Tag Archives: नेपाली

यस्तै छ साथी हाम्रो हाल

More photos and videos from the journey: A trip to rural Lalitpur (outside Kathmandu Valley)

This slideshow requires JavaScript.

Lalitpur Nepal Voter ID Cardदिनेश वाग्ले /कृष्ण ज्ञवाली
यो लेख आजको कान्तिपुरमा पहिलोपटक प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए: एक (पीडीएफ)दुइ (जेपीजी)

त्यो साँझ उनका घरमा सातजना माओवादी आए । तिनलाई खाना पकाइदिनुपर्ने भो । बेंसीको खेतमा काम सकेर घरतिर उक्लिँदै थिए उनी । ‘घर नजिकै अलि तल तिनै माओवादीले कट्याक कट्याक गर्दै बन्दुक तेस्र्याए मतिर,’ उनले सम्झिए, ‘हेर्नुस् है । मेरै घरमा जाँदैछु, मैलाई बन्दुक तेस्र्याउँछन् । एउटीले भनिन्, ‘ओहो बुवा, हामीले झन्डै ठोकेर सिध्याको ।’ त्यो बन्दुक तेर्स्याकै कारण त्यो साँझ माओवादीले ‘नमीठो’ स्वाद चाखे ।

त्यो कसरी अलि पछि लेखौंला, अहिलेलाई ४७ वर्षे सुरेन्द्रबहादुर सञ्जेलको परिचय । हालैको एक साँझ अबेर बास नपाएपछि छटपटिएका दुई संवाददाताहरूलाई एक रात सुताउन र एक छाक खुवाउन सहजै तयार भएका सञ्जेलले ललितपुरको दुर्गम अश्राङ गाविसस्थित वागमती किनार नजिकै बन्दै गरेको आफ्नो (बेंसीको) घर अगाडि ढलेको खयरको रूखमा बसेर पुराना दिन सम्झिएका थिए । Continue reading

नेतालाई घृणा किन ?

ठूलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

काठमाडौ- ‘नेताले बिगारे,’ उनले ‘रे’ लगत्तै आउने ‘ए’ को उच्चारण लामो समयसम्म गर्दै चिन्ता व्यक्त गरे, ‘चोरहरूले देश बिगारे ।’ हालै काठमान्डुको एउटा सार्वजनिक बसमा आपसमा अपरिचित अधबैंसेहरूबीच कुराकानी भइरहेको थियो । बसलाई कोटेश्वर ट्राफिक चौकीअगाडि रोक्दै एक जना यातायात प्रहरीले चालकसँग अनुमतिपत्र मागिरहेका थिए । त्यो दृश्यमाथि टिप्पणी, (‘यो ट्राफिकले कमाउन खोज्यो’) गर्दै सुरु भएको उनीहरूको स्वफूर्त वार्ता ‘नकमाएर के गर्नु, उसका पनि परिवार छन् होला’ र ‘हेर्नुस् देशकै अवस्था यस्तो छ’ हुँदै नेताहरूसम्म पुगेको थियो । ‘सबै भाँडभैलो गर्ने यी नेता हुन्,’ एक जनाले त्यसो भनेपछि अर्काले त्यसमा सहमति जनाउँदै नेताले देश बिगारेको निष्कर्ष निकालेका थिए ।

रेस्टुरेन्टहरूमा पाइने खाना सूची (मेनु) लाई संसारमै सबैभन्दा बढी पढिने ‘साहित्य’ मानिएजस्तै नेपालमा सबैभन्दा सुनिने वाक्य यसलाई मान्दा हुन्छ, ‘नेताले देश बिगारे ।’ कार्यालय समय सुरु हुनै लाग्दा त्यतैतिर जान लागेका जस्ता देखिने ती दुई सज्जनहरूले कोटेश्वर चोकमा गरेजस्तो लयको गफ र निष्कर्ष देशका जुनै भागका नेपालीमाझ कुनै बेला पनि सुन्न सकिन्छ । किन जनता नेताहरूलाई यस्तो विधि घृणा गर्छन् ?

त्यो प्रश्न नेपालमा मात्र सान्दर्भिक छैन । र, इटालीका प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीलाई पनि त्यसको उत्तर थाहा छैन । १३ डिसेम्बर २००९ मा एउटा चुनावी सभामा एक जना असन्तुष्ट व्यक्तिले दाँतै भाँचिने र ओठै काटिने गरी अनुहारमा प्रहार गर्दा अस्पताल भर्ना भएका बर्लुस्कोनीले जान्न चाहेका थिए, ‘मान्छे किन मलाई यति धेरै घृणा गर्छन् ?’

त्यसको चार महिनाअघि टर्कीका प्रधानमन्त्री रिकेप तायिप एर्डोगनको पेटमा एक जना मानिसले मुड्की हानेका थिए । त्यसको पनि छ महिनाअघि न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीलाई केही मानिसले लछारपछार गरेका थिए । टाढाको कुरा के गर्नु, नेपालमै जनवरी २०१० मा सुनसरीमा अन्तक्रिर्या गरिरहँदा एक जना उच्च नेतालाई उनकै पार्टीका एक जना पूर्वकार्यकर्ताले गालामा झापड हानेका थिए । ती नेता अहिले देशका प्रधानमन्त्री छन् । ‘झलेझाप्पड’ नामले क्षणभरमै देश र विदेशमा पनि चर्चित त्यो थप्पड हान्ने देवीप्रसाद रेग्मीले पनि कारणका रूपमा त्यही वाक्य उल्लेख गरेका थिए, ‘नेताले देश बिगारे । मैले त्यो सहन सकिन । त्यसैले हानेँ ।’ नेताहरूले (त्यतिबेला) सरकार र (अहिले पनि) संविधान बनाउन तथा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्दा उठेको रिसलाई रेग्मीले झलनाथ खनालको गालामा पोखेका थिए ।

‘नेताहरूलाई घृणा गर्नेहरूले दुई तहमा गर्छन्,’ मानव बानी बेहोरा र उसको सामाजिक, सांस्कृतिक विकासक्रमबारेको बैज्ञानिक अध्ययन गर्ने (मावनशास्त्री) डम्बर चेम्जोङ भन्छन्, ‘एक, व्यक्तिगत रूपमा यो या त्यो नेतालाई घृणा गर्ने । दुई,  समग्रमा राजनीतिलाई नै मन नपराउने ।’ समग्र राजनीतिलाई घृणा गर्नेहरूको संख्या नेपालमा ठूलै भएको ठान्ने चेम्जोङ कतिपय अवसरमा राजनीतिबाटै फाइदा लिनेहरूले त्यस्तो नकारात्मक विचार राख्ने गरेको पाएको बताउँछन् । ‘व्यापारी जन्मजात नाफामुखी र डाक्टरले सधैं महँगो शुल्क लिने भन्ने समाजले बुझेको छ,’ उनी भन्छन्, ‘त्यसैले व्यापारीले जति नाफा खाए पनि र डाक्टरले चर्को शुल्क लिँदा हामी सहन्छौं । तर राजनीति निःस्वार्थ, निःशुल्क र सेवामुखी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’ त्यो मान्यतालाई नेताहरूले व्यवहारमा नउतारिदिँदा, उनीहरू भ्रष्टाचारमा फस्दा समग्र राजनीतिप्रति घृणा उत्पन्न हुने उनी ठान्छन् ।

उसो नेताहरू सर्वप्रिय भएको इतिहासै छैन भन्दा हुन्छ । पछिल्लो एक सय वर्षमा नेपालले पाएका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक बीपी कोइराला जीवित छँदा उनका आलोचकहरू कम थिएनन्, आफ्नै पार्टीभित्र र बाहिर पनि । समकालीन राजनीतिका सर्वाधिक करिस्मायुक्त नेतामध्येका एक पुष्पकमल दाहाल पनि, एक जना टि्वट्टर प्रयोगकर्ता नेपालीका अनुसार ‘कार्यकर्ता खुसी पार्न एकथोक, जनतासँग अर्कोथोक’ बोल्ने, ढुलमुले अनिर्णायक’ बोली/बेहोराका कारण आलोचित छन् । खासमा शान्ति प्रक्रिया बढ्न नसक्दा उत्पन्न अहिलेको निराशाका स्रोत दाहाल भएका छन् किन कि देशको सबैभन्दा ठूलो र प्रभावशाली पार्टीका प्रभावशाली नेताका रूपमा उनीसँग जनताले ठूलो अपेक्षा गरेका छन् । जनताले नेता विशेषबाट देशका ठूला समस्या समाधानको अपेक्षा गर्छ जो पूरा नहुँदा या त्यसतर्फ इमानदार प्रयास नहुँदा उनीहरूमा निराशा छाउँछ । त्यो निराशा उनीहरू ‘चोर नेताले देश बिगारे’ भन्ने अभिव्यक्तिमार्फत प्रकट गर्छन् ।

गए साता काठमान्डुको राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय फुटबल टोली उत्तर कोरियाली टिमसँग भिड्यो । गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकपमा खेलेका केही खेलाडी सामेल उक्त समूहसँग नेपाल हार्‍यो । तैपनि रंगशाला र टिभीमा त्यो खेल हेर्ने दर्शकहरू र भोलिपल्टका पत्रिकाले नेपाली टोलीको प्रशंसा गरे, विशेषगरी तिनै गोलकिपरको जसले एउटा सजिलो गोल नरोकी नेपाललाई ०-१ ले हार्न योगदान गरेका थिए ।

तिनै किपर किरण चेम्जोङको बढी प्रशंसा किन भयो भने उनले जोडदार ढंगले नखेलेको भए त्यो दिन नेपालले कम्तीमा ४ गोल खान सक्थ्यो । अनि पूरै टिमले किन दर्शकहरूको गाली खाएन भने खेलाडीहरूले सकेको गरेर/खेलेर देखाएको कुरो दर्शकहरूले प्रस्ट देख्न पाएका थिए । ‘धन्न एक गोलमात्र खायो,’ रंगशालामा पुगेका कतिपय दर्शकले खेल सकिएलगत्तै भने, ‘केटाहरूले जमेर खेले । मान्नुपर्छ (उनीहरूको) प्रयासलाई ।’

तर नेपाली राजनीतिका ‘खेलाडीहरू’ ले फुटबलरहरूले झैं मन दिएर, भित्रैदेखि चाहेर, प्रयास गरेको नेपाली जनताले महसुस गर्न सकेका छैनन् । राम्रो नतिजा झन् आएकै छैन । दुवै कुराको अभावले जनतालाई निराश तुल्याएको छ र त्यो निराशा उनीहरू सबै राजनीतिकर्मीहरूमाथि पोखिरहेका छन् ‘चोर नेताले देश बिगारे’ भन्दै ।

अघिल्लो साता भारतमा भ्रष्टाचारको विराधमा एउटा कानुन माग्दै अगुवा कार्यकर्ता अन्ना हजारे अनशन बसेका थिए । त्यसैको सेरोफेरोमा विरोध चर्किंदै जाँदा लोकपि्रय भारतीय लेखक चेतन भगतले ‘मेरा नेता चोर है’ वाक्य टि्वटेका थिए । ‘त्यो वाक्य पूरै विरोध कार्यक्रमको गुदी बन्यो,’ त्यसै वाक्यमा आधारित भएर गत साता फेसबुकमा ‘मेरा नेता चोर हुन्, मेरा नेता ठग हुन्’ अभियान नेपालमा पनि आवश्यक भएको तर्क गर्दै एउटा लेख लेखेका निर्भय सुवेदी भन्छन्, ‘संविधान लेख्न राजनीतिज्ञहरूले गरेको ढिलाइ हामी सहजै देख्न सक्छौं । तानाशाहलाई हटाउन हामीमध्ये थुप्रै सडक गयौं । अनि भोट हाल्यौं  ताकि यी राजनीतिज्ञहरूलाई एउटा काम लाग्ने संविधान बनाउन मौका मिलोस् । तर बितेका पाँच वर्षमा केही भएन । अब हामीले सोध्नैपर्छ, अहिलेसम्म यिनीहरूले के गरे ? भन्नै पर्दैन यी नेताहरू फटाहा र चोर भएका छन् ।’

निर्भयको निराशा र रोषलाई धेरै नेपालीले साझेदारी गर्छन् । तर नेताहरूप्रतिको त्यस्तो रोष कुनै निश्चित कारणका लागिभन्दा बढी होलसेलमा कुनै कुराग रिस उठ्यो कि नेतैलाई गाली गरिहाल्ने बानीसँग सम्बन्धित छ । गाली गर्न नेताहरू सहज लक्ष्य हुन, फेरि उनीहरू मलाई किन गाली गरिस् भन्दै निहुँ खोज्न पनि आउँदैनन् । अर्को कुरा, एउटा समूहले गाली गरेपछि एउटा नेतालाई अर्कोले माया गरेकै हुन्छ, मन पराएकै हुन्छ । तब त चुनावमा हार्ने उम्मेदवारले पनि प्रशस्तै भोट पाउँछन् ।

त्यसो भए नेतालाई गाली गरिनु लोकतन्त्रकै एउटा भाग हो ? हुनसक्छ, किन कि आफूले भोट दिएका र भोट दिएकालाई हराउने नेतालाई सल्लाह दिने र गाली गर्ने अधिकारै छ मतदातालाई । बढीभन्दा बढी जनताको मतको कदर होस् भनेर बेला-बेला चुनावी प्रक्रियाहरू सुधारिन्छन् । संविधान सभाको चुनावमा समानुपातिकको व्यवस्था भएजस्तै । त्यस्तै सबैभन्दा शक्तिशाली लोकतन्त्र अमेरिकामा पनि अहिले देशभरिबाट सर्वाधिक मत पाउनेलाई राष्ट्रपति बनाउने कानुन पारित हुनेक्रममा छ । ‘नेसनल पपुलर भोट’ नामको त्यो कानुनलाई केही अमेरिकी राज्यहरूले पारित गरेका छन्, बाँकीलाई त्यो स्वीकार्न लगाउन दबाब अभियान चलिरहेको छ ।

सबै नेतालाई असफलताको दोषी ठहर्‍याइनु सामान्यीकरण हुन्छ । जस्तो संविधान लेख्न या सरकार बनाउन एक जना नेताले या एउटा पार्टीले मात्र चाहेर हुँदैन । पार्टीभित्रै थुप्रैका कुरा मिल्न समय लाग्छ या नमिल्न सक्छन् । ‘अमेरिकीहरू (र, धेरैजसो पश्चिमाहरू) को हाम्रा नेताहरूसँग प्रेम सम्बन्ध हुन्छ,’ मनोवैज्ञानिक डाक्टर रोनाल्ड ई. रिग्गियो लेख्छन्, ‘हामी उनीहरूलाई ठूलो सम्मान दिन्छौं र उनीहरूका हरेक कदमबारे चाख राख्छौं । तर हरेक प्रेम सम्बन्ध जस्तै भावनाहरू छिट्टै अमिल्लिन सक्छन् जब हामी नेताले हामीलाई असफल तुल्याएको ठान्छौं । सेप्टेम्बर ११ का आक्रमणलगत्तै जर्जडब्लू बुसको लोकपि्रयता सर्वाधिक उच्च थियो तर इराक युद्ध र कटि्रना पछि त्यो सबैभन्दा तल गयो ।’

त्यस्तै प्रेम र घृणाको सम्बन्ध हाम्रो पनि नेताहरूसँग नहुने होइन । २०४६ सालमा ‘वीरे चोर देश छोड’ भन्ने र गिरिजाप्रसाद कोइरालाको हाई-हाई गर्ने जनता (पक्कै, यो पनि सामान्यीकरण हो) वीरेन्द्रको शवयात्रामा टाउका मुडेर सहभागी भए र तिनै कोइरालाको गाडीमा ढुंगा हाने । ‘जनयुद्ध’ बन्द गरेर शान्ति प्रक्रियामा सहभागी हुन भूमिमाथि आउँदाताका दाहालको लोकपि्रयता जति थियो त्यो बितेका चार वर्षमा घटेको कुरा उनी आफैंले एउटा अन्तर्वार्तामा महसुस गरेका छन् ।

फेरि ‘चोर नेताले देश बिगारे’ भन्ने जनता आफैं पनि विभाजित र दोषी छन् । एउटाले ‘चोर’ भन्दै घृणा गर्ने नेतालाई अर्कोले बडो लगनका साथ मन पराएको र पछ्याएको हुन्छ । नारायणमान बिजुक्छेले भनेका थिए, ‘मौका नपाएर चोखो भएका हामी पनि (मौका पाए) भ्रष्टै हुन्थ्यौं,’ मानवशास्त्री चम्जोङले भने, ‘नेता (भ्रष्ट/चोर) हुँदाहुँदै पनि हामी उनीहरूलाई सम्मान दिन्छौं । (‘चोर नेता’ भन्नेमध्ये) कसैले भ्रष्टलाई सामाजिक बहिष्कार गरेको छ ? हाम्रो समाज कस्तो छ भने ‘काका मन्त्री हुँदा पनि यसले केही गर्न सकेन’ भनेर पदीय दुरुपयोग नगर्नेहरूलाई होच्याउन थाल्छौं ।’

यो लेख आज वैशाख ३ को कान्तिपुरमा प्रकाशित भएको हो ।

शहरिया: बानी हाम्रो नराम्रो

traffic awareness harding board tinkune

सडक स्तरीय छ, तर हाम्रो बानी ? तस्बिर- कान्तिपुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सुनामी र भुकम्पले गराएको क्षती र आणविक सन्त्रासलाई टाढाबाट हेरेका हामी मध्ये कतिले ट्वीट्टरमा #prayforjapan भन्दै जापनका लागि प्रार्थना गरेका हुनुपर्छ । ठिकै छ, सबै ‘जनता’ले नगरेपनि हाम्रो कुरा बुझ्ने (कस्तो खोकी लाग्यो) सरकारले जापानलाई सुख्खा विस्कुट र कम्बल सहयोगार्थ पठाएको छ । त्यसबारेको समाचार जापानकै क्योडो न्यूजले पनि लेखेपछि भ्वाइस अफ अमेरिकाका पत्रकार स्टिभ हर्म्यानले यस्तो ट्वीटे– ४ सय ५० डलर बाषिर्क प्रतिव्यक्ति आम्दानी भएको नेपालले ३० हजार डलर वाषिर्क प्रतिव्यक्ति आम्दानी भएको जापानलाई विस्कुट सहयोग पठाउदै छ रे ।’

दुइवटा प्रतिक्रिया मनमा आए । ओहो, हामीले जापानलाई सहयोग पठाउदै छौ ! पहिलो प्रतिक्रियालाई बगाउने सुनामी चाहि मनमा त्यो ट्वीटमा भएका अंङकहरुबीचको खाडलले ल्यायो । हामी कति गरिव छौ है ? त्यति धनी देशले हाम्रो सहयोग लिइदिएर कतै हामीलाई आत्मसन्तुष्टिको कारण दिएको छैन ? यस्तै प्रश्न मनमा उठ्छन् जव म तीनकुने-सूर्यविनायक खन्डको तीनकुने-जडिबुटी सडकमा दिनको दुईपटक हिड्छु । अनि मनमनै जापानलाई धन्यवाद दिन्छु- यति राम्रो सडक बनाइदिएकोमा ।

तर फेरी हाम्रो गरिवी जसले हामीलाई ती सुन्दर संरचना राम्ररी प्रयोग गर्नबाट रोक्छ । आर्थिक मात्र होइन, मानसिक पनि । चेतनाको अभाव । सडक कहाबाट तर्नुपर्छ ? कुन बत्ति बल्दा कार रोक्नुपर्छ ? के ती कुरा हामीलाई, जतिसुकै गरिव भएपनि, थाहा छैन ? तर हामी नियमअनुसार गर्छौ ? गत शुक्रबार सकिनेगरी जापानीहरुले नै तीनकुने-कोटेश्वर-जडिबुटीमा स्थापना गरेका ट्राफिक बत्तिहरुलाई गाडीहरुको भेलसँग सहजै समायोजन गर्न साताव्यापी चेतना अभियान चलाए । सूचना टासे (तस्बिरमा) । नेपाली स्वयंसेवकहरुले रातो बल्दा पनि दौडिने हामीलाई रोके र हरियो बलेपछि मात्र बाटो तर्न सिकाए । रातो बल्दा आफूलाई राजा ठान्दै गाडी बढाउने हामीहरुलाई स्वयंसेवकले बीचैमा रोकेर लाजमर्दो पारे । लाजमर्दो ? हामीलाई लाज हुन्छ र?

‘पख्नुस, पख्नुस,’ रातो बत्ति बलिरहेको बेला सडक तर्न खोज्ने एकजना अधर्य पुरुषलाई पाखुरामा अठ्याउदै स्वयंसेवकले भने- ‘तपाईलाई मात्र हतार छ ?’

त्यतिन्जेलमै अर्की महिला सडकमो बीचमा पुगिसकेकी थिइन् जुसलाई गुडिरहेको मीनिबसले हान्ला जस्तो भइरहेको थियो ।

गाडीहरुका लागि रातो बत्ति बलेसँगै पैदलयात्रुका लागि हरियो बल्यो । तर लगनखेलतिरबाट आइरहेको बा १ ख ७१३५ को मिनिबसका चालकलाई पर्खिने धैर्यता भएन । स्वयंसेवक दौडिएर बसैअगाडी उभिनुपर्‍यो- ‘लु, मैमाथि भएर जाउ’ भन्ने फिल्मी शैलीमा । रातो बत्ति बलिरहेको छ, गाडीले रोकिनुपर्छ- तर बा ८ च ६०१५ को कारका चालकले चाहि आफूलाई शायद नियम मान्नु नपर्ने छोटे राजा ठाने । उनी जवर्रजस्ती जान खोजिरहेपछि ट्राफिक प्रहरीले सिठ्ठी बजाएर रोक्नुपर्‍यो र उनको सिसामा लगाएको स्टिकर -जो नियम विपरित थियो) उप्काइदिनु पर्‍यो । ‘रातो बलेपछि गाडी राक्नुपर्छ, थाहा छैन ?’ ट्राफिकले उनलाई हपारे । लाचार उनी रातो अनुहार बनाउदै ‘थाहै भएन’ भन्न थाले ।

हो, विश्वका शहरहरुको तुलनामा काठमान्डू एउटा ठूलो गाउँ जस्तै छ- झन्डै स्लम या झुपडपट्टी जस्तो । तर शहरलाई ‘सुन्दर देशको राजधानी’ पगरी गुताएपछि हामी ‘शहरिया’को त्यति पनि कर्तव्य हुदैन कि हामी विस्कुट खाएपछि खोल फ्यात्त सडकमा नफालौं ? या, अरुका कानै फुट्ने गरी चिच्याइचिच्याई मोवाईलमा कुरा नगरौं ?

‘सबैभन्दा ठूलो समश्या त्यही छ,’ शहरी योजनाबारे जानकार इन्स्टिच्युट अफ इन्जिनियरिङ्, पुल्चोककी सहायक प्राध्यापक संगीता सिंहले भनिन्- ‘बानीव्यहोरा छैन मान्छेहरुमा ।’ थाहा भएर पनि मानिसहरुले नियम नपछ्याउने गरेको उनले बताइन् । ‘सजायको व्यवस्था नभएर त्यस्तो भएको,’ संगीताले भनिन्- ‘सिंगापुरमा सजायको व्यवस्था भएकाले मान्छे सडकमा फोहोर फाल्न डराउछन् ।’

शायद संगीताको त्यो सुत्र प्रभावी हुनसक्छ हामीलाई नियममा बाध्न । नभए जापान या अन्य मुलुकले जे जस्ता पूर्वाधार बनाइदिएपनि तिनलाई हामी बादरले झै विगार्छौ -ट्रलि, साझा बस आदि) । तीनकुने-सुर्यविनायक खन्डमा ढिलो/छिटो गुड्नेलाई त्यहीअनुसारको लेनको व्यवस्था गरियो तर त्यसलाई नबुझी दौडिदा मानिसहरु दुर्घटनामा परे । माल छ, तर त्यो उपयोग गर्ने ‘चाल’ छैन । स्कुलमा पढाएर पनि नहुने रहेछ यस्तो कुरा । कोटेश्वरमा ट्राफिक व्यवस्थापन गरिरहेका स्वयंसेवकले भने- ‘स्कुले बच्चा सबैभन्दा बढी नियम मिच्ने ।’ के भएको शहरमा ?

हामीले कोरियामा किनेर पठाएको सुख्खा विस्कुट टोक्दै गर्दा जापानीले भन्लान्- धन्यवाद नेपाल ! तर हामीलाई सबैभन्दा खुशी त्यति बेला हुने छ जव नेपालीहरु हामीले बनाइदिएको सडकमा नियमपूवर्क हिड्न जान्दछन् ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

दिल्लीबाट काठमान्डु

दिल्लीबाट काठमान्डु

ठुलो पार्न क्लिके हुन्छ / कान्तिपुर- २०६७ माघ २९, शनिबार

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिल्लीमा दुई वर्षको कार्यकाल सिध्याएर गतसाता काठमान्डु फर्किंदा केही साथीहरूले भने- ‘अँध्यारोमा स्वागत छ ।’

बिजुलीको अभाव काठमान्डुमा नौलो होइन । तर निरन्तरको र अस्वीकार्य रूपमा लामो लोडसेडिङले जनतामा निराशा बढाएको छ । ‘अनिर्णयको बन्दी’ राजनीति र विकास निर्माणको अभावको कुरै नगरौं । नेपाल आउनु साटो बाहिरै बसेको राम्रो भन्ने केही साथीहरूको टिप्पणीले म हल्का चकित भएँ ।

दिल्ली न्युयोर्क या टोकियो होइन । दिल्ली त्यो देशको राजधानी सहर हो, जहाँ स्वाभिमान गुमाएर अत्यन्त थोरै आम्दानीका लागि दसौं हज्जार नेपालीहरू रातदिन खट्छन् । त्यहाँ बस्दा र भारत घुम्दा मैले एउटा नेपाली भेटिन, जो त्यहाँ भएकोमा खुसी या गौरवान्वित होस् । भारतमा नेपालीहरू जहींतहीं छन् । जम्मुदेखि कन्याकुमारीसम्म । मुम्बईदेखि शिलाङसम्म । लखनऊदेखि हैदरावादसम्म । ती सबै ठाउँमा मैले ढावा र पसलहरूमा काम गरिरहेका नेपाली देखेँ । त्यो दर्शनीय थिएन । त्यहाँ उनीहरूले दुःख साटिरहेको मैले सुनेँ । त्यो श्रवणीय थिएन । उदीतनारायण र मनिषा कोइरालाबाहेक भारतमा उल्लेख्य प्रगति गर्ने कोही नेपाली छन् भनेर खोज्ने मेरा सबै प्रयासहरू दिल्लीमा मम बेच्ने या ह्विस्कीको ससानो कारोबार गर्ने व्यक्तिहरूमा पुगेर सकिए । मैले के थाहा पाएँ भने नेपालीहरू कुनै सफलता हासिल गर्न भारत जाँदैनन् । जिन्दगीलाई जसोतसो निरन्तरता दिन उनीहरू त्यता हानिन्छन् । भारत हाम्रालागि ‘मौकाको भूमि’ होइन, दुःखपूर्ण वास्तविकताबाट अस्थायी रूपमा उम्किने ठाउँ हो ।

मातृभूमिसँगको प्रेम र घृणाको सम्बन्ध पनि गज्जबकै छ ! यहाँ बस्न नसकिने, यो बिना पनि टिक्न नसकिने । समस्याहरूबाट भाग्न केही समय देशबाहिर रहन सकिएला, तर धेरै समय बस्न सकिँदैन । अध्ययन या केही वर्ष काम गर्न विदेशिए पनि मानिसहरू त्यहीं मर्न चाहँदैनन् । कुनै एउटा विन्दुमा पुगेपछि घर फर्किने चाहना यति बलियो हुन्छ, त्यसले मानिसहरूलाई पूरै थिच्छ । अनि तुलनात्मक सुविधा पनि असुविधापूर्ण लाग्न थाल्छ ।

मानिसहरू खुसी आफन्तसँग बाँड्न चाहन्छन् । विदेशमा जतिसुकै राम्रा साथी बनाए पनि उनीहरूले आफ्ना उत्तेजनाहरू विदेशीहरूसँग त्यति सहजै साझेदारी गर्न सक्दैनन्, जति स्वदेशी साथी, आफन्त र छिमेकीसँग सक्छन् । उनीहरू विदेशमा गरेको प्रगति विदेशीलाई भन्दा बढी स्वदेशकै आफ्नालाई देखाउन चाहन्छन् । ‘गोर्खेलाई जापानमा लाखौं कमाए पनि छिमेकीलाई घरमा बोलाएर रंगिन टीभी नदेखाएसम्म प्रगति गरेको छु भन्ने लाग्दैन’, कुनै जमानामा एकजना अग्रज पत्रकार मित्रले भनेका थिए ।

त्यसमा सत्यता किन छ भने विकसित समाजमा एउटा नेपालीले जतिसुकै कमाए त्यो उपलब्धिलाई नेपालमा जति महत्त्वसाथ त्यो समाजमा लिइँदैन । त्यहाँ त्यति प्रगति गर्ने कति हुन्छन् कति । यो कुरा नेपालीमै मात्र लागू हुने पनि होइन । केही राष्ट्रियताका लागि त्यो उल्टो हुन्छ । मैले थुप्रै पश्चिमाहरूलाई देखेको छु, जसले नेपाल या भारतजस्ता तेस्रो विश्वका समाजमा बाँकी जीवन बिताउने निर्णय गरेका छन् । किनकि उनीहरूलाई यी समाजमा लगभग ‘राजकीय सम्मान’ मिल्छ । सबैले महत्त्व दिन्छन् । उनीहरूले आफ्नो देशमा त्यस्तो सम्मान र महत्त्व पाउँदैनन्, किनकि ती समाजमा उनीहरूजस्ता थुप्रै हुन्छन् ।

मातृभूमिमा फर्किने अर्को महत्त्वपूर्ण कारण समाजमा केही योगदान दिन्छु भन्ने दृढता पनि हो । ज्ञान या पैसा कमाएर केही मानिस जन्मभूमिमा ‘केही गर्ने’ उद्देश्यले फर्किन्छन् ।

मेरो सन्दर्भ हल्का फरक छ । समाज सेवा गर्ने र आफ्नो पेसाको गुणस्तर बढाउने मेरो बलियो चाहना छ, तर म पढ्न या जागिर खोज्न नेपाल बाहिर गएको थिइन । र म मेरो खुसी/उपलब्धि परिवारसँग साझेदारी गर्न आएको फर्केको पनि होइन । खासमा मेरी जीवनसाथी दिल्लीमै छिन्, अन्य विषयबाहेक इकोनोमेटि्रक्स पढ्दै । दिल्लीमा रहँदा म नेपालकै कम्पनी- यो पत्रिका र यसको अंग्रेजीभाषी सहप्रकाशन-का लागि पूर्णकालीन पत्रकार भएर काम गरेको थिएँ, जो अहिले पनि जारी छ । नेपालमा आधारित कम्पनीका लागि देशबाहिर गएर काम गर्ने नेपालीको संख्या निकै थोरै छ । त्यस्तो हुनुमा हाम्रो बिगि्रएको आर्थिक अवस्था जिम्मेवार छ ।

अनेकौं कारणले हामी भारतप्रति रिस पोख्छौं । तर समस्या हामीसँगै छ । गरिब र विभाजित भएपछि विदेशीले नहेपे के गर्छन् ?

भारत जान नपाए दसौं हज्जार नेपाली डाँडामा के गरेर बस्थे होलान् ? सीमा बन्द भयो भने के होला ? नसोधिकनै उसको सीमा छिर्न दिएर भारतले हामीलाई गुन लगाएको हो ? त्यसो पनि नभनौं, किनकि भारतले सीमा खुला राख्नु पछाडि उसका आफ्नै बाध्यता र रणनीतिक स्वार्थ छन् ।

भारत संवैधानिक रूपमा धर्मनिरपेक्ष राष्ट्र हो । मलाई त्यस्तो लाग्दैन । भारत धर्मनिरपेक्ष देश हुनै सक्दैन, किनकि त्यो एउटा देशमात्र होइन । त्यो आफैंमा एउटा महादेश हो । अझ भनौं एउटा सभ्यता हो । त्यो सभ्यता जो चिनियाँ, पश्चिमा र मुस्लिमभन्दा फरक छ । भारत हिन्दु सम्भता हो । विश्वकै दोस्रो ठूलो मुस्लिम जनसंख्या भइकन पनि आफैंबाट छुट्टएिको मुस्लिम पाकिस्तानसँग दुईपटक लड्ने, अर्को मुस्लिम बंगलादेशसँगको  सिमानालाई तार बेरेर बन्द गर्ने भारतले नेपालसँगको सिमानालाई चाहिँ खुलै राखिराख्न चाहनु पछाडिको उद्देश्य बुझ्न कसैले पनि सभ्यताहरूको संघर्षबारे किताब लेखेका अमेरिकी राजनीतिशात्री स्याम्युअल हन्टिङ्टन भइहरनु पर्दैन । जवाहरलाल नेहरुले कुनै जमानामा भारतको उत्तर सिमाना हिमालय हुन् भनेका थिए । भारतका हिन्दु कट्टरपन्थीहरू अझै पनि नेपाल उनीहरूको कल्पनाको ‘भारतवर्ष’भित्रै पर्छ भन्ठान्छन् । नेपालको बहुमत समाज हिन्दु होउन्जेल भारतको टाउको नदुख्ने मेरो बुझाइ छ । नास्तिक माओवादी उसलाई चाहिएन । ‘चिनियाँ प्रभाव बढ्यो’ या नेपाल ‘भारत विरोधी गतिविधिको केन्द्र बन्दैछ’ भनी उताबाट आउने दाबीहरू दिल्लीका हस्तक्ष्ाेपकारीहरूका सतही बहानामात्रै हुन् । सभ्यताको फरकले गर्दा भारतसँग जति नजिक चीनसँग नेपाल कहिल्यै हुन सक्दैन भन्ने बुझेर पनि उनीहरू त्यस्तो हल्ला फैलाउँछन् । हो, नेपालका केही मुस्लिमहरूसँग भारतको समस्या छ र उनीहरूलाई भारतले आफ्नो जासुसी संयन्त्रमार्फत सोझै नियालिरहेको छ ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

यहीँ जिउँदै जलाए बुवालाई

they burned my father alive here

बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने ।

त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल मान्छे आई जिउँदै जलाएर मारेका थिए । गोठमा शर्माकी पत्नी, उनीहरूका १५ (नारायण), १२ (जीवन) र १० (तुलसी) वर्षका छोराहरू र छोरी पनि थिए । दुई बजेतिर अचानक एक हूल आएर गोठमा आगो लगाइदिएपछि शर्मा स्तब्ध भएका थिए ।

‘हतारहतार बच्चाहरू र बुवालाई बाहिर निकालेँ,’ उनले भने, ‘हात जोडेर माफी माग्दै थिएँ, केही नगर्न भन्दै थिएँ, एउटाले खासी भाषामा ‘मार्दे’ भनिहाल्यो । अर्कोले यतिलामो (उनले फैलाइएको दाहिने हातको कुममा देब्रे हत्केलो लगे) खुकुरी निकाल्यो । अनि म यस्तरी (उनले दुवै हात उचालेर पछाडितिर फाले) जम्प हान्दै भागेँ केटाकेटीतिर । उनीहरूलाई लगेर त्यहाँ (५० मिटरजति टाढाको खोल्सोमा) लुकेँ ।’ भाग्न नसकेका वृद्ध लोकनाथलाई पेट्रोल खन्याएर, खुकुरीले हानेर मारेको शर्माले बताए ।

they burned my father alive here2

घटनामा ४ गाई मरे, जसलाई जलेको गोठैअगाडि गाडिएको छ । कान्तिपुरले भेट्दा बुवाको काजक्रिया सकेका शर्मा गोठबाट हिँडेर आधा घन्टा टाढाको एउटा नेपालीभाषी स्कुलमा थिए जहाँ उनको ठूलो छोरा पढ्छन् । ‘बच्चाका किताब, कपडा जले,’ उनले भने, ‘छोरालाई पढाउनु त परिहाल्यो, सरहरूले केही सहयोग गरिदिनुहुन्छ कि भनेर आएको ।’ असम राज्यसँगको विवादित सिमाना लाम्पीका गोर्खालाई वैशाख ३१ मा हटाउन जाने आदिवासी खासीमध्ये चारलाई असाम सीमा रक्षाबलले गोली हानी मारेपछि मेघालयका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीलाई आक्रमण गर्ने क्रममा खासीहरूले बास्तोलालाई मारेका हुन् ।

जयन्तिया हिल्स जिल्लाका कोइलाखानीका केही नेपाली मजदुरको पनि हत्या भएको त्यहाँका सक्रिय नेपालीहरूले बताएका छन्, जसलाई मेघालय सरकारले अस्वीकार गरेको छ । मारिएका भनिएकाको परिचय सार्वजनिक भएको छैन तर नेपालीहरूले केही शव लुकाइएको आरोप लगाएका छन् ।

‘हामीले अनुसन्धान गरिरहेका छौं,’ मेघालयका मुख्यमन्त्री मुकुल सामाले बुधबार सिलाङमा कान्तिपुरसँग भने, ‘यो हल्लाको पछि लाग्ने समय होइन । अनुसन्धान रिपोर्ट आएपछि सबै तथ्य थाहा हुन्छ ।’

नेपालबाट कोइलाखानीमा काम गर्न आउने कामदारको दर्ता र बिमा नहुने गरेकाले तिनीहरूको पहिचान पत्तै लागे पनि क्षतिपूर्ति दिलाउन कठिन हुने नेपाली संगठनका कार्यकर्ताहरूले बताए । बास्तोलाका परिवारलाई मेघालय सरकारले लाम्पीमा मर्ने खासीहरूलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिइने मुख्यमन्त्री साङमाले बताए ।

घटना भएको दुई सातामा पनि सिलाङबाट गोर्खा समुदायका कुनै व्यक्ति आफ्नो अवस्था बुझ्न नआइदिँदा दुःख लागेको शर्माले बताए । सिलाङका कतिपय सक्रिय गोर्खाले त्यता जाँदा खासीहरूको तारो बनिने हुँदा डर लागेको उल्लेख गरे । नेपाली नागरिकता नभएको, बुवासहित आफ्नो जन्म पनि मेघालयमै भएको तर राज्यमा आफ्नो नाममा जग्गा नभएको शर्माले बताए । उनी अरू थुप्रै नेपालीभाषीले झैं खासीहरूको जग्गा भाडामा लिएर बस्ने गरेका छन् । भाडा भन्नुमात्र हो, वर्षमा त्यो दुई सयदेखि पाँच सयको हाराहारीमा हुन्छ तर खास काम त्यहाँ बसेर त्यो जग्गाको स्याहार सुसार गर्ने नै हो । त्यो रात बास्तोला गोठमा जल्दा उनकी पत्नी, अर्का छोरा र बुहारी त्यहाँबाट एक घन्टा उकालो हिँडेर पुगिने ठाउँमा बनेको सानो घरमा थिए ।

‘हामीलाई १९८६, ८७ को गन्डागोलमा पनि केही गरेनन्,’ शर्माले भने, ‘तर यसपालि अचानक, केही नभनी आएर त्यस्तो गरे ।’

उनकी पत्नी नजिकैको प्लाई कारखानामा ज्यामी गर्थिन्, उनी गाईको स्याहार गर्थे । अहिले शर्मा जलेको गोठमुनि उही मालिकको कुखुरा फार्ममा बसेका छन् । मालिकले उनलाई केही समय त्यहीं बस्न भनेको छ । गोठसँगै जोडेर उनी काठको एउटा सानो घर बनाउँदै थिए ‘तख्ता भएको,’ जसको ‘ढोकामात्र हाल्न बाँकी थियो,’ उनले बताए ।

‘इष्टमित्र र ठूला मान्छे आएको बेला मज्जाले बस्न मिल्ने ठाउँ पनि बनाएको थिएँ,’ शर्माले भने, ‘अब त्यो कुखुरा गोठमा मैले पाहुना कसरी राख्नु ?’

बनारसी संस्कृत

varanasi sanskrit students of nepal

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

ह्वाईट फिल्ड र मल्पी जस्ता नाम भएका काठमान्डूका अंग्रेजी स्कुलबाट एसएलसी र ए लेभल गर्ने, नेपाली अप्ठेरो ठान्ने र खुला सफ्वटेयर आन्दोलनमा रुचिहुने एउटा युवकमा अचेल संस्कृत पढ्ने भुत सवार भएको छ । इन्टरनेट खोतल्दै गर्दा एकदिन ‘कृत्तिम बौद्धिकता’ र संस्कृत भाषाबारे अमेरिकी अन्तरिक्ष संस्था नासाका एक अनुसन्धाताको रिपोर्ट पढेपछि उज्ज्वल लामिछानेको मन संस्कृतमय भएको थियो । संस्कृत सिक्न उपत्यकामा ठाउ फेला पार्न नसकेपछि एकदिन उसले इन्टरेनट गफमा मसँग भन्यो– ‘विश्वभाषा क्याम्पस गए, त्यहा पनि नेपालीलाई चाहि संस्कृत नसिकाउने रे । नेपालमै संस्कृत पढ्न किन यति गाह्रो ?’

उत्तर शायद माओवादीसँग छ कि ? जनताका लागि रात दिन खटिरेहका विचरा कमरेडहरुले ठ्याक्कै राणाहरुकै जस्तो ‘जनताले पढे हामीभन्दा जान्ने हुन्छन्’ शैलीमा नेपालीलाई सामान्यतः शिक्षा विशेषतः संस्कृतबाट बन्चित गराएका हुन् । धन्न उनीहरुले नेपाललाई पुरै तालिवानीकृत गराइसकेका छैनन्, त्यसैले नेपालमा सरकारी विद्यालयहरुमा संस्कृत हटाइएपनि त्यही सिकाउन भनि केही गुरुकुल र अन्य शिक्षालयहरु चलिरहेका छन् । तैपनि संस्कृतको ज्ञान लिन भारतको बनारस पुग्ने नेपालीहरुको संख्या घटेको छैन ।

‘देश समाज छाडेर यहा“ पढ्न आउदा महान दुख लाग्छ,’ राजु घिमिरेले भने– ‘देशमा परिवर्तन भइरहेको छ, साथ दिन सकिएको छैन ।  देशमा (शिक्षाका लागि) वातावरण भएन । शिक्षाकै लागि विदेशिनु नपरोस ।’ बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आचार्य (स्नातकोत्तर) का यी २४ बर्षे विद्यार्थीलाई मैले हालै विश्वविद्यँलय परिसरकै अन्र्तराष्ट्रिय होस्टलको छतमा भेट्टाएको थिए । उनीसँगै नेपालका विभिन्न भागका केही युवक थिए जो विश्वविद्यालयमै उत्तर मध्यमा (प्लस टू) र शास्त्री (स्नातक) देखि विद्यँवारीधी सम्मका तहमा पढ्छन् । उनीहरुका लागि काशीमा संस्कृत अध्ययन ज्ञान पहिल्याउने माध्यम र आत्मसन्तुष्टिको कारक भएको छ ।

‘यहाँ जानेर नेपालमा केही काम गर्न सकिन्छ कि भन्ने आश छ,’ शास्त्रीका विद्यार्थी सुदर्शन अधिकारी, २१, ले भने । संस्कृतमा सबै ज्ञान छ– भौतिक, आधुनिक देखि आध्यात्मिक,’ शास्त्रीकै लक्ष्मीप्रसाद गौत्तम, २०, ले थपे– ‘दाईहरु पनि बनारस पढेर गएकोले म यहाँ आएँ ।’

फोहोरी, होहल्लापूर्ण र अव्यवस्थित सहर बनारस पढ्नका लागि विद्यार्थीको अन्तिम छनोट हुनुपर्ने हो । यहा“का विख्यात गंगा घाट, हराइने गल्लीहरु र जोगिहरुसहितका धार्मिक गतिविधि विश्वभरका पर्यटकका लागि आकर्षण बनिरहेका छन् । तर जति साधु महन्त छन् त्यो भन्दा बढी यहा“ फटाहाहरु भएको संकेत कुनै पनि क्षण पाउन सकिन्छ । विद्यार्थीहरुलाई त्यसको परवाह छैन । उनीहरु ठान्छन्, देख्दा जस्तो देखिएपनि बनारस अपरम्पार छ । ‘बनारसको महिमा वाणीको विषय होइन अनुभव गर्ने कुरा हो,’ सिक्किमका केशव पोखरेलले भने– ‘हामी दिल्ली, मुम्बई किन गएनौं ? शिक्षा का कुनै पनि क्षेत्रमा बनारस अगाडी छ । मान्छे यहाँ पुरै विश्वको अनुभव गर्न आउछ । गंगा घाटतिर हजारौ विदेशी देखिन्छन्, गल्लीमा प्रत्येक मान्छे आफैमा मस्त भेटिन्छन्, कुनै घाटमा दिनभरी मान्छे जलिरहेका हुन्छन् । बर्षामा बनारस झन् खत्तम, गन्धकी देखिन्छ तर बाहिरी सुन्दरताले केही हुदैन ।’

नेपाली लगायत नेपालका थुप्रै भाषाहरुको जननी हो संस्कृत जसको प्रभाव हाम्रो समाजमा, केशवका अनुसार, मान्छे जन्मेदेखि मरेसम्म (‘नामाकरणदेखि अन्त्येष्ठी’) रहन्छ । पूर्वीय ज्ञानको भन्डार यही भाषामा लेखिएको छ जसप्रति हालैका केही दशकहरुमा भौतिकताबाट आजित भएको पश्चिमा समाजको चासो बढीरहेको छ । तर जनताको चेतनास्तर शुन्यमै राखेर आफ्ना बच्चालाई मात्र विदेशी विश्वविद्यालयमा पढाउन रुचाउने क्रान्तिकारी कमरेडहरुले संस्कृतलाई कर्मकान्डस“ग जोड्दै त्यो विरुद्ध आन्दोलन छेडेपछि संस्कृतले नेपालमा चुनौती खेपेको हो । ‘दुःख लाग्छ वास्तवमा,’ सम्पूर्णनन्दमै ‘न्याय दर्शन’मा पीएचडी गरिरहेका विश्वनाथ धिताल, २९, ले भने– ‘प्राय बाहुनले मात्र पढ्ने भएकाले त्यसो भनिएको हुनसक्छ तर संस्कृत कर्मकान्ड मात्र होइन । यो भाषा मात्र नभएर व्यक्तित्व विकाशका सहयोगी पनि हो । यसले (मान्छेलाई) आध्यात्मिकता तर्फ लैजान्छ । हुन त, खान लाउन समश्या हुनेलाई आध्यात्मिकता के काम । पेट भरिएपछि मात्र विचार गर्ने न हो । संस्कृत विचार गर्ने भाषा हो, दृष्टिकोण बनाउने भाषा । तर देशको गरिवी र राजनीतिकरणको मारमा पर्यो यो ।’

आधुनिकताका नाममा सामाजिक परम्परा भत्किइरहेको र पश्चिमाकरण बढीरहेको अहिलेको अवस्थामा संस्कृतलाई ‘पुरातनवादी’ प्रबृत्तीसँग पनि जोडिने गरेको छ जसलाई विद्यार्थीहरु अस्विकार गर्छन् । अहिलेको प्रतिस्पर्धी जमानामा संस्कृत पढ्दा बेरोजगार हुनसकिने अनुमानलाई पनि दरिलो ठान्दैनन् । ‘संस्कृतको राम्रो ज्ञान भएको मान्छे बिनाकाम बसेको रेकर्ड छैन,’ केशवले ठोकुवा गरे । ‘राम्रो पढे पैसा कमाउन जसरी पनि सकिन्छ,’ राजुले भने । आचार्य तहका भास्कर शर्मा, २२, ले चाहि संस्कृतसँगै कम्प्युटर हार्डवेयर मर्मतको काम पनि सिकिरहेका छन् जसले, उनको आशा छ, जीविकोपार्जनमा दोहोरो सहयोग पुर्याउने छ । पक्कै, संस्कृत र कम्प्युटरको संयोजन भास्करले मात्र गराएका होइनन्, लाग्छ, यो संसारभरी फैलिरहेको छ ।

‘संस्कृतबारे स्कुलमै पनि सुनेको हुनसक्छु तर इन्टरनेटमा कम्प्युटर चलाउनका लागि संस्कृत नै सबैभन्दा उत्कृष्ट भाषा हुनसक्ने पढेपछि त्यो जान्ने रहर पलायो,’ उज्जवलले जीटकमा मसँग भने । ‘नेपाली त पढ्न र लेख्न नरुचाउने मेरालागि संस्कृत एउटा कठिन छनोट भएको छ तर यसको सम्पूर्णताले मलाई तान्यो,’ १९ बर्षेले थपे । कम्प्युटर प्रोग्रामिक भाषाको व्याकरण मानिने ‘बाकस–नौर फर्म’ जत्तिकै शक्तिशाली संस्कृत पाणिनी व्याकरण भएको र पछिल्लोमा अघिल्लका जटिलता पनि नभएकोले आफू संस्कृतप्रति आकर्षित भएको उनले बताए । पाणिनी व्याकरणले जटिल गणितीय समश्याहरुलाई पनि सम्बोधन गर्ने क्षमता राखेको कतिपय पश्चिमा गणितिज्ञहरुले उल्लेख गरेका छन् । दुखको कुरा माओले आफ्नो रातो कितावमा त्यो संस्कृतको बैज्ञानिक पक्षबारे उल्लेख गर्न विर्सिए ।

अहिले कम्प्युटिङ् जगतमा चुनौतीको विषय बनेको छ, ‘स्पिच रिकग्नीसन’ । अङ्ग्रेजी उच्चारणलाई जति प्रयास गर्दा पनि कम्प्युटरले शतप्रतिसत चिन्न सकेको छैन तर देवनागरी लिपीको र कम्प्युटरका लागि सहिजो व्याकरण भएको संस्कृतलाई अग्रेजीभन्दा सजिलै चिन्न सक्ने सम्भावनाले पनि आफूलाई आकर्षित गरेको उज्ज्वलले बताए । विश्वभाषामा विदेशीलाई मात्र पढाईने बताइएपछि उनी नीजि शिक्षक खोज्न थाले जो मिलिछाड्यो । अहिले उनी हरेक शनिवार काठमान्डूमा एकजना शिक्षकले अनौपचारिकरुपमा चलाएको ‘श्वाध्याशाला’मा संस्कृत सिकिरहेका छन् । ‘म अहिले संस्कृतको शुरुवाती तहमै छु,’ उनले भने– ‘तर मलाई लाग्छ यो बर्ष म संस्कृतलाई मेरो दैनिक गफगाफको भाषा बनाउने छु र संस्कृत सिक्ने तरिका र अनुभव मेरो ब्लगमा राख्ने छु ।’

हेर्दा लाग्छ, सबैकुरा ठिकै छ अर्थात ‘अल इल वेल ।’ वा, उज्वलको ट्विट सापटी लिउँ जसले अहिलेको हिट हिन्दी फिल्म ‘थ्रि इडियट्स’को त्यो प्रख्यात वाक्यलाई संस्कृतमा भनेको छ– ‘सर्वमस्ति सुष्ठु ।’

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथिको तस्बिरमा क्लिक गरौ‌ ।

दिल्लीमा बन्दिपुरको अटोवाला

बन्दिपुरको अटोलाला

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘तपाईं जानुस् एकचोटि’ उनले आफ्नो गाउँ बन्दिपुर, तनहुँको प्रशंसामा भने- ‘जिन्दगीमा भुल्नुहुन्न ।’

२० वर्ष भयो उनले त्यो गाउँ (‘वार्ड नं ६’) छाडेको । तर पर्यटकीय बस्तीको प्रबर्द्धन गर्न उनी दिल्लीमा पनि छाड्दैनन् । यो होमबहादुर थापामगरको कथा हो जो थुप्रै गरबि नेपाली र आप्रवासी कामदारहरूको जस्तो संघर्षले भरिएको छ । फरक यत्ति हो, धेरै त्यस्ता अभागी निराशाले आजित भएर संघर्षको यात्रालाई बीचैमा छाड्छन् र गरबीमा डुब्छन् । होमबहादुरले त्यसो कहिल्यै गरेनन् । त्यसैले आज उनी दिल्लीमा सगौरव तीनपाङ्ग्रे टेम्पो (अटोरिक्सा) चलाउँछन् जसलाई यहाँको लोकपि्रय लवजमा अटो भनिन्छ । त्यो अटो जो अबका केही महिनामा पूर्णतः होमबहादुरकै स् वामित्वमा आउनेछ । अहिले किस्तामा तिर्ने पैसा त्यसपछि नाफाका रूपमा दिल्लीस्थित सानो तर उनको आफ्नै घरको बाकसमा जानेछ । २० वर्षअघि बन्दिपुरबाट भागेर भारतीय राजधानी आउँदा होमबहादुर यो दिनको कल्पना मात्र गर्न सक्थे ।

भारतीय सेनाबाट बीचैमा निस् केका बाबुले रक्सीको सुरमा कुटपिट गर्न थालेपछि सहननसकेकी उनकी आमा नजिकैको जंगलमा झुन्डिएर मरनि् । उनी १२ वर्षका थिए । दुई दाजुहरू बिहे गरेलगत्तै छुट्टएपछि, उनी र कान्छा भाइ बाबुसँगै रहे । ‘घरको ढिकी जातोदेखि सबै काम मेरो काधमा आयो,’ उनले सम्भिए, ‘स्कुल पढ्दा पनि मलाई धेरै परेसानी भयो ।’ दाउरा बेचेर उनले जसोतसो ८ क्लास पास गरें तर त्योभन्दा माथि उनले कुनै भविष्य देखेनन् ।

दिल्लीबाट बिदामा फर्किएका एकजना साथिको उक्साहटमा उनी सन् १९८९ मा भारत भागे । यहाँ आएर उनले लोकप्रिय लवजमा कोठी भनिने अपार्टमेन्टमा घरेलु कामदारको जिम्मा सम्हाले- मासिक अढाई सय रुपैयाँमा । उनी १७ वर्षका थिए । ‘बच्चाहरूको स् याहारदेखि टट्टी पनि सफा गरियो,’ उनले सम्भिए । मालिकले एक सय रुपैयाँ तलब नबढाइदिँदा उनले त्यो काम छाडे र नजिकैको अर्को राज्य हरियाणाको इँटा भट्टीमा चार सय रुपैयाँमा काम थाले ।

हो त्यहीँ एकदिन होमबहादुरलाई कसैले नेपाली स्वरमा बोलायो । लामो नाक हुने बाहुनहरूलाई नेपालीका रूपमा भारतमा चिन्न गाह्रो पर्छ तर, होमबहादुरका अनुसार, गुरुङ, मगरहरूलाई झ्वास्सै चिनिन्छ । ‘नेपाली भनेपछि यस्तो लाग्छ कि परदेशमा हेर्नुस् एउटै कोखबाट निस् केका दाजुभाइभन्दा पनि प्यारो,’ उनले भने- ‘आफ्नै दुस्राथरीजस्तो लाग्दोरहेछ ।’

हरियाणाको कुनै एउटा गाउँमा दूध दुहुने, गोबर सोहोर्ने ती गोठाला पनि कामबाट आजित भएका थिए । एसएसली उत्तीर्ण ती युवक र भट्टीको कामबाट असन्तुष्ट होमबहादुरले योजना बनाए जसले उनीहरूलाई दुःखपूर्ण यात्रामार्फत मुम्बई पुर्‍यायो । त्योभन्दा अघि दिल्ली रेलल्वे स्टेसनमा उनीहरू बडो चलाखीपूर्ण ढंगमा लुटिए ।

‘गाउँको मान्छे सहरमा आउँदा अल्मलिएछौं,’ उनले भने, ‘सायद चाँदनी चोकतिर पुगेछौं क्यारे । ’ हिँड्दै गर्दा उनीहरूले एक अर्का नेपाली भाषी भेट्टाए जसले आफू पनि मुम्बई जान लागेको बताए । लगत्तै उनीहरूले अर्का नेपालीभाषी भेटे जसले आफू आसामबाट आएर घरेलु कामदार बनेको तर पैसा नमिलेपछि केही सामान बोकेर हिँडेको बताउँदै एउटा पोको देखाए । ती व्यक्तिले पोकोमा तीन लाखसम्मको सुन र पैसा भएको र त्यो सबै चारजनाले बाँडेर खानुपर्ने विचार राखे । भोकाएको हुनाले तत्कालै आफूलाई पैसा चाहिएको ती व्यक्तिले बताएपछि र भेटिएको पहिलो मान्छेले त्यसमा जोड दिएपछि होमबहादुरले १४ सय रुपैयाँ दिए । अनि ती दुवै नयाँ व्यक्ति खाने र पिसाब फेर्ने बाहनामा छुट्टिए । केही बेरमा होमबहादुर र उनका गोठाला साथीलाई शंका लाग्यो । ‘दिल्लीमा ठग, मुम्बईमा गुन्डा हुन्छ भन्ने सुनेका थियौं,’ उनले सम्झिए- ‘पोको खोलेर हेर्‍यौं । अखबारै अखबार पो छ । लालचले त्यस्तो गर्‍यो । कति महिना लगाएर कमाएको पैसा एकछिनमा गयो ।’

पुराना ती कुरा सम्झिदा उनी हाँसे । मलाई पनि लाग्यो कुनै ठट्टा सुनिरहेको छु । खासमा त्यो दिन दुई जनासँग बाँकी रहेको थियो- १३ सय रुपैयाँ ।

रेलको साधारण डिब्बामा उभिने ठाउँ भएन । ‘सिट खोजियो तर जनरल डिब्बामा कताबाट पाउनु,’ उनले भने- ‘नेपालीले कहिल्यै ट्रेन देखेको भए पो थाहा हुनु ।’ कसोकसो उनीहरू दुई डिब्बा जोडिने ठाउँमा भुइँमै बसे रातभर । बिहान गन्ध कताबाट आउँछ भन्दा आफ्नै जीउबाट । नजिकैको शौचालयबाट आउने छिट्टा उनीहरूको जीउभरी परेछ । ‘धेरै कपडा थिएन,’ उनले भने- ‘तिनैलाई धुँदै सुकाएर लगाइयो ।’

डिब्बा चहार्दै उनीहरू कसोकसो वातानुकूलितमा पुगे र खाली सिटमा झ्याप्पै बसे । टिकट परीक्षक (टीटी) ले गालामा थप्पड मारेपछि मात्र उनीहरूले चाल पाए बिनाटिकट बस्न नहुने कुरा । मुम्बई ओर्लना साथ उनीहरूले सय रुपैयाँ जति सर्टको कलरमा लुकाएका थिए ।

मुम्बई, उनीहरूको सपनाको सहर । कत्ति रहर थियो त्यहाँ जाने । ‘सागर देख्नको बहुत सोख थियो,’ होमबहादुरले भने- ‘फिल्ममा हिरो हिरोइन सागरमा नाचेको देखेको । भर्खरको केटा मान्छे, रहर थियो हेर्ने । ’ टाउको निकै दुखेको थियो तर समुद्र किनारमा डुल्दै र सहर खोतल्दै गर्दा समय बितेको पत्तै भएन । रमाइलो धेरैबेर टिकेन । साँझपख सडकमा हिँड्दै गर्दा एउटा ट्याक्सी अचानक रोकियो र दुईजना निस्के । तिनीहरूले होमबहादुर र उनका साथीलाई समातेर भित्र जाके । ”साले नेपाली लोग कहा से आते हो, तुम लोग स्मलगिङ् कर्ता है इधर’ भन्दै ड्याम का ड्याम पिट्न थाले,’ उनले भने, ‘त्यतिखेर हामीलाई हिन्दी पनि राम्रोसँग बोल्न नआउने । उनीहरूले पुलिसको सीआईडी हौं भनेपछि हामीले पनि ‘तलासी लेओ, गल्ती भए जेल हाल’ भन्यौं । ट्याक्सी ड्राइभरले चाहिँ ‘यी गरबि रहेछन्, छाडिदेओ’ भन्थ्यो, तर तिनले सुनेनन् । मेरो सानो रेडियो, घडी र दुई सय लगे । ट्याक्सी हिँडिरहेको थियो, हामीलाई नाङ्गै बनाइदिए नि । कट्टु पनि फुकाले ।’ धन्न, ट्याक्सीबाट उनीहरूलाई निकालिँदा कलरमा लुकाएको पैसा अझै थियो ।

भोकाएका र त्रसित उनीहरूले नजिकैको एउटा पसलमा बडापाउ खाएपछि सहरमा टिक्न नसकिने निष्कर्ष निकाले । बिनाटिकट दिल्ली फर्किने सोचले उनीहरू रेल्वेस्टेसन पुगे जहाँ अर्का एक नेपालीभाषी भेटिए । अब उनीहरू कुनै पनि नेपाली-सँग कुरा गर्न तर्सिसकेका थिए । तर संसार नराम्रा मान्छेहरूले भरएिको छैन । ती व्यक्ति सहयोगी निस्किए । तिनले दुवैलाई एउटा निर्माणाधीन भवनमा चौकीदारीको जागिर दिलाए । त्यसअघि उनले ‘यतातिर कान्छीहरू पाइन्छ गाउँले हो’ भन्दै रेडलाइट क्षेत्रतिर लगेका थिए जसले होमबहादुरहरूमा शंका उब्जाएको थियो ।

केही समयपछि होमबहादुरले कपडा रंगाउने एउटा कम्पनीमा काम पाए जहाँ उनले खुबै प्रगति गरे । पैसा पनि जम्मा गरे साढे नौ हजार । त्यसमा केही थपेर मुम्बईमा थोरै जग्गा किन्ने उनको योजना थियो । तर सबै योजना कहाँ सफल हुन्छन् ? उनैले जागिर लगाइदिएको एकजना नेपालीले त्यही कारखानामा काम गर्ने एउटी भारतीय युवतीलाई भगाएर उनको कोठामा ल्यायो । दुवैको प्रेम भरपर्दो रहेको पक्का भएपछि होमबहादुर उनीहरूलाई पुर्‍याउने रेल्वे स्टेसन गए । कोठामा अर्को एकजना परिचित भारतीय थियो । स्टेसनबाट फर्किदा त्यो भारतीय गायब, पैसा पनि गायब । अर्को बज्रपात, बेलुका युवतीका परिवारजन आएर होमबहादुरलाई धम्की दिए । प्रहरीले पनि छापा मार्‍यो । जागिर पनि छाड्नुपर्‍यो । विरक्त होमबहादुर फेरी एकपटक केही गरिछाड्ने दृढता लिएर दिल्ली आए । ‘कुछ न कुछ सिक्छु, केही गरेर देखाएर मात्रै गाउँ फर्किन्छु भन्ने जिद थियो, तमन्ना थियो,’ उनले भने- ‘या कुछ भी सम्झिनुस् ।’

सन् १९९५ मा दिल्ली फर्केपछि उनले गाडी चलाउन थाले जो उनले मुम्बईमै सिकेका थिए । प्रत्येक महिना पाँच सय रुपैयाँ जम्मा गरेर उनले दुई बर्षमा पश्चिमी दिल्लीमा किस्ताबन्दीमा थोरै जग्गा किने । अर्को वर्ष उनले त्यहाँ सानो झुपडी बनाए र घर गए । १७ मा भागेको केटो २६ को हुँदा फर्कियो । ‘जे जस्तो भए पनि आफ्नो नेपाल भनेपछि, सुनौलीबाट छिर्नेबित्तिकै यस् तो लाग्यो कि म दुस्रा दुनियामा छिर्दै छु,’ होमबहादुरले सम्झिए, ‘आफ्नो घरमा छिर्दै छु । आफ्नोपन क्या आफ्नोपन । नरकबाट स्वर्गमा जाँदै छु जस्तो लाग्ने । तर फेरी पनि के गर्ने, पेट छ, काम गर्नैपर्‍यो ।’

उता बाबुलाई भारतीय सेनाले पेन्सन दिन थालेछ । तर होमबहादुरको योजना गाउँ बस्ने थिएन । उनले बिहा गरे ‘साट्ट सुट्ट मागेर’ र आनन्दले खान पुग्ने जमिन बन्दिपुरमै छाडी श्रीमतीलाई लिएर फर्किए दिल्ली । त्यतिन्जेलसम्म उनलाई अरूका लागि काम गर्ने सिलसिलाबाट दिक्क लागिसकेको थियो ।

‘मलाई नोकरीबाट खुबै तङ् आयो,’ एउटा कामबाट अर्कोमा उफ्रिदाका सास् ती सम्झिदै उनले भने- ‘सानो कुरामा निकालिदिन्थ्ये मालिकहरूले । खुबै गाली गर्थै । नोकरी भन्ने चिज अरूको गुलामी रहेछ भन्ने लाग्थ्यो । नेपालीलाई पनि बुरी नजरियाले हेर्ने । कति वचन लगाउने । ‘तेरे नेपालमे केही नहीँ, खाने कुरा नही मिल्ता’ भन्थे ।’

गाली गलौज त अहिले पनि हुन्छ भारतका सहरहरूमा मजदुरी गर्ने होमबहादुरजस्ता नेपालीहरूलाई । हेपाइ त नेपालका ठूलै भनाउँदा नेताहरूले पनि अनुभव गर्नुपर्छ दिल्लीमा आशीर्वाद लिन आउँदा । तर न होमबहादुरहरू मजदुरीका लागि यहाँ आउन छाड्छन् न नेताहरू । दिल्ली फर्केपछि होमबहादुरले अरूको काम गर्ने दैनिकीलाई निरन्तरता दिए ।

तर तीन वर्षअघि होमबहादुर प्रगतिको अर्को खुड्किलो उक्ले । उनले प्रतिमहिना आठ हजारको किस्ताबन्दीमा एउटा अटो किने जो यो वर्षको अन्त्यसम्ममा चुक्ता हुनेछ । मूल्य सवा लाख थियो तर दलालमार्फत लिएकाले बढी तिनुपर्‍यो । त्यसमा उनलाई गुनासो छैन । सरदर १५ वर्ष टिक्ने आफ्नो अटो ‘आफ्नै मर्जीमा’ चलाउनु उनका लागि ‘नोकरीभन्दा कताकता राम्रो’ छ । अटोले अहिले औसत मासिक १५ हजारसम्म कमाउँछ । उनी ‘घरको ब्यालेन्स हेरेर’ कहिलेकाहीँ ‘बिहान ६ देखि राति दुई बजेसम्म’ पनि काम गर्छन् कहिले मजाले परिवारसँग बिदा मनाउँछन् ।

नौ वर्षअघि बाबुको मृत्यु भएपछि होमबहादुरले भाइ र बुहारीलाई पनि दिल्ली ल्याएका थिए । बिजुली वायरङि् को काम गर्ने भाई र उनीहरूका दुई साना छोराछोरीका अभिभावक भएका छन् होमबहादुरका बूढाबूढी । कुनै कुराको कमी छ भने एउटा सन्तानको छ जसका लागि उनीहरू भगवान्सँग प्रार्थना गररिहेका छन् । अन्तर्वार्ताको एकदिन पछि मैले होमबहादुरलाई उनको घरैनजिक भेट्टाउँदा उनी एकजोर परेवा किन्न र एकजना नेपाली धामीको स्वागत गर्न तयार थिए । ‘डाक्टरले हुन्छ तेरो बच्चा भन्छ तर फेरि किन हुँदैन भनेर धामी झाँक्री गर्न आँटेको,’ उनले भने- ‘ मलाई त केही छैन तर आइमाईको इच्छा पूरा गर्नैपर्‍यो ।’

डेढ करोड मान्छे बस्ने दिल्लीमा लगभग ६० हजार एकै रंगका ( हरियो र पहेंलो मिश्रण) अटो छन् जो तुलनात्मकरूपमा वातावरण मैत्री सीएनजी (ग्यास) बाट चल्छन् । भीड हुने बस चढ्न नसक्ने र कार नहुने मध्यम तथा निम्न मध्यम वर्गका लागि अटो सबैभन्दा महत्त्वपूर्ण साधन हुन् । अटो चलाउनेहरू मुख्यतः छिमेकी राज्यहरू यूपी, विहार र अन्य उत्तर भारतीय गाउँहरूबाट आउँछन् । होमबहादुरलाई फेला पार्ने क्रममा पाँच नेपाली अटोवाला मेरो सम्पर्कमा आए । सहरका कुनाकुनाबारे जानकारी हुने र तिनै सडकमा थुप्रैपटक दौडिने भए पनि अटोवालाका लागि प्रत्येक दिन नयाँ हुन्छ । ‘दिनमा छत्तीसथरीका मान्छे भेटिन्छन्, छत्तीस तरहका बात हुन्छन् हेर्नुस्,’ होमबहादुरले भने- ‘त्यसमा सबै नराम्रो पनि होइन । कतिले चाहिँ अटोमा बस्नेबित्तिकै ‘कहाँ को ?’ भन्छन् । कहिले सिक्किमको, कहिले हिमाञ्चल र दार्जिलिङ्को भनिदिन्छु । नेपाली भन्दा अलि अर्कै किसिमले हेर्छ । सिक्किमबाट आएको भन्दा ‘डेनीको जान्ते हो ?’ भन्छन् । ‘उसको घर नजिकै मेरो घर हो’ भनिदिन्छु ।’

हल्का कपाल र जुँगासहित चिउडे दाह्री राखेका होमबहादुर क्याप लगाउँछन् जसको अर्थ छ । मुस्लिम इलाकामा पुग्दा उनलाई मान्छेले दाह्री देखेर ‘भाइजान’ भन्छन्, सरदार बस्तीमा स्नेहसाथ ‘पाजी’ भनी बोलाउँछन् । फेसन र बोलीमा जतिसुकै सतर्कता अपनाए पनि कहिलेकाहीँ तीता घटना भइहाल्छन् । अन्तर्वार्ताको चार दिनअघि उनलाई हल्का मातेको एउटा प्रहरीले ‘तु साले नेपाली इधर क्या कर्ता है’ भन्दै मुख छाड्यो । केही बेर गाली सहेका होमबहादुरले पनि आइलाग्नेमाथि जाइलाग्ने तवरमा मुख छाडेपछि ऊ हच्कियो ।

आफ्नो ठाउँ होइन यो, होमबहादुरलाई थाहा छ । दुई दशक भारतमा बिताएपछि अब उनलाई लगभग पुगेको छ यहाँको बसाइ । किस् ता चुक्ता गरेपछि एकाध वर्ष पैसा कमाउने र बन्दिपुर फर्किने उनको योजना छ । ‘दुनियाँ देखियो,’ उनले भने- ‘तर आफ्नो देश, मातृभूमि भनेको मातभूमि हुँदो रहेछ । आउँदो पीढीले परदेसिनु नपरोस् भन्ने चाहन्छु । जति दुःख गरे पनि उतै गर्नु ।’

आफ्नो जन्मभूमि, आफ्नो बन्दिपुर । एकचोटि पुग्नेले त जिन्दगी भुल्दैन, त्यही जन्मेकोले बिर्सने कुरै भएन ।

यो लेख पहिलो पल्ट आजको कान्तिपुर परिशिष्ट कोशेलीमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गरौ‌‌‌ ।

सान्दर्भिक लिङ्क

१. A Tale of Two Drivers: Delhi Autowallah and Shillong Cabbie

सीए बन्न दिल्लीमा

nepali students of ca in delhi

दिनेश वाग्ले

हालैको एक रात पसिनाले निथ्रुक्क विज्ञान अधिकारी पढाईबाट १० बजे कोठामा फर्केका थिए। दिल्लीको लक्ष्मीनगरस्थित तीन नम्बर गल्लीको एउटा घरको सबैभन्दा माथिल्लो चौथो तल्लामा छिरेपछि उनले काठमान्डू बस्ने परिवार सम्भि्कए। ‘घरमा मान्छे सुतिसके होलान्,’ १९ बर्षेले भने– ‘हामी भने भर्खर फर्केका छौं।’

‘हामी’ अर्थात सहवासी १९ बर्षेहरु मिलन राई, शिशिर भट्टराई, प्रतीक सापकोटा र १८ बर्षे बेल थापा जो सहपाठी पनि हुन्। नेपालको विभिन्न भागका यीनीहरु अन्य थुप्रै नेपाली तन्नेरीझैं चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने लक्ष्य लिएर भारतीय राजधानी आएका हुन्। तीन साता अघि बसबाट दिल्ली उत्रिएका उनीहरुले अबका चार बर्ष यहाँको प्रचन्ड गर्मी, निर्दयी जाडो, छिचोली नसक्नुको भिड र देख्दै दिक्क लाग्ने कितावी ठेलीहरुको सामना गर्नुपर्नेछ। बसाईको अन्त्यसम्ममा उनीहरुले यमुना किनारको त्यो बाक्लो बस्तिका थुप्रै गल्ली चाहर्दै जनकपुरे तर्कारी विक्रेतासँग लौका किन्ने छन्, गुल्मेलीको ‘एभरेस्ट हट’मा मम खानेछन्, समोसाको आलुझैं कोचिएका मान्छेहरुलिएर हिडेका बस र वातानुकुलित मेट्रोमा अनगिन्तिपटक यात्रा गर्नेछन्। अनि, सबैभन्दा महत्वपूर्ण, सीएको सर्टिफिकेट अठ्याउने छन्।

nepali students of ca in delhi

‘वेलकम टू द वर्ल्ड अफ हेल कल्ड सीए (सीए नामको नर्कमा स्वागत छ)’ कठिन पाठ्यक्रम र त्यसमाथि विजय पाउन खर्चिनुपर्ने समयलाई इगिंत गर्दै पुराना विद्यार्थीले नयाँलाई यस्तै एसएमएसबाट स्वागत गर्छन्– ‘हास्न बिर्स अब।’ शिक्षकले पनि सम्भावित व्यस्तताबारे सचेत तुल्याउछन्। अर्न्तवार्ता लिइएको रात यमुना पारीको आइटीओ स्थित एउटा अडिटोरियममा सञ्चालित कक्षामा पहिलोपल्ट हाजिर भएर फर्केका विज्ञानले भने– ‘सरले पनि ‘अब तुम फसे, तुम्हारी जवानी गई’ भन्नु भयो। टाइम चाहि बढी नै दिनुपर्छ यसलाई।’ u000aकक्षाको पहिलो दिन बेलले हत्तपत्त विर्सने छैनन्। ‘२०/२५ जनाको ग्रूपमा पढेको बानी,’ नवलपरासीमा स्कुल, काठमान्डूमा प्लस टू, र बाँकी साथीहरुलाई भेटेको ठाउँ नयाँ बानेश्वरस्थित प्राइम चार्टर्ड एकेडेमीमा ६ महिनाको कमन प्रोफिसिएन्सी टेस्ट (सीपीटी) कोर्स गरेका बेलले भने– ‘यहाँ दुई तीन सयलाई एउटै हलमा देख्दा अचम्म लाग्यो। सरले माइकिङ् गरेर पढाउनु भयो, प्रोजेक्टरमा।’ प्रतीकले भाषाको समश्या व्यहोरे। ‘२० प्रतिशत हिन्दी बुझिएन,’ उनले भने– ‘सरले त्यस्ता शब्द बोल्ने जो हिन्दी फिल्ममा सुनिएको थिएन।’ Continue reading

गाडी चम्काउने ठिटो

कार चम्काउने ठिटो
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

दिदी लिन भिनाजू जन्ती लिएर आएका थिए, बसमा । अर्को दिन त्यसैमा चढेर कमलबहादुर खड्का दिदी पुर्‍याउन गएका थिए । कमलको जिन्दगीमा त्यो पहिलो गाडी चढाइ थियो । ‘त्यो दिन उल्टीमात्र आयो, चक्करले ज्वरै आयो’, कञ्चनपुरको कालिका गाविस- ६, महेन्द्र बस्तीदेखि महाकालीपारि दोधारासम्मको यात्रा सम्झिए कमलले, ‘दुई दिनपछि बसमा आए, त्यतिखेर पनि उल्टी भयो ।’

त्यो १५ वर्ष अघिको कुरा । जिन्दगीका थुप्रै मध्येको संयोग हो, पहिलो यात्रामा उल्टी गरेर गाडी फोहोर गर्ने कमलबहादुर खड्काको अहिले पेसा भा’छ- गाडी सफा गर्ने । फरक यत्ति हो, उल्टी नेपालमा बसमा भएको थियो, सफा उनी दिल्लीमा भारतीयहरूका साना गाडी (कार) गर्छन् । मान्छे र गाडीको सम्बन्ध पनि अजीवकै छ ।

सन् १८८५ मा ‘मोटरवागेन’ बनाउँदा कार्ल बेन्जले त्यो मानिसहरूले चढ्ने ठानेका थिए । उनी सही थिए । आधुनिक गाडीका आविष्कारक मानिने ती जर्मनले १८८८ देखि १८९३ सम्ममा करिब २५ बेन्ज गाडी बेचे । त्यही वर्ष उनले सामान्य जनताले किन्न सक्ने गाडीको मोडल ल्याए । त्यसयता विश्वका अर्बौंले गाडी चढेका छन् र बेन्जजस्ता भाग्यमानी तथा प्रतिभाशाली केहीले चाहिँ आफूलाई गाडीका ब्रान्डका रूपमा स्थापित गरेका छन् । बेन्जले अर्का जर्मन इन्जिनियर गोट्टेलिव ड्याम्लरसँग सहकार्य गरेकैले हामीले ‘ड्याम्लर-बेन्ज’ गाडी देखेका हौं । जर्मनीकै विल्हेल्म माइबाखको थर प्रयोग गर्ने गाडी अहिले संसारकै महँगो मध्येकोमा पर्छ । अमेरिकी हेनरी फोर्डले १९०३ मा स्थापना गरेको फोर्ड कम्पनी विश्वको चौथो ठूलो मोटर निर्माता हो । जापानका किइचिरो टोयोडाले आफ्नो थरको ‘डी’लाई ‘टी’मा बदलेसँगै अगस्ट १९३७ मा कम्पनीको नाम टोयोटा राखे ।

विश्वकै ठूलो मोटर कम्पनी टोयोटाका महँगा कार किन्न नसके पनि हामीमध्ये धेरैले कम्तीमा १० रुपैयाँ तिरेर नेपालभरि छ्यासछ्यासी चल्ने ‘टोयोटा ह्यास’ माइक्रोबस पक्कै चढेका छौं । टोयोटाकै पूर्वकर्मचारी सोइचिरो होन्डाले, हामीलाई थाहै छ, आफ्नो थरलाई विश्वभरि बाइक र कारको ब्रान्डका रूपमा चिनाएका छन् । १९०९ मा जापानकै सानो गाउँ हामामात्सुमा ‘सुजुकी लुम कम्पनी’ खोलेका थिए, मिसियो सुजुकीले । काठमाडौंमा गुड्ने प्रत्येकजसो ट्याक्सीमा देखिने ‘मारुती सुजुकी’को सुजुकी तिनै जापानीको थर हो । सुजुकीले ८० को दशकयता भारतमा बनाएका गाडी ‘मारुती-सुजुकी’बाट चिनिन्छन् ।

सुजुकीले भारतमा कार बनाउन थालेको २५ औं वर्ष हालै पुग्दा यहाँका सडकमा क्रान्तिकारी परिवर्तन आएको विश्वले महसुस गरेको छ । २००८ मा भारतमा राष्ट्रिय र विदेशी बहुराष्ट्रिय कम्पनीहरूले २३ लाख गाडी उत्पादन गरेर यसलाई विश्वको नवौं ठूलो गाडी उद्योगको हैसियत दिलाए । भारतीय सहरहरूमध्ये दिल्लीमा सबैभन्दा बढी गाडी छन् । बढ्दो जनसंख्या र तिनको सुध्रँदो आर्थिक अवस्थाले कारको संख्या बढाएको हो । घरमा ठाउँ नहुँदा गाडी सकेसम्म अगाडिको या नजिकैको सडकछेउ राखिन्छन् । काठमाडौंमा बाइकचोरको विगविगीजस्तै छ, दिल्लीमा कारचोरको । त्यसैले दिनभरि गुडेर हिलाम्ये/धुलाम्ये भएका गाडी राति सुरक्षा गर्ने र बिहानै सफा गर्ने जिम्मा देशमा रोजगारी नपाएर विदेशिएका कमलजस्ता गरिब नेपालीको ।

बिहीबार राति १० बजे दिल्लीको जंगपुरामा यो लेख्दै गर्दा बाहिरको सडकमा २५ वर्षे कमलको ‘चौकिदारी ड्युटी’ सुरु भा’छ । त्यसबापत उनले महिनामा २२ सय भारु पाउँछन् । बिहान पाँच बजेतिर उनी मोहल्लाका २२ वटा गाडी सफा गर्छन्, जसबाट अर्को २५ सय कमाउँछन् । एउटा टालोले माटो/धूलो झारेपछि अर्कोले उनी गाडीको जीउ र सिसा पुस्छन् । सातामा एकपटक जस्तो भित्रका म्याट सफा गर्नुपर्छ । १० बजे काम सिध्याएर आधा घन्टा हिँडेपछि उनी कोठामा पुग्छन्, जहाँ आफ्नोजस्तै कामबाट फर्केका चारजना कञ्चनपुरेलाई भेट्छन् । ‘त्यतिबेला सबैभन्दा रमाइलो’ उनले भने- ‘कसैले आटा बुन्नी, कसैले सब्जी बनाउने, कसैले रोटी । साथीहरूसँग हाँसोमजा हुन्छ, खाना बनाउँदा ।’

‘हाँसोमजा’ गर्नमात्र महिनामा १४ सय पर्ने कोठामा पाँचजना बसिएको होइन । ‘एक्लै बस्दा भाडै तिर्न सकिन्न, मेन त’ कमलले भने- ‘पैसा नबच्ने भयो ।’ घरमा के पठाउनु ? महेन्द्र बस्तीमा उनकी पत्नी, उनीहरूको तीन वर्षे छोरो, बाबु/आमा, सात र दुई कक्षाका भाइ र एक बहिनी छन् । दुई दिदी र एक बहिनीको बिहा भयो । दाजु भारतकै ‘सुरततिर यस्तै नोकरी गर्छन् ।’

वनबासाबाट बस चढेर पहिलोपटक दिल्ली उत्रँदा उनी १९ वर्षका थिए (त्यसपाली पनि उल्टी भा’थ्यो) । त्यतिबेला दाजुले चौकिदारी गर्ने जंगपुराकै ए ब्लकको एउटा कोठी (घर) मा कमलले लगभग तीन सालजति खानासाना बनाइदिने, सफाइ गरिदिने गरे । त्यही कोठीमा काम गर्दा उनले पहिलोपटक सानो गाडी (स्यान्ट्रो) चढेका थिए । (‘चक्कर चल्यो, तर उल्टी भएन’, उनले भने- ठूलोमा जस्तो धेरै धक्का नदिने ।’) ‘त्यहाँ तनखा नबढाउने’ भएपछि उनले नजिकैको ब्लकमा चौकिदारी थाले । सराइको आसपासमै उनले बिहा गरे । कतिन्जेल यो काम गर्ने हो, उनलाई पत्तो छैन ।

स्टेरिङ त सफा गर्दामात्र छुने हो, चलाउन आउँदैन । तर आफूले धुने गाडीहरूको नाम र लगभग मूल्य कमललाई थाहा छ- ‘स्कार्पियो’ (१० लाख), ‘होन्डा सीटी’ (६/७ लाख), ‘इस्टिम’, ‘अल्टो’, ‘एटहन्ड्रेड’ र ‘वागनर’ । ‘हाम्रो लागि सबै राम्रो’ गाडीहरू बारेको एक प्रश्नमा कमलले आधा हाँसो फ्याँक्दै र मलाई हेर्दै भने । उल्लेख गर्न दबाब दिएपछि दुई वर्षअघि १५ सयमा किनेको सेकेन्ड ह्यान्ड ‘एटलास’ साइकलका मालिकले भने- ‘स्कार्पियो होला । अलि ठूलो, अलि बलियो ।’ केही अघि कञ्चनपुरकै ड्राइभर साथीले होन्डा सीटी ल्याउँदा उनी त्यसमा छिरेर केहीबेर घुमेका थिए । त्यो अनुभवलाई उनले ‘आनन्द’, ‘धक्का नआउने’ र ‘एसिभ’काले चिसो’ जस्ता शब्दबाट वर्णन गरे । भाग्यमा रै’छ भने कमल एकदिन आफ्नै गाडी पनि चढ्लान, तर तत्काललाई उनको प्राथमिकता अर्कै छ । ‘जमिन किनौला भन्ने विचार छ’, लजालु, कम र छोटा वाक्य बोल्ने तथा निकै कम हाँस्ने कमलले भने- ‘गाउँतिर ।’

यो लेख आजको कान्तिपुर दैनिकमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्नेभए यहाँ छ

सम्बन्धित लि‌ङ्क

१. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi

दिल्लीको बहादुर नेपाली

Delhi Chowkidar. Koseli

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सबैकुरा मिलेको भए दिनभरीको जजमानीबाट थाकेका विष्णुप्रसाद नेपाल छिप्पिएको यो साँझ रामको नाम लिदै सुत्ने तरखरमा हुन्थे । तर पुरेत्याई उनको कर्ममा रहेनछ । भुईमा लठ्ठी बजार्दै र सिठ्ठी फुक्दै दिल्लीको एउटा बस्तीमा रातभरी चौकीदारी गर्न जन्मिएको रहेछु भन्ने निस्कर्ष उनले बर्षौ अघि निकालेका हुन् । साँझ परेपछि उनको दिन शुरुहुन्छ, १७ बर्ष भयो उनले रातीको ड्युटी गर्न थालेको । त्यसैले सपना उनी दिउसो देख्छन् जो लाखौ अन्य नेपालीकै झै पुरा हुनसकेको छैन । ‘एउटा सानो झुप्रो बनाउन पाए पुग्यो,’ हालैको एक रात ड्युटीमा रहेका विष्णुले भने– ‘बस् ।’

बामदेव नेपालका पनाती, मधुसुदनका नाती घनश्याम नेपालका छोरा, पाल्पामा जन्मेर दश बर्षमा नवलपरासी बसाई सरेका ४५ बर्षे विष्णुप्रसाद नेपालको त्यो गौरवशाली परिचय नेपाली सीमामै सीमित छ । दक्षिणी दिल्लीको जंगपुरा एक्स्टेन्सनस्थित ब्लक बीमा उनलाई त्यो नामले कसैले चिन्दैन । ‘बादुऊऊर्र !’ कुनै फुच्चे चिच्याउछ– ‘इधर आना ।’ विष्णुप्रसाद नेपाल त्यता दौडिन्छन् । एकैछिनमा अर्को बृद्ध अल्छे पारामा कराउछ जो लगभग ‘बादअअअर !’ जस्तै सुनिन्छ । ‘हाँ बौजी’ भन्दै विष्णुप्रसाद नेपाल ‘बाबु जी’भएतिर खुरर्र दौडिन्छन् ।

θθθ
आत्मसम्मान अलिकति पनि नभएको र श्रमको एक चौथाई पनि मूल्य नदिने यो काममा लाखौ अरु नेपाली जस्तै विष्णु पनि सोखले टिकेका होइनन् । स्वदेशमा बेरोजगारीले निसास्सिएका नेपालीका लागि भारत एउटा दलदल हो जहाँ कठिन र तल्लो स्तरको कामबाट मिल्ने थोरै नगदले उनीहरुलाई बषौं अड्काई राख्छ । त्यसैले लाखौ नेपाली गाउ नै खाली बनाएर भारतीय शहरमा श्रम गर्न आएका छन् । भरिया, निर्माण ज्यामी, ढावा-रेष्टुरेन्टमा पकाउने तथा भाडा माझ्ने बाहेक ज्यानमा बल हुनेका लागि चौकीदारी सबैभन्दा रुचाइएको पेशा बनेको छ । एउटा अध्ययन अनुसार दिल्लीमा मात्र २० हजार नेपाली चौकीदार छन् जसमध्ये अधिकाँश सुदुर पश्चिमी जिल्ला बाजुराका छन् । हालैको एक आइतबार दक्षिणी दिल्लीको एउटा पार्कमा बाजुराको बाह्रबिस गाउका युवा चौकीदारीबाट मिलेको विदाको उपयोग गर्दै भेटघाटमा व्यस्त थिए । ‘हामी सबै एउटै वडाका,’ एकजनाले भने– ‘त्यो पनि सबै छैनौ अहिले । गाउका सबै जम्मा भए यहाँ अटाइदैन ।’

‘एउटा घरका पाच जनासम्म आएका छन्,’ एकजनाले भने ।

‘मेरो घरका सात जना,’ २८ बर्षे भिमबहादुर सार्कीले भने– ‘तीन भाई, एक आमा, एक बुबा, एक बहुरानी र एक छोरा ।’

सन्डे छुट्टीको दिन । त्यसैले धेरै नेपाली पार्कमा भेलाभएर बैठक गर्छन् जसलाई सोसाईटी मिटिङ् भनिन्छ । कतिपयले बचाएको पैसा त्यही सोसाईटीमा जम्मा गर्छन्, कतिले त्यहीबाट ऋण लिन्छन् । कतिका लागि सन्डे दिउसै टन्न पिउने दिन पनि हो त्यसैले कोही फिट्टु अवस्थामा भेट्टाइन्छन् ।

‘हामी डन्डा बजाएर बसेको लेखेर के हुन्छ ?’ रातो आखा भएका एकजना तन्नेरीले लर्वराएको स्वरमा भने– ‘हाम्रो बेइज्जत मात्र हुन्छ । काम पाए उतै बसिन्थ्यो । पेटको लागि आउनु पर्ने ।’

θθθ

चौकीदारहरुको मुख्य काम ब्लक या कोलोनी भनिने टोलको सुरक्षा गर्नु हो । टोलका घरमालिक जम्मा भएर समिती (सोसाइटि) बनाउछन् र प्रत्येक घरबाट मासिक निश्चित पैसा उठाएर आवश्यक संख्यामा राती, दिउसो या दुबैका लागि चौकिदार भर्ना गर्छन् । रातीको ड्युटी नौ बजे शुरुहुन्छ र १२ घन्टापछि सकिन्छ । केही चौकीदार विहानीपख टोलका गाडी पुछ्न र धुन थाल्छन् जसबापत उनीहरुले प्रतिगाडी मासिक डेढ सय पाउछन् (बाइकको एकसय) । विष्णुप्रसाद नेपालको ब्लकका दिउसो बाजुराका अर्का तन्नेरी ड्युटी गर्छन् । त्यो ब्लकको सोसाइटीका सचिव हुन् एचआर मेहरा जसप्रति विष्णु आफ्नो हाजिरी लगायतका विषयमा प्रत्यक्ष उत्तरदायी हुन्छन् ।

‘नम्बर एक सुरक्षा,’ मेहराले चौकीदार राख्नुको प्रयोजन बताए– ‘कोही पनि यहाँ छिरेर सामान चोर्नु हुदैन । ब्लक भित्रका सबै गाडीको ख्याल गर्नुपर्छ । पार्कमा कसैलाई जथाभावी गर्न दिनु हुदैन । ब्लकका बासिन्दाले निश्चिन्त सुत्न पाउनु पर्छ ।’

रातका चौकीदार एउटा मोटो लड्डी र सिठ्ठीबाट सुसज्जित हुन्छन् । टोलको राउन्ड गर्दा अर्थात वरीपरी घुम्दा ती दुबै बजाउनु पर्छ– सीठ्ठी फुकेर, लठ्ठी ठटाएर । राती साढे ११ तिर सिठ्ठीको ‘पिरिरिर्र’ र लठ्ठीको ‘ट्याडाङ् ट्याडाङ्’को संयुक्त आवाज पहिलोपटक सुन्नेलाई आपतकालीन अवस्था सिर्जना भएको हो कि भन्ने भान पर्न सक्छ ।

‘लठ्ठी ठटाउनुको अर्थ उसको हाजिरी हो,’ मेहराले भने– ‘त्यो आवाजले ‘चौकीदारले ड्युटी थाल्यो, अब आनन्दले निदाए हुन्छ’ भन्ने सन्देश दिन्छ ।’

प्रत्येक दुई घन्टा जस्तोमा विष्णु राउन्डमा निस्कन्छन्– सबैकुरा ठिकठाक रहेको निश्चित गर्न । लठ्ठीको भुइतिरको भाग फलामबाट मोरिएको हुदा आवज झन् तिब्र आउछ जो चारतल्ला माथि पनि प्रष्ट सुनिन्छ । त्यो आवाज, विष्णुको बुझाईमा, विरालाको घन्टी जस्तै हो जसबाट घरमालिकले चौकीदार निदाएको छैन भन्ने निश्चित गर्छन् । ‘लठ्ठी नखड्खडायो भने ‘त“ राती सुतिस्’ भनेर तङ् गरिहाल्ने,’ विष्णुले भने– ‘म पनि जसले तंङ् गर्छ, राती त्यसको दलानको फरस (सीमेन्टीको भुईँ) फुटाइदिन्थे लठ्ठीले हानेर । भोलीपल्टदेखि केही भन्दैन थिए ।’

रातको एक बज्नै लाग्दा बी–३० को कार बाहिरबाट आएको छ । त्यसलाई पार्क गर्न सहयोग गरेपछि विष्णु दोस्रो राउन्डमा निस्केका छन् । बी–३५ को घर मालिकको छोरो पार्कको एउटा कुनोमा चुरोट खाइरेको छ । ‘रातभरी सुत्दैनन् यिनीहरु,’ विष्णुले भने– ‘विहानपख यिनीहरुको निद्रा मिठो हुन्छ ।’

θθθ

होचो कदका गहुगोरा विष्णु कम्मरमाथि बाधेको छोटो मैलो पाइन्ट, स्वेटरमाथि कसैले दिएको ज्याकेट, माकल टोपी, मफलर र स्पोर्टस् जुत्तामा ड्युटी गर्छन् । फैलिएका पोराभएको नाक, ठाडा कान, र हल्का चाउरी पर्दैगरेका गाला भएका विष्णु सामान्यत हसिला देखिन्छन् । बढी नै फाटिएका जस्ता लाग्दो औला भएका उनका हात दर्फरिएका र जाडोले फुटेका जस्ता छन् । दाईने हातको माझी औलो र देब्रेको कान्छी पुरै घाइते छन् र पट्टीमा बेरिएका छन् ।

‘अस्ति आगोले पोल्यो,’ उनले आधा मुस्काउदै र लजाएको पारामा भने– ‘हावा चलिरहेको थियो चिसो । राउन्ड लगाएर आगो बालेर बसिरहेको थिए । दाउरा पल्टेर पाइन्ट जल्न थालेछ । तातो हुदै आयो । खुट्टै पोल्न थालेपछि निभाउन खोज्न हात पोल्यो ।’

बी ब्लकका तीन मध्ये सबैभन्दा ठूलो पार्कको एउटा गेटको छेऊ उनी प्रत्येक रात साढे १२ बजेतिर ठन्डीसँग जुध्न थोरै दाउरा जम्मा पारेर आगो बाल्छन् । निद्रा न हो, १७ बर्ष पछि पनि राती आउन छाडेको छैन । शुरुमा जागा रहन ठुलै कसरत गर्नुपरेको थियो । टोलका बुढालाई राती निद्रा नलाग्ने, नयाँ ‘बादुर’ले ड्युटी गरेको छ-छैन चेकै मात्र गरेर बस्ने । ‘आँखामा खुर्सानी लगाएर जागा बसे हजुर,’ उनले ती दिन सम्झिए– ‘बुढाहरुले छिनछिनमा चेक गर्ने । लठ्ठी उठाइदिने, जुत्ता टिपिदिने । शुरुका दुइ-तीन बर्ष खुब तङ् गरे । आजकल आराम छ, केही गर्दैनन् ।’

‘किन ?’

‘सबैलाई जितियो नि अब त,’ उनले भने– ‘मनले जितियो । अचेल चेक गर्दैनन् । सुतेकै भेट्टाएपनि प्राय केही गर्दैनन् ।’

एक दिन बी–७ मा आएको पाहुनाले गाडीमा सात लाख छाडेर सुत्न गएछन् । गाडी चाहर्दा विष्णुले भेट्टाए । उनले बोलाएर सचेत तुल्याएपछि पुरस्कार पाए तीन हजार । ‘त्यति पैसा कमाउन मलाई जुग लाग्छ,’ उनले भने– ‘म भाग्न सक्थ्ये । तर मैले इमान बेचिन । उनीहरुको विश्वास जितेको छु ।’

यो टोलमा ड्युटी थालेको अवधीको मापन विष्णु मरेका बुढाको सङ्ख्याबाट गर्छन् । ‘म आइकन ४५ बुढा मरे यो कोलोनीमा,’ उनले भने– ‘ती मध्ये केही तंग गर्ने पनि थिए । केही राम्रा पनि थिए ।’

एकरात एउटा बुढाले विष्णु निदाएको बेला उनको जुत्ता र लठ्ठी उठाएर लगेछ । भोलिपल्ट विष्णुलाई बोलाएर जुत्ता थमाउदै हपारेछ– ‘हराम जादे, तूँ सोता हे ना ? ए हे सबुत ।’

लौ, कुरा गर्दागर्दै तीन राउन्ड मार्नै लाग्दा अहिले रातको साढे दुई बजेको छ । बी–३६ को सरदारलाई उठाईदिनुपर्ने बेला भएको छ । ११ बर्ष भयो विष्णुले यी सरदारलाई मूल ढोकाको घन्टी बजाएर उठाउन थालेको । सवा तीन बजे गुरुद्धारा जान निस्कन्छन् । सरदारले जतिसुकै धर्म गरेपनि विष्णुको मन जित्न सकेका छैनन् । ‘कन्चुसको राजा छ,’ विष्णुले भने– ‘जुन दिन घन्टी बजाएन, सुतिस् भन्छ ।’ उनले चारपाँच पटक घन्टी थिचे र तेस्रो राउन्डलाई निरन्तरता दिए ।

मध्य राततिर जति उराठ लाग्छ विष्णुलाई विहान हुदै आएपछि ड्युटीमा त्यति नै रमाइलो लाग्छ । ‘मान्छे उठ्छन्, पार्क तिर आउछन्, रमाइलो हुन्छ,’ उनले भने र सुनसानमा यताउति डुलिरहेको नजिकैको कुकुरलाई ‘तु इधर आ, हराम गधे’ भन्दै बोलाएर सुम्सुम्याए । ‘पहिले राती रेडियो बजाउथे, साइकलमा राउन्ड लगाउथे,’ उनले भने– ‘अचेल त्यो पनि मन लाग्दैन । साइकल पनि पुरानो भयो ।’ तीन बर्ष पुरानो र झन्डै एक किलोको लड्ठी पनि खिइदै गएको छ । ‘पहिलो म भन्दा अग्लो थियो,’ उनले आफ्नो काध सम्म आउने लौरो सुम्सुम्याउदै भने– ‘यी, अहिले छोटो भयो ।’

लौरो छोटो मात्र छैन चाहिएको बेला बेकामे नै हुन्छ । छ बर्ष पहिले एक रात राउन्डमा जादा बी–२४ अगाडी उनलाई नजिकैको भोगल बजारका केही गुन्डाले चक्कु देखाए । ‘मेरो पासमा खुकुरी थियो तर कसरी हान्न सक्थे र?’ उनले भने– ‘भागें । बालबाल बचें ।’

θθθ

यत्रो साल लठ्ठी बजार्दा विष्णुलाई थकाई नलागेको होइन । तर कुरा उही सपनामै गएर टुङ्गिन्छ जो पुरा भएको छैन । ‘सरकारी नोकरी भएको भए पेन्सन हुन्थ्यो, यसमा हुदैन,’ उनले भने– ‘तागत रहेसम्म गर्ने हजुर । सिद्धेपछि छाड्ने ।’ यहा सम्मकी बर्षमा एक महिना विदा लिएर घर जादा उनको तलव काटिन्छ । पाच-छ साल अझै ड्युटी गर्न सकिन्छ भन्ने उनलाई लागेको छ । मुस्किलले प्रति महिना तीन हजार भारुको कमाई भएका विष्णुको योजना अनुसार घर बनाउने पैसा जम्मा गर्न अब पाच बर्ष चौकीदारी गर्नुपर्नेछ । ‘दिल्लीको कमाईले’ नवलपरासीको कुमारबस्तिमा छ कठ्ठा १५ धुर खेत पनि किनेका विष्णुको परिवार पत्नी, छोरी (१४ बर्ष) र छोरा त्यही छन् । छोरी सरकारी र छोरा (५ बर्ष) बोर्डिङ् स्कुलमा पढ्छन् । सबै पैसा उनले घरपरिवारकै लागि जोगाएका र खर्चेका छन् । आफ्नो मनोरन्जनका लागि गरेको भनेको महिनाको ३० रुपैया हो जो मोवाईल फोनमा कल ब्याक रिङ्टोन सेट गर्न लाग्छ । उनको नम्बरमा डायल गर्दा ‘सम्झनाले भैरछु टोलाउने-पापीनीलाई के भनी बोलाउने-दमौलीमा पूल-पिरती लाउनाले भयो साह्रै भूल’ लोकगीत बज्छ । उनका साथीहरु त्यो गीत सुन्न उनको नम्बर डायल गर्छन् ।

θθθ

छोराछोरीको प्रसंग आउदा विष्णु आफ्नै बाल्यकाल सम्झिन्छन् । विष्णुका तीन दाजूभाई । उनी जेठा । कान्छोको सानैमा मृत्यु भयो । माइला अहिले पन्जावतिर छन् । विष्णु १० बर्षको हुदा लडेर खुट्टो भाचिएको थियो । गाउमा उनलाई अप्ठेरो होला भनेर विष्णुका पन्डित÷पुरेत बाबु पाल्पा छाडेर सपरिवार नवलपरासी बसाई सरेका थिए । त्यहा तीन विघा जग्गा किनेका थिए जो बाढीले कटान गर्दै लगेपछि छ बर्षअघि पुरै सकियो ।

‘पढ्ने बेलामा बुद्धि आएन,’ उनले भने– ‘घुमेर हिड्ने, बद्मासी गर्ने । अहिले दुख पाइयो ।’

एकदिन घरमा ‘ठाक्क ठुक्क परेपछि’ विष्णु २० बर्षमा पन्जाव हानिएका थिए । पाँच बर्षसम्म फर्केनन् । भाइ लिन गएपछि दुबै दिल्ली आए । यहाँ दुइ बर्ष बसेपछि दुबै घर फर्के । घरमा केही समय बसेपछि उनी फेरी दिल्ली आए र अहिले चौकीदारी गर्ने ठाउमा काम थाले ।

त्यति सम्झिएपछि उनले ‘क्लक १००’ ब्रान्डको चुरोट सल्काए । एकरुपैया पर्ने चुरो उनले दिनको (जसमा रात पनि पर्छ) चारवटा खान्छन् । विहान नौ बजे ड्युटी सकिएपछि ११ बजेसम्म सुत्ने विष्णु त्यसपछि आफू बस्ने घरमा सरसफाई र खाना पकाउन सघाउछन् । त्यतिबेलै हो उनले नवभारत टाइम्स, हिन्दुस्तान या पन्जाव केसरी जस्ता हिन्दी दैनिक किनेर बाकी विश्वसँग सम्बन्ध स्थापित गर्ने । ‘पन्जाव केसरीले नेपालको घट्ना पनि दिन्छ, त्यसैले त्यो मन पर्छ,’ उनले भने । तीन बजे फेरी सुत्छन्, सात बजेसम्म । नौबजेको ड्युटी भएपनि उनी आठैबजे पुग्छन् । चक्र दिनहुँ त्यसैगरी घुमिरहेको छ ।

सम्बन्धित लि‌ङ‍क
1. A Life Ordinary: Story of a Nepali Chowkidar in Delhi