Tag Archives: शंकर पोखरेल

फुच्चे ल्यापटप ठूलो सपना

hundred dollar laptop in nepal

दिनेश वाग्ले

कार्टुन पात्रजस्तो लामा दुइटा कान भएको फुच्चे त्यो हरियो कम्प्युटरजस्तो चीजलाई फेरि हेर्नुस्, यो लेख त्यसैप्रति समर्पित छ । खेलौना पटक्कै होइन तर यसले सफलता पाए नेपाली बालबालिका निकै खुसी हुनेछन् । गरिब मुलुकका स्कुलेहरूलाई कम्प्युटरमा पहुँच दिलाउने उद्देश्यले दुई वर्षअघि थालिएको महत्त्वाकांक्षी योजनाको हुर्कंदो प्रतिफल हो यो ।

गैरनाफामुखी यो योजनालाई ‘वान ल्यापटप पर चाइल्ड’ (ओएलपीसी) अर्थात् ‘प्रतिबच्चा एक ल्यापटप’ भनिएको छ जसमा ब्राजिल, पाकिस्तान र अमेरिका (दुई राज्य) सहित १४ मुलुकका सरकार सहभागी छन् । गुगल, इबे, रेड ह्याट, न्युज कर्पोरेसन जस्ता कम्पनीले यसलाई आर्थिक र प्राविधिक सहयोग गरेका छन् । बच्चो ल्यापटपलाई बजारमा बेचिने छैन बरु सरकारहरूमार्फत केही लाख स्कुलेलाई यसै वर्षको मध्यतिर उपलब्ध गराउने लक्ष्य ओएलपीसीको छ ।

प्रयोगमा नआइसकेको भए पनि यसले नामचाहिँ धेरै पाइसकेको छ, ‘सय डलर ल्यापटप’, ‘बच्चाको मेसिन’ या तस्बिरमा देखिएका दुई तन्नेरी आईटी पण्डितहरूका अनुसार ‘मेरो सानु साथी’ ।

‘नाममा के छ ?’ सेक्सपियर भन्थे, ‘हामीले गुलाफ भन्ने त्यो वस्तुलाई जे नाम दिए पनि उस्तै बास्ना आउँछ ।’

त्यै त, फुच्चे ल्यापटपले पनि रिसाहाजस्तो देखिने दाजुकै झैं काम गर्छ । टाइप गर्न मिल्छ, इन्टरनेट हेर्न सकिन्छ, गीत सुनिन्छ र तस्बिर देखिन्छ । फरक यत्ति हो, दाजुको मूल्य छोइनसक्नु छ भने हलुंगो र किफायती भाइलाई निर्माताहरूले एक सय डलर (करिब सात हजार रुपैयाँ) मा उपलब्ध गराउने वाचा गरेका छन् । परम्परागत कम्प्युटरहरूमा हुने हार्ड ड्राइभको साटो यसमा ५१२ एमबीको फ्ल्यास मेमोरी कार्ड हुन्छ । विन्डोज होइन, लिनक्स । इन्टेल होइन, एएमडी । दाजुको तुलनामा यसले १० गुणा कम ब्याट्री खान्छ । ब्याट्री हातैले चार्ज गर्न मिल्ने भएकाले बिजुली नभएका ठाउँमा चल्छ ।

नेपाल सरकार ओएलपीसीमा छैन तर राजधानीमा आयोजित इन्फोटेकमा बुधबार प्रविधिमन्त्री मानबहादुर विकसहितका केहीले फुच्चे ल्यापटपलाई हेरे । अर्घाखाँचीका शंकर पोखरेल (माथिको तस्बिरमा बायाँ) र हेटौंडाका अंकुर शर्माजस्ता उत्साही युवा भएपछि के चिन्ता ? ‘कलेजमा फाइनल प्रोजेक्टमा केही गर्नुपथ्र्यो,’ नेपाल इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स र कम्प्युटर इन्जिनियरिङ सकेका शंकरले भने- ‘हामीले ‘मेरो सानो साथी’ नाम दिएर बच्चाहरूका लागि ल्यापटपजस्तै केही बनाउने प्रयास थाल्यौं ।’ डिसेम्बर २००५ मा उनीहरूले त्यस्तो थाल्नु एक वर्षअघि नै मासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा केही शिक्षाविद्हरूले त्यस्तो मेसिन बनाउने निर्णय गरिसकेका थिए । कलेजका नेपाली ठिटाले ओएलपीसीकै नक्कल गर्न के सक्नु ? अनुसन्धान र विकासका लागि चाहिने करोडौं डलर कहाँबाट ल्याउने ?

‘हाम्रा अनुसन्धान गाइडले उक्त योजनामै योगदान पुर्‍याउन भन्नुभयो,’ सोही कलेजबाट कम्प्युटर इन्जिनियरिङ स्नातक सिध्याएका अंकुरले भने- ‘अनि ओएलपीसीसँग सम्पर्क गरेर स्वयंसेवा थाल्यौं ।’ २२ वर्षेहरूको कामबाट प्रभावित ओएलपीसीले चार साताअघि हुलाकमार्फत फुच्चे ल्यापटप पठायो । ‘त्यो रात सुतिएन,’ शंकरले भने- ‘यसलाई हेरेरै बसियो ।’

उनीहरूको मुख्य काम फुच्चेलाई नेपाली बुझाउनु हो जसका लागि अरू स्वयंसेवीको साथ लिन उनीहरूले ओएलपीसी नेपाल खोलेका छन् । वर्णमाला, दुनोट, कथा, चित्रपाटी, गीतलगायत तयार भइसकेका छन् । अहिले नेपाली शब्दहरूको भण्डार ज्ञानकोश तयार हुँदै छ भने स्कुलका पूरै किताब त्यसमा हाल्ने योजना छ । त्यसो हुँदा विद्यार्थीले पुस्तक बोक्नुपर्दैन, फुच्चे बोके पुग्छ । वायरलेस क्षमता भएकाले एउटा फुच्चेले अर्कोसँग सम्पर्क गर्न सक्छ । त्यसो हुँदा स्कुलमा राखिएको अलि बढी क्षमता भएको फुच्चेमा भएका पुस्तकलाई विद्यार्थीले एकैपटक आ-आफ्ना फुच्चेमार्फत हेर्न सक्छन् । फुच्चेलाई विद्यार्थीसम्म पुर्‍याउन नेपाल सरकारले नसके दाता खोज्नुपर्ने उनीहरूको भनाइ छ । ‘शिक्षामा लगानी गर्न किन डराउने ?’ अंकुरले भने- ‘कम्प्युटर १० वर्षसम्म टिक्छ ।’

ओएलपीसीका आलोचकै नभएका होइनन् । बिल गेट्स सबैभन्दा चर्का किनकि यसमा उनको विन्डोज होइन, प्रतिस्पर्धी लिनक्स प्रयोग हुन्छ । केहीले चाहिँ यसलाई साम्राज्यवादी अवधारणा (अमेरिकीहरूले डिजाइन गरेर विश्वमा पठाउने) भनेका छन् । विवाद हुँदै गर्छ, अहिलेलाई शंकर र अंकुरकै कुरा गरौं ।

अब के पढ्ने विचार छ ?

‘केही गर्नका लागि न पढ्ने हो !’ शंकरले भने- ‘यस्तो महत्त्वपूर्ण काम गर्न पाइएको छ, पहिला यो सक्ने ।’

अंकुरले सहमति जनाए ।