Tag Archives: चौकिदार

गाडी चम्काउने ठिटो

कार चम्काउने ठिटो
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए, त्यतिखेर पनि उल्टी भयो ।’

त्यो १५ वर्ष अघिको कुरा । जिन्दगीका थुप्रै मध्येको संयोग हो, पहिलो यात्रामा उल्टी गरेर गाडी फोहोर गर्ने कमलबहादुर खड्काको अहिले पेसा भा’छ- गाडी सफा गर्ने । फरक यत्ति हो, उल्टी नेपालमा बसमा भएको थियो, सफा उनी दिल्लीमा भारतीयहरूका साना गाडी (कार) गर्छन् । मान्छे र गाडीको सम्बन्ध पनि अजीवकै छ ।

सन् १८८५ मा ‘मोटरवागेन’ बनाउँदा कार्ल बेन्जले त्यो मानिसहरूले चढ्ने ठानेका थिए । उनी सही थिए । आधुनिक गाडीका आविष्कारक मानिने ती जर्मनले १८८८ देखि १८९३ सम्ममा करिब २५ बेन्ज गाडी बेचे । त्यही वर्ष उनले सामान्य जनताले किन्न सक्ने गाडीको मोडल ल्याए । त्यसयता विश्वका अर्बौंले गाडी चढेका छन् र बेन्जजस्ता भाग्यमानी तथा प्रतिभाशाली केहीले चाहिँ आफूलाई गाडीका ब्रान्डका रूपमा स्थापित गरेका छन् । बेन्जले अर्का जर्मन इन्जिनियर गोट्टेलिव ड्याम्लरसँग सहकार्य गरेकैले हामीले ‘ड्याम्लर-बेन्ज’ गाडी देखेका हौं । जर्मनीकै विल्हेल्म माइबाखको थर प्रयोग गर्ने गाडी अहिले संसारकै महँगो मध्येकोमा पर्छ । अमेरिकी हेनरी फोर्डले १९०३ मा स्थापना गरेको फोर्ड कम्पनी विश्वको चौथो ठूलो मोटर निर्माता हो । जापानका किइचिरो टोयोडाले आफ्नो थरको ‘डी’लाई ‘टी’मा बदलेसँगै अगस्ट १९३७ मा कम्पनीको नाम टोयोटा राखे ।

विश्वकै ठूलो मोटर कम्पनी टोयोटाका महँगा कार किन्न नसके पनि हामीमध्ये धेरैले कम्तीमा १० रुपैयाँ तिरेर नेपालभरि छ्यासछ्यासी चल्ने ‘टोयोटा ह्यास’ माइक्रोबस पक्कै चढेका छौं । टोयोटाकै पूर्वकर्मचारी सोइचिरो होन्डाले, हामीलाई थाहै छ, आफ्नो थरलाई विश्वभरि बाइक र कारको ब्रान्डका रूपमा चिनाएका छन् । १९०९ मा जापानकै सानो गाउँ हामामात्सुमा ‘सुजुकी लुम कम्पनी’ खोलेका थिए, मिसियो सुजुकीले । काठमाडौंमा गुड्ने प्रत्येकजसो ट्याक्सीमा देखिने ‘मारुती सुजुकी’को सुजुकी तिनै जापानीको थर हो । सुजुकीले ८० को दशकयता भारतमा बनाएका गाडी ‘मारुती-सुजुकी’बाट चिनिन्छन् ।

सुजुकीले भारतमा कार बनाउन थालेको २५ औं वर्ष हालै पुग्दा यहाँका सडकमा क्रान्तिकारी परिवर्तन आएको विश्वले महसुस गरेको छ । २००८ मा भारतमा राष्ट्रिय र विदेशी बहुराष्ट्रिय कम्पनीहरूले २३ लाख गाडी उत्पादन गरेर यसलाई विश्वको नवौं ठूलो गाडी उद्योगको हैसियत दिलाए । भारतीय सहरहरूमध्ये दिल्लीमा सबैभन्दा बढी गाडी छन् । बढ्दो जनसंख्या र तिनको सुध्रँदो आर्थिक अवस्थाले कारको संख्या बढाएको हो । घरमा ठाउँ नहुँदा गाडी सकेसम्म अगाडिको या नजिकैको सडकछेउ राखिन्छन् । काठमाडौंमा बाइकचोरको विगविगीजस्तै छ, दिल्लीमा कारचोरको । त्यसैले दिनभरि गुडेर हिलाम्ये/धुलाम्ये भएका गाडी राति सुरक्षा गर्ने र बिहानै सफा गर्ने जिम्मा देशमा रोजगारी नपाएर विदेशिएका कमलजस्ता गरिब नेपालीको ।

बिहीबार राति १० बजे दिल्लीको जंगपुरामा यो लेख्दै गर्दा बाहिरको सडकमा २५ वर्षे कमलको ‘चौकिदारी ड्युटी’ सुरु भा’छ । त्यसबापत उनले महिनामा २२ सय भारु पाउँछन् । बिहान पाँच बजेतिर उनी मोहल्लाका २२ वटा गाडी सफा गर्छन्, जसबाट अर्को २५ सय कमाउँछन् । एउटा टालोले माटो/धूलो झारेपछि अर्कोले उनी गाडीको जीउ र सिसा पुस्छन् । सातामा एकपटक जस्तो भित्रका म्याट सफा गर्नुपर्छ । १० बजे काम सिध्याएर आधा घन्टा हिँडेपछि उनी कोठामा पुग्छन्, जहाँ आफ्नोजस्तै कामबाट फर्केका चारजना कञ्चनपुरेलाई भेट्छन् । ‘त्यतिबेला सबैभन्दा रमाइलो’ उनले भने- ‘कसैले आटा बुन्नी, कसैले सब्जी बनाउने, कसैले रोटी । साथीहरूसँग हाँसोमजा हुन्छ, खाना बनाउँदा ।’

‘हाँसोमजा’ गर्नमात्र महिनामा १४ सय पर्ने कोठामा पाँचजना बसिएको होइन । ‘एक्लै बस्दा भाडै तिर्न सकिन्न, मेन त’ कमलले भने- ‘पैसा नबच्ने भयो ।’ घरमा के पठाउनु ? महेन्द्र बस्तीमा उनकी पत्नी, उनीहरूको तीन वर्षे छोरो, बाबु/आमा, सात र दुई कक्षाका भाइ र एक बहिनी छन् । दुई दिदी र एक बहिनीको बिहा भयो । दाजु भारतकै ‘सुरततिर यस्तै नोकरी गर्छन् ।’

वनबासाबाट बस चढेर पहिलोपटक दिल्ली उत्रँदा उनी १९ वर्षका थिए (त्यसपाली पनि उल्टी भा’थ्यो) । त्यतिबेला दाजुले चौकिदारी गर्ने जंगपुराकै ए ब्लकको एउटा कोठी (घर) मा कमलले लगभग तीन सालजति खानासाना बनाइदिने, सफाइ गरिदिने गरे । त्यही कोठीमा काम गर्दा उनले पहिलोपटक सानो गाडी (स्यान्ट्रो) चढेका थिए । (‘चक्कर चल्यो, तर उल्टी भएन’, उनले भने- ठूलोमा जस्तो धेरै धक्का नदिने ।’) ‘त्यहाँ तनखा नबढाउने’ भएपछि उनले नजिकैको ब्लकमा चौकिदारी थाले । सराइको आसपासमै उनले बिहा गरे । कतिन्जेल यो काम गर्ने हो, उनलाई पत्तो छैन ।

स्टेरिङ त सफा गर्दामात्र छुने हो, चलाउन आउँदैन । तर आफूले धुने गाडीहरूको नाम र लगभग मूल्य कमललाई थाहा छ- ‘स्कार्पियो’ (१० लाख), ‘होन्डा सीटी’ (६/७ लाख), ‘इस्टिम’, ‘अल्टो’, ‘एटहन्ड्रेड’ र ‘वागनर’ । ‘हाम्रो लागि सबै राम्रो’ गाडीहरू बारेको एक प्रश्नमा कमलले आधा हाँसो फ्याँक्दै र मलाई हेर्दै भने । उल्लेख गर्न दबाब दिएपछि दुई वर्षअघि १५ सयमा किनेको सेकेन्ड ह्यान्ड ‘एटलास’ साइकलका मालिकले भने- ‘स्कार्पियो होला । अलि ठूलो, अलि बलियो ।’ केही अघि कञ्चनपुरकै ड्राइभर साथीले होन्डा सीटी ल्याउँदा उनी त्यसमा छिरेर केहीबेर घुमेका थिए । त्यो अनुभवलाई उनले ‘आनन्द’, ‘धक्का नआउने’ र ‘एसिभ’काले चिसो’ जस्ता शब्दबाट वर्णन गरे । भाग्यमा रै’छ भने कमल एकदिन आफ्नै गाडी पनि चढ्लान, तर तत्काललाई उनको प्राथमिकता अर्कै छ । ‘जमिन किनौला भन्ने विचार छ’, लजालु, कम र छोटा वाक्य बोल्ने तथा निकै कम हाँस्ने कमलले भने- ‘गाउँतिर ।’

यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ छ

सम्बन्धित लि‌ङ्क

१. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

दिल्लीको बहादुर नेपाली

Delhi Chowkidar. Koseli

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन शुरुहुन्छ, १७ बर्ष भयो उनले रातीको ड्युटी गर्न थालेको । त्यसैले सपना उनी दिउसो देख्छन् जो लाखौ अन्य नेपालीकै झै पुरा हुनसकेको छैन । ‘एउटा सानो झुप्रो बनाउन पाए पुग्यो,’ हालैको एक रात ड्युटीमा रहेका विष्णुले भने– ‘बस् ।’

बामदेव नेपालका पनाती, मधुसुदनका नाती घनश्याम नेपालका छोरा, पाल्पामा जन्मेर दश बर्षमा नवलपरासी बसाई सरेका ४५ बर्षे विष्णुप्रसाद नेपालको त्यो गौरवशाली परिचय नेपाली सीमामै सीमित छ । दक्षिणी दिल्लीको जंगपुरा एक्स्टेन्सनस्थित ब्लक बीमा उनलाई त्यो नामले कसैले चिन्दैन । ‘बादुऊऊर्र !’ कुनै फुच्चे चिच्याउछ– ‘इधर आना ।’ विष्णुप्रसाद नेपाल त्यता दौडिन्छन् । एकैछिनमा अर्को बृद्ध अल्छे पारामा कराउछ जो लगभग ‘बादअअअर !’ जस्तै सुनिन्छ । ‘हाँ बौजी’ भन्दै विष्णुप्रसाद नेपाल ‘बाबु जी’भएतिर खुरर्र दौडिन्छन् ।

θθθ
आत्मसम्मान अलिकति पनि नभएको र श्रमको एक चौथाई पनि मूल्य नदिने यो काममा लाखौ अरु नेपाली जस्तै विष्णु पनि सोखले टिकेका होइनन् । स्वदेशमा बेरोजगारीले निसास्सिएका नेपालीका लागि भारत एउटा दलदल हो जहाँ कठिन र तल्लो स्तरको कामबाट मिल्ने थोरै नगदले उनीहरुलाई बषौं अड्काई राख्छ । त्यसैले लाखौ नेपाली गाउ नै खाली बनाएर भारतीय शहरमा श्रम गर्न आएका छन् । भरिया, निर्माण ज्यामी, ढावा-रेष्टुरेन्टमा पकाउने तथा भाडा माझ्ने बाहेक ज्यानमा बल हुनेका लागि चौकीदारी सबैभन्दा रुचाइएको पेशा बनेको छ । एउटा अध्ययन अनुसार दिल्लीमा मात्र २० हजार नेपाली चौकीदार छन् जसमध्ये अधिकाँश सुदुर पश्चिमी जिल्ला बाजुराका छन् । हालैको एक आइतबार दक्षिणी दिल्लीको एउटा पार्कमा बाजुराको बाह्रबिस गाउका युवा चौकीदारीबाट मिलेको विदाको उपयोग गर्दै भेटघाटमा व्यस्त थिए । ‘हामी सबै एउटै वडाका,’ एकजनाले भने– ‘त्यो पनि सबै छैनौ अहिले । गाउका सबै जम्मा भए यहाँ अटाइदैन ।’

‘एउटा घरका पाच जनासम्म आएका छन्,’ एकजनाले भने ।

‘मेरो घरका सात जना,’ २८ बर्षे भिमबहादुर सार्कीले भने– ‘तीन भाई, एक आमा, एक बुबा, एक बहुरानी र एक छोरा ।’

सन्डे छुट्टीको दिन । त्यसैले धेरै नेपाली पार्कमा भेलाभएर बैठक गर्छन् जसलाई सोसाईटी मिटिङ् भनिन्छ । कतिपयले बचाएको पैसा त्यही सोसाईटीमा जम्मा गर्छन्, कतिले त्यहीबाट ऋण लिन्छन् । कतिका लागि सन्डे दिउसै टन्न पिउने दिन पनि हो त्यसैले कोही फिट्टु अवस्थामा भेट्टाइन्छन् ।

‘हामी डन्डा बजाएर बसेको लेखेर के हुन्छ ?’ रातो आखा भएका एकजना तन्नेरीले लर्वराएको स्वरमा भने– ‘हाम्रो बेइज्जत मात्र हुन्छ । काम पाए उतै बसिन्थ्यो । पेटको लागि आउनु पर्ने ।’

θθθ

चौकीदारहरुको मुख्य काम ब्लक या कोलोनी भनिने टोलको सुरक्षा गर्नु हो । टोलका घरमालिक जम्मा भएर समिती (सोसाइटि) बनाउछन् र प्रत्येक घरबाट मासिक निश्चित पैसा उठाएर आवश्यक संख्यामा राती, दिउसो या दुबैका लागि चौकिदार भर्ना गर्छन् । रातीको ड्युटी नौ बजे शुरुहुन्छ र १२ घन्टापछि सकिन्छ । केही चौकीदार विहानीपख टोलका गाडी पुछ्न र धुन थाल्छन् जसबापत उनीहरुले प्रतिगाडी मासिक डेढ सय पाउछन् (बाइकको एकसय) । विष्णुप्रसाद नेपालको ब्लकका दिउसो बाजुराका अर्का तन्नेरी ड्युटी गर्छन् । त्यो ब्लकको सोसाइटीका सचिव हुन् एचआर मेहरा जसप्रति विष्णु आफ्नो हाजिरी लगायतका विषयमा प्रत्यक्ष उत्तरदायी हुन्छन् ।

‘नम्बर एक सुरक्षा,’ मेहराले चौकीदार राख्नुको प्रयोजन बताए– ‘कोही पनि यहाँ छिरेर सामान चोर्नु हुदैन । ब्लक भित्रका सबै गाडीको ख्याल गर्नुपर्छ । पार्कमा कसैलाई जथाभावी गर्न दिनु हुदैन । ब्लकका बासिन्दाले निश्चिन्त सुत्न पाउनु पर्छ ।’

रातका चौकीदार एउटा मोटो लड्डी र सिठ्ठीबाट सुसज्जित हुन्छन् । टोलको राउन्ड गर्दा अर्थात वरीपरी घुम्दा ती दुबै बजाउनु पर्छ– सीठ्ठी फुकेर, लठ्ठी ठटाएर । राती साढे ११ तिर सिठ्ठीको ‘पिरिरिर्र’ र लठ्ठीको ‘ट्याडाङ् ट्याडाङ्’को संयुक्त आवाज पहिलोपटक सुन्नेलाई आपतकालीन अवस्था सिर्जना भएको हो कि भन्ने भान पर्न सक्छ ।

‘लठ्ठी ठटाउनुको अर्थ उसको हाजिरी हो,’ मेहराले भने– ‘त्यो आवाजले ‘चौकीदारले ड्युटी थाल्यो, अब आनन्दले निदाए हुन्छ’ भन्ने सन्देश दिन्छ ।’

प्रत्येक दुई घन्टा जस्तोमा विष्णु राउन्डमा निस्कन्छन्– सबैकुरा ठिकठाक रहेको निश्चित गर्न । लठ्ठीको भुइतिरको भाग फलामबाट मोरिएको हुदा आवज झन् तिब्र आउछ जो चारतल्ला माथि पनि प्रष्ट सुनिन्छ । त्यो आवाज, विष्णुको बुझाईमा, विरालाको घन्टी जस्तै हो जसबाट घरमालिकले चौकीदार निदाएको छैन भन्ने निश्चित गर्छन् । ‘लठ्ठी नखड्खडायो भने ‘त“ राती सुतिस्’ भनेर तङ् गरिहाल्ने,’ विष्णुले भने– ‘म पनि जसले तंङ् गर्छ, राती त्यसको दलानको फरस (सीमेन्टीको भुईँ) फुटाइदिन्थे लठ्ठीले हानेर । भोलीपल्टदेखि केही भन्दैन थिए ।’

रातको एक बज्नै लाग्दा बी–३० को कार बाहिरबाट आएको छ । त्यसलाई पार्क गर्न सहयोग गरेपछि विष्णु दोस्रो राउन्डमा निस्केका छन् । बी–३५ को घर मालिकको छोरो पार्कको एउटा कुनोमा चुरोट खाइरेको छ । ‘रातभरी सुत्दैनन् यिनीहरु,’ विष्णुले भने– ‘विहानपख यिनीहरुको निद्रा मिठो हुन्छ ।’

θθθ

होचो कदका गहुगोरा विष्णु कम्मरमाथि बाधेको छोटो मैलो पाइन्ट, स्वेटरमाथि कसैले दिएको ज्याकेट, माकल टोपी, मफलर र स्पोर्टस् जुत्तामा ड्युटी गर्छन् । फैलिएका पोराभएको नाक, ठाडा कान, र हल्का चाउरी पर्दैगरेका गाला भएका विष्णु सामान्यत हसिला देखिन्छन् । बढी नै फाटिएका जस्ता लाग्दो औला भएका उनका हात दर्फरिएका र जाडोले फुटेका जस्ता छन् । दाईने हातको माझी औलो र देब्रेको कान्छी पुरै घाइते छन् र पट्टीमा बेरिएका छन् ।

‘अस्ति आगोले पोल्यो,’ उनले आधा मुस्काउदै र लजाएको पारामा भने– ‘हावा चलिरहेको थियो चिसो । राउन्ड लगाएर आगो बालेर बसिरहेको थिए । दाउरा पल्टेर पाइन्ट जल्न थालेछ । तातो हुदै आयो । खुट्टै पोल्न थालेपछि निभाउन खोज्न हात पोल्यो ।’

बी ब्लकका तीन मध्ये सबैभन्दा ठूलो पार्कको एउटा गेटको छेऊ उनी प्रत्येक रात साढे १२ बजेतिर ठन्डीसँग जुध्न थोरै दाउरा जम्मा पारेर आगो बाल्छन् । निद्रा न हो, १७ बर्ष पछि पनि राती आउन छाडेको छैन । शुरुमा जागा रहन ठुलै कसरत गर्नुपरेको थियो । टोलका बुढालाई राती निद्रा नलाग्ने, नयाँ ‘बादुर’ले ड्युटी गरेको छ-छैन चेकै मात्र गरेर बस्ने । ‘आँखामा खुर्सानी लगाएर जागा बसे हजुर,’ उनले ती दिन सम्झिए– ‘बुढाहरुले छिनछिनमा चेक गर्ने । लठ्ठी उठाइदिने, जुत्ता टिपिदिने । शुरुका दुइ-तीन बर्ष खुब तङ् गरे । आजकल आराम छ, केही गर्दैनन् ।’

‘किन ?’

‘सबैलाई जितियो नि अब त,’ उनले भने– ‘मनले जितियो । अचेल चेक गर्दैनन् । सुतेकै भेट्टाएपनि प्राय केही गर्दैनन् ।’

एक दिन बी–७ मा आएको पाहुनाले गाडीमा सात लाख छाडेर सुत्न गएछन् । गाडी चाहर्दा विष्णुले भेट्टाए । उनले बोलाएर सचेत तुल्याएपछि पुरस्कार पाए तीन हजार । ‘त्यति पैसा कमाउन मलाई जुग लाग्छ,’ उनले भने– ‘म भाग्न सक्थ्ये । तर मैले इमान बेचिन । उनीहरुको विश्वास जितेको छु ।’

यो टोलमा ड्युटी थालेको अवधीको मापन विष्णु मरेका बुढाको सङ्ख्याबाट गर्छन् । ‘म आइकन ४५ बुढा मरे यो कोलोनीमा,’ उनले भने– ‘ती मध्ये केही तंग गर्ने पनि थिए । केही राम्रा पनि थिए ।’

एकरात एउटा बुढाले विष्णु निदाएको बेला उनको जुत्ता र लठ्ठी उठाएर लगेछ । भोलिपल्ट विष्णुलाई बोलाएर जुत्ता थमाउदै हपारेछ– ‘हराम जादे, तूँ सोता हे ना ? ए हे सबुत ।’

लौ, कुरा गर्दागर्दै तीन राउन्ड मार्नै लाग्दा अहिले रातको साढे दुई बजेको छ । बी–३६ को सरदारलाई उठाईदिनुपर्ने बेला भएको छ । ११ बर्ष भयो विष्णुले यी सरदारलाई मूल ढोकाको घन्टी बजाएर उठाउन थालेको । सवा तीन बजे गुरुद्धारा जान निस्कन्छन् । सरदारले जतिसुकै धर्म गरेपनि विष्णुको मन जित्न सकेका छैनन् । ‘कन्चुसको राजा छ,’ विष्णुले भने– ‘जुन दिन घन्टी बजाएन, सुतिस् भन्छ ।’ उनले चारपाँच पटक घन्टी थिचे र तेस्रो राउन्डलाई निरन्तरता दिए ।

मध्य राततिर जति उराठ लाग्छ विष्णुलाई विहान हुदै आएपछि ड्युटीमा त्यति नै रमाइलो लाग्छ । ‘मान्छे उठ्छन्, पार्क तिर आउछन्, रमाइलो हुन्छ,’ उनले भने र सुनसानमा यताउति डुलिरहेको नजिकैको कुकुरलाई ‘तु इधर आ, हराम गधे’ भन्दै बोलाएर सुम्सुम्याए । ‘पहिले राती रेडियो बजाउथे, साइकलमा राउन्ड लगाउथे,’ उनले भने– ‘अचेल त्यो पनि मन लाग्दैन । साइकल पनि पुरानो भयो ।’ तीन बर्ष पुरानो र झन्डै एक किलोको लड्ठी पनि खिइदै गएको छ । ‘पहिलो म भन्दा अग्लो थियो,’ उनले आफ्नो काध सम्म आउने लौरो सुम्सुम्याउदै भने– ‘यी, अहिले छोटो भयो ।’

लौरो छोटो मात्र छैन चाहिएको बेला बेकामे नै हुन्छ । छ बर्ष पहिले एक रात राउन्डमा जादा बी–२४ अगाडी उनलाई नजिकैको भोगल बजारका केही गुन्डाले चक्कु देखाए । ‘मेरो पासमा खुकुरी थियो तर कसरी हान्न सक्थे र?’ उनले भने– ‘भागें । बालबाल बचें ।’

θθθ

यत्रो साल लठ्ठी बजार्दा विष्णुलाई थकाई नलागेको होइन । तर कुरा उही सपनामै गएर टुङ्गिन्छ जो पुरा भएको छैन । ‘सरकारी नोकरी भएको भए पेन्सन हुन्थ्यो, यसमा हुदैन,’ उनले भने– ‘तागत रहेसम्म गर्ने हजुर । सिद्धेपछि छाड्ने ।’ यहा सम्मकी बर्षमा एक महिना विदा लिएर घर जादा उनको तलव काटिन्छ । पाच-छ साल अझै ड्युटी गर्न सकिन्छ भन्ने उनलाई लागेको छ । मुस्किलले प्रति महिना तीन हजार भारुको कमाई भएका विष्णुको योजना अनुसार घर बनाउने पैसा जम्मा गर्न अब पाच बर्ष चौकीदारी गर्नुपर्नेछ । ‘दिल्लीको कमाईले’ नवलपरासीको कुमारबस्तिमा छ कठ्ठा १५ धुर खेत पनि किनेका विष्णुको परिवार पत्नी, छोरी (१४ बर्ष) र छोरा त्यही छन् । छोरी सरकारी र छोरा (५ बर्ष) बोर्डिङ् स्कुलमा पढ्छन् । सबै पैसा उनले घरपरिवारकै लागि जोगाएका र खर्चेका छन् । आफ्नो मनोरन्जनका लागि गरेको भनेको महिनाको ३० रुपैया हो जो मोवाईल फोनमा कल ब्याक रिङ्टोन सेट गर्न लाग्छ । उनको नम्बरमा डायल गर्दा ‘सम्झनाले भैरछु टोलाउने-पापीनीलाई के भनी बोलाउने-दमौलीमा पूल-पिरती लाउनाले भयो साह्रै भूल’ लोकगीत बज्छ । उनका साथीहरु त्यो गीत सुन्न उनको नम्बर डायल गर्छन् ।

θθθ

छोराछोरीको प्रसंग आउदा विष्णु आफ्नै बाल्यकाल सम्झिन्छन् । विष्णुका तीन दाजूभाई । उनी जेठा । कान्छोको सानैमा मृत्यु भयो । माइला अहिले पन्जावतिर छन् । विष्णु १० बर्षको हुदा लडेर खुट्टो भाचिएको थियो । गाउमा उनलाई अप्ठेरो होला भनेर विष्णुका पन्डित÷पुरेत बाबु पाल्पा छाडेर सपरिवार नवलपरासी बसाई सरेका थिए । त्यहा तीन विघा जग्गा किनेका थिए जो बाढीले कटान गर्दै लगेपछि छ बर्षअघि पुरै सकियो ।

‘पढ्ने बेलामा बुद्धि आएन,’ उनले भने– ‘घुमेर हिड्ने, बद्मासी गर्ने । अहिले दुख पाइयो ।’

एकदिन घरमा ‘ठाक्क ठुक्क परेपछि’ विष्णु २० बर्षमा पन्जाव हानिएका थिए । पाँच बर्षसम्म फर्केनन् । भाइ लिन गएपछि दुबै दिल्ली आए । यहाँ दुइ बर्ष बसेपछि दुबै घर फर्के । घरमा केही समय बसेपछि उनी फेरी दिल्ली आए र अहिले चौकीदारी गर्ने ठाउमा काम थाले ।

त्यति सम्झिएपछि उनले ‘क्लक १००’ ब्रान्डको चुरोट सल्काए । एकरुपैया पर्ने चुरो उनले दिनको (जसमा रात पनि पर्छ) चारवटा खान्छन् । विहान नौ बजे ड्युटी सकिएपछि ११ बजेसम्म सुत्ने विष्णु त्यसपछि आफू बस्ने घरमा सरसफाई र खाना पकाउन सघाउछन् । त्यतिबेलै हो उनले नवभारत टाइम्स, हिन्दुस्तान या पन्जाव केसरी जस्ता हिन्दी दैनिक किनेर बाकी विश्वसँग सम्बन्ध स्थापित गर्ने । ‘पन्जाव केसरीले नेपालको घट्ना पनि दिन्छ, त्यसैले त्यो मन पर्छ,’ उनले भने । तीन बजे फेरी सुत्छन्, सात बजेसम्म । नौबजेको ड्युटी भएपनि उनी आठैबजे पुग्छन् । चक्र दिनहुँ त्यसैगरी घुमिरहेको छ ।

सम्बन्धित लि‌ङ‍क
1. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi