
हालैको एक दिन म कपिलवस्तुको राजमार्ग बस्ती चन्द्रौटा पुगेको थिएँ । शिवराज नगरपालिकामा पर्ने त्यो सानो बजार त्यसदिन अबिरमा रंगिएको थियो । बिहानै स्थानीय चुनावको नतिजा घोषणा भएको थियो । जित्नेमा एक थिइन् २३ वर्षे शिवकुमारी थारू । शिवकुमारीलाई त्यो बिहानैदेखि सञ्चार माध्यमहरूले कान्छी उपमेयरको उपमा दिइसकेका थिए । परम्परागत थारू पहिरनमा सजिएकी उनको तस्बिर ट्विटरभरी फैलिसकेको थियो । त्यसैले म त्यो अपरान्ह शिवकुमारीलाई नै भेट्न चन्द्रौटा पुगेको थिएँ, लगभग ६० किलोमिटरको थप घुमाउरो यात्रा गरेर । तर फूलमालाले छोपिएर, कार्यकर्ताले घेरिएर र अाफ्नै पार्टी एमालेका विजयी मेयरसँगै सानो ट्रकमा उभिएर उत्सव जुलुशमा हिँडेकी नेतृलाई भन्नेवित्तिकै कसरी भेट्न सक्नु? फेरि विजेताहरूलाई कुर्नेमा मै मात्र कहाँ थिएँ र?
चन्द्रौटा अस्पतालको अाँगनमा टाँगिएको एउटा पालमुनि एमालेका केही कार्यकर्ता, समर्थक र सामान्य उत्सुकहरूमाझ हल बाँधेर उभिएका थिए मनबहादुर विश्वकर्मा र भलिराम थारू । खासखुस गफिदै गर्दा उनीहरू बेलाबेला हाँसिरहेका थिए । तर साह्रै ठुलो अावाज निकालेर हैन ।
उनीहरूसँग बातमारेको केही छिनमै मैले थाहा पाएँ, ७९ वर्षे मनबहादुर बाग्लुङबाट २०६२ सालमा चन्द्रौटा झरेका थिए । ६८ वर्षअघि दाङ देउखुरीमा जन्मेका भलिराम २०१२ सालमा छ वर्षको हुँदा यो ठाउँमा बसाइँ सरेका थिए । यो उमेराँ पनि हट्टाकट्टा भएकाले छरछिमेकका ठिटाहरूले मनबहादुरलाई “अजम्मरी बुढा” भन्दै “सय वर्ष त सज्जिलै बाँच्ने” अनुमान सुनाउँदा रहेछन् । एकजनाले मेरै अगाडी त्यसो गरिहाले । त्यसमा सहमतिमा टाउको हल्लाउदै पुलुक्क मनबहादुरलाई हेरेका भलिराम थुप्रै सेकेन्डसम्म मुस्कुराए ।

भलिराम र मनबहादुर दुवैका हातमा टन्नै मिहिनेत गरेको प्रमाणदिने निसानाहरू थिए । दुवैले डोरो बाँधेका थिए । दुवैले उस्तैखाले चप्पल लगाएका थिए । दुवैका खुट्ा फुटेका थिए । मनबहादुरले अाफूले “क पनि नपढेको” बताउँदै “असी पुग्न अाँटेको मान्छेलाई कति पढेको भनेर सोध्ने हो?” भनि मलाई झाँटे । तत्कालै फकाउने लवजमा थपे, “उहिले हाम्रा पालामा स्कुल भा’पो पढन्ु । नातिनातिनाले बीए पास गरेका छन् ।” कुरा सुनिरहेका भलिरामले फेरी अर्को एउटा लोभलाग्दो मुस्कान दिँदै मलाई हेरे । “स्कुल थिएन, पराइ भएन,” भलिरामले भने । “तर लेख्न अाउँछ । परन अाउँछ ।”
मनबहादुरले त्यो गर्मीमा पनि ढाका टोपी ढलक्क ढल्काएका थिए । भलिरामले पनि टाउकोमा टमक्क फेटा गुथेका थिए । एउटाले लुंगी, अर्कोले पाइन्ट लगाएका थिए । दुवैका नाडी र पाखुराको रंगमा खासै फरक देखिन्नथ्यो तर समग्रमा दुवै एकरंगी पनि थिएनन् । मनबहादुरले हातमा घडी बाँधेका थिए तर फरक नेपाली संस्कृति, जात र भूगोलमा जन्मेहुर्केका यी दुई जेष्ठ नागरिकहरू मध्ये एकले अर्को भन्दा अल्लि बढी सुख पाएको भन्ने मलाई लागेन ।
यो स्थानीय चुनावमा भलिराम र मनबहादुर दुवैले भोट हालेका थिए । केमा? त्यो पनि भन्ने कुरा हो र? वृद्दभत्ता दिने पार्टीप्रति विशेष लगाव छ भन्ने थाहा पाए पुगेन?

You must be logged in to post a comment.