Tag Archives: विश्वकप

फुटबल फेसबुकको भित्तोमा

facebook football_hello_friday

हेल्लो शुक्रबार: ठुलो पार्न क्लिके हुन्छ

दिनेश वाग्ले

एक्लै फुटबल हेर्नुको नमज्जा के भने ‘गोओओओओ….ल’ भनेर चिच्याउन नपाइने । सुन्ने कोही नभएपछि त्यसको के अर्थ ? आइभोरी कोस्ट र ब्राजिल भिड्दै थिए । फ्यावियानो र इलानोले तीन गोल ठोकेपछि खेल पूरै एकपक्षीय बनेकाले अरुचि जाग्दै थियो । रोमान्च थप्न अफ्रिकी टोलीले गोल फर्काउनैपर्छ भन्ने चाहना थियो । ड्रोग्बाले पनि एक हानिहाले । अनि ब्राजिलको परम्परागत समर्थक मैले टाइप गरेँ ट्विट्टरमा-GOOOOOOAAAAAAALLLLLLLL!!!!’ (इन्टरनेटमा ठूला रोमन अक्षरले चिच्याएको बुझाउँछ ।) त्यो ‘चिच्याहट’ तत्कालै ट्विट्टर र त्यसमार्फत फेसबुकका भँगालाहरूमा बग्दै सिद्धान्ततः लाखौं मानिसहरूका कम्प्युटर स्क्रृनमा देखापर्‍यो ।

फुटबल इतिहासमा हरेक विश्वकप कोशेढुङ्गा हुन्छ । करोडौं दर्शक उच्चाल्ने प्रदर्शन गर्ने खेलाडीहरूले एकअर्कालाई छक्याउँदै गोल गरेको या पेनाल्टी नछिराएको दृश्यबारे मानिसहरूले वर्षौं कुरा गर्छन् । यसपालीको विश्वकपचाहिँ ती सबै कुराबाहेक भुभुजेलाबाट चिनिने हो कि फेसबुक/ट्विट्टरबाट, म निश्चित भइसकेको छैन । भुभुजेला बजाउने दर्शकले पूरै रंगशालालाई एउटा ठूलो घार बनाइदिएका छन्, मानौं ती रिसाएका मौरी हुन् । उनीहरूको त्यो भुनभुनाहटले संसारभरिका थुप्रै दर्शकलाई दिक्क पारेको छ भने कतिपयले ‘त्यो अफ्रिकी फुटबल उत्साहको परम्परा’ भन्दै समर्थन गरेका छन् । रंगशालामा भुभुजेला प्रतिबन्ध गर्न फिफालाई अनुरोध गर्दै प्रतियोगिताको तेस्रो दिन मैले ट्विटेपछि बेलायतको योर्कमा बसेर वातावरण तथा राजनीतिमा पीएचडी भर्खरै सिध्याएका ललितपुरका महेश पौड्याल (twitter.com/mpoudyal)ले ट्विटे- ‘ओहो, मलाई भुभुजेला खुब मनपर्छ । खेल हेर्दा पृष्ठभूमिमा त्यो रमाइलो भुनभुनाहट ।’

football the facebook wall Kantipur

कान्तिपुर विचार पृष्ठ: ठुलो पार्न क्लिके हुन्छ

धन्यवाद ट्विट्टर र फेसबुकजस्ता सामाजिक सञ्जाल साइट (साससा) हरूलाई जसले संसारलाई खुम्च्याएर यति सानो पारिदिएका छन्, मानौं योर्क, दिल्ली र काठमाडौंका वासिन्दा एउटै कोठामा गफिँदै विश्वकप हेरिरहेका छन् । तिनले एकै समयमा एउटै बल (एडिडास कम्पनीले बनाएको ‘जाबुलानी’), एउटै खेलाडी (मानौं मेस्सी) र एउटै आवाज (भुभुजेला) देखिरहेका/सुनिरहेका हुन्छन् । तिनका प्रतिक्रियाहरू एउटै ठाउँ (ट्विट्टर र फेसबुकका भँगालो) मा आइरहेका हुन्छन् ।

‘नेपालेइडियट’ (twitter.com/nepaleeidiot) उपनामका नेपाली युवक भारतको कुनै सहरमा काम गर्छन्, विश्वकपका हरेकजसो म्याच हेर्छन् र तत्क्षण लागेको कुरा ट्विट्छन् । ‘नेपालबाट टाढा आफ्नो कोठामा एक्लै (फुटबल हेर्दा लागेका कुरा साझेदारी गर्न पाएकोमा) ट्विट्टरलाई धन्यवाद’, उनले एकदिन ट्विटे ।

वेब २.० भनिने अन्तरक्रियात्मक इन्टरनेटको जमानामा भएको यो पहिलो विश्वकप हो । १९९० को दशकको अन्त्यतिर चित्रसहितको इन्टरनेट ब्राउजिङ आए पनि २००० सम्म काठमाडौंमा त्यो केही अफिस या साइबर क्याफेमै सीमित भयो । २००२ को विश्वकपबारे नेपालीहरूले इमेलमा आफ्ना भावना साटे । २००६ मा फेसबुक अमेरिकामै सीमित थियो- कलेजमा । ट्विट्टर सुरु भएकै थिएन । धेरैजसो नेपाली तन्नेरी माइस्पेस र हाइफाइभमा हुन्थ्ये, तर अहिलेजस्तो विश्वव्यापी चाप साससाहरूमा थिएन ।

अहिले सबैजसो साससाले फुटबल केन्दि्रत पृष्ठ बनाएका छन्, प्रशंसकहरूलाई आफूमा बाँधिराख्न । ट्विट्टरको चित्ताकर्षक विश्वकप पेजमा खेल हुँदै गर्दा दर्शकले तत्क्षण गरेका ट्विटहरू त्यहाँ सलल बग्छन् । ट्विटहरूको त्यो बहावमा खेलप्रति संसारको प्रतिक्रिया झल्किन्छ । Continue reading