सारी र सल: युरोपेली अनुभव

‘राम्रो तर अव्यावहारिक पहिरन हो सारी, कुर्ता पनि अप्ठेरो हो, विशेष गरी सल । केटीहरू त्यही सलमै अल्झिइरहेका हुन्छन् । खसेको सल सम्याउनै नेपाली महिलाहरूको समय बितेको छ र पुरुषले त्यस्ता बेतुके समस्याको सामना गर्नैपर्दैन’

दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल

सारा इनर्गड इस्मान (वायाँ) र एना एलिजाबेथ कोबेक नेपालमा काम गरिरहेका विकासे कार्यकर्ता हुन् । तस्बिर- दिनेश वाग्ले

काठमाडौं- सारीलाई लिएर सारा र एनाबीच सुरुमै सानो असहमति देखियो । कुर्सीमा बसेर अन्तर्वार्ता गर्ने कि अग्लो टेबुलवरिपरि उभिएर ? ‘सारी लगाउँदा बस्नै गाह्रो,’ साराले दुवै हात कम्मरमा पुर्याएर कपडा हल्का माथि तान्ने प्रयास गर्दै भनिन्- ‘कस्तो नरम सामग्रीले बनेको छ, बिग्रिएला भन्ने डर ।’ अब एनाको पालो- ‘सारी लगाएर हिँड्नचाहिँ गाह्रो । साथीले तेरो ‘सारी छोटो भयो’ भन्छन् तर म खालि (अघिल्तिरको भाग) कुल्चिन्छु ।’ दुवैका आँखा आ-आफ्ना सारीमा छन् । सारा इनर्गड इस्मान र एना एलिजाबेथ कोबेक । दुवै ३० वर्षा र अविवाहित । जीवनमा केही गर्नुपर्छ भन्ने चाहना । घर युरोप (सारा- नर्वे, एना- डेनमार्क), बसाइ पश्चिम नेपाल । इमेल र मोबाइल नम्बरअंकित भिजिटिङ कार्डहरूले दुवै केटीलाई ‘विकासे कार्यकर्ता’ भनी चिनाउँछन् ।

डेनिस अन्तर्राष्ट्रिय सहयोग संघ (एमएस) अर्न्तर्गत नेपालगन्ज र बर्दियामा मानव अधिकार र संस्थागत क्षमता अभिवृद्धिमा स्थानीयहरूलाई सघाइरहेका यी युवती सारीले दिएको पहिचान र सहजताको चकित मान्दै सराहना गरिरहेका छन् । भनिरहनुपर्दैन, सारी र ब्लाउजबीचको भाग खुला छ र दुवै युवतीको कम्मर पूरै उदांगिएको छ । ‘हाम्रोमा युवतीहरू छरिता र स्लिम हुन चाहन्छन् तर टिनेजर मात्रै कम्मर देखिने कपडा लगाउँछन्,’ नौ महिनाअघि ३० औं वर्षप्रवेश गरेकी एनाले भनिन्- ‘तीस लागेकाले चाहिँ छोप्छन् ।’ हालै राजधानीको एक समारोहमा भेटिएका दुवै युवती केही मिनेट फनफनी घुम्दै कम्मर मर्काईमर्कार्र्इ आफैंलाई हेरिरहेका छन् । मानौं नेपाली चेलीहरूमा र्सवाधिक प्रचलित पोसाक लगाउँदाको क्षणमा युरोपेलीहरू आफैंलाई बिर्सिरहेका छन् ।

पिछडिएका र कम शिक्षितबहुल समुदायमा काम गर्ने युरोपेली युवतीहरूका लागि पूरै कम्मर नछोपे पनि सारी एउटा हतियार भएको छ । यसैमार्फ उनीहरूले आफ्नो छवि सकारात्मक रूपमा प्रस्तुत गर्न सकेका छन् । ‘जिन्स पाइन्ट लगाएर समुदायमा गयो भने महिलाहरूले उसै पनि ओठ लेप्रयाउँछन्,’ बर्दियाका महिलाहरूसँग काम गर्ने एनाले भनिन्- ‘त्यसमाथि ३० वर्षी भएर पनि बिहे गरेको छैन भनेपछि ‘यो विदेशी तरुनी ब्रि्रेकी’ भन्ठान्छन् ।’ त्यस्तो अवस्थामा एनाको अनुभव छ- सारीले कपडाभन्दा बढी भूमिका खेल्छ । ‘सारीमा जाँदा उनीहरूले ‘ओ हो, गोरी भए पनि केटी हामीजस्तै रहिछ’ भन्ठान्छन्,’ उनले भनिन्- ‘अनि त हामी सबै महिला † नेपालका हुन् या युरोपका, सबै एकै । मज्जाले कुरा गर्र्छौं, घरपरिवारदेखि लोग्नेमान्छेका बानीसम्म ।’

सारा र एना सम्पन्न पश्चिमा संसारका त्यस्ता थुप्रै युवामध्येका हुन्, जो २० चानचुन उमेरमा आफ्नो घरपरिवारभन्दा टाढाको संसारमा गएर एक्लै जिउने, केही स्वयंसेवा पनि गरिहाल्ने र नयाँ अनुभव बटुल्ने आकांक्षा राख्छन् । छोटो सयमका लागि झेल्नुपर्ने गरिबी र अभावको जीवनसँगको साक्षात्कार उनीहरूका लागि करिअरमा सहयोगी या व्यक्तिगत जीवनका लागि उपयोगी ठहरिन सक्छ । ‘नेपाल आउनुअघि मैले ग्वाटेमालामा स्वयंसेवा गरेकी थिएँ,’ सारा भन्छिन्- ‘एउटा सानो प्रयासले धेरै मानिसलाई सहयोग पुर्याउँदा आफ्नै बारेमा प्रश्न गर्ने मौका मिल्छ ।’

समाजमा सजिलोसँग काम गर्न र देख्नेबित्तिकै मिल्ने ‘नमस्ते र मुस्कानभित्र छिर्न’ भाषा र संस्कृति बुझ्नुपर्छ भन्ने केटीहरूलाई थाहा छ । नेपाली हुन नखोजे पनि संस्कृतिको सम्मान गर्न इच्छुक रहेको बताउने उनीहरू भाषा सिक्न ग्रामीण जीवन बढी उपयोगी हुने ठान्छन् । ‘गाउँमा धेरैलाई अंग्रेजी आउँदैन,’ नेपाल आउनुअघि केही समय बंगलादेशमा बिताएकी एनाले भनिन्- ‘त्यसैले जबर्जस्ती नेपाली सिक्ने वातावरण पाइन्छ ।’ समुदायमा रहेर काम गर्ने हो भने उनीहरूका सामाजिक अभ्यासलाई सम्मान गर्नुपर्ने उनीहरू ठान्छन् । साइकल चलाउने कुरा गरौं । ‘नेपालगन्जमा र्स्कर्ट मात्रै लगाएर कहिल्यै साइकल नचलाउनू,’ एना भन्छिन्- ‘सुरुवाल लगाउनैपर्छ । त्यहाँ साइकल चलाउने अरू युवतीलाई हेर्नुस्, सबैले र्स्कर्टमुनि सुरुवाल लगाएकै हुन्छन् । त्यसैले तपाईं विदेशी भए पनि त्यो कुरा देखेरै सिक्नुपर्छ ।’ अनि बियर किन्ने टिप्स ? आफू बस्ने घरनजिकैको पसलबाट कहिल्यै नकिन्नू, उनको अनुभव छ, देखेमा छिमेकीले नराम्रो मान्छन्- केटी भएर पनि बियर पिउँदिरैछे भनेर ।

‘काठमाडौं ठूलो सहर हो, जुन पसलमा गएर किन्दा पनि हुन्छ,’ उनी भन्छिन्- ‘तर नेपालगन्जमा चाहिँ बस्ने ठाउँभन्दा निकै परको पसलमा गएर किन्छु ।’

सारीमै फर्कौं । आठ वर्षघि ‘ब्याक प्याकर’ का रूपमा नेपाल आएकी साराले पहिलोपटक भारतमा सारी किनेकी थिइन् । त्यो उनलाई कति मन पर्यो भने स्वदेश फर्केपछि तीन/चारवटा विवाह समारोहमा सोही पोसाकमा उपस्थित भइन् । महेन्द्रनगर हुँदै नेपाल छिरेकी एनाले हालैको तीजमा पहिलोपटक सारी लगाइन् । दुवै युवतीले समुदायमा रहँदा नेपाली महिलासँगको सामीप्यको ‘दरिलो सन्देश’ दिन कुर्ता-सुरुवाल या सारी लगाउने गरेको बताए । ‘राम्रो तर अव्यावहारिक पहिरन,’ सुरुवाती छोटो असमझदारीलाई छायामा पार्दै सारीबारे दुवैले संयुक्त निष्कर्षनिकाले । सारी लगाएपछि त्यसमै निकै ध्यान दिनुपर्ने अनुभव सुनाउँदै दुवैले लगाउनेको स्वतन्त्रतामा सारीले समस्या पार्ने बताए । ‘सारीको के कुरा,’ साराले भनिन्- ‘कुर्ता पनि अप्ठेरो हो, विशेष गरी सल । केटीहरू त्यही सलमै अल्झिरहेका हुन्छन् ।’ महिलाले सलसँग संर्घष गरिरहँदा पुरुषहरूले उत्पादनशील काममा उनीहरूलाई उछिन्ने गरेको दुवै युवतीको अनुभव छ । ‘म कपडा लगाउने शैलीमा क्रान्ति गर्न नेपाल आएकी होइन,’ एनाले भनिन्- ‘तर खसेको सल सम्याउनै नेपाली महिलाहरूको समय बितेको छ र पुरुषले त्यस्ता बेतुके समस्याको सामना गर्नैपर्दैन ।’

दुवै युवतीले पुरुषको प्रसंग एक पटकभन्दा बढी निकाले । उनीहरूसँग नेपाली पुरुषबारे नसोधी रहनै सकिएन । ‘ब्रिग्रेका,’ प्रश्न खस्न नपाउँदै संवाददातालाई निराश पार्ने गरी एनाले भनिन् । धन्य, तत्कालै उनले आफूलाई सच्याइन्- ‘तर त्यसरी सबैलाई एउटै घानमा हाल्नचाहिँ म सक्दिनँ है ।’ (उसो त एनाले गत जुनमा काठमाडौं ओर्लनेबित्तिकै आफ्नो ब्लगमा लेखेकी छन्- म नेपालमा काम गर्न आएकी हुँ, माइक्रोस्कोप लगाएर हेर्नुपर्ने एसियाली मान्छे पछ्याउन होइन !) दुवै युवतीले नेपाली पुरुषहरू महिलाको तुलनामा ‘अल्छे र घरायसी काममा निकै कम चासो दिने गरेको पाएको’ बताए । ‘स्विडेनमा धेरै मान्छेले काम गर्छन्,’ साराले भनिन् । एनाले थपिन्- ‘तर म पुरुषलाई भन्दा जन्मिँदैदेखि पुरुषलाई महिलाको तुलनामा बढी महत्त्व दिँदै माथिल्लो स्थानमा राख्ने यहाँको संस्कृतिलाई दोष दिन्छु ।’