Tag Archives: पुष्पकमल दाहाल

भारतमा दाहालको मन्तव्य

भारतमा दाहालको मन्तव्य

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

‘तुम्हारा प्रचण्ड ने क्या कहदिया यार,’ माओवादी अध्यक्ष पुष्पकमल दाहालले नयाँ बानेश्वर वक्तव्य दिएको भोलिपल्ट एक भारतीय मित्रले फोन गरेर सोधे, ‘डाइरेक्ट इन्डिया से बात करना चाहते हे ओ ! क्या वात भाइ नेपाल कबसे गोर्खाल्यान्ड हो गया ?’

समाचार लेख्नुबाहेक दिल्लीमा नेपाली संवाददाताको अर्को काम हुन्छ – भारतीयहरूसँगका गफमा नेपालको प्रतिरक्षा गर्नु । कतिपयलाई हाम्रो मुलुकका गतिविधिबारे थाहै हुँदैन, भए आंशिक हुन्छ र त्यसैअनुसारको दृष्टिकोण बनेको पाइन्छ । कुनै घटना हुँदा म राजनीतिक पक्ष नलिई भारतसँगको सन्दर्भ जोड्दै नेपालको स्वार्थ मिल्ने गरी अर्थ्याइदिन्छु । तर यसपालि माओवादी अध्यक्ष पुष्पकमल दाहालले कुनै ठाउँ दिएनन् ।

भारतीय विदेश मन्त्रालयका अधिकारीदेखि भारतीय राष्ट्रिय स्वार्थ बोकेका विश्लेषक र पत्रकारसँग शिर ठाडो बनाएर कतिपय भारतीय नीतिको खुलेआम विरोध गर्दा मलाई कुनै अप्ठेरो हुँदैन । नेपालमा भारतविरोधी जनभावना, सीमामा भारतीय मिचाइँ, दिनुपर्ने पारवाहन सुविधा नेपाललाई नदिएको जस्ता कुरा गर्दै कहिलेकाहीं भारतीयहरूलाई प्रश्न गर्छु- ‘चीनले नेपाल जोड्ने राजमार्ग बनाउँदा भारतलाई किन टाउको दुख्नुपर्ने ? नेपालको विकास चाहने हो भने भारतले पनि काठमाडौंमा रेल पुर्‍याए हुँदैन ?’ ‘चीन’ को नाम लिनासाथ तर्किने भारतीयहरूसँग त्यसरी कुरा गर्दा पनि गाह्रो भएन तर दाहालको बानेश्वर वक्तव्यले लाजमर्दो अवस्थामा पुर्‍याइदियो । भारतीयहरू आफैलाई दाहालको कुरा सुन्दा अप्ठेरोमा परेको देखियो ।

‘प्रचण्डले हालै नेपालमा नागरिक सर्वोच्चता पुनस्र्थापना गर्न रिमोटबाट नियन्त्रित काठमाडौंको सरकारसँग कुरा गर्नुसाटो सीधै भारतीय मालिकहरूसँग वार्ता गर्ने बताए,’ दिल्लीको प्रभावशाली पत्रिका हिन्दुस्तान टाइम्सले शनिबार मुख्य सम्पादकीयमा लेख्यो- ‘त्यो बालरोदन र पूर्वप्रधानमन्त्रीले गर्न नसुहाउने कुरा हो ।’ पत्रिकाले ‘नेपालका झगडालु राजनीतिज्ञहरू आफ्नो अवस्था आफै सम्हाल्न नसक्दा भारतलाई शत्रुको रूपमा कति धेरैपटक प्रस्तुत गर्छन् भने अब त्यो अल्छीलाग्दो बन्न थालेको छ’ भनी टिप्पणी गरेको छ । ‘वर्षौदेखिको हतियारधारी संघर्षको अन्त्य र अलोकपि्रय राजाको बहिर्गमनपछि राजनीतिज्ञहरूले देशमा विकास निर्माणका के काम गरे भनेर नेपाली जनताले सोध्न सक्छन्,’ पत्रिकाले लेखेको छ- ‘कुनै बेला देशको आम्दानीको प्रमुख स्रोत बनेको पर्यटन पूर्वाधार बलियो तुल्याउन कुनै प्रयास भएको छैन । आन्दोलनहरूले नियमित ढंगमा स्कुल र कलेज बन्द हुन्छन् जसले विद्यार्थीहरूलाई पढाइबाट बन्चित बनाएको छ ।’

नेपालले भारतमा ‘खराब प्रेस’ पाएकै साता भुटानका नयाँ राजाले भारतको पहिलो राजकीय भ्रमण गरे । दिल्लीमा आयोजित एक कार्यक्रममा उनले भाषण गरे र भारतीय मिडियामा भुटानको प्रशंसा र प्रगतिका विज्ञापन/समाचार छापिए । लाखभन्दा बढी जनतालाई भगाएर राजाकै नेतृत्वमा लोकतन्त्र स्थापना गरेको ढोङ् भुटानले पिट्दा विश्वले त्यसलाई पत्याएको छ किनकि त्यहाँ जनताले सुख पाएको र देशले प्रगति गरेको देखाउने तथ्याङ्कहरू बाहिर आउँछन् । नेपालबाट बाहिर आउने कुराचाहिँ यस्ता छन्- तीन दिन हडताल, जनतालाई सास्ती, स्कुल बन्द । सानो कुरामा झगडा गर्ने नेपाली राजनीतिज्ञहरूको छवि एउटा हड्डीका लागि मरिहत्ते गर्ने खिच्चाहरूको जस्तो देखिन्छ ।

भारतीय सेना प्रमुख दीपक कपुरको गत साता कान्तिपुरमा प्रकाशित टिप्पणीलाई माओवादीले महत्त्वका साथ लिनुमा भारतीयहरूका अगाडि हामी कति साना र निरीह छौ भन्ने झल्किन्छ । नेपाली प्रधानसेनापतिले नेपाली दूतावासमा दिएको रिसेप्सनमा आएका भारतीय सेनाप्रमुखसँग जम्काभेट हुँदा मैले नेपाली शान्ति प्रक्रियाबारे तिनको धारणा के रहेछ भनी बुझ्न चाहेको थिएँ । भारतीय विदेश नीतिमा यहाँको सेनाको कुनै भूमिका हुँदैन भन्ने मलाई थाहा नभएको होइन । कपुरले त्यस्तै भने जो यसअघि मैले अनौपचारिकरूपमा सुन्दै आएको

थिएँ । भारतीय सेनाले कुनै पनि विद्रोहीहरूलाई समाहित गरेको छैन र कपुरका भनाइमा त्यही प्रतिविम्बत थियो । हाम्रो मामिलाबारे छिमेकी मुलुकका सेनाप्रमुखका विचार थाहा पाउँदा ठीकै हुन्छ होला भन्ने ठानेर त्यसलाई प्रस्तुत गरियो । भोलि अर्को एउटा भारतीय नेताले एउटा कुरा गर्ला, पर्सी अर्कोले । अनि हाम्रो देशको सबैभन्दा ठूलो पार्टीका सबैभन्दा प्रभावशाली नेताले चाहिँ सडकदेखि सदनसम्ममा ठूलो स्वरमा त्यसको उल्लेख गर्दै समय बिताउने ? भारत रिझाउने र दुखाउनेमै देशको राजनीति केन्दि्रत भइरहने ?

‘सबैलाई थाहा भएकै कुरा हो,’ नेपाली राजनीतिक वृत्तमा समेत चर्चित र दिल्लीले नेपाल हेर्ने सन्दर्भमा प्रभावशाली भारतीय प्राध्यापक एसडी मुनिले मेरो एउटा प्रश्नमा भने- ‘नेपालका धेरैजसो राजनीतिक नेताहरू भारतीय स्रोतहरूबाट समर्थन र आधिकारिकता खोज्छन् । आत्मसम्मान भएका नेपाली जनताका लागि त्यो दुर्भाग्यशाली र बेइज्जतीपूर्ण कुरा हो ।’ पछिल्लोपटक मुनिको चर्चा दाहालको सिंगापुर यात्रासँग जोडिएर भएको थियो । बिरामी गिरिजाप्रसाद कोइरालालाई भेट्न दाहालले गरेको त्यो भ्रमण सिंगापुरकै एउटा विश्वविद्यालयमा पढाउने मुनिले आयोजना गरेको अनुमान गरिएका थिए । त्यो अस्वीकार गर्दै मुनिले भने- ‘पक्कै, म दुवै नेतालाई चिन्छु । नेपालका दुई प्रमुख राजनीतिक शक्तिहरूबीच अहिले टुटेको सहमति बनाउन तथा नेपालमा शान्ति र स्थायित्वका लागि उहाँहरूलाई भेटेर छलफल गरेको हुँ ।’ सोझै दिल्लीसँग वार्ता गर्छु भन्ने दाहालको ‘शैली अलि आक्रामक भए पनि अरू पार्टीहरू र माओवादीबीचको वर्तमान गतिरोधमा भारतले योगदान दिएको’ मुनिले बताए ।

विपक्षीले सरकारको आलोचना गर्छन् र त्यसमै लोकतन्त्रको सुन्दरता अडेको हुन्छ । तर आफ्नो मुलुकको सरकारलाई बेकामे भन्दै आन्तरिक मामिलाबारे विदेशीसँग वार्ता गर्छु भनेर कुन राष्ट्रवादीले भन्छ, त्यो थाहा भएन । मेरा भारतीय मित्रको विश्लेषणअनुसार गोर्खाल्यान्ड माग्ने दार्जिलिङका नेपालीभाषी भारतीयहरूले ‘पश्चिम बंगालसँग होइन दिल्लीस्थित केन्द्रीय सरकारसँगै कुरा गर्छौ’ भन्नु र दाहालको चाहनामा के फरक भयो ? दार्जिलिङले दिल्लीसँग वार्ता गर्न चाहनु कानुनी पनि छ किनकि उसको राजधानी दिल्ली हो र बंगालबाट गोर्खाल्यान्ड केन्द्रीय सरकारको सहभागिताबिना बन्दैन । दक्षिणको आन्ध्र प्रदेशमा तेलेङ्गाना राज्यको माग गर्ने कतिपय कङ्ग्रेस सासदहरूले पार्टीलाई दबाब दिने मनसायले आफ्नो राजीनामा दिल्लीमा पार्टीकी केन्द्रीय अध्यक्ष सोनिया गान्धीलाई पठाएका छन् ।

के अब माओवादी सभासदले पनि विरोध गर्न परे राजीनामा भारतीय माओवादी पार्टीका नेता किसेनजीलाई पठाउने ?

यो लेख पहिलो पल्ट आजको कान्तपुर परिशिष्ट हेल्लो शुक्रवारमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गरौ‌  ।