Tag Archives: अर्थतन्त्र

विहार अब त्यस्तो छैन

bihar_testo_chaina_31jan_kantipur

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

गए साता काठमान्डूमा भारतीय राजदूतले त्यही गरे जो उनले गर्नुपर्ने हो- आथितेय मुलुकको आन्तरिक मामिलामा अनावश्यक चासो दिनुको साटो आफ्नो देशको प्रवद्र्धन गर्ने । ‘केही मानिस नेपालको विहारीकरण हुने कुरा गर्छन्,’ २६ जनवरीका दिन भारतीय गणतन्त्र दिवस मनाउन आयोजित कार्यक्रममा राकेश सुदले भनेछन्– ‘तर बिहारलाई हेर्नुहोस, आर्थिक बृद्धि ११ प्रतिशत नाघेको छ ।’ भारतसँगको बढ्दो व्यापार घाटामा नेपाललाई दोष लगाउदै राजदूतले उत्पादनै नगरे बजार काम नलाग्ने तर्क गरे ।

उनको विश्लेषण सही हुन सक्छ । तर ‘विहारी-शैलीको गणतन्त्र चाहिदैन’ भन्दै कराउने पुष्पकमल दाहाल र उनको माओवादी ग्याङ्ले त्यसलाई कसरी लिए होलान् ?

माओवादी मात्र के कुरा ? दक्षिण एसियामा धेरैले बिहार भन्नासाथ कानून नभएको, गरिव र अविकशित बुझ्छन् । नेपालको कुरै छाडौं जहाँ ‘विहारी’ले घृणा जनाउछ, भारतमै पनि विहार (री) शब्दले बेइज्जती र खसाउने अर्थ दिएको मैले देखेको छु । वितेको बर्षमा मैले भारतमा थुप्रै बिहारीहरु भेट्टाए जसमध्ये केही अपवाद बाहेकले आफूलाई विहारी भनि चिनाउन हिच्किचाए । उनीहरु खराव या कम क्षमतावान थिएनन् । केही त प्रखर, मित्रवत र सूसूचित थिए । समश्या खासमा विहाराको छविसँग थियो जो त्यहा सन् २००४ सम्म शासन गर्ने राजनीतिज्ञहरुले बनाएका थिए । त्यसयता विहारमा नितिष कुमार मुख्य मन्त्री भएका छन् र खियालागेको त्यो छवि विस्तारै सुधारिदै छ ।

सुदले गौरवसाथ उल्लेख गरेको ११ प्रतिशतको बृद्धीलाई भारतमै राम्रोसँग सूसूचित आर्थिक स्तम्भकारहरुले शंकाले हेरेका छन् तर एउटा कुरा पक्का हो विहारले प्रगती गरिरहेको छ । ‘मैले महसुस गरेको सबैभन्दा ठूलो परिवर्तन सुरक्षामा आएको सुधार हो,’ कतिपयले भनेको मैले सुनेको छु । इकोनोमिक टाइम्समा हालै प्रकाशित एउटा टिप्पणीले विहारमा अपहरणका संख्या घटेको उल्लेख गर्दै अपहरणकारी र जवरजस्ती पैसा असुल्नेहरुको डर अचेल हराएको उल्लेख गरेको छ । वितेका चार बर्षमा जम्मा ३ सय १७ अपहरणका घट्ना दर्ता भए जवकी त्यो भन्दा अघिका चार बर्षमा एक हजार तीन सय ९३ वटा भएका थिए ।

द्रुत न्यायिक प्रकृयाले २००६ देखि सेप्टेम्बर २००९ सम्ममा ३८ हजार ८ सय २४ ले सजाय पाएका छन् जसमा मोहम्मद शहाबुद्धिन लगायतका राजनीतिक सम्पर्क भएका डन र उनीहरुका सहयोगी पनि छन् । राष्ट्रिय जनता दलका पूर्व सासद सहाबुद्धिनले कुनै जमानामा आफूलाई पक्रन राज्यका प्रहरी प्रमुखलाई टिभीबाटै चुनौती दिएका थिए । अचेल विहारी सडकहरुमा बन्दुकधारी डनले हैन प्रहरीले पेट्रोल गर्छन् । के त्यो अग्रगमनको महान फड्को होइन, विशेष गरी हाम्रो दृष्टिकोणबाट ? दाहाल र उनका डनहरुले अर्कोपटक ‘विहारी-शैलीको गणतन्त्र’ बारे टिप्पणी गर्दा विहारको पछिल्लो अवस्थाबारे सूचना लिन नविर्सिउन् भन्ने मेरो चाहना हो । सरकारको नेतृत्व गर्दा सेनापतिलाई हटाउन खोज्नु बाहेक माओवादीले कुनै राजमार्गको उद्घाटन सम्म गरे ? नेपालमा माओवादी खुला राजनीतिमा आएका गत चार बर्षमा विहारमा ६ हजार ८ सय किलोमिटर सडक र १६ सय पुल/कल्भर्ट बने ।

माओवादीले नेपालमा गुन्डागर्दी राजनीतिलाई निरन्तरता दिने हो भने एकदिन मानिसहरुले ‘नेपाली-शैलीको क्रान्ति चाहिदैन’ भन्न थाल्नेछन् । त्यो दिन नेपालीहरुले आफैस“ग लजाउनु पर्ने छ । भारतमा बस्ने गरिव नेपालीहरुका लागि माओवादीहरुले अहिल्यै समश्या सिर्जना गराइदिएका छन् । हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतीयहरुलाई भन्नु ठिक हो तर कुनै पनि मुलुकको झन्डाको सार्वजनिकरुपमा अपमान गर्नु अन्र्तराष्ट्रिय सम्बन्धमा सुहाउदो कुरा होइन । त्यो शुद्ध मुर्खता हो । माओवादीहरुलाई देशको राष्ट्रिय झन्डाको महत्व थाहा नहुन सक्छ तर विश्वभरीका होसभएका मानिसहरुका लागि त्यो राष्ट्रिय संकेतले गम्भीर महत्व राख्छ । माओवादीहरुले भारतीय झन्डाको, त्यो पनि भारतीय गणतन्त्र दिवसका दिन, बेइज्जत गरिदिदा थुप्रै भारतीयहरु रिसाएका छन् । माओवादीको त्यो कामको बदला लिनेजस्तो घट्नामा सीमामा कतिपय नेपालीहरुलाई भारतीय सुरक्षाकर्मीले दुःखदिएका रिपोर्टहरु आउन थालिसकेका छन् ।

बिहारको पुनर्जागरणमा भारतीय केन्द्रिय सरकारले उपलब्ध गराएको पैसाले महत्वपूर्ण भूमिका खेलेको छ तर यसको सफलताको कथाले के भन्छ भने नेपाली राजनीतिक नेतृत्वले साना भन्दा साना कुरामा सडक तताउन छाडेर विकाशनिर्माणमा ध्यान केन्द्रित गर्ने हो भने नेपाललाई पनि प्रगति गर्ने केही बर्ष मात्र लाग्ने छ, केही दशक होइन । पैसाको त समश्यै हैन । हाम्रो समश्या त के भने हाम्रँ राजनीतिक नेताहरु इगोपूर्ण सडक संघर्षमा सधै व्यस्त भइरहन्छन् जवकी आर्थिक विकाशको मुद्धा पछाडी ठेलिन्छ । उनीहरुका लागि एउटा सिपाईलाई जागिरबाट निकाल्नु सडक बनाउनु भन्दा ठूलो कुरा हुन्छ । अनि सुदहरुले दाह्री मुसार्दै खुच्चिङ् नगरे कसले गर्छन् ?

भारतीय सोच
अघिल्लो साता जयपुर साहित्य महोत्सवमा भागलिन राजस्थानी राजधानी पुगेको थिए । रमाइलो थियो । कितावहरु कमै देखिए किनकी त्यो पुस्तक महोत्सव थिएन । लेखकहरुले कितावकैमात्र कुरा गरेनन्, कितावले सम्बोधन गर्ने मुद्धाहरुको छलफल गरे । कतिपय सत्र सिधै सहित्यसँग सम्बन्धित थिएनन तर छलफलकर्ताहरु लेखक भएपछि ‘अप्ठेरो छिमेकमा’ जस्ता सत्र पनि साहित्यक बने ।

हिन्दू दैनिकका भारतीय पत्रकार सिद्धार्थ बरदराजनले मध्यस्थता गरेको उल्लेखित सत्रमा सहभागीहरुले दक्षिण एसियाली समश्याबारे विश्लेषण गरे । नेपालको प्रतिनिधित्व थिएन तर छफलमा उम्दा निस्केकी पाकिस्तानी मानव अधिकार कार्यकर्ता आश्मा जाहागिरले नेपालको प्रशंग उल्लेख गरिन् । अर्का सहभागी श्याम शरणले अप्ठेरोमान्दै हास्नुपर्ने गरी जहाँगिरले भनिन्- ‘२००६ को जनआन्दोलन-२ मा तानाशाही राजालाई समर्थन गरिरहेको भारतले तवमात्र ठाउँ बदल्यो जव (उसले सडकमा स्थिती अर्को भएको देख्यो ।)’ नेपालमा शाही शासन हुदाताका भारतका विदेश सचिव र त्यसअघि नेपालका लागि राजदूत शरणले भारतका सबै निर्णयहरु सही नहुने स्पष्टोक्ति दिए ।

भारतीयहरुको समश्या के भने उनीहरु यो क्षेत्रका सबै समश्याका लागि छिमेकीलाई दोष दिन्छन् र त्यसमा आफ्नो योगदान तथा आफ्नै देशभित्र मणीपुर र आसामदेखि काश्मिर र तेलङ्गनासम्मका समश्या भुसुक्कै विर्सिन्छन् । थुप्रै अरु भारतीय झैं त्यो सत्रमा शरण र सिद्धार्थ यसरी प्रस्तुत भए मानौ भारतभन्दा शान्त मुलुक संसारमै कही छैन र पाकिस्तन, नेपाल, श्रीलंका र बंगालदेशमै मात्र कल्पनै गर्न नसकिने समश्या छन् । भारतबाहेकका सहभागीको कुरा सुन्दा लाग्यो, भारतप्रति उसका छिमेकीहरुको गुनासो प्राय उस्तै छ ।

यो लेख पहिलो पल्ट आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

यो लेखको पहिलो अ‌ङ्श अङ्ग्रेजीमा: Nepali Maoists and Bihari Republic

अर्को लिङ्क: Jaipur Literature Festival 2010

माओवादी-दाता अन्तर्क्रिया: बहुदल र आर्थिक नीतिमा शंका नगर्न माओवादी आग्रह

तस्बिर श्रुती श्रेष्ट मार्फत कान्तिपुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

काठमाडौं, वैशाख १२ – माओवादी अध्यक्ष प्रचण्डले शान्ति, बहुदल तथा आर्थिक विकासबारे आफ्नो पार्टीको प्रतिबद्धतामा शंका नगर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

संविधानसभाबाट निर्वाचनबाट ठूलो दलमा स्थापित माओवादी नेतृत्वसँग बिहीबार नेपालस्थित राष्ट्रसंघीय कार्यालयद्वारा आयोजित छलफलमा प्रचण्डले विदेशी मित्रहरूलाई ‘आफ्नै नीतिमा पुनर्विचार गर्न’ आग्रहसमेत गरे ।

‘विश्वव्यापीकरण, निजीकरण प्रक्रिया हामी बुझ्छौं,’ छलफलपछि प्रचण्डले भने- ‘हामीले चाहेको मिश्रति र संक्रमणकालीन अर्थतन्त्र कस्तो हुनुपर्छ, स्वदेशी/विदेशी लगानी कसरी प्रवर्द्धन गर्न चाहन्छौं भन्ने स्पष्ट पार्ने कोसिस गर्‍यौं ।’

कूटनीतिक नियोगका अधिकारी, दातृ निकाय र राष्ट्रसंघीय निकायका प्रमुखहरूसँग प्रचण्डको यो पहिलो संयुक्त भेट थियो । त्यहाँ अमेरिकी राजदूत न्यान्सी पावेल पनि उपस्थित थिइन् । कतिपयले आफूहरूलाई ‘यान्त्रिक र अलि जड’ ठान्ने उल्लेख गर्दै प्रचण्डले त्यो सोच गलत भएको र आफूहरू २१ औ शताब्दी अनुकूल चल्ने बताए ।

उनले पश्चिमी देशमा माओवादी पार्टीबारे भएका ‘थुप्रै अस्पष्टता’ छलफलमा प्रस्ट्याएको बताए ।

विदेशी मित्रहरूले संविधानसभामा बहुमत नपाएको पृष्ठभूमीमा सरकारको नेतृत्व गर्दा माओवादीले आफ्ना एजेन्डा कसरी कार्यान्वयन गर्नेछ भन्ने जान्न चाहेका थिए । ‘प्रचण्डले सहमतिअनुसार काम गछौं भने,’ बैठकमा सहभागी संस्थाका एक प्रतिनिधिले कान्तिपुरसँग भने । ‘माओवादीले गर्ने भनेको ‘वैज्ञानिक’ भूमि सुधार र स्थानीय निकायकाबारे पनि प्रश्न उठेका थिए,’ ती सहभागीले भने- ‘राजनीतिक सहमतिमा निर्णय गरिने उनीहरूले बताए ।’ Continue reading