Tag Archives: magsaysay

महावीर र म्यागासेसे

म्यागासेसे विजेता महावीर पुनलाई बधाई दिनु अधि भावनामा नबगी उनले के गरेका हुन् भन्ने थाहा पाए राम्रो

दिनेश वाग्ले

यो म्यागासेसे मौसम हो र म्याग्दीका महावीर पुन ढकमक्क फुलेका छन् । निश्चयै, यो उनलाई बधाई दिने र हामीले गौरव गर्ने क्षण हो । त्यसो गर्दा पूर्णरूपमा सुसूचित भए राम्रो । गत साता म्यागासेसे विजेता घोषित नहोउन्जेल विरलै सुनिएका ५२ वर्षे सामाजिक कार्यकर्ताबारे अहिले धेरैले थाहा पाए पनि कतिलाई महावीरले ठ्याक्कै के गरेका हुन् भन्ने अस्पष्टता रहेको मैले महसुस गरेको छु ।

प्रस्ट भइहालौं- पुनले अभूतपूर्व प्रविधिको विकास गरेका होइनन् । उनी वैज्ञानिक या इन्जिनियर पनि होइनन् । ग्रामीण नेपालीको जीवनस्तर उकास्ने उद्देश्य लिएका उनी कुशल शिक्षक हुन् ।

महावीरको सबैभन्दा महत्त्वपूर्ण काम ? अमेरिकी विश्वविद्यालयबाट डिग्री लिएपछि नेपाल फर्केर सहरमा समेत नबसी फोन नभएको गाउँमा जानु । त्यत्ति हो । तर त्यसका लागि अदम्य साहस र त्याग चाहिन्छ । सुन्दा के-के न जस्तो लाग्ने ‘बेतारे कम्प्युटर सञ्जाल’ (वाइफाइ, जसका लागि उनलाई म्यागासेसे मिल्यो) मुख्य उपलब्धि होइन, महावीर गाउँ फर्किदाको सहायक परिणाममात्र हो ।

महावीरसँग अन्तर्वार्ता गर्दै दिनेश वाग्ले । तस्बिर शालिग्राम तिवारी

गाउँलेलाई अघि लाउनुपर्छ : पुन

दिनेश वाग्ले/विनोद त्रिपाठी

प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेता महावीर पुन छ घन्टे माइक्रोबस यात्राबाट चितवनदेखि बुधबार काठमाडौं आउँदा मैलो ट्रेकिङ ट्राउजर र एउटा आईएनजीओको लोगो अंकित सेतो टीसर्टमा थिए । घाँटीमा थोत्रो खोलमा छोपिएको पि्रपेड सिमकार्डवाला मोबाइल झुन्डेको थियो भने पछाडि एउटा मध्यम आकारको ब्याग । ‘यो व्याग चाहिँ छोड्नु हुँदैन,’ पुतलीसडकस्थित एकजना सहयोगीको कार्यालयमा पुग्ने बित्तिकै संवादाताहरूबाट घेरिएका ५२ वर्षे सामाजिक र विकास कार्यकर्ताले भने- ‘यसमा ल्यापटप छ । यो नभई केही चल्दैन ।’ पुरस्कार घोषणा भएको दिन मंगलबार उनी ८० वर्षीया आमा पूर्वी पुनलाई भेट्न चितवनको वीरेन्द्रनगर गाविसस्थित लाहुरेबस्तीमा पुगेका थिए । आमाले जेठा छोराको उपलब्धिबारे बेलुकी टीभीबाट थाहा पाएकी थिइन् । ‘छोरोले के-के गर्छु भन्थ्यो, राम्रो गरेको रहेछ,’ उनले भनिन्- ‘बेस्सरी खुसी छु ।’ छोराले भने- ‘आमाको मायाले मलाई सफलताको उचाइमा पुर्‍याउँछ । आमाको साथमा छु भन्ने अनुभूति गर्दे लक्ष्य र गन्तव्यमा पुग्न सफल हुन्छु ।’ (महावीरसँगको अन्तर्वार्ताको पुरा विवरण यहा पढ्नुस् ।)

केही दिनअघि यस पत्रिकाको सम्पादकीयमा औंल्याइएजस्तो हामीमध्ये धेरैमा ‘आसे’ र ‘गुनासे’ प्रवृत्ति छ । सधैं ‘नेताले यो-त्यो गरेनन्’ भन्ने तर ‘आफैंले चाहिँ के गरेँ’ भन्ने सोच्न नचाहने । केही साताअघि कालिकोटको पिलीबाट मान्म जाँदा ट्रकको हुटमा एकजना तन्नेरी भेटिए, जसले म पत्रकार भएको थाहा पाउनेबित्तिकै कर्णालीमा चलाउन लागिएको ‘एक घर, एक रोजगार’ कार्यक्रममा पैसा कम भएको गुनासो गरे । सामान्यतः संवाददताको कामकुरा सुन्ने हो, तर मैले उत्तेजना थाम्न सकिन । ‘काममा सहभागी हुनुभयो ?’ मैले सोधेँ । ‘छैन,’ उनले भने । ‘किन गुनासो गरेको त ?’ मैले भनेँ- ‘कम्तीमा पहिले काम गर्नुस्, त्यसपछि चित्त नबुझे गुनासो ।’ उनी चुप लागे । Continue reading