Tag Archives: मेघालय

मेघालयका “घरज्वाइँ’हरु

family

कुलबहादुर मगर, उनकी पत्नी गोमा र उनीहरुका छोराछोरी

दिनेश वाग्ले

लाड्रम्पाई (मेघालय)- इतिहासले बताउँछ विवाहलाई कहिलेकाहीं रणनीतिक प्रयोग गरिन्छ । जस्तो कि, साम्राज्य फैलाउन, राजनीतिक गठबन्धनलाई सुदृढ तुल्याउन, मुलुकबीच युद्ध पन्साउन र द्वन्द्वपीडित समाजमा सौहार्द्रता कायम गर्न ।

रोमनले त्यही गरे, मुगलले त्यसैलाई पछ्याए । त्यो अर्थमा नेपालका शासक पनि फरक थिएनन् । राजा अंशुबर्माले छोरी भृकुटीलाई तिब्बतका शक्तिशाली सम्राट् स्रङचङ्गम्पोसँग पठाए । राजा जयदेव द्वितीयले दुई देशबीच मित्रता कायम होस भनेर अहिले पूर्वोत्तर भारतीय राज्य असमको एउटा जिल्लाका रूपमा रहेको कामरूप देशका राज हर्षबर्मनकी छोरी राज्यमतीलाई भित्र्याए ।

तर जब त्यही कामरूपसँग सीमा जोडिएको मेघालयको कोइलाखानीमा मजदुरी गर्ने मोरङका कुलबहादुर मगरले स्थानीय खासी युवती ड्याङसँग विवाह गरे, उनले नमज्जासँग विभाजित आफ्ना दुई समुदायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्य राखेका थिएनन् । ‘त्यस्तो कल्ले सोच्छ र ?’ ४५ वर्षे मगर भने, ‘मैले उसलाई मन पराएँ । उसले मलाई मन पराई । हामी दुवै जवान थियौं । एक दिन विवाह गर्‍यौं ।’

त्यो १३ वर्षअघिको कुरा । त्यसयता जोडी आफ्ना चार बच्चाहरूसँग मगरले काम गर्ने कोइलाखानी नजिकैको छाप्रोमा शान्तिपूर्वक बसिरहेको छ ।

ती दिन अब सकिएजस्ता छन् । शान्ति भंग भएको छ । गत महिना मेघालयभरिका प्रवासी नेपाली मजदुर र नेपालीभाषी भारतीय (गोर्खा) हरूलाई खासीहले कुट्न र मार्न थालेपछि दुई समुदायबीचको अविश्वास र कपट झन् बढेको छ । खासमा नेपाली र खासीबीचको विवाहै पनि तुसको एउटा कारण बनेको छ ।

meghalayaka ghar jwainharu

ठूलो पार्न क्लिके हुन्छ

दुई वर्षअघि पश्चिम खासी हिल्स जिल्लाको बस्ती बर्सोरामा खासीहरूले नेपाली प्रवासीलाई लखेट्न थाले । नजिकैको जयन्तीया जिल्लाको व्यावसायिक केन्द्र लाड्रम्पाईबाट केही अग्रज नेपाली प्रवासीहरू वार्ता गर्न त्यहाँ पुगे । स्थानीयहरूले नेपालीमाथि चारवटा आरोप लगाएका थिए १) तिमीहरूले हाम्रो जागिर खाइदियौ, २) जाँड खाएर सार्वजनिक स्थलमा बबाल गर्छौ, ३) आतंकवादी गतिविधिमा सामेल भयौ, ४) हाम्रा आइमाई बिहे गरिदिएर तिमीहरूले हाम्रो संस्कृति नष्ट गरिदिन आट्यौं । Continue reading

खटपटमा छन् गोर्खा र प्रवासी

khatpat Gorkha ra prabashi

सिलाङ (मेघालय)- नजिकैको गाउँ बडापानीका ७० वर्षे लोकनाथ बास्तोलाको हत्या तथा अन्य आक्रमणहरूले सुन्दर र चिसो सिलाङ डाँडोमा दुई सय वर्षदेखि बसिरहेका गोर्खा र प्रवासी नेपाली समुदायमाझ एकखाले मानसिक त्रास उब्जाइदिएका छन् ।

गोर्खालीहरूको बाहुल्य भएका सहरका बारापथ्थरजस्ता ठाउँका साइबर क्याफेमा युवाहरू नेपालीमा चिच्याउँदै ‘काउन्टर स्ट्राइक’ भिडियो गेम खेलेको, नजिकैको सीडी पसलहरूमा नारायण गोपाल, नेपथ्य र अन्जु पन्तका गीतहरू घन्केको र सजिएर हिँडेका युवतीहरूले ‘अहिले त्यस्तो केही छैन’ भनेको सुन्दा यी दिन सिलाङमा अवस्था पूरै सामान्य रहेको भान पर्छ । तर १९८६/८७ मा आफ्नो जातिका थुप्रैलाई राज्यबाट खेदाइएको देखेका प्रौढहरूचाहिँ सीडी पसलमा ठूलो स्वरमा गुन्जिरहेको ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ’ को स्थितिमा भएको महसुस गरिरहेछन् ।

कोइलाखानीबाट केही नेपाली मजदुरहरू भागे पनि आफूहरू यसपालि खेदिनु नपरेको र सरकारबाट तुरुन्त सहयोग पाएको उल्लेख गर्ने गोर्खाहरूले समग्रमा चाहिँ मेघालयमा हीनताबोधको जिन्दगी जिइरहेको बताए । सिलाङ र आसपासका गाउँवासी थुप्रै गोर्खाहरूले आफूले सहेका अन्यायबारे खुलस्त भएर बोल्न सजिलो होस् भनेर पत्रिकामा नाम प्रकाशित नगर्न अनुरोध गरे । ‘हामी आफ्ना लागि माग राख्न सक्ने अवस्थामै छैनौं,’ सिलाङको कुनै एउटा कार्यालयका कर्मचारीले भने, ‘त्यसो गरे तारो बनिन्छ । बाटोमा हिँड्दा खासीले एक लात हान्यो भने हामीले उसको खुट्टाको धूलो पुछेर ‘हजुरलाई त दुखेन ?’ भन्दै हिँड्नुपर्ने अवस्था छ ।’

‘मलाई यति धेरै बोल्न मन छ,’ एकजना कर्मचारीले दाहिने मुठ्ठी देखाउँदै र दायाँबायाँ हेर्दै अचानक दबेको स्वरमा भने, ‘तर यी म बाँधिएको छु । यो फुकाउन मैले सिलाङ छाड्नै पर्छ ।’

परिचयसहित कान्तिपुरसँग कुरा गर्नेहरूले चाहिँ त्यति बेहाल नभएको भन्दै बरु गोर्खाकै कतिपय कमजोरी औंल्याए । मेघालय राज्यको सिर्जना नै कुनै जाति विशेषका लागि, उनीहरूको संरक्षण र प्रवर्द्धनका लागि भएकाले यहाँ उनीहरूका स्वार्थले प्राथमिकता पाउनु नौलो नभएको यी गोर्खाहरूले तर्क गरे । ‘उनीहरू पनि आफ्नो पहिचान गुम्ला, बाहिरियाको जनसंख्या बढ्दा र आफूहरू अल्पमतमा परिएला भनेर चिन्तित छन्,’ राज्यको उच्च सरकारी सेवाबाट निवृत्त डम्बरबहादुर गुरुङले मेघालयका खासी, गारो र जयन्तियाजस्ता समुदायलाई इंगित गर्दै भने, ‘भारतको संविधानले नै छैटौं अनुसूचीको व्यवस्था गरेर आदिवासी (ट्राइवल) हरूलाई बढी अधिकार र सुविधा दिएको छ ।’

khatpat ma gorkha ra prabashi

नेपाली भाषीहरू, मेघालयमा बस्ने बंगाली, बिहारी र मारवाडी समुदायजस्तै, गैरआदिवासी (ननट्राइवल) समूहमा पर्छन् जसले सिलाङ सहरका निश्चित भागमा मात्र जग्गा किन्न पाउँछन् । व्यापार गर्न उनीहरूले राज्यबाट अनुमति लिनुपर्छ । सरकारी जागिरमा आदिवासीलाई ९० प्रतिशत छुट्टयाइएको छ । बाँकीमा पनि आदिवासीले प्रतिस्पर्धा गर्न सक्छन् । Continue reading

यहीँ जिउँदै जलाए बुवालाई

they burned my father alive here

बडापानी (मेघालय)- बलराम शर्मालाई जेठ ३ को त्यो भयानक क्षण सम्झँदा सपनाजस्तो लाग्छ । ‘यो त्यही ठाउँ हो, जहाँ मेरो बुवालाई जिउँदै जलाएर मारियो,’ पूर्वोत्तर भारतीय राज्य मेघालयको राजधानी सिलाङनजिकैको बडापानी गाउँका यी ४१ वर्षे गोठालाले आँखाभरि आँसु निकाल्दै भने ।

त्यो बिहानको रात गोठमा बलरामसँगै सुतिरहेका उनका पिता ७१ वर्षे लोकनाथ बास्तोलालाई एक हूल मान्छे आई जिउँदै जलाएर मारेका थिए । गोठमा शर्माकी पत्नी, उनीहरूका १५ (नारायण), १२ (जीवन) र १० (तुलसी) वर्षका छोराहरू र छोरी पनि थिए । दुई बजेतिर अचानक एक हूल आएर गोठमा आगो लगाइदिएपछि शर्मा स्तब्ध भएका थिए ।

‘हतारहतार बच्चाहरू र बुवालाई बाहिर निकालेँ,’ उनले भने, ‘हात जोडेर माफी माग्दै थिएँ, केही नगर्न भन्दै थिएँ, एउटाले खासी भाषामा ‘मार्दे’ भनिहाल्यो । अर्कोले यतिलामो (उनले फैलाइएको दाहिने हातको कुममा देब्रे हत्केलो लगे) खुकुरी निकाल्यो । अनि म यस्तरी (उनले दुवै हात उचालेर पछाडितिर फाले) जम्प हान्दै भागेँ केटाकेटीतिर । उनीहरूलाई लगेर त्यहाँ (५० मिटरजति टाढाको खोल्सोमा) लुकेँ ।’ भाग्न नसकेका वृद्ध लोकनाथलाई पेट्रोल खन्याएर, खुकुरीले हानेर मारेको शर्माले बताए ।

they burned my father alive here2

घटनामा ४ गाई मरे, जसलाई जलेको गोठैअगाडि गाडिएको छ । कान्तिपुरले भेट्दा बुवाको काजक्रिया सकेका शर्मा गोठबाट हिँडेर आधा घन्टा टाढाको एउटा नेपालीभाषी स्कुलमा थिए जहाँ उनको ठूलो छोरा पढ्छन् । ‘बच्चाका किताब, कपडा जले,’ उनले भने, ‘छोरालाई पढाउनु त परिहाल्यो, सरहरूले केही सहयोग गरिदिनुहुन्छ कि भनेर आएको ।’ असम राज्यसँगको विवादित सिमाना लाम्पीका गोर्खालाई वैशाख ३१ मा हटाउन जाने आदिवासी खासीमध्ये चारलाई असाम सीमा रक्षाबलले गोली हानी मारेपछि मेघालयका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीलाई आक्रमण गर्ने क्रममा खासीहरूले बास्तोलालाई मारेका हुन् ।

जयन्तिया हिल्स जिल्लाका कोइलाखानीका केही नेपाली मजदुरको पनि हत्या भएको त्यहाँका सक्रिय नेपालीहरूले बताएका छन्, जसलाई मेघालय सरकारले अस्वीकार गरेको छ । मारिएका भनिएकाको परिचय सार्वजनिक भएको छैन तर नेपालीहरूले केही शव लुकाइएको आरोप लगाएका छन् ।

‘हामीले अनुसन्धान गरिरहेका छौं,’ मेघालयका मुख्यमन्त्री मुकुल सामाले बुधबार सिलाङमा कान्तिपुरसँग भने, ‘यो हल्लाको पछि लाग्ने समय होइन । अनुसन्धान रिपोर्ट आएपछि सबै तथ्य थाहा हुन्छ ।’

नेपालबाट कोइलाखानीमा काम गर्न आउने कामदारको दर्ता र बिमा नहुने गरेकाले तिनीहरूको पहिचान पत्तै लागे पनि क्षतिपूर्ति दिलाउन कठिन हुने नेपाली संगठनका कार्यकर्ताहरूले बताए । बास्तोलाका परिवारलाई मेघालय सरकारले लाम्पीमा मर्ने खासीहरूलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिइने मुख्यमन्त्री साङमाले बताए ।

घटना भएको दुई सातामा पनि सिलाङबाट गोर्खा समुदायका कुनै व्यक्ति आफ्नो अवस्था बुझ्न नआइदिँदा दुःख लागेको शर्माले बताए । सिलाङका कतिपय सक्रिय गोर्खाले त्यता जाँदा खासीहरूको तारो बनिने हुँदा डर लागेको उल्लेख गरे । नेपाली नागरिकता नभएको, बुवासहित आफ्नो जन्म पनि मेघालयमै भएको तर राज्यमा आफ्नो नाममा जग्गा नभएको शर्माले बताए । उनी अरू थुप्रै नेपालीभाषीले झैं खासीहरूको जग्गा भाडामा लिएर बस्ने गरेका छन् । भाडा भन्नुमात्र हो, वर्षमा त्यो दुई सयदेखि पाँच सयको हाराहारीमा हुन्छ तर खास काम त्यहाँ बसेर त्यो जग्गाको स्याहार सुसार गर्ने नै हो । त्यो रात बास्तोला गोठमा जल्दा उनकी पत्नी, अर्का छोरा र बुहारी त्यहाँबाट एक घन्टा उकालो हिँडेर पुगिने ठाउँमा बनेको सानो घरमा थिए ।

‘हामीलाई १९८६, ८७ को गन्डागोलमा पनि केही गरेनन्,’ शर्माले भने, ‘तर यसपालि अचानक, केही नभनी आएर त्यस्तो गरे ।’

उनकी पत्नी नजिकैको प्लाई कारखानामा ज्यामी गर्थिन्, उनी गाईको स्याहार गर्थे । अहिले शर्मा जलेको गोठमुनि उही मालिकको कुखुरा फार्ममा बसेका छन् । मालिकले उनलाई केही समय त्यहीं बस्न भनेको छ । गोठसँगै जोडेर उनी काठको एउटा सानो घर बनाउँदै थिए ‘तख्ता भएको,’ जसको ‘ढोकामात्र हाल्न बाँकी थियो,’ उनले बताए ।

‘इष्टमित्र र ठूला मान्छे आएको बेला मज्जाले बस्न मिल्ने ठाउँ पनि बनाएको थिएँ,’ शर्माले भने, ‘अब त्यो कुखुरा गोठमा मैले पाहुना कसरी राख्नु ?’

कोइलाखानीको जिन्दगानी

koila-khani-jindagani-page-1-1

ठुलो पार्न क्लिक गर्नुस्

 

दिनेश वाग्ले

 

लाड्रम्पाई (मेघालय)- श्यामप्रसाद पोखरेललाई बलको आवश्यकता दिनहुँ पर्छ । दुई सय फिट गहिरो इनारको फेदबाट धरापझैं लाग्ने गरी अड्याइएका काठका चिप्ला खुडकलामा टेक्दै थुन्सेभरी कोइला बोक्नु उनको दैनिकी हो । दुई साताअघि ज्यान खतरामा पर्दा उनलाई थप बल चाहिएको थियो । पूर्वोत्तर भारतको बंगलादेशी सीमानजिक कोइलाखानीमा काम गर्ने उनीजस्ता नेपालीलाई मेघालय राज्यका आदिवासी खासीले धमाधम कुट्न -र केहीलाई मार्न) थालेका थिए । क्वारी या झुल भनिने इनारबाट तीन किलोमिटर टाढाको व्यावसायिक केन्द्र लाड्रम्पाई खासीहरूले बन्द गराउूदा त्यहाूका केही नेपाली ‘बाहिर ताल्चा लगाएर कोठाभित्रै’ लुकेका थिए । थुप्रै क्वारीका कैयौं नेपाली रातारात भागेर असम पुगे भने नभागेका पोखरेल खान्की किन्न बजार जान सकेनन् । ‘त्यो दिन मैले कुलदेउता सम्झें,’ सिन्धुलीे खोलागाउँ ८, रातमाटेका ६० वर्षे पोखरेलले कान्तिपुरसँग भने, ‘स्वास्नी, छोराछोरी सम्झेँ । देउतासँग बल मागेँ ।’

कोइलाखानीका नेपाली र मेघालयमा बस्ने गोर्खाहरू यी दिनमा आफूहरूलाई यसपालि देउतैले सहयोग गरेको ठान्छन् । ‘धन्न एटिसिक्स दोहोरिएन,’ असममा जन्मेका, झापाको सानो केर्खास्थित घरमा आफ्ना स्कुले बच्चा राखेका र लाड्रम्पाईमा खुद्रा पसल गर्ने दिवाकर पौडेलले भने । सन् १९८६/८७ मा पूर्वोत्तर भारतमा ‘विदेशी भगाऊ’ आन्दोलन हुँदा यहाँका हजारौं नेपाली मजदुर खेदिइएका र अन्य भागका गोर्खा विस्थापित भएका थिए । ‘त्यतिबेला पुलिस आफैंले नेपाली छान्दै ट्रकमा खाँद्दै पठाएका थिए,’ पौडेलले भने, ‘हामी पनि ट्रकमै गुवाहटी पुग्यौं । सातापछि फर्कियौं ।’

यसपालि असमसूगको सिमानामा रहेको विवादित गाउँ लाम्पीमा बस्ने गोर्खाहरूलाई आक्रमण गर्न गएका खासीमध्ये चारजनालाई असम सीमारक्षा बलले गोली हानी हत्या गरेपछि त्यसको रिस खासीले मेघालयका विभिन्न भागमा छरिएका गोर्खा र कोइलाखानी क्षेत्रमा केन्दि्रत नेपालीमाथि पोख्न थाले । वैशाख ३१ गते लाम्पी काण्ड भयो र त्यसको विरोधमा जेठ ३ मा खासी विद्यार्थी संगठनहरूले मेघालय बन्द गरे । यहाँ पार्टीहरूभन्दा पनि शक्तिशाली मानिने र गैरसरकारी संस्था (एनजीओ) भनी चिनिने खासी विद्यार्थी युनियन (केएसयू) लगायत केही आन्दोलित विद्यार्थी संगठनले कुनैकुनै ठाउँका गोर्खा र नेपालीलाई मेघालय छाडन चेतावनी पनि दिए ।

आन्तरिक राजनीति

अघिल्लो महिना मेघालयको सत्ता समीकरणमा फेरबदल हुँदा सरकार परिवर्तन भयो । खासी समुदायका डीडी लापाङ मुख्यमन्त्रीबाट हटाइए । उनको सट्टामा कंग्रेस पार्टीकै तर गारो समुदायका मुकुल सङ्मा आए । त्यसो हुनुमा छिमेकी असमका प्रभावशाली मन्त्री तथा कंग्रेसका नेता हिमन्त विश्व शर्माको हात रहेको मेघालयका पत्रिकाहरूले लेखेका छन् । हिमन्त तिनै व्यक्ति हुन् जो युरेनियम भएको लाम्पीलाई आफ्नो प्रभावअन्तर्गत असममै राख्न चाहन्छन् । उनैले लाम्पीलाई असमको राजधानी गुवाहटीसम्म जोड्ने बाटो खन्न बजेट छुट्टयाई त्यसको उद्घाटन गरे । उनले लाम्पीमै गएर गोर्खालाई जति चाहियो त्यति सहयोगको प्रस्ताव गरेका छन्, भन्नेबित्तिकै हेल्थ पोस्ट खोलिदिएका छन् । लाम्पीमा नेपालीलाई उक्साउने हिमन्तले आफूलाई नेतृत्वच्यूत गराएको रिस मेघालयका लापाङलाई हुनु स्वाभाविकै भयो । लापाङको सहभागिताको प्रमाण कसैले देखाएको छैन तर वैशाख ३१ गते नियोजित ढंगमा हजारभन्दा बढी अन्य गाउँका खासी नेपाली कुट्न लाम्पी पुग्नुलाई कतिपयले सुनियोजित ठानेका छन् ।  ‘आफू सरकारबाट हटेपछि राज्यको सुरक्षा व्यवस्था बिगि्रएको देखाउन त्यो काण्ड रचिएको थियो,’ सिलाङको सार्वजनिक जीवनमा सक्रिय एक गोर्खा नेताले कान्तिपुरसँग भने, ‘भयो पनि त्यस्तै । नयाँ मुख्यमन्त्रीमाथि शान्ति सुरक्षा कायम गराउन र असमबाट आफ्नो गाउँ फिर्ता लिन नसकेको आरोप लाग्यो ।’

आन्तरिक राजनीतिक खेलमा नेपाली समुदायलाई उपयोग गरिएको चाल पाएपछि सङ्मा सरकारले नेपालीलाई दुःख दिनेविरुद्ध तत्कालै कारबाही थाल्यो, जुन १९८६/८७ मा हुन सकेको थिएन । नेपालका मिडियाले व्यापक रूपमा घटनाबारे प्रकाशन/प्रसारण गरे जसले सोझै मेघालय सरकारलाई दबाब दियो । १९८६/८७ ताका नेपालमा अहिलेजस्तो मिडिया थिएनन् । अहिले सिलाङ, लाड्रम्पाईजस्ता बजारमा ‘कान्तिपुर’, ‘इमेज’ जस्ता टीभी च्यालनहरू आउँछन् । ‘सिलाङ टाइम्स’ जस्ता प्रभावशाली पत्रिकाले पनि यसपालि जातीय मामिलामा सकेसम्म निष्पक्ष समाचार लेख्दै सरकारलाई दबाब दिएको सिलाङका गोर्खा बताउँछन् । ‘पुलिस र गाउँका मुखिया (गाउँबुढा)ले हामीलाई बोलाएर, नडराउन र नफर्किन अनुरोध गरे,’ आठ वर्षदेखि लाड्रम्पाईमा नेपाली पत्रिकासमेत बेच्ने पसल चलाइरहेका टोपलाल भण्डारीले भने, ‘उनीहरूले चाहिएको सुरक्षा दिने वाचा गरे ।’ नभन्दै मेघालयले पहिलोपटक लाड्रम्पाईमा प्रहरीको एउटा टोली पठायो जो अहिले पनि यहीँ छ ।

photos-koilakhani-jindagani-1

मेघालय छाड्न सूचना दिने ‘गाउँबाहिरका खासीहरू’सँग कोइलाखानीका मालिक र लाड्रम्पाईमा नेपालीलाई घर भाडामा दिने साहु पनि सहमत भएनन् । खानी मालिक र घरभेटीले पनि नेपालीभाषीलाई नभाग्न, लुकेर बस्न र बजारमा ननिस्कन सुझाव दिए । ‘आन्दोलनकारीको भनाइ छ, नेपाली आएर काम खोसिदिए,’ मूलप्रवाह अखिल भारत नेपाली एकता समाज लाड्रम्पाई नगर समितिका अध्यक्षसमेत रहेका भण्डारीले भने, ‘तर हामीले भनेका छौं, त्यो गुनासो कोइलाखानीका मालिकसँग गर ।’

यहाँका कोइलाखानी लगभग नेपालीले नै चलाएका छन् । औपचारिक तथ्यांक छैन तर जयन्तिया हिल्सलगायत क्षेत्रका कोइलाखानीमा डेढदेखि दुई लाखसम्म नेपाली रहेको अनुमान छ । जुनै कोइलाखानीमा गए पनि नेपालीभाषामा गफ, गीत, गाली र गुनासा सुन्न सकिन्छ । उनीहरू इनारनजिकैका खाली जमिनमा कोइला मालिकको अनुमतिमा छाप्रा बनाएर बसेका छन् । कतिपय ३० वर्षदेखि नेपालै नगई बसिरहेछन् । कतिपयचाहिँ सिजनमा आउने, पैसा कमाउने र नेपाल फर्किने गर्छन् । नेपालीमध्ये ९० प्रतिशत इनारबाट कोइला बोक्ने, सुरुङमा पसेर कोइला खन्ने (काट्ने) काम गर्छन् । केही टाठाबाठा नेपालीचाहिँ सरदार (ठेकेदार) बनेका छन् । कोही साना बजारहरूमा पसल गर्छन् ।

koila-khani-jindagani-why-nepali-fled-1

किन फर्किए नेपाली ?

बितेका दुई सातामा मेघालय छाड्नेमा गोर्खा नभई मुख्यतः जयन्तिया हिल्स जिल्ला (जसको मुख्य बजार हो लाड्रम्पाई) का कोइलाखानीका नेपाली थिए । त्यहाँ केही खासीले केही नेपालीलाई कुटे, केहीका हातखुट्टा भाँचे जसबारेको हल्ला खानीहरूमा डढेलोझैं फैलियो । हल्लामा बढाईचढाई पनि भयो, जसले मानिसहरूमा चाहिनेभन्दा बढी अन्योल र त्रास सिर्जना गरायो । ‘राति त्यसलाई कुटे, बिहान उसलाई मारे भन्छन्, अनि के के न गर्नु भयो,’ पोखरेलले भने, ‘कोही लुक्न क्वारीभित्र छिरे, कोही कुम्लो बोकेर भागे । त्यस्तोमा कसरी बस्नु ?’ उनले जेठ ५ को दिन भातै खाएनन् । सिन्धुलीबाट परिवारले क्वारीका मजदुरका लागि मेस चलाउने भान्सेको मोबाइलमा फोन गरेर पोखरेललाई तत्कालै घर फर्किन भने । ‘त्यो दिन त हिँडिहालुँ जस्तो लागेको थियो,’ उनले भने, ‘फेरि रातिहुँदो कहाँ जाने ? अहिले फेरि सञ्चो भएको छ । अब दसैंमा जान्छु ।’ यसपालि लाम्पी गोली काण्डसँग जोडिएकाले नेपालीहरू फर्किएको घटनाले व्यापक चर्चा पायो । तर यहाँ महिनैपिच्छे सानातिना घटना भइरहने र हप्तैपिच्छेजस्तो खानीमा पुरिएर, झगडा गरेर एक-दुई जना मान्छे मरिरहने लाड्रम्पाईमा लामो समयदेखि बसिरहेका बासिन्दाहरू बताउँछन् । ‘कहिलेकाहीं त एउटा कोइलाखानी मालिकले आफ्नो प्रतिस्पर्धीको कारोबार कम गराउन पनि त्यहाँका कामदारलाई दुःख दिन्छ, मेघालयबाट निकाल्दिन खोज्छ,’ लाड्रम्पाईबाट ८५ किलोमिटर परको सिलाङमा आधारित भारतीय गोर्खा परिसंघका अध्यक्ष बीबी छेत्रीले भने । यो विवादमा नेपालीभाषी छेत्रीले सबैभन्दा ठूलो स्वरमा नेपालीको पक्षमा आवाज उठाए जसलाई सिलाङकै कतिपय नेपाली र नेपालीभाषीले ‘ओ हो, यो त कडै भयो’ भनी टिप्पणी गरे । उनले सिलाङनजिकैको गोठमा जिउँदै जलाएर मारिएका लोकनाथ बाँस्तोलाको परिवारलाई पनि मेघालय सरकारले लाम्पीमा मारिने खासीका परिवारलाई जत्तिकै क्षतिपूर्ति दिनुपर्ने माग राज्यसमक्ष गरेका छन् ।

मेघालयका नेपालीभाषी जे भोगिरहेछन्

Kantipur lampi assam story

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

लाम्पी (असम)- पूर्वात्तर भारतका दुई राज्य असम र मेघालयको सीमास्थित यो विवादास्पद गाउँ अचेल युद्धमोर्चाजस्तो देखिन्छ जहाँ दुईतिरका सीमा रक्षक सैनिक-प्रहरी एकअर्कालाई बन्दुक तेस्र्याएर उभिएका छन् ।

गहिरो जातीय र सांस्कृतिक रेखामा बाँडिएका यहाँका खासी र नेपालीभाषी गोर्खाहरू आफ्नापट्टकिा सुरक्षाकर्मीलाई खाना खुवाउँछन् भने अर्कोपट्टकिालाई त्रासपूर्ण र शंकालु दृष्टिले हेर्छन् । गोर्खाहरू असम प्रहरीप्रति कृतज्ञ छन् भने खासीहरू मेघालय प्रहरीप्रति । खासी बाहुल्य क्षेत्रमा प्रहरी उपस्थितिबाट पनि आश्वस्त हुन नसकेका गोर्खाहरू राति हातमा लाठी, कम्मरमा खुकुरी र काखीमुनि गुलेली बोकेर सामूहिक गस्ती गर्छन् ।

‘गोर्खा हौं हामी, डराउँदैनौं,’ लाम्पीनिवासी चक्रबहादुर छेत्रीले कान्तिपुरसँग झर्रो नेपालीमा भने, ‘जन्मेपछि मान्छे नमरेको हामीले देखेका छैनौं । मर्नु त छँदैछ त्यसैले अन्याय किन सहने ?’

‘युद्धमोर्चा’ जस्तो गाउँमा बसेका छेत्री खासमा एकजना लडाकु सरदारजस्तै छन्, जसले बितेका तीन दशकदेखि आफ्नो जातिको नेतृत्व गरिरहेका छन् । उनी लाम्पीका मुखिया हुन् जसलाई औपचारिक रूपमा ‘गाउँबुढा’ भनिन्छ र स्थानीयहरूले ‘गाम्बुरा’ भनी बोलाउँछन् । गाउँमा सरकारको सबैभन्दा तल्लो तहको तर अधिकारसम्पन्न प्रतिनिधि हो गाउँबुढा, जसले स्थानीय समस्या राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने, सत्ताबाट गाउँमा आएको अनुदान अनुगमन गर्ने र गाउँलेहरूको व्यवस्थापन गर्ने जिम्मा पाउँछ ।

‘हाम्रो स्वार्थ मिलेको छ,’ गाउँबुढाले लाम्पीका नेपालीलाई संकेत गर्दै भने, ‘मलाई खेतमा काम नगरी डुलिखान मनपर्ने, यिनीहरूलाई आफ्ना कुरा राज्यसम्म लगिदिने सक्रिय मान्छे चाहिने । म यिनीहरूको सहारा, यिनीहरू मेरा सहारा ।’

lampi assam kantipur storyसक्रियताका कारण छेत्री खासी समुदायमा राजनीतिक गर्नेहरूको तारो बनेका थिए । मे १४ मा लाम्पी बाहिरका करिब एक हजार खासी खासमा छेत्रीलाई नै सिध्याउन गाउँको बीचमा रहेका छाप्राहरूमा बस्ने सानो शुक्रबारे हाटमा पुगेका थिए । हाटमा रहेका केही नेपालीलाई कुट्दै नेपाली बस्तीतिर बढ्दा उनीहरू असम सीमा रक्षाबल -सशस्त्र) को क्याम्प पुगे । उनीहरूले क्याम्पतिर पनि गुलेली तन्काउँदै मट्याङ्ग्रा हान्न थाले । झोक्किएका पुलिसले गोलीले त्यसको जवाफ दिए, चार जना खासी चौरमै ढले । दुई शव उनीहरूले आफंैसँग लिएर गए, बाँकी दुईलाई सीमा प्रहरीनजिकै रहेको असमकै जनपद प्रहरीले नियन्त्रणमा लियो । Continue reading