दिनेश वाग्ले
वाग्ले स्ट्रिट जर्नल
यो लेख पहिलोपटक आजको कान्तिपुरमा प्रकाशित भएको हो । पत्रिकाकै पेजमा हेर्ने भए यहाँ क्लिक गरेहुन्छ ।
काठमाडौं- ‘यस्तै हो पत्रकारको काम ?’ केही बेरअघिसम्म मेरा प्रश्नको जबाफ दिइरहेकी अधबैंसे महिला हल्का झर्किन्- ‘चिन्नु न जान्नुका मान्छेसँग कुरा गर्दै हिँड्ने ?’
पाठ्यपुस्तकमा पत्रकारिताको ठ्याक्कै त्यस्तो परिभाषा दिइँदैन तर चिनेकै मान्छे पर्खिइँदो हो त यो लेख तयार हुने थिएन । ‘त्यति मात्रै पक्कै होइन,’ बालाजु-रत्नपार्क माइक्रोमा हिँडेकी नेपाल टेलिकम त्रिपुरेश्वर (टेलेक्स) की कर्मचारीलाई मैले भनें- ‘तर आज मेरो कामै त्यही भएको छ ।’ मुख्य सहरलाई घेर्ने २७ किलोमिटरको चक्रपथमा डेढ फन्को लगाएर थुप्रै ‘चिन्नु न जान्नुका मान्छे’ को कथा सुनेपछि म फर्किंदो थिएँ ।
निश्चयै, यो कुनै पहाडी जिल्लाको सानो गाउँ होइन जहाँ एउटा बासिन्दालाई टोलका सबैको नाम, नातागोता थाहा होस् । थुप्रै विकासोन्मुख मुलुकहरू (विशेष गरी चीन र भारत) मा जस्तै नेपालमा पनि गाउँबाट सहर ओइरिनेहरूको संख्या बढ्दो छ जसले गर्दा काठमाडौंमा आपसमा अपरिचितहरू दिनहुँ बढिरहेका छन् । अबका ४३ वर्षा एउटा भारतीय सहरमा प्रतिमिनेट ३१ गाउँले आउने प्रक्षेपण अन्तर्राष्ट्रिय ब्यांक ‘गोल्डम्यान साच्स’ ले गरेको छ । त्यस्तो आगमनकै कारण यो वर्षपहिलोपटक पृथ्वीको सहरी जनसंख्या गाउँमा बस्नेको भन्दा बढी भएको छ ।
काठमाडौंलाई मुलुकका बाँकी भागसँग जोड्ने लामो दूरीका बसहरू गज्जबका छन्- गाउँका नायकहरूलाई सुलुक्क निल्छन् र सहरमा ल्याएर ‘कोही न कोही’ का रूपमा छाडिदिन्छन् । जताततै पानी तर पिउन थोपै छैन भनेझैं भीडमै पनि मानिसहरू आफूलाई एक्लो पाउँछन् । सविन कार्की वाग्मती स्कुलमा सात कक्षाका विद्यार्थी हुन्, अहिले रिङरोड चल्ने कुनै बसमा कलंकीस्थित घर फर्किरहेका छन् । पछिल्लो सिटमा झोला बोकेरै बसेका उनी बसमा बिलकुल एक्ला छन् र अवस्था सुहाउँदो गीत गाइरहेका छन् जो मुस्किलले सुन्न सकिन्छ-
लोन्ली, आई एम सो लोन्ली
आई ह्याभ नोबडी
टु कल माई ओन
आई एम सो लोन्ली, आई एम मिस्टर लोन्ली…
(मेरो आफ्नो भन्ने कोही छैन, म मिस्टर एक्लो हुँ ।)
‘के गा’को होउ ?’
‘जेपीटी (जे पायो त्यही),’ अल्छी लागेकाले बेलाबेला जीउ तानिरहेका फुच्चे लजाए- ‘जुन मुखमा आउँछ त्यही ।’ घरमा त्यसैका गायक एकनका गीत सुन्ने केटाले नर्सरीदेखि वाग्मतीमा पढेका हुन्, उनको परिवार यसै वर्षेखि सुकेधाराबाट कलंकीमा आफ्नै घरमा सरेको छ । नयाँ ठेगानाबाट स्कुल जान-आउन दुइ घन्टा लाग्छ, त्यसैले आउँदो शैक्षिक सत्रदेखि स्कुल बदल्ने योजना छ ।
गाडी झ्याप्प रोकियो, धूलो ह्वास्स छिर्यो, हाम्रो अनुहारमा ठोक्कियो । काठमाडौंका साँघुरा र धूले बाटाका र्सार्वजनिक साधन चढिसक्नाका छैनन् । कति बेला कहाँ रोकिदिन्छन्, यात्रु बिलखबन्दमा पर्छन् । जस्तो- लक्ष्मेश्वर रावत जो अघिल्लो पटक फन्को मार्दा दुइ जना अटाउने सिटमा एक्लै बसेका थिए ।
‘हैन, हैन, बोल्ने कोही नभएर,’ उनले आँखा चिम्लेर झ्यालमा मुन्टो अड्याउनुको कारण बताए । जनकपुरमा स्नातक सिध्याएपछि त्रिविमा अंग्रेजी एमए पढ्न आएका लक्ष्मेश्वर महाराजगन्जमा जनकपुरकै साथीसँग थेसिस छलफल गरेर फर्केका हुन् । ‘दुइ वर्षमा क्लास मुस्किलले एक महिना,’ उनले भने- ‘सेल्फ स्टडी ।’
‘बसाइ होस्टेलमा ?’
‘हैन । त्यहाँ हामीलाई सिटै मिल्दैन । कस्तो पहाडे फिल हुन्छ । तराइयाहरूले पाइँदैन । नेपालीलाई मात्रै हो ।’
‘भन्नाले पहाडे ? जनकपुरको भनेपछि तपाईं पनि नेपाली हो नि ! हालैका महिनामा पनि केही बदलाव आएको छैन पहाडेहरूको व्यवहारमा ?’
लक्ष्मेश्वरले आफूलाई सच्याए- ‘लचकता आएको छ तर देखावटी मात्र ।’ कक्षामा मधेसी-पहाडे छुट्टाछुट्टै बस्ने गरेको उल्लेख गर्दै आफूलाई त्यसमै सहज भएको उनले बताए । भने- ‘धेरैजसो पहाडे साथी हाई.. टाटा.. बाई.. गर्ने मात्रै हुन्छन् ।’
‘काठमान्डुको जीवन कस्तो छ ?’
‘एक्लो होइन्छ । आमाबुवा, साथी उतै । नयाँसँग एडजस्ट गर्नपर्ने हुन्छ । कतिले कुन हिसाबले लिन्छ । वातावरण हामीलाई अलि चिसो ।’
कलंकीको ट्राफिक जाममा गाडी रोकिएपछि कन्डक्टरले यात्रुलाई ओर्लिन भने, गाडी फर्किन थाल्यो । ‘ओ भाइ, अघि चक्रपथ भन्ने, अब हामी बल्खु कसरी जाने ?’ लक्ष्मेश्वर चिच्याए ।
‘हामीले कलंकीसम्म भनेको हो,’ कन्डक्टरले फर्काए । अन्य असन्तुष्ट यात्रुसँगै लक्ष्मेश्वर ओर्लिए ।
भाडाका गाडी सहरका जीवनधारा हुन् जसले दैनिक लाखौं मान्छे ओसारपसार गर्छन् । विरोध गर्नेहरूको पहिलो निसाना यिनै हुन्छन्- मानौं तिनलाई बन्द गरेपछि चन्द्रमा पृथ्वीमा आउनुपर्छ भन्ने माग पनि पूरा हुन्छ ।
‘पार्टीका मान्छे जस्तै हुन्,’ कलंकीबाट कोटेश्वर दौडिएका चालक काजी शेर्पाले भने- ‘बसका यात्रु । अनेकौं थरीका ।’ दिनमा पाँच टिपसम्म गर्ने तन्नेरी चालकले काम रमाइलो भएको उल्लेख गर्दै यात्रु बटुल्न गाडीबीच प्रतिस्पर्धा हुने बताए । ‘भाग्य भनेर आँ गरेर बसेर कहाँ हुन्छ -‘ उनले भने- ‘गाडी धेरै भए पनि ‘तँ सक् र म सक्’ हुन्छ ।’ त्यसमा लेफ्टिनेन्ट अर्थात् कन्डक्टरले खुबै सघाउँछन्- चिच्याउँदै । ‘सुरुमा घाँटी दुख्छ तर बानी परिन्छ,’ अघिल्लो बसका कन्डक्टरले भनेका थिए- ‘कहिलेकाहीँ ट्यापेहरू चढ्छन् । पकेटमारले पैसा चोर्दा प्यासेन्जरले हामीलाई दोष लाउँछन् । नभए रमाइलै हुन्छ ।’
रमाइलो किन पनि हुन्छ भने, गुरुले भने, पैसा खेलाउन पाइन्छ । ‘मरीमरी भारी बोक्नुपरेन, टन्न मासुभात खान पाइन्छ,’ उनले भने- ‘साहू शिखर खान्छ, उनीहरू र्सूय । म खान्नँ, हेरिरहन्छु । कोही प्यासेन्जर खलासीलाई हेप्छन्, झगडा गर्न थाल्छन् । बुद्धि नभएर खलासी भएका हुन्, (यात्रु) कुरो बुझ्दैनन् ।’ काभ्रेका यी २४ वर्षो हँसिला गुरु अब पाँच वर्षगाडी चलाएपछि ‘रहर पुग्छ र केही बिजनेस गर्ने’ योजनामा छन् ।
छिनछिनका बिसौनीमा चढ्ने/उत्रिने ‘चिन्नु न जान्नु’ का यात्रुहरूसँग नोटबुक तेर्स्याउँदै कुरा गरेर के साद्दे ! तर डेढफन्के यात्रामा अनेकौं पृष्ठभूमि र रंग-ढंगका मान्छेसँग गफिइयो । सबै एक्लै थिएनन्- एउटी वृद्धा पशुपतिमा लाखबत्ती बालेर आफन्तसँगै फर्किरहेकी थिइन्, दुइटी केटी असनमा कपडा किनेर महाराजगन्जमा एउटीको कोठामा गए राति बसेर अर्कीको सातदोबाटोस्थित निवास गइरहेका थिए, तीनटा केटाहरू कलंकीको कुनै साइबर क्याफेमा च्याट गर्न यात्रारत थिए, स्वयम्भूमा होटल चलाउने सिन्धुपाल्चोकका एक पुरुष ग्वार्कोमा साथीलाई भेटेर फर्किंदै थिए, गोर्खाबाट काठमाडौं पढ्न आएका तीन विद्यार्थी ग्वार्कोस्थित निवासबाट बालाजु दौडिरहेका थिए- गाउँबाट आएको आलु सम्हाल्न ।
यी मानिसका लागि यो ठूलो सहर रोजाइ होइन, बाध्यता हो । उनीहरूले छाडेर आएको ठाउँको तुलनामा काठमाडौंको जीवन चुनौतीपूर्ण छ तर सुविधा यही छ । ‘फ्यासिलिटी (सुविधा) छ, त्यही हो,’ गोर्खाका गाउँलेहरू रूपक कार्की र कुवेर भट्टसँग नयाँ बसपार्कमा गाउँबाट पठाइएको आलु लिन हिँडेकी विद्यार्थी कमला केसीले भनिन्- ‘उतै फ्यासिलिटी हुन्थ्यो त यता किन आइन्थ्यो ?’ उनले कोठा गरेर बस्नेलाई काठमाडौंको जीवन झन् चुनौतीपूर्ण हुने उल्लेख गर्दै गाउँबाट आउने आलु जस्ता सामानले राहत मिल्ने बताइन् ।
‘त्यही त हो नि,’ स्वयम्भूस्थित होटल फर्केका ३५ वर्षो लाक्पा शेर्पाले काठमाडौंको जीवनबारे टिप्पणी गरे- ‘जुन चीज पनि महँगो । सस्तो भन्ने छैन । मट्टीतेल, ग्यास र्सर्टेज। खासै बस्ने ठाउँ होइन । पहाडी इलाकातिरै हावापानी राम्रो हुन्छ तर छोराछोरी पढाउनैपर्यो ।’ उनी १५ वर्षेखि काठमाडौंमा छन् ।
‘काठमान्डुका गाडीको यात्रा रमाइलो हुन्छ ?’ पीकेमा पढ्ने दुइ पोखरेली (नातेदार) बहिनीहरू सविता र दुर्गा अधिकारीलाई मैले सोधें ।
‘छैन,’ सवितासँग सातदोबाटो हिँडेकी दुर्गाले नाक खुम्च्याइन्- ‘सिटै पाइँदैन । धूलो । धेरै फोहोर ।’
‘(उभिँदा) लडिने डर,’ सविताले भनिन्- ‘चोरी हुने डर ।’ आफ्नै घर भएकाले पोखरा रमाइलो लाग्ने उनीहरूले निष्कर्षनिकाले ।
सायद आजको दिन राम्रो छ- दुवैले सिट पाएका छन् र त्यो सिटमा यो क्षण उनीहरू मात्रै छन् ।