Dinesh Wagle on Nepali Society

Dinesh Wagle on Nepali society

महावीर र म्यागासेसे

म्यागासेसे विजेता महावीर पुनलाई बधाई दिनु अधि भावनामा नबगी उनले के गरेका हुन् भन्ने थाहा पाए राम्रो

दिनेश वाग्ले

यो म्यागासेसे मौसम हो र म्याग्दीका महावीर पुन ढकमक्क फुलेका छन् । निश्चयै, यो उनलाई बधाई दिने र हामीले गौरव गर्ने क्षण हो । त्यसो गर्दा पूर्णरूपमा सुसूचित भए राम्रो । गत साता म्यागासेसे विजेता घोषित नहोउन्जेल विरलै सुनिएका ५२ वर्षे सामाजिक कार्यकर्ताबारे अहिले धेरैले थाहा पाए पनि कतिलाई महावीरले ठ्याक्कै के गरेका हुन् भन्ने अस्पष्टता रहेको मैले महसुस गरेको छु ।

प्रस्ट भइहालौं- पुनले अभूतपूर्व प्रविधिको विकास गरेका होइनन् । उनी वैज्ञानिक या इन्जिनियर पनि होइनन् । ग्रामीण नेपालीको जीवनस्तर उकास्ने उद्देश्य लिएका उनी कुशल शिक्षक हुन् ।

महावीरको सबैभन्दा महत्त्वपूर्ण काम ? अमेरिकी विश्वविद्यालयबाट डिग्री लिएपछि नेपाल फर्केर सहरमा समेत नबसी फोन नभएको गाउँमा जानु । त्यत्ति हो । तर त्यसका लागि अदम्य साहस र त्याग चाहिन्छ । सुन्दा के-के न जस्तो लाग्ने ‘बेतारे कम्प्युटर सञ्जाल’ (वाइफाइ, जसका लागि उनलाई म्यागासेसे मिल्यो) मुख्य उपलब्धि होइन, महावीर गाउँ फर्किदाको सहायक परिणाममात्र हो ।

महावीरसँग अन्तर्वार्ता गर्दै दिनेश वाग्ले । तस्बिर शालिग्राम तिवारी

गाउँलेलाई अघि लाउनुपर्छ : पुन

दिनेश वाग्ले/विनोद त्रिपाठी

प्रतिष्ठित म्यागासेसे पुरस्कार विजेता महावीर पुन छ घन्टे माइक्रोबस यात्राबाट चितवनदेखि बुधबार काठमाडौं आउँदा मैलो ट्रेकिङ ट्राउजर र एउटा आईएनजीओको लोगो अंकित सेतो टीसर्टमा थिए । घाँटीमा थोत्रो खोलमा छोपिएको पि्रपेड सिमकार्डवाला मोबाइल झुन्डेको थियो भने पछाडि एउटा मध्यम आकारको ब्याग । ‘यो व्याग चाहिँ छोड्नु हुँदैन,’ पुतलीसडकस्थित एकजना सहयोगीको कार्यालयमा पुग्ने बित्तिकै संवादाताहरूबाट घेरिएका ५२ वर्षे सामाजिक र विकास कार्यकर्ताले भने- ‘यसमा ल्यापटप छ । यो नभई केही चल्दैन ।’ पुरस्कार घोषणा भएको दिन मंगलबार उनी ८० वर्षीया आमा पूर्वी पुनलाई भेट्न चितवनको वीरेन्द्रनगर गाविसस्थित लाहुरेबस्तीमा पुगेका थिए । आमाले जेठा छोराको उपलब्धिबारे बेलुकी टीभीबाट थाहा पाएकी थिइन् । ‘छोरोले के-के गर्छु भन्थ्यो, राम्रो गरेको रहेछ,’ उनले भनिन्- ‘बेस्सरी खुसी छु ।’ छोराले भने- ‘आमाको मायाले मलाई सफलताको उचाइमा पुर्‍याउँछ । आमाको साथमा छु भन्ने अनुभूति गर्दे लक्ष्य र गन्तव्यमा पुग्न सफल हुन्छु ।’ (महावीरसँगको अन्तर्वार्ताको पुरा विवरण यहा पढ्नुस् ।)

केही दिनअघि यस पत्रिकाको सम्पादकीयमा औंल्याइएजस्तो हामीमध्ये धेरैमा ‘आसे’ र ‘गुनासे’ प्रवृत्ति छ । सधैं ‘नेताले यो-त्यो गरेनन्’ भन्ने तर ‘आफैंले चाहिँ के गरेँ’ भन्ने सोच्न नचाहने । केही साताअघि कालिकोटको पिलीबाट मान्म जाँदा ट्रकको हुटमा एकजना तन्नेरी भेटिए, जसले म पत्रकार भएको थाहा पाउनेबित्तिकै कर्णालीमा चलाउन लागिएको ‘एक घर, एक रोजगार’ कार्यक्रममा पैसा कम भएको गुनासो गरे । सामान्यतः संवाददताको कामकुरा सुन्ने हो, तर मैले उत्तेजना थाम्न सकिन । ‘काममा सहभागी हुनुभयो ?’ मैले सोधेँ । ‘छैन,’ उनले भने । ‘किन गुनासो गरेको त ?’ मैले भनेँ- ‘कम्तीमा पहिले काम गर्नुस्, त्यसपछि चित्त नबुझे गुनासो ।’ उनी चुप लागे ।

थुप्रैले गरेजस्तो महावीरले पनि काठमाडौंमा एनजीओ खोलेर, होटलमा सेमिनार गर्दै म्याग्दीलाई भजाएर दुनो सोझ्याउन सक्थ्ये । महावीरको महानता यही छ- उनी त्यो केही नगरी गाउँमा आफैं केही गर्न अघि सरे । अहिले होइन, १५ वर्ष अगाडि । त्यो थाहा पाउन र बधाई दिन हामीलाई म्यागासेसेको घोषणा पर्खिनुपर्‍यो ।

गाउँ फर्केका अधबैंसेले हिमाञ्चल निमाविलाई मावि बनाउने गाउँले प्रयासमा सघाए, निःशुल्क पढाए । चार वर्षपछि उनले गाउँका कुरा इन्टरनेटमा राखे, पश्चिमा संसारले थाहा पायो । ‘संसारभरका साथीहरूलाई अविदादन !!!’ उनले १९९६ मा युनिभर्सिटी अफ नेब्रास्का, कर्नीको वेबसाइटमा लेखेका थिए- ‘गाउँका मान्छे कसरी बसेका छन् भन्ने जानकारी दिन यो पेज खोलेको हुँ । नागी गाउँको हाइस्कुलबारे भन्न चाहन्छु । गाउँले जीवनको अनुभव लिने भए स्वागत छ ।’ विश्वविद्यालयले पनि एउटा कार्यक्रम चलाइदियो, जस अन्तर्गत नेपालमा गएर स्वयम्सेवा गर्ने विद्यार्थीले परीक्षामा अंक पाउने भए ।

१९९७ मा हिमाञ्चलले मेल्वर्न (अस्ट्रेलिया) को विलानुक कलेजका विद्यार्थीबाट दुइटा सेकेन्ड हेन्ड कम्प्युटर पाएपछि पुनले ‘वाइफाइ’ को सपना देखे- विलानुक र हिमाञ्चलका विद्यार्थीबीच इन्टरनेटबाट सम्पर्क गराउने । सपना तत्कालै साकार भएन, किनकि गाउँमा फोन थिएन । फोन ल्याउन पुनले प्रयास गरे, तर द्वन्द्वमा फँसेको मुलुकको दुर्गम गाउँमा फोन पुर्‍याउन कहाँ सजिलो हुन्छ ?

समस्या सुनाउने क्रममा पुनले २००१ मा बीबीसीलाई इमेल पठाए- सस्तैमा इन्टरनेट पाउने कुनै उपाय थाहा छ ? बीबीसीलाई के थाहा हुनु, तर उसले पुनको चाहना आफ्नो वेबसाइटमा छाप्यो- ‘बादल भित्रको गाउँ कम्प्युटरलाई अँगालो मार्दै ।’ ‘त्यो लेखकले संसारै बदलिदियो,’ पुन भन्छन्- ‘विश्वभरबाट प्रतिक्रिया र सहयोग प्रस्ताव पाएँ ।’ लेख पढेर २००२ मा दुई युरोपेली आईबीएमले चन्दा दिएको ‘सिस्को पिसी वायरलेस कार्ड’ लिएर नागी पुगे । अर्का एक अमेरिकीको सहभागितामा उनीहरूले डेढ किलोमिटर टाढाका नागी र राम्चे गाउँबीच बेतारे सम्पर्क स्थापना गरे । त्यसपछि पुनको प्रयासलाई सहयोग झन् बढ्यो र अहिले १३ गाउँ/स्कुलमा सञ्जाल पुगेको छ । भनाइ छ नि- ‘तिमी आँट, म पुर्‍याउँछु’ । पुनले आँटे, अरूले पुर्‍याइदिए ।

Mahabir Pun

अहिले एउटा वेबसाइटमा गाउँलेले ‘ग्रामीण सूचना पाटी’ चलाएका छन्, जसमा उनीहरू वाइफाइमार्फत उदाहरणका लागि ‘ए राम्चेको हरि दाइ, नागीबाट भोलि राम आउँदैछन्, एउटा भेँडो ठीक गर्नुहोला है’ जस्ता खबर हाल्छन्, जसले सानो कामका लागि घन्टौं हिँड्नुपर्ने बाध्यता हटेको छ । साथै वाइफाइबाट फोन चलेका छन् । त्यसलाई सुधारेर स्वास्थ्य र शिक्षामा उपयोग गर्ने योजना छ, ताकि बिरामीले भिडियोमार्फत सहरका डाक्टरसँग कुरा गर्न सकुन्, एउटा स्कुलका जान्ने शिक्ष्ाकले अर्को स्कुलका विद्यार्थीलाई पढाउन सकुन् । यी कामको परीक्षण म्याग्दीमा भइरहेको छ ।

अनकन्टार ठाउँमा सञ्चार पुग्नु एकढंगले गाउँले सशक्तीकरण हुनु हो । तर पुनको मुख्य चाहना अर्कै छ- गाउँमा आम्दानीका अवसर सिर्जना गर्ने र आय बढाउने । त्यसका लागि प्रविधिले सघाउला, तर चौंरी, कुखुरा र गाई-पालनलाई आधुनिक तुल्याउन गाउँलेलाई सघाउनेमा उनी सक्रिय छन् । (उनले गाउँमा कलेज खोल्ने र सके विश्वविद्यालय पनि बनाउने चाहना भएको सोमबार कान्तिपुरलाई बताए ।) हो, म्यागासेसे बोर्डले भनेजस्तो म्याग्दीका चौंरी किसानले धमाधम इन्टरनेट चलाइरहेको भनाइमा पूर्ण सत्यता छैन तर पुरस्कार दिने संस्थाहरूलाई पनि सम्मान गरेको मान्छेको बढी नै प्रशंसा गर्न मन लाग्छ क्यार । उसो त पुरस्कार आफैंमा उपलब्धि होइन, काम मुख्य कुरा हो । पुरस्कारले कामलाई धेरैको ध्यानमा ल्याइदिने मात्र हो ।

हामी भर्खरै एउटा लामो र रक्ताम्य युद्धबाट बौरेका छौं । हामीलाई एउटा त्यस्तो नायक (हिरो) चाहिएको छ, जसले हामीलाई पीडा बिर्साएर उज्ज्वल भविष्यप्रति आशावादी तुल्याओस् । त्यस्तो हिरो जो गरिब र दुःखी मध्येको होस्, गाउँकै होस् । पुन ठ्याक्कै त्यस्तै छन् । साधारण, मिहेनती र गाउँका । त्यसैले उनले हाम्रो सुखद कल्पना अँठ्याएका छन् । आशा गरौं, म्यागासेसेको प्रभाव यस्तो होस्, अरू धेरै महावीर पुनहरू गाउँ फर्किउन् ।

यो लेख पहिलोपटक आज मंगलवारको कान्तिपुरमा प्रकाशित भएको हो ।

3 responses to “महावीर र म्यागासेसे”

  1. krishna acharya Avatar
    krishna acharya

    hi namaste i am from usa i want to talk with mahabir mun about donasation ( to help him). please could u ple give him email id for me ok krishna acharya from usa boston Ma. 1-508-615-3480.

  2. And The Magsaysay Goes to Mahabir Pun, the ‘Wireless Man’ of Myagdi « United We Blog! for a Democratic Nepal Avatar

    […] · Leave a Comment An article by Dinesh Wagle in Kantipur (7 Aug) on Mahabir and Magsaysay: महावीर र म्यागासेसे …… Mahabir Pun who established wireless computer networks in the highlands of Myagdi […]

  3. Pawan Paudel Avatar

    I am regular Visitor of your blog. I need lots of information about mahabir pun While googling I came through your site. The backlink you have kept http://www.kantipuronline.com/kolnepalinews.php?nid=117866 isnot exist. And I cannot find your Article on Kantipur E-paper Coz kantipur doesn’t have archive of 2007 A.D.