Category Archives: हेल्लो शुक्रबार

स्टिभ जब्स

steve jobs by walter isaacson on ipad

वाल्टर आइज्याक्सनको किताव स्टिभ जब्सको आवरण आइप्याडमा

dinesh wagle steve jobs pose

दिनेश वाग्ले

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ)

समाचार– कमल दहलाई सिरानीमा राखेर एउटा पहाडको काखमा अडिएको सुन्दर बस्ती, रुकुमको पुरानो सदरमुकाम, रुकुमकोटमा एनसेलको संकेत नपाउदा म निराश भएको थिए । दह मास्तिरको डाडामा हिड्दा केही परको रोल्पाली गाउँ थवाङमा ठड्याइएको नेपाल टेलिकमको टावरले फालेको कमजोर संकेत फोनले टिपेको थियो । तर त्यो रात विताउनुपर्ने बस्तिमा ओर्लदैगर्दा त्यो पनि हराएको थियो ।

मध्य पश्चिम नेपालका डाडाहरुमा पैदल हिड्दा इन्टरनेटबाट अलग्गिएको चार दिन भएको थियो । पाचौ दिनमा रुकुमकोटबाट जीप चढेर सदरमुकाम पुग्नासाथ मैले झोलाबाट आइप्याड निकालेर ट्विट्टर एप खोलेको थिए । फुलब्राइट छात्रबृत्तीमा नेपालमा आएका एकजना अमेरिकी काइल नाइटको एउटा ट्विटले मेरो ध्यान तत्कालै आकर्षित गर्‍यो र, त्यो पढ्दै गर्दा, मनमा चिसो पस्यो । Continue reading

त्यो दसैंमा…

the happy kids of dadeldhura dashain day

कति राम्रो पोज केटाहरूको । डडेल्धुरा । दसै‌ २०१०

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । 

 ठ्याक्कै दस वर्षअघि सन् २००१ को दसैंमा म पूर्वी नेपालको संखुवासभामा थिएँ । लक्ष्य थियो, नेपालको सबैभन्दा सानो गाउँ, चीनसँगको सिमानाको, किमाथाङ्का । दशमीमा सदरमुकाम खाँदबारीमा क्याम्पसका सहपाठी र पत्रकारितामा सहकर्मी किरण चापागाईंका बाबुआमाबाट टीका लगाएपछि (‘छोरो आएन, बाबुलाई टीका लाइदिँदा खुसी लाग्यो,’ दम्पतीले भनेका थिए) लगातार ६ दिन हिँडेर म सिमानामा पुगेको थिएँ । मैत्री पुलभन्दा अलि माथिको एउटा सानो घरमा त्यो साँझ दुई जना दाजुभाइ छिन्डुम नावा र रिन्जिन नावाकी साझा पत्नी रिसे च्यावाले सहयात्री पत्रकार श्याम निरौला र मलाई सम्मानपूर्वक दिएको एक/एक गिलास चौंरीको दूधको स्वाद अझै बिर्सन सकेको छैन । अनि रिसेको त्यो उत्तर पनि । अझ भनौं प्रश्नहरू । Continue reading

यताकी बुहारी उताका ज्वाइँ

निरज र शर्ली दरबार स्क्वायरमा

निरज र शर्ली दरबार स्क्वायरमा

विवाह त्यस्तो सम्बन्ध रै’छ जसले समुद्र पारिकालाई वारिका डाँडामा र वारि पहाडकालाई समुद्रपारि किनारमा पुर्याउदो रै’छ ।  नेपाल र फिलिपिन्सका दुई प्रेम जोडीहरूको कथा ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर (हेल्लो शुक्रबार) मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ (पीडीएफ) 

लेखेको कुरा हो त्यो । शर्ली अल्फन्सोले नीरज जोशीसँग बिहे गर्ने योजनै बनाएकी थिइनन् । खासमा कुनै पनि विदेशीसँग जिन्दगी बिताउने उनले कल्पना गरेकी थिइनन् । ‘तर आफै चकित भएँ,’ २६ वर्षे फिलिपिनाले अघिल्लो साता काठमान्डुको वसन्तपुरस्थित एउटा क्याफेमा भनिन् । ‘ऊसँग प्रेममा परेँ । हाम्रो भाग्यमै एकअर्कासँग बिहे गर्न लेखेको रै’छ ।’

मह र कागती मिसिएको तातो पानीको ग्लास लिएका नीरज छेवैमा बसेर मुस्कुराइरहेका थिए ।
राजधानीको इन्द्रजात्रा देखाउन नीरजले शर्लीलाई बीपी राजमार्गका घुम्तीहरू हुँदै डुलाउँदै काठमान्डु ल्याएका थिए । त्यो सडक बनाउने जापानी कम्पनीमा कार्यरत इन्जिनियर नीरजसँगै नेपालथोकमै बस्छिन् शर्ली । सिन्धुलीको त्यो पहाडी बस्तीमा, शर्लीले भनिन्, बर्गर र ममजस्तो ‘द्रुतखान्की र रात्रि जीवन’ नहुँदा जीवन यदाकदा पट्यारलाग्दो हुन्छ तर ‘नीरजसँग रहन मन पर्ने भएकाले जेसुकै (चुनौती) पनि सामना गर्न तयार’ उनलाई दु:खहरू खासै दु:खपूर्ण लाग्दैनन् । Continue reading

मनिलाका डाक्टर, एआईटीका इन्जिनियर

manila ka doctors

दिनेश वाग्ले
>>यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । (पीडीएफ) पत्रिकाकै पन्नामा पढ्ने भए यहाँ क्लिके हुन्छ ।

जे खानुहुन्छ, तपाई त्यसैले चनिनिहुन्छ । विशेषगरी हुर्किदा खाएको खानाले (अपवादबाहेक) जिन्दगीभर तपाईलाई छाड्दैन । अझ भनौं, तपाईले छोड्नु हुन्न । दालभातकै कुरा गरौं, सानैदेखि त्यो खाएको हो भने पिज्जा, बर्गर, पास्ता, सुसीले तपाईलाई दुई/चार दिन आनन्द देलान् तर पाचौ दिनदेखि तपाईलाई कतिबेला दालभात खाउँ जस्तो लाग्छ । विशेषगरी विदेशमा ।

‘एक दिन पिज्जा खाए अघाइन्छ,’ स्नेहा राजवंशीले भनिन्– ‘भात दिनदिनै खाए अघाइदैन ।’

१९ बर्षे स्नेहा नौ महिना अघि नेपाल छाडेर फिलिपिन्सको मनिला आएकी थिइन्– डेन्टिस्ट्री (दन्त विज्ञान) पढ्न । ‘कात्तिक २९ गते,’ उनले सुनाईन्– ‘नेपाल छाडेको, घरपरिवार छाडेको । फ्लाईट (उडान) नम्बर समेत याद छ । आरए ४११ ।’

बाँकी यहाँ छ 

मेरो इन्टरनेटसँगको भेट

my internet experience, by Dinesh Wagle
ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

त्यति प्रस्टसँग होइन तर इन्टरनेटसँगको त्यो पहिलो जम्काभेट म अझै सम्झिन्छु । सन् १९९७ तिर कान्तिपथमा एउटा साइबर क्याफे थियो जहाँ म अन्य दुई साथीसँग पुगेको थिएँ । ब्राउजरमा खोलेको पहिलो साइट याहु.कम थियो र सर्च बाकसमा त्यतिबेला एउटा सिरियल खेलेर चर्चित हलिउड अभिनेत्रीको नाम टाइप गरेका थियौं । Continue reading

खुस्सी छु !

happiness

दिनेश वाग्ले

हालैको एक साँझ चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किरहेको थिए । लाग्यो म निकै फुरूङ्ग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरेका अरु पनि खुसी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुसी हुनुहुन्छ ?’

कतिबेल कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुस्सी छु बा ।’ उनी मुस्काए ।

ओखलढुङ्गाको टोक्सेल गाविसका ६५ बर्षे मिनभवनमा ‘छोरा बुहारी नानी नातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् ।

‘कुनै चाह छैन ?’ मैले सोधे- ‘सबैकुराले सन्तुष्ट ?’

‘शान्ती भईदिए हुन्थ्यो’ खिलानाथले भने । माओवादीबाट चितवनस्थित शक्तिखोर शिविरमा रामहरी श्रेष्ठको हत्या तथा त्यसपछि कोटेश्वर क्षेत्रका विरोध कार्यक्रमको संकेत गर्दै थपे- ‘झन तहल्का मच्चेर गएको छ ।’ Continue reading

हामी सबै यात्री

Kathmandu Kakani Jhor Hiking (71)

काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्राको अन्तिमतिर झोर गाउँ मास्तिरबाट देखिएको काठमान्डू उपत्यका ।

दिनेश वाग्ले

‘यत्तिकै’ मेरा सहयात्रीले भने ।

‘यत्तिकै नि कोही घुम्न हिड्छ ?’ अब पनि ‘सही’ कारण नपाए झोक्किने संकेत दिदै उनले सोधे ।

‘अहिले भ्रमण बर्ष हो नि दाजू,’ सहयात्रीले भने– ‘त्यसैले घुम्न निस्केको ।’

दाजूले टाउको तल–माथी हल्लाए, कुरो बुझेजस्तो गरे र आफ्नो ‘किन हिडेको ?’ प्रश्नले थालेको छोटो लहरोलाई टुङ्ग्याए ।

एउटा यस्तो समाज जहाँ दुई–चार दिनका उकाली ओराली हिडाई लाखौ मानिसका दैनिक जीवनका सामान्य बाध्यता हुन् त्यहाँ कोही हिड्नैका लागि हिड्छन् भने उनीहरुलाई केही साताअघि ललितपुर भट्टेडाडाका गंगा थापाले गरेजस्तो प्रश्न सोधिनु अनौठो हुदैहोइन । बाध्यताबस् गरिने हुन् या स्वेच्छाले, यात्राहरुमा निश्चित समानाता हुन्छन् । सामान्यतः ती रमाइला बाहेक चुनौतीपूर्ण पनि हुन्छन् । आनन्द बाहेक दुःख यात्राहरुको अभिन्न अंग हो । त्यसैले काठमान्डूको ककनीदेखि घना शिवपुरी जङ्गलभित्र ऐसेलु र काफल खादै झोर महाङ्कालसम्मको गएसाता तीनजना सम्वादाताहरुले गरेको पदयात्रा होस या जापानी नाओको यामाजाकीले अप्रिल २०१०मा गरेको अन्तरिक्ष यात्रा, दुबैमा केही निश्चित समानता छन् ।

बाध्यताले हिड्नु एउटा कुरा तर संसारभरी मानिसहरु ‘विनाकामै’ घुम्नुलाई नै काम बनाएर यात्रामा निस्कन्छन् । आखिर उनीहरु किन त्यसो गर्छन् ? जवाफ व्यक्तिपिच्छे फरक हुनु अस्वभाविक होइन तर सबैका जवाफहरुलाई एकैछाउमा निचोर्ने हो भने तिनमा पनि केही समानाता झल्किन्छन् । केट हप्किन्स लेख्छन्– १) हामी केहीकुरा पाउन २) केहीकुराबाट टाढिन, र ३) कुनै अर्को व्यक्तिको लडहका कारण घुम्न निस्कन्छौं । केटका निचोडमा थपथाप र विस्तार गर्न सकिन्छ तर असहमत हुन सकिदैन ।

कतिपय मान्छेहरूसँग मेरा कुराकानी मैले या उनीहरूले गरेका ताजा यात्रा र हामी दुबैले जान चाहेका तर कसोकसो नभ्याएका नमिलेका गन्तव्यहरुको थकथकीपुर्ण बर्णनबाट शुरूहुन्छ । उनीहरुले जान चाहेका तर आफू गइसकेका गन्तव्यबारे शानपूर्वक (अँ, म त्यहाँ गएको छु भन्दै) धाक दिन कम्ति मज्जा आउदैन । ‘रारा’ धेरैले जान चाहेको त्यो सुन्दर नेपाली ताल मेरो सिफारिस सूचीमा पनि पहिलो स्थानमा पर्छ । केही साता अघि विवाह गरेका दुइ साथीमध्ये बेहुलाले ‘हनिमुनका लागि कहाँ जाँदाठिक होला ?’ भनि सोध्दा मैले रारा, मुस्ताङ्, खुम्बु र लाङटाङ्लाई जोड दिएको थिएँ । बीचका दुइ गन्तव्यबारे कुरा गर्दा चाहि म आफै ‘आहा, म पनि गएको छैन, नगई छाड्दिन’ भन्ने लवजमा थकथकी मान्दै थिए । रारा किनारमा बसेर पानीमा खुट्टा छुवाउदै मध्यान्हपछि उर्लिने छालहरु नियाल्दाजस्तै आनन्द आउछ लाङ्टाङ्को केन्जिङ् गुम्बा आसपास उभिएर चारैतिर (यादगर्नुस्, चारैतिर) हिमालै हिमाल देख्दा । खुम्बु क्षेत्रको कालापथ्थरबाट देखिने हिमाली श्रृंखला या मुक्तिनाथ वरीपरिको वातावरण मैले यहाँ मेचमा बसेर या अरुका कुरा सुनेर जति कल्पना गरेपनि त्यो वास्ताविकताको नजिक पुग्न सक्दैन । त्यसैले त हो, मान्छे आफै अनुभव गर्न चाहन्छ, आफै त्यहा पुग्न चाहन्छ, आफै देख्न चाहन्छ । त्यो न प्रतिनिधि खटाएर हुनसक्छ न टीभी हेरेर ।

यो लेख पहिलो पल्ट आजको कान्तिपुरको युवा परिशिष्ट हेल्लो शुक्रबारमा प्रकाशित भएको हो । बाँकी यहाँ छ । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ  क्लिके हुन्छ 

फुटबल फेसबुकको भित्तोमा

facebook football_hello_friday

हेल्लो शुक्रबार: ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले तीन गोल ठोकेपछि खेल पूरै एकपक्षीय बनेकाले अरुचि जाग्दै थियो । रोमान्च थप्न अफ्रिकी टोलीले गोल फर्काउनैपर्छ भन्ने चाहना थियो । ड्रोग्बाले पनि एक हानिहाले । अनि ब्राजिलको परम्परागत समर्थक मैले टाइप गरेँ ट्विट्टरमा-GOOOOOOAAAAAAALLLLLLLL!!!!’ (इन्टरनेटमा ठूला रोमन अक्षरले चिच्याएको बुझाउँछ ।) त्यो ‘चिच्याहट’ तत्कालै ट्विट्टर र त्यसमार्फत फेसबुकका भँगालाहरूमा बग्दै सिद्धान्ततः लाखौं मानिसहरूका कम्प्युटर स्क्रृनमा देखापर्‍यो ।

फुटबल इतिहासमा हरेक विश्वकप कोशेढुङ्गा हुन्छ । करोडौं दर्शक उच्चाल्ने प्रदर्शन गर्ने खेलाडीहरूले एकअर्कालाई छक्याउँदै गोल गरेको या पेनाल्टी नछिराएको दृश्यबारे मानिसहरूले वर्षौं कुरा गर्छन् । यसपालीको विश्वकपचाहिँ ती सबै कुराबाहेक भुभुजेलाबाट चिनिने हो कि फेसबुक/ट्विट्टरबाट, म निश्चित भइसकेको छैन । भुभुजेला बजाउने दर्शकले पूरै रंगशालालाई एउटा ठूलो घार बनाइदिएका छन्, मानौं ती रिसाएका मौरी हुन् । उनीहरूको त्यो भुनभुनाहटले संसारभरिका थुप्रै दर्शकलाई दिक्क पारेको छ भने कतिपयले ‘त्यो अफ्रिकी फुटबल उत्साहको परम्परा’ भन्दै समर्थन गरेका छन् । रंगशालामा भुभुजेला प्रतिबन्ध गर्न फिफालाई अनुरोध गर्दै प्रतियोगिताको तेस्रो दिन मैले ट्विटेपछि बेलायतको योर्कमा बसेर वातावरण तथा राजनीतिमा पीएचडी भर्खरै सिध्याएका ललितपुरका महेश पौड्याल (twitter.com/mpoudyal)ले ट्विटे- ‘ओहो, मलाई भुभुजेला खुब मनपर्छ । खेल हेर्दा पृष्ठभूमिमा त्यो रमाइलो भुनभुनाहट ।’

football the facebook wall Kantipur

कान्तिपुर विचार पृष्ठ: ठुलो पार्न क्लिके हुन्छ

धन्यवाद ट्विट्टर र फेसबुकजस्ता सामाजिक सञ्जाल साइट (साससा) हरूलाई जसले संसारलाई खुम्च्याएर यति सानो पारिदिएका छन्, मानौं योर्क, दिल्ली र काठमाडौंका वासिन्दा एउटै कोठामा गफिँदै विश्वकप हेरिरहेका छन् । तिनले एकै समयमा एउटै बल (एडिडास कम्पनीले बनाएको ‘जाबुलानी’), एउटै खेलाडी (मानौं मेस्सी) र एउटै आवाज (भुभुजेला) देखिरहेका/सुनिरहेका हुन्छन् । तिनका प्रतिक्रियाहरू एउटै ठाउँ (ट्विट्टर र फेसबुकका भँगालो) मा आइरहेका हुन्छन् ।

‘नेपालेइडियट’ (twitter.com/nepaleeidiot) उपनामका नेपाली युवक भारतको कुनै सहरमा काम गर्छन्, विश्वकपका हरेकजसो म्याच हेर्छन् र तत्क्षण लागेको कुरा ट्विट्छन् । ‘नेपालबाट टाढा आफ्नो कोठामा एक्लै (फुटबल हेर्दा लागेका कुरा साझेदारी गर्न पाएकोमा) ट्विट्टरलाई धन्यवाद’, उनले एकदिन ट्विटे ।

वेब २.० भनिने अन्तरक्रियात्मक इन्टरनेटको जमानामा भएको यो पहिलो विश्वकप हो । १९९० को दशकको अन्त्यतिर चित्रसहितको इन्टरनेट ब्राउजिङ आए पनि २००० सम्म काठमाडौंमा त्यो केही अफिस या साइबर क्याफेमै सीमित भयो । २००२ को विश्वकपबारे नेपालीहरूले इमेलमा आफ्ना भावना साटे । २००६ मा फेसबुक अमेरिकामै सीमित थियो- कलेजमा । ट्विट्टर सुरु भएकै थिएन । धेरैजसो नेपाली तन्नेरी माइस्पेस र हाइफाइभमा हुन्थ्ये, तर अहिलेजस्तो विश्वव्यापी चाप साससाहरूमा थिएन ।

अहिले सबैजसो साससाले फुटबल केन्दि्रत पृष्ठ बनाएका छन्, प्रशंसकहरूलाई आफूमा बाँधिराख्न । ट्विट्टरको चित्ताकर्षक विश्वकप पेजमा खेल हुँदै गर्दा दर्शकले तत्क्षण गरेका ट्विटहरू त्यहाँ सलल बग्छन् । ट्विटहरूको त्यो बहावमा खेलप्रति संसारको प्रतिक्रिया झल्किन्छ । Continue reading

बनारसी संस्कृत

varanasi sanskrit students of nepal

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

ह्वाईट फिल्ड र मल्पी जस्ता नाम भएका काठमान्डूका अंग्रेजी स्कुलबाट एसएलसी र ए लेभल गर्ने, नेपाली अप्ठेरो ठान्ने र खुला सफ्वटेयर आन्दोलनमा रुचिहुने एउटा युवकमा अचेल संस्कृत पढ्ने भुत सवार भएको छ । इन्टरनेट खोतल्दै गर्दा एकदिन ‘कृत्तिम बौद्धिकता’ र संस्कृत भाषाबारे अमेरिकी अन्तरिक्ष संस्था नासाका एक अनुसन्धाताको रिपोर्ट पढेपछि उज्ज्वल लामिछानेको मन संस्कृतमय भएको थियो । संस्कृत सिक्न उपत्यकामा ठाउ फेला पार्न नसकेपछि एकदिन उसले इन्टरेनट गफमा मसँग भन्यो– ‘विश्वभाषा क्याम्पस गए, त्यहा पनि नेपालीलाई चाहि संस्कृत नसिकाउने रे । नेपालमै संस्कृत पढ्न किन यति गाह्रो ?’

उत्तर शायद माओवादीसँग छ कि ? जनताका लागि रात दिन खटिरेहका विचरा कमरेडहरुले ठ्याक्कै राणाहरुकै जस्तो ‘जनताले पढे हामीभन्दा जान्ने हुन्छन्’ शैलीमा नेपालीलाई सामान्यतः शिक्षा विशेषतः संस्कृतबाट बन्चित गराएका हुन् । धन्न उनीहरुले नेपाललाई पुरै तालिवानीकृत गराइसकेका छैनन्, त्यसैले नेपालमा सरकारी विद्यालयहरुमा संस्कृत हटाइएपनि त्यही सिकाउन भनि केही गुरुकुल र अन्य शिक्षालयहरु चलिरहेका छन् । तैपनि संस्कृतको ज्ञान लिन भारतको बनारस पुग्ने नेपालीहरुको संख्या घटेको छैन ।

‘देश समाज छाडेर यहा“ पढ्न आउदा महान दुख लाग्छ,’ राजु घिमिरेले भने– ‘देशमा परिवर्तन भइरहेको छ, साथ दिन सकिएको छैन ।  देशमा (शिक्षाका लागि) वातावरण भएन । शिक्षाकै लागि विदेशिनु नपरोस ।’ बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आचार्य (स्नातकोत्तर) का यी २४ बर्षे विद्यार्थीलाई मैले हालै विश्वविद्यँलय परिसरकै अन्र्तराष्ट्रिय होस्टलको छतमा भेट्टाएको थिए । उनीसँगै नेपालका विभिन्न भागका केही युवक थिए जो विश्वविद्यालयमै उत्तर मध्यमा (प्लस टू) र शास्त्री (स्नातक) देखि विद्यँवारीधी सम्मका तहमा पढ्छन् । उनीहरुका लागि काशीमा संस्कृत अध्ययन ज्ञान पहिल्याउने माध्यम र आत्मसन्तुष्टिको कारक भएको छ ।

‘यहाँ जानेर नेपालमा केही काम गर्न सकिन्छ कि भन्ने आश छ,’ शास्त्रीका विद्यार्थी सुदर्शन अधिकारी, २१, ले भने । संस्कृतमा सबै ज्ञान छ– भौतिक, आधुनिक देखि आध्यात्मिक,’ शास्त्रीकै लक्ष्मीप्रसाद गौत्तम, २०, ले थपे– ‘दाईहरु पनि बनारस पढेर गएकोले म यहाँ आएँ ।’

फोहोरी, होहल्लापूर्ण र अव्यवस्थित सहर बनारस पढ्नका लागि विद्यार्थीको अन्तिम छनोट हुनुपर्ने हो । यहा“का विख्यात गंगा घाट, हराइने गल्लीहरु र जोगिहरुसहितका धार्मिक गतिविधि विश्वभरका पर्यटकका लागि आकर्षण बनिरहेका छन् । तर जति साधु महन्त छन् त्यो भन्दा बढी यहा“ फटाहाहरु भएको संकेत कुनै पनि क्षण पाउन सकिन्छ । विद्यार्थीहरुलाई त्यसको परवाह छैन । उनीहरु ठान्छन्, देख्दा जस्तो देखिएपनि बनारस अपरम्पार छ । ‘बनारसको महिमा वाणीको विषय होइन अनुभव गर्ने कुरा हो,’ सिक्किमका केशव पोखरेलले भने– ‘हामी दिल्ली, मुम्बई किन गएनौं ? शिक्षा का कुनै पनि क्षेत्रमा बनारस अगाडी छ । मान्छे यहाँ पुरै विश्वको अनुभव गर्न आउछ । गंगा घाटतिर हजारौ विदेशी देखिन्छन्, गल्लीमा प्रत्येक मान्छे आफैमा मस्त भेटिन्छन्, कुनै घाटमा दिनभरी मान्छे जलिरहेका हुन्छन् । बर्षामा बनारस झन् खत्तम, गन्धकी देखिन्छ तर बाहिरी सुन्दरताले केही हुदैन ।’

नेपाली लगायत नेपालका थुप्रै भाषाहरुको जननी हो संस्कृत जसको प्रभाव हाम्रो समाजमा, केशवका अनुसार, मान्छे जन्मेदेखि मरेसम्म (‘नामाकरणदेखि अन्त्येष्ठी’) रहन्छ । पूर्वीय ज्ञानको भन्डार यही भाषामा लेखिएको छ जसप्रति हालैका केही दशकहरुमा भौतिकताबाट आजित भएको पश्चिमा समाजको चासो बढीरहेको छ । तर जनताको चेतनास्तर शुन्यमै राखेर आफ्ना बच्चालाई मात्र विदेशी विश्वविद्यालयमा पढाउन रुचाउने क्रान्तिकारी कमरेडहरुले संस्कृतलाई कर्मकान्डस“ग जोड्दै त्यो विरुद्ध आन्दोलन छेडेपछि संस्कृतले नेपालमा चुनौती खेपेको हो । ‘दुःख लाग्छ वास्तवमा,’ सम्पूर्णनन्दमै ‘न्याय दर्शन’मा पीएचडी गरिरहेका विश्वनाथ धिताल, २९, ले भने– ‘प्राय बाहुनले मात्र पढ्ने भएकाले त्यसो भनिएको हुनसक्छ तर संस्कृत कर्मकान्ड मात्र होइन । यो भाषा मात्र नभएर व्यक्तित्व विकाशका सहयोगी पनि हो । यसले (मान्छेलाई) आध्यात्मिकता तर्फ लैजान्छ । हुन त, खान लाउन समश्या हुनेलाई आध्यात्मिकता के काम । पेट भरिएपछि मात्र विचार गर्ने न हो । संस्कृत विचार गर्ने भाषा हो, दृष्टिकोण बनाउने भाषा । तर देशको गरिवी र राजनीतिकरणको मारमा पर्यो यो ।’

आधुनिकताका नाममा सामाजिक परम्परा भत्किइरहेको र पश्चिमाकरण बढीरहेको अहिलेको अवस्थामा संस्कृतलाई ‘पुरातनवादी’ प्रबृत्तीसँग पनि जोडिने गरेको छ जसलाई विद्यार्थीहरु अस्विकार गर्छन् । अहिलेको प्रतिस्पर्धी जमानामा संस्कृत पढ्दा बेरोजगार हुनसकिने अनुमानलाई पनि दरिलो ठान्दैनन् । ‘संस्कृतको राम्रो ज्ञान भएको मान्छे बिनाकाम बसेको रेकर्ड छैन,’ केशवले ठोकुवा गरे । ‘राम्रो पढे पैसा कमाउन जसरी पनि सकिन्छ,’ राजुले भने । आचार्य तहका भास्कर शर्मा, २२, ले चाहि संस्कृतसँगै कम्प्युटर हार्डवेयर मर्मतको काम पनि सिकिरहेका छन् जसले, उनको आशा छ, जीविकोपार्जनमा दोहोरो सहयोग पुर्याउने छ । पक्कै, संस्कृत र कम्प्युटरको संयोजन भास्करले मात्र गराएका होइनन्, लाग्छ, यो संसारभरी फैलिरहेको छ ।

‘संस्कृतबारे स्कुलमै पनि सुनेको हुनसक्छु तर इन्टरनेटमा कम्प्युटर चलाउनका लागि संस्कृत नै सबैभन्दा उत्कृष्ट भाषा हुनसक्ने पढेपछि त्यो जान्ने रहर पलायो,’ उज्जवलले जीटकमा मसँग भने । ‘नेपाली त पढ्न र लेख्न नरुचाउने मेरालागि संस्कृत एउटा कठिन छनोट भएको छ तर यसको सम्पूर्णताले मलाई तान्यो,’ १९ बर्षेले थपे । कम्प्युटर प्रोग्रामिक भाषाको व्याकरण मानिने ‘बाकस–नौर फर्म’ जत्तिकै शक्तिशाली संस्कृत पाणिनी व्याकरण भएको र पछिल्लोमा अघिल्लका जटिलता पनि नभएकोले आफू संस्कृतप्रति आकर्षित भएको उनले बताए । पाणिनी व्याकरणले जटिल गणितीय समश्याहरुलाई पनि सम्बोधन गर्ने क्षमता राखेको कतिपय पश्चिमा गणितिज्ञहरुले उल्लेख गरेका छन् । दुखको कुरा माओले आफ्नो रातो कितावमा त्यो संस्कृतको बैज्ञानिक पक्षबारे उल्लेख गर्न विर्सिए ।

अहिले कम्प्युटिङ् जगतमा चुनौतीको विषय बनेको छ, ‘स्पिच रिकग्नीसन’ । अङ्ग्रेजी उच्चारणलाई जति प्रयास गर्दा पनि कम्प्युटरले शतप्रतिसत चिन्न सकेको छैन तर देवनागरी लिपीको र कम्प्युटरका लागि सहिजो व्याकरण भएको संस्कृतलाई अग्रेजीभन्दा सजिलै चिन्न सक्ने सम्भावनाले पनि आफूलाई आकर्षित गरेको उज्ज्वलले बताए । विश्वभाषामा विदेशीलाई मात्र पढाईने बताइएपछि उनी नीजि शिक्षक खोज्न थाले जो मिलिछाड्यो । अहिले उनी हरेक शनिवार काठमान्डूमा एकजना शिक्षकले अनौपचारिकरुपमा चलाएको ‘श्वाध्याशाला’मा संस्कृत सिकिरहेका छन् । ‘म अहिले संस्कृतको शुरुवाती तहमै छु,’ उनले भने– ‘तर मलाई लाग्छ यो बर्ष म संस्कृतलाई मेरो दैनिक गफगाफको भाषा बनाउने छु र संस्कृत सिक्ने तरिका र अनुभव मेरो ब्लगमा राख्ने छु ।’

हेर्दा लाग्छ, सबैकुरा ठिकै छ अर्थात ‘अल इल वेल ।’ वा, उज्वलको ट्विट सापटी लिउँ जसले अहिलेको हिट हिन्दी फिल्म ‘थ्रि इडियट्स’को त्यो प्रख्यात वाक्यलाई संस्कृतमा भनेको छ– ‘सर्वमस्ति सुष्ठु ।’

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

सीए बन्न दिल्लीमा

nepali students of ca in delhi

दिनेश वाग्ले

हालैको एक रात पसिनाले निथ्रुक्क विज्ञान अधिकारी पढाईबाट १० बजे कोठामा फर्केका थिए। दिल्लीको लक्ष्मीनगरस्थित तीन नम्बर गल्लीको एउटा घरको सबैभन्दा माथिल्लो चौथो तल्लामा छिरेपछि उनले काठमान्डू बस्ने परिवार सम्भि्कए। ‘घरमा मान्छे सुतिसके होलान्,’ १९ बर्षेले भने– ‘हामी भने भर्खर फर्केका छौं।’

‘हामी’ अर्थात सहवासी १९ बर्षेहरु मिलन राई, शिशिर भट्टराई, प्रतीक सापकोटा र १८ बर्षे बेल थापा जो सहपाठी पनि हुन्। नेपालको विभिन्न भागका यीनीहरु अन्य थुप्रै नेपाली तन्नेरीझैं चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने लक्ष्य लिएर भारतीय राजधानी आएका हुन्। तीन साता अघि बसबाट दिल्ली उत्रिएका उनीहरुले अबका चार बर्ष यहाँको प्रचन्ड गर्मी, निर्दयी जाडो, छिचोली नसक्नुको भिड र देख्दै दिक्क लाग्ने कितावी ठेलीहरुको सामना गर्नुपर्नेछ। बसाईको अन्त्यसम्ममा उनीहरुले यमुना किनारको त्यो बाक्लो बस्तिका थुप्रै गल्ली चाहर्दै जनकपुरे तर्कारी विक्रेतासँग लौका किन्ने छन्, गुल्मेलीको ‘एभरेस्ट हट’मा मम खानेछन्, समोसाको आलुझैं कोचिएका मान्छेहरुलिएर हिडेका बस र वातानुकुलित मेट्रोमा अनगिन्तिपटक यात्रा गर्नेछन्। अनि, सबैभन्दा महत्वपूर्ण, सीएको सर्टिफिकेट अठ्याउने छन्।

nepali students of ca in delhi

‘वेलकम टू द वर्ल्ड अफ हेल कल्ड सीए (सीए नामको नर्कमा स्वागत छ)’ कठिन पाठ्यक्रम र त्यसमाथि विजय पाउन खर्चिनुपर्ने समयलाई इगिंत गर्दै पुराना विद्यार्थीले नयाँलाई यस्तै एसएमएसबाट स्वागत गर्छन्– ‘हास्न बिर्स अब।’ शिक्षकले पनि सम्भावित व्यस्तताबारे सचेत तुल्याउछन्। अर्न्तवार्ता लिइएको रात यमुना पारीको आइटीओ स्थित एउटा अडिटोरियममा सञ्चालित कक्षामा पहिलोपल्ट हाजिर भएर फर्केका विज्ञानले भने– ‘सरले पनि ‘अब तुम फसे, तुम्हारी जवानी गई’ भन्नु भयो। टाइम चाहि बढी नै दिनुपर्छ यसलाई।’ u000aकक्षाको पहिलो दिन बेलले हत्तपत्त विर्सने छैनन्। ‘२०/२५ जनाको ग्रूपमा पढेको बानी,’ नवलपरासीमा स्कुल, काठमान्डूमा प्लस टू, र बाँकी साथीहरुलाई भेटेको ठाउँ नयाँ बानेश्वरस्थित प्राइम चार्टर्ड एकेडेमीमा ६ महिनाको कमन प्रोफिसिएन्सी टेस्ट (सीपीटी) कोर्स गरेका बेलले भने– ‘यहाँ दुई तीन सयलाई एउटै हलमा देख्दा अचम्म लाग्यो। सरले माइकिङ् गरेर पढाउनु भयो, प्रोजेक्टरमा।’ प्रतीकले भाषाको समश्या व्यहोरे। ‘२० प्रतिशत हिन्दी बुझिएन,’ उनले भने– ‘सरले त्यस्ता शब्द बोल्ने जो हिन्दी फिल्ममा सुनिएको थिएन।’ Continue reading