Tag Archives: भारतीय समाज

मेघालयका “घरज्वाइँ’हरु

family

कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं । Continue reading

यहीँ जिउँदै जलाए बुवालाई

they burned my father alive here

बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने ।

त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल मान्छे आई जिउँदै जलाएर मारेका थिए । गोठमा शर्माकी पत्नी, उनीहरूका १५ (नारायण), १२ (जीवन) र १० (तुलसी) वर्षका छोराहरू र छोरी पनि थिए । दुई बजेतिर अचानक एक हूल आएर गोठमा आगो लगाइदिएपछि शर्मा स्तब्ध भएका थिए ।

‘हतारहतार बच्चाहरू र बुवालाई बाहिर निकालेँ,’ उनले भने, ‘हात जोडेर माफी माग्दै थिएँ, केही नगर्न भन्दै थिएँ, एउटाले खासी भाषामा ‘मार्दे’ भनिहाल्यो । अर्कोले यतिलामो (उनले फैलाइएको दाहिने हातको कुममा देब्रे हत्केलो लगे) खुकुरी निकाल्यो । अनि म यस्तरी (उनले दुवै हात उचालेर पछाडितिर फाले) जम्प हान्दै भागेँ केटाकेटीतिर । उनीहरूलाई लगेर त्यहाँ (५० मिटरजति टाढाको खोल्सोमा) लुकेँ ।’ भाग्न नसकेका वृद्ध लोकनाथलाई पेट्रोल खन्याएर, खुकुरीले हानेर मारेको शर्माले बताए ।

they burned my father alive here2

घटनामा ४ गाई मरे, जसलाई जलेको गोठैअगाडि गाडिएको छ । कान्तिपुरले भेट्दा बुवाको काजक्रिया सकेका शर्मा गोठबाट हिँडेर आधा घन्टा टाढाको एउटा नेपालीभाषी स्कुलमा थिए जहाँ उनको ठूलो छोरा पढ्छन् । ‘बच्चाका किताब, कपडा जले,’ उनले भने, ‘छोरालाई पढाउनु त परिहाल्यो, सरहरूले केही सहयोग गरिदिनुहुन्छ कि भनेर आएको ।’ असम राज्यसँगको विवादित सिमाना लाम्पीका गोर्खालाई वैशाख ३१ मा हटाउन जाने आदिवासी खासीमध्ये चारलाई असाम सीमा रक्षाबलले गोली हानी मारेपछि मेघालयका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीलाई आक्रमण गर्ने क्रममा खासीहरूले बास्तोलालाई मारेका हुन् ।

जयन्तिया हिल्स जिल्लाका कोइलाखानीका केही नेपाली मजदुरको पनि हत्या भएको त्यहाँका सक्रिय नेपालीहरूले बताएका छन्, जसलाई मेघालय सरकारले अस्वीकार गरेको छ । मारिएका भनिएकाको परिचय सार्वजनिक भएको छैन तर नेपालीहरूले केही शव लुकाइएको आरोप लगाएका छन् ।

‘हामीले अनुसन्धान गरिरहेका छौं,’ मेघालयका मुख्यमन्त्री मुकुल सामाले बुधबार सिलाङमा कान्तिपुरसँग भने, ‘यो हल्लाको पछि लाग्ने समय होइन । अनुसन्धान रिपोर्ट आएपछि सबै तथ्य थाहा हुन्छ ।’

नेपालबाट कोइलाखानीमा काम गर्न आउने कामदारको दर्ता र बिमा नहुने गरेकाले तिनीहरूको पहिचान पत्तै लागे पनि क्षतिपूर्ति दिलाउन कठिन हुने नेपाली संगठनका कार्यकर्ताहरूले बताए । बास्तोलाका परिवारलाई मेघालय सरकारले लाम्पीमा मर्ने खासीहरूलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिइने मुख्यमन्त्री साङमाले बताए ।

घटना भएको दुई सातामा पनि सिलाङबाट गोर्खा समुदायका कुनै व्यक्ति आफ्नो अवस्था बुझ्न नआइदिँदा दुःख लागेको शर्माले बताए । सिलाङका कतिपय सक्रिय गोर्खाले त्यता जाँदा खासीहरूको तारो बनिने हुँदा डर लागेको उल्लेख गरे । नेपाली नागरिकता नभएको, बुवासहित आफ्नो जन्म पनि मेघालयमै भएको तर राज्यमा आफ्नो नाममा जग्गा नभएको शर्माले बताए । उनी अरू थुप्रै नेपालीभाषीले झैं खासीहरूको जग्गा भाडामा लिएर बस्ने गरेका छन् । भाडा भन्नुमात्र हो, वर्षमा त्यो दुई सयदेखि पाँच सयको हाराहारीमा हुन्छ तर खास काम त्यहाँ बसेर त्यो जग्गाको स्याहार सुसार गर्ने नै हो । त्यो रात बास्तोला गोठमा जल्दा उनकी पत्नी, अर्का छोरा र बुहारी त्यहाँबाट एक घन्टा उकालो हिँडेर पुगिने ठाउँमा बनेको सानो घरमा थिए ।

‘हामीलाई १९८६, ८७ को गन्डागोलमा पनि केही गरेनन्,’ शर्माले भने, ‘तर यसपालि अचानक, केही नभनी आएर त्यस्तो गरे ।’

उनकी पत्नी नजिकैको प्लाई कारखानामा ज्यामी गर्थिन्, उनी गाईको स्याहार गर्थे । अहिले शर्मा जलेको गोठमुनि उही मालिकको कुखुरा फार्ममा बसेका छन् । मालिकले उनलाई केही समय त्यहीं बस्न भनेको छ । गोठसँगै जोडेर उनी काठको एउटा सानो घर बनाउँदै थिए ‘तख्ता भएको,’ जसको ‘ढोकामात्र हाल्न बाँकी थियो,’ उनले बताए ।

‘इष्टमित्र र ठूला मान्छे आएको बेला मज्जाले बस्न मिल्ने ठाउँ पनि बनाएको थिएँ,’ शर्माले भने, ‘अब त्यो कुखुरा गोठमा मैले पाहुना कसरी राख्नु ?’