने बुझनु पर्छ । स्टिभनले २०५० को अमेरिकामा त्यस्तो हुने ठानेका थिए, स्टिभले त्यो भन्दा थुप्रै बर्ष अगाडी नै त्यस्तो गराइदेलान् जस्तो भएको छ ।

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गरौ‌ ।

सान्दर्भिक लिङ्कहरु

१‍. Kathmandu iPod: A Story From Nepal
२. गोजीभरि गीत : आइपोड लहर

स्टलका यौवना: इन्फोटेकको एउटा आकर्षण

girls at can info tech stall

दिनेश वाग्ले

‘एमसीएसई पढ्नुस्, ल्यापटप पाउनुस्,’ राजधानीको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को माथिल्लो तल्लामा ऋचा पोखरेल निरन्तर चिच्याइरहेकी थिइन् (तस्बिरमा)। उनी गत साताको क्यान इन्फोटेकमा पुगेका हजारौंमध्ये केहीको ध्यान तान्न चाहन्थिन् ताकि दर्शकले उनको हातमा रहेका र्फम भरून् । स्टलको अर्को भागमा प्लास्टिकको कुर्सीमा बसेका रमेश भण्डारी मख्ख मुद्रामा थिए । २६ वर्षे रमेश इन्स्टिच्युट अफ इन्फरमेसन डेभलपमेन्ट (आईआईडी) का प्रबन्ध निर्देशक हुन् जसले सञ्चालन गर्ने माइक्रोसफ्ट र्सर्टिफाइड सिस्टम्स इन्जिनियर (एमसीएसई) कोर्सको ऋचाले विज्ञापन गरिरहेकी थिइन् । स्टलमा कम्तीमा तीन अन्य युवती भीडसँग व्यवहार गर्न व्यस्त थिए ।

‘नारा त निकै आकर्ष छ,’ कुरा थालियो ।

‘नारा आकर्ष हुनैपर्यो नि,’ रमेशले भने- ‘नभए सुन्नेलाई पनि मज्जा आउँदैन ।’ उनले ६ महिने पढाइका लागि ६५ हजार रुपैयाँ तिरेर भर्ना हुने पहिला एक सय विद्यार्थीका लागि झन्डै त्यति नै पर्ने ल्यापटप कम्प्युटर दिइने बताउँदै तीन दिनमा २० हजारले र्फम भरेको बताए । निश्चयै, र्फम भर्ने सबैको उद्देश्य भर्ना हुने थिएन । नाराजत्तिकै आकर्षक थिए, इन्फोटेकका धेरैजसो स्टलमा बस्नेहरू । त्यसैले स्टलका ‘आकर्ष’ केटीसँग कुरा गर्न मेलामा पुगेका केटाहरूका लागि र्फम भर्नेबाहेक अर्को उपयुक्त बहाना के हुन सक्थ्यो ? ‘धेरैचाहिँ मजाक ठान्दै टाइमपास गर्न आउँछन्,’ सीआईटीबाट आइएस्सी गरेपछि एमबीबीएसका लागि प्रयासरत ऋचाले एकैछिन ल्यापटप स्किमबारे कराउन छाडेर कान्तिपुरसँग भनिन्- ‘कन्ट्याक नम्बर दिनु भन्छन्, जिस्किन्छन् । कोही चाहिँ ‘ल्यापटप पनि पाइन्छ र ?’ भन्दै अविश्वास मानेर जान्छन् । र्फम भर्ने निकै कम मात्र गम्भीर प्रकृतिका हुन्छन् ।’

girls at can info tech stall

बर्सेनी हुने सूचना प्रविधि मेलामा विद्यार्थी र तन्नेरीहरूको सबैभन्दा बढी भीड लाग्छ र स्टलमा बस्ने युवतीहरू विशेषतः केटाहरूका लागि ‘थप आकर्षा’ बन्ने गरेका छन् । राजधानी सहरमा यस्ता जमघट विरलै हुन्छन् जहाँ अनेकौं फेसनमा सजिएर हजारौंको संख्यामा तन्नेरीहरू जाऊन् । टिकट काटेर त्यहाँ पुग्ने रंगीबिरंगी दर्शक, उनीहरूलाई कुराले मख्ख पार्न तयार भएर स्टलमा मुस्काउँदै बसेका युवतीहरू र आइपोड तथा कम्प्युटरजस्ता सपनाका साधनको त्रिपक्षीय संयोग क्यान मेलाको मुख्य आकर्षण हो । आईटी, ब्युटी, डेटिङ र मिटिङ १२ वर्षो इतिहास भएको मेलाका अभिन्न भाग भएका छन् । यसपालि पनि अधिकांश स्टलमा युवतीहरूलाई अग्रभागमा राखिएको थियो जसले सम्बन्धित कम्पनी या संस्थाका योजनाबारे दर्शकलाई प्रभाव पार्ने गरी वर्णन गरे । उनीहरू र दर्शकको प्रत्यक्ष अन्तरक्रियाले कम्पनीहरूको व्यापार र ब्रान्डको प्रवर्द्धन गर्यो नै, भीडभाडको माहोलमा रोमाञ्च पनि थप्यो ।

आकर्षक मान्छे या नाराले दर्शक तान्न सक्लान् तर उनीहरूले सस्तोमा सेवा दिने ग्यारेन्टी हुँदैन । ऋचाले विज्ञापन गरेको सोही कोर्सलाई ल्यापटप नदिने कम्प्युटर प्वाइन्ट नेपालले करिब आधा मूल्य अर्थात् ३५ हजारमा बेचिरहेको थियो । दुइ तल्लामुनिको उक्त स्टलका तीनै जना युवतीले यो रिपोर्टिङका लागि कुरा गर्न अस्वीकार गरे तर संस्थाका बजार प्रबन्धक रमित कर्माचार्यले सस्तोमा गुणस्तरीय पढाइ चाहनेहरूलाई उक्त शुल्क लक्षित भएको बताए । त्यही सस्तो शुल्कबारे दर्शकलाई अर्थ्याउने काम त उनै लजालु युवतीहरूले नै गरिरहेका थिए ।

girls at can info tech stall

‘केटीहरूले बढी प्रभावकारी रूपमा कुरा राख्न सक्छन्,’ नेसनल वेब कलेजको स्टलमा बसेकी सुनिता शाहीले भनिन् । सँगै बसेकी सुर्मा भट्टर्राईले थपिन्- ‘केटीले मान्छेलाई बढी आकर्षा गर्न सक्छन् ।’ स्टलमै उनीहरूकी सहेली सुषमा सापकोटाको भनाइ थियो- ‘सबै त्यस्ता हुँदैनन् तर कोही चाहिँ जिस्काउनै आउँछन् । भरिएका र्फम छानेर कलेजले फोन गर्दा चाहिँ पढाइमा रुचि भएका मात्रै आउँछन् ।’ तीनजना युवती (माथिको तस्बिर)सँगै स्टलमा थिए धीरज श्रेष्ठ जसले स्टलमा केटी राख्दैमा धेरै दर्शक झुम्मिन्छन् भन्ने आफूलाई नलागेको बताए ।

त्यस्तै विचार राखे मेघा टेक ट्रेड ग्रुपका प्रमुख कार्यकारी शैलेश लोहनीले जसको स्टलमा एक जना मात्रै केटी थिइन् जो, उनले भने, ‘हाम्रै स्टाफकी बहिनी’ हुन् । स्टलमा बस्नेहरू त्यहाँ राखिएका सामानका ज्ञाता प्राविधिक भएको बताउँदै शैलेशले भने- ‘उत्पादनमा हामीले जेन्डरलाई महत्त्व दिएका छैनौं । सामान हाइलाइट गरेका छौं, अनुहार होइन ।’ विराटनगरस्थित मुख्य अफिसमा समेत महिलाहरूलाई ‘चेकिङ प्वाइन्ट’ (रिसेप्सन आदि) मा मात्र राखिएको उनले बताए । स्टलमा महँगा सामान राखिएको र तिनका सम्भावित ग्राहक ‘अनुहार चहार्दै हिँड्ने समूहमा नपर्नेमा आफू विश्वस्त’ भएको शैलेशको भनाइ थियो । ‘एक लाख ४५ हजार पर्ने एक्जिक्युटिभ पीसी राखेका छौं,’ उनले भने- ‘त्यस्तो सामान किन्ने निर्णय स्टलका केटी हेर्न आउनेले पक्कै गर्दैन ।’

फुच्चे ल्यापटप ठूलो सपना

hundred dollar laptop in nepal

दिनेश वाग्ले

कार्टुन पात्रजस्तो लामा दुइटा कान भएको फुच्चे त्यो हरियो कम्प्युटरजस्तो चीजलाई फेरि हेर्नुस्, यो लेख त्यसैप्रति समर्पित छ । खेलौना पटक्कै होइन तर यसले सफलता पाए नेपाली बालबालिका निकै खुसी हुनेछन् । गरिब मुलुकका स्कुलेहरूलाई कम्प्युटरमा पहुँच दिलाउने उद्देश्यले दुई वर्षअघि थालिएको महत्त्वाकांक्षी योजनाको हुर्कंदो प्रतिफल हो यो ।

गैरनाफामुखी यो योजनालाई ‘वान ल्यापटप पर चाइल्ड’ (ओएलपीसी) अर्थात् ‘प्रतिबच्चा एक ल्यापटप’ भनिएको छ जसमा ब्राजिल, पाकिस्तान र अमेरिका (दुई राज्य) सहित १४ मुलुकका सरकार सहभागी छन् । गुगल, इबे, रेड ह्याट, न्युज कर्पोरेसन जस्ता कम्पनीले यसलाई आर्थिक र प्राविधिक सहयोग गरेका छन् । बच्चो ल्यापटपलाई बजारमा बेचिने छैन बरु सरकारहरूमार्फत केही लाख स्कुलेलाई यसै वर्षको मध्यतिर उपलब्ध गराउने लक्ष्य ओएलपीसीको छ ।

प्रयोगमा नआइसकेको भए पनि यसले नामचाहिँ धेरै पाइसकेको छ, ‘सय डलर ल्यापटप’, ‘बच्चाको मेसिन’ या तस्बिरमा देखिएका दुई तन्नेरी आईटी पण्डितहरूका अनुसार ‘मेरो सानु साथी’ ।

‘नाममा के छ ?’ सेक्सपियर भन्थे, ‘हामीले गुलाफ भन्ने त्यो वस्तुलाई जे नाम दिए पनि उस्तै बास्ना आउँछ ।’

त्यै त, फुच्चे ल्यापटपले पनि रिसाहाजस्तो देखिने दाजुकै झैं काम गर्छ । टाइप गर्न मिल्छ, इन्टरनेट हेर्न सकिन्छ, गीत सुनिन्छ र तस्बिर देखिन्छ । फरक यत्ति हो, दाजुको मूल्य छोइनसक्नु छ भने हलुंगो र किफायती भाइलाई निर्माताहरूले एक सय डलर (करिब सात हजार रुपैयाँ) मा उपलब्ध गराउने वाचा गरेका छन् । परम्परागत कम्प्युटरहरूमा हुने हार्ड ड्राइभको साटो यसमा ५१२ एमबीको फ्ल्यास मेमोरी कार्ड हुन्छ । विन्डोज होइन, लिनक्स । इन्टेल होइन, एएमडी । दाजुको तुलनामा यसले १० गुणा कम ब्याट्री खान्छ । ब्याट्री हातैले चार्ज गर्न मिल्ने भएकाले बिजुली नभएका ठाउँमा चल्छ ।

नेपाल सरकार ओएलपीसीमा छैन तर राजधानीमा आयोजित इन्फोटेकमा बुधबार प्रविधिमन्त्री मानबहादुर विकसहितका केहीले फुच्चे ल्यापटपलाई हेरे । अर्घाखाँचीका शंकर पोखरेल (माथिको तस्बिरमा बायाँ) र हेटौंडाका अंकुर शर्माजस्ता उत्साही युवा भएपछि के चिन्ता ? ‘कलेजमा फाइनल प्रोजेक्टमा केही गर्नुपथ्र्यो,’ नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ सकेका शंकरले भने- ‘हामीले ‘मेरो सानो साथी’ नाम दिएर बच्चाहरूका लागि ल्यापटपजस्तै केही बनाउने प्रयास थाल्यौं ।’ डिसेम्बर २००५ मा उनीहरूले त्यस्तो थाल्नु एक वर्षअघि नै मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा केही शिक्षाविद्हरूले त्यस्तो मेसिन बनाउने निर्णय गरिसकेका थिए । कलेजका नेपाली ठिटाले ओएलपीसीकै नक्कल गर्न के सक्नु ? अनुसन्धान र विकासका लागि चाहिने करोडौं डलर कहाँबाट ल्याउने ?

‘हाम्रा अनुसन्धान गाइडले उक्त योजनामै योगदान पुर्‍याउन भन्नुभयो,’ सोही कलेजबाट कम्प्युटर इन्जिनियरिङ स्नातक सिध्याएका अंकुरले भने- ‘अनि ओएलपीसीसँग सम्पर्क गरेर स्वयंसेवा थाल्यौं ।’ २२ वर्षेहरूको कामबाट प्रभावित ओएलपीसीले चार साताअघि हुलाकमार्फत फुच्चे ल्यापटप पठायो । ‘त्यो रात सुतिएन,’ शंकरले भने- ‘यसलाई हेरेरै बसियो ।’

उनीहरूको मुख्य काम फुच्चेलाई नेपाली बुझाउनु हो जसका लागि अरू स्वयंसेवीको साथ लिन उनीहरूले ओएलपीसी नेपाल खोलेका छन् । वर्णमाला, दुनोट, कथा, चित्रपाटी, गीतलगायत तयार भइसकेका छन् । अहिले नेपाली शब्दहरूको भण्डार ज्ञानकोश तयार हुँदै छ भने स्कुलका पूरै किताब त्यसमा हाल्ने योजना छ । त्यसो हुँदा विद्यार्थीले पुस्तक बोक्नुपर्दैन, फुच्चे बोके पुग्छ । वायरलेस क्षमता भएकाले एउटा फुच्चेले अर्कोसँग सम्पर्क गर्न सक्छ । त्यसो हुँदा स्कुलमा राखिएको अलि बढी क्षमता भएको फुच्चेमा भएका पुस्तकलाई विद्यार्थीले एकैपटक आ-आफ्ना फुच्चेमार्फत हेर्न सक्छन् । फुच्चेलाई विद्यार्थीसम्म पुर्‍याउन नेपाल सरकारले नसके दाता खोज्नुपर्ने उनीहरूको भनाइ छ । ‘शिक्षामा लगानी गर्न किन डराउने ?’ अंकुरले भने- ‘कम्प्युटर १० वर्षसम्म टिक्छ ।’

ओएलपीसीका आलोचकै नभएका होइनन् । बिल गेट्स सबैभन्दा चर्का किनकि यसमा उनको विन्डोज होइन, प्रतिस्पर्धी लिनक्स प्रयोग हुन्छ । केहीले चाहिँ यसलाई साम्राज्यवादी अवधारणा (अमेरिकीहरूले डिजाइन गरेर विश्वमा पठाउने) भनेका छन् । विवाद हुँदै गर्छ, अहिलेलाई शंकर र अंकुरकै कुरा गरौं ।

अब के पढ्ने विचार छ ?

‘केही गर्नका लागि न पढ्ने हो !’ शंकरले भने- ‘यस्तो महत्त्वपूर्ण काम गर्न पाइएको छ, पहिला यो सक्ने ।’

अंकुरले सहमति जनाए ।