नायिका अरुणिमा लम्साल फिल्म अभिमन्युको काठमाडौ प्रदशर्नीको पहिलो दिन शिवदर्शन चित्रमन्दिर नयाँ बानेश्वमार आफ्ना आमा बाबुका साथमा । तस्बिर विकास रौनियार
दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
विक्रमकुमार शर्मा काठमाडौं नयाँ बानेश्वरस्थित शिव दर्शन हलका नियमित दर्शक होइनन् । सेताम्मे कपालवाला यी अधबैंसे शुक्रबार दिउँसो रंगीन र्टाई, स्वेटर र कोटमा सजिएर थोत्रो जस्तो लाग्ने हलमा ड्रेस र्सकलको अप्ठेरो सिटमा बस्न पुगेका थिए । छेवैमा थिइन् उनकी पत्नी राधा । पर्दामा फिल्म ‘अभिमन्यु’ सुरु भयो र कलाकारहरूको नामशृंखलामा दोस्रो नम्बरमा ‘अरुणिमा लम्साल’ आउँदा दर्शकबाट तरर ताली बज्यो । त्यो क्षण विक्रम र राधा मख्ख पर्नु अस्वाभाविक थिएन । अरुणिमा उनीहरूकी एउटै छोरी हुन् जसका लागि ‘अभिमन्यु’ छैटौं सिनेमा हो । आमालाई बुबा र आफूबीच राखेर फिल्म हेर्न बसेकी अभिनेत्रीले सिनेमा अवधिभरैजसो आफ्ना अभिभावकबाट मिलेका प्रश्नको उत्तर दिइराखिन् । संयोगले उनीहरू तीनै जनासँग अपरिचित संवाददाता ठ्याक्कै पछाडि बसेकाले पारिवारिक खासखुस सुन्न थप मेहनत गरिरहनुपरेन ।
विक्रम र राधाका धेरैजसो प्रश्न सिनेमा छायांकन स्थलसँग सम्बन्धित रहे । ‘यो कहाँ हो ?’ बुबाले सोधे । ‘जय नेपाल हल,’ आमाकै जस्तो लामो कपाल फरर छाडेकी, सेतो हाइनेकमाथि कालो ओभरकोट लगाएकी सुन्दरीले उत्तर दिइन् । पर्दामा नायक निखिल उप्रेती र अरुणिमाले अभिनय गरेका पात्रहरूले घरकी फुच्चीलाई किङकङ सिनेमा देखाउन गएको दृश्य छ । ‘यो कहाँ हो ?’ अर्को प्रश्न आयो । ‘शंखमूल पुल नजिकैको सुकुम्बासी बस्ती,’ अरुणिमाले जवाफ दिइन् ।
शिव दर्शनको शो पारिवारिक मात्रै थिएन, उपत्यकाबाहिर ‘औसत व्यापार’ गरेर राजधानीभित्रको ‘अभिमन्यु’ को पहिलो प्रदर्शनीमा नेपाली फिल्म उद्योगका केही महत्त्वपूर्ण अनुहार उपस्थित थिए । साथमा थिए, टिकट काटेर त्यो विशेष शोमा पुगेका र्सवसाधारण दर्शक जसले पर््रदर्शनी अवधिभरै अनेकौं दृश्यमा सिठी बजाउने र हुटिङ गर्ने क्रम जारी राखे ।
एउटा पत्रकारको हत्यासँगै सुरु हुने सिनेमा तुरुन्तै उनलाई मार्नेहरूसँगको प्रहरी संघर्षमा फाल हाल्छ र मुख्य पात्रमा रहेका निखिलको दोहोरो भूमिकामार्फ दर्शकलाई कथावस्तुमा बाँधिरहने प्रयास गर्छ । त्यो सुरुवाती दुःखद दृश्यमा समाचारकर्मीलाई ‘निरीह झोले’ का रूपमा प्रस्तुत गरिएको देख्दा समकालीन पत्रकारितामा इन्टरनेट पुस्ताका संवाददाताहरूलाई फिल्मका निर्देशकसँग झनक्क रिस उठ्न सक्छ । एक अपराधीलाई काठमाडौंमा स्थानान्तरण गर्न प्रहरी संगठनका प्रमुख नै इन्स्पेक्टरलाई मात्र साथ लिएर पोखरा पुगेको दृश्य देख्दा पुलिसहरूले नै ‘लौ त्यस्तो पनि हुन्छ ?’ भन्न सक्छन् । पात्रहरूका कतिपय संवाद सुन्दा समीक्षकहरूले ‘दैनिक बोलिचालीमा पनि कसैले किताबमा लेखेजस्तो पूरै मिलाएर वाक्यहरू बोल्छ र ?’ भन्ने प्रतिक्रिया दिन सक्छन् । तर आख्यानमा वास्तविकतासँगको सम्बन्ध खोज्नु दर्शक या पाठकको विरोधाभासपूर्ण अपेक्षा मान्न सकिन्छ ।
‘वी सेल फ्यान्टासी,’ फिल्मका निर्देशक नरेश पौड्यालले सिनेमापछिको चियावार्तामा फिल्मको ‘प्रहरी सुराकी’ पत्रकारले जस्तो झोला नबोकेको यस संवाददातासँग भने- ‘हामी परिकल्पनालाई बेच्छौं किनकि मानिसहरू त्यसमा रमाउन चाहन्छन् । नभए वास्तविक जीवनमा निखिल पनि त्यसरी कहाँ उफ्रिन सक्छन् र ?’ साततले भवनबाट फालहालेका पूर्व ‘स्टन्टम्यान’ निखिल उफ्रिन बेर लगाउन्नन् तर पौड्यालले भन्न खोजेको बुझ्न सकिन्छ । वास्तविकतासँग निकट हुँदै पात्रहरूको सूक्ष्म चित्रण गरिएका नेपाली फिल्म बनाउने बेला आइनसकेको उनी ठान्छन् । ‘मलाई अहिले ‘पाथेर पाञ्चाली’ या ‘बाइसाइकल थिभ्स’ बनाउन सकिनँ भन्ने चिन्ता छैन,’ ४४ वर्षे सिनेकर्मीले भने- ‘बरु ‘दिलवाले दुल्हनियाँ लेजाएँगे’ वा ‘कुछकुछ होता है’ जस्ता सिर्जना बनाउन नसकेकोमा चिन्ता छ ।’ आफूले बनाउने फिल्म राजधानीका ‘केही नक्कली बुद्धिजीवी होइन हिमालदेखि पहाडसम्मका मूलधारका दर्शक’ लक्षित हुने उनको भनाइ रह्यो ।
पछिल्लो फिल्मको कुरा गर्ने हो भने नरेश पौड्याल (तस्बिरमा) नेपालका जल्दाबल्दा फिल्ममेकर हुन् । उनको निर्माण र निर्देशनको फिल्म ‘धडकन’ को प्रेम कथाले धेरै नेपाली दर्शकको मुटु धडकाइदियो । त्यो उनको सातौं निर्माण थियो भने अरूको लगानीको फिल्मलाई निर्देशन गरेको ‘अभिमन्यु’ पहिलो । ‘आफ्नै लगानीको फिल्म निर्देशनमा बढी सिर्जनात्मक स्वतन्त्रता हुन्छ,’ उनले भने- ‘अरूको फिल्म गर्दा कम खर्चमै काम छिटो सकिदिन पाए हुन्थ्यो भन्ने हुन्छ ।’ यी भनाइको सत्यताको परख आफैं होला, अहिलेलाई समकालीन सिने निर्देशक हुनुका मज्जाबारे उनलाई सोधौं । ‘आफूले ओछ्यानमा सिरक ओढेर चिया पिउँदै, चुरोट खाँदै या अफिसमा हिटर ताप्दै सोचेका कुरा केही महिनामा सिनेमामा उतार्न पाइन्छ,’ उनले भने- ‘सपनालाई पर्दामा देखाएर लाखौं दर्शकलाई हसाउने र रुवाउने तथा उनीहरूको भावनालाई ‘डिक्टेट’ गरिन्छ ।’
भावनाकै कुरा गर्ने हो भने विक्रम र राधाको जोडी फिल्मबाट पूरै प्रभावित थियो । विक्रमले बेलाबेला हाँस्दै सिनेमाको रमाइलो लिइरहेका थिए भने नायिका छोरी पनि आफू नदेखिएका दृश्यका कमेडीमा खितिति हासिरहेको थिइन् । ‘समग्रमा फिल्म राम्रो छ,’ आफ्नै लेखापरीक्षण संस्था चलाउने जलविद्युत् परियोजना कन्सल्ट्यान्ट विक्रमले आफ्नो निर्णय सुनाए- ‘हेरुन्जेल रमाइलो हुन्छ ।’
मौनतामा अल्झेको फिल्मी जिन्दगी
चार दर्जनभन्दा बढी फिल्महरूका पटकथा लेखेपछि ‘भएन बा, यो तालले काठमान्डूमा घर बनाउन र गाडी किन्न सकिँदैन’ भन्ने निष्कर्षमा पुगेका मौनता श्रेष्ठले झन्डै डेढ वर्षअगाडि आफैं सिनेमा बनाउने कम्मर कसेका थिए । नेपाली फिल्म उद्योगमा निर्माण सहयोगी र पटकथा लेखकका रूपमा १२ वर्षबिताएका मौनता ‘त्यो अवधिमा कमाएको विश्वास बेचेर’ पैसा जम्मा गरेपछि निर्माता भएका थिए । अघिल्लो वर्षभदौमा बनाउन थालिएको ‘अभिमन्यु’ को काम चार महिनामा सकिएपछि सबै नेपाली फिल्महरू जस्तै गत फागुनमा उपत्यका बाहिरबाट प्रदर्शन थालिएको थियो । मोफसलमा, मौनताका शब्दमा, औसत व्यापार गरेको फिल्म शुक्रबारदेखि राजधानीमा प्रदर्शित हुँदैछ ।
फेरि त्यो प्रभाव पार्ने तथ्यांकमै फर्कौं । ३१ वर्षो मौनताले, दुइ तीनपटक सोधिएको प्रश्नमा, हालसम्म ५० भन्दा बढी फिल्महरूको पटकथा लेखेको बताए । २०५६ मा उनले फिल्मी पटकथामा हात हालेका हुन् र उनको पहिलो फिल्म तपाईंलाई सम्झना छैन भने त्यो अपराध हुने छैन । किशोर सुब्बा निर्देशित ‘खुकुरी’ (सत्ते यो फिल्मकै नाम हो) चलेन । मौनताले पटकथा लेख्ने र फिल्म नचल्ने क्रम आगामी दुइ वर्षम्म जारी रह्यो । ‘२०५८ को ‘माया नमार’ मेरो पहिलो सफल फिल्म हो,’ उनले भने र खरर सातवटा फिल्मको नाम लिए जसमा ‘अजम्बरी नाता’ र ‘निखिल दाइ’ सामेल छन् । अर्थात्, मौनताका चार दर्जनमध्ये, उनकै शब्दमा, सातवटा फिल्ममात्र सफल भए । तर त्यो असफलतालाई उनी स्वीकार्ने पक्षमा छैनन् ।
‘त्यसो भए तपाईं असफल पटकथाकार ?’
‘होइन,’ आफ्नो फिल्मको प्रवर्द्धनका लागि संवाददाताहरू भेट्ने अभियानमा रहेका उत्साही निर्माताले भने- ‘म असफल होइन । मेरो लेखन पनि असफल होइन । नेपाली फिल्म उद्योगको अवधारणा नै त्यस्तो छ, निर्माता र निर्देशकका कथाहरू नै त्यस्ता ।’
औसत नेपाली तन्नेरीले ‘ह्या, यी नेताहरू नै बिग्रेका, देश बनाउनै सक्दैनन्’ भन्ने निराशाजनक गुनासो दिएजस्तै मौनताले पनि सिने उद्योगप्रति कटाक्ष गरे । ‘मलाई ‘धूम’ र ‘क्रिस’ जस्ता (भारतीय) फिल्म बनाउन मन पर्छ । तर हामी अझै पुरानै र्ढरामा (फिल्ममा) गाउँघरै देखाइरहेका हुन्छौं । हामीले फिल्म बनाउने सोच र शैलीलाई आधुनिकरण गर्नै पर्छ ।’
‘आधुनिकीकरण भन्नाले ?’
‘प्राविधिक कुराहरूलाई प्रँथमिकता दिनुपर्यो,’ उनले भने- ‘सोचाइ नै आधुनिक हुनुपर्यो के । हामी सानो सोचाइ राख्छौं ।’ त्यसपछि उनले एउटा उदाहरण दिए- दर्शकहरू कसरी भारतीय अभिनेत्रीका ग्ल्यामरबाट मनोरञ्जन लिन्छन् तर सोही रूपमा नेपाली हिरोइनलाई प्रस्तुत गरिँदा ‘छ्या, परिवारसँग बसेर हेर्नै मिल्दैन’ भनी प्रतिक्रिया दिन्छन् । ‘ग्ल्यामर भनेको सुन्दरता हो जसलाई मिलेर हेर्न सकिन्छ’ भन्ने अवधारणा विकास गर्नुपर्ने मौनताको विचार रह्यो ।
यति धेरै कुरा गर्ने मौनताको फिल्म ‘अभिमन्यु’ पक्कै पनि धेरै राम्रो बनेको होला, होइन ?
उनको उत्साहको पारो स्वात्तै घट्यो । ‘मेरो सोचाइ जस्तो त छैन,’ उनले भने- ‘तर औसत नेपाली फिल्मभन्दा निकै राम्रो छ ।’ याद गर्नुस्, उनी निर्माता हुन् र आफ्नो फिल्मको प्रचार गर्न पत्रकार भेटिरहेका छन् । ‘आफूले सोचे जस्तो फिल्म बनाउने खतरा मोल्न सकिन मैले,’ उनले आफ्नो विवशता प्रकट गरे- ‘फिल्म बनाउने परम्परागत नेपाली तरिकाबाट अलग हुँदा बजारमा असफल होइएला भन्ने डर भयो ।’ पहिलै फिल्म डुब्यो भने काठमान्डूमा घर र कार कसरी किन्ने ? (लेखनबाट पैसा नकमिने निश्चित भएपछि आफूले दशकभन्दा बढी बिताएको क्षेत्रमै व्यापार गरेर पैसा कमाउने निर्णय गरेर उनी फिल्म निर्माणमा होमिएको थिए ।) नयाँ अवधारणाअनुसार फिल्म बनाउने काम युवा पुस्ताको नभई ‘स्थापित र टन्न पैसा हुनेहरूको’ भएको उनले बताए । त्यसो हुँदा मौनताको भनाइ थियो, नोक्सानै भए पनि खासै दुःखदायी हुने छैन ।
उनको आगामी फिल्म ‘च्याम्पियन, द हिरो’ लाई प्रदीप श्रेष्ठले निर्देशन गर्नेछन् । जसमा मौनताले आफ्ना ‘केही अवधारणा लागू गर्ने’ बताए । ‘यसको नामै अंग्रेजी भयो भन्दै पुराना पुस्ताकाले प्रतिक्रिया दिए,’ उनले भने- ‘तर मैले मानिन ।’
जाँदाजाँदै ‘अभिमन्यु’ को पनि कुरा गरिहालौं । निखिल उप्रेतीको दोहोरो भूमिका रहेको सिनेमाले समाजमा रहेका भ्रष्ट प्रवृत्तिप्रति प्रहार गरेको मौनताले बताए । ‘तर यो अभिमन्यु चक्रव्युहलाई ध्वस्त पार्दै निस्कन्छ,’ उनले भने । कसरी निस्कन्छ, थाहा पाउन शुक्रबार हलमा जानै पर्ला ।