Category Archives: समाज

खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेल कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए ।

ओखलढुङ्गाको टोक्सेल गाविसका ६५ बर्षे मिनभवनमा ‘छोरा बुहारी नानी नातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् ।

‘कुनै चाह छैन ?’ मैले सोधे- ‘सबैकुराले सन्तुष्ट ?’

‘शान्ती भईदिए हुन्थ्यो’ खिलानाथले भने । माओवादीबाट चितवनस्थित शक्तिखोर शिविरमा रामहरी श्रेष्ठको हत्या तथा त्यसपछि कोटेश्वर क्षेत्रका विरोध कार्यक्रमको संकेत गर्दै थपे- ‘झन तहल्का मच्चेर गएको छ ।’ Continue reading

मेघालयका “घरज्वाइँ’हरु

family

कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं । Continue reading

माला फाल्दै गए अयोग्य लडाकु

फालिएका माला

नैतिक शिक्षा: झुटो आश्वासन पुरा हुदैन । पुरा नहुदा यस्तै हुन्छ । के शिविरबाट हटेका अयोग्य गुरिल्लाले अब माओवादीलाई समर्थन गर्लान्, राजनीतिबाट टाढिएर रोजगारी गर्लान् या मा‌ओवादी विरोधी राजनीतिमा सक्रिय होलान् ?

जनक नेपाल र दुर्गालाल केसी

दहवन (रोल्पा): बिदाइ गर्न आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले लगाइदिएको माला शिविर छाड्नु परेका अयोग्य लडाकुले फालिदिए । दाहालले हात अघि बढाउँदासमेत कतिपयले त हात मिलाएनन् । घर फर्किन लागेका लडाकुको बिदाइ कार्यक्रममा सोमबार (हिजो, ८ फेब्रुअरी) विदेशी पाहुनासँगै दाहाल पनि दहवन आएका थिए । स्वागतमा न उत्साह देखियो न त भाषणमा ताली । बरु उनीहरू असन्तुष्ट देखिन्थे बाहिरिनुपर्दा । अस्थायी शिविरबाट बाहिरिएका उनीहरूलाई घर फर्केपछि पनि पार्टीले खटाएको काम गर्नुपर्ने उर्दीसहित कार्यक्षेत्र तोकेर पठाइएकामा उनीहरू झन् रुस्ट देखिन्थे । ‘घर फर्केपछि कुन पार्टीमा काम गर्ने हाम्रो खुसीको कुरा हो,’ दाङको चैलाही-९, नारायणपुरका सरद वलीले भने ।

माओवादी सैन्य कमान्डरहरूले बिदाइ गर्नुअघि प्रशिक्षण दिँदै एक महिनाभित्र पार्टीका काममा फर्किन निर्देशन दिएका थिए । उनीहरूलाई वाईसीएल लगायतका पार्टीका विभिन्न भ्रातृ संगठनमा रहेर काम गर्न भनिएको छ । ‘एक महिनापछि दिइएको जिम्मेवारीमा फर्किनुहोला,’ ती नेताका भनाइ उद्धृत गर्दै रुकुमकी एक लडाकुले भनिन्, ‘नफर्किए खोज्दै आउँछौं ।’ घर गाउँको नक्सा र फोन नम्बरसमेत टिपेर राखेको उनले बताइन् ।

प्यूठानका दिलीप घर्ती मगरले युद्धमा लगाएका युवालाई पुनःस्थापनमा बेवास्ता गरिए जेसुकै हुनसक्ने चेतावनी दिए ।

पाँचौ डिभिजनभित्र भने दाहालको भव्य स्वागत गरियो । माओवादी सेनाले उनलाई सलामी दिएको थियो । त्यहाँ उनलाई विगतमा झैं ‘कमरेड’ सम्बोधन गरिएन, ‘सर’ भनियो । सलामीपछि पत्रकारहरूलाई बाहिर पठाएर अध्यक्ष दाहाल लगायतका माओवादी नेताहरूले शिविरको निरीक्षण गरे । उनले त्यहाँ डिभिजन कमान्डर कालीबहादुर खाम ‘विविध’ सहितका सैन्य कमान्डरहरूलाई भेटेर गोप्य बैठक गरे । रामहरि श्रेष्ठको हत्याका आरोपित विविध औपचारिक कार्यक्रममा भने देखिएनन् ।

राष्ट्रसंघीय सुरक्षापरिषद सदस्य राष्ट्रहरूका राजदूत, माओवादीका अध्यक्ष दाहाल र अनमिन प्रमुख करिन लनग्रेनको उपस्थितिमा अयोग्य लडाकुहरूलाई सोमबार दहवनबाट बिदाइ गरिएको हो । बहिर्गमनमा परेका लडाकुहरूलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष दाहालले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन सघाएर लडाकुहरूले आफू योग्य रहेको पुष्टि गरेको बताए ।

पाँचौं डिभिजनबाट अनमिनले अयोग्य ठहर्‍याएका २ सय ६८ जनालाई सोमबार बिदा गरिएको छ । ४ सय ५० अयोग्य ठहरिएकामध्ये अरू पहिल्यै घर फर्किसकेको डिभिजनले बताएको छ । योसँगै माघ ३ गते चितवनबाट सुरु माओवादी अयोग्य लडाकुहरूको बहिर्गमन पूरा भएको छ । माओवादीले सशस्त्र संघर्षको पहिलो आक्रमण दहवनछेउकै होलेरी प्रहरीमा गरेका थिए ।

एक महिनायता सातवटा शिविरका २ हजार ३ सय ९४ अयोग्य लडाकु बाहिरिइसकेका छन् । अनमिनले २ हजार ९ सय ७३ लाई नाबालिग र एक हजार ३५ जनालाई युद्धविरामपछि भर्ना भएको भन्दै अयोग्य ठहर्‍याएको हो । माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले शरीरमा गोली र छर्रा लिएका लडाकुलाई समेत बिदाइ गर्नुपर्दा दुःख लागेको बताए ।

राष्ट्रसंघीय महासचिवका प्रतिनिधि करिन लनग्रेनले अयोग्य लडाकुहरू माओवादी सेनाको चेन अफ कमान्डमा नहुने बताइन् । ‘सशस्त्र संघर्ष तपाईंहरूका लागि अब विगत हो,’ उनले भनिन्, ‘आफ्नो परिवारमा फर्केर शिक्षा र व्यावसायिक तालिम लिनसक्नुहुन्छ ।’

राष्ट्रसंघीय सुरक्षापरिषद राष्ट्रका तर्फबाट बेलायती राजदूत एन्डुय्रु हलले अयोग्य लडाकु हटाउन राजी भएर माओवादीले अन्तर्राष्ट्रिय कानुन पालनाको प्रतिबद्धता पूरा गरेको बताए । घर फर्किन लागेका अयोग्य लडाकुलाई निराश नहुन आग्रह गर्दै उनले भने, ‘यो तपाईंको जीवनको नयाँ सुरुवात हो ।’ अझै १९ हजार ६ सय माओवादी लडाकुको भविष्य निर्धारण गर्न बाँकी रहेको उल्लेख गर्दै एन्ड्यु्रले भने, ‘लडाकुको पुनःस्थापन, व्यवस्थापन र समायोजन हेर्न हामी आतुर छौं । त्यसपछि मात्र नेपाली समाजको नयाँ पाटो सुरु हुनेछ ।’

माओवादीको पछिल्लो भूमिकाले शान्ति प्रक्रिया र संविधान निर्माण कार्यले तीव्रता पाएको अध्यक्ष दाहालले दाबी गरे । ‘माओवादीकै कारण शान्ति प्रक्रिया र संविधानको काम अघि बढेको छ,’ उनले भने, ‘संविधानसभाबाट संविधान बने फाइदा माओवादीलाई पुग्ने ठानेर रोक्न खोज्नेहरू पनि छन् । त्यसैले जुनसुकै त्याग गर्न तयार हुनुपर्छ ।’

दाहाल निजी हेलिकप्टरबाट बिहान दहवन पुगेका थिए । उनीसँगै माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन, समायोजन तथा सुरक्षा प्रमुख वर्षमान पुन, डेपुटी कमान्डर चन्द्रप्रकाश खनाल पनि थिए । राजदूतहरू र राष्ट्रसंघीय अधिकारीहरू अनमिनको हेलिकप्टरबाट आएका थिए ।

भगवान भरोसा

religion and nepali people

भगवान नदेखेपनि थुप्रै नेपाली मन्दिर जाँदा मनमा शान्ति महसुस गर्छन् । किन ?

दिनेश वाग्ले/ सुरज कुँवर
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

रातको ११ बज्नै लाग्दा र अघिल्लो युगमा कृष्ण जन्मिएको पल नजिकिँदै गर्दा गतसाता पाटन कृष्ण मन्दिर परिसरमा राता सारी, हरिया पोते र नङपालिस लाएका महिला झुरुप्प बसेर गाउँदै, ताली बजाउँदै, हाँस्दै र नाच्दै थिए।

तिम्रो–हाम्रो भेट भा’को आजै हो
पहिलो पाला बोल्नलाई लाजै भो

छेवैमा उभिएका र जन्माष्टमी मनाउन त्यो रात त्यहाँ भेला भएका एकहुल अधबैंसेहरू तत्कालै महिलाका समस्या समाधान गर्ने मुढमा प्रस्तुत भए–

लाज मानेर नसोच्नु अर्को
हजुरजस्तै म पनि यो घरको

द्वापर युगको यमुना किनारमा भए दोहोरीले बिहानसम्म निरन्तरता पाउँथ्यो होला। तर यो कलिमा माहोल बिग्रने चिन्ताले पिल्सिएका प्रहरीले पुरुषलाई विनम्रतापूर्वक त्यहाँबाट धकेलेपछि महिला गफमा फर्किए। ललितपुरको सैंबु गाउँका १७ जनाजति ती श्रद्धालुले कृष्णका नाममा बत्ती बालेर, भजन गाएर र जाग्राम बसेर जन्माष्टमीको रात मन्दिर परिसरमै बिताउने योजना बनाएका थिए। बेलुका पाँच बजे पुगेका र बिहान चार बजे घर फर्किने उनीहरू एउटीको शब्दमा ‘भगवानको बड्डे खान’ त्यहाँ पुगेका थिए। ‘मान्छेको बड्डे केक काटेर मनाउँछन्’, उनले जन्मदिन अर्थ दिने अंग्रेजी शब्दावली ‘बर्थडे’को उच्चारण गर्दै भनिन्– ‘भगवानको बत्ती बालेर।’ बड्डे त फगत बहाना हो। शंकै छैन, धर्म गर्न मन्दिर पुगेका उनीहरू भगवानलाई भरपुर खुसी पार्न चाहन्थे, ताकि ‘केही होस्’! Continue reading