Tag Archives: शाहरुख खान

भारतको ‘ठाकरेतन्त्र’

भारतको ठाकरेतन्त्र

ठुलो पार्न तस्बिरमा क्लिक गरे हुन्छ

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

कुनै पनि तर्कशील भारतीयले अलिकति तल पर्नेबित्तिकै प्रतिरक्षात्मक शैलीमा देशको जनसंख्या र राजनीतिक प्रणालीलाई संयोजन गर्दै भन्छ- ‘तर हामी संसारकै सबैभन्दा ठूलो लोकतन्त्र ।’

‘जब उनीहरूले त्यसो भन्छन्’, दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयका एकजना विद्यार्थीले भने- ‘जवाफमा हामी संसारकै सबैभन्दा अग्लो लोकतन्त्र भन्दिनुपर्छ ।’

‘ठूलो’ र ‘अग्लो’ लोकतन्त्रका आ-आफ्नै खाले चुनौती छन् । तर हालैका केही वर्षमा दुवै लोकतन्त्र आ-आफ्ना देशका भङ्ज्याहा र क्षेत्रीयतावादीहरूसँग लडिरहेका छन् । भारतमा पछिल्लो लडाइँ मुम्बईमा भइरहेको छ, जसका कारक भाषा, धर्म र लडाकुहरूको इगो छन् ।

धेरै देशका खेलाडीहरूको व्यक्तिगत स्तरमा सहभागिता हुने भारतीय क्रिकेट शृङखला ‘इन्डियन पि्रमियर लिग (आईपीएल)’ का आठ टोलीहरूले लिलाम बढाबढमार्फत ती खेलाडीहरू किन्छन् । गत महिना भएको बढाबढमा सामेल सबै ११ पाकिस्तानी खेलाडीहरूलाई कुनै पनि टोलीले किनेनन् । ती खेलाडीले भारतमा हुने आईपीएल खेल्न सरकारको पनि स्विकृति लिइसकेका थिए । बढाबढमा सामेल गराएर पनि कुनै खेलाडीलाई नलिइँदा आफ्नो तेजोबध भएको पाकिस्तानले महसुस गर्‍यो । भारतमा पनि त्यस्तो व्यवहार खेलको भावना विपरीत भएको टिप्पणी भयो ।

दुवै देशमा चर्को विवाद चलिरहँदा आईपीएल टोली ‘कोलकाता नाइट राइडर्स’का मालिक शाहरुख खानले आईपीएल खेल्ने संरचना (टी २०) मा पाकिस्तान विश्व च्याम्पिएन भएको उल्लेख गर्दै पाकिस्तानी खेलाडीहरू नकिनिइनु दुःखद भएको बताए ।

खानको त्यही भनाइलाई अठ्याउँदै मुम्बई राजधानी भएको राज्य महाराष्ट्रमा आधारित पार्टी शिवसेनाले यही शुक्रबार सार्वजनिक हुनलागेको फिल्म ‘माई नेम इज खान’ चल्न नदिने घोषणा गर्‍यो । सेनाको धम्कीलाई बाँकी भारतले प्रतिवाद गरेपछि अहिले मुम्बईमा दुईवटा युद्धहरू लडिँदैछन्, जसको अर्कोपट्टी एक्लो सेना छ । एउटा लडाइँमा उसले खानलाई ‘राष्ट्रघाती’ भनेको छ, अर्कोमा ‘मुम्बई सबै भारतीय’को भन्ने राहुल गान्धीलाई शुक्रबार कालो झण्डा देखाएको छ । भारतको कुनै पनि भूमिमा जान पाउनु कुनै पनि भारतीयको अधिकार भएको तर्क गर्दै गान्धीले गत साता विहार पुगेर विहारीहरूका पक्षमा बोलेका थिए ।

शाहरुख खान पनि ‘मुम्बई सबै भारतीयको’ भन्ने पक्षमा छन् भने राहुलको पार्टी कंग्रेसको नेतृत्वमा रहेको महाराष्ट्र सरकारले खानको फिल्म देखाउन हलवालाहरूलाई चाहिएजति सुरक्षा दिने प्रतिबद्धता जनाएको छ ।

सतहमा सानो फाइदाका लागि भएको राजनीतिक झगडाजस्तो देखिए पनि विवादको मूल चुरो भारतीय राष्ट्रियताको परिभाषासँग जोडिएको छ । भारत भनेको के हो र को भारतीय भन्ने प्रश्नहरूका परस्पर विरोधी अर्थ खोज्नेहरू बीचको झगडा हो यो । उग्र हिन्दुवादी, क्षेत्रीयतावादी र दक्षिणपन्थी शिवसेना र त्यसबाट टुक्रिएको धर्मनिरपेक्ष, क्षेत्रीयतावादी र दक्षिणपन्थी समूह महाराष्ट्र नवनिर्माण सेना मुम्बईमा विहार र युपीका मानिसहरू आएर बस्नु र हिन्दी बोलिनु हुँदैन भन्छन् । उनीहरूको त्यो अडानले बितेका २५ वर्षयता शिवसेनासँग सहकार्य गर्दै आएको र राष्ट्रिय उपस्थिति भएको हिन्दुवादी भारतीय जनता पार्टी (भाजपा) लाई निकै अप्ठेरोमा पारेको छ । यसै वर्षको अन्त्यतिर विहारमा चुनाव हुँदैछ, जहाँ भाजपा सत्तासाझेदार छ । मुम्बईमा विहारीहरू आउन नदिने कुरा गर्दा युपी र विहारबाट आफ्नो राजनीतिक सफाया हुने भाजपाले बुझेको छ ।

भाजपामा महत्त्वपूर्ण प्रभाव राख्ने र भारतका हिन्दु संगठनहरूको परिवारको मूली मानिने राष्ट्रिय स्वयम्सेवक संघले गएसाता शिवसेनालाई क्षेत्रीयताको र हिन्दी विरोधी कुरा नगर्न चेतावनी दिँदै सबै भारतीयहरूको एउटै राष्ट्रिय पहिचान (भारतीय) भएको बतायो । संघले त्यतिमात्रै भनेन, कतिपय विश्लेषकहरूलाई आश्चर्यमा पार्दै, शिवसेनाले खानको फिल्म रोक्न खोजे त्यसको प्रतिकार गर्न आफ्ना स्वयम्सेवकहरूलाई निर्देशन पनि दियो । संघकै अनुशरण गर्दै भाजपाले पनि मुम्बई सबै भारतीयको भएको र खानको फिल्म प्रदर्शनमा कुनै अवरोध गर्न नहुने बतायो । उसले आफ्ना उच्च नेताहरूका लागि दिल्लीमा फिल्मको विशेष प्रदर्शनी नै गर्‍यो ।

शिवसेनाले एकैपटक दुईवटा मोर्चामा नचाहिँदो ढंगले युद्ध छेडेकाले अहिलेको विवादमा एउटा हिन्दी फिल्ममा हुनुपर्ने जति सबै मसला छन्- नायक छन् (खान), खलनायक छन्, (शिवसेनाका बाबु-छोरा नेताहरू बाल र उद्धव ठाकरे) र अन्य पात्रहरू छन्, जो खान तथा ‘मुम्बई सबैको’ मुद्दालाई आ-आफ्नै ढंगले समर्थन गर्छन् । उनीहरूको विरोध गर्नेहरू असंख्य भइकन पनि मुम्बईका ठाकरेहरूले गुन्डागर्दी राजनीतिलाई खुलेआम निरन्तरता दिइरहेका छन् ।

उनीहरुले आफ्नो पार्टीको मुखपत्र ‘सामना’मा खानलाई ‘राष्ट्रघाती’ र ‘पाकिस्तान जा’ भनेका छन् । फिल्न नदेखाउन हलवालाहरूलाई चेतावनीयुक्त पत्र लेखका छन् । सरकार र प्रशासन मुम्बईमा नभएजस्तै छ । बरु नागरिक समाजले व्यापक रूपमा खानलाई समर्थन गर्नथालेपछि ठाकरेहरू आफैं हच्केर शनिबार ‘खान देशद्रोही नै हो’, तर ‘उसले फिल्म चलाए चलाओस्, व्यवधान नगर्ने’ टिप्पणी गरेका छन् ।

मुम्बई र बाँकी महाराष्ट्रमा थुप्रै नेपाली बस्छन्, जसले ठाकरेहरू र तिनका पार्टीलाई देखेको, भोगेको र थाहा पाएको हुनुपर्छ । थाहा नपाउने नेपालीले ठाकरे र तिनका ‘सेना’हरूबारे बुझ्नुपरे नेपालका माओवादीलाई हेरे हुन्छ । राजनीतिक सिद्धान्त र आदर्श फरक भइकन पनि ठाकरे र ‘सेना’हरूले हाम्रा माओवादीको सम्झना गराउँछन् । दुवैको कार्यशैली ठ्याक्कै उस्तै छ- धम्क्याउने, थर्काउने, कुट्ने र आफूले भनेजस्तो भएन भने बन्द-तोडफोडमा उत्रिहाल्ने ।

दुवै बेला-बेलामा संगठिन आपराधिक ग्याङजस्तै देखिन्छन्, जो आफ्ना सक्रिय, बलिया र रिसाहा कार्यकर्तालाई नेताको इगो साध्न चेसको गोटीझै‌ प्रयोग गर्छन् । व्यापक जनदबाबपछि ठाकरेहरू फिल्म देखाए देखाओस् भन्दै पछाडि हटेजस्तै नेपालमा माओवादीहरू पनि यदाकदा त्यसैगरी जनदबाबसामु झुकेका उदाहरण छन् ।

‘अग्लो लोकतन्त्र’ माओवादी र अन्य क्षेत्रीयतावादीको चपेटामा परेजस्तै ‘ठूलो लोकतन्त्र’ शिवसेनाजस्ता ग्याङहरूको कुलंगारिता टुलुटुलु हेरिरहेको छ । अनि सरकार र नागरिकलाई वाक स्वतन्त्रता दिने भारतीय संविधान र लोकतन्त्र हेरेको हेरेकै भएका छन् । आणविक हतियार परीक्षण गरेको, अर्थतन्त्र ७ प्रतिशतमा बढ्ने अपेक्षा गर्ने र विश्व मामिलाको मुख्य खेलाडी बन्ने आसा गर्ने भारतीय सत्ताका सेनाजस्ता साना क्षेत्रीय समूहहरूका अगाडि निरीह हुने गर्छ । ती समूहले कानुनको धज्जी उडाउँछन्, संविधानलाई कुल्चिन्छन्, तर त्यसको रक्षा गर्ने सरकार चुप लाग्छ । भारतीय संघीयता र सत्ता संरचनामा केही न केही त्रुटि पक्का छ ।

यो लेख पहिलो पल्ट आजको कान्तपुर  दैनिकमा प्रकाशित भएको हो । पत्रित्रकाकै पन्नामा हेर्ने भए माथीको तस्बिरमा क्लिक गरे हुन्छ ।

सम्बन्धित: Shah Rukh Khan: Don’t Apologize to Shiv Sena