Tag Archives: प्रवासी नेपाली

मेघालयका “घरज्वाइँ’हरु

family

कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं । Continue reading

खटपटमा छन् गोर्खा र प्रवासी

khatpat Gorkha ra prabashi

सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् ।

गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य र अन्जु पन्तका गीतहरू घन्केको र सजिएर हिँडेका युवतीहरूले ‘अहिले त्यस्तो केही छैन’ भनेको सुन्दा यी दिन सिलाङमा अवस्था पूरै सामान्य रहेको भान पर्छ । तर १९८६/८७ मा आफ्नो जातिका थुप्रैलाई राज्यबाट खेदाइएको देखेका प्रौढहरूचाहिँ सीडी पसलमा ठूलो स्वरमा गुन्जिरहेको ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ को स्थितिमा भएको महसुस गरिरहेछन् ।

कोइलाखानीबाट केही नेपाली मजदुरहरू भागे पनि आफूहरू यसपालि खेदिनु नपरेको र सरकारबाट तुरुन्त सहयोग पाएको उल्लेख गर्ने गोर्खाहरूले समग्रमा चाहिँ मेघालयमा हीनताबोधको जिन्दगी जिइरहेको बताए । सिलाङ र आसपासका गाउँवासी थुप्रै गोर्खाहरूले आफूले सहेका अन्यायबारे खुलस्त भएर बोल्न सजिलो होस् भनेर पत्रिकामा नाम प्रकाशित नगर्न अनुरोध गरे । ‘हामी आफ्ना लागि माग राख्न सक्ने अवस्थामै छैनौं,’ सिलाङको कुनै एउटा कार्यालयका कर्मचारीले भने, ‘त्यसो गरे तारो बनिन्छ । बाटोमा हिँड्दा खासीले एक लात हान्यो भने हामीले उसको खुट्टाको धूलो पुछेर ‘हजुरलाई त दुखेन ?’ भन्दै हिँड्नुपर्ने अवस्था छ ।’

‘मलाई यति धेरै बोल्न मन छ,’ एकजना कर्मचारीले दाहिने मुठ्ठी देखाउँदै र दायाँबायाँ हेर्दै अचानक दबेको स्वरमा भने, ‘तर यी म बाँधिएको छु । यो फुकाउन मैले सिलाङ छाड्नै पर्छ ।’

परिचयसहित कान्तिपुरसँग कुरा गर्नेहरूले चाहिँ त्यति बेहाल नभएको भन्दै बरु गोर्खाकै कतिपय कमजोरी औंल्याए । मेघालय राज्यको सिर्जना नै कुनै जाति विशेषका लागि, उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि भएकाले यहाँ उनीहरूका स्वार्थले प्राथमिकता पाउनु नौलो नभएको यी गोर्खाहरूले तर्क गरे । ‘उनीहरू पनि आफ्नो पहिचान गुम्ला, बाहिरियाको जनसंख्या बढ्दा र आफूहरू अल्पमतमा परिएला भनेर चिन्तित छन्,’ राज्यको उच्च सरकारी सेवाबाट निवृत्त डम्बरबहादुर गुरुङले मेघालयका खासी, गारो र जयन्तियाजस्ता समुदायलाई इंगित गर्दै भने, ‘भारतको संविधानले नै छैटौं अनुसूचीको व्यवस्था गरेर आदिवासी (ट्राइवल) हरूलाई बढी अधिकार र सुविधा दिएको छ ।’

khatpat ma gorkha ra prabashi

नेपाली भाषीहरू, मेघालयमा बस्ने बंगाली, बिहारी र मारवाडी समुदायजस्तै, गैरआदिवासी (ननट्राइवल) समूहमा पर्छन् जसले सिलाङ सहरका निश्चित भागमा मात्र जग्गा किन्न पाउँछन् । व्यापार गर्न उनीहरूले राज्यबाट अनुमति लिनुपर्छ । सरकारी जागिरमा आदिवासीलाई ९० प्रतिशत छुट्टयाइएको छ । बाँकीमा पनि आदिवासीले प्रतिस्पर्धा गर्न सक्छन् । Continue reading