सगरमाथा शिखरमै प्रयोगशाला

दिनेश वाग्ले

‘सगरमाथा आधारशिविरसम्म पुगेर विश्वकै सबैभन्दा अग्लो मेडिकल प्रयोगशालामा हुने परीक्षणमा भाग लिन दुई सयजना स्वयंसेवी चाहियो ।’
-द गार्जियन, १० जुन, २००६

‘स्वयंसेवी फेला पार्न समस्यै भएन । धेरैलाई फर्काउनु पो पर्‍यो । छानिएकाहरू १८ देखि ७३ वर्षसम्मका छन् जसलाई एक दिन समुद्री सतहमा राखेर डीएनए परीक्षण गरिनेछ ।’

-द इकोनोमिस्ट, ६ जनवरी, २००७

काठमाडौं- बर्सेनि थरीथरीका रेकर्ड राखिने सगरमाथा शिखरमा आगामी मार्चमा बेलायती वैज्ञानिकहरूले यसअघि कसैले नगरेको काम गर्ने तयारी गरिरहेका छन् । ८ हजार ८ सय ५० मिटरमा पुगेपछि उनीहरूले शरीरबाट रगत झिक्ने छन् जसलाई अक्सिजनको कमीले हुने रोगको उपचार विधि खोज्न प्रयोग गरिनेछ । युनिभर्सिटी कलेज लन्डनको ‘एक्स्ट्रिम एभरेस्ट’ अभियानमा ४५ वैज्ञानिक-चिकित्सक र २ सय ८ स्वयंसेवी सहभागी हुने उक्त अभियानको वेबसाइटमा उल्लेख छ । उनीहरूले काठमाडौं र आधारशिविरमा मोबाइल क्याम्प स्थापना गरी रगतमा अक्सिजनको कमी हुँदाका अवस्था सामना गर्ने क्षमता मानिसको वंशमा भरपर्छ भन्ने सिद्धान्तको परीक्षण गर्नेछन् ।

‘अक्सिजन कम भएको ठाउँमा तपाईं विस्तारै बानी पर्न सक्नुहुन्छ,’ कलेजका मुटु नशा र वंशसम्बन्धी लेक्चरर डा. ह्युग मोन्टगोमेरीले गार्जियन पत्रिकामा भनेका छन्- ‘मैले अहिल्यै सगरमाथा शिखरमा राखिदिएँ भने तपाईं २५ सेकेन्डमा बेहोस हुनुहुनेछ र तीन मिनेटमा स्वर्गे । समय लगाएमा त्यहाँ पुग्नु हुनेछ । कम अक्सिजनका लागि तपाईंले आफूलाई कसरी बानी पार्नुहुन्छ त्यो हामीले थाहा पायौं भने बिरामीको उपचारमा सजिलो हुनेछ ।’ फोक्सोमा समस्या हुँदा र अन्य कारणले पर्याप्त अक्सिजन लिन नसक्नेहरूलाई यो प्रयोगले सहयोग पुग्ने उनको आशा छ ।

‘लेकमा जाँदा हाई लाग्नु अक्सिजनको अभावले हो,’ काठमाडौंस्थित मुटुरोग विशेषज्ञ डा. तारामान अमात्यले कान्तिपुरसँग भने- ‘हेलचेक्र्याइँ भयो भने मृत्यु हुन्छ ।’ १० वर्षअघि इटालीयन डाक्टरहरूको एक समूहसँगै सगरमाथा क्षेत्र गएर लेक लाग्ने विषयबारे अनुसन्धान गरेका डा. अमात्यले बेलायती अभियान फलदायी हुने आशा गरे । ‘विश्वकै मेडिकल समुदायले फाइदा लिनसक्छ,’ अभियानबारे संवाददाताबाट थाहा पाएपछि उनले भने- ‘नेपालले पनि विश्वस्तरको अनुसन्धानमा भूमिका खेल्ने भो ।’ इटालेली अध्ययनताका खिचिएको बृत्तचित्र अझै कक्षामा मेडिसिनका विद्यार्थीलाई देखाउने गरेको मेडिसिनका प्राध्यापक डा. अमात्यले बताए ।

रगतमा अक्सिजन कमी हुने रोग ‘हाइपोक्सिया’ को उपचार प्रक्रिया कठिन र असहज हुन्छ । ‘एउटा उपाय बिरामीलाई रगत दिने हो जसले फोक्सो बिगार्नुका साथै अन्य समस्या उत्पन्न गराउन सक्छ,’ इकोनोमिस्टले लेखेको छ- ‘अर्को उपाय मुटुको कार्यक्षमता बढाउन एड्रेन्यालिनजस्ता चर्का औषधि दिने हो ता कि शरीरमा बढी अक्सिजन फैलिओस् । तर त्यसले मुटु बिगार्ने खतरा हुन्छ । त्यसैले गम्भीर बिरामीहरूमा हाइपोक्सिया हुन नदिने सजिलो उपाय चाहिएको छ ।’

डा. मोन्टगोमेरीले केही वर्षअघि गरेको अनुसन्धानले हाइपोक्सियाको सामना मानिसले कति सजिलै गर्छ भन्ने कुरा उसको रक्तकोषले अक्सिजनको प्रयोग कति कुशलतासाथ गरेको छ भन्नेमा भरपर्ने देखाएको थियो । रक्तकोषको कार्यकुशलताचाहिँ मानिसमा वंशअनुसार भरपर्ने उनको निष्कर्ष थियो । अनुन्धानको नेतृत्व डा. मोन्टगोमेरीले गर्नेछन् । ‘उहाँको निष्कर्षको परीक्षण हुनेछ,’ आरोहण टोलीका नेता तथा मोन्टगोमेरीका सहकर्मी डा. माइक ग्रोकोटले ‘इकोनोमिस्ट’ सँग भने ।

तीनसाताको अभियानमा स्वयंसेवीहरू हरेक बिहान अनेकौं शारीरिक अभ्यास गर्दै आधारशिविरमै बस्नेछन् भने १६ आरोही वैज्ञानिकहरू आठ हजार मिटरभन्दा केहीमुनि ‘साउथ कोल’ जानेछन् । १० जना त्यहाँबाट पनि उक्लिने छन् र समुद्री सतहमा भन्दा एक तिहाइमात्र अक्सिजन हुने सगरमाथा शिखरमा पहिलोपटक रगत निकाल्ने छन् । अभियानमा स्वयंसेवी हुनेले नेपाल आतेजाते खर्च र अनुसन्धानका लागि पाँच सय चन्दासहित २९ सय पाउन्ड खर्चिएको गार्जियनले उल्लेख गरेको छ ।

अनुसन्धानकै लागि सगरमाथा क्षेत्रको पाँच हजार उचाइमा अढाई सय जना जुटाउनु अति नै मान्न सकिन्छ तर डा. ग्रोकोट त्यसको विकल्प नभएको बताउँछन् । ‘हस्पिटलमा त्यस्ता बिरामी थोरै हुन्छन् र उचाइमा मिल्ने वातावरण सिर्जना गरेर परीक्षण गर्न कठिन हुन्छ,’ उनले भने- ‘अर्को उपाय बेलायतका कम चाप भएका च्याम्बर भाडामा लिएर त्यहाँ स्वयंसे वीहरू राख्ने हो जो पर्याप्त हुने छैन ।’