Category Archives: संक्रमणकाल

राज्य पुनर्संरचनाको मैदानमा ‘जनजाति’ र ‘गैरजनजाति’ लडाइँ


janajati and state restructuring1

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  र यहाँ  क्लिके हुन्छ ।

देशका थुप्रै आदिवासी जनजातिहरूले गए साता सन्तोषको लामो सास फेर्दा त्यसमा केही वर्षयता नेपाली राजनीतिलाई निर्देशित गर्ने उनीहरूको बढेको क्षमता झल्कियो । उनीहरूलाई सन्तोष र विजयको सास फेराउने त्यो घटनाले नेपालमा जारी संक्रमणकालीन द्वन्द्व मुख्यत ‘जनजाति’ र ‘गैरजनजाति’ बीच निश्चित भएको प्रमाणित गरेको छ । अनि त्यो लडाइँ बढ्दोरूपमा ‘राज्य पुनर्संरचना’ नामको मैदानमा भइरहेको छ । संघीयतामा जाने निर्णय गरिसकेको देशले राज्यको भावी संरचनाबारे जोडदार बहस गरिहँदा जनजातिहरू ‘पहिचान अनि सामर्थ्य ‘ र गैह्र जनजातिहरू ‘सामर्थ्य अनि पहिचान’ को हतियार लिएर मैदानमा उत्रेका छन् । र, दुवै पक्ष एक अर्काको नियतप्रति गहिरोरूपमा सशंकित छन् । ‘शंका बुझाइको कमीले भएको हो,’ मानवशास्त्री तथा जनजाति अभियन्ता डम्बर चेम्जोङले भने, ‘सबै मान्छे अधिकार सम्पन्न हुनु भनेको कसैको घटने र कसैको बढ्ने होइन । (जनजाति) राजनीतिकरूपमा अधिकार सम्पन्न हुँदा (गैरजनजाति) को अधिकार खोसिने भन्ने होइन ।’ Continue reading

‘युद्ध छाडेका छैनौं…जनसेनाको स‌ख्या बढायौ‌‌’; प्रचन्ड

(माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सेनाको तेस्रो डिभिजनले २०६४ पुस १८ गते आयोजना गरेको भेलामा कमान्डरहरूलाई प्रशिक्षणका क्रममा दिएको अभिव्यक्तिको सम्पादित अंश । यो भाषणको भिडीयो अस्ती साँझ इमेज च्यानलमा पहिलो पटक प्रसारण भएको थियो । हिजो दिनभरी नै नेपाली टीभी च्यानलहरुले प्रसारित गरेको भिडियोलाई माओवादीले ‘पुरानो र अप्रासंगिक’ भनेको छ । ‘आन्तरिक पार्टी पंक्तिलाई संविधानसभा र शान्ति प्रक्रियामा आश्वस्त पार्न दिएको शान्तिवार्ता कालको पुरानो अप्रासंगिक फाइल टेपलाई विशेष भिडियो टेपको हवाला दिँदै प्रसारण गरेको कुराले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ प्रवक्ता दीनानाथ शर्माले हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ । शर्माले ‘नागरिक सर्वोच्चता नचाहने तत्त्वहरूले भिडियो वितरण गरेको’ दाबी गरेका छन् । ‘यो वर्तमान संकटपूर्ण राजनीतिक स्थितिलाई उत्तेजक र शान्ति प्रक्रियालाई समाप्त पार्ने षड्यन्त्रपूर्ण चालबाजी भएको कुरा स्पष्ट पार्न चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ । उनले शान्ति सम्झौताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै सेना समायोजन, जनमुखी संविधान लेखन, जनताप्रतिको प्रतिबद्धता र राजनीतिक मान्यतामा स्पष्ट भएको जनाएका छन् । ‘यस प्रकारका असान्दर्भिक, उत्तेजक, समग्र शान्ति प्रक्रिया र राजनीतिक प्रक्रियालाई समाप्त पार्ने प्रकारका प्रचारबाजीबाट भ्रमित नहुन आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं,’ उनले भनेका छन् ।)

मैलै विविध (कालिबहादुर खाम) सँग किन यस बेला यो प्रशिक्षण राखेको केन्द्रीय कमिटीको बैठकपछि राखेको भए पनि हुने भनेर भनेको थिएँ । तर, तपाईंहरूको रिपोर्टिङ महत्त्वपूर्ण नै लाग्यो । हामी अहिले नेपाली क्रान्तिको मात्र होइन विश्व क्रान्तिकै महत्त्वपूर्ण नयाँ प्रयोगको चरणमा छौं । हामीले गर्न खोजेका प्रयोग पार्टी, जनमुक्ति सेना र देशसँग मात्र सीमित छैन । यसको अन्तर्राष्ट्रियकरण भइसकेको छ । विश्वको सबैभन्दा अगाडि बढेको क्रान्तिकारी पार्टीको नाताले पनि हाम्रा प्रश्नहरू सार्वभौम हुँदै जान थालेका छन् ।

तपाइर्ंहरू एक वर्षदेखि शिविरमा केन्दि्रत भएर रहनुभएको छ । तर, विचार र सोचाइ एक ठाउँमा छैन । पाँचौ‌ विस्तारित बैठकको कार्यदिशा सशस्त्र विद्रोह थियो तर पार्टी सम्झौतातिर गयो भन्ने कुरा पनि आएको छ । हामी अझै पनि रणनीतिक प्रत्याक्रमणमा छौं । हामीले युद्ध छाडेका छैनौ । कूटनीतिक भाषामा दुश्मनसँग के के कुरा गर्‍यौं त्यो छाडिदिनुस् । हामी रणनीतिक रक्षा, सन्तुलन हुँदै प्रत्याक्रमणमा पुगिसकेका छौँ । त्यसैभित्र अहिले हामी घुमघुमाउ कार्यनीतिमा छौं । यसको उद्देश्य प्रत्याक्रमण नौलो तरिकाबाट सफल बनाउनु हो ।

साथीहरूले केन्द्रबाट योजना आएन, हतियार झिकेर आक्रमण गरौं कि भन्ने जस्ता कुरा गरिरहेका छन् । विद्रोह गर्ने भनेको थियो । मंसिरमा हुन्छ कि भनेको फेरि पार्टीले चुनावमा जाने कुरा पो गर्‍यो भन्ने पनि लाग्दो हो । यो हाम्रो समग्र सोचाइसँग सम्बन्धित छ । दीर्घकालीन जनयुद्धकै कार्यबाट जाने एउटा शैली हुन्छ । हामीले दीर्घकालीन जनयुद्धमा आम सशस्त्र विद्रोहको फ्युजन चाहेका हौं ।

सशस्त्र विद्रोहको कार्यदिशामा शान्तिपूर्ण संघर्ष पनि हुन्छ । अन्त्यमा आम विद्रोह हुन्छ । हामीले मौलिक फौजी कार्यदिशा बनाएका छौं । साथीहरू अहिलेको मात्र रूप हेरेर थाकेजस्तो खत्तम भयौं कि भन्ने गर्छन् । हामी तयारीमा छौं ।

लेनिनले सशस्त्र विद्रोहको रणनीतिअनुसार लामो समय शान्तिपूर्ण संघर्ष गरे र दोस्रो विश्वयुद्धका बेला जतासुकै संकट भएको बेलामा सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गरेका थिए । लामो शान्तिपूर्ण संघर्ष र थोरै सशस्त्र विद्रोह गरेर सत्ता कब्जा गर्न सकिन्छ । संविधानसभा भनेर वार्तामा आउनुको कारण पनि यही हो ।

पार्टी कहिले अमेरिका, भारत, कांग्रेसको पछि लाग्यो भनिन्छ । यो नबुझेको मात्र हो । यो घुमघुमाउको बाटो हो । सीधा हिँड्छु भन्ने संसारभरिका कम्युनिस्ट पार्टी सकिए, क्रान्ति सकियो । करोडौं मरे । बलिदानी धेरै भयो, सिद्धियो ।

अहिले पनि हामी प्रत्याक्रमणको तयारी नै गरिरहेका छौं । अहिले पार्टीले अपनाएको कार्यनीति अति महान् छ । क्रान्तिलाई सफलतामा पुयाउनका लागि जोखिमयुक्त कार्यनीतिमा हामी छौं । शिविरमा तपाइर्ंहरू नभएको भए उनीहरूले कु गरिसक्थे । बीपीले पनि भनेका थिए । ५ सय मात्र मुक्ति सेना भएका भए, महेन्द्रले कु गर्न सक्दैनथ्यो । अहिले हामीसँग हजारौंका संख्यामा जनमुक्ति सेना छन् । त्यसैले कु गर्न सकेका छैनन् । तपाइहरूले तपस्या गरेर क्रान्तिका लागि बसिरहनुभएको छ । यो सधैँ हुनेवाला छैन । अलिकति लम्बिएको मात्र हो । अब केही महिनामात्र हो । या उता, या एता भइसक्छ ।

देशभित्र बाहिर वैचारिक रूपमा हामीले हमला गरेका छौं । तपाइर्ंहरू नभएको भए हस्तक्षेप ‘कौन पुछे खेसरीका दाल’ भने जस्तै हुन्थ्यो । कसैले मान्ने वाला थिएन । सेना छ भनेपछि सात्तो जान्छ । उनीहरूले नभनेका मात्र हुन् । उनीहरूमा आतंक छ । उताका (नेपाली) सेनाको पनि जनरलहरूसँग, मुख्य मुख्य भन्नेहरूसँग धेरैपटक कुरा गरेको छु । तपाइर्ंहरूको आतंक उनीहरूमा पनि छ ।

अहिले तपाइर्ंहरू हामी घट्यौं भन्नुहुन्छ । म त बढेको देख्छु । बढ्यो हाम्रो सेना । यही हो रणनीति र कार्यनीति भनेको नै । हामी कति थियौ‌ ? साँच्चै भन्ने हो भने ७ र ८ हजारको बीचमा थियौं । प्रमाणीकरण ७ हजार राखेको भए ४ हजार हुन्थ्यो । ३५ हजार राखिदिएपछि २० हजारमा आयो । यही हो साँचो कुरा अरूलाई पो भन्न भएन । हाम्रो नेतृत्वले बुद्धि पुर्‍याएर ७ हजारलाई २१ हजार बनायो । तपाइर्ंहरू नियमित सेना भइसक्नुभयो । बाहिर वाईसीएलको संरचना बनाएका छौं । त्यहाँ पनि हजारौं छन् ।

प्रमाणीकरण नभएकाहरूलाई बर्बाद हुन्छ कि भन्ने कुरा पनि छ । त्यसको व्यवस्था गरिन्छ । क्रान्ति पूरा भएको छैन । जताबाट पनि शक्ति सबै हाम्रो हातमा आयो भने सबै ठीक हुन्छ । आउँदै आएन भने फेरि क्रान्तिमा जान्छौं । सबै हाम्रो हातमा आयो भने उतापट्टकिो सेनामा लगेर फिट गर्ने हो । नत्र हाम्रो अर्को संरचनामा ल्याएर फिट गर्ने हो । फेरि तालिम दिएर अघि बढ्ने हो ।

गणतन्त्र पास भइसकेपछि मेरो अमेरिकाको एक बुद्धिजीबीसँग फोनमा कुरा भएको थिया । अमेरिकन बुद्धिजीबीमा, त्यहाँ सिनेटरहरूमा माओवादीले सबै नेपाल लगिसक्यो, अब नेपाललाई जोगाउन सकिँदैन भन्ने ठूलो चर्चा चलेको रहेछ किनभने, माओवादीकै कारण गणतन्त्र पनि पास भयो भनेर संसारभरि हल्ला भयो । त्यसको राजनीतिक फाइदा त माओवादीलाई नै भयो । यसलाई जित नै मान्नुपर्छ ।

सहिद परिवारलाई राहत नभएसम्म, बेपत्ता सार्वजनिक नभएसम्म, घाइतेको उपचार नभएसम्म र शिविरको तलब भत्ता सुविधा नभएसम्म हामी चुनावमा जाँदैनौ‌ भनेका थियौ‌ । विश्वभरि यो कुराचाहिँ मजाले स्थापित भएको छ । यो बडो मजा भएको छ । यो हामी माथि पर्ने तर्क भएको छ । प्याकेजमा माघ महिनाभरि सहिद परिवारलाई राहत दिने निर्णय भएको छ । क्षतिपूर्ति दस लाख नै हो, अहिले राहतस्वरूप एक लाख मात्र जाने हो । एक लाख दिँदा पनि सहिद परिवारलाई डेढदेखि दुई अर्ब जान्छ । एक लाख नगद गाउँका गरिब किसानलाई जानु भनेको ठूलो कुरा हो । साठी करोड शिविरमा जान्छ । यो पैसामात्र होइन राजनीति हो । सहिद परिवारलाई त्यो पैसा बाँड्ने क्रममै हामी माथिबाटै कार्यक्रम तय गरेर आमसभाहरू गर्छौर्ं ।

यसरी कार्यक्रम बनाएर जिल्लाजिल्लामा गयौं भने चुनावको होइन विद्रोहको तयारी हुन्छ । जनताको र हाम्रो बिग्रन लागेको सम्बन्ध यस्तोसँग सुदृढ हुन्छ । पार्टी आयो भन्ने हुन्छ । हाम्रै हो पार्टी भन्ने हुन्छ । हामी पनि यो एक लाखले पुग्दैन अर्को नौ लाख चाहिन्छ भन्छौं जनतामा गएर । अब नौ लाखका लागि लड्नुपर्छ भनेर गाउँगाउँमा भाषण गर्दै हिँड्छौं । सहिद नभएको त गाउँ नै छैन देशभरि । भनेपछि देशभरि झक्झकाउन सकिन्छ ।

यतापट्टी शिविरमा ६० करोड गयो भने, विद्रोहको तयारीका लागि हामीलाई पैसा चाहिन्छ । मैले तपाईंहरूलाई भन्छु नि ट्रकमा आउँछ है भनेर । त्यो (हतियार) ट्रकमा आउनलाई पैसा चाहिन्छ । कसैले सित्तैमा दिन्नन् । साठी करोड गयो भने तपाईंहरूले अलिकति लिए पनि बीस करोड त पार्टीलाई आयो । बीस करोडले तयारी गर्‍यो भने विद्रोहको ठूलो तयारी हुन्छ । पैसा टन्न छ भने राम्रो विद्रोहको योजना हुन्छ । रूपमा हेर्दा त पार्टी फेरि सम्झौतामा गयो भन्ने देखिएला तर गहिरो ढंगले हेर्दा पार्टी कति गम्भीर हिसाबले विद्रोहको तयारीमा लागेको रहेछ भनेर थाहा पाउनुहुन्छ ।

अहिले हामीले चुनाव चुनाव भनिरहेका छौ‌ । अस्तिसम्म चाहिँ हामी चुनाव भाँड्ने र अरू चुनावका पक्षधर देखिन्थे । जनतालाई भ्रम हुन्थ्यो । अहिले तपाइर्ंहरूसँग ढुक्कले कुरा गर्नुको पनि कारण छ । आजै कांग्रेसका एक नेताले चुनाव हुनसक्दैन भनेका रहेछन् । चुनाव नगर्ने तयारी अब कांग्रेसले गर्दै छ । अब हामीले अझ चुनाव भन्नुपर्छ । दुई तीन महिना हामी संविधानसभाबाहेक दायाँबायाँ हेर्दै नहेर्ने जस्तो देखिनुपर्‍यो । तपाईंहरू शिविरमा संविधान भन्ने, हामी बाहिर भन्ने । अब सहिद परिवारलाई पैसा बाँड्न पनि संविधानसभाका लागि बाहिर हिँड्ने कुरा आयो । राहत वितरणमा पनि संविधानसभा भन्नुपर्‍यो । संविधानसभा त यिनीहरूले गर्दैनन् । यता फेरि बाम तालमेल भयो भने झनै गर्दैनन् । हो, त्यही समय विद्रोहको बेला हुन्छ ।

विद्रोह गरौ‌ भनेर विद्रोह हुने होइन । जनताको मन जितेर अब त माओवादी नै सही हो र यसको पछि लागेमात्र पार भइन्छ भन्ने पारेर मात्र विद्रोह हुन्छ । चुनाव भन्नुको तात्पर्य हेर्दै जानुभयो भने चुनावभित्र कुनै सम्झौता होइन विद्रोह छ । रूपमा सम्झौता देखिन्छ, सारमा विद्रोह छ । अर्को कुरा चुनाव चैतमा हुँदैन, ढुक्क हुनुहोस् । फेरि यो कुरा बाहिर नभन्नु होला । चुनाव हुनैपर्छ भन्नुपर्छ । सबै कुरालाई चुनावभित्र हालेर सबै नेता जनताको बीचमा जानुपर्छ । तीन महिना धक्का दिन पाइयो भने पार्टीलाई बेग्लै बनाइन्छ । यसमा तपाईंहरू (लडाकु) लाई पनि सामेल गराइन्छ । उनीहरूसँग कुरा मिले सल्लाहमा नमिले पनि रोटेसनमा तपाईंहरूलाई बाहिर निकाल्ने हो । बाहिर चुनावी अभियानजस्तो देखिन्छ तर त्यो विद्रोहको अभियान हुन्छ । बाहिर भन्दै हिँड्ने होइन । भन्दै हिँड्यो भने फेरि कुरो बिग्रन्छ । बाहिर त संविधानसभाको चुनाव स्वच्छ र निस्पक्ष हुनैपर्छ भन्ने हो । नहुने थाहा पाइसकेपछि त झन् भन्नुपर्छ । जनतामा विद्रोह भनेको घुसेको छैन । संविधानसभा भनेको पार्टी किन टाढिँदैछ भन्ने परेको छ । संविधानसभा भन्दै हिँडेपछि विद्रोहको कुरा पनि घुस्छ । चुनाव भयो भने फेरि हामी भाग्ने भनेको पनि होइन । उनीहरूले नै हुन दिँदैनन् । हामीले जित्नेजस्तो देखे उनीहरू (अरू दलहरू) भारत अमेरिकासँग मिलेर चुनाव हुन दिँदैनन्, उनीहरूले जित्ने देखे हामी चुनाव हुन दिँदैनौं ।

एमालेले एकताका चुनाव चुनाव भन्दै लाखे नाच नाच्दै हिँडेको थियो । मैले एमालेका नेताहरूलाई यसरी नउफ्र तिम्रा खुट्टा भाँच्छौं भनेपछि थान्को लागेका छन् । खुट्टा भाँच्न त सकिन्छ नि सबै उम्मेदवारका । सुरक्षा त छैन नि । चुनाव भइहाल्यो भने पनि हामी जित्छौं । संविधानसभामा गएर फेरि लडाइँ लड्ने हो । हामी जितेर माथि परिसकेपछि त आफ्नै हिसाबमा लगेको लग्यै गरिन्छ । यो कार्यनीति पनि विद्रोहकै हो । हामीले चुनावभित्र सबै चिज जोड्न खोजेका छौं ।

सेना समायोजन संविधानसभा अगाडि हुँदैन । वाम गणतन्त्रवादी र राष्ट्रवादीको तालमेल भनेका छौ‌ नि, त्यत्तिकै भनेको होइन । अगतिलासँग पनि तालमेल गरेपछि हाम्रो बहुमत हुन्छ । हामी भाले भइसकेपछि (माफ गर्नुहोला हामीले जितिसकेपछि) र हाम्रो हात माथि परिसकेपछि त नियम फेरिदिन्छौं नि । अहिलेको प्रमाणीकरण पनि हामी मान्दैनौ‌ । उनी (नेपाली सेना) लाई एक लाखबाट पचास हजारमा झार्‍यौ‌ भने हाम्रो पनि बीसबाट दस हजार त राख्न सकिन्छ । अस्ति भर्खर कटवाल (नेपाली सेनाका प्रधानसेनापति) ले तीन हजारमात्र माओवादी सेना समायोजन गर्ने हो भने एक लाख सेना खत्तम हुन्छ भनेको छ । हाम्रो दस हजार सेना त्यहाँ पस्ने र अझ हामी माथि परेको बेला समायोजन गर्ने हो भने पूरै सेना माओवादीमय हुने मलाई विश्वास छ । अहिल्यै त नेपाली सेना झन्डैझन्डै माओवादीमय हुन खोजेको छ, अलिकति ताल मिल्यो भने अहिल्यै हुन्छ । हाम्रो सेना त राजनीतिक रूपले प्रशिक्षित छ । हाम्रो सेनामा त विचार, सोच, नीति छ, संसारलाई कता लाने भन्ने । त्यहाँ त छैन नि, बुट बजार्नेबाहेक केही हुन्न । बुट बजार्नेलाई त चेतना भएकाले खाइहाल्छ नि । संविधानसभा भयो भने पनि हामी जित्छौं र हाम्रो अनुकूलको समायोजन हुन्छ । संविधानसभा भएन भने हामी पहिला सत्ता कब्जा गर्छौ र समायोजन हुन्छ ।

हामीले एउटा, एउटा गरेर समायोजन गर्नुहुन्न भनेका छौं । यो कुरा स्पष्ट छ । हाम्रो छुट्टै एकाइ र कमान्ड हुन्छ । व्यावसायिक तालिमका लागि पनि हामी पाँच, सात वर्ष छुट्टै बस्नुपर्ने हुन्छ । उनीहरूलाई पनि राजनीतीकरण गर्नुपर्छ । त्यो लोकतान्त्रीकरण भनेको छ नि, त्यो भनेको राजनीतीकरण गर्ने भनेको हो । त्यसका लागि पनि पाँच, सात वर्ष लाग्छ । युनिटवाइज बस्ने भन्ने कुरा त बुझ्नुभएकै होला । यसरी बस्दा कसैले भोलि धोका दियो भने जे पनि गर्न सकिन्छ ।

नेपाली सेनाको हतियार दर्ता शुरु

नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसनले आज नेपाली सेनाको हतियारहरुको दर्ता र भण्डारण कार्य छाउनी ब्यारेक काठमाडौमा शुरु गरेको छ । दर्ता एवं भण्डारण प्रकृयामा ३ दिन भन्दा बढी समय लाग्ने देखिन्छ ।

नेपाली सेनाले करीब ८५० वटा हतियार राष्ट्रसंघीय मिसन टिमहरु समक्ष आज पहिलो दिन दर्ता र भण्डारणको लागि प्रस्तुत गर्यो । यूएनडिपी को सहयोगमा राष्ट्रसंघका १४ वटा दर्ता टोलीले हातहतियार एक एक गरी दर्ता गर्ने र १४ वटा ठूला कन्टेनरहरु मध्ये एउटा मा तिनीहरुलाई भण्डारण गर्न अगाडी प्रत्येकमा एउटा बार कोड पनि लगाईयो । यो प्रकृयामा ७० जना दर्ता गर्ने कर्मचारी संलग्न छन् । दर्ताको सम्पूर्ण प्रकृयामा अनमिनका हातहतियार अनुगमनकर्ताहरुको उपस्थिती छ र आज देखि ति हतियारहरुको अनुगमनको लागि छाउनी व्यारेकमा उनिहरुको २४ घण्टा उपस्थिती रहनेछ । २४ घण्टे विद्युतीय अनुगमनको लागि उक्त स्थानमा निगरानी क्यामराहरु राखिएका छन् ।

हात हतियारको दर्ता एवं भण्डारण प्रक्रिया माओवादी सैन्यको हकमा जस्तो गरिएको थियो त्यस्तै गरिएको छ । हतियार तथा सेना व्यवस्थापन अनुगमन सम्बन्धि सम्झौता (ए.एम.एम.ए.ए.) अनुसार नेपाली सेनाले माओवादी सेनाको हातहतियार दर्ता गरीएको संख्यामै अनमिनका अनुगमनको सामु आफ्ना हतियार सुरक्षित तबरले दर्ता गर्न सहमत भएको थियो । माओवादी सैन्यले २८५५ वटा हतियार भण्डारण गरेका थिए । यसको अलावा शिविर पेरिमिटरको सुरक्षार्थ माओवादी सैन्यले प्रत्येक डिभिजन स्थलमा ३० वटा र प्रत्येक स्याटेलाईट स्थलमा १४-१५ वटा गरी जम्मा ५२४ वटा हतियार राखेका छन् र नेतृत्व वर्गको सुरक्षा व्यवस्था बारे सम्झौता नभइसकेकोले ९६ वटा हतियार साथ मा राखेका छन् ।

नेपाली सेनाको हातहतियार दर्ता र भण्डारण कार्यले हातहतियार र लडाकुहरुको दर्ताको प्रथमचरणको अन्तिम कार्यको प्रतिनिधित्व गर्दछ । अब दोश्रोचरणमा माओवादी लडाकुहरुको प्रमाणिकरण कार्य शुरु हुन्छ र यो काम चाडै नै शुरु हुनेछ ।

अनमिनका हातहतियार र सैन्यको अनुगमनका प्रमुख जनरल जान एरिक विल्हेल्मसेनले भन्नुभयो “आजको हतियार दर्ता प्रकृयाबाट म खुशि छु, यो कार्य सुचारु रुपले शुरु भयो । यस हतियार दर्ता र भण्डारण प्रकृयामा नेपाली सेनाले राम्रो सहयोग प्रदान गरे र मलाई विश्वास छ हामी यो प्रकृया यो हप्ता नै समापन गर्ने छौ ।”

माओवादी मन्त्री, शपथ र सदन

सुबोध गौतम
चैत १८ – मन्त्रिपरिषदको पहिलो बैठकमा पस्ने बित्तिकै प्रधानमन्त्री कार्यालयका पश्चिम भित्तोमा झुन्डिएका राजारानीको फोटो देखेर वन तथा भू-संरक्षण मन्त्री मातृका यादव झस्किए । भने- ‘यी फोटो हटाइहाल्नुपर्‍यो ।’ त्यहीं उपस्थित एक पदाधिकारीले फोटो झिक्न खोजे तर सकेनन् । बैठक सकिएर बाहिरिएपछि यादवले सञ्चारकर्मीसँग भने- ‘मुख्य सचिवले हटाउँछु भनेका छन् ।’ बैठक सकेर बाहिरिएका सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरालाई सञ्चारकर्मीले ‘तपाईं त हाम्रो मन्त्री’ भन्दै रोके । माओवादीको सञ्चार नीति के हुन्छ भन्ने प्रश्नमा महराले भने- ‘अब माओवादीको कुरा मात्र नसोध्नुहोस् । म त सरकारको मान्छे भएको छु ।’

शपथ ग्रहण कार्यक्रममा पनि मातृकाकै चर्चा भयो । शपथमा उल्लेखित ‘सत्य निष्ठा/इश्वरका नाममा’ भन्ने शब्दमध्ये उनले ‘इश्वरका नाममा’ भन्ने शब्द सञ्चारकर्मीहरूलाई देखाउँदै काटे । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेतले सत्य निष्ठाका नाममा भनी शपथ ग्रहण गराए । केही प्रशासक माओवादी नेताहरूसँग भलाकुसारी गरिरहेका थिए ।

संसद्मा पनि भौतिक योजना तथा निर्माण मन्त्री हिसिला यमी र स्थानीय विकास मन्त्री देव गुरुङले राष्ट्रिय योजना आगोगका उपाध्यक्ष जगदीशचन्द्र पोखरेल र अन्य सदस्यसँग गरेको भलाकुसारी पनि हेर्न लायकको थियो । छेउमै बसेका पदाधिकारी र उनीहरूबीच हात मिलाएर निकैबेर कुराकानी भएको थियो । यसले योजना र विकास निर्माणबीचको तालमेल हुनुपर्छ भन्ने संकेत गरेको देखिन्थ्यो । यी आफ्ना मन्त्री हुन भन्ने थाहा पाएका सचिवहरू उनीहरूको पछि-पछि लाग्नु त स्वाभाविकै थियो ।

ऐतिहासिक दिन भन्दै शपथ ग्रहण कार्यक्रममा सञ्चारकर्मी, पदाधिकारी र र्सवसाधारणको उल्लेख्य उपस्थित थियो । कुर्सीमा बस्ने र उभिनेको संख्या झन्डै-झन्डै उस्तै थियो । कार्यक्रम व्यवस्थित गर्न मुख्य सचिव भोजराज घिमिरेलाई हम्मेहम्मे परेको थियो । मञ्च ढाकेर उभिएका सञ्चारकर्मीलाई हटाउन उनले पटक-पटक आग्रह गरेका थिए ।

माओवादी मन्त्रीहरू कस्तो पोसाकमा आउँछन्, सुरक्षा गार्ड को हुन्छ भन्ने जिज्ञासा उपस्थितहरूमा थियो । माओवादी मन्त्रीहरू नियमित पोसाकमा थिए । सुरुमा माओवादीले आफ्नो सुरक्षाका लागि सशस्त्र प्रहरी राख्ने माग राखेका थिए । तरपछि यसले सेनाप्रति अविश्वास गरेको र्ठहर्छ भन्ने सुझाव आएपछि सेना नै राख्ने निधोमा पुगेका हुन् ।

बालुवाटारमा सहमती, एमालेले अडान छाड्यो, संविधान सभा चुनाव असार ६ मा

आखिर कांग्रेसको अडानका अगाडी एमालेको केही लागेन । अन्तरिम सरकारमा प्रधानमन्त्रिपछिको बरिष्ठ मन्त्री एमालेकी साहाना प्रधान होइन, कांग्रेसका महामन्त्री रामचन्द्र पौडेल हुने भएका छन् । आठ पार्टिको आज बालुवाटारमा बसेको बैठकले संविधान सभाको चुनाव असार ६ गते गर्ने निर्णय गरेको छ । यसैबीच संसदले आजको लागि कार्यसूचि जारी गरेको छ र अब केही बेरमै संसदमा नया सकारको गठनको घोषणा र प्रधानमन्त्री सहित मन्त्रीपरिषद्ले सपथ लिने सम्भावना छ । निश्चयै, यो कुनै अप्रिल फुल जोक होइन !

सभामुख सुवास नेम्वांगले प्रम नियक्तिको घोषणा यसरी गरे:

…गिरिजाप्रसाद कोइरालालाई नियुक्त गर्ने राजनीतिक सहमती भएअनुरुप नेपालको प्रधानमन्त्री पदमा राजनीतिक सहमतीको आधारमा र्सवसम्मतीले माननीय श्री गिरिजाप्रसाद कोइराला नियुक्त हुनुभएको घोषणा गर्दछु…नेपालको अन्तरिम सम्विधान २०६३ को धारा ४२ एवं व्यवस्थापिका संसदको नियमावली २०६३ को नियम १५ बमोजिम माननिय प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालालाई व्यवस्थापिका संसद समक्ष सपथ ग्रहण गर्न अनुमति दिन्छु ।

प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै कोइरालाले पढेको सपथ

म गिरिजाप्रसाद कोइराला मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापुर्वक प्रतिज्ञा गर्छु की नेपालको राजकीय सत्ता र र्सार्वभौम सत्ता नेपाली जनतामा मात्र निहीत रहनुपर्ने भनि जनताद्धारा जनआन्दोलन मार्फ अभिव्यक्त भावना लाई उच्च सम्मान गर्दै जारी भएको नेपालको अन्तरिम सम्बिधान २०६३ प्रति पूण बफादार रही नेपालको प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही कसैको डर नमानि पक्षपात नगरी कसैप्रति पूर्वाग्रह वा खराव भावना नलिई इमानदारीसाथ गर्नेछु र आफ्नो कर्तव्य पालनको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा वाहाल रहदा वा नरहदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्ने बाहेक अरु अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन ।

अन्तरिम सरकारको नीति तथा कार्यक्रम

आठ दलले अन्तरिम सरकारको साझा सहमतिको न्यूनतम कार्यक्रम, सरकार सञ्चालनको विधि, मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहिता तयार गरेका छन् । त्यसैगरी सहमतिमा सरकार सञ्चालनका लागि आठ दलका प्रतिनिधि रहेको उच्चस्तरीय संयुक्त समन्वय समितिसमेत गठन गरिने भएको छ ।

संविधानसभा चुनावका लागि सहज वातावरण बनाउन आठ दलको साझा प्रतिबद्धतासमेत शनिबार नै जारी गरिनेछ योजना छ ।

साझा प्रतिबद्धतामा संविधानसभा चुनावमा भयरहित वातावरण बनाउन माओवादीले देशभर कब्जा गरेका निजी, र्सार्वजनिक र सरकारी घरजग्गा एवं सम्पत्ति, कार्यालय १५ दिनभित्र फिर्ता गर्ने, विस्थापितलाई स-सम्मान घर फर्काउने र हतियार प्रदर्शन रोक्ने कबुल गरिएको छ ।

साथै, सबै जिल्लामा माओवादीले घरजग्गा र सम्पत्ति फिर्ता गरे/नगरेको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारको संयोजकत्वमा र्सवदलीय संयन्त्रको गठन गरिनेछ । र्सवदलीय संयन्त्रले सम्पत्ति फिर्ताको विवरण बुझ्ने र फिर्ता नभएको सूचना आउनासाथ तुरुन्त फिर्ता गर्न लगाउने संयुक्त प्रतिबद्धतामा उल्लेख छ ।

संयुक्त प्रतिबद्धतामा संविधानसभा चुनावमा माओवादीको हतियार प्रयोग नहुने सुनिश्चित वातावरण बनाउने र राष्ट्रसंघीय मिसनमा दर्ता भएबाहेक अन्य हतियार भेटिए सरकारले कानुनअनुसार जफत गरी कारबाही गर्ने उल्लेख छ ।

नेपाली सेना, सशस्त्र र जनपद प्रहरीले कब्जा वा अतिक्रमण गरी कार्यालय/ब्यारेक राखेका विद्यालय भवन, व्यक्तिगत घरजग्गा र कलकारखानाको जग्गा तुरुन्त सम्बन्धित व्यक्ति या पक्षलाई फिर्ता गराउने प्रतिबद्धतासमेत आठ दलको छ ।

संयुक्त प्रतिबद्धतामा दलहरूले आमजनताको जनजीवनलाई कष्टकर बनाउने बन्द, आमहडतालजस्ता कार्यक्रम नगर्ने कबुल गर्दै अरू सबै जनवर्गीय, पेसागत संगठनहरूलाई समेत त्यस्ता कार्यक्रम नगर्न आग्रह गर्नेछन् ।

आठ दलबीच माओवादीले आफ्ना श्रम शिविर र ‘घुम्ती जेल’ मा रहेका सबै बन्दीलाई तत्काल छाड्ने र सरकारले पनि विभिन्न जेलमा माओवादी बन्दी छन् भने तिनलाई अविलम्ब रिहा गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । माओवादीले विभिन्न जेलमा आफ्ना ६० कार्यकर्ता रहेको दाबी गरेको छ ।

अन्तरिम सरकारको नीति तथा कार्यक्रमलाई आठ दलको ‘साझा सहमतिको न्यूनतम कार्यक्रम’ को संज्ञा दिइएको छ । प्रस्तावित नीति तथा कार्यक्रमलाई ‘संविधानसभाका लागि शान्तिसुरक्षाको प्रत्याभूति’, ‘राहत’ र ‘सुधार र परिवर्तन’ तीनवटा बुदामा विभाजन गरिएको छ ।

‘न्यूनतम कार्यक्रमको मूल उद्देश्य संविधानसभाको चुनाव सम्पन्न गर्नु हो’ भन्दै त्यसका लागि शान्तिसुरक्षाको पूर्ण प्रत्याभूति दिने प्रतिबद्धता व्यक्त गरिएको छ । नीति तथा कार्यक्रममा द्वन्द्वपीडितलाई राहत प्रदान गर्ने र पिछडिएका वर्ग, क्षेत्र, जाति, जनजाति, दलित, आदिवासी र महिलाको उत्थान गरी मूलधारमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।

मन्त्रिपरिषदका सदस्यले पालना गर्नुपर्ने आचारसंहितामा आठ दलले संयुक्त सरकारको भावनाअनुरूप चल्न पालना गर्नुपर्ने र्सत प्रस्तुत गरिएको छ, जसमा कुनै पनि दलले एकअर्काविरुद्ध आक्षेप नलगाउनेलगायत बुदा राखिएका छन् ।