Tag Archives: गोर्खा

खटपटमा छन् गोर्खा र प्रवासी

khatpat Gorkha ra prabashi

सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् ।

गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य र अन्जु पन्तका गीतहरू घन्केको र सजिएर हिँडेका युवतीहरूले ‘अहिले त्यस्तो केही छैन’ भनेको सुन्दा यी दिन सिलाङमा अवस्था पूरै सामान्य रहेको भान पर्छ । तर १९८६/८७ मा आफ्नो जातिका थुप्रैलाई राज्यबाट खेदाइएको देखेका प्रौढहरूचाहिँ सीडी पसलमा ठूलो स्वरमा गुन्जिरहेको ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ को स्थितिमा भएको महसुस गरिरहेछन् ।

कोइलाखानीबाट केही नेपाली मजदुरहरू भागे पनि आफूहरू यसपालि खेदिनु नपरेको र सरकारबाट तुरुन्त सहयोग पाएको उल्लेख गर्ने गोर्खाहरूले समग्रमा चाहिँ मेघालयमा हीनताबोधको जिन्दगी जिइरहेको बताए । सिलाङ र आसपासका गाउँवासी थुप्रै गोर्खाहरूले आफूले सहेका अन्यायबारे खुलस्त भएर बोल्न सजिलो होस् भनेर पत्रिकामा नाम प्रकाशित नगर्न अनुरोध गरे । ‘हामी आफ्ना लागि माग राख्न सक्ने अवस्थामै छैनौं,’ सिलाङको कुनै एउटा कार्यालयका कर्मचारीले भने, ‘त्यसो गरे तारो बनिन्छ । बाटोमा हिँड्दा खासीले एक लात हान्यो भने हामीले उसको खुट्टाको धूलो पुछेर ‘हजुरलाई त दुखेन ?’ भन्दै हिँड्नुपर्ने अवस्था छ ।’

‘मलाई यति धेरै बोल्न मन छ,’ एकजना कर्मचारीले दाहिने मुठ्ठी देखाउँदै र दायाँबायाँ हेर्दै अचानक दबेको स्वरमा भने, ‘तर यी म बाँधिएको छु । यो फुकाउन मैले सिलाङ छाड्नै पर्छ ।’

परिचयसहित कान्तिपुरसँग कुरा गर्नेहरूले चाहिँ त्यति बेहाल नभएको भन्दै बरु गोर्खाकै कतिपय कमजोरी औंल्याए । मेघालय राज्यको सिर्जना नै कुनै जाति विशेषका लागि, उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि भएकाले यहाँ उनीहरूका स्वार्थले प्राथमिकता पाउनु नौलो नभएको यी गोर्खाहरूले तर्क गरे । ‘उनीहरू पनि आफ्नो पहिचान गुम्ला, बाहिरियाको जनसंख्या बढ्दा र आफूहरू अल्पमतमा परिएला भनेर चिन्तित छन्,’ राज्यको उच्च सरकारी सेवाबाट निवृत्त डम्बरबहादुर गुरुङले मेघालयका खासी, गारो र जयन्तियाजस्ता समुदायलाई इंगित गर्दै भने, ‘भारतको संविधानले नै छैटौं अनुसूचीको व्यवस्था गरेर आदिवासी (ट्राइवल) हरूलाई बढी अधिकार र सुविधा दिएको छ ।’

khatpat ma gorkha ra prabashi

नेपाली भाषीहरू, मेघालयमा बस्ने बंगाली, बिहारी र मारवाडी समुदायजस्तै, गैरआदिवासी (ननट्राइवल) समूहमा पर्छन् जसले सिलाङ सहरका निश्चित भागमा मात्र जग्गा किन्न पाउँछन् । व्यापार गर्न उनीहरूले राज्यबाट अनुमति लिनुपर्छ । सरकारी जागिरमा आदिवासीलाई ९० प्रतिशत छुट्टयाइएको छ । बाँकीमा पनि आदिवासीले प्रतिस्पर्धा गर्न सक्छन् । Continue reading