Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

रुखमुनी रत्नपार्क

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
[यो लेख आजको कान्तिपुर कोसेलीमा प्रकाशित भएको हो ।]

ratna park under a tree
डडुवा-६, रामेछापका हिमबहादुर रानामगरलाई अगाडी राखेर जोशिदै र हात फैलाउँदै गफिएका कमल थापा

‘अब सम्बिधान बनाउन…’ उनले भने ।

‘उनीहरुकै बहुमत चाहियो..,’ अर्काले बीचैमा थपे ।

‘अँ, उनीहरुकै बहुमत चाहियो..,’ उनले त्यसलाई स्विकार्दै आफूलाई निरन्तरता दिए- ‘अब संविधान बनाउन (पार्टीका) एजेन्डा चाहि उस्तै छन् । सबै कुरा मिल्छन्, विचार मिल्छन्, तर जाने बेलामा चाहि यहाँ लर्डाई ? सम्बिधानका धारा पास गर्न दुइ तिहाई चाहिन्छ भनेको छ क्यारे, यो हिसावले हो भने भोली पासै गर्न गाह्रो हुन्छ । अर्ढाई बर्षा के नौ बर्षा पनि हुदैन । हो कि होइन भन्नु त ?’

ratna park under a tree
कमल थापा सहितको समुह संविधान सभा बनोट र आगामी सरकारको नेतृत्वबारे गफिइरहदा एक मिटर पर्तिर एउटा अर्को झुन्डले घेरिएका ३३ बर्षे बालकृष्ण गिरी र ७० बर्षे खवीराज कोइराला आफ्नै तालमा व्यस्त थिए ।

किन नहुनु ? ठ्याक्कै विषय प्रवेश गर्नु अघि उनकै कुरा गरौं । उनी हुन् कमल थापा । ‘राजासहितको प्रजातन्त्र’को वकालत गर्दै चुनाव लड्दा मकवानपुरमा जमानत गुमाएका राप्रपा नेपालका नेतासँग उनको नाममात्रै मिलेको हो, विचार ठ्याक्कै उल्टो छ । ठूला अंग्रेजी अक्षरमा ‘एभ्री गार्मेन्ट’ लेखेको सेतो सफा टीर्-र्सटलाई कालो पाइन्ट भित्र घुसारेर टिमिक्क बेल्ट बाधेका यी २७ बर्षो कमल थापा खासमा चन्दनपुर, संखुवासभाका हुन् । चुनाव अघि गाऊ पुगेका उनले भोट काठमान्डू-१ मा खसाए । अहिले, घामले टट्टीएको यो मध्यान्हमा, उनी रत्नपार्कमा छन्- जहाँ उनी अपरिचित तर राजनीतिमा गहिरो चासो राख्ने र नेपालका विभिन्न भागबाट पुगेकासँग खुलेर गफिइरहेका छन् ।

पार्कको अघिल्लो भागमा ठडिएका दुइ रुख मुनी उभिएर या बाटो छेउका बारमा बसेर गफिने व्यक्तिहरुको समूह पहिलोपटक देख्दा मैले ठानेको थिए- त्यहा कुनै क्लव या त्यस्तै कुनै समुहको बैठक भइरहेको छ । कुरा राजनीतिक थिए, सहभागीले जमेर तर्क र अनुमान गरिरहेका थिए, कोही यस्तै हुनुपर्छ या हुन्छ भनेर ठोकुवा गर्दथे । केही मिनेटमै थाहा भयो- आपसमा गफिएका उनीहरुले एकले अर्कालाई चिनेका छैनन्, चिन्नेहरुको चिनाजानी पनि त्यही भएको हो ।

ratna park under a tree
रुखमुनीको रत्नपार्क

छलफल कति सघन हुन्छन् भने एकजनाले कुरा गर्दा सहभागीहरु अत्यन्त चासो दिदै, बीचबीचमा फुत्त एकाध शब्दका प्रतिक्रिया फ्याक्दै, मुन्टो हल्लाउदै, वक्ताको आँखामा आँखा मिलाउदै कुरा सुन्छन् । कमल थापाले ठूलो, आधिकारिक र सूसूचित जस्तो लाग्ने स्वरमा ‘संविधान लेखन’बारे त्यति भन्दैगर्दा कम्तिमा पाँच जनाले हल्का उत्तेजित हुदै ‘हो, हो,’ ‘उनीहरुलाई नै बहुमत चाहिने’, ‘गर्दैनन्, गर्दैनन् यिनले’, ‘त्यै त मिलेर पो जानुपर्ने’ जस्ता अभिव्यक्ति दिएका थिए ।

रिपोर्टिङ्का सिलसिलामा या त्यतिकै पनि शहरका सडकमा र्दौडिइरहने म पछिल्लो पटक कहिले रत्नपार्क छिरेको थिए सम्झना छैन । खासमा बस/टेम्पोका कन्डक्टरहरुमार्फ सबैभन्दा बढी सुनिने ‘रत्नपार्क’ लाई मैले पार्ककारुपमा पनि लिएको थिइन । गाडी चढ्ने/ओर्लिने या काठमाडौंकै अन्य स्थान जान ‘ट्रान्जिट’कोरुपमा प्रयोग गर्ने ठाउँ ! नामै पनि कति चल्तिको छ भने लोकतन्त्र आन्दोलन पछि सामन्ती राजसंस्थासँग सम्बन्धित नामहरु बदल्ने लहर चल्दा ज्ञानेन्द्रकी आमाको नामबाट राखिएको यसको नाममा बदलाव आएको छैन । जवकी नजिकैको रत्नराज्य क्याम्पसलाई विद्यार्थीहरुले नेपाल मानविकी बनाएको उहिल्यै जस्तो लाग्न थालिसक्यो ।

अनेकौ खाले वक्ताका लागि बोल्ने एउटा कुनो (स्पिकर्स कर्नर) को व्यवस्था भएको लन्डनको हाइड पार्क या न्यूयोर्कको सेन्ट्रल पार्क जति सफा, सुन्दर र भव्य नभएपनि यो रत्नपार्कले शहरमा भौतारिदा थाकेकाहरुलाई टुसुक्क बस्ने या ढल्किएरै आराम गर्ने स्थान दिएको छ । राजनीतिक बहस गरिरहेका ती मान्छेको झुन्डदेख्दा मलाई नयाँ कुरा आविस्कार भएजस्तै लागेको थियो । ठूला मन्चहरुमा आफ्नो कुरा राख्ने मौका नपाउने, मिडियाले अर्न्तवार्ता नलिने, कसैले कुनै सभा या कार्यक्रममा भाषण गर्न ननिम्त्याउने यी मानिसहरु यहाँ, शहरका व्यस्तहरुले पटक्कै नदेख्ने ठाउमा गज्जवको बहस गरिरहेका छन् । शब्दको परम्परागत अर्थमा यी मानिस न ‘उच्चस्तरीय राजनीतिक कार्यकर्ता’ हुन् न ‘शक्तिका खेलाडी’ । उनीहरु सडकका मान्छे हुन्, वास्तविक अर्थमा जनता हुन् जो सिर्फआफूलाई अभिव्यक्ति गर्न चाहन्छन् ।

ratna park under a tree
रुखमुनी लहरै

‘अब कुरा के भने नि,’ साना अन्य स्वरले आ-आफ्नै तर्क गरिरहदा कमल थापाले ठूलो स्वरमा भने- ‘माओवादीले एउटा बाटो लिएर जाने हो । ठिक बाटो ।’ उनी एकछिन रोकिए र फेरी बोल्न थाले- ‘लिएर जाने होओओओ, छोडिने छोडिदै गर्छन्, ठिक हुने अगाडी गइजान्छन् । जादा खेरी सहकार्य गरेरै जाने हो ।’

कमलका भनाई माओवादीका पक्षमा भएजस्तो लागेपनि केही घन्टा उनीहरुका ताता बहस सुनेपछि मलाई लाग्यो उनीहरु निश्चित एउटा पार्टीसँग आवद्ध छैनन्, भएपनि त्यो उनीहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरो होइन र आमरुपमा गत चैत २८ को चुनावी नतिजालाई उनीहरुले ताली बजाएर या मौन स्वागत गरेका छन् । या त्यसको विरोध गरेका छैनन् । परिवर्तन हुनै पर्दथ्यो, उनीहरुको कुराकानीको सार थियो, एमाले-काङ्ग्रेस नराम्रा होइनन् तर तिनीहरुको नेतृत्व पुरानो, र्ढरा पुरानै । माओवादी आए, अब उनीहरुलाई एक मौका दिउँ । अर्थात, त्यो चर्चित चुनावी विज्ञापनमा भनिए जस्तै- अरुलाई हेर्यौं पटकपटक, माओवादीलाई हेरौ यसपटक !

‘अब ऊ रामचन्द्र पौडेल काङ्ग्रेसले नै नेतृत्व गर्नुपर्छ भन्दैथ्ये रे आज विहान,’ कमल थापाले भनेको मैले सुने- ‘त्यो भन्दा चुत्याहा कुरा केही हुन सक्छ ?’

‘सबै आफै गरौ भन्ने सोच,’ कसैले भन्यो ।

‘मैले राजिनामा दियो भने देश कसले चलाउने भन्ने सोच छ के यिनीहरुमा,’ अर्को भनाइ आयो ।

‘हा, हा, हा,’ उनीहरु मज्जाले हासे ।

‘फटाहाले हार्नुपर्ने थियो !’ कसैले टिप्पणी गरे ।

‘त्यै त हामी नभए देशै चल्दैन भन्ने ।’

‘किन चल्दैन ? चलि हाल्छ नि ।’

‘काङ्ङ्ङ्ग्रेसमा आउनु पर्छ के नयाँ पुस्ता । काङ्ग्रेसको विरोध होइन, एमालेको विरोध होइन । नयाँ नयाँ मान्छे नआई देशमा केही हुदैन ।’

‘न काङ्ग्रे नराम्रो न एमाले,’ अर्कोले भन्यो- ‘नेतृत्व खराव ।’

‘प्रबृत्ती हो नि,’ कमलले भने- ‘र्सुइर्ईर्ईईय हावी भएर गएपछि विग्रिगयो नि ।’

रत्नपार्कको यो जीवन्त र उल्लासपूर्ण छलफलमा झुक्किएर आइपुग्नु पाँच मिनेट अगाडी म फाइभ स्टार होटल अन्नपूर्णको एउटा वातानुकुलित हलमा थिए जहाँ अमेरिकी पैसामा निर्वाचन पर्यवेक्षण गरेको संस्था डेमोक्रेसी एन्ड इलेक्सन अलायन्स नेपाल (डिन) का एक अधिकारीले ‘कसरी त्यो गरियो’ भन्ने पट्ट्यारलाग्दो पावर प्वाईट प्रस्तुती गरिरहेका थिए । त्यसबाट ठोस उपलब्धी केही नुहने ठानेपछि म बीचैमा निस्केको थिए ।

ratna park under a tree
दिनेश वाग्ले

कमल थापा सहितको समुह संविधान सभा बनोट र आगामी सरकारको नेतृत्वबारे गफिइरहदा एक मिटर पर्तिर एउटा अर्को झुन्डले घेरिएका ३३ बर्षे बालकृष्ण गिरी र ७० बर्षे खवीराज कोइराला आफ्नै तालमा व्यस्त थिए । बालकृष्ण घाटिको नसा फुल्नेगरी चिच्याउदै तर्क गरिरहेका थिए भने खवीराज चाहि सानो स्वरमा ‘हैन, हैन’, ‘अँ अँ’ भन्दै र बेलाबेलामा तर्कयुक्त प्रश्न गर्दै वादविवाद गरिरहेका थिए । टाढाबाट सुन्दा बालकृष्णले खवीराजलाई कुटिपो हाल्नेहुन् कि जस्तो भान पार्ने उनीहरुको वादविवादका स्रोता बेलाबेलामा खित्का छाडेर हासिरहेका थिए ।

‘तपाई यदि बुझ्दै बुझ्नुहुन्न भने मेरो केही भन्नुछैन..,’ बालकृष्णले भुइतिर हेर्दै त्यति भन्दा कमल थापाको समुहको समेत ध्यानाकर्षण भयो ।

‘हा, हा, हा, हा ।’

‘बुढाले के के के, के कुरा गर्छन् हँ बुढाले ?’ हासो नसिद्धिदै कसैले खवीराजलाई संकेत गर्दै सोध्यो ।

‘भावनाको कुरा गर्छन,’ अर्कोबाट उत्तर आयो- ‘मानव धर्मको कुराले कहाँ देश चल्छ ? हा, हा ।’

‘हा, हा, हा ।’
‘हा, हा, हा ।’

‘हैन, विचार सबैको कदर हुनुपर्छ,’ कमल थापाले भने । त्यसपछि उनले आफ्नै नामधारी राजावादी राजनीतिकर्मीबारे टिप्पणी गरे । ‘कमल थापाको मत किन यति आयो भने क्या साथीहरुले । म त भन्छु ‘आउनु पर्छ’ । एक लाख (भोट)ले तीनजना मान्छे पस्छन् (संविधान सभामा)- ३३ हजार (का दर) ले । हो कि होइन ? तिनर्ले पनि आएर बहस गरुन् न, हो कि होइन ? छलफल गरुन् । जनताले चाल पाउछ नि । ‘यसले यस्तो कुरा गरिरहेको छ हैईईई, अझै यसलाई पत्तासाफ बनाउनु पर्छ या के गर्नुपर्छ’ भन्छन् । त्यस्तो मान्छे आउनुपर्छ क्यायाया । कुनै गल्ती भएमा बाटो देखाउन पनि सक्छन् ।’

निश्चयै, रत्नपार्कका यी गफीहरुलाई कुरा सिद्धिएपछि अन्नपूर्णको कार्यक्रममा प्रस्ताव गरिएजस्तो ‘हाई टी’ खुवाईने छैन । शहरमा साँझपख शुरुहुने सोसलाईजिङ् पार्टीका सहभागी जस्तो उनीहरुका हातमा ककटेल या मगटेलका ग्लास छैनन् । न पृष्टभूमीमा कुनै इस्ट्रुमेन्टल धुन बजेको छ । छेउमा उभिएर कुरा सुन्ने केहीले पार्कभित्रै बेचिने खरबुजा या चटपटे हातमा लिएका छन् । पार्कको मुख्य गेट अगाडी दौडिरहेका गाडीको आवाज मधुरो आइरहेको छ ।

कुरै कुरामा एकजना निराश व्यक्तिको प्रसंग निस्किएको थियो जो चुनाव अघि त्यहा आएर ‘यो देशमा चुनाव हुदैन, अन्तरिम संविधान जलाउनुपर्छ’ जस्ता कुरा गर्दथ्ये । कसैले भन्यो- ‘उसको जागिर भयो ।’

‘हैन, ऊ जागिरे थेन,’ अर्कोले भन्यो- ‘भा’भए यहाँ कसरी आउथ्यो ?’

अर्कोले थप्यो- ‘हैन त्यो जागिर छोड्यो अरे ।’

त्यसमा मतान्तर होला तर एउटा कुरा पक्का छ यहा आउने मानिहरु पूर्णकालीन रोजगार होइनन् । (मैले पनि आफू केही काम नभएर त्यहाँ पुगेको बताएपछि एकजनाले मेरो डायरीतिर हेर्दै भने- ‘तपाईको त कामै यही हो नि । हाम्रो पो छैन ।’) कोही आफ्नो घरैदेखि गफिने लक्ष्यलिएर आउछन्, कोही रत्नपार्क वरीपरी- न्यूरोड, भोटाहिटी, बागबजार जस्ता ठाउमा- परेका काम फत्ते गरेपछि । भिमसेन बोहोरा गोलढुङ्गा गाविस (काठमाडौं क्षेत्र नं. ७) का हुन् र उनी दिउसो घर बस्न अल्छि लागेपछि गफिनकै लागि रत्नपार्क पुगेका थिए ।

‘अपेक्षा गरेभन्दा फरक,’ चुनावी नतिजा कस्तो लाग्यो भन्ने मेरो प्रश्नमा ४५ बर्षेले भने- ‘तीन पार्टीको बराबर होला भन्ने सोच थियो ।’ त्यसपछि उनी मुस्काए ।

केहीसँगको अर्न्तवार्तापछि थाहा भयो यी सबै मान्छे यहाँ दिनहुँ आउदैनन् तर निश्चित समयको फरकमा आइरहन्छन् । ‘धेरै राम्रो बहस र तर्क हुन्छन्,’ न्यूरोडमा व्यक्तिगत काम सिध्याएर रत्नपार्क पुगेका कमल थापाले भने- ‘चिनजान भन्ने हुदैन, बहस हुन्छ । विश्राम गर्ने थलो भयो । कुरा आउछन् । मन्थन गर्ने । हामी कही पुग्ने त होइनौं तर दृष्टिकोण दिने । यहाँ बोलेको कसले सुन्छ ? माथि पुग्ने होइन, उही तलै हो ।’

तलै सही, तर रत्नपार्कका छलफलकर्ता निरिह र शक्तिहीन भन्ने पक्कै होइनन् । सहभागी थुप्रैको बुढी औलामा मतदानको चिन्ह थिए । अर्थात, ‘कसैले नसुन्ने’ ठाउमा आएर छलफल गरेपनि हालैका चुनावमा उनीहरुले आफ्नो आवाज बुलन्द गरेका थिए । मत हालेपछि नेता/सांसदबारे टिप्पणी र गुनासो गर्नु जनताको अधिकारै हो । ‘हाम्रा कुरा लेखिदिए पो ठुलाले थाहा पाउछन्,’ इटहरीका २१ बर्षे हरि केसीले भने- ‘हप्तामा एक दुइ चोटी आइन्छ । नयाँ नौला कुरा सुनिन्छ । विचार लिने, सके दिने । खुला दिलले लिने हो, दिने हो, खुला ढंगले मत राख्ने । त्यही हो हाम्रो जनमत ।’

सिजनमा पदयात्रा गाईड गर्ने चितवन, रामपुरका ४९ बर्षो गोविन्द शर्मा उभिएर कुरा सुनिरहेका थिए । ‘पूर्व पश्चिम, उत्तर दक्षिणका मान्छे आउछन्,’ चुनावी नतिजालाई राम्रो भनि टिप्पणी गरेका गोविन्दले रत्नपार्क आउनुको कारण खुलाए- ‘विभिन्न किसिमका कुरा सुन्न पाइन्छ । ट्याम्पास ! मनोरन्जन ।’

‘रेल स्टेशनको प्लेटर्फम जस्तै हो,’ मुस्काएका गोविन्दले थपे- ‘एउटा आउछ, जान्छ । भोली आउनुस्, यहाँ मान्छे यत्तिकै हुन्छन् । तर म हुन्न । अर्कै हुन्छ ।’

गोविन्दले भनझैं म अर्को दिन १२ बजेतिर रत्नपार्क पुग्दा त्यतिकै संख्यामा फरक अनुहारहरु गफमा मस्त थिए । आफै गफिने भन्दा पनि उनीहरु एकजना महिलाका कुरा सुनिरहेका थिए । काभ्रेकी ती ठूलो स्वरमा लगातार बोलिरहेकी थिइन् । २० मिनेटसम्म सुन्दा पनि मैले उनी के बारे गफिएकी हुन् ठ्याक्कै चाल पाउन सकिन । सम्भवत उनको पारिवारिक समश्या हुनुपर्छ, बहुविवाह या त्यस्तै केही र त्यसमा वाइसीएलले हस्तक्षेप गरेको हुनुपर्छ । एउटा प्रशंगमा उनले छेउका पुरुषहरुलाई बोल्न समेत नदिइ राजाको बचाउ गरिन् र एउटा पार्टी खोल्ने योजना रहेको सुनाइन् । चुपचाप पुरुषहरुले सौम्यपूर्वक उनलाई सुने, केहीले उनको कुरामा चासो दिएजस्तो गरी प्रश्न पनि गरे ।

लौ, अघिल्लो दिन भेटिएका डडुवा-६, रामेछापका हिमबहादुर रानामगर पो टुप्लुक्क टुपुल्किए । उनी सरारर आए, वक्ताको मुखमा हेर्दै बारमा टुसुक्क बसे र कुरा सुन्न थाले ।रत्नपार्कमा बहस शुरु भएको छ ।

4 responses to “रुखमुनी रत्नपार्क”

  1. Moon Avatar

    democracy in action! to use your own words!

  2. Tajim Avatar

    At point of time i was too fond of this under tree meetings in ratna park. You get to hear ideas of people from all over the country.

    This is were you see true Nepal.

  3. Early in the Morning: A Radio Interview and Blogs « Wagle Street Journal Avatar

    […] 2008 · 3 Comments Blogmandu: The story of Ratnapark and the debate of men on the street. Read in Nepali. […]

  4. Rukhmuni Ranta Park: Revised Impression of Speakers’ Corner at Hyde Park | Wagle Street Journal Avatar

    […] saw there was no different from what I had seen in Kathmandu’s Ratna Park several years ago. Here’s what I had written about the gathering and animated conversations under a tree in Ratna Park in Kantipur in […]