Tag Archives: शान्ती

रुकुम-रोल्पा एक्स्प्रेस- शान्तिकालमा गाउँले जनताको जीवनीका केही झलकहरू

Jeetman Gharti

जीतमान घर्ती

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर मा प्रकाशित भएको हो । 

जीतमान घर्तीलाई सबैभन्दा चिन्ता आफ्ना गधाहरूको लाग्छ । पाँच वर्षअघि देश शान्ति प्रक्रियामा छिरेलगत्तै बन्दुक छाडेर खच्चरका पछाडि दौडिन थालेका यी रूकुमेली अधबैंसेको दैनिक गुजारा अहिले यिनै चौपायाले चलाएका छन् ।

‘मुख्यत पिसाब नै रोकिने डर हुन्छ,’ हालैको एक दिउँसो १० वटा खच्चरहरूको लस्करसँगै आफ्नो गाउँ काक्रीको लुकुमबाट पुरानो जिल्ला सदरमुकाम रूकुमकोट जाँदै गरेका घर्तीले भने, ‘अर्को, कतै भिरमा लडेर मर्ला कि भन्ने हो । एउटा लड्यो भने ५० हजार गयो । कमाइ गयो ।’

नेपालका अन्य थुप्रै पहाडी गाउँमा जस्तै कुनैबेला माओवादी अति प्रभावित रूकुम र रोल्पाका पहाडहरूमा हालैका केही वर्षमा पुगेको सडक सञ्जालले काम गरिनसकेको यो अवस्थामा सामान ओसारप्रसार गर्न खच्चरहरू नै प्रयोग गरिन्छन् । खच्चरहरूले सर्वसाधारण जनतालाई तुलनात्मक रूपमा सस्तैमा सहजै सामान उपलब्ध गराउनुबाहेक घर्तीजस्ता पूर्वगुरिल्लाहरूको जीवनयापनमा योगदान पुर्‍याएका छन् ।

पाँच वर्षअघि घरजग्गा बेचेर ४१ हजारमा ६ वटा खच्चर किनेका घर्तीले त्यही वर्ष दुईवटा चौपाया गुमाए । रहेका चारवटाले नपुगेजस्तो लागेपछि तिनैबाट कमाएको पैसा र त्यसलाई गाउँमा ९० दिने सयकडा १० को ब्याजमा लगाएर थपिएको रकम जोडेर उनले तीन महिनाअघि ५० हजार गोटामा थप ६ वटा खच्चर किने । ‘राम्रोसँग ढुवानी पाए महिनामा सबै खर्च कटाएर १२ हजार बच्छ,’ उनले भने ।

क्यान्टोनमेन्टमा रहेर महिनामा साढे छ हजार कमाउने पूर्वगुरिल्लाहरूका लागि घर्ती ईष्र्याका पात्र बन्न सक्छन् । क्यान्टोनमेन्टमा ‘सरकारको, अरूको खटनपटन’ मा रहनुभन्दा गाउँमा ‘स्वतन्त्रले काम गर्न पाए’ बाट सन्तुष्ट घर्ती जीवनमा आएको सानै सही तर महसुस गर्न सकिने परिवर्तनबाट सन्तुष्ट छन् । ‘पहिलाको भन्दा अहिले चिन्ता छैन,’ रूकुमकोट पुग्न डेढ घन्टा बाँकी रहँदा उडहर खोला किनारमा एकैछिन खच्चरहरू चराउन रोकिएका उनले भने, ‘पहिलाको भन्दा अहिले चिन्ता छैन । घरजहान पालिएको छ, खाइएको छ । त्यही नै हो हाम्रो सन्तुष्टि ।’

Prithvi Budhamagar

पृथ्वी बुढामगर छोरी संरचनासँग

त्यस्तै ‘सन्तुष्ट’ अवस्थामा थिए २४ वर्षे पृथ्वी बुढामगर रोल्पाली सदरमुकाम लिबाङ नजिकैको एउटा शान्त बस्ती सिमलबाङको खरले छाएको सानो घरमा । भुइँतले कोठामा पत्नी हस्तकुमारीसँगै जोडीकी चार वर्षे छोरी संरचना (‘यो नौलो नाम मैले नै छानेको,’ उनले भने) लाई खेलाइरहँदा छेवैको क्यासेटमा एउटा गीत बजिरहेको थियो-

कसले देख्यो मन्दिरमा देउतालाई
लाखौंमध्ये रोज्या छु एउटालाई
धर्ती उनको आकाश जूनकै हो ।

त्यो गीत उनले साउदी अरबबाट मेमोरी कार्डमा ल्याएका हुन् ।

२०५९ सालतिर एउटा असहज स्थितिमा उनी माओवादी सेनामा गएका थिए । ‘उताबाट पनि चाप थियो, सेनाले कुट्ने, रोल्पाबाहिर जान पनि नागरिकता माग्ने,’ उनले सम्झिए, ‘यता पनि माओवादीले चेप्ने ।’ त्यसैबीच उमेरै नपुगी विवाह गरेको आरोपमा माओवादीले पक्रेर ‘अभियानमा लगेपछि’ त्यतिबेला १५ वर्षका बुढामगरलाई दुईवटा छनोट दिइएको थियो- पार्टीको सेनामा लाग्ने या सजाय भोग्ने । ‘सजाय भोगेर खाना पकाएर बस्नुभन्दा सेनामै लागेर लड्ने विचार गरेँ,’ उनले भने, ‘त्यतबेला नाबालकै थिएँ म, कुरै बुझेको थिइनँ ।’ तर उनी आफ्नो भाग्य बलियो रहेको ठान्छन् । ‘देखेको होइन, लेखेकै पाइन्छ,’ उनी भन्छन्, ‘आफूभन्दा पछाडिका साथी ढले । आफू अगाडि गएर पनि केही भएन । सामान्य चोट मात्र लाग्यो ।’

दुई वर्षको छँदा आमा गुमाएका पृथ्वीका बाबु एक महिनाअघि उनी नेपाल फर्केको दोस्रो दिन बिते । बन्दुक समाएको एकै वर्षमा र तीनवटा मात्रै आक्रमणमा सहभागी भएपछि युद्ध रोकियो अनि उनी सेनाबाट उम्किए । ‘पार्टीले धेरै आग्रह गर्‍यो सेनैमा फर्किन,’ उनले सम्भिmए, ‘म घरैमा बसेँ । बिहे गरेँ । छोरी जन्मी । अनि विदेश गएँ ।’

उनका दाजु त्यतिबेला साउदीमै थिए । पासपोर्ट बनाउन र दलाल खर्चसहित झन्डै डेढ लाख ऋण लागेको थियो उनलाई २००८ फेब्रुअरी ७ मा काठमान्डुबाट उड्दा । केही महिनाअघि निर्माण कम्पनीमा टोली नेता भएपछि तलब बढेकाले, तास नखेल्ने र रक्सी नखाने भएकाले उनले महिनामा २० हजारसम्म जोगाउन सकेका छन् । फर्केपछि एक्स्काभेटर चलाउने कामतिर लागेर झन् बढी पैसा जोगाउने उनको योजना छ । ‘त्यसपछि धेरै विदेशमा बस्दिनँ,’ उनले भने, ‘पैसा जोगाएर स्वदेशमै फर्केर केही गर्ने विचार छ ।’

ठ्याक्कै त्यही विचारलाई प्रयोगमै ल्याएका छन् रूकुमको कोल गाउँका हेमराज पुनले । अघिल्लो साता दसैंको टीकाको भोलिपल्ट बागलुङको ढोरपाटन क्षेत्रबाट ओरालो लागेका एकजना संवाददाताले उनलाई कोल गाउँसँगै जोडिएको सानु भेरीमाथिको एउटा अक्करे भिरमा बलियो घोडा चढेर घर फकिर्ंदै गर्दाको अवस्थामा भेट्टाएका थिए ।

द्वन्द्वकालमा बाध्यतामा परेर ‘माओवादीका पक्षमा राजनीति गरेको’ बताउने पुन स्थितिबाट उकुसमुकस भए पनि ०६० मा मलेसिया उडेका थिए । ‘पढ्नेभन्दा पैसै नहुने, खेती किसान गरेर खाम भन्दा खानै नपाउने, हरेक पक्षबाट तनाव,’ उनले सम्भिmए, ‘अनि मैले विदेश जाने प्लान बनाएँ । नेपालमा शान्ति छायो नि, त्यो बेला म विदेशमा थिएँ । तर त्यहाँ पनि त्यस्तै खालको पीडा भोगियो । भन्याजस्तो स्यालरी नपाउने, मानसिक टेन्सन, पैसा नहुने । इलेक्ट्रोनिक काम गरेको, गाह्रो । ओभरटाइम यताउता गर्दा १०/१२ हजार रुपैयाँ हुन्थ्यो, महिनामा ६/७ हजार, ८/९ हजार त्यस्तै बच्थ्यो । तीन वर्ष पीडा सहेर आइयो । गएको रिन तिरियो सर । जाँदाखेरि डेढ लाखजति रिन थियो, पासपोर्ट काट्दा यताउति गर्दा ।’

नेपाल आएपछि उनी विदेश फर्केनन् । बरु व्यापार थाले सातवटा खच्चर किने, लुकुमका जीतमान घर्तीकै जस्तो । सबै खच्चर ‘पुराना भएकाले नयाँ किन्ने सोचले’ केही साताअघि पचास हजारको दरमा बेचेका पुनले घरमा सानो पसल पनि चलाएका छन् । ‘अनपढ मान्छे परियो,’ दाङको घोराहीमा दस कक्षासम्म पढेका उनले भने, ‘अर्को पेसा के गर्ने ? बाँच्ने आधार त गर्नुपर्‍यो ।’ खेतीकिसानीलाई आफ्नो ‘वास्तविक पेसा’ बताउने उनले ‘वैज्ञानिक तरिका नअपनाएकाले त्यसबाट मात्रै वर्षैभरि खान नपुग्ने’ बताए ।

शान्ति छाएयता गाउँठाउँमा जनताले जेनतेन परिश्रम गर्न र कमाउन पाएको र सडक बनेर विकास पनि भइरहेको पुनको ठम्याइ छ । ‘जे होस्, अहिले चाहिँ गाउँमा मान्छेहरूले कसरी पैसा कमाउने, कसरी विकास गर्ने सोच्न पाएका छन्,’ उनले भने, ‘र, चाहेको कुरा सजिलै गर्न सकेका छन् ।’ द्वन्द्व रहेकै भए आफूले अहिले पाएको सफलता असम्भव रहेको उनलाई थाहा छ । ‘कहाँ सक्थेँ सर, म द्वन्द्वमा यसरी काम गर्न र पैसा कमाउन,’ महिनामा २० हजारजति कमाउने र त्यसमध्ये पाँच/छ हजार खर्चेर १२ वर्षे छोरी र नौ वर्षे छोरालाई पोखरामा पढाइरहेका उनले भने । ‘गाउँले पाराले बुझ्दा एउटा छोरा भोलि तलमाथि भयो भने त्यो अवस्थामा कतै मलाई समस्या आइपर्छ कि भनेर छोराको माग गरेर -तेस्रो) बच्चा पाउने सोच बनाएका’ थिए पुनले । सात महिनाअघि दोस्री छोरी जन्मिइन् । ‘तर पनि म खुसी छु,’ उनले भने, ‘छोरी पनि छोरा नै हो सर । सबैलाई समान रूपमा शिक्षादीक्षा दिने सोच बनाएको छु ।’ कोलमा उनी श्रीमती र बच्चीसँग बस्छन् ।

Hemraj Pun

हेमराज पुन

शान्ति नछाएको भए आफू त जसोतसो संघर्ष गरेर बाँच्थेँ होला भन्ने पुन ‘छोराछोरीको भविष्य चाहिँ बिग्रन्थ्यो’ भन्ठान्छन् । ‘कसरी बाँच्ने गोलीबाट भन्ने अवस्थामा मेरो जिन्दगीलाई कसरी अगाडि बढाउने भन्ने सोच हुनै सक्दैनथ्यो,’ उनले भने । ‘कतिबेला माओवादी आएर थर्काउला, मार्ला, कुट्ला, धम्क्याउला, कतिबेला आर्मी आएर मार्ला, कुट्ला भन्ने मात्र त्रास हुन्थ्यो सर । व्यापार गर्ने, भविष्यबारे सोच्नै पाइँदैनथ्यो ।’

जनतलाई भविष्यबारे सोच्न मौका उपलब्ध गराउनुबाहेक शान्ति आउनाले देशमा मुख्यतः सञ्चार र सडकमा केही प्रगति भएको थुप्रै मानिसको बुझाइ छ । जस्तो, पुनकै गाउँ नजिकैको अर्को गाउँ काक्रीमा गत वर्ष गाडी पुग्दा उनी चकित भएका छन् ।

‘हाम्रो काक्री गाविसजस्तो ठाममा पनि गाडी आउनु भनेको धेरै ठूलो कुरा हो सर,’ उनले भने, ‘द्वन्द्व रहिरहेको भए अझै दस वर्ष लाग्थ्यो ।’

द्वन्द्वमा पिल्सिएका जनतामा सानो कुराले पनि कत्ति ठूलो आशा र उमङ्ग पैदा गर्छ भन्ने कुरा ३० वर्षे पुनका ती अभिव्यक्तिमा झल्किन्छ । उनले भनेको पोहोर खुलेको त्यो बाटो, काक्रीलाई रूकुमकोट जोड्ने सडकमा झन्डै पाँच घन्टा पैदल हिँडेर रूकुमकोट पुगेका एकजना संवाददाताले थुप्रै स्थानमा पहिरोले बाटो अवरुद्ध पारेको र कम्तीमा दुई ठाउँमा पुल नहुँदा बर्खा सकिएपछिका यी दिन पनि गाडी चलिहाल्ने अवस्था नभएको देखे । तर अबका केही सातामा त्यो खण्डलाई डोजर लगाएर सुधार्ने र चारैवटा पाङ्ग्रामा गियर भएका (फोर हि्वल ड्राइभ) गाडीहरूले जनतालाई सेवा दिने अपेक्षा गरिएको छ ।

द्वन्द्व नहुँदा जनताले आफूखुसी जीवनयापन गर्नेबाहेक पाएको फाइदा बस् यही हो । सानै स्तरमा भए पनि मुख्यतः सडक र अन्य केही विकासका काम हुन पाएका छन् जो युद्धकालमा रोकिएका थिए । ‘त्यो त सम्भवै छैन सर,’ हिंसा रहिरहेको भए काक्रीमा सडक आउँथ्यो होला भन्ने प्रश्नमा पुनले भने, ‘कसरी आउने ? विकास गर्नुपर्ने मान्छेहरूले द्वन्द्वमै सबै दिमाग, पावर लगाएका हुन्छन् ।’ गाउँमा जनतालाई चाहिएको मुख्य कुरा ‘गाडी नै’ भएको ठान्ने पुनले थपे, ‘बाँकी कुरा त गाडी आएपछि जे पनि गर्न सकिने भयो नि ।’

२०५९ सालतिर पुन घोराहीबाट कोल गाउँमा पुग्दा अवस्था सहज थिएन । झन् माओवादीका पक्षमा राजनीति गर्नु कहाँ सजिलो थियो ? ‘सजिलो कहाँ हुनु र सर,’ उनले भने, ‘तर पनि गर्नैपर्छ भन्नेखालको कुरा आयो । बाँच्नु त पर्‍यो नि सर ।’

त्यो अप्ठेरोबाट उम्किन उनी बिदेसिएका थिए । विदेशमा कम पैसा, बढी दुःख र मालिकको खटनपटन उनलाई मन परेन । कोलमा अहिले उनी आफ्नो मालिक आफैं भएका छन् जसले उनलाई सबैभन्दा बढी सन्तुष्टि दिएको प्रस्टै महसुस गर्न सकिन्छ । यहाँ उनी बढी कमाउँछन् र बढी बचाउँछन् परिवारसँगै बसेर । युद्ध रोकिएपछि राष्ट्रिय राजनीति राम्रो बन्न नसक्दा र निजी क्षेत्रले लगानीको सुरक्ष्ाित वातावरण पाउन नसक्दा राष्ट्रिय अर्थतन्त्र खासै उकालो चढ्न सकेको छैन । तर पनि शान्तिमा स्वतन्त्रतापूर्वक सास फेर्न बताउने जनता नेपालैभरि भेटिन्छन् । जनताले त्यसरी स्वतन्त्रतापूर्वक काम गरी खान पाउँदा र पैसा कमाउँदा स्थानीय अर्थतन्त्रमा कुनै न कुनै ढंगले सकारात्मक प्रभाव परेको हुन्छ, गरिबी घटाउन (कम्तीमा नबढाउन) भूमिका खेलेको अर्थशास्त्रीहरू बताउँछन् ।

हामी सबै रोल्पाली, रूकुमेली

माओवादीले ‘महान् जनयुद्ध’ र अन्यले ‘हिंसात्मक’ भन्ने सशस्त्र आन्दोलन सुरु भएका दुई जिल्ला रोल्पा र रूकुमले नेपाली मानसिकतामा त्यस्तो छवि बनाएका छन् जो अन्तर्राष्ट्रिय स्तरमा हालैका वर्षहरूमा युद्धको चपेटामा परेका अफगानिस्तान र इराकको जस्तै छ । द्वन्द्वताका सदरमुकाम लिबाङ बजारको तीन किलोमिटर क्षेत्रलाई तारबारले घेरिएको थियो जो गि्रन जोन (सुरक्षित हरित क्षेत्र) का नाममा काबुल र बग्दादमा पनि देखियो । रोल्पा या रूकुम कहिल्यै नआएका कतिपय नेपालीका लागि यी जिल्ला अझै पनि भत्किएका, टुटेफुटेका घरहरूमा खतरनाक, हिंस्रक र लडाइँ मात्र गर्ने मान्छेहरू बस्ने ठाउँ हुन् । वास्तवमा अघिल्लो साता बागलुङको ढोरपाटन क्षेत्र हुँदै पहिलोपटक रूकुम छिर्दा र त्यसपछि रोल्पा आउँदा मलाई पनि अनौठो लागेको थियो जो बितेको ढेड दशकमा यी जिल्लाहरूको देशैभरि फैलिएको हिंसासँग जोडिएको सम्बन्धबाट उब्जेकोमा दुई मत छैन । पक्कै, धेरै नेपालीमा रोल्पा र रूकुमको नाम सुन्दा जेजस्तो प्रतिक्रया उत्पन्न हुन्छ त्यो उदाहरणका लागि, पर्वत या कैलालीको नाम सुन्दा उत्पन्न हुँदैन । थुप्रै रोल्पाली र रूकुमेलीहरू अझै पनि बाँकी नेपाली समाजले आफूहरूलाई शंकाले हेर्ने, माओवादी ठान्ने र नराम्रो दृष्टिले हेर्ने गरेको गुनासो गर्छन् ।

तर रोल्पाली सदरमुकाम लिबाङ र नजिकैको व्यापारिक केन्द्र (हो, रोल्पामा व्यापारिक केन्द्र पनि छ) सुलिचौरका सात/आठ तले पक्की घरहरू, ती दुवै ठाउँमा जिन्स र टिसर्ट लगाएर मोबाइलमा फेसबुक चलाइरहेका तन्नेरी र विदेशबाट फर्किएका प्रौढ पुरुषहरूको दृश्यले कतिपयलाई चकित तुल्याउन सक्छ । पक्कै, युद्धको चपेटामा परेको भनिएको लिबाङमा साततले घर र त्यसमाथि मोबाइलका टावरहरू देख्दा सुरुमा को अचम्मित हुँदैन ? विशेषगरी त्यस्ता मान्छेहरू जो पहिलोपटक रोल्पाली भेट्दा ‘रोल्पाआआ?’ भनी प्रश्न गर्छन् ।

मिलन पुनले काठमान्डु जाँदा त्यस्ता आश्चर्यबोधक प्रश्नहरूको थुप्र्रै सामना गर्नुपर्‍यो ।

‘मैले घर रोल्पा भन्नेबित्तिकै मान्छेहरू ‘रोल्पाआआआ?’ भन्दै अचम्म मान्दै मलाई हेर्थे टाउकादेखि खुट्टासम्म,’ लिबाङ बजारको सडकछेउ एउटा सानो झुपडीअगाडि बिहीबार बिहान घाम ताप्दै अक्सफोर्ड एडभान्स्ड लर्नर्स डिक्सनेरी, आठौं संस्करण ‘पढिरहेका’ २० वर्षे पुनले भने । करातेमा ब्ल्याक बेल्ट, सेकेन्ड डन उनी राष्ट्रिय खेलकुदमा भाग लिन ०६५ मा काठमान्डु जाँदा त्यो अनुभव बटुल्न पाएका हुन् ।

मुख्यतः आँखा (साना तर चिटिक्क परेका) र अलिअलि नाक(हल्का थेप्चो र अनुहारमा ठ्याक्क मिलेको) बाटै खाट्टी मगर(पुन मगर) देखिने यी युवा परेमा दुईचार जनालाई सहजै ढाल्न सक्छन् । के रोल्पाली छवि भनेको सबैलाई कुट्दै हिँड्ने या विद्रोह गरिहाल्ने हो ? हो भने के पुन रिस उठ्नासाथ मान्छे कुटिहाल्छन् त ? त्यो कराते सीप र क्षमता प्रयोग गर्दा आफू हरदम सचेत हुने उनले बताए । ‘त्यसै कुट्दै हिँड्ने कुरा भएन क्यारे,’ आँखै बन्द हुनेगरी तर स्वादिलो हाँसो निकाल्दै ठिटाले भने, ‘तर आक्रमण भएमा चुप लागेर, सहेर बसिन्न । सशक्त प्रतिकार चाहिं गरिन्छ ।’

धेरैजसो रोल्पाली र रूकुमेलीको कुरा सुन्दा यस्तो लाग्छ, द्वन्द्वकालमा उनीहरूले बाध्य भएर सकेका बेला त्यस्तै प्रतिकार गर्नुपरेको र नसकेका बेला भागेर जंगल पस्नुपरेको थियो । या, रूकुमको स्यालापाखाका ३८ वर्षे गणेश पौडेलका सन्दर्भमा खोला पस्नुपरेको थियो ।

मलेसियामा केही समय बिताएर भनेजस्तो पैसा कमाउन नसकेपछि फर्केका उनले द्वन्द्व सकिएपछि बस र त्यसपछि ट्याक्टर किनेर व्यवसाय थालेका थिए । अहिले उनका तीनवटा ट्याक्टर छन् जसबाट सन्तोषजनक आम्दानी मिलेको उनी बताउँछन् । ‘द्वन्द्व जारी रहेको भए म कसरी यसरी काम गरेर पैसा कमाउन सक्थेँ ?’ उनले भने, ‘धन्न द्वन्द्वकालमा पनि मलाई त्यस्तो ठूलो असर परेन ।’

Jeetman and his donkeys

जीतमान र उनका गधाहरू

तर एक दिन गाउँमा सेना आएको हल्ला चलेपछि सबै गाउँलेमा भागाभाग परेको थियो तर पौडेल पनि खुरुर्र दौडेर नजिकैको सानीभेरीमा फाल हालेका थिए । ‘दुइटा ढुङ्गाको चेपमा पुगेर यतियति पानी आउन्जेल डुबेर बसियो,’ उनले भने र दाहिने हत्केलो घाँटीसम्म पुर्‍याए । ‘धन्न पानी तातै थियो ।’

रोल्पालीहरूलाई ‘बितेका पाँच वर्षमा गाउँ र जिल्लामा त्यस्तो के परिवर्तन आयो ?’ भनेर कसैले सोध्यो भने उनीहरू सदरमुकामका मोबाइल फोन टावर र गत वर्ष कालोपत्रे भएको सडकलाई देखाउँछन् अनि कसैकसैले लिबाङबाट देखिने डाँडाहरूमा बगेका कच्ची सडक पनि औँल्याउँछन् अनि कोही चाहिँ आफूहरूलाई दस वर्षपछि धकेलेको गुनासो पनि गर्छन् ।

‘द्वन्द्वकालमा रोल्पाका गाउँहरूमा बजेट जान पाएन,’ एमाले समर्थित गैरसरकारी मानवअधिकारवादी संस्था इन्सेकसँग लामो समय काम गरेर दुई वर्षअघि छाडेका रोल्पाली घनश्याम आचार्यले भने, ‘गए पनि कागजमा गयो, काम केही भएन जब कि प्यूठानमा त्यस्तो अवस्था रहेन, पैसै गयो गाउँमा र सुरक्षित ठाउँमा केही न केही काम भयो ।’ संविधानसभामा (विभिन्न निर्वाचन क्षेत्रबाट) १३ जना रोल्पाली सभासद पठाउने जिल्लाले चुनावयता पनि केन्द्रीय योजनाहरू पाउन नसकेको केही रोल्पालीहरू गुनासो गर्छन् । रोल्पाका माओवादीहरू पैसा कमाउनतिर लागेको, अहिले गाउँमा टिनले छाएका र सोलार भएका घर शंकै नगरी माओवादीका हुन् भन्न सकिने अवस्था सिर्जना भएको पनि आचार्यले बताए । सिद्धान्तका ठूला गफ छाडेर युद्ध गरेका माओवादीहरू अहिले ‘ठेक्कापट्टा, डोजर आदि मार्फत धन कमाउन लागेको’ आचार्यले बताए ।

मगर र क्षत्रीहरूको प्रतिस्पर्धात्मक जनसंख्या भएको रोल्पामा आचार्यजस्ता बाहुनहरू निकै कम छन् । उनीहरू लिबाङमै केन्दि्रत छन् । तर बाहुनै भए पनि रोल्पाली भनेपछि बाँकी नेपाली समाजले ‘अर्कै दृष्टिले हेर्ने गरेको अनुभव’ आचार्यसँग पनि छ । द्वन्द्वकालमा दाह्री पालेका उनी एकपटक नेपालगन्जबाट काठमान्डु जाँदै थिए । सँगैको सिटमा बसेका सहयात्रीले सोधेको एउटा प्रश्नको जवाफ दिएपछि उताबाट जवाफ आएको थियो, ‘रोल्पाआआआ?’

‘त्यसपछि ती सहयात्रीको मुखको रंग उड्यो, उनी त्रसित जस्ता देखिए,’ आचार्यले सम्झिए, ‘अनि मैले मेरो परिचयपत्र देखाएर उनलाई आश्वस्त पार्नुपर्‍यो ।’ रोल्पाली भएकैले एकपटक प्रहरीले पक्रिएको पनि उनले बताए । ‘त्यतिबेलाको कुरै छाडौँ, म अहिले पनि माओवादी होइन,’ उनले भने, ‘तर पुलिसलाई र अन्य मानिसलाई पनि लाग्दोरहेछ, सबै रोल्पाली माओवादी हुन् ।’

हुन त संविधानसभा चुनावमा रोल्पाका दुवै क्षेत्रबाट माओवादी उम्मेदवारहरूले (पुष्पकमल दाहाल र जयपुरी घर्ती) आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा निकै बढी मत ल्याएर जितेका थिए -क्रमशः २८ हजार र २१ हजार अन्तर थियो) ।

‘युद्ध यहाँबाट सुरु भयो भन्दैमा सबै माओवादी कहाँ हुन्छन् र ?’ रूकुमका काक्री गाउँका २७ वर्षे जगत विकले गाउँमास्तिरको जंगल सँगैको आफ्नो घरमा अघिल्लो साताको एक साँझ बास माग्न आएका एकजना संवाददातालाई भनेका थिए । भिनाजुसँगै ज्यामी गर्न रसुवाको धुन्चेस्थित चिलिमे जलविद्युत् आयोजनामा काम गर्न भनी २०५७ मा काम गर्न जाँदा ‘यो रूकुमका मान्छे यहाँ कसरी’ भन्दै नुवाकोटमा सेनाले उनलाई पक्रेको थियो । ‘लास्टै चुट्यो,’ आठ कक्षासम्म पढेका उनले सम्झिए, ‘तेरो बाउ माओवादी कमान्डर हो भन्दै ।’ केही महिना चिलिमेमा काम गरेपछि २०५९ मा बिहा गरेर २०६१ मा विक कतार उडेका थिए । भनेजस्तो तलबै नमिलेपछि र बिरामी पनि भएपछि फर्किएका उनी अहिले घरै माथिबाट गएको निर्माणाधीन सडकमा ज्यामी गर्छन् ।

खासमा उनी माओवादीले ‘हिँड सेनामा’ भनेर वाक्क पारेपछि त्यसबाट बच्न जागिरको खोजीमा भौतारिँदै नुवाकोट पुगेका थिए । ‘पछि पनि कार्यक्रम, अभियानतिर जानुपर्छ एक घरको एकजना भन्दै च्याप्न थालेपछि उम्किन विदेश गइयो,’ श्रीमतीसँग स्थानीय खाम मगर भाषा फरर्र बोल्ने तर त्यो नबुझ्ने पाहुनासँग नेपालीको प्रयोग गरेका उनले पुराना दिन सम्भिmए । उनका दाइ अफगानिस्तानमा छन्, भाउजू पोखरामा । आफूले माओवादी द्वन्द्वका कारण स्कुल छाड्नुपर्दा पढ्न नसके पनि छोरालाई राम्रो शिक्षा दिन चाहना राखेका विकले बच्चालाई भाउजूसँगै कास्केली नगरमा पठाएका छन् । ‘अहिले त कहाँ हो कहाँ राम्रो छ,’ बितेका पाँच वर्षको अवस्थाबारे सोध्दा उनले भने, ‘द्वन्द्व बेला आएको भए तपाईंलाई यसरी बास दिन म कहाँ सक्थेँ । कम्तीमा श्रम गरेर छोरा पढाउन पाएको छु, त्यो पनि म कहाँ गर्न सक्थेँ द्वन्द्वकालमा ?’