Tag Archives: नेपाली समाज

jeetman gharti

जहाँबाट “जनयुद्ध” शुरुभएको थियो…

jeetman gharti

जीतमान घर्ती

मेरो मध्य पहाड यात्रा जर्नलका कतिपय पन्नाहरू यहाँ प्रकाशित हुनै बाँकी छन् । तिनमा तस्बिरहरू पनि थप्न बाँकी छ । तर जीवन अगाडी बढीरहेको छ । यसैबीच मैले त्यही यात्राबाट संश्लेसित दुइ जर्नलहरू पत्रिकामा प्रकाशन गरिसकेको छु । एउटा “रुकुम-रोल्पा एक्स्प्रेस” शीर्षकमा अघिल्लो साता र अर्को “शान्तिको लामो सास” शीर्षकमा यो साता । ती दुबै टुक्रा मैले रोल्पाको लिबाङस्थित एउटा साइबर क्याफेमा बसेर लेखेको हुँ जसमा मुख्यत शान्तिकालमा गाउँले जनताको “परिवर्तित” जीवनीका केही झलकहरू प्रस्तुत छन् ।

तस्बिरमा देखिएका यी जीतमान कमरेडसँगको त्यो दिनको यात्रा रमाइलो भएको थियो । मैले चाहि दिनभर खुट्टा खोच्याउदै हिड्नु परेको थियो देब्रे घुँडाले धोका दिएपछि । यिनको एउटा गधाले मेरो सात किलो जतिको झोला बोकिदिएको थियो । अन्यमा मैले उनको गधाले भारी बोक्ने दर अनुसारको पैसा दिन खोज्दा जीतमानले लिएनन् । यिनी कुनै जमानामा माओवादी “पीएलए”मा भर्ती भएर केही आक्रमणमा सामेल भएका थिए ।

“उतिबेला पार्टीका पछाडी दौडीइयो, अहिले गधाको,” एउटा सन्दर्भमा उनले भनेका थिए । दसैंमा गाउँ लुकुममा मेला आयोजना गर्न उनले वाइसीएललाई १२ सय रुपैया चन्दा दिएको बताए । युद्ध सकिएपछि पनि पार्टिले सेनामै रहन दिएको दबाव नकारेर खच्चडमार्फतको व्यवसाय थालेका उनले पार्टीप्रति अझै सहानुभूति भएकाले त्यो चन्दा दिएको बताए । “काङ्ग्रेस, एमालेले मागेभने पनि दिनुहुन्छ त ?” मैले सोधे ।

“दिनुछु,” उनले भने । “१२ सयै त दिन्न तर दुइचार सय दिन्छु किनकी गाउकै मान्छेहरुले केही गर्ने खोजेर माग्न आए दिन्न भन्न कसरी मिल्छ ?”

जीतमानको थप कथा (र तस्बिर) यहाँ छ । अनि त्यो दिनको मेरो पीडादायी हिडाईबारेको विवरण (अ‍ंग्रेजीमा) चाहि यहाँ छ- Limping all day long with a Donkey caravan to reach Rukumkot

Advertisements

गाउँमा शान्तिको लामो सास (रुकुम-रोल्पा एक्स्प्रेस-२)

dev bahadur budhathoki

रुकुमका देवबहादुर बुढाथोकी

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिके हुन्छ । 

shanti ko laamo saas

ठूलो पार्न क्लिके हुन्छ

लिबाङ (रोल्पा)- पाँच वर्षअघि देशमा शान्ति छाएपछि देवबहादुर बुढाथोकीले मनाएको खुसी अझै पनि उनले लगाएको पोसाकमा झल्किन्छ । कुनाको रुकुमेली गाउँ तकसेराको पनि कुनाको बस्ती दमचनमा अघिल्लो साता भेटिएका उनी सैनिकले लगाउने कम्ब्याट पोसाकमा ठाँटिएका थिए ।

‘अचेल यस्तो लगाउन पाइन्छ, है ?’ एक जना संवाददाताले उनलाई सोधे ।

बाटैको पसलमा किलिपाई ब्रान्डका चिनियाँ खेल-जुत्ता र सनसिल्क स्याम्पुका प्याकेट (स्यास्से) सम्याइरहेका बुढाथोकी मुस्काए । अनि उनले भने- ‘शान्ति आएपछि कसले रोक्छ (लगाउन) ?’ बढो आत्मविश्वासी र निडर पारामा त्यसो भन्दा उनले दाहिने हात उज्याउँदै त्यसका चोरी र बूढी औंला फैलाएका र बाँकी तीन औंला खुम्च्याएका थिए ।

रुकुमको पुरानो सदरमुकाम रुकुमकोटका स्थायी बासिन्दा उनी ढोरपाटन सिकार आरक्ष (बाग्लुङ) सँगको सीमावर्ती बस्तीको जनप्रिय निमाविका शिक्षक हुन् । धेरैलाई पुरानो लाग्न सक्छ तर २०५६ मंसिर २९ गते पुलिसले गाउँ सर्च गर्दा खुबै दुख्ने गरी पिटेको, तारिक बोकाएको र केही दिनपछि ‘माओवादी हैन रै’छ’ भनी छाडिदिएको घटना उनले बिर्सन सकेका छैनन् ।

त्यस्तै अविस्मरणीय बनेको छ ३२ वर्षे बुढाथोकीका लागि युद्धकालमा माओवादीलाई चन्दा दिँदाको हैरानी । ‘पहिले चौमासिक चन्दा खुब दिइयो,’ दसैंको टीकापछिको त्यो दिन एक जना ग्राहकसँग किलिपाई जुत्ताको मोलमोलाई टुंग्याएपछि बुढाथोकीले भने- ‘नदिए ‘(गाउँबाट) निस्केर जा’ भन्थे ।’ फेरि उनले त्यसैगरी हात उज्याए र थपे- ‘शान्ति आएपछि त कसले दिन्छ ?’

बुढाथोकीमा देखिएको त्यो आत्मविश्वास र निडरपना नै बितेका पाँच वर्षयता जारी शान्ति प्रक्रियाले देशैभरिका जनतालाई दिएको सबैभन्दा ठूलो उपहार हो । ‘अहिल्यै मरिन्छ या एकछिन पछि’ को त्रासमा रहेका जनताले, रुकुमकै मरवाङ गाउँका ४६ वर्षे बलप्रसाद सुनारका शब्दमा, ‘आफ्नो परिवारसँग दुःखसुख जे छ खान, बस्न’ पाएका छन् । द्वन्द्व सकिएपछिका पाँचै वर्षमा देशले आर्थिक फड्को मार्ने भनी गरिएका अपेक्षाको समीक्षा हुन बाँकी नै छ तर यो अवधिमा फोन र जनताकै सहभागितामा सडक सञ्जाल फैलाउनुबाहेक राज्यले पहाडै फेर्ने या कल्पनै नगरेको सुखसुविस्ता नदिएको थुप्रै मानिस बताउँछन् । राष्ट्रिय तथ्यांकैले बताउँछ, द्वन्द्व सकिएपछिका वर्षहरूमा पनि देशको अर्थतन्त्र द्वन्द्वकालकै जस्तो साढे तीनदेखि चार प्रतिशतभन्दा बढीले फैलिन सकेको छैन । निजी लगानी झन् घटेको छ । ०६४/०६५ मा कुल गार्हस्थ उत्पादनको १७ प्रतिशत पनि निजी लगानी अहिले झन्डै १४ मा झरेको छ । त्यसका लागि लोकतन्त्र पुनस्र्थापना लगत्तैका ‘भाँडतन्त्र’ र हडतालहरूको शृंखला जिम्मेवार होलान् तर यी पाँच वर्षमा रुकुम र रोल्पाजस्ता माओवादी हिंसाबाट अति प्रभावित जिल्लाका जनताले पनि स्वतन्त्र जिउन र आफूखुसी रोजीरोटी गर्न पाउँदा त्यसले जनतालाई गरिबीमा थप जाकिनबाट रोकेको छ ।

‘शान्ति स्थापना भएयताका पाँच वर्षमा स्थानीय अर्थतन्त्र चलायमान भएको छ,’ काठमाडौंमा आधारित अर्थशास्त्री चिरञ्जीवी नेपालले फोनमा कान्तिपुरसँग भने, ‘त्यसलाई टेवा दिन सरकारले साना/ठूला आयोजना र पूर्वाधारमा गर्नुपथ्र्यो जो हुन सकेन ।’ जनताले निर्धक्क गरिखान पाउँदा स्थानीयस्तरमा स्वरोजगारी बढेको, जनतासँग पैसा हुन थालेको र त्यो पैसा धेरैले अझ बढी कमाउने आशामा विदेश जान प्रयोग गरिरहेको अर्थशास्त्री नेपालको विश्लेषण छ । ‘द्वन्द्वकालमा दैनिक पाँच सयको हाराहारीमा जनता विदेशिन्थे,’ उनले भने- ‘उनीहरूसँग विदेश जान पैसै हुँदैनथ्यो । अहिले स्वदेशमै केही कमाएपछि त्यही पैसा प्रयोग गरेर दैनिक १२/१५ सयको हाराहारीमा मानिस विदेशिइरहेका छन् । यो आफैंमा रुचिपूर्ण विकासक्रम हो ।’

द्वन्द्वकालमा सुको नकमाउने तर शान्ति आएलगत्तै विदेशिएर अहिले महिनाको २० हजार बचाउने केही सफल नागरिकहरूमध्येका हुन् पृथ्वी बुढामगर । रोल्पाली सदरमुकाम नजिकैको सानो बस्ती सिमलबाङका उनी अघिल्लो महिना तीनमहिने बिदामा घर फर्किएका हुन् । युद्धको अन्तिम एक वर्ष एउटा एसएलआर बोकेर माओवादी सेनामा सामेल भएका उनले बिहीबार आफ्नै घरमा एक जना संवाददातासँग कुरा गर्दै ‘काभ्रेको पनौती र मकवानपुरको फापरबारीमा भएका आक्रमणमा सहभागी’ भएको बताए । (अहिले ‘स्वतन्त्र नागरिक’ र माओवादीको ‘शुभेच्छुकमात्रै’ रहेको बताउने बुढामगर त्यतिबेला स्वेच्छाले माओवादी सेनामा गएका थिएनन् । त्यसबारेको कथा गए शनिवारको कान्तिपुरको पृष्ठ ६ मा पढ्नुहोस् ।) ‘विदेश गएर हल्का पैसा कमाइयो,’ साउदी अरबमा आफू काम गर्ने कम्पनीको नाम लेखिएको सर्टमै भेटिएका बुढामगरले भने, ‘दुई अढाइ लाख ऋण तिरियो । अब केही जग्गा जोड्ने विचार छ ।’

शान्ति स्थापना भएयताका पाँचमध्येका चार वर्ष (जो फागुन २ मा पुग्दैछ) विदेशमै बिताए पनि रोल्पाका गाउँहरूमा सडक बन्न थालेको, मोबाइल फोनको संकेत घरैमा पुगेको र जनताले शान्तिमा आनन्दको सास फेर्न पाएको देख्दा आफूलाई निकै खुसी लागेको बुढामगरले बताए । ‘त्यतिबेला कतैबाट पैसा कमाउँला, घरपरिवारलाई सुखसँग राखौंला, कपडा किनिदिउँला भन्न कहाँ पाइन्थ्यो ?’ उनले भने । ‘कि मर्‍यो कि मारियो भन्ने थियो । अहिले विदेशमा जति गर्मी भए पनि तलब आइरहेको छ महिना-महिनामा । परिवार पाल्न पाइएको छ । यो त राम्रो भयो नि, हैन र सर ?’

रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू

Jeetman Gharti

जीतमान घर्ती

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । 

जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर खच्चरका पछाडि दौडिन थालेका यी रूकुमेली अधबैंसेको दैनिक गुजारा अहिले यिनै चौपायाले चलाएका छन् ।

‘मुख्यत पिसाब नै रोकिने डर हुन्छ,’ हालैको एक दिउँसो १० वटा खच्चरहरूको लस्करसँगै आफ्नो गाउँ काक्रीको लुकुमबाट पुरानो जिल्ला सदरमुकाम रूकुमकोट जाँदै गरेका घर्तीले भने, ‘अर्को, कतै भिरमा लडेर मर्ला कि भन्ने हो । एउटा लड्यो भने ५० हजार गयो । कमाइ गयो ।’

नेपालका अन्य थुप्रै पहाडी गाउँमा जस्तै कुनैबेला माओवादी अति प्रभावित रूकुम र रोल्पाका पहाडहरूमा हालैका केही वर्षमा पुगेको सडक सञ्जालले काम गरिनसकेको यो अवस्थामा सामान ओसारप्रसार गर्न खच्चरहरू नै प्रयोग गरिन्छन् । खच्चरहरूले सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा सस्तैमा सहजै सामान उपलब्ध गराउनुबाहेक घर्तीजस्ता पूर्वगुरिल्लाहरूको जीवनयापनमा योगदान पुर्‍याएका छन् ।

पाँच वर्षअघि घरजग्गा बेचेर ४१ हजारमा ६ वटा खच्चर किनेका घर्तीले त्यही वर्ष दुईवटा चौपाया गुमाए । रहेका चारवटाले नपुगेजस्तो लागेपछि तिनैबाट कमाएको पैसा र त्यसलाई गाउँमा ९० दिने सयकडा १० को ब्याजमा लगाएर थपिएको रकम जोडेर उनले तीन महिनाअघि ५० हजार गोटामा थप ६ वटा खच्चर किने । ‘राम्रोसँग ढुवानी पाए महिनामा सबै खर्च कटाएर १२ हजार बच्छ,’ उनले भने ।

क्यान्टोनमेन्टमा रहेर महिनामा साढे छ हजार कमाउने पूर्वगुरिल्लाहरूका लागि घर्ती ईष्र्याका पात्र बन्न सक्छन् । क्यान्टोनमेन्टमा ‘सरकारको, अरूको खटनपटन’ मा रहनुभन्दा गाउँमा ‘स्वतन्त्रले काम गर्न पाए’ बाट सन्तुष्ट घर्ती जीवनमा आएको सानै सही तर महसुस गर्न सकिने परिवर्तनबाट सन्तुष्ट छन् । ‘पहिलाको भन्दा अहिले चिन्ता छैन,’ रूकुमकोट पुग्न डेढ घन्टा बाँकी रहँदा उडहर खोला किनारमा एकैछिन खच्चरहरू चराउन रोकिएका उनले भने, ‘पहिलाको भन्दा अहिले चिन्ता छैन । घरजहान पालिएको छ, खाइएको छ । त्यही नै हो हाम्रो सन्तुष्टि ।’

Prithvi Budhamagar

पृथ्वी बुढामगर छोरी संरचनासँग

त्यस्तै ‘सन्तुष्ट’ अवस्थामा थिए २४ वर्षे पृथ्वी बुढामगर रोल्पाली सदरमुकाम लिबाङ नजिकैको एउटा शान्त बस्ती सिमलबाङको खरले छाएको सानो घरमा । भुइँतले कोठामा पत्नी हस्तकुमारीसँगै जोडीकी चार वर्षे छोरी संरचना (‘यो नौलो नाम मैले नै छानेको,’ उनले भने) लाई खेलाइरहँदा छेवैको क्यासेटमा एउटा गीत बजिरहेको थियो-

कसले देख्यो मन्दिरमा देउतालाई
लाखौंमध्ये रोज्या छु एउटालाई
धर्ती उनको आकाश जूनकै हो ।

त्यो गीत उनले साउदी अरबबाट मेमोरी कार्डमा ल्याएका हुन् ।

२०५९ सालतिर एउटा असहज स्थितिमा उनी माओवादी सेनामा गएका थिए । ‘उताबाट पनि चाप थियो, सेनाले कुट्ने, रोल्पाबाहिर जान पनि नागरिकता माग्ने,’ उनले सम्झिए, ‘यता पनि माओवादीले चेप्ने ।’ त्यसैबीच उमेरै नपुगी विवाह गरेको आरोपमा माओवादीले पक्रेर ‘अभियानमा लगेपछि’ त्यतिबेला १५ वर्षका बुढामगरलाई दुईवटा छनोट दिइएको थियो- पार्टीको सेनामा लाग्ने या सजाय भोग्ने । ‘सजाय भोगेर खाना पकाएर बस्नुभन्दा सेनामै लागेर लड्ने विचार गरेँ,’ उनले भने, ‘त्यतबेला नाबालकै थिएँ म, कुरै बुझेको थिइनँ ।’ तर उनी आफ्नो भाग्य बलियो रहेको ठान्छन् । ‘देखेको होइन, लेखेकै पाइन्छ,’ उनी भन्छन्, ‘आफूभन्दा पछाडिका साथी ढले । आफू अगाडि गएर पनि केही भएन । सामान्य चोट मात्र लाग्यो ।’

दुई वर्षको छँदा आमा गुमाएका पृथ्वीका बाबु एक महिनाअघि उनी नेपाल फर्केको दोस्रो दिन बिते । बन्दुक समाएको एकै वर्षमा र तीनवटा मात्रै आक्रमणमा सहभागी भएपछि युद्ध रोकियो अनि उनी सेनाबाट उम्किए । ‘पार्टीले धेरै आग्रह गर्‍यो सेनैमा फर्किन,’ उनले सम्भिmए, ‘म घरैमा बसेँ । बिहे गरेँ । छोरी जन्मी । अनि विदेश गएँ ।’

उनका दाजु त्यतिबेला साउदीमै थिए । पासपोर्ट बनाउन र दलाल खर्चसहित झन्डै डेढ लाख ऋण लागेको थियो उनलाई २००८ फेब्रुअरी ७ मा काठमान्डुबाट उड्दा । केही महिनाअघि निर्माण कम्पनीमा टोली नेता भएपछि तलब बढेकाले, तास नखेल्ने र रक्सी नखाने भएकाले उनले महिनामा २० हजारसम्म जोगाउन सकेका छन् । फर्केपछि एक्स्काभेटर चलाउने कामतिर लागेर झन् बढी पैसा जोगाउने उनको योजना छ । ‘त्यसपछि धेरै विदेशमा बस्दिनँ,’ उनले भने, ‘पैसा जोगाएर स्वदेशमै फर्केर केही गर्ने विचार छ ।’

ठ्याक्कै त्यही विचारलाई प्रयोगमै ल्याएका छन् रूकुमको कोल गाउँका हेमराज पुनले । अघिल्लो साता दसैंको टीकाको भोलिपल्ट बागलुङको ढोरपाटन क्षेत्रबाट ओरालो लागेका एकजना संवाददाताले उनलाई कोल गाउँसँगै जोडिएको सानु भेरीमाथिको एउटा अक्करे भिरमा बलियो घोडा चढेर घर फकिर्ंदै गर्दाको अवस्थामा भेट्टाएका थिए ।

द्वन्द्वकालमा बाध्यतामा परेर ‘माओवादीका पक्षमा राजनीति गरेको’ बताउने पुन स्थितिबाट उकुसमुकस भए पनि ०६० मा मलेसिया उडेका थिए । ‘पढ्नेभन्दा पैसै नहुने, खेती किसान गरेर खाम भन्दा खानै नपाउने, हरेक पक्षबाट तनाव,’ उनले सम्भिmए, ‘अनि मैले विदेश जाने प्लान बनाएँ । नेपालमा शान्ति छायो नि, त्यो बेला म विदेशमा थिएँ । तर त्यहाँ पनि त्यस्तै खालको पीडा भोगियो । भन्याजस्तो स्यालरी नपाउने, मानसिक टेन्सन, पैसा नहुने । इलेक्ट्रोनिक काम गरेको, गाह्रो । ओभरटाइम यताउता गर्दा १०/१२ हजार रुपैयाँ हुन्थ्यो, महिनामा ६/७ हजार, ८/९ हजार त्यस्तै बच्थ्यो । तीन वर्ष पीडा सहेर आइयो । गएको रिन तिरियो सर । जाँदाखेरि डेढ लाखजति रिन थियो, पासपोर्ट काट्दा यताउति गर्दा ।’

नेपाल आएपछि उनी विदेश फर्केनन् । बरु व्यापार थाले सातवटा खच्चर किने, लुकुमका जीतमान घर्तीकै जस्तो । सबै खच्चर ‘पुराना भएकाले नयाँ किन्ने सोचले’ केही साताअघि पचास हजारको दरमा बेचेका पुनले घरमा सानो पसल पनि चलाएका छन् । ‘अनपढ मान्छे परियो,’ दाङको घोराहीमा दस कक्षासम्म पढेका उनले भने, ‘अर्को पेसा के गर्ने ? बाँच्ने आधार त गर्नुपर्‍यो ।’ खेतीकिसानीलाई आफ्नो ‘वास्तविक पेसा’ बताउने उनले ‘वैज्ञानिक तरिका नअपनाएकाले त्यसबाट मात्रै वर्षैभरि खान नपुग्ने’ बताए ।

शान्ति छाएयता गाउँठाउँमा जनताले जेनतेन परिश्रम गर्न र कमाउन पाएको र सडक बनेर विकास पनि भइरहेको पुनको ठम्याइ छ । ‘जे होस्, अहिले चाहिँ गाउँमा मान्छेहरूले कसरी पैसा कमाउने, कसरी विकास गर्ने सोच्न पाएका छन्,’ उनले भने, ‘र, चाहेको कुरा सजिलै गर्न सकेका छन् ।’ द्वन्द्व रहेकै भए आफूले अहिले पाएको सफलता असम्भव रहेको उनलाई थाहा छ । ‘कहाँ सक्थेँ सर, म द्वन्द्वमा यसरी काम गर्न र पैसा कमाउन,’ महिनामा २० हजारजति कमाउने र त्यसमध्ये पाँच/छ हजार खर्चेर १२ वर्षे छोरी र नौ वर्षे छोरालाई पोखरामा पढाइरहेका उनले भने । ‘गाउँले पाराले बुझ्दा एउटा छोरा भोलि तलमाथि भयो भने त्यो अवस्थामा कतै मलाई समस्या आइपर्छ कि भनेर छोराको माग गरेर -तेस्रो) बच्चा पाउने सोच बनाएका’ थिए पुनले । सात महिनाअघि दोस्री छोरी जन्मिइन् । ‘तर पनि म खुसी छु,’ उनले भने, ‘छोरी पनि छोरा नै हो सर । सबैलाई समान रूपमा शिक्षादीक्षा दिने सोच बनाएको छु ।’ कोलमा उनी श्रीमती र बच्चीसँग बस्छन् ।

Hemraj Pun

हेमराज पुन

शान्ति नछाएको भए आफू त जसोतसो संघर्ष गरेर बाँच्थेँ होला भन्ने पुन ‘छोराछोरीको भविष्य चाहिँ बिग्रन्थ्यो’ भन्ठान्छन् । ‘कसरी बाँच्ने गोलीबाट भन्ने अवस्थामा मेरो जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने सोच हुनै सक्दैनथ्यो,’ उनले भने । ‘कतिबेला माओवादी आएर थर्काउला, मार्ला, कुट्ला, धम्क्याउला, कतिबेला आर्मी आएर मार्ला, कुट्ला भन्ने मात्र त्रास हुन्थ्यो सर । व्यापार गर्ने, भविष्यबारे सोच्नै पाइँदैनथ्यो ।’

जनतलाई भविष्यबारे सोच्न मौका उपलब्ध गराउनुबाहेक शान्ति आउनाले देशमा मुख्यतः सञ्चार र सडकमा केही प्रगति भएको थुप्रै मानिसको बुझाइ छ । जस्तो, पुनकै गाउँ नजिकैको अर्को गाउँ काक्रीमा गत वर्ष गाडी पुग्दा उनी चकित भएका छन् ।

‘हाम्रो काक्री गाविसजस्तो ठाममा पनि गाडी आउनु भनेको धेरै ठूलो कुरा हो सर,’ उनले भने, ‘द्वन्द्व रहिरहेको भए अझै दस वर्ष लाग्थ्यो ।’

द्वन्द्वमा पिल्सिएका जनतामा सानो कुराले पनि कत्ति ठूलो आशा र उमङ्ग पैदा गर्छ भन्ने कुरा ३० वर्षे पुनका ती अभिव्यक्तिमा झल्किन्छ । उनले भनेको पोहोर खुलेको त्यो बाटो, काक्रीलाई रूकुमकोट जोड्ने सडकमा झन्डै पाँच घन्टा पैदल हिँडेर रूकुमकोट पुगेका एकजना संवाददाताले थुप्रै स्थानमा पहिरोले बाटो अवरुद्ध पारेको र कम्तीमा दुई ठाउँमा पुल नहुँदा बर्खा सकिएपछिका यी दिन पनि गाडी चलिहाल्ने अवस्था नभएको देखे । तर अबका केही सातामा त्यो खण्डलाई डोजर लगाएर सुधार्ने र चारैवटा पाङ्ग्रामा गियर भएका (फोर हि्वल ड्राइभ) गाडीहरूले जनतालाई सेवा दिने अपेक्षा गरिएको छ ।

द्वन्द्व नहुँदा जनताले आफूखुसी जीवनयापन गर्नेबाहेक पाएको फाइदा बस् यही हो । सानै स्तरमा भए पनि मुख्यतः सडक र अन्य केही विकासका काम हुन पाएका छन् जो युद्धकालमा रोकिएका थिए । ‘त्यो त सम्भवै छैन सर,’ हिंसा रहिरहेको भए काक्रीमा सडक आउँथ्यो होला भन्ने प्रश्नमा पुनले भने, ‘कसरी आउने ? विकास गर्नुपर्ने मान्छेहरूले द्वन्द्वमै सबै दिमाग, पावर लगाएका हुन्छन् ।’ गाउँमा जनतालाई चाहिएको मुख्य कुरा ‘गाडी नै’ भएको ठान्ने पुनले थपे, ‘बाँकी कुरा त गाडी आएपछि जे पनि गर्न सकिने भयो नि ।’

२०५९ सालतिर पुन घोराहीबाट कोल गाउँमा पुग्दा अवस्था सहज थिएन । झन् माओवादीका पक्षमा राजनीति गर्नु कहाँ सजिलो थियो ? ‘सजिलो कहाँ हुनु र सर,’ उनले भने, ‘तर पनि गर्नैपर्छ भन्नेखालको कुरा आयो । बाँच्नु त पर्‍यो नि सर ।’

त्यो अप्ठेरोबाट उम्किन उनी बिदेसिएका थिए । विदेशमा कम पैसा, बढी दुःख र मालिकको खटनपटन उनलाई मन परेन । कोलमा अहिले उनी आफ्नो मालिक आफैं भएका छन् जसले उनलाई सबैभन्दा बढी सन्तुष्टि दिएको प्रस्टै महसुस गर्न सकिन्छ । यहाँ उनी बढी कमाउँछन् र बढी बचाउँछन् परिवारसँगै बसेर । युद्ध रोकिएपछि राष्ट्रिय राजनीति राम्रो बन्न नसक्दा र निजी क्षेत्रले लगानीको सुरक्ष्ाित वातावरण पाउन नसक्दा राष्ट्रिय अर्थतन्त्र खासै उकालो चढ्न सकेको छैन । तर पनि शान्तिमा स्वतन्त्रतापूर्वक सास फेर्न बताउने जनता नेपालैभरि भेटिन्छन् । जनताले त्यसरी स्वतन्त्रतापूर्वक काम गरी खान पाउँदा र पैसा कमाउँदा स्थानीय अर्थतन्त्रमा कुनै न कुनै ढंगले सकारात्मक प्रभाव परेको हुन्छ, गरिबी घटाउन (कम्तीमा नबढाउन) भूमिका खेलेको अर्थशास्त्रीहरू बताउँछन् ।

हामी सबै रोल्पाली, रूकुमेली

माओवादीले ‘महान् जनयुद्ध’ र अन्यले ‘हिंसात्मक’ भन्ने सशस्त्र आन्दोलन सुरु भएका दुई जिल्ला रोल्पा र रूकुमले नेपाली मानसिकतामा त्यस्तो छवि बनाएका छन् जो अन्तर्राष्ट्रिय स्तरमा हालैका वर्षहरूमा युद्धको चपेटामा परेका अफगानिस्तान र इराकको जस्तै छ । द्वन्द्वताका सदरमुकाम लिबाङ बजारको तीन किलोमिटर क्षेत्रलाई तारबारले घेरिएको थियो जो गि्रन जोन (सुरक्षित हरित क्षेत्र) का नाममा काबुल र बग्दादमा पनि देखियो । रोल्पा या रूकुम कहिल्यै नआएका कतिपय नेपालीका लागि यी जिल्ला अझै पनि भत्किएका, टुटेफुटेका घरहरूमा खतरनाक, हिंस्रक र लडाइँ मात्र गर्ने मान्छेहरू बस्ने ठाउँ हुन् । वास्तवमा अघिल्लो साता बागलुङको ढोरपाटन क्षेत्र हुँदै पहिलोपटक रूकुम छिर्दा र त्यसपछि रोल्पा आउँदा मलाई पनि अनौठो लागेको थियो जो बितेको ढेड दशकमा यी जिल्लाहरूको देशैभरि फैलिएको हिंसासँग जोडिएको सम्बन्धबाट उब्जेकोमा दुई मत छैन । पक्कै, धेरै नेपालीमा रोल्पा र रूकुमको नाम सुन्दा जेजस्तो प्रतिक्रया उत्पन्न हुन्छ त्यो उदाहरणका लागि, पर्वत या कैलालीको नाम सुन्दा उत्पन्न हुँदैन । थुप्रै रोल्पाली र रूकुमेलीहरू अझै पनि बाँकी नेपाली समाजले आफूहरूलाई शंकाले हेर्ने, माओवादी ठान्ने र नराम्रो दृष्टिले हेर्ने गरेको गुनासो गर्छन् ।

तर रोल्पाली सदरमुकाम लिबाङ र नजिकैको व्यापारिक केन्द्र (हो, रोल्पामा व्यापारिक केन्द्र पनि छ) सुलिचौरका सात/आठ तले पक्की घरहरू, ती दुवै ठाउँमा जिन्स र टिसर्ट लगाएर मोबाइलमा फेसबुक चलाइरहेका तन्नेरी र विदेशबाट फर्किएका प्रौढ पुरुषहरूको दृश्यले कतिपयलाई चकित तुल्याउन सक्छ । पक्कै, युद्धको चपेटामा परेको भनिएको लिबाङमा साततले घर र त्यसमाथि मोबाइलका टावरहरू देख्दा सुरुमा को अचम्मित हुँदैन ? विशेषगरी त्यस्ता मान्छेहरू जो पहिलोपटक रोल्पाली भेट्दा ‘रोल्पाआआ?’ भनी प्रश्न गर्छन् ।

मिलन पुनले काठमान्डु जाँदा त्यस्ता आश्चर्यबोधक प्रश्नहरूको थुप्र्रै सामना गर्नुपर्‍यो ।

‘मैले घर रोल्पा भन्नेबित्तिकै मान्छेहरू ‘रोल्पाआआआ?’ भन्दै अचम्म मान्दै मलाई हेर्थे टाउकादेखि खुट्टासम्म,’ लिबाङ बजारको सडकछेउ एउटा सानो झुपडीअगाडि बिहीबार बिहान घाम ताप्दै अक्सफोर्ड एडभान्स्ड लर्नर्स डिक्सनेरी, आठौं संस्करण ‘पढिरहेका’ २० वर्षे पुनले भने । करातेमा ब्ल्याक बेल्ट, सेकेन्ड डन उनी राष्ट्रिय खेलकुदमा भाग लिन ०६५ मा काठमान्डु जाँदा त्यो अनुभव बटुल्न पाएका हुन् ।

मुख्यतः आँखा (साना तर चिटिक्क परेका) र अलिअलि नाक(हल्का थेप्चो र अनुहारमा ठ्याक्क मिलेको) बाटै खाट्टी मगर(पुन मगर) देखिने यी युवा परेमा दुईचार जनालाई सहजै ढाल्न सक्छन् । के रोल्पाली छवि भनेको सबैलाई कुट्दै हिँड्ने या विद्रोह गरिहाल्ने हो ? हो भने के पुन रिस उठ्नासाथ मान्छे कुटिहाल्छन् त ? त्यो कराते सीप र क्षमता प्रयोग गर्दा आफू हरदम सचेत हुने उनले बताए । ‘त्यसै कुट्दै हिँड्ने कुरा भएन क्यारे,’ आँखै बन्द हुनेगरी तर स्वादिलो हाँसो निकाल्दै ठिटाले भने, ‘तर आक्रमण भएमा चुप लागेर, सहेर बसिन्न । सशक्त प्रतिकार चाहिं गरिन्छ ।’

धेरैजसो रोल्पाली र रूकुमेलीको कुरा सुन्दा यस्तो लाग्छ, द्वन्द्वकालमा उनीहरूले बाध्य भएर सकेका बेला त्यस्तै प्रतिकार गर्नुपरेको र नसकेका बेला भागेर जंगल पस्नुपरेको थियो । या, रूकुमको स्यालापाखाका ३८ वर्षे गणेश पौडेलका सन्दर्भमा खोला पस्नुपरेको थियो ।

मलेसियामा केही समय बिताएर भनेजस्तो पैसा कमाउन नसकेपछि फर्केका उनले द्वन्द्व सकिएपछि बस र त्यसपछि ट्याक्टर किनेर व्यवसाय थालेका थिए । अहिले उनका तीनवटा ट्याक्टर छन् जसबाट सन्तोषजनक आम्दानी मिलेको उनी बताउँछन् । ‘द्वन्द्व जारी रहेको भए म कसरी यसरी काम गरेर पैसा कमाउन सक्थेँ ?’ उनले भने, ‘धन्न द्वन्द्वकालमा पनि मलाई त्यस्तो ठूलो असर परेन ।’

Jeetman and his donkeys

जीतमान र उनका गधाहरू

तर एक दिन गाउँमा सेना आएको हल्ला चलेपछि सबै गाउँलेमा भागाभाग परेको थियो तर पौडेल पनि खुरुर्र दौडेर नजिकैको सानीभेरीमा फाल हालेका थिए । ‘दुइटा ढुङ्गाको चेपमा पुगेर यतियति पानी आउन्जेल डुबेर बसियो,’ उनले भने र दाहिने हत्केलो घाँटीसम्म पुर्‍याए । ‘धन्न पानी तातै थियो ।’

रोल्पालीहरूलाई ‘बितेका पाँच वर्षमा गाउँ र जिल्लामा त्यस्तो के परिवर्तन आयो ?’ भनेर कसैले सोध्यो भने उनीहरू सदरमुकामका मोबाइल फोन टावर र गत वर्ष कालोपत्रे भएको सडकलाई देखाउँछन् अनि कसैकसैले लिबाङबाट देखिने डाँडाहरूमा बगेका कच्ची सडक पनि औँल्याउँछन् अनि कोही चाहिँ आफूहरूलाई दस वर्षपछि धकेलेको गुनासो पनि गर्छन् ।

‘द्वन्द्वकालमा रोल्पाका गाउँहरूमा बजेट जान पाएन,’ एमाले समर्थित गैरसरकारी मानवअधिकारवादी संस्था इन्सेकसँग लामो समय काम गरेर दुई वर्षअघि छाडेका रोल्पाली घनश्याम आचार्यले भने, ‘गए पनि कागजमा गयो, काम केही भएन जब कि प्यूठानमा त्यस्तो अवस्था रहेन, पैसै गयो गाउँमा र सुरक्षित ठाउँमा केही न केही काम भयो ।’ संविधानसभामा (विभिन्न निर्वाचन क्षेत्रबाट) १३ जना रोल्पाली सभासद पठाउने जिल्लाले चुनावयता पनि केन्द्रीय योजनाहरू पाउन नसकेको केही रोल्पालीहरू गुनासो गर्छन् । रोल्पाका माओवादीहरू पैसा कमाउनतिर लागेको, अहिले गाउँमा टिनले छाएका र सोलार भएका घर शंकै नगरी माओवादीका हुन् भन्न सकिने अवस्था सिर्जना भएको पनि आचार्यले बताए । सिद्धान्तका ठूला गफ छाडेर युद्ध गरेका माओवादीहरू अहिले ‘ठेक्कापट्टा, डोजर आदि मार्फत धन कमाउन लागेको’ आचार्यले बताए ।

मगर र क्षत्रीहरूको प्रतिस्पर्धात्मक जनसंख्या भएको रोल्पामा आचार्यजस्ता बाहुनहरू निकै कम छन् । उनीहरू लिबाङमै केन्दि्रत छन् । तर बाहुनै भए पनि रोल्पाली भनेपछि बाँकी नेपाली समाजले ‘अर्कै दृष्टिले हेर्ने गरेको अनुभव’ आचार्यसँग पनि छ । द्वन्द्वकालमा दाह्री पालेका उनी एकपटक नेपालगन्जबाट काठमान्डु जाँदै थिए । सँगैको सिटमा बसेका सहयात्रीले सोधेको एउटा प्रश्नको जवाफ दिएपछि उताबाट जवाफ आएको थियो, ‘रोल्पाआआआ?’

‘त्यसपछि ती सहयात्रीको मुखको रंग उड्यो, उनी त्रसित जस्ता देखिए,’ आचार्यले सम्झिए, ‘अनि मैले मेरो परिचयपत्र देखाएर उनलाई आश्वस्त पार्नुपर्‍यो ।’ रोल्पाली भएकैले एकपटक प्रहरीले पक्रिएको पनि उनले बताए । ‘त्यतिबेलाको कुरै छाडौँ, म अहिले पनि माओवादी होइन,’ उनले भने, ‘तर पुलिसलाई र अन्य मानिसलाई पनि लाग्दोरहेछ, सबै रोल्पाली माओवादी हुन् ।’

हुन त संविधानसभा चुनावमा रोल्पाका दुवै क्षेत्रबाट माओवादी उम्मेदवारहरूले (पुष्पकमल दाहाल र जयपुरी घर्ती) आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै बढी मत ल्याएर जितेका थिए -क्रमशः २८ हजार र २१ हजार अन्तर थियो) ।

‘युद्ध यहाँबाट सुरु भयो भन्दैमा सबै माओवादी कहाँ हुन्छन् र ?’ रूकुमका काक्री गाउँका २७ वर्षे जगत विकले गाउँमास्तिरको जंगल सँगैको आफ्नो घरमा अघिल्लो साताको एक साँझ बास माग्न आएका एकजना संवाददातालाई भनेका थिए । भिनाजुसँगै ज्यामी गर्न रसुवाको धुन्चेस्थित चिलिमे जलविद्युत् आयोजनामा काम गर्न भनी २०५७ मा काम गर्न जाँदा ‘यो रूकुमका मान्छे यहाँ कसरी’ भन्दै नुवाकोटमा सेनाले उनलाई पक्रेको थियो । ‘लास्टै चुट्यो,’ आठ कक्षासम्म पढेका उनले सम्झिए, ‘तेरो बाउ माओवादी कमान्डर हो भन्दै ।’ केही महिना चिलिमेमा काम गरेपछि २०५९ मा बिहा गरेर २०६१ मा विक कतार उडेका थिए । भनेजस्तो तलबै नमिलेपछि र बिरामी पनि भएपछि फर्किएका उनी अहिले घरै माथिबाट गएको निर्माणाधीन सडकमा ज्यामी गर्छन् ।

खासमा उनी माओवादीले ‘हिँड सेनामा’ भनेर वाक्क पारेपछि त्यसबाट बच्न जागिरको खोजीमा भौतारिँदै नुवाकोट पुगेका थिए । ‘पछि पनि कार्यक्रम, अभियानतिर जानुपर्छ एक घरको एकजना भन्दै च्याप्न थालेपछि उम्किन विदेश गइयो,’ श्रीमतीसँग स्थानीय खाम मगर भाषा फरर्र बोल्ने तर त्यो नबुझ्ने पाहुनासँग नेपालीको प्रयोग गरेका उनले पुराना दिन सम्भिmए । उनका दाइ अफगानिस्तानमा छन्, भाउजू पोखरामा । आफूले माओवादी द्वन्द्वका कारण स्कुल छाड्नुपर्दा पढ्न नसके पनि छोरालाई राम्रो शिक्षा दिन चाहना राखेका विकले बच्चालाई भाउजूसँगै कास्केली नगरमा पठाएका छन् । ‘अहिले त कहाँ हो कहाँ राम्रो छ,’ बितेका पाँच वर्षको अवस्थाबारे सोध्दा उनले भने, ‘द्वन्द्व बेला आएको भए तपाईंलाई यसरी बास दिन म कहाँ सक्थेँ । कम्तीमा श्रम गरेर छोरा पढाउन पाएको छु, त्यो पनि म कहाँ गर्न सक्थेँ द्वन्द्वकालमा ?’

गुगल, गाई र रिक्सा

google cow and rickshaw

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो

झनक्क रिस उठ्छ, यो सहरको ताल देखेर । काठमान्डूका राम्रा कुरा गर्ने मनै छैन अहिले ।

‘ह्वाट्स अप ड्युड ?’ गुगल टकमा कसैले क्यालिफोर्नियाबाट सन्देश पठाइरहेको छ । स्क्रिनको दायाँपट्टी कुनामा निकैबेर बेसारे रङमा त्यसले पिलिकपिलिक गरेपछि मैले त्यसमा क्लिक गरेको थिएँ । मेरो नामसँगैको सांकेतिक थोप्लो ‘हरियो’ छ, अर्थात म च्याटका लागि उपलब्ध छु । मैले त्यसको रिप्लाई नगर्ने हो भने त्यो थोप्लाको रङ रातोमा बदल्नुपर्छ । तर म व्यस्त भए पो । व्यस्तै छु भने पनि त्यो इन्स्ट्यान्ट मेसेन्जरमै सीमित छ- थोप्लो मुनि ‘स्ट्याटस’ वर्णनरू लगातार बदलिइरहेका छन् । पछिल्लोले म ‘फ्रिक्ड आउट’ भएको जनाएको छ । क्यालिफोर्नियाले बितेका सात मिनेटदेखि त्यसको निरीक्षण गरिरहे जस्तो छ । Continue reading

हाम्रो चाहना

शान्ती सम्झौताको दुइ बर्षपछि पनि मानिसहरु चाहनाको सूचीमा सबैभन्दा माथि ‘शान्ती’लाई राख्न चाहन्छन् तर उनीहरु आफ्ना व्यक्तिगत चाहनालाई हत्तपत्त र्सार्वजनिक गर्न चाहदैनन् ।

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोशेलीमा प्रकाशित भएको हो ।

Happiness and Nepalis
रचना, लक्ष्मी, शिवानी र सुमिरा । तस्बिरहरु प्रतिक्षा सोडारी

हालैको एक साँझ हल्का चिसो हावा चलिरहदा बडो रोमान्टिक मुढमा म काठमान्डूको तीनकुनेबाट नयाँ बानेश्वरतिर लम्किइरहेको थिए । लाग्यो म निकै फुरुंग परेको छु । मै मात्र हो कि बाटोमा हिडिरहेका अरु पनि खुशी छन् ?

‘ए बाजे,’ मैले मिनभवनमा हिडिरहेका एक बृद्धलाई आफ्नो परिचय दिएपछि सोधे । ‘कत्तिको खुशी हुनुहुन्छ ?’

कतिबेला कसले रोकेर गफ थाल्ला भनेझैंको मुढमा रहेका खिलानाथ बाँस्तोलाले जवाफ दिए- ‘खुश्श्श्शी छु बा ।’ उनी मुस्काए ।

ओखलढुंगाको टोक्सेल गाविसका ६५ बर्षो मिनभवनमा ‘छोरा बुहारी नातीनातिनासँग डेरामा’ बस्छन् र अहिले ‘खुट्टा तान्न’ बानेश्वर चोक पुगेर फर्केका हुन् । Continue reading

सन्दर्भः सुस्ता

मिलन बगाले

लेखनाथ बाजेको
चरीको विलाप पढेको भए,
तिम्रो दुर्मतीले आज
मेरो घरबार उजाडिने थिएन
मेरा पातीका खम्बाहरू
तिम्रो क्रेनले उचालिने थिएन
म सुस्ताए
तर तिमी सुस्ताएनौं।
र त
मेरो तपतपे खोल्सीको पानी
मेरै कर्कलाको पातमा उठायौं
र भीमकाय सागरमा खसायौं
कठै!
चिरिएको मेरो घाटी
खरिएको मेरो छाती
धन्यवाद छ तिमीलाई!
आजका मितिसम्म
मेरो माटो पकाएर
हलुवा चै तिम्ले खाएका छैनौं
मेरा रुखका पातहरु सिएर
धोती चै तिम्ले लाएका छैनौं
ठेल!
अझ बेस्सरी ठेल!
सगरमाथा अझै
दुई मिटर माथि उचालिन्छ कि?

(सुस्ताबाट फर्केपछि)

तनहुँ

पुस्तक मेला क्या माहोल

राजधानीको भृकुटीमण्डपमा जारी पुस्तक मेलाबाट किताबका पन्ना पल्टाउने अवसर मात्र भएन मानिसका अनुहार पढ्ने मौका पनि भयो

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[पुस्तक मेला डायरी । यो डायरीको अर्को भाग यहाँ छ । यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

kathmandu book fair
पुस्तक मेलामा पुगेका तन्नेरीहरु वायाँबाट निशराज बस्नेत, लिलाबहादुर बस्नेत र भगत राजगैया । उनीहरुको झोलामा शंकर लामिछानेका किताब र ‘मार्क्सवादको रुपरेखा’ थिए । सबै तस्बिर दिनेश वाग्ले

त्यो क्षण म चकलेट आइसक्रिम खाँदै एउटा पिल्लरसँगै उभिएर भीड नियालिरहेको थिएँ । भृकुटीमण्डपको ठूलो प्रदर्शनी हलको पुस्तक-स्टलमा मानिसहरू चलायमान थिए । ‘शैक्षिक’ स्टलबाट ह्वारह्वार्ती निस्केका तन्नेरी, पौढ र बच्चाहरू झन्डै-झन्डै ठेलामठेल गर्दै ‘किताब’ स्टलतिर बढिरहेका थिए । साथीको फोन आयो (जसबारे पेज दुइमा पढ्नुहोला) ।

भीड के, खासमा म मानिसहरू नियालिरहको थिएँ । किताब एउटा बहाना मात्र हो, म यहाँ आज मान्छे हेर्न आएको हुँ । यी मान्छेलाई हटाइदिनुस, यहाँका पुस्तक स्टलमा तिनका पसलेमात्र राखिदिनुस् । के उस्तै मजा पाइन्छ ? Continue reading

जिन्दगीलाई जिताउने किताबी कुरा

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा देखिएको स्वरुपमा हेर्नेभए यहाँ क्लिक गर्नुस् ।

१६ औं शताब्दीका अंग्रेज लेखक तथा दार्शनिक सर फ्रान्सिस वेकनको ‘अफ स्टडिज’ निबन्धको एउटा वाक्य चाखेर या निलेर मात्र पुग्दैन चपाएर पचाउनुपर्ने खालको छ । ‘कुनै किताब चाख्नका लागि हुन्, अरू निल्नका लागि र थोरै केही चपाएर पचाउनका लागि,’ वेकन लेख्छन्- ‘अर्थात् केही किताब आंशिक मात्र पढे पुग्छ, अरू पढे हुन्छ तर चाखपूर्वक होइन र थोरै केहीचाहिँ पूरै तथा लगाव र ध्यानपूर्वक पढ्नुपर्छ ।’

वेकनको वर्गीकरणको तेस्रो बुँदाको झल्को दिनेगरी शिव खेराले आफ्नो बेस्ट सेलिङ पुस्तक ‘यू क्यान विन’ को सुरुमै ‘यो किताब कसरी पढ्ने’ शीर्षकमा पाठकलाई यस्तो सल्लाह दिएका छन्- ‘सरर पल्टाउँदै पढेर या एकै बसाइमा पूरै किताब निलेर यो किताबका अवधारणा बुझ्न सकिँदैन । यसलाई बिस्तारै र होसियारीपूर्वक पढिनुपर्छ, एकपटकमा एउटा पाठ । …यसलाई कार्य पुस्तकका रूपमा प्रयोग गर्नुस् । मार्जिनमा नोट लेख्नुस् । पढ्दै जाँदा हाइलाइटर प्रयोग गर्दै महत्त्वपूर्ण र विशेषगरी आफूलाई उपयोगी हुने शब्दहरू वा वाक्यहरू वा अनुच्छेदहरू चिन्ह लगाउनुस् । पढ्दै जाँदा प्रत्येक पाठकको अवधारणा आफ्नो पति/पत्नी वा पार्टनर वा नजिकको साथीसँग छलफल गर्नुस् ।’ Continue reading

समर स्यान्डल फ्लिप-फ्लप

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । यसलाई पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ क्लिक गरेहुन्छ ।
थप तस्बिरहरु फ्लिकरमा छन् ।.


[यो लेख लेख्नु केही दिन अघि मैले चप्पलबारे डब्लुएसजेमा पोष्ट गरेको इन्ट्री यहाँ छ ।] सबै तस्बिर सुरज कुँवर

यो गृष्मयाममा मानिसहरूजत्तिकै अरू कोही व्यस्त छन् भने ती हुन्, तिनका चप्पल । फ्लिप-फ्लप, फ्लिप-फ्लप, फ्लिप-फ्लप । हालैको चुनावमा माओवादीको विजय भएपछि नेपाली राजनीति जति ‘लाल’ भा’छ, गर्मी चढ्दै जाँदा नेपाली खुट्टाहरू त्योभन्दा बढी ‘चप्पलमय’ भा’छन् । चुनावी नतिजाले देशमा दिगो शान्ति र गणतन्त्र संस्थागत गर्ने अपेक्षा छ जो, आशा गरौं, आउने सयौं वर्षम्म कायमै रहनेछन् । तर चप्पलहरूको यो राज छोटो हो, जाडो आओस्, फेरि जुत्ताहरूको राजआउँछ ।

‘समर (गृष्म) का तीन महिना हो दाइ चप्पल बिक्ने’, काठमाडौं मलस्थित ‘बैम्बिनो सुज’का एक पसलेले केही दिनअघि एकजोर ‘स्यान्डल’को पूरै पैसा तिरेपछि अचानक रिपोर्टरमा बदलिएको ग्राहकलाई भने, ‘गर्मीमा सबैले चप्पल लाउन खोज्छन् ।’ Continue reading

कथा फिदिमे फिलिमको

दिनेश वाग्ले

देवजंग थापा । २३ वर्ष । काठमाडौंको कलेजमा स्नातके विद्यार्थी । कक्षामा कहिल्यै नजाने । त्यसो भए ?

पाँचथर, फिदिममा फिल्म बनाउने उनको व्यवसाय हो । चौथो फिल्म यही माघ १९ गते सार्वजनिक हुँदैछ । दुई घन्टा लामो भिडियो फिल्म ‘परिवर्तन’ मो लोकतान्त्रिक आन्दोलन र जनताले चाहेको परिवर्तन विषय बनाइएको छ । ‘राजाले माघ १९ मा कु गरेर प्रजातन्त्र मासेका थिए,’ आफूले निर्देशन गरेको फिल्म प्रवर्द्धनका लागि एउटा डीभीडी र दुइटा सीडी लिएर राजधानी आएका थापा भन्छन्- ‘त्यही दिन लोकतन्र्त्र मुख्य विषय बनाइएको फिल्म रिलिज गर्दैछु ।’ भन्दिहालौं, त्यही दिन फिदिम फिल्म उद्योग एउटा लामो फडको मार्दै पहिलोपटक ‘कलिउड’ आउने प्रयासमा छ ।

देवजंग थापा र तल्लो तस्बिरमा उनको फिल्म परिवर्तनकी अभिनेत्री । तलको तस्बिरमा फिल्मका अभिनेता र अभिनेत्री ।

फिदिम फिल्म उद्योग ? सही पढ्नुभयो । २० चानचुनका तन्नेरीहरूले त्यो पूर्वी पहाडी स्थलमा भिडियो फिल्म निर्माणको एउटा प्रेरणादायी लहर सिर्जना गरेका छन् जसलाई स्थानीयहरूले हाउसफुल हलमा हेर्ने गरेका छन् । मित्र लिङ्देन, भगिराज ‘घायल’ राई, सन्तोष राई र मलिसा याक्थुम्बा फिदिमे उद्योगका हस्ती हुन् जसले आपसमा ‘सिर्जनात्मक प्रतिस्पर्धा’ गर्दै बर्सेनि फिल्म बनाउँछन् । २०५४ मा किशोर सुब्बाले लिम्बू भाषाको ‘आनी साक्थिम’ (हाम्रो संस्कृति) बनाएयता सुरु भएको मानिने फिल्मी अभियानलाई २०५६ मा हरि भण्डारीको ‘चुनाव’, मित्रको ‘अनमोल माया’, देवजंगको ‘अन्तिम इच्छा’, नरेशजंग सुब्बाको ‘अदृश्य घाउ’, मलिसाको ‘सपनाकी फूल’ ले जोडतोड निरन्तरता दिएका थिए । ‘अहिले फिदिममा पाँचवटा समूह छन्,’ थापा भन्छन्- ‘तिनले आपसमा संयोजन गरेर वर्षमा चारवटासम्म फिल्म बनाउँछन् ।’ स्थानीय फिल्म निर्मातामा कसले राम्रो फिल्म बनाउने प्रतिस्पर्धा भए पनि प्रदर्शर्नी समय नजुदाउने र पालो मिलाएर फिल्म बनाउने प्रयास गरिने उनी बताउँछन् ।

तीन लाखसम्मको खर्चमा जिल्ला सदरमुकाम र आसपास लोकेसनमा छायांकन गरिने भिडियो फिल्ममा अभिनय गर्ने प्रायः कलाकार स्थानीय हुन्छन् । निर्माण कतिखेर सकिएला र देखाउला भनेर सदरमुकामका हल फिल्मको रिलिज मिति पर्खेर बस्छन् । दैनिक दुई शो चल्ने हलमा प्रत्येक प्रदर्शनीमा अढाई सय जति दर्शक हुन्छन् भने शनिबार दुवै हलमा तीन-तीन शो चलाइन्छ । ‘गाउँतिरका मान्छेसमेत आउने भएकाले शनिबार सबै शो हाउसफुल हुन्छन्,’ थापा भन्छन्- ‘हाम्रा फिल्म चलेका बेला काठमाडौंका सेलुलाइड फिल्म चल्दैनन् ।’ हलमा एउटा शोमा सात सयसम्म अट्छन् र झन्डै दुई महिनासम्म चल्दा फिल्मले सदरमुकाममै ३० हजार दर्शक पाउने उनी बताउँछन् । गाउँका केही प्रदर्शनी भवनमा फिल्म देखाइन्छ ।

‘घाटा जाने कुरा हुँदैन,’ उनी भन्छन्- ‘काठमाडौंमा मात्रै थाहा छैन, हाम्रा फिल्म बजार (भारतको) सिक्किममा समेत राम्रो छ ।’

phidim film actors

हालैको एउटा अन्तर्वार्तामा मूलधारका नेपाली सिनेमाले ‘उच्च मध्यम वर्ग’ सम्मको दर्शक पाउन सघर्ष गरिरहेको बताउने काठमाडौं फिल्म उद्योगका निर्देशक नरेश पौड्याल फिदिमे निर्देशकसँग लोभिन सक्छन् । उनी भन्छन्- ‘स्थानीय फिल्म हेर्न सदरमुकामका सबैजस्तो दर्शक हलमा जान्छन् । लाहुरे परिवारकाहरूसमेत । फिल्म नै नहेर्नेहरू पनि फिदिमका फिल्मचाहिँ हेर्छन् । कति त दोहोर्‍याएर हेर्न आउँछन् । उनीहरू स्थानीय फिल्म हेरेर हामीलाई प्रोत्साहन गर्न रुचाउँछन् ।’ दर्शकलाई फिल्म हेर्न हलसम्म ल्याउन थापाजस्ता फिल्मकर्मी कुनै कसर छाड्दैनन्, सदरमुकामका प्रत्येक घरदैलोमा पुगेर उनीहरू फिल्मका बारेमा जानकारी दिन्छन्, सकेसम्म टिकट पनि भिडाउँछन् ।

‘आनी सक्थिम’ छायांकनमा किशोर सुब्बाबाट निर्देशक सिकेका थापाले ९ कक्षामा पढ्दा युनिसेफको लगानीमा एचआईभी एड्ससम्बन्धी दुई घन्टा लामो फिल्म ‘अन्तिम इच्छा’ निर्देशन गरेका थिए । स्कुलेमा ‘कमेडियन’ का रूपमा अरूलाई हसाउने युवाका लागि फिल्म बनाउने त्यो सुरुवाती इच्छा भइदियो । त्यसपछि २०६० मा उनले एचआईभीकै बारेमा ‘प्रतीक्षा उज्यालोको’ बनाए भने २०६२ को उनको फिल्म ‘भिन्नता’ मा छुवाछूत, जातभातजस्ता सामाजिक विकृतिलाई मुख्य विषय बनाइएको थियो । ‘त्यो फिल्म युकेमा समेत गयो,’ उनले भने- ‘नाफा भयो ।’

नाफा ‘परिवर्तन’ बाट पनि होला माथि उल्लेख भइसक्यो, यसपालि सपना ठूलो छ- राजधानी हान्ने । ‘काठमाडौंमा पनि देखाउने इच्छा छ,’ उनी भन्छन्- ‘हेरम, के हुन्छ ।’