Tag Archives: सडक

शहरिया: बानी हाम्रो नराम्रो

traffic awareness harding board tinkune

सडक स्तरीय छ, तर हाम्रो बानी ? तस्बिर- कान्तिपुर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सुनामी र भुकम्पले गराएको क्षती र आणविक सन्त्रासलाई टाढाबाट हेरेका हामी मध्ये कतिले ट्वीट्टरमा #prayforjapan भन्दै जापनका लागि प्रार्थना गरेका हुनुपर्छ । ठिकै छ, सबै ‘जनता’ले नगरेपनि हाम्रो कुरा बुझ्ने (कस्तो खोकी लाग्यो) सरकारले जापानलाई सुख्खा विस्कुट र कम्बल सहयोगार्थ पठाएको छ । त्यसबारेको समाचार जापानकै क्योडो न्यूजले पनि लेखेपछि भ्वाइस अफ अमेरिकाका पत्रकार स्टिभ हर्म्यानले यस्तो ट्वीटे– ४ सय ५० डलर बाषिर्क प्रतिव्यक्ति आम्दानी भएको नेपालले ३० हजार डलर वाषिर्क प्रतिव्यक्ति आम्दानी भएको जापानलाई विस्कुट सहयोग पठाउदै छ रे ।’

दुइवटा प्रतिक्रिया मनमा आए । ओहो, हामीले जापानलाई सहयोग पठाउदै छौ ! पहिलो प्रतिक्रियालाई बगाउने सुनामी चाहि मनमा त्यो ट्वीटमा भएका अंङकहरुबीचको खाडलले ल्यायो । हामी कति गरिव छौ है ? त्यति धनी देशले हाम्रो सहयोग लिइदिएर कतै हामीलाई आत्मसन्तुष्टिको कारण दिएको छैन ? यस्तै प्रश्न मनमा उठ्छन् जव म तीनकुने-सूर्यविनायक खन्डको तीनकुने-जडिबुटी सडकमा दिनको दुईपटक हिड्छु । अनि मनमनै जापानलाई धन्यवाद दिन्छु- यति राम्रो सडक बनाइदिएकोमा ।

तर फेरी हाम्रो गरिवी जसले हामीलाई ती सुन्दर संरचना राम्ररी प्रयोग गर्नबाट रोक्छ । आर्थिक मात्र होइन, मानसिक पनि । चेतनाको अभाव । सडक कहाबाट तर्नुपर्छ ? कुन बत्ति बल्दा कार रोक्नुपर्छ ? के ती कुरा हामीलाई, जतिसुकै गरिव भएपनि, थाहा छैन ? तर हामी नियमअनुसार गर्छौ ? गत शुक्रबार सकिनेगरी जापानीहरुले नै तीनकुने-कोटेश्वर-जडिबुटीमा स्थापना गरेका ट्राफिक बत्तिहरुलाई गाडीहरुको भेलसँग सहजै समायोजन गर्न साताव्यापी चेतना अभियान चलाए । सूचना टासे (तस्बिरमा) । नेपाली स्वयंसेवकहरुले रातो बल्दा पनि दौडिने हामीलाई रोके र हरियो बलेपछि मात्र बाटो तर्न सिकाए । रातो बल्दा आफूलाई राजा ठान्दै गाडी बढाउने हामीहरुलाई स्वयंसेवकले बीचैमा रोकेर लाजमर्दो पारे । लाजमर्दो ? हामीलाई लाज हुन्छ र?

‘पख्नुस, पख्नुस,’ रातो बत्ति बलिरहेको बेला सडक तर्न खोज्ने एकजना अधर्य पुरुषलाई पाखुरामा अठ्याउदै स्वयंसेवकले भने- ‘तपाईलाई मात्र हतार छ ?’

त्यतिन्जेलमै अर्की महिला सडकमो बीचमा पुगिसकेकी थिइन् जुसलाई गुडिरहेको मीनिबसले हान्ला जस्तो भइरहेको थियो ।

गाडीहरुका लागि रातो बत्ति बलेसँगै पैदलयात्रुका लागि हरियो बल्यो । तर लगनखेलतिरबाट आइरहेको बा १ ख ७१३५ को मिनिबसका चालकलाई पर्खिने धैर्यता भएन । स्वयंसेवक दौडिएर बसैअगाडी उभिनुपर्‍यो- ‘लु, मैमाथि भएर जाउ’ भन्ने फिल्मी शैलीमा । रातो बत्ति बलिरहेको छ, गाडीले रोकिनुपर्छ- तर बा ८ च ६०१५ को कारका चालकले चाहि आफूलाई शायद नियम मान्नु नपर्ने छोटे राजा ठाने । उनी जवर्रजस्ती जान खोजिरहेपछि ट्राफिक प्रहरीले सिठ्ठी बजाएर रोक्नुपर्‍यो र उनको सिसामा लगाएको स्टिकर -जो नियम विपरित थियो) उप्काइदिनु पर्‍यो । ‘रातो बलेपछि गाडी राक्नुपर्छ, थाहा छैन ?’ ट्राफिकले उनलाई हपारे । लाचार उनी रातो अनुहार बनाउदै ‘थाहै भएन’ भन्न थाले ।

हो, विश्वका शहरहरुको तुलनामा काठमान्डू एउटा ठूलो गाउँ जस्तै छ- झन्डै स्लम या झुपडपट्टी जस्तो । तर शहरलाई ‘सुन्दर देशको राजधानी’ पगरी गुताएपछि हामी ‘शहरिया’को त्यति पनि कर्तव्य हुदैन कि हामी विस्कुट खाएपछि खोल फ्यात्त सडकमा नफालौं ? या, अरुका कानै फुट्ने गरी चिच्याइचिच्याई मोवाईलमा कुरा नगरौं ?

‘सबैभन्दा ठूलो समश्या त्यही छ,’ शहरी योजनाबारे जानकार इन्स्टिच्युट अफ इन्जिनियरिङ्, पुल्चोककी सहायक प्राध्यापक संगीता सिंहले भनिन्- ‘बानीव्यहोरा छैन मान्छेहरुमा ।’ थाहा भएर पनि मानिसहरुले नियम नपछ्याउने गरेको उनले बताइन् । ‘सजायको व्यवस्था नभएर त्यस्तो भएको,’ संगीताले भनिन्- ‘सिंगापुरमा सजायको व्यवस्था भएकाले मान्छे सडकमा फोहोर फाल्न डराउछन् ।’

शायद संगीताको त्यो सुत्र प्रभावी हुनसक्छ हामीलाई नियममा बाध्न । नभए जापान या अन्य मुलुकले जे जस्ता पूर्वाधार बनाइदिएपनि तिनलाई हामी बादरले झै विगार्छौ -ट्रलि, साझा बस आदि) । तीनकुने-सुर्यविनायक खन्डमा ढिलो/छिटो गुड्नेलाई त्यहीअनुसारको लेनको व्यवस्था गरियो तर त्यसलाई नबुझी दौडिदा मानिसहरु दुर्घटनामा परे । माल छ, तर त्यो उपयोग गर्ने ‘चाल’ छैन । स्कुलमा पढाएर पनि नहुने रहेछ यस्तो कुरा । कोटेश्वरमा ट्राफिक व्यवस्थापन गरिरहेका स्वयंसेवकले भने- ‘स्कुले बच्चा सबैभन्दा बढी नियम मिच्ने ।’ के भएको शहरमा ?

हामीले कोरियामा किनेर पठाएको सुख्खा विस्कुट टोक्दै गर्दा जापानीले भन्लान्- धन्यवाद नेपाल ! तर हामीलाई सबैभन्दा खुशी त्यति बेला हुने छ जव नेपालीहरु हामीले बनाइदिएको सडकमा नियमपूवर्क हिड्न जान्दछन् ।

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो ।

रोसी खोला तिरैतिर

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।


कोठामा छिर्नेवित्तिकै मलाई न्यूयोर्क टाइम्सको फेसनप्रधान परिशिष्ट स्टाइल म्यागेजिनको पन्ना पल्टाएजस्तो लागेको थियो ।

कोठा के, घरको पुरै दोस्रो तल्ला थियो त्यो जसको दाईने कुनामा खोस्टा थुप्रिएका थिए, देब्रेमा भकारी। बाँकी दुई कुनामा दुई डबल भुई–बिच्छ्यौना पल्टेका थिए। र, दाइनेपट्टीको ओछ्यानमा ऊ लमतन्न पल्टेको थियो अन्डरवेयरको सानदार विज्ञापन गर्दै। ढोकैमा उभिएको र हावासँग संघर्ष गरिरहेको धिपधिपे मैनको उज्यालोमा कट्टुको ब्रान्ड ठम्याउन माइनस वान प्वाईन्ट टु फाइभको चस्मा लगाउने मेरा आखालाई अप्ठेरो हुनु स्वभाविकै थियो। केही क्ष्ँणकै लागि सही मैले विश्वास गर्न चाहे ऊ केल्भिन क्लाईनको स्तरीय उत्पादन लगाइरहेको एउटा मोडल हो जो स्टाइल या त्यस्तै कुनै उत्कृष्ट म्यागेजिनमा छापिने विज्ञापनमा प्रयोग हुने फोटो खिचाउन कुनै एउटा डिजाइनर सेटमा उत्तानो परेर सुतिरहेको छ।

तर सुखद चाहनाहरु कटु वास्तविकता भन्दा प्रायः अलि फरक हुन्छन्। हामी इटालीको नेपल्समा होइन सिन्धुलीको नेपालथोकमा थियौं। ऊ दिनभरी गाडी चलाएर थाकेको ड्राइभर थियो जो, म पक्का थिए, त्यतिबेला मोडलिङ्भन्दा बढी निद्राबारे सोचिरहेको थियो। दिनभरी काभ्रेको पाचखाल–रवीओपी हिले कच्चीबाटोमा र साँझ चिल्लो बीपी राजमार्गमा गरी दर्जनौ किलोमिटर बाइकमा हुइकिएर त्यहाँ पुगेका दुई थकित रिपोर्टर प्रश्नको मुडमा खासै थिएनन् तर एउटाको दिमागमा अघिल्लो साता जय नेपालमा हेरेको बलिउड सिनेमा ‘रक अन’को त्यो रमाइलो गीत गुन्जिरहेको थियो–

आसमा हे निला क्यू, पानी गिला गिला क्यू, गोल क्यु हे जमीन?
सिल्क मे हे नर्मी क्यु, आगमे हे गर्मी क्यु, दो ओर दो पाच क्यु नही?

किन त्यस्तो हुन्छ, कसैले सोचेको छ? सन्नाटा किन सुनिदैन? हावा किन देखिदैन? थाकेर सुत्दा पनि किन निद्रा लाग्दैन? नजिकैको रोसी र अलिपरको सुनकोशीबाट विहानीपख आउने हावालाई यो सिरकविहीन खोलले थेग्छ थेग्दैन?

‘हेएएए, थेग्छ,’ केल्भिन क्लाईन मोडलले मेरो शंका निवारण गर्न भन्यो जो मैले अपेक्षा गरेको थिइन। ‘यस्तो गर्मीमा खोल काफी छ,’ उसले थप्यो– ‘जाडो हुदैन यहाँ।’

उसले हाम्रो ओछ्यानमा भएजस्तै एउटा सेतो खोल तान्यो र कम्मरदेखि तिघ्रासम्म छोप्यो। उत्तानो परेको उसको छाती फराकिलो र खुला छ। मान्छे आफैमा चाहि ऊ लिखुरे छ। Continue reading

सडक र साहिद

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।

shahid malik

‘विकासे काममा लाग्नुअघि म सडक जति झ्याउलाग्दो अरू केही हुँदैन भन्ठान्थें,’ उनले भने- ‘अहिले मलाई लागेको छ सडक जादुमयी कुरा हुन्, जसले ग्रामीण भेगका बासिन्दालाई जीवन दिन्छन् ।’

‘आस्लामअलिकुम’ मलिक साहब !

साहिद मलिक । बेलायतका प्रथम मुस्लिम मन्त्री जो आफ्नो मन्त्रालय ‘अर्न्तराष्ट्रिय विकास विभाग’ (डिफिड) को एसिया शाखा हेर्छन् । राजनीतिक स्थायित्वप्रति लक्षित आयोजनादेखि सडक निर्माणसम्ममा सहयोग गर्दै आएको डिफिडको नेपालमा उल्लेख्य उपस्थिति छ । त्यसैले गत साता नेपाल आएका मलिकले काठमाडौंका ‘शक्तिशाली’ देखि काभ्रेका ‘निमुखा’ र ‘अशिक्षित’ महिलाहरूलाई भेटेर हास्यचेतले भरिएका अन्तरक्रिया गरे, जसबारे अलिपछि उल्लेख हुनेछ ।
shahid malik

बेलायती उपन्यासकार तथा राजनीतिज्ञ जेफ्री आर्चर अघिल्लो महिना भारतमा थिए- आफ्नो पछिल्लो उपन्यास ‘अ प्रिजनर अफ बर्थ’ को प्रवर्द्धन गर्न । त्यो मौकामा एनडीटीभीका लागि द इन्डियन एक्स्प्रेसका सम्पादक शेखर गुप्तासँग कुरा गर्दै उनले भनेका थिए- ‘बेलायतमा अहिले भारतीयहरूले जे गरिरहेका छन्, त्यो ३०-४० वर्षअगाडि यहुदीहरूले गरेका थिए । भारतीयहरूले अहिले स्थानीय परिषद्हरूको नेतृत्व लिइरहेका छन् । इंग्ल्यान्डमा भारतीय प्रधानमन्त्री भएको देख्न तपाईं बाँच्नुहुनेछ ।’ Continue reading