Tag Archives: किताब

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी

थुप्रै महिनाअघि द प्रिजनर अफ काठमान्डू पढ्दा म भेटिने हरेकजसोसँग बडो उत्साहित र उत्तेजित हुँदै यो किताबको उल्लेख गर्थेँ । नेपाली इतिहासको एउटा महत्वपूर्ण पाटो यो पुस्तकले समेटेको छ । कतिपय धट्नाक्रम नेपाली पाठककालागि नौला छैनन् तर खुबै पठनीय छन् । सरल भाषामा सजीव वर्णन गरिएका छन् एेतिहासिक क्षणहरू । यो पोस्तक भन्दा पहिल्यै हड्सनकाबारेमा थाहा नभएको होइन । नेपालका कतिपय एेतिहासिक दस्ताबेज उनले संकलन गरेर बेलायत पुर्याएको कुरा सु्निदै अाएको हो । तर त्यो सबै कसरी गरे विस्तृतमा थाहा पाउँदा म रोमान्चित भएँ । किताबपछि टुङ्गोमा पुगेँ हड्सन नेपाली इतिहासको एउटा कालखन्डको महत्वपूर्ण पात्र रहेछन् । मलाई “प्रिजनर” को प्रस्तुतिकरण सजिलो र सहज लाग्यो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂 

Enter your email address to follow this blog and receive notifications of new posts by email.

पुस्तकको समश्या, मलाई लागेको, यसमा अतीव कम नेपाली स्रोतहरू छन् । कथा पुरै ‘उता’बाट भनिएको छ । त्यो किन भयो, मैले अनुमान मात्र लगाउन सक्छु किनकी, अपसोच, मैले नेपालको इतिहास बताउने किताबहरू खासै पढेको छैन । त्यतिबेलाका घटनाको नेपाली इतिहासकारहरूले यथेष्ट अभिलेख नराखेर पो हो कि ? हड्सनले नेपालकाबारे जति सूचना र जानकारी बटुले त्यही ढङ्गमा नेपाली पक्षले उनकाबारे जानकारी नराखेकोले पो हो कि ? भीमसेन थापाकाबारे हड्सन र उनीभन्दा अघिल्ला ब्रिटिश रेजिडेन्ट एडवार्ड गार्डनरका टिप्पणी र दृष्टिकोणहरू मलाई रोचक र गजब लागे । पढ्दा साह्रै मज्जा अायो ।

गिरीश गिरीको किताब वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज । यसबारे मेरो प्रतिक्रिया पढ्न फोटोमा क्लिक गर्नुहोस् ।

पुस्तकमा हड्सन पुरै नायककारूपमा चित्रित छन् जसलाई मैले विनाप्रश्न स्वीकार्न सकिन । लेखक उनीप्रति पुरै नतमस्तक भएजस्तो लाग्छ । हड्सनका कमीकमजोरीहरूलाई पनि सकारात्मकताको घुम्टो अोडाइएको जस्तो भान हुन्छ । यसो पनि हुनसक्छ कि हड्सन साच्चै त्यस्तै असल व्यक्ति थिए । तर त्यस्तो हुन कठिन छ किनकी उनी त्यस्तो हुँदाहुन् त अौपचारिकरूपमा बिहे नगरेकी तर अाफ्ना सन्तानकी अामा अर्थात् अाफ्नी “पत्नी”लाई काठमान्डूमै छाडेर उनी नभाग्दा हुन् स्वदेश । पछि उनी नेपाल नजिकै दार्जिलिङ्गमा बस्दा पनि उनले ती महिलालाई लगेको या लाने प्रयास गरेको मैले देखिन ।

वितेका केही वर्ष हरेकदिन जसो हड्सनको फोटो भित्तामा देखेकाले हो वा हड्सनका २१ अौं शताब्दीका उत्तराधिकारीहरूसँग नजिकरहेर काम गरेकाले हो मलाई पुस्तक पढुन्जेल दुईसय वर्ष अघिका घटना चलचित्रजस्तो अाँखैमा झलझली भए । दुईसय वर्षअघि हड्सनले कसरी काम गर्थे भन्ने थाहा पाउँदा र उनको कार्यालयको अहिलेको स्थितिसँग तुलना गर्दा म रोमान्चित भएँ । एउटा पत्र पठाउनु कुन महाभारत हुन्थ्यो । अहिले इमेल पुरानो र ढिलो भइसक्यो, प्रत्यक्ष अनलाईन सदृश्य कुराकानीका अगाडि ।

त्यतिबेलाका बेलायती प्रतिनिधिको त्यतिबेलाको नेपाली राजनीतिमा हुने प्रभावबारे थाहा पाउँदा पनि म रोमान्चित भएँ । दूतावासको नेपाल राज्यसँगको सम्बन्धको पनि रमाइलो वर्णन पढ्दा म छक्क परेँ ।

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

शीर्षक मलाई बडो कल्पनाशील लाग्यो । काठमान्डूको कैदी । लेखक चार्ल्स एल्लेनले त्यसलाई अर्थ्याएका छन्, सुरूमै, त्यो शाब्दिक हैन लाक्षणिक हो भनेर । काठमान्डूले हड्सनलाई कैद गरेको हैन बरू काल नै त्यस्तै थियो । सहज अाउजाउ थिएन । काठमान्डू अाएपछि बेलायत वा ब्रिटिश इन्डियाको राजधानी कलकत्ता फर्किन ऋतु र स्वास्थ्यमा भरपर्नु पर्थ्यो । त्यतिबेलाको नेपाल सरकार र ब्रिटिश इन्डियाका प्रशासकले हड्सनका गतिविधिमा केही अंकुश लगाएका थिए तर मूलत उनी परिस्थितिका बन्दी थिए । अाफ्नै भाग्यका कैदी थिए । जीवनका २२ वर्ष नेपाल उपत्यकामा सीमित उनी त्यसैमा रमाएका थिए, तब न कलकत्तामा रहेका ब्रिटिश इन्डियाका गभर्नर जनरलले उनलाई काठमान्डूको ब्रिटिश दूतको पदबाट घोक्रयाउँदा पदावधी लम्ब्याउन हड्सनले मरिहत्ते गरेका थिए । विस्मयकर हैन त? अर्को कुरा काठमान्डूका त्यतिबेलाका ब्रिटिश दूत कलकत्तास्थिति ब्रटिश इन्डियाका लन्डननियुक्त उच्च प्रशासकबाट निर्देशित/नियन्त्रित हुन्थे भन्ने थाहा पाउँदा मलाई अचम्मै लाग्यो ।

किताब पढ्दा एउटा कुराले मलाई तोडले हान्यो । दुईसय वर्ष अगाडि नै कलकत्ता कति अघि रहेछ हाम्रो काठमान्डूभन्दा । बाहिरियाहरू अाउँदा नराम्रा कुराहरू ल्याए होलान् तर उनीहरूले विचार र ज्ञान पनि त ल्याए भारतमा । कलकत्तामा त्यतिबेलै फोर्ट विलियम कलेज जस्ता शैक्षिक संरचना स्थापित थिए । कला साहित्यबारे जोडदार अनुसन्धान र विवेचना हुन्थ्यो । त्यो हेरिकन काठमान्डू त ढुङ्गे युगमा थियो भन्ने लाग्यो मलाई । त्यसको झन्डै एक सय ६० वर्षपछि म जन्मिएका नेपाली पहाडहरू झन् कुन हालमा थिए होलान् भनि कल्पिदा म दिक्क भएँ ।

किताब सिध्याउँदा मैले अाफूलाई अलि खिन्न अवस्थामा पाएँ । मुख्यत: हड्सनप्रति सहानुभूत भएको अवस्थामा किताबले मलाई छाड्यो ।

यो किताब मैले फेरि पढ्ने विचार गरेको छु ।

  • अर्कोपाली म निर्वाणकहर काबारेमा प्रतिक्रिया दिनेछु ।

यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।

वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज

गिरीश गिरीको किताब वीरगन्ज

किताबको अावरणमा उल्लेख गरिएअनुसार वीरगन्ज  गिरीश गिरीको सहरको कथा हो । वर्णनले अहिलेको नेपालकै हालखबर उतारिदिन्छ र पो यी तीनसय पन्ना सबैले पढ्नुपर्ने दस्तावेज बनेका छन् ।

वीरगन्ज  अगि दक्षिण नेपालको यो सानो पुरसँग म खासै परिचित थिइन । कहिलेकाँही समाचार कक्षमा वीरगन्जका पत्रकार र त्यहाँको पत्रकारितालाई त्यो नगरको व्यापारिक हैसियतसँग जोडेर गरिएका विनोदपूर्ण टिप्पणी मैले सुनेको थिएँ । तर नगरको खास महत्वचाहिँ गतवर्ष ठ्याक्कै यति नै बेला अनुभव भयो जब म काठमान्डूमा यताउता निस्कनुपराे कि साइकलमै कुदिहाल्थेँ ।

“देखा, नभन्” तरिका अपनाइएका लेखन प्रस्तुतीहरू विशेष स्वादिला हुन्छन् । कसैले लगाएको लुगा, खाएको खाना, बोलेको लवज र कसैको अनुहार या हातका अौलाहरूको अवस्था इमानदार वर्णन मार्फत शब्दमा उतार्ने काम लेख्नेको । त्यो बखान पढेपछि बनेको मानसिक छविमा अाधारित भएर वर्णितकाबारेमा अवधारणा बनाउने या टुंगोमा पुग्नेकाम पढ्नेको । लेख्नेले नै चक्की पिसेर पढ्नेलाई पियाउनुपर्छ भन्ने मलाई लाग्दैन । त्यस्तो भयो भने किताब अल्छिलाग्दो हुन्छ । वीरगन्ज  मा अधिकाँश ठाउँमा “देखा, नभन्” तरिका प्रयोग भएकैले मलाई यो किताब नौलो, पठनीय र जानकारीमूलक लागेको हो ।

यो लेख तल निरन्तर छ । तपाईँलाई इमेलमै पछिल्लो ब्लग, लेख र तस्बिर पठाउँदा म खुसी हुनेछु । बाकसमा आफ्नो इमेल ठेगाना हाल्नु होला । अनि अाफ्नो इमेल इन्बक्समा अाएको लिंक थिचेर कन्फर्म गर्नु होला । यो लेख इमेल इन्बक्समै पढिरहुन भएको छ भने केही गर्न पर्दैन । धन्यवाद 🙂

Enter your email address to follow this blog and receive notifications of new posts by email.

हरेक मानिसको कथा हुन्छ । तर सबैको कथा उत्तिकै रोचक हुँदैन । सबैको कथाले उत्तिकै सशक्त ढंगमा कुनै प्रबृत्ति उजागर गर्न सक्दैन । स्थानको सीमितताले गर्दा कुनै पनि लेखनीमा सचेत ढंगमा त्यस्ता पात्र छानिन्छन् जसमार्फत कुनै विशिष्ट कथा प्रभावकारी ढंगमा भन्न सकियोस् । वीरगन्जलाई “देखाउने” क्रममा गिरीले उतारेका पात्रहरूले नै मलाई यो सहरको कथा भन्छन्, अवस्था बुझाउँछन् । किताबको सवल पक्ष यो भएको मैले ठहर्याएको छु । पात्र चयन र उनीहरूबारेको पूर्वजानकारीमा गिरीको क्षमता झल्किएको छ । पहिले नै परिचित ती पात्रहरूसँग उनले फेरि भेटेकैले वास्तविक चित्र उतार्न उनलाई सजिलो भएको बुझ्न सकिन्छ । त्यसाे गर्दा चित्र थप प्रष्ट पनि भएको छ । प्रतिवेदन सवल भएको छ । सिर्सिया नदीमा धेरै पानी बगिसकेको अवस्थामा वीरगन्जका गिरीलाई “पात्र उही.. परिस्थिति उही” लाग्नु अनाैठाे भएन । तर तिनै पुरानै पात्र र नबदलिएकाे स्थितिलाई उनले पठनीय चित्रण गरेकैले किताबबारे यति लेख्न जाँगर चलेको हो । एउटा अतीव मनपरेको वाक्य यो हो: “वीरगन्जलाई जब अावाजमा वर्णन गर्नुपर्छ, सबैभन्दा अघिल्तिर झुमक ब्यान्ड उभिन पुग्छ ।”

दह्राेढङ्गले चलिरहेका राजनीतिक प्रदर्शनहरूको पृष्ठभूमीमा लेखिएकाले वर्णनको मूलधार अान्दोलनमा लपेटिएकाे छ । त्यसले किताबलाई राजनीतिक पनि बनाएकाे छ । सम्भवत: थप रूचिपूर्ण पनि । गैरराजनीतिक प्रसंग त किताबका ज्यान हुन् । देवताको भूमिका निर्वाह गरेको तथा धीरेन्द्र पछ्याउँदाको क्षण लगायतका थुप्रै रोचक विवरणले भरीएको किताब पढाईको अनुभव रोमान्चक र विनोदपूर्ण भयो ।

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू

काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रजनर अफ काठमान्डू । यो किताबबारे मेरो प्रतिक्रियाका लागि फोटोमा क्लिक गर्नुहोस् ।

पोस्तकका सबै कुरासँग सबै पाठक सहमत हुन सक्दैनन् । अस्वाभाविक होइन त्यो । झन् अहिलेको जस्तो सामाजिक-राजनीतिक परिस्थितिमा ‘नाकाबन्दी सहर’काे एउटा कथासँग सबै सन्तुष्ट र सहमत हुन सक्दैनन् । मलाई के मन परेन ? दुई या तीन ठाउँमा लेखक जब वर्णन गर्न अर्थात उतार्न (“देखाउन”) छाडेर “भन्न” थाल्छन्, मलाई ‘अोहो, त्यसो नगरेको भए हुन्थ्यो’ जस्तो लाग्यो । म त्यसमा कुनै योजनाबद्द खराबी देख्दिन । अाफ्नै ठाउँ सहरको कुरा भएकाले र धादिङ्गे पहाडबाट एक पुस्ताअघि वीरगन्ज झरेका हुनाले लेखक अलि भावुक भएका पनि हुनसक्छन् जसले उनलाई “हैन, यति त भन्छु” भन्ने तहसम्म पुर्याएको पनि हुनसक्छ । तर म एकजना पाठककारूपमा निचोडमा अाफै पुग्न चाहन्थेँ । म अर्कै सारमा पनि अाउथेँ होला । जे पनि हुनसक्थ्यो । इमानदार वर्णन पढेर अाफै टुङ्गो लाउन चाहने म पाठकलाई लेखकको ठहर उचित नलागेको पनि हुनसक्छ । त्यसैले मलाई उनको निधोसँगभन्दा बढी चित्त नबुझेको चाहिँ उनले मलाई निष्कर्ष दिए भन्नेप्रति हो । तर कतिपय पाठकलाई त्यो मन पर्न पनि सक्छ ।

गैरअाख्यान किताबका पात्रहरू स्मरणीय हुनु लेखकको सफलता हो भन्ने मलाई लाग्छ । वीरगन्ज का पात्रहरूले अाफ्ना कथा जोडदारढंगमा भनेका छन् । छोटेलाल र उनको परिस्थितिको त कुरै नगरौं । छोटेलाल मार्फत गिरीले एउटा महत्वपूर्ण प्रबृत्तिको बयान गरेका छन् । छोटेलालको कथामा सामाजिक र राजनीतिक सन्देशहरू छन् । पशुपति रौनियार, विनोद परियार र उत्तमसागर डंगोलले पनि मलाई वीरगन्ज बुझाए । किताब पढ्दा मैले समग्र सहर र क्षेत्रकै एउटा तस्बिर पाएँ जसकाबारेमा म पहिले जानकार थिइन । पोस्तकबाट भरपुर फायदा मिलेको महसुस भयो ।

  • काठमान्डूको कैदी: चार्ल्स एलेनको किताब द प्रिजनर अफ काठमान्डू बारे मेरो प्रतिक्रिया यहाँ छ

यो टुक्रा तपाईँले वेब साईटमै हेरिराख्नु भएको छ भने प्रतिकृया जनाउन मुनिको फारम प्रयोग गर्नुहोला । प्रतिकृया दिन फेसबुक वा ट्विटरमा लग्ड-इन हुनुपर्छ । यो लेख इमेलमा पढिरहुन भएको छ भने प्रतिकृयाका लागि रिप्लाई थिच्नुहोला । यसलाई फेसबुक, ट्विटर अादिमा सेयर गर्न तलका बटन थिच्नुहोला । धन्यवाद ।

दसैँ उपहारको किताब सूची

मैले एकजनालाई यो दशैंमा पढ्न दिएका पुस्तकहरू

मैले एकजनालाई यो दसैँमा पढ्न दिएका पुस्तकहरू

रक्षा क्षेत्रको एउटा अाधिकारिक पाटोमा काम गर्ने एकजना सा’पलाई यसपालीको दसैँमा पढ्न भनि पाँचवटा किताब उपहार दिएँ । केही सातायता “खै, मेरोलागि किताब छैनन्?” भनि उनले करकर गरिरहेका थिए । उपहारमा मैले पढीसकेका र तत्काल मैसँग भएका केही शीर्षक परेका छन् । यी मध्ये केहीको नाम सुन्दैमा उनले ‘अोहो, खुबै सुनेको तर अहिलेसम्म पढ्न पाएको छैन’ भनि प्रतिकृया दिए । बाँकी, मैले हल्का पृष्ठभूमी बताउदै पढ्न जोडदार सिफारिस गरेका पुस्तक हुन् । यही मौकामा यी किताबारे मेरा ‘दुइ शब्द’ भनिहाल्ने निर्णय गरें ।

सुधीर शर्माको प्रयोगशाला

सुधीर शर्माको प्रयोगशाला

प्रयोगशाला को सबभन्दा सवल पक्ष, मलाई लागेको, यसमा सामेल सूचना र जानकारी हुन् । तिनलाई जसरी प्रस्तुत र प्रतिवेदन गरिएको छ त्यसले यो किताबलाई सर्वथा पठनीय र रोमाञ्चक बनाएको छ । साथै सरल भाषाले किताबलाई जोकसैले बुझ्ने तुल्याएको छ । गैरअाख्यान लेखनमा कल्पना (द्वयार्थ छैन है!) को पनि सही प्रयोग हुनुपर्छ । अन्यथा त्यो रुखो हुन्छ जसलाई पढ्दा रमाइलो होइन सजाय पाएको अनुभव हुन्छ। पैसा हालेर आफैलाई सजाय दिने मुर्ख्याइँ कसले गर्छ ? गैरअाख्यानमा प्रयोगशाला  र अाख्यानमा पल्पसा क्याफे मलाई उस्तै लाग्छन् । क्याफे जस्तै चिरप्रतिष्ठित र पढ्नै पर्ने किताब भएको छ प्रयोगशाला । दुबै अाअाफ्नो क्षेत्रमा मानक बनेका छन् जसलाई भेट्टाउनु या नाघ्नु पुस्तककै लेखकहरूलाई चुनौतीपूर्ण हुने या भएको देखिन्छ ।

केही साता अघि मैले काठमान्डूका दुइजना परिचित युवतीहरूको वार्तालाप संयोगले सुनें । एउटी व्यापारिक क्षेत्रसँग नजिक रहेर काम गर्छिन् त अर्की मानवअधिकारको संसारमा । त्यो क्षण उनीहरूबीच नेपाली राजनीतिबारे कुरा चलिरहेको थियो । पछिल्लीले फ्याट्ट एउटा प्रश्न गरिन् जो म यहाँ उल्लेख गर्दिन । जवाफ निकै लामो, झन्डै पुस्तक अाकारकै हुन्थ्यो । तर अघिल्ली त्यो झन्झट मोल्न तयार थिइनन् । त्यसैले उनले यस्तो सटिक जवाफ दिइन्- “प्रयोगशाला पढ न । सबै छ त्यो किताबमा ।”

माअोवादी अान्दोलनको पृष्ठभूमीमा नेपाल-भारत सम्बन्ध मात्र हैन समग्र नेपाली राजनीति बुझ्न प्रयोगशाला एक ‘अावश्यक पाठ्य’ भएको छ । Continue reading

दरियागन्जको किताबी हाट

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

यो लेख पहिलो पटक आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ छ । अ‌ग्रेजी स‌‌स्करण यहाँ छ

‘हरेक आइतबार (पुरानो दिल्लीमा) सधैं हुने भीड छिचोल्दै, खिया लागेको सानो फलामे डन्डी घुसारेर अर्को  मान्छेको कान सफा गरिरहेका मान्छेहरू हुँदै, नुनिलो पानीले भरिएको हरियो बोतलहरूमा थुनिएका साना माछा बेच्ने मान्छेहरूलाई छेउ पार्दै, सस्तो जुत्ता बजार र सस्तो सर्ट बजार हुँदै जाँदा तपाईं दरियागन्जको महान् सेकेन्डह्यान्ड पुस्तक बजारमा आइपुग्नुहुनेछ ।

‘यो बजारबारेमा तपाईले सुनेको हुनुपर्छ, महोदय, किनकि यो संसारका आश्चर्यहरूमध्येको एक हो । दसौं हजार फोहोरी, च्यातिएका र कुहिएका हरेक विषयका किताब- प्रविधि, औषधि, यौन आनन्द, दर्शन, शिक्षा र विदेशी मुलुकहरू- दिल्ली गेटदेखि लालकिल्लाअगाडिको बजारसम्मको फुटपाथमा थाकका थाक राखिएका हुन्छन् । कुनै किताब कति पुराना हुन्छन् भने तपाईले छुँदा ती टुट्छन्, कुनैमा कीरा डुलिरहेका हुन्छन्, कुनैचाहिँ बाढी या आगलागी भएको ठाउँबाट उद्धार गरिएका जस्ता लाग्छन् । फुटपाथ किनारका प्रायः पसलका बन्द हुन्छन् तर रेस्टुरेन्टहरू खुलेकै हुन्छन् र त्यहाँबाट आउने खान्कीको बासना कुहिएका किताबबाट आउने गन्धसँग मिसिन्छ ।’ Continue reading

सपनाको बगैचामा

Garden of Dreams, Kathmandu

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो। चित्र: देवेन/कान्तिपुर

बराक ओबामाको ‘चेन्ज’ (परिवर्तन) को नारालाई बूढा जोन मक्केनले समेत अठ्याउँदै अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीको उम्मेदवारी स्विकारेको त्यो साता म दैनिकीमा हल्का बदलाव ल्याउन ८० रुपैयाँ तिरेर त्यो अग्लो पर्खालले घेरिएको शान्त र मनोरम बगैंचामा छिरेको थिएँ ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरको सपनाको बगैंचा (गार्डेन अफ ड्रिम्स) कति रोमाञ्चक छ भने यहाँ एक्लै आए पछुतो मात्र हुन्छ। एक्लै रमाउनेलाई पनि दिव्य ज्ञान प्राप्त हुन्छ– जिन्दगी यसरी चल्दैन, एउटी (ा) चाहिन्छ। स्वप्न बगैंचाको अघिल्लो भ्रमणमा दुई घन्टा घोत्लिएर र दृश्यपान गरेपछि म एउटा दरिलो निष्कर्षसाथ त्यहाँबाट निस्केको थिएँ– यो ठाउँमा युवतीसँग आउनुपर्छ कि ल्यापटप ल्याउनुपर्छ।

यो मध्याह्न मसँग कम्प्याक प्रेसारियो ल्यापटप छ, जसले बगैंचामा प्रेमका तरंगहरूसँग पौंठेजोरी खेल्दै दौडिरहेका बेतारे इन्टरनेट संकेतहरूलाई अठ्याउने छ र मलाई समय बिताउने बहाना दिलाउनेछ । Continue reading

कितावी मेलामा डोरबहादुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

[पुस्तक मेला डायरी । यो डायरीको पहिलो भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

म आइसक्रिम खाँदै मानिसको भीड नियालिरहेको थिए (जसबारेमा पृष्ठ एकमा पढ्नुहोस्)। साथीको फोन आयो ।

‘फ्याटालिजम एन्ड डेभलपमेन्ट’ को कुरा निस्क्यो । डोरबहादुर लगभग ‘मिथ’ भइसकेका छन् । हराएका मानवशास्त्री । अतिचर्चित पुस्तक ‘फ्याटालिजम…’ का लेखक । खै कहाँ गए, यकिन कसैलाई छैन र त्यस्तोमा प्रायः अनेकौं कोणबाट अनुमानहरू गरिन्छन् जो स्वभावतः एकनाशे हुँदैनन् । कोही उनलाई कुम्भमेलामा देखेको कुरा गर्छन् कोही कहाँ । नौ महिनाअघि पहिलोपटक जुम्ला पुग्दा सदरमुकामको एउटा स्टेसनरी पसलमा संयोगले भेटिएका एक वृद्धले हराउनु केही घन्टाअघि डोरबहादुरलाई जुम्ला एयरपोर्टबाट बिदा गरेको सम्झिएका थिए ।

‘पुस १४ गते हो,’ पटमारा-९, उर्थुचौताराका ६३ वर्षो रतिमान विष्टले भनेका थिए- ‘कुन वर्षहो । ठ्याक्कै चाहिँ सम्झना भएन । एअरपोर्ट छाडेर नेपालगन्ज पुगेका थिए, एक घन्टा त्यहाँ बसेका थिए ।’ (डोबरहादुर ०५२ तिर हराएका हुन् ।) त्यसपछि उनलाई नदेखेको बताउने रतिमानले डोरबहादुरले खोलेको झन्डै एक दिन टाढाको एउटा अध्ययन केन्द्रसम्म जान मलाई उक्साएका थिए । Continue reading

पुस्तक मेला क्या माहोल

राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

kathmandu book fair
पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले

त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जसबारे पेज दुइमा पढ्नुहोला) ।

भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ? Continue reading

जिन्दगीलाई जिताउने किताबी कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।

१६ औं शताब्दीका अंग्रेज लेखक तथा दार्शनिक सर फ्रान्सिस वेकनको ‘अफ स्टडिज’ निबन्धको एउटा वाक्य चाखेर या निलेर मात्र पुग्दैन चपाएर पचाउनुपर्ने खालको छ । ‘कुनै किताब चाख्नका लागि हुन्, अरू निल्नका लागि र थोरै केही चपाएर पचाउनका लागि,’ वेकन लेख्छन्- ‘अर्थात् केही किताब आंशिक मात्र पढे पुग्छ, अरू पढे हुन्छ तर चाखपूर्वक होइन र थोरै केहीचाहिँ पूरै तथा लगाव र ध्यानपूर्वक पढ्नुपर्छ ।’

वेकनको वर्गीकरणको तेस्रो बुँदाको झल्को दिनेगरी शिव खेराले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘यू क्यान विन’ को सुरुमै ‘यो किताब कसरी पढ्ने’ शीर्षकमा पाठकलाई यस्तो सल्लाह दिएका छन्- ‘सरर पल्टाउँदै पढेर या एकै बसाइमा पूरै किताब निलेर यो किताबका अवधारणा बुझ्न सकिँदैन । यसलाई बिस्तारै र होसियारीपूर्वक पढिनुपर्छ, एकपटकमा एउटा पाठ । …यसलाई कार्य पुस्तकका रूपमा प्रयोग गर्नुस् । मार्जिनमा नोट लेख्नुस् । पढ्दै जाँदा हाइलाइटर प्रयोग गर्दै महत्त्वपूर्ण र विशेषगरी आफूलाई उपयोगी हुने शब्दहरू वा वाक्यहरू वा अनुच्छेदहरू चिन्ह लगाउनुस् । पढ्दै जाँदा प्रत्येक पाठकको अवधारणा आफ्नो पति/पत्नी वा पार्टनर वा नजिकको साथीसँग छलफल गर्नुस् ।’ Continue reading

पुस्तक मेलाका पार्टी तन्नेरी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख मंगलवारको कान्तिपुर मा प्रकाशित भएको हो ।

काठमाडौं- ‘मैले धेरै ठाउँमा विश्राम खोजें तर एकान्त कुनामा बसेर पुस्तक पढ्नुबाहेक अन्त कहीँ भएन ।’

थमस एकेम्पिसको त्यो भनाइसँग अभिषेक लिम्बू ठ्याक्कै सहमत नहुन सक्छन् । हुन पनि सक्छन् जो यो लेखको मध्यसम्म थाहा हुनेछ तर उनी पक्का छन् राजधानीका ‘लेट नाइट’ डान्स पार्टीमा चाहिँ त्यो पाइँदैन । त्यसैले लामो कपाल पालेका, तन्दुरुस्त शरीर भएका यी लक्का जवान सोमबार व्यस्त दैनिकीबाट समय निकालेर जमलको पुस्तक प्रदर्शनीमा पुगेका थिए । हिपहप संस्कृतिसँग मिल्दोजुल्दो पोसाकमा सजिएका तन्नेरी एकेम्पिसको त्यो भनाइ कोरिएको भित्तामुनि दाइने हातले केही पुस्तक चलाइरहेका थिए- देब्रेमा बाइकको हेलमेट थियो ।
‘किताब हेर्न आएको नि,’ साइपाल एकेडेमीबाट ए लेभल सिध्याएका युवाले भने- ‘समटाइम लाइफमा फिलोसोफिकल हुनुपर्छ ।’ अर्थात्, जीवनमा यदाकदा दर्शनपूर्ण हुनुपर्छ भन्ने उनको मान्यता छ । त्यो भावना जाग्रत हुनुमा कलेजका सिनियर विद्यार्थीहरूको योगदान छ । Continue reading

नेपाली चेलीबारे अमेरिकी उपन्यास

patricia mccormick is the writer of book SOLD that talks about women trafficking in Nepal and India

दिनेश वाग्ले
बाग्ले स्ट्रिट जर्नल

काठमाडौं- ‘वेश्यालयमा के हुँदैछ भन्ने बुझ्न सबैले यो किताब पढ्नुपर्छ,’ विश्वको प्रमुख पुस्तक विक्रेता वेबसाइट ‘अम्याजन डट कम’ मा एक किशोरीले लेखेकी छिन्- ‘धेरै बालबालिकाका लागि पराइ लाग्ने विषय समेटेको भए पनि यो आँखा खुलाउने खालको छ र पढ्नबाट नानीहरूलाई रोक्नु हुँदैन ।’

बेचिएकी एउटी नेपाली किशोरीको कथामा आधारित उपन्यास ‘सोल्ड‘ को समीक्षा हो त्यो । चार महिनाअघि प्रकाशित पुस्तकमा अमेरिकी लेखिका प्याट्रिसिया मक्कोर्मिक (तस्बिरमा)ले आफ्ना सौतेला बाबुबाट भारतको कोलकाताको वेश्यालय पुर्‍याइएकी लक्ष्मीको कथा उतारेकी छन् । प्याट्रिसियाले त्यो लेख्नुअघि नेपाल आएर महिला बेचबिखनबारे अनुसन्धान गरेकी थिइन् ।

भेष बदलेर वेश्यालयका गतिविधि क्यामेरामा कैद गरिरहेका एक फोटोग्राफरसँगको पाँच वर्षअघिको जम्काभेटपछि प्याट्रिसियाले एक जना केटीको दृष्टिकोणबाट त्यो हृदयविदारक कथा भन्ने निर्णय गरेकी थिइन् । ‘(अमेरिकी) युवाले अन्ततिरका उनीहरूकै समवयीहरूलाई के भइरहेछ भन्ने थाहा पाउनुपर्छ,’ न्युयोर्क टाइम्स र रिडर्स डाइजेस्टमा लेख्ने पत्रकार प्याट्रिसियाले एउटा अन्तर्वार्तामा भनेकी छन्- ‘गत वर्ष महिला बेचबिखनबारे मिडियामा केही रिपोर्ट आए तर तिनमा गहिरो चित्रण थिएन । मेरा लागि एउटा पुस्तकजति शक्तिशाली र स्थायी प्रभाव अरू केहीको हुँदैन ।’

न्युयोर्कमा पति, छोरा र दुई बिरालासँग बस्ने आफ्नो वेबसाइटमा उल्लेख गरेकी प्याट्रिसिया सम्भवतः अमेरिकामा नेपाली समस्या चिनाउने अभियानमा सफलोन्मुख छन् । केही साताअघि ‘नेसनल बुक अवार्डस’ को अन्तिम सूचीमा मनोनीत भएको पुस्तक अहिलले निकै चर्चित भएको छ । ‘लक्ष्मी बेचिएको कोलकाते वेश्यालय (ह्याप्पिनेस हाउस) ‘मसला, खाने तेल, अत्तर र चुरोटको धूवाँ’ मा रुमल्लिएजस्तै प्याट्रिसियाको उपन्यासले पनि थुप्रै बासना बोकेको छ,’ टाइम म्यागेजिनले यसपालि लेखेको छ- ‘कुनै प्रेमयुक्त छन् त कुनै हृदयविदारक । उपन्यास पाठकहरूले समय खर्चिनयोग्य छ ।’

अनि ‘अम्याजन डट कम’ को समीक्षा पृष्ठमा ती किशोरी लेख्छिन्- ‘पुस्तक पढेपछि लक्ष्मी (१३ वर्षे) लाई के भयो होला भन्ने कल्पनाले मेरो मथिंगल उडाइदियो र म चिच्याएँ । किताबले मलाई बदल्यो र मेरो उमेर पनि लक्ष्मीकै जस्तो छ ।’

SOLD is the story by patricia mccormick of 13 year old Laxmi, a Nepali girl, who was trafficked to an Indian brothel

आख्यान भए पनि आफ्नो पुस्तकलाई आधिकारिक तुल्याउन वास्तविक घटना अनुसन्धान गर्ने प्याट्रिसियाको बानी हो । ‘सोल्ड’ की मुख्य पात्र लक्ष्मीलाई पछ्याउँदै को लकाताको रेडलाइट क्षेत्र पुग्नुअघि काठमाडौंमा रहँदा प्याट्रिसियाले चेलिबेटी बेच्ने अपराधीहरूलाई जेलभित्र अन्तर्वार्ता गरेकी थिइन् । ‘अनुसन्धानका क्रममा निराश हुनबाट आफैंलाई बचाउनु चुनौती भयो,’ निजी वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा उनले भनेकी छन्- ‘वेश्यालयमा केटीहरूले भोगेको पीडा कस्तो थियो भने अमेरिका फर्केका कयौं दिनसम्म म निराश भइरहें । ती केटीहरूको कथालाई न्याय गर्न सक्दिनँ कि भन्ने सोच्थें । वेश्यालयका केटीहरू बिरामी या मरेपछि नयाँ केटी त्यहाँ पुर्‍याइन्छ भन्ने सोच्दा जतिसक्दो चाँडो उनीहरूको कथा विश्वसामु पुर्‍याउने आवश्यकता महसुस गरें । अनि किताब लेख्न थालें ।’

उनले बेचबिखन रोक्न आफ्नोतर्फबाट योगदान पुर्‍याउन पाठकसँग आह्वान पनि गरेकी छन् । ‘स्कुलमा समूह बनाउनुस्, बेचबिखनबारे फिल्म देखाउनुस्, पैसा उठाउनुस्,’ अर्को अन्तर्वार्तामा लेखिकाले भनेकी छन्- ‘बेचबिखन हुने देशहरूको जीवनस्तर निम्न छ र तपाईंहरूको एक साताको खर्चले वेश्यालयमा रहेका केटीहरूको ठूलै आवश्यकता पूर्ति गर्न सक्छ ।’

पुस्तक ‘एउटा दृश्य एकपटक’ वर्णन गर्ने कवितात्मक शैलीमा मुख्य पात्र लक्ष्मीको दृष्टिकोणबाट लेखिएको छ । एउटा दृश्यलाई ‘हिसाबकिताब’ नाम दिइएको छ, जसमा लक्ष्मी वेश्यालयमा आम्दानीको हिसाबकिताब गर्दै आफू फुत्किने सपना साँचिरहेकी हुन्छिन् । बिछ्यौनामुनि लुकाएको नोटबुकमा उनले गरेको गणितप्रति संगीनी साहन्ना आशावादी छैनन् । आम्दानी कति न्यून छ भने खान्की, बिछ्यौना र गर्भ रोक्ने सुईका लागि तिरेपछि बाँकी केही रहँदैन ।

‘यो हिसाबकिताबदेखि भने वेश्यालयकी बाई मुम्ताजले तँलाई जिउँदै गाड्छे,’ साहन्नाले उनलाई सतर्क तुल्याउँछिन् । फेरि केहीछिन जोडघटाउ गरेपछि लक्ष्मी आफैंसँग भन्छिन्- ‘म अहिल्यै जिउँदै गाडिइसकेकी छु ।’