Tag Archives: nepali internet

इन्टरनेट बहसमा माओवादी विजय

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

यो लेख आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पन्नामा हेर्ने भए यहाँ क्लिक गर्नुहोस् ।

संविधानसभामा बहुमत निकट पुगेको माओवादीको सफलताबाट कोही बेहोसै हुन आँट्नेगरी चकित भएका छन् भने कतिले चाहिँ ‘ठिक्क पर्‍यो कांग्रेस र एमालेलाई, खुबै भ्रष्ट र बूढालाई उठाएका’ भन्दै मनमनै ताली बजाइरहेका छन् ।माओवादी कार्यकर्ताको के कुरा गर्नु, क्रान्ति सकिएर समाजवादै आएझैं सिन्दूर घस्दै र कहीं-कहीं मान्छे कुट्दै निस्केका छन् । उनीहरूका नेतालाई चाहिँ अप्रत्याशित र आर्श्चर्यचकित नतिजाले ‘जिम्मेवारी बोध’ गराएकाले आगामी सरकार गठनबारे देशभित्रका राजनीतिक शक्ति, व्यापारिक वृत्त र अन्तर्राष्ट्रिय समुदायलाई एकसाथ आश्वस्त पार्न लागिपरेका छन् ।

चुनावी नतिजा पूरै आइनसक्दै देश ‘लाल’ भएको छ, हाई भनी अभिवादन गर्नेहरू ठट्टा गर्दै ‘लालसलाम कमरेड’ भन्न थालेका छन् । चौतारीदेखि फाइभ स्टार होटलका बातानुकूलित हलसम्ममा अनेकौं कोणबाट माओवादी सफलताबारे छलफल भइरहेका छन् । अघिल्लो राष्ट्रिय चुनावताका नेपालीहरूमाझर् भर्खरै भित्रेको इन्टरनेटलाई यसपाली भनिसक्नुको चुनाव लाग्यो । वेबसाइटहरू माओवादीको जितमा पूरै रंगिएका छन्- सबै रातै भन्ने छैन, कोही रिसले काला भएका छन् । एउटाले अर्कोलाई नदेखी-नचिनिकनै चल्ने इन्टरनेट बहसहरू कति जोशपूर्ण हुन्छन् भने तिनलाई पढेपछि लाग्छ- बहसकर्ताहरू आमने-सामने हुँदा हुन् त कतिका दाँत र हात भाँचिने थिए, हड्डी टुट्ने थिए, टाउका फुट्ने थिए । वाइसीएल पूरै छायामा पर्ने थियो ।

‘म रंगीन पखेटा भएको उडिरहेको चराजस्तै महसुस गरिरहेको छु’, परिवर्तनले ‘युनाइटेड वी ब्लग’मा लेखेका छन्- ‘एक भागले ठान्छ, वास्तविक परिवर्तन भइरहेको छ । भ्रष्टहरू बढारिएको देख्दाको खुसी यहाँ साझेदारी गर्छु । थुप्रै ब्लगरजस्तै म पनि काठमाडौंको स्वघोषित सम्भ्रान्त हुँ । माओवादी र्समर्थक होइन । माओवादीप्रति धेरै मान्छे आक्रोशित भएका छन्, तर माओवादीहरू माओका र्समर्थक र कम्युनिस्ट पार्टी मात्रै होइनन्, गरिब र सिमान्तकृत समुदायले भोगेको अभावका परिणाम हुन् ।’

मतगणना केन्द्रहरूबाट चकित तुल्याउने नजिता आउँदै गर्दा गतसाता मैले प्रचण्डको हल्का प्रशंसा र उनका चुनौतीको ठेली उल्लेख गर्दै आफ्नो वेबसाइटमा एउटा लेख लेखेको थिएँ, ‘द फेनोमेनन कल्ड प्रचण्ड’ शीर्षकमा । यो जित माओवादीले नै अपेक्षा गरेका थिएनन् भन्ने मेरो तर्क मन नपरेपछि एउटी माओवादी कार्यकर्ताले एसएमएस पठाइन्- माओवादीको यस्तो जितबाट आफू तीनछक परेँ, चकितै भएँ भन्नु, तर हामीले अपेक्षा गरेका थिएनौं भनेर तिम्रो शब्द हाम्रो मुखमा नहालिदिनु !

तिमीजस्ता कार्यकर्ताको हौसलाका लागि बहुमत आउँछ भने पनि व्यक्तिगत वार्ताहरूमा उनीहरू जितप्रति पटक्कै आशावादी थिएनन् र चुनावअघि तालमेलनिम्ति माओवादी कति निराश थिए भनी मैले जवाफ फर्काएँ । तर उनी पत्याउन तयार भए पो । भोलिपल्ट ‘काठमान्डु पोष्ट’मा प्रकाशित डा बाबुराम भट्टराईको अन्तर्वार्ताको एउटा अंश (‘साँच्चै भन्ने हो भने यो जित हामीले अपेक्षा गरेभन्दा बढी नै भएको छ’) पठाउँदा पनि उनी मान्न तयार भइनन् । मचाहिँ बाबुराम भट्टर्राईको इमानदारीपूर्ण स्वीकारोक्तिसँग सहमत छु, माओवादीको यो तहको जितको कल्पनै गरेको थिइन । मैले के, हाम्रो अफिसको क्यान्टिनमा चुनावपूर्व हुने चर्काचर्कीपूर्ण अनुमानका गफहरूमा माओवादीलाई २० सिटभन्दा बढी दिएमा चियै खान नपाइने अवस्था हुन्थ्यो । बढी दिनेले ४५ सम्म दिएका थिए । सायद तिनले चिया खान पाएनन् । नजिताले तीनछक तुल्याउनेहरू इन्टरनेटमा थुप्रै भेटिए ।

‘यो त मेरालागि पनि थप्पड हो’, हर्केले लेखेका छन्- ‘कुनै पार्टीको म सदस्य होइन, तर माओवादी ३० सिटमै सीमित हुने कुरामा म बलियो विश्वास गर्थें । यो देशका १३ हजारको हत्या गर्नेलाई जनताले भोट देलान् भन्ने कल्पनै गरिन । प्रस्टै छ, उनीहरूले नेपालालाई कहाँ लैजान्छन् भन्ने । ससले अर्को तानाशाह जन्मायो भने म र हामीहरूले सहने छैनौं ।’

त्यो एउटा दृष्टिकोण । अर्को यस्तो छ । ‘माओवादी विरोधीहरू’ इन्ट्रोभर्ट लेख्छन्- ‘नयाँ ‘लेन्स’ले हेर मित्र हो, पुरानो लेन्स बदल र तथ्य हेर । त्यसै भमिट नगर, तथ्य प्रस्ट छ । आफू दास हुँ भन्ने अनुभूति गरेमात्र दासत्वबाट तिमीहरू मुक्त हुनेछौ । नगरे त्यो तिम्रो छनोट ।’

इन्टरनेटमा अभिव्यक्त गर्ने अत्यधिक बहुमतले माओवादीको जितमा काङ्ग्रेस-एमालेको परम्परागत र्ढरालाई दोष दिँदै ती दुइ पार्टी (विशेषगरी काङ्ग्रेसका) बूढा र भ्रष्ट हारेकोमा खुबै सन्तोष व्यक्त गरेका छन् । युवाले मौका पाएमा दुवै पार्टीले उन्नति गर्नसक्ने सम्भावना औंल्याएका छन् ।

‘एमाले र काङ्ग्रेसका सचेत युवा नेताहरू एक ठाउँमा आएर नयाँ पार्टी खोल्नु पर्छ’, राजेन्द्र पोखरेल लेख्छन्- ‘काङ्ग्रेस आउटडेटेड भयो, एमाले अक्षम । माओवादीले हाम्रो देश र लोकतन्त्र अपहरण नगरेको सुनिश्चित गर्न नयाँ पार्टी चाहिन्छ ।’

अख्तियारले नै भ्रष्ट भनी तोकेका र जनताले व्यापक रूपमा खराब व्यक्तिका रूपमा विश्वास गरेका कांग्रेसका केही उम्मेदवारले गोर्खादेखि तनहँु, दाङ र सुनसरीसम्ममा भटाभट हारेकोमा कम्ती खुसी लागेको छैन । काङ्ग्रेसका नरहरि आचार्यले जित्दा जति खुसी लाग्यो, एमालेका योगेश भट्टर्राईजस्ता तन्नेरीले हार्दा उति नै दुःख । मलाईजस्तै खुसी या दुःख इन्टरनेटका मानिसहरूलाई पनि लागेको छ ।

‘खुमबहादुर खड्का र सुजाता कोइराला जस्ताले हारेको देख्दा म खुसी छु’, रमेश लेख्छन्- ‘तर उनीहरू माओवादीसँग हारिरहेका छन् ।’ चिरञ्जीवी वाग्ले हारेकोमा खुसी भएको उल्लेख गर्दै बाजे थप्छन्- ‘माओवादीले सुपथ जिते । नेपालमा लोकतन्त्रको जो कुरा छ, ‘काम लाग्ने मूर्खहरू’लाई २० वर्षपर्खिन दिउँ । नयाँ संविधान माओवादी दर्शनको छायामा बन्नेछ र काङ्ग्रेसचाहिँ पक्कै माओवादीको अचानोमा हुनेछ । जय नेपाल ! लालसलाम !’

इन्टरनेट अभिव्यक्तिहरू परम्परागत माध्यममा देखिने प्रतिक्रियाभन्दा खुलस्त र प्रस्ट किन पनि हुन्छन् भने त्यहाँ व्यक्तिले आफ्नो परिचय खुलाइरहनु पर्दैन । त्यसो हुँदा मान्छे कति स्वच्छन्द हुन्छ भने सोचेको कुरा ठ्याक्कै भन्न सक्छ । बितेका पाँच वर्षता निजी वेबसाइटहरू सञ्चालन गर्दा मेरो के अनुभव छ भने परिचय लुकाएरै पनि मानिसहरू आफूलाई अभिव्यक्त गर्न बिछट्टै चाहन्छन् । अज्ञातका रूपमा प्रतिक्रिया दिए पनि आफ्नो भनाइमाथि आउने आलोचना, प्रशंसा या जवाफले व्यक्तिमा गहिरो असर पार्छ र उसले आफू व्यक्तिगत युद्धमा सामेल भएको अनुभव गर्छ । मैले त्यस्तँ थुप्रै अज्ञात पाठक देखेको छु, जो वर्षौंदेखि साइटहरूमा निरन्तर आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन् ।

‘म फ्रान्समा हुँदा तपाईंको साइटमा ‘प्रोफेसर प्यारेलाल’का नाममा खुबै प्रतिक्रिया लेख्थेँ’, परराष्ट्र मन्त्रालयका एकजना उच्च कूटनीतिज्ञले हालैको एक भेटमा मसँग भने- ‘कमेन्ट लेख्ने कुरा नशाजस्तै भएको थियो । अफिस छुट्टी भयो कि कम्प्युटर अगाडि बसेर टाइप गर्न थाल्थेँ ।’ आफ्ना अज्ञात तर सुसूचित प्रतिक्रियाले ‘मन्त्रालयमा हल्लिखल्ली’ मच्चिँदा आफूलाई झन् उत्साह मिल्ने गरेको उनले बताए ।

इन्टरनेटका छलफलकर्ताले सामान्य बोलिचालीमा प्रयोग गरिने सबै भावनासूचक शब्द या लवजको प्रयोग गरेका हुन्छन्, जसलाई अन्य पाठकले सहजै बुझ्न सक्छन् । हाँसो, दुःख, पीडा, गाली सबै पाइन्छ । ‘हा, हा, हा, खुबै ‘लोकतन्त्र’को तबला बजाएका थियौ नि’, भासिर लेख्छन्- ‘म आशा गर्छु माओवादीले जितेमा यो वेबसाइटलाई बन्द गर्ने छैनन् ।’

इन्टरनेटका बहुमत अभिव्यक्तिमा माओवादीको जित पछाडि जनतामा परिवर्तनको चाहना र काङ्ग्रेस-एमालेमा पुरानो अनुहार र र्ढरा रहेको ठानेका छन् । ‘यो चुनावमा भएका राम्रा कुराहरू- गिरिजा ग्याङ, माधव नेपाल ग्याङ र ज्ञानेन्द्र ग्याङको उन्मूलन भएको छ’, ‘नेपाली’ लेख्छन्- ‘अबका १८ महिनामा माओवादी उदाङ्गिने छन् या नेपाल उत्तर कोरिया या क्युबाजस्तै शासित हुनेछ । आफूलाई र्समर्थन नगर्ने नेपालीलाई माओवादीले मार्छन् या हिटलरले आफ्नै र्समर्थकलाई मारेजस्तो वाइसीएललाई मार्छन्, त्यो हेर्नुछ ।’

एकजना निराश पाठकले ‘म अब विदेशको लागि भिसा एप्लाइ गर्छु भनेका छन् भने अर्को एकजना व्यापारीले आफू आशावादी रहेको र माओवादीलाई मौका दिने पक्षमा रहेको उल्लेख गर्दै थप लगानी गरेर खतरा मोल्ने बताएका छन् । माओवादी जितको जतिसुकै विरोध गर्ने र चुनावमा अनियमितता भएको बताउनेहरूले पनि समग्र चुनावी प्रक्रियामा औंलो ठड्याएका छैनन् । ‘प्रक्रिया आफूमा खोटयुक्त छैन’, एकजना लेख्छन्- ‘तर हामी फेल भयौं, जनता फेल भए !’

‘यो सामूहिक पागलपन हो’, स्रिजन लेख्छन्- ‘तर मैले के भन्न सक्छु र जनताले बोलेका छन् र उनीहरू माओवादीले शासन गरेको चाहन्छन् । त्यसैले उनीहरूलाई बधाई । तर देशलाई माओवादीले कुन हदसम्म विभाजन गरेका छन्, उनीहरूले थाहा पाउन् भन्ने म चाहन्छु । नेपालमा अहिले दुइ खाले मान्छे छन्- एउटाले उनीहरूलाई घृणा गर्छ, अर्कोले उनीहरूलाई भोट हाल्यो ।’

‘माओवादी शासनका जटिलताबारे मेरो बढी चासो छ’, किरात लेख्छन्- ‘पहिलेको रेकर्डले मलाई चिन्तित तुल्याउँछ । तैपनि म आशावादी छु कि उनीहरू सरकारमा गएपछि बढी जिम्मेवार हुनेछन् । नाजी र खमेर रुजजस्ता अतिवादी उदाहरणबाहेक प्रायः राजनीतिक पार्टीको सर्न्दर्भमा त्यस्तै भएको छ । नेपाली माओवादीबारे मेरा शंका भए पनि म उनीहरूलाई मौका दिन तयार छु ।’

उनी थप्छन्- ‘लोकतन्त्र र प्रेस स्वतन्त्रतामा प्रतिबद्ध भएको, उदार अर्थतन्त्रमा निजी क्षेत्रसँग काम गर्ने र विदेशी लगानी आकषिर्त गर्ने भन्ने सही हल्ला प्रचण्ड र बाबुरामले अहिले गरिरहेका छन्, जो मलाई लाग्छ, अहिलेलाई उनीहरूको ओँठेभक्तिमात्रै हो, ठ्याक्कै के गर्छन्, हेर्न बाँकी छ । तर मेरो व्यापारिक योजनाप्रति म विश्वस्त छु र मैले दुःखले कमाएको पैसा मेरो देशको अर्थतन्त्रमा लगानी गरेर त्यसलाई फैलाउने प्रक्रियामा गइसकेको छु । मलाई लाग्छ, म आशावादी हुँ । हाँसो उठ्छ, मेरो धेरैजसो व्यापारी साथीहरू पनि र्सतर्कतापूर्वक विश्वस्त छन् । के थाहा, हामी मूर्खजस्तै पो हुने हौं कि ! तर मैले आफूलाई माओवादीले जितेपछि यहाँ देखिएका धेरै नकारात्मक ब्लगरहरूझैं बसेको देख्न सकिन ।’